शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७४९ - कर्तव्यज्यान

भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक:

निर्णय नं. ७७४९    ने.का.प.२०६३             अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित

सम्वत् २०६१ सालको फौ.पु.नं.३६९६

फैसला मितिः २०६३।७।१५

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला सापिङ गा.वि.स.वडा नं.८ घर घै हाल कारागार शाखा नख्खुमा थुनामा रहेको रामशरण महत समेत

विरूद्ध

प्रत्यर्थी वादीः अनिल श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीःकाभ्रेपलाञ्चोक जिल्ला ज्याम्दी गा.वि.स.वडा नं.८ घर घै हाल कारगार शाखा नख्खुमा थुनामा रहेका यादव भन्ने खेमवहादुर महत

विरूद्ध

प्रत्यर्थी वादीः अनिल श्रेष्ठको जाहेरीले नेपाल सरकार

 

§  मतियार साक्षीको रुपमा लिन सहअभियुक्तलाई सजायबाट छुट दिई वा अभियोग नलगाई सरकारी पक्षको गवाह (Approver) को रुपमा प्रस्तुत गरिएको हुनु पर्ने देखिन्छ । अन्यथा एकसाथ अभियोग लगाईएको सहअभियुक्तलाई सक्षम साक्षीको रुपमा राख्न र प्रमाणमा लिन नसकिने ।

(प्रकरण नं.३९)

§  सहअभियुक्तको पोल आफैमा सारभूत प्रमाण होइन, यो त केवल न्याय निक्र्यौल गर्न वा कुनै प्रमाणित तथ्यलाई पुनः पुष्टि गर्ने वा अझ बल प्रदान गर्ने एउटा थप आधार मात्र हुने ।

§  सहअभियुक्तको परीक्षण नगर्दैमा न्याय निष्पादनमा सारभुत रुपमा फरक नपर्ने हुनाले पनि प्रमाण कानूनसम्बन्धी सिद्धान्त र व्यवहारमा यसले अन्योल सिर्जना गर्ने भन्ने देखिन आउँदैन र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तको प्रतिकूल मान्न पनि नमिल्ने ।

(प्रकरण नं.४०)

§  सहअभियुक्तको पोललाई प्रमाणमा लिने सम्बन्धमा किटानी कानूनी व्यवस्थाको अभाव रहे पनि हाम्रो न्याय प्रणालीले मिसिल कागजातबाट खुल्न आएका तथ्य र व्यहोरालाई कुनै न कुनै रुमपा ग्रहण गर्ने वा स्वीकार गर्ने गरी आएको परिप्रेक्ष्यमा सहअभियुक्तको पोललाई प्रमाणको रुपमा ग्रहण गर्न सकिने मान्यतालाई स्वीकार गरिएको पाइने ।                                          

(प्रकरण नं.४१)

§  वस्तुतः न्यायलाई बढी निश्चितता र वस्तुगत धरातलमा उभ्याई भरपर्दो र विश्वसनीय बनाउन मिसिल कागजातबाट देखिन आएका र उपलव्ध भएका कुनैपनि सवूद प्रमाण जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरथोर विवाद सुनिश्चित गर्न प्रकाश पार्दछ ती सबैको सार (निचोड) बाट नै न्यायिक निष्कर्ष निकाल्नु वान्छनीय हुन्छ र त्यो वस्तुपरक पनि हुन्छ । कुनै पनि कुराले न्यायलाई सुनिश्चित प्रदान गर्न मद्दत वा बल प्रदान गर्छ भने त्यसलाई उल्लेख नगरी थप आधार नलिनु उपयुक्त नहुने ।                             

(प्रकरण नं.४२)

§  सहअभियुक्तको पोललाई प्रमाण लिने वा लगाउने सम्बन्धमा निम्न बमोजिमको अवस्था र परिस्थितिको मूल्याङ्कन गरी विचार गर्नु उपयुक्त एवं वान्छनीय देखिने ।

-         एकै साथ सहअभियुक्तहरु मुद्दामा पूर्पक्ष गरिएको अवस्था हुनुपर्ने, (A statement made by one of two co–accused should not be used against the other, where later on their cases are trlied separatety.)

-         कसूदामा सावित भै अरुलाई सोही कसूरमा पोल गरेको हुनुपर्ने, (The expression as same offence” means the indentical offence and not an offence of the same kind. It means offences falling within the same definition and arising out of the same transaction.)

-         एउटा कसूरमा सावित हुनेले अर्को कसूरमा अरुलाई पोल गरेको नमिल्ने,

-         आफू कसूरमा इन्कार भै एक अर्कालाई पोल गरेको हुन नहुने,

-         पोल गर्ने सहअभियुक्तको मृत्यु भएकोमा पनि निजको भनाइलाई विचार गर्न सकिने,

-         सहअभियुक्तको पोललाई आधारभूत एवं सारभूत (Substantive) प्रमाणको रुपमा लिन नमिल्ने, मुद्दाको जग (Foundation) अर्थात् यसकै आँडमा कसूर प्रमाणित भएको मान्न नमिल्ने,

-         अन्य आधारभूत स्वतन्त्र प्रमाणहरुबाट वारदात वा कसूर कायम हुन सक्ने स्थितिमा मात्रै सहअभियुक्तको पोललाई थप निश्चयका लागि प्रमाणमा लिन सकिने हुन्छ ।

-         एउटा सहअभियुक्तको पोलले अर्को सहअभियुक्तको पोललाई समर्थन (Corroborate) गरेको मान्न नमिल्ने,

-         कसूर वा वारदात कायम गर्दा सहअभियुक्तको पोललाई अन्य प्रमाणले समर्थन गरेको भन्ने आधारमा हैन कि अन्य निश्चयात्मक प्रमाणको आधारमा वारदात वा कसूर कायम हुन सक्ने अवस्था भएमात्र सहअभियुक्तको पोललाई विचार गरिने ।

-         सहअभियुक्तको पोललाई समर्थनको (Supportive) रुपमा मात्र लिनुपर्ने,

-         अर्कालाई पोल गर्ने सहअभियुक्तको गैर न्यायिक (प्रहरीमा भएको) सावितीलाई निजका विरूद्ध प्रमाणमा लिए नलिएको आधारमा मात्रै निजको पोललाई विचार गर्नु पर्ने ।

-         गैरन्यायिक साविती र न्यायिक निकाय समक्ष भएको सावितीको पोललाई सोही अनुपातमा प्रामाणिक मूल्यलाई फरक राखी हेर्नुपर्ने ।

(प्रकरण नं.४३)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ता लभकुमार मैनाली र सुवर्ण थापा र तिलककुमार राई

प्रत्यर्थी वादीका तर्फबाटः उपन्यायाधिवक्ता श्री जनकवहादुर अधिकारी

अवलम्बित नजीरहरुः

 

फैसला

            न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०६०।९।८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरुको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:-

२.    ललितपुर जिल्ला उपमहानगरपालिका वडा नं.२ सानेपा स्थित गुर्सिगालमा मैले निर्माण गर्न लागेको नयाँ घरमा रहेको सामान रेखदेख गर्नको लागी २ महिना अगाडि देखि ३०।३५ वर्षको दिल वहादुर भन्नेलाई राखेकोमा मिति २०५७।८।११ गते राती कसले कर्तव्य गरी मारेर फरार रहेको हुँदा अपराधी पत्ता लगाई कानूनी बमोजिम गरिपाउँ भन्ने व्यहोराको अनिल श्रेष्ठको जाहेरी दरखास्त ।

३.    दुवै आँखा बन्द, मुख बन्द, दुवै कानमा आलो रगत लागेको, दायाँ कान मुनि एक इन्च गोलाइको चोट, बायाँ आँखा देखी बायाँ कानसम्म बाहिरी छाला पुरै काटिएको ४ इन्च लम्वाई र डेढ इन्च चौडाई चोट भएको सोही देखि माथि साडे दुई इन्च लम्वाई आधा इन्च चौडाईको बाहिरी छाला काटिएको घाउ बायाँ आँखा माथि १ इन्च लम्वाई आधा इन्च चौडाईको घाउ समेत भएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४.    करिव ३ महिना अगाडि देखि जाहेरवालाको घर निर्माण गर्न लागेको ठाउँमा काम गरिआएको सोही घरमा २ महिना अघि देखि दिल वहादुर भन्ने सामान रेखदेख गरी राती सुत्ने गरी आएकोमा मिति २०५७।८।१२ गते बिहान घरमा काम गर्न आउँदा निजको कोठा बन्द र ढोकाको तलको भाग आधा फुटालेको भित्र हेर्दा दिल वहादुर घाइते भएको शरिर भरि रगतै रगत देखि हेर्दा मृत अवस्थामा देखेको हुँ । मिति २०५७।८।११ गते बिहान १ जना मगोलियन जस्तो देखिनेले खाना खाएका थिए । निजलाई सोध्दा गाउँका मानिस भन्थे भन्ने समेत व्यहोराको सुन्दर वलामीले प्रहरीमा गरेको कागज ।

५.    मेरो घर ठेक्का लिने कृष्ण श्रेष्ठले दिल वहादुर भन्नेलाई समानहरु रेखदेख गर्न, घर कुर्ने भनी ल्याई राखे अनुसार निज सोही ठाउँमा राखी सुत्ने गर्दै आई रहेकोमा मिति २०५७।८।११ गते राती नमालुमका मानिहरुले कर्तव्य गरी मारेको भन्ने भोलीपल्ट थाहा पाएको हुँ । उक्त घटना हुनुभन्दा पहिला बिहान आँखा माथि मासुको डल्ला भएको मानिस आएको थियो । निजलाई कर्तव्य गरी मार्नेहरु कहाँका हुन ? मलाई थाहा भएन भन्ने समेत व्यहोराको जोहरवाला अनिल श्रेष्ठले गरेको कागज ।

६.    मैले अनिल श्रेष्ठको घर बनाउने ठेक्का लिई काम गरी राखेकोमा लेवरहरुले काम गरी आआफ्नो घर जाने भएकोले सो घरको सामाग्री रेखदेख गर्न नाम थर वतन खुल्न नआएको दिलवहादुर भन्ने व्यक्तिलाई राखेकोमा मिति २०५७।८।११ गते राती निजलाई कर्तव्य गरी मारेको भन्ने मैले भोलीपल्ट थाहा पाएको हुँ । शम्भु भन्ने भिम वहादुर महत कहिलेकाही निज दिलवहादुरलाई भेट्न आउँथे, निज भिमवहादुर महत उक्त घटनापछि मेरो घरमा काम गरी बस्ने भिम वहादुर महतसँग भेट गर्न आएको छैन भन्ने समेत व्यहोराको श्याम के.सी.ले प्रहरीमा गरेको कागज ।

७.    मैले मिति २०५७।८।३ देखि ललितपुर सानेपा स्थित श्याम के.सी. को घरमा काम गरी बस्दै आएकोमा मेरो गाउँका काकाको छोरा शम्भु भन्ने भिमवहादुर महत म आउनु भन्दा पहिले नै रंग लगाउन काम गरी वसेका थिए । निज काहाँ वस्दथे, मलाई थाहा भएन कहिलेकाही मलाई भेट गर्न आउँथे । दिलवहादुर भन्नेलाई कर्तव्य गरी मारेको भन्ने मैले मिति २०५७।८।१२ गते विहान थाहा पाएको हुँ । सो घटनापछि निज आएका छैनन । मैले श्याम के.सी. को घरमा काम गर्न थालेको ४।५ दिनपछि मेरो दाई यादव वहादुर महत भेट्न आएका थिए । त्यसपछि आएका छैनन भन्ने व्यहोराको भिमवहादुर महतले प्रहरीमा गरेको कागज ।

८.    टाउकोको इन्जुरीको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको पाटन अस्पतालबाट भै आएको शव परीक्षण प्रतिवेदन ।

९.    मिति २०५७।८।११ गते साँझ ७ वजे शम्भु भन्ने भिमवहादुर महत, देवु महत र रामशरण महत समेत आई हामी चार जना होटलमा गई म वाहेकका ३ जनाले रक्सी खाएपछि निजहरुले मैले काम गर्ने गरेको घरमा रंग लगाउन साहुसँग  कुरा गर्नुछ भने पछि सो घरमा जाँदा पाले काम गरी वस्ने व्यक्ति घर वाहरि आउँदै गरको अवस्थामा शम्भु भन्ने भिमवहादुर महतले एक्कासी मुक्का हानी देवुले पनि कुटपिट गर्न थालेपछि मैले छुट्याउन लाग्दा किन छुट्याइस भनी कुट्दै घरभित्र लगी तिनजना ढोकाभित्र पस्नासाथ ढोका लक भयो । भित्र कुटपिट हुन लाग्यो पछि ढोका नखुलेपछि निजहरुले ढोका भाँची निस्केपछि हामी ४ जनाले वागमती खोलामा आगो वाली रातभरि वस्यौ र विहानी भएपछि हामी मध्येका देवु महत र रामशरण महत यतै वसे, म र शम्भु भन्ने भिमवहादुर महत आ आफ्नो घरमा गयौं । मंसिर १७ गते देवु महतले तँ घरमा नवस प्रहरीले खोजी रहेको छ भनेपछि भोलिपल्ट काठमाडौं आई नातेदारसँग घटनाको वारेमा कुरा गर्दा त्यस्तो कुरा लुकाउनु हुदैन चौकीमा जानुपर्छ भनेकाले जावलाखेलतर्फ आउन लागेको अवस्थामा प्रहरीले पक्राउ गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्रतिवादी यादव भन्ने खेमवहादुर महतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

१०.    मेरो भाइ सुव्वा महत दाइ रामशरण महत र म काठमाडौं पुतलीसडक स्थित जापानीज टेक्चर अफिसमा काम गर्दै आइरहेकोमा मिति २०५७।८।११ गतेका दिन पनि सदा झै हामी ३ जना दाजु भाई काम गर्न गै काम सकि वेलुका आई खाना खाइ संगै सुतेको, २०५७ साल चैत्रको १२, १३ गते तिर घरमा गई आएपछि घरबाट आएको ४।५ दिनपछि कोठामा वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त घटना कसले गरे मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी देवु महतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

११.    आजभन्दा करिव ३, ४ वर्ष अगाडि देखि मेरो दाजुभाई ३ जना काठमााडौ जिल्ला डिल्लीवजारमा डेरा गरी रंग लगाउने काम गर्दै आएको र करिव १ वर्षपछि काठमाडौं जिल्ला पुतलीसडकस्थित जापानिज टेक्चरमा काम गर्दै आइरहेकोमा मिति २०५७।८।११ गतेका दिन पनि विहान खाना खाई तिनै जना काम गर्न गई वेलुकी कोठामा आई सँगै सुतेको हौ ।  म र भाई सुव्वा चैत्र ७ गतेतिर घर गई चैत्र २५ गते घरबाट आएको केही दिनपछि डेरा कोठाबाट पक्राउ गरी ल्याएको हो । उक्त घटना भएको ठाउँमा म गएको छैन । को कसले दिलवहादुर भन्ने व्यक्तिलाई के कसरी कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण महतले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

१२.   मिति २०५७।८।११ गते राती मेरो नास्ता पसलमा खान आउने कुल्ली काम गर्ने लगायतका अन्य मानिसहरु धेरै थिएँ । अघिपछि पनि धेरै मानिसहरु आउने जाने गर्ने भएकोले आज आएका मानिसलाई भोलि आउँदा म चिन्दिन । मिति २०५७।८।११ गते राती दिलवहादुर भन्नेलाई कर्तव्य गरी मारेको भन्ने भोलिपल्ट मात्र सुनि थाहा पाएको हुँ । निजलाई को कसले कर्तव्य गरी मारे मलाई थाहा भएन भन्ने समेत व्यहोराको लक्ष्मी महर्जनले प्रहरीमा गरेको कागज ।

१३.   मिति २०५७।८।११ गते राती जाहेरवालाको नयाँ घर निर्माण गर्न लागेको ठाउँमा पाले काम गर्ने दिलवहादुर भन्नेलाई प्रतिवादी यादव भन्ने खेमवहादुर महत समेतले धारिलो हतियार प्रहार गरी मारेको भन्ने सुनि थाहा पाएको हुँ । के कति कारण कस्तो हतियार प्रहार गरी मारे सो मलाई थाहा भएन भन्ने समेत व्यहोराको घटनास्थल आसपासका मानिसहरुको भनाई मुचुल्का रहेछ ।

१४.   अनिल श्रेष्ठको जाहेरी दरखास्त, लाश प्रकृति विवरण, जगतमान समेतले गरेको कागज, मृतकको शव परीक्षण प्रतिवेदन, प्रतिवादी यादव भन्ने खेमवहादुर महतको साविती वयान, प्रतिवादी देवु महत र रामशरण महतको इन्कारी वयान वुझिएका लक्ष्मी महर्जनले गरी दिएको कागज समेतबाट प्रतिवादी यादव भन्ने खेमवहादुर महत शम्भु भन्ने भिमवहादुर महत, देवु महत र रामशरण महतले मृतक दिलवहादुरलाई कर्तव्य गरी मारेको देखिदा प्रतिवादीहरु उपर मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १ नं. व्दारा निषेधित तथा १३(३) नं. बमोजिम  परिभाषित कसूर अपराधमा सोही महलको दफा १३(३) नं. बमोजिम  सजाय हुनका साथै फरार रहेका प्रतिवादी शम्भु भन्ने भिमवहादुर महतलाई अदालतवाटै समाह्वान जारी गरी कारवाही गरिपाऊँ भन्ने व्यहोराको अभियोग पत्र ।

१५.   मृतक दिलवहादुरलाई मैले चिनेको छैन । प्रहरीमा आएपछि मृतकको फोटो देखाएको हो । मैले कुटपिट गरेको छैन । निजलाई को को भई कर्तव्य गरी मारे मलाई थाहा छैन । अभियोग दावी झुठ्ठा हो, म निर्दोश छु । मैले अपराध गरेको छैन । खेमवहादुर महतसँग  जग्गाको साँध सिमानामा झगडा परेको रिसइवीको कारण झुठ्ठा व्यहोरा उल्लेख गरी मलाई फसाउन लागेको हो । यस सम्वन्धमा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी देवु महतले अदालतमा गरेको  वयान ।

१६.    मिति २०४७।८।११ गते वेलुकी ६।७ वजेतिर म काम गर्न लागेको ठाउँमा आइ चिया खान र साहुसँग भेट गर्न जाउँ भनेकाले म देवु महत, रामशरण महत र शम्भु भन्ने भिमवहादुर महतसँग  निस्की सानेपा तिर गयौं । केही पर पुगेपछि एकजना मानिसलाई भेटेपछि केही कुरा नै नगरी हिर्काउन थालेकोले मैले छुट्याई दिएँ । निज कुटाई खाने व्यक्ति भाग्न लागेकोले निजलाई भाग्न नदिई भिमवहादुरले समाती कुट्दै कोठाभित्र लगेपछि कोठा वन्द भयो । म वाहिर वसिरहेको थिएँ । कोठामा आवाज आएको थियो । पछि भिमवहादुरले ढोका भाँची निस्केपछि हामी सवैजना वागमती नदिमा आइ आगो वाली वसे । उ भिमवहादुरको जिउमा रगत लागेको रहेछ । यो कुरा कसैलाई नभन्नु नाथ्रो फुटाएको मात्र हो भने । त्यसपछि भोलिपल्ट घर गएका हौ । देवु महत र रामशरण काठमाडौंमा नै वसेका थिए । मृतक दिलवहादुरलाई मैले चिनेको छैन । रामशरण, देवु महत र भिमवहादुरको मृतकसँग के कुन रिसइवि थियो सो मलाई थाहा छैन । मृतक दिलवहादुरको शरिरमा घाउ चोट लागेको थियो । मैले मृतक दिलवहादुरलाई कर्तव्य गरी मारेको होइन । को कसले मार्यो मलाई थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी खेमवहादुर महतले अदालतमा गरेको वयान ।

१७.   घटना भएको दिन म आफ्नै कोठा मैतिदेवीमा वसेको छु । मलाई उक्त घटना सम्वन्धमा केही थाहा छैन । निजलाई के कसले के कसरी केले हानेर निजको मृत्यु भएको हो मलाई थाहा भएन । मैले उक्त अपराध गरेको छैन । खेमवहादुर महतसँग  जग्गाको वारेमा झगडा भएकोले सोही कारणबाट मलाई पोली दिएको हुनुपर्छ । मैले मृतकलाई मारेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण महतले अदालतमा गरेको वयान ।

१८.   मिति २०५८।१।२७ मा भएको थुनछेक आदेशानुसार प्रतिवादीहरुलाई पुर्पक्षको निमित्त सोही मितिबाट थुनामा राखिएको रहेछ ।

१९.    मिति २०५७।८।१२ को जाहेरी मैले दिएको हुँ । जाहेरीको व्यहोरा पनि मेरो नै हो त्यसमा लागेको सही पनि मेरो नै हो । त्यसमा लागेको सहिछाप पनि मेरै हो । मृतक दिलवहादुरलाई धारिलो हतियारले हिकाई मृत्यु गराएको हुँदा अपराधीहरुलाई कानून बमोजिम सजाय हुनुपर्छ भन्ने व्यहोराको जाहेरवाला अनिल श्रेष्ठले गरेको  वकपत्र ।

२०.   घटनास्थलमा म गएको हुँदा पाले राखेको मानिस मृत अवस्थामा देखेको हुँ । को कसले कस्तो हतियारले हानी निजको मृत्यु भएको हो त्यो मलाई थाहा भएन । प्रहरीमा भएको कागजको व्यहोरा र सहिछाप मेरो हो । पालेको धारिलो हतियारव्दारा हानी मारेको जस्तो देखियो । रगत भुइमा जमिरहेको थियो । पछि प्रहरीले प्रतिवादीहरु समाई ल्याएपछि खेमवहादुर महत समेतले मारेको भन्ने कुरा खुल्न आएकोले उक्त व्यहोरामा लेखाई दिएको हो । सहिछाप मेरै हो भन्ने समेत व्यहोराको घटनास्थल आसपासमा वुझिएको मानिसहरु क्रमशः शत्रुधन राजभण्डारी र लक्ष्मीराज श्रेष्ठ तथा प्रहरीमा कागज गर्ने वाल किशोर चौधरीले गरेको प्रायः एकै मिलानको छुट्टाछुट्टै वकपत्र ।

२१.   प्रतिवादीहरुलाई प्रस्तुत मुद्दामा पक्राउ गरिसकेपछि मात्र जानकारी भएको हो । निजहरुलाई रंगको काम गर्ने सिलसिलामा ४।५ वर्ष अगाडिदेखि चिनेको हुँ । मैले चिने देखि हालसम्म निजहरुको व्यवहार राम्रो रहेको छ । त्यसैले यि प्रतिवादीहरुले आफूले नचिनेको व्यक्तिलाई ज्यान मार्नुपर्ने नियत नहुँदा उक्त मुद्दाबाट प्रतिवादीहरुले सजाय नपाई सफाई पाउनु पर्छ भन्ने व्यहोराको प्रतिवादी रामशरण महत र देवु महतको साक्षी नारायण भन्ने हिरालाल रेग्मीले गरेको वकपत्र ।

२२.   जाहेरवालाले वनाइरहेको घरमा वस्ने पालेलाई कसले मार्यो भनी अन्य काम गर्ने व्यक्तिले फोन गरेकोले दाई अनिल र म घर जाँदा पाले दिलवहादुरको मृत्यु भै सकेको रहेछ । कसले कस्तो हतियारले कसरी मार्यो थाहा भएन प्रहरीले अनुसन्धान गरी प्रतिवादीहरुलाई पक्राउ गरेको हुँदा यिनीहरुले मारेको हुन जस्तो लागेको हो । हत्या गरेको मैले देखेको छैन भन्ने समेत व्यहोराको घटनास्थल आसपासमा वुझिएका व्यक्ति अमिर श्रेष्ठले गरेको वकपत्र ।

२३.   प्रतिवादी देवु महत र रामशरण महत आरोपित कसूर गरी कर्तव्य गरेमा अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा पूर्ण इन्कारी भै वयान गरेको देखिन्छ । तापनि अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा वयान गर्ने यादव भन्ने खेमवहादुरको भनाई हेर्दा प्रतिवादी देवु महत र रामशरण महत समेतले मैले काम गर्ने गरेको ठाउँको साहुलाई भेट्न पर्ने काम छ सो घरमा रंग लगाउने काम छ, त्यो कुरा पनि गरौ भनी हामी ४ जना निजहरुले भनेको घरमा जाँदा सो घरमा पाले काम गर्ने व्यक्ति घर अगाडि निस्की वाहिर चौरतर्फ आउदै गरेको अवस्थामा निज पालेसँग  भेट हुनासाथ शम्भु भन्ने भिमवहादुर महतले एक्कासी केही कुराकानी नगरी मुक्काले हान्न थाले । देवु महतले पनि कुटपिट गर्न थालेपछि मैले छुट्याउन खोज्दा देवु महतले किन छुट्याउन खोजिस छोड भनेपछि निजहरुले हिर्काउदै दिन्छस् कि दिदैनस भनी कुट्दै घरको कोठाभित्र लगे । म र रामशरण पनि घरभित्र पस्यौ । म चाहि कोठा वाहिर वसे अरु ३ जना साथी कोठाभित्र पस्ने वित्तिकै ढोका लक भयो । कोठाभित्र कुटपिट हुन थाल्यो । आधा घण्टापछि हुक हुक गरेको आवाज सुने उक्त आवाज आएको केही समयपछि भित्र पसेको मानिसहरु तिनजनाले मलाई ढोका खोल भने ढोका नखुलेकोले झ्यालको ग्रिल तानी निस्कन खोज्दा नसकेपछि ढोकाको बीच भागसम्म भाँची निस्केपछि भिमवहादुर महत र म घरतर्फ लाग्यौ । देवु र रामशरण मात्रै थिए । भिमवहादुर भन्ने भिमवहादुर महत र म पनौतिमा पुगेर खोलमा रगत लागेको कपडा धोइ चिसै लुगा लगाई घरतर्फ लाग्यौं भनी वयान गरेको र मैले प्रहरीमा गरेको वयान मेरो राजीखुशीबाट भएको हो भनी अदालतमा समेत स्वीकारोक्ति वयान गरेको पाइन्छ । सो वयानबाट तिनै जना प्रतिवादी वारदात स्थलमा रहेको र मृतक दिलवहादुरलाई कुटपिट गरेको तथ्य स्थापित रहेको पाइन्छ । यादव भन्ने खेमवहादुरले घटनामा संलग्न रही आफूले देखे जानेको व्यक्त गरेको प्रत्यक्ष प्रमाणलाई अन्यथा भन्न नमिल्ने निजको भनाइलाई लाशजाँच प्रकृति विवरणमा उल्लेखित मृतकको शरिरमा परेको विभिन्न घा चोट शव परीक्षण प्रतिवेदन जाहेरवालाले अदालतमा आइ गरेको वकपत्र, घटनास्थलमा वुझिएका व्यक्ति समेतको वकपत्रबाट यादव भन्ने खेमवहादुर, देवु महत र रामशरण महतले मृतक दिलवहादुरलाई कुटपिट गरी कर्तव्य गरी मारेको हुँदा मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) अनुसार जन्मकैद हुने ठहर्छ भन्ने् समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतबाट भएको मिति २०६०।१।३० को फैसला

२४.   घटनास्थलमा मेरो उपस्थिति मनसायपूर्वक नभै केवल गलत तथ्यबाट मात्र भएको प्रष्ट छ । स्वेच्छापूर्वक घटना सम्वन्धमा सत्यतथ्य कुरा अभिव्यक्त गर्दाको अवस्थामा उक्त फैसलामा आधार समेत लिई गरेको तर म पुनरावेदकलाई समेत अन्य प्रतिवादीहरु सरह नै जन्मकैद जस्तो गम्भिर सजाय तोक्नु तथ्य विपरीत छ । घटनास्थलमा अन्य प्रतिवादीहरुले लगेको र मृतकलाई समेत कुनै हातपात नगरेको हुँदा आपराधिक कार्यमा पूर्णतयाः असंलग्न छु । मैले अपराध एवं तत्सवन्धमा सम्पूर्ण वास्तविकता सम्वन्धित निकायमा व्यक्त गरेर कानूनी कर्तव्य पालना गर्न खोजेको हुँ । अपराध भएको अवस्थामा अन्य प्रतिवादीहरुको डर त्रास धम्कीको कारणले गर्दा सम्वन्धित निकायमा समयमा नै जानकारी दिई कानूनी कर्तव्य निर्वाह गर्न नसकेको हुँ । सुनेको भन्ने आधारमा कसैले मुछ्दैमा सजायको भागी हुनुपर्ने होइन । मलाई फसाउन खोज्ने प्रतिवादीहरुकै साक्षी नारायण भन्ने हिरा रेग्मी समेतले सवै प्रतिवादीले सफाई पाउनु पर्छ भन्ने उल्लेख गरेबाट समेत मबाट अपराध नभएको भन्ने प्रष्ट छ । कुनैपनि प्रमाणबाट म अपराधी भएको नदेखिदा नदेखिदै मलाई समेत जन्मकैद हुने गरी अन्य प्रतिवादी सरह सजाय गर्ने गरेको फैसला अ.व. १८४क, प्रमाण ऐन, २०३१ को दफा ३७ र ५४ तथा ने.का.प. २०४१, पृष्ठ ७६२ विपरीत भै नमिलेको हुँदा उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी खेमवहादुर महतको पुनरावेदन पत्र ।

२५.   हामी घटनामा संलग्न थिएनौ भन्ने विषयलाई नै लिपिवद्ध वयान गरी दिएको छौ । हामी प्रतिवादीको सो इन्कारी वयानलाई शुरु फैसलाले विश्वसनीयता जाँच गरेको छैन । पोल गरेको आधारमा हामी समेतलाई कर्तव्य गरेको ठहर्‍याई जन्मकैद गरेको फैसलाबाट हामीलाई ज्यादै अन्याय परेको छ । खेमवहादुर आफू स्वयं घटनामा संलग्न भएको भएतापनि निजले हामीहरुको नाम उल्लेख गरी दिदैमा हामीहरुको पनि उक्त घटनामा संलग्नता भएको हुन्छ भनी मान्न मिल्ने होइन । सहअभियुक्तको पोलको विश्वसनियता र प्रमाणिक आधारलाई हेरिनु पर्ने हुन्छ सो तर्फ वेवास्ता गरिएको छ । पोलेको मात्र आधार वनाई हामीलाई सजाय गरिएको सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल छ । हामी उपरको दावी वादी पक्षले प्रमाणित गर्न सकेको छैन । यसर्थ उल्लेखित कुराहरु समेतको आधारमा हामी प्रतिवादीहरुलाई जन्मकैद हुने ठहर्‍याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला वदर गरी हामी पुनरावेदकलाई सफाई दिई न्याय गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु रामशरण महत र देवु महतको तर्फबाट पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र     ।

२६.   प्रतिवादी मध्ये खेम वहादुरको वयान पोलका आधारमा यि प्रतिवादी पुनरावेदकहरुलाई कसूरदार कायम गरेकोमा निजहरु मध्ये रामशरण र खेमवहादुर वारदातस्थलमा भएपनि प्रत्यक्ष संलग्न रहेको प्रमाणको अभाव रहेको साथै मृतकलाई प्रतिवादीहरुले मार्नु पर्ने सम्मको मनसाययुक्त कर्तव्यको वारदातमा सकृय रहेको स्थिति नदेखिंदा शुरु फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको निमित्त पुनरावेदन सरकारी वकिल कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

२७.   पुनरावेदक प्रतिवादी खेम वहादुर महतले प्रहरी एवं अदालत समक्ष गरेको बयानबाट मृतक दिल वहादुरको मृत्यु पुनरावेदक प्रतिवादीहरु रामशरण महत एवं देव महत समेतको संलग्नता र निजहरु समेतले मृतकलाई गरेको कुटपीटबाट भएको कुरा देखिनुको साथै निज प्रतिवादी खेम वहादुरको उक्त भनाई मिसिल संलग्न पोष्मार्टम रिपोर्ट, घटनास्थल लाश जाँच मुचुल्का समेतबाट पुष्टि भएको र मृतकको मृत्यु कर्तव्यबाट नै भएको कुरामा विवाद नरहेकोले खेम वहादुरको उक्त स्वीकारोक्ति निर्विवाद रुपले प्रमाणित भएको देखिन्छ । जहाँसम्म पुनरावेदक प्रतिवादी खेमवहादुरले अपराधलाई स्वीकार नगरेको र निज अपराधमा संलग्न नरहेकोमा भन्ने निजको जिकिर छ त्यसतर्फ विचार गर्दा निजले अपराध भएको अवस्थामा वारदातस्थलमा रहेको भन्ने कुरालाई स्वीकार गरेको तर निजले तत्काल प्रहरीमा उजुर अथवा खवर नगरेकोले निजको अपराधमा संलग्नता छैन भन्न सकिने अवस्था भएन । त्यसकारण प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यान नसम्बन्धीको १३(३) नं बमोजिम जन्मकैद हुने ठहर्‍याएकोले ललितपुर जिल्ला अदालतको मिति ०६०।१।३० को फैसला मिलेको देखिनाले सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको फैसला ।

२८.   प्रतिवादी खेम वहादुर महतको प्रहरी तथा अदालतमा भएको बयान एक आपसमा वाँझिएको र अन्य मिसिल कागज प्रमाणले सहअभियुक्तको पोललाई समर्थन समेत नगरेको अवस्थामा विश्वसनियता नै नभएको सहअभियुक्तको पोललाई मात्र आधार मानी सजाय गरेको पुनरावेदन अदालतको फैसलामा प्रमाणको यथोचित मुल्याङ्कन हुन सकेको छैन । हामी पुनरावेदकहरुले प्रहरी तथा अदालतमा समेत कसूरमा इन्कार रही वयान गरेका र वादीबाट सो इन्कारी बयानलाई खण्डित हुने गरी कुनै प्रमाण पेश गर्न नसकेको अवस्थामा प्रतिवादीको पोललाई मात्र मुख्य आधार मानी हामी निर्दोश व्यक्तिलार्य कर्तव्य ज्यान जस्तो गम्भिर प्रकृतिकोको मुद्दामा सजाय हुने ठहर्‍याई भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भै सर्वोच्च अदालतबाट ने.का.प. २०४२ नि.नं २३७७, ने.का.प.२०४५,नि.नं. १४३५ को मुद्दामा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुँदा बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी रामशरण महत र देवु महतको यस अदालतमा पर्न आएको पुनरावेदन ।

२९.   यसमा पुनरावेदक प्रतिवादी रामशरण महत र देवु महतले अभियोग दावी अनुसारको कसूरमा इन्कार रही अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गरेको देखिएको सहअभियुक्तको यादव भन्ने खेम वहादुर महतको पोल अन्य कुनै प्रमाणबाट समिर्थत हुन नसकेको अवस्थामा निजहरुलाई ज्यान सम्बन्धी महलको १३(३) नं बमोजिमम सजाय गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला यस अदालतबाट कर्तव्य ज्यान मुद्दामा प्रतिपादित (ने.का.प.२०४२ नि.नं २३७७, ने.का.प.२०४५, नि.नं. १४३५, पृष्ठ ३९२, ने.का.प.२०४९, नि.नं. ४५२२ पृष्ठ ४०१, सर्वोच्च अदालत वुलेटिन २०५४, अंक १२, पृष्ठ १० क्र.सं. १५) सिद्धान्त समेतको प्रतिकूल देखिंदा अ.वं २०२ नं बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।३।२४ को आदेश ।

३०.   यसमा पुनरावेदक प्रतिवादीहरुले आफ्नो पुनरावेदन जिकिरमा आफूहरु कसूरमा सामेल नरहेको र अर्को प्रतिवादी खेम वहादुर महतले  निजले गरेको कसूरमा पोल गरेको आधारमा मात्र शुरु तथा पुनरावेदन अदालतले आफूहरुलाई कसूरदार ठहर गरेको त्रुटीपूर्ण छ । सहअभियुक्तको पोल आफेमा आधारभूत प्रमाण हुन नसक्ने भएकाले समेत आफूहरुलाई कसूरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला बदर गरी सफाइ पाऊँ भन्ने जिकिर लिएको देखिन्छ । मिसिल संलग्न प्रतिवादी रामशरण महत र देवु महतको अधिकार प्राप्त अधिकारी एवं ललितपुर जिल्ला अदालतमा गरेको वयानमा समेत आफूहरु वारदात मितिमा वारदात स्थलमा उपस्थित नै नभएको र आफूहरुले मृतकलाई कर्तव्य गरी मारे मराएको होइन, खेम वहादुरसँग भएको पूर्व रिसइवीको कारणले मात्र पोल गरेका हुन भनी कसूरमा पूर्णतः इनकार रही बयान गरको देखिन्छ । प्रतिवादी मध्येका यादव भन्ने खेमवहादुर महतले २०५७।१२।३० मा अधिकार प्राप्त अधिकारी समक्ष र २०५८।१।२७ मा ललितपुर जिल्ला अदालतमा बयान गर्दा समेत आफू कोठा बाहिरै बसेको र अन्य प्रतिवादीहरु रामशरण महत र देवु महत समेतले मृतकलाई कुटपीट गरी कर्तव्य गरी मारेको भनी यी पुनरावेदकलाई पोल गरी बयान गरेको देखिएको छ ।

३१.   नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(३) ले कुनै कसूर लागेको व्यक्तिलाई आफ्नो विरूद्ध साक्षी हुन कर नलगाइने संवैधानिक प्रत्याभूति दिएको छ, यदि कुनै व्यक्तिले सचेत अवस्थामा स्वेच्छाले आफ्नो विरूद्धमा कुनै कुरा व्यक्त गरेमा प्रमाण ऐन, २०३१ को दफा ९(१) अनुसार त्यस्ता कुरा निजका विरूद्धमा प्रमाणमा लिन हुन्छ तर उपरोक्त संवैधानिक तथा कानून व्यवस्थाले अभियोग लगाइएको कुनै व्यक्तिले अन्य सहअभियुक्तहरुका विरूद्धमा व्यक्त गरेका कुरा निजहरुको विरूद्ध स्वतः प्रमाणमा ग्राह्रय हुने भन्ने अर्थ गर्न मिल्ने देखिन आउदैन । आफ्ना विरूद्धमा लाग्ने प्रमाणहरुको खण्डन गर्न पाउने प्रमाण कानून एवं न्यायको आधारभूत मान्यता हो । यसैकारण साक्षी परीक्षण कार्यविधिमा साक्षीको जिरह गर्न पाउने व्यवस्था गरिएको   हुन्छ ।

३२.   प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुलाई प्रतिवादी मध्येका यादव भन्ने खेमवहादुर महतले गरेको वयानबाट पोल गरिएको भएतापनि प्रतिवादीहरु रामशरण महत र देवु महतले पोल गर्ने प्रतिवादी खेमवहादुर महतललाई साक्षी सरह परीक्षण गर्न मौका दिएको वा पाएको अवस्था देखिएन । मानव अधिकार सम्वन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र १९४८ को धारा ११ र नागरिक तथा राजनीतिक अधिकार सम्वन्धी अन्तराष्टिय अभिसन्धि १९६६ को धारा १४(२)(ङ) ले आफू विरूद्धका साक्षीहरु परीक्षण गर्न पाउने अधिकारलाई आधारभूत मानव अधिकारको रुपमा परिभाषित गरेको छ । नेपाल पक्ष रहेका यी अन्तर्राष्ट्रिय महासन्धिहरुको व्यवस्था नेपाल कानून सरह लागु हुने कानूनी व्यवस्था छ । नेपाल अधिराज्यको संविधान, २०४७ र हाम्रो न्याय प्रणालीले पनि न्यायका मान्य सिद्धानतहरुलाई आत्मसात गरेको छ । यस अवस्थामा पोल गर्नेको भनाई जसको विरूद्ध पोल गरिएको हो उनीहरुले परीक्षण गर्न सक्दैन भन्न सकिने कुनै कानूनी एवं सैद्धान्तिक आधार देखिदैन । अतः प्रस्तुत मुद्दामा खेम वहादुर महतले पोल गरेका प्रतिवादीहरु रामशरण महत र देवु महतले प्रतिवादी खेमवहादुर महतलाई जिरह गर्न पाउने भएकाले थुनामा रहेका प्रतिवादीहरुलाई झिकाई निजहरुलाई परीक्षण गर्ने मौका दिई सो कार्य सम्पन्न भएपछि र निजहरु उपस्थित नभएमा वा परीक्षण नगरेमा सो बमोजिम को कागज गराई मिसिल सामेल गरी पठाई दिनु भनी मुद्दाको लगत कायमै राखी मिसिल शुरु ललितपुर जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भै आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६३।१।६ को आदेश ।

३३.   म पुनरावेदक घटनास्थलमा उपस्थित भएको तर अपराधिक कार्यमा संलग्न नरहेको कुरा वयानमा उल्लेख गरेको छु । मृतक र अन्य प्रतिवादीहरु बीच झगडा हुँदा आफूले छुट्याउने प्रयास गरेकोमा म समेतलाई अन्य प्रतिवादीहरुले हातपात गरेका हुन् । अन्य प्रतिवादीले कोठा भित्र लगि मृतकलाई कुटपिट गरी निस्कन लाग्दा मैले ढोका नखोलिदिएको कुरा समेत आफ्नो वयानमा उल्लेख गरिसकेको छु । यसरी अपराधीक कार्यमा मेरो संलग्नता नरहेको भनी उल्लेख गरेको र अन्य मिसिल संलग्न प्रमाणहरुबाट पनि सो कुरालाई खण्डन हुन नसकेको अवस्थामा जन्म कैदको सजाय हुने ठहराएको । पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण भै प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुँदा उल्टी गरी सफाई पाउँ भन्ने खेम बहादुर महतको यस अदालतमा पर्न आएको पुनरावेदन ।

यसमा प्रतिवादी यादव भन्ने खेमवहादुर महतले अनुसन्धान अधिकारी तथा अदालतमा वयान गर्दा समेत आफू वारदातस्थलमा रहेको भन्ने कुरासम्म स्वीकारी मृतकलाई कर्तव्य गरी मार्नमा आफ्नो कुनै संलग्नता नरहेको भनी उल्लेख गरेको अवस्थामा ज्यान सम्वन्धीको महलको १३(३) नं. अनुसारको सजाय गर्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. बमोजिम  छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई लगाउको फौ.पु.नं. ३६९६ को मुद्दा समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।३।२४ को आदेश ।

३५.   नियम बमोजिम  पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रामशरण महत र देवु महतको तर्फबाट रहनु भएका विद्धान अधिवक्ताद्धय लभकुमार मैनाली र सुवर्ण थापाले प्रचलित कानूनमा सह अभियुक्तको पोललाई ग्रहण गर्न मिल्ने अवस्था छैन । यस अवस्थामा सम्मानित सर्वोच्च अदालतबाट प्रमाण ऐन, २०३१ अघि वा पछि कस्तो अवस्थामा सह अभियुक्तको पोललाई प्रमाणमा लिन मिल्छ र कस्तो अवस्थामा लिन मिल्दैन भनी विभिन्न सिद्दान्तहरु कायम भएका भएपनि ती प्रतिपादित सिद्धान्तहरु नजीरको सिद्धान्त बमोजिम  त्रुटिपूर्ण मान्नु पर्ने हुन आउँछ । सह अभियुक्तको पोलको सम्वन्धमा सर्वोच्च अदालतबाट जे जस्ता सिद्धान्तहरु प्रतिपादन भएको भएतापनि ती सिद्धान्तहरुलाई ग्रहण गरेर सहअभियुक्तको पोलको आधारमा कोही कसैलाई कसूरदार कायम गर्न मिल्दैन । सम्मानित अदालतको आदेश बमोजिम  सहअभियुक्त खेमवहादुर महतको साक्षी परीक्षण समेत हुन नसकेकोले निजको पोललाई प्रमाणमा ग्रहण गर्न नमिल्ने र उक्त पोलको आधारमा मेरो पक्षलाई कसूरदार कायम गर्न नमिल्ने निर्विवाद छ । तसर्थ हाम्रो प्रचलित कानूनमा सह अभियुक्तको पोललाई प्रमाणमा लिनुपर्ने व्यवस्था नभएको र भारतीय कानूनी व्यवस्थामा समेत अन्य स्वतन्त्र प्रमाणबाट कसूर प्रमाणित हुने अवस्था नभएसम्म सहअभियुक्तको पोलको आधारमा मात्र सजाय गर्न नमिल्ने गरी यसलाई फितलो प्रमाणको रुपमा ग्रहण गर्ने गरिएको अवस्था हुँदा अन्य आधार प्रमाण विना सहअभियुक्तको पोललाई मात्र आधार मानी सजाय गर्ने गरेको पुनारावेदन अदालत पाटनको फैसला मिलेको छैन भनी र पुनरावेदक प्रतिवादी खेमवहादुर महतको तर्फबाट रहनु भएका विद्धान अधिवक्ता तिलक कुमार राइले प्रतिवादी खेमवहादुर महतले मृतकलाई कुनै हातपात गरेको भन्ने देखिदैन भने अपराधको सम्वन्धमा वास्तविक कुरा सम्वन्धित निकायमा व्यक्त गरी कानूनी कर्तव्य निर्वाह गरेको समेत अवस्थामा निजलाई सजाय गर्न मिल्ने होइन । सफाई पाउनु पर्दछ भनी तथा विपक्षी वादी नेपाल सरकारतर्फबाट रहनु भएका विद्धान उपन्यायाधिवक्ता जनकवहादुर अधिकारीले प्रतिवादी भिमवहादुर महत समेतले घरभित्र लगी मृतक दिलवहादुरलाई कुटपिट गरेको र आफू घर वाहिर वसी प्रतिवादी देव, रामशरण र शम्भु भन्ने भिमवहादुर वाहिर निस्केपछि संगै वारदातस्थबाट फरार भएको कुरा स्वीकार गरी प्रतिवादी खेमवहादुरले वयान गरी दिएबाट प्रतिवादीहरुको कसूर प्रमाणित भैरहेको छ । प्रतिवादी खेमवहादुरले अन्य प्रतिवादीहरु विरूद्ध गरेको पोललाई प्रमाण ऐन, २०३१ बमोजिम  प्रमाणमा लिन अदालत स्वतन्त्र रहन्छ । मनसा ठकुरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु लामा समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का.प. २०४८, नि.नं. ४२६९) बाट पनि सह अभियुक्तको पोल प्रतिवादीहरु विरूद्ध प्रमाणमा लिन सकिने प्रष्टै छ । अ.वं. १३३ नं. मा झगडियासँग  हाकिमले सोध्न चाहेको कुरा जहिले सुकै सोधी कागज गराएर राख्न सकिने कानूनी व्यवस्था भएको वाहेक प्रतिवादीलाई जिरह गर्ने कहिकतै कानूनी व्यवस्था नरहेको र जिरह साक्षीको सम्वन्धमा गरिएको व्यवस्था हुँदा प्रतिवादीलाई साक्षीको दर्जा दिन सकिदैन । यस अवस्थाबाट प्रतिवादीहरुको कसूर प्रमाणित भैरहेको हुँदा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला सदर होस भनी वहस तथा वहस नोट समेत प्रस्तुत गर्नुभयो ।

३६.   उपरोक्त बमोजिम मिसिल कागजात अध्ययन गरी विद्वान कानुन व्यवसायीहरुद्धारा प्रस्तुत बहस जिकिर एवं बहस नोट समेतलाई अध्ययन विश्लेषण गरी हेर्दा निम्न बमोजिमको प्रश्न र विषयहरुमा निर्णय दिनुपर्ने भएको छ  :-

(१)    सहअभियुक्तको (Co-accused) पोललाई प्रमाण लगाउनका लागि वा प्रमण लगाउनु अघि साक्षी सरह परीक्षण गर्न दिइनु पर्छ, पर्दैन ?

(२)   सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्न मिल्छमिल्दैन ? मिल्छ भने त्यसको प्रमाणिक मूल्य के कस्तो रुपमा स्वीकार्य हुन सक्छ ?

(३)   पुनरावेदक प्रतिवादीहरु मृतक दिल वहादुरलाई कर्तव्य गरी मार्नेमा संलग्न भएका हुन्, होइनन् ? , निजहरुलाई पुनरावेदन अदालतले ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहराएको फैसला मिलेको छछैन ?

 

३७.   प्रथमतः सहअभियुक्तको पोललाई प्रमाणमा लिने बारे हाम्रो कानूनी व्यवस्था स्पष्ट छैन वा यस बारे कही किटानी व्यवस्था पाईंदेन । तर पनि यस अदालतले कुनै न कुनै रुपमा सहअभियुक्तको पोललाई अवस्था अनुसार प्रमाणको रुपमा ग्रहण गरेको पाईन्छ । यदि सहअभियुक्तको पोललाई प्रमाणको रुपमा ग्रहण गर्ने हो भने साक्षी सरह परीक्षण गर्नु पर्छ पर्दैन ? भन्ने प्रश्न उठ्ने गर्छ र उठेको छ पनि । हाम्रो कानूनी व्यवस्थालाई हेर्दा प्रमाण ऐन, २०३१ को दफा ३८ ले आफूलाई सोधिएको प्रश्न बुझ्न नसक्ने वा त्यसको युक्ति युक्त जवाफ दिन नसक्ने भनी अदालतले ठहराएको व्यक्ति बाहेक मतियार लगायत अरु जुनसुकै व्यक्ति साक्षी हुन सक्ने व्यवस्था गरेको छ । भारतीय साक्ष्य ऐन, १८७२ को दफा १३३ ले मतियारलाई पनि साक्षीको रुपमा लिन सकिने व्यवस्था गरेको पाईन्छ । मतियारलाई साक्षी सरह प्रस्तुत गरिएको अवस्था निजको पनि साक्षी सरह नै परीक्षण हुने कुरामा विवाद रहने । परन्तु यहाँ प्रश्न छ ? सहअभियुक्तको पोलको । त्यसैले प्रथमतः सहअभियुक्त र मतियारको अवस्था एकै हो वा भिन्न हो ? भन्ने कुरा स्पष्ट हुनु जरुरी छ । मतियार शव्द र सहअभियुक्तको परीभाषा हाम्रो कानूनमा कही दिएको पाईंदैन । र्कीर्ते कागजको १ नं., ५ नं. र ११ नं., चोरीको १०(१) नं. र २० नं., आगो लगाउनेको ४ नं. र ८ नं.मा मतियार वा मतलवी मतियार भन्ने सम्म उल्लेख भएको पाईन्छ । सहअभियुक्तको बारे कुनै उल्लेख पाईंदैन । नेपाली शव्दकोषहरु हेर्दा सहअपराधीका मतियार भनी एकै कोटीमा राख्न खोजेको पाईंन्छ भने कानूनी शव्द कोष Clloin Dictionary of law मा भने Co–accused– A person appearing on the same complaint or indictment as another अपराधको एकै मामिलामा पोलिएका व्यक्तिहरु भनिएको छ भने Blacks Law Dictionary का अनुसार मतियार (Accomplice) – One who knowingly voluntarily and with common intent unites with the principle offender in the commission of a crime. One who is in some way concerned or associated in commission of crime. One is liable as an accomplice to the crime of another if he gave assistance or encouragement on failed to prevent it with the intent thereby to promote on facilitate commission of the crime  भन्ने उल्लेख छ । यसप्रकार मतियार त्यस्तो व्यक्ति हो जो उपस्थित भएर वा सहायता दिएर वा उत्तेजित गरेर वा वारदात भएको ठाउँमा अनुपस्थित रहेर पनि सल्लाह वा दुरुत्साहन दिएर आरोपित अपराधमा सहभागीको दोषी भएको हुन्छ भनिएको पाईंन्छ । चोरीको २२ नं.ले आफू नपोलिंदै वा पक्राउ नहुँदै मौकैमा जाहेर गरी अरु साक्षीहरुलाई पक्राई दिने मतियारलाई सजाय मांग नगरी छाडी दिने व्यवस्था गरी सरकारी पक्षको गवाह (साक्षी) Approver को रुपमा राखिएको पाईन्छ ।

The Confession of co–accused stands on a lowen footing, Than the evidence of an accomplice, as a confessing prisoner neither speak under the sanction of oath, nor can his statement be tested by cross–examination. (Principles and Digest of the Law of Evidence (C.J.M. Monir 11th ed. page 380)

३८.   उपरोक्त वस्तुतथ्यबाट के देखिन आउँछ भने सहअभियुक्त र मतियार पर्यायवाची नभई यी दुईको अर्थवोधमा भिन्नता छ । यसका अतिरिक्त यसपछि उद्धृत अभिव्यक्तिले अझ स्पष्ट पारेको देखिने छ । He (accomplice) may be a confessing co–accused making statement from the dock implicating himself and fellow prisoners. The confessional statements of a co–accused is not the testimony of an accomplice, and section 133 (Indian Evidence Act) is not applicable at all to such statements, which can only be taken into consideration under section 30 of the Evidence Act and are of inferior evidentiary value to the testimony of an accomplice given on oath and tested by cross–examination. If it is necessary to examine a co–accused as a witness in the case he should either be tendered a pardon and made an approver or be discharged. (Principles and Digest of the Law of Evidence– C.J.M. monir page 1381)

 

३९.   यस प्रकार मतियार साक्षीको रुपमा लिन सहअभियुक्तलाई सजायबाट छुट दिई वा अभियोग नलगाई सरकारी पक्षको गवाह (Approver) को रुपमा प्रस्तुत गरिएको हुनु पर्ने देखिन्छ । अन्यथा एकसाथ अभियोग लगाईएको सहअभियुक्तलाई सक्षम साक्षीको रुपमा राख्न मिल्दैन र तदनुरुपको प्रमाणमा लिन पनि सकिदैन । सरकारी गवाह (Approver) को रुपमा प्रस्तुत गरिएको सहअभियुक्तको भनाईलाई परीक्षण विना प्रमाण नलिइने कुरा प्रष्ट नै छ । जहाँसम्म अभियोग लगाइएका सबै अवस्थाका सहअभियुक्तको साक्षी परीक्षणको प्रश्न छ एक त हाम्रो हाम्रो कानूनी व्यवस्था अनुसार सहअभियुक्तको परीक्षण गरिने किटानी व्यवस्था कही देखिंदैन भने अन्य विकसित कानून प्रणालीहरुले अभियोग लगाइएका सहअभियुक्तको परीक्षण गर्ने यो यहाँ यस्तो व्यवस्था छ भनी पुनरावेदक तर्फबाट आफ्नो बहस नोट समेत प्रस्तुत गर्नु हुने विद्वान अधिवक्ता लभ मैनालीले उल्लेख गर्नु भएको पाइएन । भारतीय अदालतहरुले पनि सबै अवस्थाका सहअभियुक्तहरुको जिरह गराई परीक्षण गराउने गरेको भन्ने माथिको उद्दरणबाट देखिन आउँदैन ।

४०.   नागरिक तथा राजनैतिक अधिकारको अन्तर्राष्ट्रिय अनुवन्ध १९६६ को धारा १४(घ)(ङ) को आफ्ना विरूद्धका साक्षी परीक्षण गर्ने अथवा परीक्षण गर्न लगाउने सम्बन्धी मानव अधिकार सम्बन्धी प्रावधानको सन्दर्भमा विचार गर्दा सहअभियुक्तलाई हाम्रो कानूनी व्यवस्थाले साक्षीको रुपमा नराखेको र साक्षी परीक्षण कार्यविधि अन्तर्गत निजको परीक्षण कसरी हुने भन्ने पनि अनिश्चित हुँदा साक्षीको रुपमा सहअभियुक्तको परीक्षण गराउने भन्ने कुरा तर्कसँगत एवं कानूनसँगत देखिन आउँदैन । साक्षी हुन सक्ने व्यक्तिको मात्र परीक्षण हुने हो । तस्मात सहअभियुक्तको पोललाई आधारयुक्त प्रमाणको रुपमा लिइने व्यवस्था प्रमाण सम्बन्धी कानूनले किटान नगरेको हुनाले पनि निजको परीक्षण विना न्यायमा सारभूत रुपमा असर नपर्ने हुनाले पनि सहअभियुक्तको परीक्षण अत्यावश्यक वा वान्छनीय होइन । सहअभियुक्तको पोल आफैमा सारभूत प्रमाण होइन, यो त केवल न्याय निक्र्यौल गर्न वा कुनै प्रमाणित तथ्यलाई पुनः पुष्टि गर्ने वा अझ बल प्रदान गर्ने एउटा थप आधार मात्र हो । मिसिलमा खुल्न आएको कुरालाई अनदेखा नगरिने मात्रै हो । त्यसैलाई आँड लिई इन्साफ गरिने पनि होइन । त्यसैले सहअभियुक्तको परीक्षण नगर्दैमा न्याय निष्पादनमा सारभुत रुपमा फरक नपर्ने हुनाले पनि प्रमाण कानून सम्बन्धी सिद्धान्त र व्यवहारमा यसले अन्योल सृजना गर्ने भन्ने देखिन आउँदैन र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तको प्रतिकूल मान्न पनि मिल्दैन ।

४१.   दोश्रो प्रश्न रहेको छसहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्न मिल्छ, मिल्दैन ? मिल्छ भने त्यसको प्रमाणिक मूल्य के कस्तो रुपमा स्वीकार्य हुन सक्छ ? यस अदालतबाट भएको फैसलाहरुको अध्ययनबाट के देखिन्छ भने सहअभियुक्तको पोललाई सम्बन्धित मुद्दाको मिसिलको तथ्य र परिस्थितिको रोहमा आवश्यकतानुसार कुनै न कुनै रुपमा प्रमाणको रुपमा स्वीकार गरिएको पाइन्छ भने अन्य स्वतन्त्र प्रमाणको अभाव र प्रमाणिकताको कसीमा कतिपय अवस्थामा इन्कार गरिएको पनि पाइन्छ । सहअभियुक्तको पोल स्वतन्त्र प्रमाणबाट समर्थित हुनु पर्छ तव मात्र त्यसलाई प्रमाणको रुपमा लिन सकिन्छ । त्यसरी समर्थित नभएमा प्रमाणमा लिन मिल्ने देखिदैन । सहअभियुक्तले अपराध गर्नमा समान दायित्व कवुल गरी पोल गरेको नदेखिने सहअभियुक्तको पोल स्वयं कसूर कायम गर्ने आधारभूत प्रमाणको रुपमा लिन मिल्दैन । अन्य प्रमाणबाट कसूर प्रमाणित भएको देखिन नआएको अवस्था सहअभियुक्तको पोललाई आधारभूत प्रमाण मान्न नमिल्ने भन्ने जस्ता अवधारणा सहितका फैसलाहरु भएका देखिन्छन् भने घटनास्थलमा साथमा रहेकी सहअभियुक्तहरुले अदालतमा आई बताएका र घाउ चोटले समर्थित त्यस्तै किटानी जाहेरी परेको, जाहेरवालाले जाहेरीलाई समर्थन गरी बकी लेखाई दिएको र सहअभियुक्तहरुले आफू समेत सावित भै पोल गरी दिएबाट ज्यान मारेको ठहराएको साधक सदर हुने, अभियोग लागि आएका सहअभियुक्तहरु स्वयं आफूले गरेको कसूरलाई समेत स्वीकारी पोल गरेको स्थितिमा निजहरुको पोललाई आधार लिन मिल्ने भन्ने जस्ता फैसलाहरु भएको पाईन्छ । यसबाट के देखिन आउँछ भने सहअभियुक्तको पोललाई प्रमाणमा लिने सम्बन्धमा किटानी कानूनी व्यवस्थाको अभाव रहे पनि हाम्रो न्याय प्रणालीले मिसिल कागजातबाट खुल्न आएका तथ्य र व्यहोरालाई कुनै न कुनै रुपमा ग्रहण गर्ने वा स्वीकार गर्ने गरी आएको परिप्रेक्ष्यमा सहअभियुक्तको पोललाई प्रमाणको रुपमा ग्रहण गर्न सकिने मान्यतालाई स्वीकार गरिएको पाईन्छ । परन्तु के कस्तो हैसियत वा कुन रुपमा ग्रहण गर्ने भन्ने कुरा र मान्यतामा भने विविधता र विभिन्नता रहेको पाईन्छ ।

४२.   वस्तुतः न्यायलाई बढी निश्चितता र वस्तुगत धरातलमा उभ्याई भरपर्दो र विश्वसनीय बनाउन मिसिल कागजातबाट देखिन आएका र उपलव्ध भएका कुनै पनि सवूद प्रमाण जसले प्रत्य वा अप्रत्यक्ष रुपमा धैर थोर विवाद सुनिश्चित गर्न प्रकाश पार्दछ ती सबैको सार (निचोड) बाट नै न्यायिक निष्कर्ष निकाल्नु वान्छनीय हुन्छ र त्यो वस्तुपरक पनि हुन्छ । कुनै पनि कुराले न्यायलाई सुनिश्चित प्रदान गर्न मद्दत वा बल प्रदान गर्छ भने त्यसलाई उल्लेख नगरी थप आधार नलिनु उपयुक्त हुँदैन । यसै परिप्रेक्ष्यमा सहअभियुक्तको पोललाई प्रमाणको रुपमा लिइने कुरालाई पनि हेर्नुपर्ने हुन्छ र यस अदालतले तदनुरुप हेरि आएको पनि छ । भारतीय अभ्यासलाई हेर्दा त कानून मै यस बारे व्यवस्था गरिएको पाईन्छ । Indian Evidence Act 1872 को दफा 3 consideration of proved confesdsion affecting person making it and others jointly under trial for same offence–when more persons than one are being jointly for the same offence, and a confession made by one of such persons offecting–himself and some other of such persons is proved, the court may take into consideration such confession as against such other person as wlle as against the person who makes such confession. एकै अपराधमा एक साथ अभियोग लगाइएको कुनै अभियुक्तले आफू सावित भएको अपराधमा अर्को अभियुक्तलाई पोल गरी बयान गर्दछ भने न्याय निरुपणमा त्यस्तो भनाईलाई पनि मध्यनजर राखी विचार गर्न हुन्छ भन्ने भारतीय प्रमाण कानूनको व्यवस्था रहेको देखिन आउँछ । सहअभियुक्तको पोललाई आधारभूत वा सारभूत प्रमाणको रुपमा नलिई अतिरिक्त वा थप (Additional) प्रमाणको रुपमा लिइने गरिन्छ । त्यसैले यसलाई (Inferior) कमजोर प्रमाणको संज्ञा दिइएको पाईन्छ जो आफैमा मुद्दाको जग (Foundation) हुन सक्दैन । सहअभियुक्तको पोलकै आधारमा कसूर स्थापित हुन सक्दैन, अरु प्रमाणलाई सपोर्टसम्म गर्ने हो भनिएको छIt can not be used to fill up a gap in the evidence against him. It can be used to support other evidence. The court can only treat a confession as lending as surance to other evidence against a co–accused. The confession of a co–accused stands on a lower footing than the statement of an coomplice, which is made on oath and is tested by cross–examination. The confession of one co–accused can not corroborate the confession of another co–accused, as against a non–confessing accused. जस्ता सिद्धान्तहरु भारतीय अभ्यासमा अपनाइएको र विकसित गरिएको पाईन्छ । (Principles and Digest of the Law of Evidence–Chief Justice : M. momr Page 376, 377, 382)

४३.   उपरोक्त विश्लेष्ण, सैद्धान्तिक धरातल एवं अदालती अभ्यास समेतबाट विचार गर्दा सहअभियुक्तको पोललाई प्रमाण लिने वा लगाउने सम्बन्धमा निम्न बमोजिमको अवस्था र परिस्थितिको मूल्याङ्कन गरी विचार गर्नु उपयुक्त एवं वान्छनीय देखिन्छ  :-

१.     एकै साथ सहअभियुक्तहरु मुद्दामा पूर्पक्ष गरिएको अवस्था हुनुपर्ने, (A statement made by one of two co–accused should not be used against the other, where later on their cases are tried separately.)

२.    कसूदारमा सावित भै अरुलाई सोही कसूरमा पोल गरेको हुनुपर्ने, (The expression as same offence” means the indentical offence and not an offence of the same kind. It means offences falling within the same definition and arising out of the same transaction.)

३.    एउटा कसूरमा सावित हुनेले अर्को कसूरमा अरुलाई पोल गरेको नमिल्ने,

४.    आफू कसूरमा इन्कार भै एकै अर्कालाई पोल गरेको हुन नहुने,

५.    पोल गर्ने सहअभियुक्तको मृत्यु भएकोमा पनि निजको भनाइलाई विचार गर्न सकिने,

६.    सहअभियुक्तको पोललाई आधारभूत एवं सारभूत (Substantive) प्रमाणको रुपमा लिन नमिल्ने, मुद्दाको जग (Foundation) अर्थात् यसकै आँडमा कसूर प्रमाणित भएको मान्न नमिल्ने,

७.    अन्य आधारभूत स्वतन्त्र प्रमाणहरुबाट वारदात वा कसूर कायम हुन सक्ने स्थितिमा मात्रै सहअभियुक्तको पोललाई थप निश्चयका लागि प्रमाणमा लिन सकिने हुन्छ ।

८.    एउटा सहअभियुक्तको पोलले अर्को सहअभियुक्तको पोललाई समर्थन (Corroborate) गरेको मान्न नमिल्ने,

९.    कसूर वा वारदात कायम गर्दा सहअभियुक्तको पोललाई अन्य प्रमाणले समर्थन गरेको भन्ने आधारमा हैन कि अन्य निश्चयात्मक प्रमाणको आधारमा वारदात वा कसूर कायम हुन सक्ने अवस्था भएमात्र सहअभियुक्तको पोललाई विचार गरिने ।

१०.    सहअभियुक्तको पोललाई समर्थनको (Supportive) रुपमा मात्र लिनुपर्ने,

११.    अर्कालाई पोल गर्ने सहअभियुक्तको गैर न्यायिक (प्रहरीमा भएको) सावितीलाई निजका विरूद्ध प्रमाणमा लिए नलिएको आधारमा मात्रै निजको पोललाई विचार गर्नुपर्ने ।

१२.   गैरन्यायिक साविती र न्यायिक निकाय समक्ष भएको सावितीको पोललाई सोही अनुपातमा प्रामाणिक मूल्यलाई फरक राखी हेर्नुपर्ने ।

४४.   तेश्रो प्रश्न रहेको छपुनरावेदक प्रतिवादहिरु मृतक दिल वहादुरलाई कर्तव्य गरी मार्नमा संलग्न भएका हुन् होइनन् ? र निजहरुलाई पुनरावेदन अदालतले ज्यान सम्बन्धीको १३(३) नं.बमोजिम जन्मकैद हुने ठहर्याएको फैसला मिलेको छ, छैन ? पहिले पुनरावेदक प्रतिवादी खेमवहादुर महतकै सम्बन्धमा विचार गर्दा निज वारदातस्थलमा गएको कुरालाई स्वीकार गरी बयान गरेको देखिन्छ । त्यस कुरामा विवाद छैन । आफूले चोट नछाडेको भन्ने निजको भनाई छ । परन्तु आफूले चोट नछाडेको भन्ने र कोठा बाहिर बसे भन्नु निजको भनाईको विश्वसनीयता नदेखाउने प्रवृत्ति  देखिन्छ । अरु कोठा भित्र पसी कुटपिट गर्ने उ किन बाहिर बसेको भन्ने कुरा स्पष्ट   छैन । निजको प्रत्यक्ष संलग्नता नभए जाहेरी दिनुपर्ने र इमान्दारीपूर्वक सत्य उद्‌घाटन गर्नुपर्ने, सो को अभाव देखिन्छ । त्यसैले पनि यस्तो परिस्थिति र अवस्थाबाट निजले छुटकारा पाउने अवस्था देखिंदैन । मृतक दिलवहादुरको मृत्यु कर्तव्यबाट भएको कुरालाई पोष्टमार्टम लगायतका प्रमाणहरुले पुष्टि गरी रहेकै पाईन्छ । तसर्थ, निजलाई निजलाई ज्यान सम्बन्धीको १३(३) नं.अनुसार जन्मकैद हुने ठहर्‍याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखियो ।

४५.   अब पुनरावेदक प्रतिवादीहरु देवु महत र रामशरण महतका सम्बन्धमा विचार गर्दा निजहरु प्रहरी र अदालतमा इन्कार रही बयान गरेको छन् । जोहरी वा अन्य कुनै प्रत्यक्ष प्रमाण खुल्न आएको पाइदैन । घटना घट्नु वा कसैको ज्यान जानु एउटा कुरा हो, कसैलाई पनि आधारभूत सवूद प्रमाण बिना कसूरदार ठहराउनु न्यायोचित  हुँदैन । यिनीहरुका विरूद्ध सहअभियुक्त भनिएको प्रतिवादी खेम वहादुर महतको भनाईलाई अघि सारिएको छ । कोठा बाहिर बस्ने भनिएको व्यक्तिले कसले के गर्यो भन्ने खुलाएको पाइदैन र निजको भनाई आफैमा अस्पष्ट र संदिग्ध छ । त्यसैले निजलाई सहअभियुक्तको कोटिमा राखेर हेर्ने कुरा पनि विचारणीय छ । अन्य कुनै स्वतन्त्र आधारभूत प्रमाणले यी प्रतिवादीहरु वारदातमा संलग्न भएको कुरा पुष्टि गर्दैन । त्यसैले प्रतिवादी खेमवहादुर महतको संदिग्ध प्रकृतिको अस्पष्ट पोलकै आधारमा यी पुनरावेदकहरुलाई कसूरदार ठहराउनु न्यायोचित्त नहुने हुँदा यी प्रतिवादी देवु महत र रामशरण महतलाई कसूरदार ठहराई ज्यान सम्बन्धीको १३(३)नं.अनुसार जन्मकैद हुने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा सो हदसम्म उल्टी भै निजहरुले सफाई पाउने ठहर्छ । निज प्रतिवादीहरु रामशरण महत र देवु महतलाई थुना मुक्त गरी दिनु भनी आज यसै इजलासबाट छुट्टै आदेश भै कारागार शाखा नख्खु ललितपुरमा लेखी पठाइसकेको हुँदा अरु केही गरिरहनु  परेन । मिसिल नियमानुसार वुझाई दिनु ।

           

उक्त रायमा म सहमत छु ।

 

न्या.शादारप्रसाद पण्डित    

इजलाश अधिकृत श्री कृतवहादुर वोहोरा

 

ईति सम्बत् २०६३ साल कार्तिक १५ गते रोज ४ शुभम्–––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु