शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७६७ - ठगी

भाग: ४८ साल: २०६३ महिना: पौस अंक:

निर्णय नं.  ७७६७   ने.का.प. २०६३     अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत

माननीय न्यायाधीश  श्री ताहिरअलि अन्सारी

सम्वत २०५९ सालको फै.पु.नं. २७१२, २९५८, २९८९

फैसला मितिः २०६३।२।३१।४

 

मुद्दा : ठगी ।

 

पुनरावेदक / वादी मनवहादुर गुरुङको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी / प्रतिवादीः झापा जिल्ला गोलधाप गा.वि.स. वडा नं. ६ मा घर भई हाल चारपानेमा डेरा गरी वस्ने इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल समेत

 

पुनरावेदक र प्रतिवादीः ओखलढुङ्गा जिल्ला गोगने गा.वि.स. वडा नं. ९ घर भै हाल झापा जिल्ला अनारमनि गा.वि.स. वडा नं. ८ वस्ने विष्णुमणि वस्नेत

विरुद्ध

प्रत्यर्थी र वादीः मनहादुर गुरुङको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक र प्रतिवादीः झापा जिल्ला गोलधाप गा.वि.स. वडा नं. ६ घर भै हाल ऐ. चारपाने गा.वि.स. वडा नं. १ वस्ने इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल

विरुद्ध

प्रत्यर्थी र वादीः मनवहादुर गुरुङको जाहेरीले नेपाल सरकार

 

§  विगो भराउने गरी भएको फैसलाको कार्यन्वयनमा कसूरदार एकजना मात्रै वा सो भन्दा वढी जतिसुकै भएतापनि विगोको परिमाणमा कुनै अन्तर आउने अवस्था नरहने ।

§  एक जना मात्र कसूरदार भएमा एक्लैले सवै विगो भराउनु पर्ने हुन्छ भने धेरै जना कसूरदार भएमा जसले जती विगो लिए खाएको देखिन आउँछ त्यती विगो र त्यसरी अलग अलग परिमाण विगो लिए खाएको देखिन नआएमा दामासाहीले विगो भराउन पर्ने दायित्व प्रतिवादीहरुको रहने ।

(प्रकरण नं.३०)

§  सजाय सम्न्धी कुनैपनि कानूनी प्रावधानको व्याख्या गर्दा ऐनको नौट र विधायिकाको मनसायलाई मध्यनजर राख्नुपर्ने हुन्छ । प्रत्येक फौज्दारी अपराधको प्रकृति फरक हुन्छ र अपराधको प्रकृति अनुसार विधायिकाले निर्धारित गरेको सजाय गर्नु वा निर्धारित सीमा भित्र रही सजाय गर्ने काम निर्णयकर्ताको हुने ।

§  कसूरदार एउटै व्यक्ति भएमा उपरोक्त जरीवाना उसैलाई हुन्छ भने एक भन्दा वढी कसूरदार भएमा सोही सजाय दामासाहीबाट हुने कुरा निश्चित र स्पष्ट छ । यसर्थ ठगीको ४ नं अनुसारको जरीवाना र कैद प्रतिवादीहरुलाई जनही हुनुपर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर मनासिव नदेखिने ।

(प्रकरण नं.३१)

 

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइराला

अवलम्वित नजीरः

 

फैसला

न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत इलामको फैसला उपर यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य र ठहर निम्नानुसार छ :-

२.    म भारतमा अलैची अदुवाको खेती गरी वस्ने गरेको थिए । प्रतिवादी इन्द्रप्रसाद नेपाल वेला वखतमा म भएको ठाउमा आउने जाने गर्दथ्यो । निजले मलाई नेपालमा घर जग्गा किन्नु हुन्छ भने मिलाई दिन्छु भनेकाले मलाई पनि किन्ने विचार भै २०५७।२।७ गते विर्तामोडमा आई निज सँग भेटी चारपाने १ स्थित आंखा अस्पताल अगाडिको मैले नचिनेको मानिसको घर जग्गा देखाई सो घर जग्गाको वैना वट्टा गर्ने भनि २०५७।२।१२ गते ४.०० वजेको समयमा विर्तामोड स्थित होटल ताज एण्ड लजमा वसी म सँग भएको भारतीय रु. ५००।दरको नोट रु. १,००,०००।एक लाख रुपैया लिनु दिनु गरी रहेको अवस्थामा निजहरुको पूर्व योजना अनुसार प्रतिवादी विष्णु मणि वस्नेत प्रहरी पोसाक लगाई हामी वसेको कोठामा आइृ प्रतिवादी इन्द्र नेपाल र नरवहादुर वि.के. लाई कुटपीट गरे जस्तो वहाना वनाई उक्त रकम लिई तिनै जना वाहिर निस्की गए । मलाई लिखत समेत नगरी मेरो उक्त रकम निजहरुले ठगी गरेको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

३.    झापा चारपाने १ स्थित पूर्व मधुकर सुवेदीको घर, पश्चिम कटुवाल वाजेको घर, उत्तर चुडामणिको घर र दक्षिण वालकृष्ण निरौलाको घर यति ४ किल्ला भित्रको घरमा सन्जीव श्रेष्ठ भाडामा बसेको कोठाको भित्र पलङ्ग सिरानीमा इन्द्रप्रसाद नेपालले राख्नु दिएको भारतीय दरको रु. ५००।दरको नोट ७७ थान रु. ३८,५००।वरामद भएको घटनास्थल विवरण मुचुल्का ।

४.    अनारमनि ८ स्थित पूर्वमा राजेश खडकाको घर, पश्चिममा विर्तामोड, विर्तावजार जाने बाटो, उत्तरमा मनकुमार गुरुङको घर दक्षिणमा खड्गवहादुरको घर यति ४ किल्ला भित्र नन्द वस्नेतको घरमा प्रतिवादी विष्णुमणि वस्नेतले ठगी गरी ल्याएको भारतीय दरको ५००।को २४ थानको भारतीय रु. १२,०००।वरामद भएको वरामदी मुचुल्का ।

५.    शनिश्चरे ६ स्थित पूर्वमा नरवहादुर वि.के.को घर पश्चिममा शनिश्चरे जाने बाटो उत्तरमा टंक आङवाङको घर दक्षिणमा हरिलाल लिम्वुको घर यति ४ किल्ला भित्र प्रतिवादी नरवहादुर वि.के.को घर उतm घर भित्र पलङ्गको सिरानी मुनि प्रतिवादी नरवहादुर वि.के. ले ठगी गरी ल्याएको भारतीय ५००।दरको ८७ थानको रु. ४३,५००।वरामद भएको वरामदी मुचुल्का ।

६.    अनारमुनि ४ स्थित पुर्वमा राजकुमार पोख्रेलको घर, पश्चिममा दिलिप खडकाको घर उत्तरमा पूर्व पश्चिम राजमार्ग दक्षिणमा राजकुमार पोख्रेलको घर यति ४ किल्ला भित्र प्रतिवादीहरुले भारतीय रु.५००।दरको नोट २००।थान ताज होटल एण्ड लजको कोठा नं.१०६बाट गरी लगेको घटनास्थल मुचुल्का ।

७.    इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल र जाहेरवालाको पहिला देखि चिनजान भएकाले नेपालमा जग्गा किन्नु पर्नेछ भनेको रहेछ । इन्द्रप्रसादले जग्गा खरिद गर्ने कुरा मसँग गरेकोले त्यो जग्गा खरिद गर्ने मानिस आएपछि म सँग भेटाई दिनु म हातको खेलबाट उक्त रुपैया डव्वल नाई दिन्छु र निजलाई घर जग्गा किनवेचको वहाना वनाई निजको रुपैया ठगी गर्नु पर्छ भनी सल्लाहा भयो । यस्तैमा जाहेरवाला २०५७।२।७ गते भारत अरुणाचल प्रदेशबाट विर्तामोड आई इन्द्रप्रसादलाई भेटी मलाई खवर गरे । म समेत आई २०५७।२।१२ गते घर जग्गाको वैना वट्टा गर्ने सहमति भयो । ताज होटल एण्ड लजमा वसी जगगाको वैनावट्टा गर्न भनि जाहेरवालाले भारतीय दरको ५००।को नोट २०० थान रु.१,००,०००।निकाली इन्द्रप्रसाद नेपाललाई दिएका मात्र थियौं । पूर्व योजना अनुसार विष्णु मणि वस्नेत प्रहरीको पोसाक लागाई आई हामी बसेको ठाउँमा कुटेको जस्तो वहाना वनाइ २।२ थप्पड गालामाहानेपछि उक्त रुपैया वोकी हामी भाग्यौं । विष्णुमणिलाई ५०० दरको २४ वटा दिइ हामी चारआलीको जंगलमा गै उक्त रुपैया वण्डा गरी आफ्ना घर गएका हौं । घर जग्गा किनि दिन्छौं भनी रु.१,००,०००।भारतिय रुपैया ठगी गरी लगेको हो भन्ने समेत व्यहोराको अभियुक्त नरवहादुर वि.के. ले प्रहरीमा गरेको वयान ।

८.    जाहेरवालासँग भारत अरुणाचल प्रदेशमा चिनजान भई मितेरी साइनोले काका हुनुहुन्छ । निजसँग भेटघाट हुँदा नेपालमा घर जग्गा किन्छौं भनेकोले हुन्छ आउनु म किनाइ दिन्छु भनेको थिएं । नरवहादुर वि.के.सँग १ वर्ष अगाडि देखि चिनजान थियो । ०५७।२।७ गते जाहेरवाला मनवहादुरले पैसा लिई आएको हुँदा मैले सो कुरा नरवहादुर वि.के. लाई भनि चारपानेको आँखा अस्पतालको अगाडिको घर जग्गा समेत हामीले देखायौं । पुर्व चिनजान भएको विष्णु मणि वस्नेतला भेटी योजना वनाई ०५७।२।१२ गते दिउंसो ४ वजेको समयमा होटलमा वसी जाहेरवालासँग भएको भारतीय रकम रु. १,००,०००।निकाली पैसा डवल वनाउने वहाना वनाई विष्णुमणि प्रहरी ड्रेस लगाई हामी भएको कोठामा आई नरवहादुर वि.के. र मलाई पक्राउ गरे जस्तो वहाना वनाइ हामी तिनै जनाले उक्त रकम ठगी गरी लिई गएका हौं । मेरो भागमा भारतिय रु. ५००।दरको नोट ७७ थानको भा.रु. ३८,५००।र्यो भन्ने समेत व्यहोराको प्र. इश्वरी भन्ने इन्द्रप्रसाद नेपालले प्रहरीमा गरेको वयान कागज ।

९.    जाहेरवालालाई चिन्दीन । इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.के.लाई म केही समय अगाडि देखि चिन्दथें । यस्तैमा आज हाम्रो सानो कारोवार छ तपाईले सहयोग गरी दिनु पर्यो भने पछि के कस्तो काम छ भनी भन्दा एकजना मानिससँग लेनदेन व्यवहार छ । निजसँग पैसा लिनु पर्ने माग्दा दिदैन । हामी होटल ताज एण्ड लजमा वसी रहेका हुनेछौं । तपाँई प्रहरीको ड्रेस लगाई आई हप्काई दिए जस्तो गर्नुहोस । हाम्रो काम भएमा तपाईलाई रु. १२,०००।भारतीय रुपैंया दिन्छौं भनी भनेकोले सो दिन म अं. १९.०० वजेको समयमा आफ्नो कोठाबाट प्रहरी ड्रेस लगाई उक्त होटलमा जाँदा होटल कोठामा निजहरु बसी रहेका रहेछन । म त्यहा गै तिमीहरु के हो ? किन यहां वसेको भनी भने पछि प्रतिवादी इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.के. त्यहाबाट भागी गएं । त्यहा २ जना मानिसहरु वसी रहेका थिए। म त्यंहाबाट निस्की घर कोठा तर्फ आउदै गर्दा निजहरु दुवै जनालाई बाटोमा भेट भयो । पछि हाम्रो काम भयो, तपाई लिनुहोस भनि ५००।दरका २४ थान भारतीय नोट लिएको हुँ । जाहेरवालाको रकम हो वा होइन थाहा भएन । मैले आफुले ठगी गरेको होइन भन्ने समेत व्यहोराको अभियुक्त प्र.ह. विष्ण मणि वस्नेतले प्रहरीमा गरेको वयान कागज ।

१०.    जाहेरीमा उल्लेखित मिति समयमा म जाहेरवालासँग नै थिएं । जाहेरवालासँग २० वर्ष अगाडि देखि भारतको अरुणाचल प्रदेशमा खेति गरी वस्तै आएको हो । यस्तैमा जाहेरवालाले नेपालमा घर जग्गा लिने विचार गरेकाले विर्तामोड जारमा मितेरी नाताको भतिजो ज्वाई पर्ने इन्द्रप्रसाद नेपालले घर जग्गा हेरी दिन्छु भनि भनेकाले हामी दुवै जना विर्तामोड आई इन्द्रप्रसादको घरमा २०५७।२।११ गते वास वस्यौं । विहान भएपछि घर हेरेर वैनावट्टा गर्नु पर्छ भनी हामी चोक तर्फ आउदै गर्दा चोकमा नरवहादुर वि.के.सँग भेट भयो । सँगै होटल ताजमा गई जग्गाको वैना गर्ने भनी इन्द्रप्रसाद नेपालले भनेको हुँदा मनवहादुर गुरुङले भा.रु. १,००,०००।लिई होटलमा गएकोमा प्रतिवादीहरुले ठगी गरी लिइ गएको हो भन्ने समेत व्यहोराको दिलवहादुर घिसिङ तामाङले प्रहरीमा गरेको कागज ।

११.    जाहेरीमा उल्लेख भएको मितिमा म आफ्नै होटलमा थिए । इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.के. समेत आई बास्न भनि कोठा भाडामा लिई सेका थिए । सो अवस्थामा मैले तत्काल नचिनेका जाहेरवाला मनवहादुर गुरुङ निजकै साथी दिलीप घिसिङ इन्द्रप्रसाद नेपाल नरवहादुर वि.के. उक्त कोठामा वसी वियर मगाई खाइ वसेका थिए । सोही अवस्थामा विष्णु मणि वस्नेत प्रहरी ड्रेसमा आई कोठामा गई इन्द्रप्रसाद र नरवहादुर वि.के. लाई यहा किन सेको भनि हप्काई लछार पछार गरी कोठाबाट वाहिर निकाली सोध्दा यिनीहरु फटाहा हुन भने । जाहेरवाला मनवहादुर गुरुङले मसँग भएको रु.१,००,०००।घर जग्गा खरिद गरी दिने भनी ठगी गरी लगे भन्दा थाहा भएको हो भन्ने होटलका प्रोप्राइटर पदम प्रसाईले प्रहरीमा गरेको कागज ।

१२.   जाहेरीमा उल्लेख भएको मितिमा इन्द्रप्रसाद नेपालले म भद्रपुर जान लागेको पैसा वोकेर जान हिंड्न अप्ठ्यारो भयो राखी देउ भन्दा भा.रु. ३८,५००।मैले राखी दिएको हुँ भन्ने संजिव श्रेष्ठले प्रहरीमा गरेको कागज ।

१३.   इन्द्रप्रसाद नेपाल, नरवहादुर वि.के. र विष्णु मणि वस्नेतले जाहेरवालाको रु. १,००,०००।ठगी गरी भागी गए भन्ने सुनेको हो भन्ने अग्नी प्रसाई, माधव निरौला र गणेश गौतमले प्रहरीमा गरेको कागज ।

१४.   वुझिएसम्मको सवुद प्रमाणबाट प्रतिवादी इन्द्रप्रसाद नेपाल, नरवहादुर वि.के.ले जाहेरवालालाई घर जग्गा किन्न वैना वट्टा गर्न भनी होटल ताजमा पैसा निकाल्न लगाई सो रुपैया लिई पतिवादीहरुको पुर्व सल्लाह अनुसार प्र.ह. विष्णु मणि वस्नेतले युनिफर्म सहित त्यहा गै पक्राउ गर्न खोजे जस्तो गरी तिनै जना प्रतिवादीहरुले जाहेरवालाको भारु. १,००,०००।को नेरु १,६०,०००।ठगी गरेकोले मुलुकी ऐन, ठगीको १ नं. को कसूरमा सोही ऐनको ४ नं. अनुसार सजाय गरी वरामद नभएको भा.रु . ६,०००।को ने.रु. ९,६००।जाहेरवालालाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

१५.  इन्द्रप्रसाद र जाहेरवालाको नाता पर्दो रहेछ । जाहेरवाला भारतबाट नेपाल आउंदा निज इन्द्रप्रसादकै घरमा वस्ने गर्नु हुन्थ्यो । जाहेरवालालाई नेपालमा घर जग्गा खरिद गर्ने विचार भएको कुरा इन्द्रप्रसादले मलाई भन्नु भएको थियो । इन्द्रप्रसादको आफन्त पर्ने मानिसको विर्तामोडमा ०० जग्गा ६ लाख पचास हजारमा खरिद गर्ने भई निज जाहेरवालालाई इन्द्रप्रसादले लिन गई ल्याएका हुन् । २०५७।२।१२ गतेका दिन इन्द्रप्रसादको डेरामा जाहेरवाला इन्द्रप्रसाद समेत भई कुराकानी भई जाहेरवालालाई जग्गा खरिद गरी दिने भनि रु.१,००,०००।– (एकलाख) लिएको ९४ हजार मात्र रहेछ । सो पैसा इन्द्रप्रसादले लिएपछि म फोन गर्न चोक तर्फ आएं । इन्द्रप्रसाद पनि मलाई खोज्न आउनु भएछ । हामीहरु दुवैजना त्यँहाबाट हिंडेपछि यिनीहरुले ठगी गरे भनि जाहेरवालले जाहेरी दिएछन् । ठगी गरेको होइन जग्गा खरिद गर्न भनि वैनाको लागी लिएको रुपैया हो । प्रहरीमा भएको कागज आफ्नो स्वेच्छाले गरेको होइन भन्ने समेत व्यहोराको प्र. नरवहादुर विश्वकर्माले अदालतमा गरेको वयान ।

१६.    जाहेरवाला भारत अरुणाचल प्रदेशमा वस्नु हुन्छ । २०५६ सालमा नेपालमा जग्गा खरिद गर्ने विचार छ भन्नु भएको थियो । जाहेरी दिनु भन्दा ७ दिन अगाडि भारतबाट आई मेरो घरमा वस्नु भएको थियो । मेरो काका रुद्रप्रसाद नेपालको १ कट्ठा जग्गा रु. ६ लाख पचास हजारमा किन्ने भई जाहेरवालाले रु. १ लाख वैना भनि दिएका हुन । ९४ हजार भा.रु. मात्र रहेछ । त्यस अवस्थामा नरवहादुर वि.के. पनि थिए । म बजार गर्न चोक तिर आएँ । नरवहादुर वि.के. पनि आफ्नो घर तिर लागे । जाहेरवाला मेरै घरमा थिए । म वजारबाट फर्किदा जाहेरवाला घरमा थिएनन । प्रहरीमा गै ठगी भयो भनि उजुर गरेछन् । विष्णु मणि वस्नेतलाई चिन्दीन, जाहेरवालाबाट लिएको वैनाको रकम मध्ये आधा नरवहादुरलाई दिएको हुँ । ठगी गरेको होइन भन्ने समेत व्यहोराको प्र. इन्द्रप्रसाद नेपालले अदालतमा गरेको वयान ।

१७.   म सोलुखुम्वु जिल्लाको किन्जा प्रहरी चौकीमा हवलदार पदमा कार्यरत छु । आमा विरामी भएको खवर पुगेपछि मैले आफ्नो कार्यालयबाट २०५७।१।१४ गते देखि १५ दिनको विदा लिई हाल सम्म वसेको छु । मैले जाहेरवालालाई चिनेको छैन । अरु प्रतिवादीहरुलाई पनि चिनेको थिइन । २०५७।२।१२ गतेका दिन म समेत आफ्नो डेरामा बसी राखेको थिए । मैले कुनै होटलमा वर्दी लगाई गएको पनि होइन । उक्त होटल  मलाई थाहा छैन । म सँग प्रहरी वर्दिको पोसाक पनि छैन । पैसा कहाबाट वरामद गरे त्यो पनि थाहा छैन । प्रहरीमा भएको वयान कागज मेरो स्वइच्छाले गरेको होइन । मलाई कुटपीट गरेर गराएको वयान कागज हो । मैले ठगी गरेको होइन भन्ने समेत व्यहोराको प्र. विष्णु मणि वस्नेतले अदालतमा गरेको वयान ।

१८.   २०५७।२।१२ गते प्रतिवादीहरुले ठगी गरेका हुन भन्ने जाहेरवालाले गरेको वकपत्र । शुरु अदालतको आदेशानुसार प्र. विष्णु मणिका साक्षी केदार पोख्रेल, नरवहादुर वस्नेत , प्र.नरवहादुर वि.के.का साक्षी पुन्यप्रसाद भट्टराई, गोपाल दाहाल, प्र.इन्द्रप्रसाद नेपालका साक्षी पूर्ण मैनालीको वकपत्र मिसिल सामेल रहेको ।

१९.    जाहेरवालाबाट वैना वापत रुपैया लिएको कुरा प्रतिवादीहरु तथा निजका साक्षीहरुबाट व्यक्त भएको पाइन्छ । प्रतिवादीहरुले अदालतमा गरेको इन्कारी वयान निजका साक्षी प्रमाणबाट समर्थित भएको देखियो । वादी पक्षले अभियोग दावी पुष्टी गर्ने कुनै प्रमाण पेश दाखिल गर्न सकेको देखिदैन । दावी प्रमाणीत हुने भरपर्दो प्रमाण आउन नसकेको आधारमा प्रतिवादीहरु इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल, नरवहादुर विश्वकर्मा र विष्णुमणि वस्नेतले सफाई पाउने भै निज प्रतिवादीहरु उपरको अभियोग दावी पुग्न सक्दैन भन्ने झापा जिल्ला अदालतको मिति २०५८।५।४।१को फैसला ।

२०.   प्रतिवादीहरुलाई आरोपित अभियोग दावीबाट सफाई दिने ठहयाएको फैसलामा चित्त वुझेन । जाहेरवालाले आफ्नो मौकाको जाहेरीलाई समर्थन गर्दै अदालतमा गरेको वकपत्रलाई प्रमाणमा ग्रहण गरिएन । जुन जग्गाको वैना वापत लेनदेन भएको छ सो जग्गाको वैनावापतको रकम लिने यी प्रतिवादीहरुको कानूनी हैसियत छैन । प्रतिवादीहरुले गरेको अपराधको गाम्भिर्यताका आधारमा कसूरदार ठहर्याउनु पर्ने हुन्छ । प्रतिवादीहरुको वयान एक अर्कामा विरोधाभाषपूर्ण रहेको अवस्थामा प्रतिवादीहरुलाई अभियोग दावी वमोजिम सजाय गर्नुपर्नेमा सफाई दिएको त्रुटीपूर्ण फैसला वदर गरी अभियोग दावी वमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।

२१.   मौकामा वयान गर्दा प्रतिवादी आरोपित कसूरमा सावित भएको र जाहेरवालाले अदालतमा समेत आई गरेको वकपत्रबाट वादी दावी समर्थित भै रहेको स्थितिमा प्रतिवादीहरुलाई सफाई दिने ठहर्याएको शुरुको इन्साफ फरक पर्ने हुँदा छलफलका लागी अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाइ पेश गर्नु भन्ने पुनरावेदन अदालत इलामको आदेश ।

२२.   प्रतिवादीहरु उपर किटानी जाहेरी, जाहेरवालाको अदालत समक्षको वकपत्र, ठगी गरेको रकम वरामद भएको तथा प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्षको साविति वयान समेतबाट प्रतिवादीहरुले अभियोग दावी वमोजिम ठगी गरेको देखिएकाले प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने गरी शुरु झापा जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिदा उल्टी भै प्रतिवादीहरु इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल, नरवहादुर वि.क. र विष्णु मणि वस्नेतलाई अभियोग दावी अनुसार मुलुकी ऐन ठगीको ४ नं. अनुसार दामासाहीले विगो वमोजिम जरिवाना र ३ वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको फैसला ।

२३.   मुलुकी ऐन ठगीको ४ नं. मा ठगी गर्नेलाई विगो वमोजिम जरिवाना र कैदको सजाय हुने व्यवस्था भएकोमा पुनरावेदन अदालत इलामबाट प्रतिवादीहरुलाई ठहरेको जरिवाना र कैदलाई दामासाहीले वांडी भएको फैसला सर्वोच्च अदालतबाट प्रतिपादीत सिद्धान्त विपरीत र सँगठित रुपमा धेरै अपराधी मिली गरेको अपराधमा कम सजाय हुने गरी व्याख्या भएकाले दामासाही गरेको हदसम्म पुनरावेदन अदालत इलामको फैसला उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।

२४.   जाहेरी स्वयमंमा प्रमाण होइन । जाहेरीको व्यहोरा अन्य प्रमाणबाट पुष्टि भएको छैन । मलाई प्रहरीको पोशाक लगाई आएको भन्ने अभियोग भएतापनि प्रहरीको पोशाक वरामद हुन सकेको छैन । रुद्र नेपालले इन्द्र नेपाललाई जग्गा वैना वट्टा गर्ने अख्तियारी दिएको थिए भनि अदालतमा बकपत्र गरेका छन । प्रहरीमा गरिएको भनिएको कागजात मलाई जर्वजस्ती कुटपीट गरी सही गराइएको हो । वरामदी, मुचुल्का पनि प्रहरी कार्यालयमा नै जर्वजस्ती कुटपीट गरी सही छाप गराएको हो । प्रमाणमा लिनै नमिल्ने उपरोक्त प्रमाणहरुलाई आधार लिई गरेको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुदा वदर गरी शुर झापा जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका विष्णु मणि वस्नेतको यस अदालतमा परेको पुनरावेदन ।

२५.   पुनरावेदन अदालत इलामले जाहेरी र अधिकार प्राप्त अधिकारी समक्षको साविती वयानलाई मात्र आधार मानी हामीहरुलाई कसूरदार ठहर गरेको छ । जाहेरीको व्यहोरा जाहेरवालाले अदालतमा आई वकपत्र गरेर पुष्टि गर्न सकेका छैनन । जग्गावाला रुद्रप्रसाद नेपालको अदालतमा भएको वकपत्रबाट वैना वापत रुपैया लिनुदिनु भएको तथ्य स्थापित भैरहेको छ । प्रहरीमा कुटपीटबाट जर्वजस्ती साविति वयान गराइएको हो । वरामदी मुचुल्का समेत काल्पनिक रुपमा खडा गरीएको अवस्थामा प्रमाणको गलत विवेचना गरी कसूरदार ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुदा उल्टी गरी शुरु झापा जिल्ला अदालतको फैसला सदर गरी पाँउ भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रप्रसाद नेपालको यस अदालतमा परेको पुनरावेदन ।

२६.   नियम वमोजिम मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइरालाले ठगीको ४ नं. अनुसार कैद र जरिवाना गर्दा जनही विगो वमोजिम कैद र जरिवाना हुन पर्ने हो । कैद र जरिवाना दामासाहीले गर्दा सगठित रुपमा अपराध गर्नेलाई कम सजाय पर्न जान्छ । दामासाहीले सजाय गर्ने गरेको हदसम्म पुनरावेदन अदालत इलामको फैसला उल्टी हुनुपर्छ भनि गर्नु भएको वहस जिकिर समेत सुनि पुनरावेदन अदालत इलामको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखिन आयो ।

२७.   निर्णयतर्फ विचार गर्दा निम्न लिखित प्रश्नहरुमा निर्णय गर्नुपर्ने देखिन आउँछ ।

(१)    प्रतिवादीहरुले आरोपित ठगीको अपराध गरेका हुन वा होइनन्  ?

(२)   अपराध गरेको ठहरेमा प्रतिवादीहरुलाई ठगीको ४ नं अनुसार दामासाहीले वा जनही सजाय हुने हो ।

 

२८.   पहिलो प्रश्न तर् हेर्दा प्रतिवादीहरुले जग्गा वैना वट्टा गरिदिने भनि जाहेरवाला सँग एकलाख भारतीय रुपैंया ठगी गरेकोले मुलुकी ऐन ठगीको ४ नं. वमोजिम वरामद हुन वांकी रकमको विगो भराई ठगी गरेको रकमको विगो वमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी छ । शुरु झापा जिल्ला अदालतले अभियोग दावी पुग्न नसक्ने ठहर्‍याएको फैसला पुनरावेदन अदालतबाट उल्टी भइ प्रतिवादीहरुलाई दाममासाहीले विगो वमोजिम जरिवाना र कैद गर्ने ठहराए उपर वादी नेपाल सरकार तथा प्रतिवादीहरु विष्णुमणि वस्नेत र इन्द्रप्रसाद नेपालको यस अदालतमा छुट्टा छुट्टै पुनरावेदन परी पेश हुन आएको देखियो । प्रतिवादीहरु तिनैजनाले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा पूर्व योजना अनुरुप नै जाहेरवालालाई जग्गा वैना वट्टा गर्ने भनि होटलमा लगी प्रतिवादी इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.क तथा जाहेरवाला वीच रकम लिनु दिनु भईरहेको अवस्थामा प्रतिवादी विष्णुमणि वस्नेत प्रहरीको पोशाकमा आई अन्य प्रतिवादीहरुलाई हप्काइ दप्काइ गरी सवै प्रतिवादीहरु मिली रकम लिएर भागी गइ चारआलीको जंगलमा भेटी विष्णुमणि वस्नेतलाई रु.१२०००।भारतीय रुपैया दिई वाँकी दुई जनाले वांडी लगेको भनि कसूरमा साविति भै वारदातको विस्तृत विवरण खुलाई वयान गरेको देखिन्छ । अदालत समक्ष वयान गर्दा विष्णुमणि वस्नेतले आफु वारदातको मिति र समयमा वारदात स्थलमा नै उपस्थित नभएको भनि र प्रतिवादी हरु इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.क.ले जाहेरवालाले जग्गा खरीद गर्ने भनि वैनावट्टा वापत इन्द्रप्रसादले भारतीय रुपैया एक लाख भनी ९४ हजार लिएको सम्म हो । ठगी गरेको होइन भनि कसूरमा इन्कार रही वयान गरेको देखिएता पनि जग्गाको वैनावट्टा वापत रकम लिएको भन्ने प्रतिवादीहरुले वैनावट्टाको कागज देखाउन सकेको पाइदैन । वैनावट्टा वापत रकम लिनुदिनु गरेको भए वैनावट्टाको कागज गरी लिनु दिनु गरेको हुनुपर्नेमा सो गरेको देखिदैन । यी प्रतिवादीहरुले उनाउ व्यक्ति रुद्रप्रसाद नेपालको जग्गा देखाई वैनावट्टा गर्न सक्ने र पाउने अवस्था समेत रहंदैन । वैनावट्टा वापतको रकम लिएको भन्ने जिकिर लिने प्रतिवादीहरुले आफूहरुले लिएको रकमबाट १२,०००।भारतीय रुपैया प्रतिवादी विष्णुमणीलाई दिई वांकी रकम अन्य दुइ जना प्रतिवादीहरु इन्द्रप्रसाद नेपाल र नरवहादुर वि.क. ले वांडी लिनुपर्ने अवस्था पनि रहंदैन । प्रतिवादीहरु विष्णु मणि वस्नेतको घरबाट भारतीय रु.१२,०००।नरवहादुर वि.क.को घरबाट भारतीय रु.४३,५००।र इन्द्रप्रसाद नेपालबाट रु.३८,५००।वरामद भएको मिसिल संलग्न वरामदी मुचुल्काबाट देखिन्छ । प्रतिवादीहरुले ठगी गरेको होइन भनी वकपत्र गर्ने प्रतिवादीका साक्षीहरुले प्रतिवादीहरुबाट वरामद भै आएको भारतीय रुपैंया ठगी गरी ल्याएको होइन भनी किटानी लेखाउन सकेको अवस्था समेत छैन । जाहेरवालाले अदालतमा उपस्थित भै वरामद भै आएको नोट सनाखत गर्दा प्रतिवादीहरुले ठगी गरी लगेको नोट यही हो भनि सनाखत गरी जाहेरी व्यहोरा समर्थन हुने गरी वकपत्र गरेको समेत देखिन आएकाले प्रतिवादीहरुको अदालत समक्षको इन्कारी वयान मिसिल संलग्न तथ्यबाट पुष्टि हुन आएन ।

२९.   प्रतिवादीहरुले अदालत समक्ष उपस्थित भै गरेको वयानमा ठगीको आरोप इन्कार गरेपनि रकम वुझेको तथ्य स्वीकार गरेको देखिन्छ । यस्तो अवस्थामा प्रतिवादीहरुले ठगी गरेको होइन जग्गा विक्रि गर्न वैनावट्टा वापतको रकम वुझिलिएको हुँ भनी विश्वसनीय आधार प्रमाण देखाउन नसकेको मिसिलबाट देखिन आएको छ । समग्र सवुत प्रमाणको विवेचना गर्दा प्रतिवादीहरुले पूर्व योजना अनुरुप जाहेरवालालाई जग्गाको वैनावट्टा गर्ने झुठ्ठा कुरा गरी निजलाई झुक्यानमा पारी जाहेरवालाबाट भनी भारतीय रुपैंया १,००,०००।ठगी गरेको देखिन आएकाले अभियोग दावी पुग्न नसक्ने ठहराएको शुरु झापा जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग दावी वमोजिम कसूर ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । सफाई पाउनु पर्ने भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

३०.   जहाँसम्म प्रतिवादी हरुलाई ठगीको अभियोग ठहरगरी कैद र जरिवाना गर्दा जनही गर्नुपर्ने हो वा दामासाहीले गर्नुपर्ने हो सो सम्वन्धमा निर्णयार्थ दोश्रो प्रश्नतर् विचार गर्दा मुलुकी ऐन ठगीको ४ नं.मा ठगी गर्नेलाई ठगी लिएको विगो कायम भएमा हक पुग्नेलाई विगो भराई विगो वमोजिम र विगो कायम नभएमा पांचहजार रुपैंया जरिवाना र पाँच वर्ष सम्म कैद हुन्छभन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट मुलतः ठगीको कसूरमा (क) विगो भराउने (ख) विगो वमोजिम  जरिवाना गर्ने वा विगो नखुलेमा जरिवाना हुने र (ग) कैदको सजाय गरी तिन प्रकारको सजायको व्यवस्था गरेको देखिएतापनि अधिल्लो दुई अवस्था विगोमा नै आधारित भएर गरेको देखियो । विगो भराउने गरी भएको फैसलाको कार्यन्वयनमा कसूरदार एक जना मात्रै वा सो भन्दा वढी जति सुकै भएतापनि विगोको परिमाणमा कुनै अन्तर आउने अवस्था रहदैन । एक जना मात्र कसूरदार भएमा एक्लैले सवै विगो भराउनु पर्ने हुन्छ भने धेरै जना कसूरदार भएमा जसले जती विगो लिए खाएको देखिन आउँछ त्यती विगो र त्यसरी अलग अलग परिमाणमा विगो लिए खाएको देखिन नआएमा दामासाहीले विगो भराउन पर्ने दायित्व प्रतिवादीहरुको रहने तथ्य निर्विवाद छ । अव जरिवाना र कैदका हकमा जनहि विगो एकिन भएमा विगो वमोजिम र विगो एकिन नभएमा रु.५०००। सम्म  जनहि जरिवाना हुने हो वा दामासाहीले हुने हो र तोकिएको पाँच वर्षसम्मको कैद जनही हुने हो वा दामासाहीले हुने हो भन्ने सम्वन्धमा विचार गर्नुपर्ने देखिन्छ ।

३१.   सजाय सम्वन्धी कुनै पनि कानूनी प्रावधानको व्याख्या गर्दा ऐनको वनौट र विधायिकाको मनसायलाई मध्ये नजर राख्नु पर्ने हुन्छ । प्रत्येक फौज्दारी अपराधको प्रकृति फरक हुन्छ र अपराधको प्रकृति अनुसार विधायिकाले निर्धारित गरेको सजाय गर्नु वा निर्धारित सीमा भित्र रही सजाय गर्ने काम निर्णयकर्ताको हुन्छ । ठगीको ४ नं ले ठगीको कुनै वारदातबाट अदालतले गर्न सक्ने जम्मा सजायको व्यवस्था गरेको छ । सो अनुसार ठगीको कसूर ठहरेमा जम्मा विगो वमोजिम जरीवाना वा विगो कायम नभएमा रु ५०००। सम्म जरीवाना र जम्मा पाँच वर्ष सम्म कैद हुन सक्ने व्यवस्था हो । अर्थात कुनै पनि एक ठगीको कसूरमा विगो वमोजिम वा रु ५०००। सम्म जरीवाना भन्दा वढी जरिवाना र उपल्लोहद पाँच वर्ष भन्दा वढी कैद हुन नसक्ने ऐनले स्पष्ट व्यवस्था गरेको छ । उपरोक्त जरीवाना र कैद ठगी गर्ने कसूरमा संलग्न कुनै एक कसूरदारको लागी नभई ठगी गरे वापत हुने सक्ने जम्मा सजाय हो । कसूरदार एउटै व्यक्ति भएमा उपरोक्त जरीवाना उसैलाई हुन्छ भने एक भन्दा वढी कसूरदार भएमा सोही सजाय दामासाहीबाट हुने कुरा निश्चित र स्पष्ट छ । यसर्थ ठगीको ४ नं अनुसारको जरीवाना र कैद प्रतिवादीहरुलाई जनही हुनुपर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर मनासिव देखिन आएन। प्रतिवादहिरुलाई दामासाहीले विगो वमोजिम जरिवाना र तिन वर्ष कैदको सजाय हुने ठहर गरेको पुनरावेदन अदालत इलामको फैसलामा कुनै कानूनी त्रुटी नदेखिएकोले पुनरावेदन अदालत इलामको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ । दामासाहीले सजाय गरेको हदसम्म पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्ने भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार पठाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. वद्रीकुमार वस्नेत

इजलास अधिकृत : नहकुल सुवेदी

 

इति सम्वत २०६३ साल जेष्ठ महिना ३१ गते रोज ४ शुभम् ........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु