शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७७२ - जबरजस्ती करणी

भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १०

निर्णय नं. ७७७२    ने.का.प.२०६३       अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत २०५८ सालको फौ.पु.नं. : २७६१

फैसला मितिः २०६३।१०।८।२

 

मुद्दा : जर्वजस्तीकरणी ।

 

पुनरावेदक / वादी कृष्णहरी माकको जाहेरीले, नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी भक्तपुर जिल्ला भ.पु.न.पा. वडा नं. १ बस्ने दिपक तुलसी वाख्यो

 

§  प्रस्तुत विवादमा पीडित बालिकाले प्रारम्भमा गरेको कागज र पछि गरेको बकपत्रको अन्तर्वस्तुका आधारभूत कुराहरुमा सँगति देखिएकोले बालिकाको वकपत्रको प्रमाणिक महत्वलाई गौण बनाएर मूल्याङ्कन गर्नुपर्ने नदेखिने ।

(प्रकरण नं.२७)

§  समयमा दिएको जाहेरी दरखास्तबाटै वारदातस्थलको सूरक्षा, अपराध गर्ने व्यक्तिको खोजी वा पक्राउमा तदारुकता तथा अपराधसँग सम्बन्धित चिज, वस्तु वा दशी प्रमाणको संरक्षण र संकलनमा समेत सहयोग पुग्न जाने ।

§  बालबालिकाले कुनै प्रश्नको परिणाम र प्रकृति राम्रोसँग नबुझ्ने गरी गरिएको बाल अमैत्रीपूर्ण परंपरागत अदालती प्रणाली अनुरुपको जिरहमा व्यक्त भएको सानो तिनो कुरालाई मूल आधार लिनु भनेको अभियुक्त उपर कठोर फौजदारी दायित्व रहने जवरजस्तीकरणी जस्तो अपराध वा त्यसमा पनि ६ वर्षको अवोध नावालिका माथि गरिएको नृसंस र वर्वरतापूर्ण अपराधबाट अपराधीलाई उन्मुक्ति दिनु हुने ।

(प्रकरण नं.२८)

§  राज्य वा समाजमा विद्यमान आर्थिक, सामजिक, राजनीतिक, सांस्कृतिक भेदभाव र चेतनाको स्तर जस्ता तत्वहरुले यस विषयमा प्रत्यक्ष र परोक्ष दुवै रुपमा प्रभाव पारी रहेकै हुन्छन् । यूरोप र अमेरिका जस्ता पश्चिमा मूलुकहरुको सामाजिक अवस्था र हाम्रो जस्तो समाजको चेतनाको स्तर र अवस्थामा उस्तै सजगता र सक्रियताको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा हाम्रो फौजदारी न्याय प्रशासन संचालन गर्दा हाम्रै सामाजिक पृष्ठभूमिलाई आत्मसात गर्नु पर्दछ । आफ्नो सामाजिक पृष्ठभूमिलाई नजरअन्दाज गर्नु निश्चय पनि यथार्थ न्यायको लागि व्यवहारीक र उपयुक्त नहुने ।

(प्रकरण नं.२९)

§  जाहेरी दरखास्त यती घण्टा, वा दिन भित्र दिई सक्नु पर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन । अपराधको प्रकृती, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसूरको पिडा, पीडित भएर पनि पीडित उपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरुप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरुप कसूरको जाहेर गर्ने वा नगर्ने  भन्ने कुरामा नै दुविधा हुने मनोवैज्ञानिक दवाव (Psychological Stress) जस्ता तत्वहरुले यसमा प्रभाव पारिरहने ।

§  एक दिन ढिलो गरी परेको जाहेरीबाट सवद्ध प्रमाणहरु नष्ट भई संकलन गर्न नसकिने अवस्था रहेको देखिएन । यस्तो समग्र स्थितिको विश्लेषणबाट ८ गतेको वारदातलाई लिएर १० गते परेको जाहेरी ढिलो गरी परेको भनी अन्यथा निष्कर्षमा पुग्न सकिने स्थिति प्रस्तुत मुद्दामा नदेखिने ।

(प्रकरण नं.३०)

§  जाहेरवाला घटनाको पीडित हुनु पर्ने वा घटना प्रत्यक्ष देखेको व्यक्तिनै हुनु पर्ने कानूनी अनिवार्यता समेत नहुँदा अपराध बारेको सम्पूर्ण तथ्य जाहेरी दरखास्तमा नै उल्लेख भएको हुनु पर्दछ भनी मान्न मिल्ने अवस्था नहुने ।         

(प्रकरण नं.३१)

§  अविश्वासनीय र प्रमाणित नभएको अन्यत्र गएको भन्ने जिकिरका भरमा प्रतिवादी घटना स्थलमा नभएको भनी मान्न सकिने अवस्था नहुँदा अन्त्रावस्थाको जिकिर खण्डित भएको स्थितीमा प्रतिवादी उपरको अभियोग थप खम्वीर भएको देखिने ।

(प्रकरण नं.३३)

§  अभियोग दावी पुष्टि हुने यथेष्ठ र आधारभूत प्रमाणको विद्यमानता रहँदा रहँदै घटनाका प्रत्यक्षदर्शी र पीडित समेत नरहेका जाहेरवालाको जाहेरी र वकपत्रमा पाईने सामान्य भिन्नता (Minor Inconsistency) लाई प्रधानता दिदै सवुद प्रमाणको गलत मूल्याङ्कन गरी प्रतिवादीलाई सफाई दिने ठहराएको शुरुको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण देखिएको हुँदा उल्टी हुने ।

(प्रकरण नं.३४)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का

प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री सुरेशकुमार थापा

अवलम्वित नजीरः

 

फैसला

न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५६।१२।२४ को फैसला उपर वादी नेपाल सरकारको मुद्दा दोहोर्याई हेरी पाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

२.    मिति २०५४।८।८ गतेका दिन म र मेरो श्रीमती काममा गएको मौका पारी मेरो छोरी वर्ष ६ कि सजना माक मात्र घरमा बसेको अवस्थामा दिपक तुल्सी वाख्यो मेरो घरको बैठक कोठामा आई ढोका बन्द गरी मेरो नाबालक छोरी सजनालाई पलंगमा सुताई गुप्ताङमा समेत खेलवाड गरी जवरजस्तीकरणी गर्ने उद्योग गरी रहेको अवस्थामा निज छोरी चिच्याएकोले बाहीर चोकमा आउँदै गरेको मेरो छोरा सागर माकले बहिनी रोएको सुनी किन रोएकी भनी घर तर्फ आउँदै गर्दा निज दिपक तुल्सी वाख्यो भागी गएको भनी मेरो छोरा र छोरीले भनी थाहा पाई यो जाहेरी दरखास्त दिन आएको छु । निज दिपकलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०५४।८।१० मा परेको जाहेरी   दरखास्त ।

३.    मिति २०५४।८।८ गतेका दिन दिउँसो घरमा म एक्लै वसी रहेको अवस्थामा दिपक तुल्सी वाख्यो आई मेरो कट्टु तानी तल झारी दिएकोले मलाई लाज लागि कट्टु माथि तानी बसे । निजले मलाई बसेको ठाउँबाट म समेत सुत्ने विस्तारामा उचालेर लगि मेरो कट्टु खोली आफ्नो पाईन्ट र भित्रको कट्टु समेत घुँडा सम्म झारी निजले आफ्नो लिङ्ग मेरो योनी तथा पिसाव फेर्ने ठाँउमा घुसार्न थालेकोले मैले निजलाई के गरेको यस्तो नगर भनी रुन कराउन लाग्दा निजले मेरो योनीमा लिङ्ग दली छिराउन खोजी रहेका थिए । मेरो योनी दुखेकोले म रोई कराई चिच्याई रहेको थिएँ । केही वेर पछि निजले मेरो योनीमा लिङ्गबाट चिप्लो सेतो पदार्थ समेत झारी मलाई सोही ठाउँमा छाडी निज दिपक तुल्सी वाख्यो भागी गएका हुन् । केही वेर पछि मेरो दाजु सागर आएर किन रोएको भनी सोधेकोले मैले दाजुलाई दिपकले मलाई करणी गरेको कुरा बताई दिएको थिएँ । साँझ मेरो आमा आएकोले दिउँसो दिपक तुल्सी वाख्योले मलाई जवरजस्तीकरणी गरेको कुरा सबै बताई दिएको थिए । निजले करणी गर्दा मेरो योनीमा हाल सम्म पनि दुःखी रहेको र केही सुन्निएको पनि छ भन्ने समेत व्यहोराको पीडित वर्ष ६ कि सजना माकले मिति २०५४।८।११ मा प्रहरीमा गरेको कागज ।

४.    भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ११ मा रहेको जाहेरवाला कृष्णहरी माकको घर, सो घरको माथिल्लो तलाको पश्चिम तर्फ रहेको दुईवटा झ्याल सो झ्यालको बीचमा पलंगको झ्याल खुल्ला रहेको, पलंगमा बच्चाले लगाउने कपडा यत्रतत्र छरिएको अवस्थामा भएको, प्रतिवादी दिपक तुल्सी वाख्योले सजना माकलाई जवरजस्तीकरणी गरेको भन्ने देखाई दिएको मिति २०५४।८।११ को घटनास्थल  मुचुल्का ।

५.    म घरमा वैनी सजना माकलाई मात्र छाडेर दालमोठ किनेर आउँन भनी बाहिर गएर केही वेर पछि म घर तर्फ आउँदै गर्दा निज वहिनी सजना माक चिच्याएको सुनी किन रोएकी रहिछन् भनी म घरमा आई सोधपुछ गर्दा निज वहिनीले दिपक तुल्सी वाख्यो आएर मलाई करणी गरेर भागी गयो  । मेरो पिसाव फेर्ने ठाउँमा दुखेकोले रोएको हुँ भनी वताईन । घर तर्फ आउँदा निज दिपक मेरो घर तर्फबाट आफ्नो घर तर्फ गई रहेको पनि देखेको थिए भन्ने समेत व्यहोराको सागर माकले प्रहरीमा मिति २०५४।८।१५ मा गरेको कागज ।

६.    प्रतिवादी दिपक तुल्सी वाख्योलाई जाँच्दा शरिरमा कुनै पनि घाउ नभएको, कुनै पनि दाग कट्टुमा पनि नभएको, लिङ्गको वरिपरी कुनै चोट पटक नभएको भन्ने समेत व्यहोराको मिति २०५४।८।११  को परिक्षण प्रतिवेदनपत्र ।

७.    कन्याजाली च्यातिएको र छाला खुईलिएको, योनीद्धारा रातो र सुनिएको भन्ने समेत व्यहोराको पीडित सजना माकको परिक्षण प्रतिवेदन ।

८.    मैले सजनालाई विस्तारामा सुताई उत्तानो पारी मेरो उत्तेजित लिङ्गलाई सजनाको योनीमा छुवाई दल्दा लिङ्ग योनी भित्र नछिरेको र सजना माक एैया एैया भनी रुन कराउन चिच्याउन थालेकीले मैले लिङ्गबाट विर्य समेत नझारी सजनालाई ३, ४ मिनेट मात्र जवरजस्तीकरणी गरी छाडेर भागी गएको हुँ भन्ने समेत व्यहोराको दिपक तुल्सी वाख्योले प्रहरी समक्ष गरेको  बयान ।

९.    मिति २०५४।८।८ गतेका दिन भक्तपुर नगरपालिका वडा नं. ११ बस्ने दिपक तुल्सी वाख्योले ऐ. बस्ने जाहेरवालाको छोरी वर्ष ६ कि सजना माकलाई घरमा कोही नभएको मौकामा ललाई फकाई जवरजस्तीकरणी गर्दा निज सजना माक रुने कराउने चिच्याउने गर्न थालेकीले निज सागर माक बाहिरबाट आफ्नो घर आउँदा निज दिपक तुल्सी वाख्योले सजना माकलाई करणी गर्न छाडि भागी गएको भन्ने कुरा सुनी थाहा पाएको हो भन्ने समेत व्यहोराको श्याम कृष्ण कायस्थ समेतका मानिसहरुले लेखाई दिएको मिति २०५४।८।२३ को वस्तुस्थिती मुचुल्का ।

१०.    प्रतिवादीले आफूले कसूर गरेको कुरालाई स्वीकार गर्दै बयान गर्नुको साथै वुझिएका मानीसले गरेका कागज समेतबाट प्रतिवादी दिपक तुल्सी वाख्यो श्रेष्ठले सजना माक दिउसो घरमा एक्लै भएको मौका पारी घर भित्र गई खाटमा लगि आफ्नो लिङ्ग पीडित सजनाको योनीमा घर्षण गराई पीडितलाई ३, ४ मिनेट सम्म जवरजस्तीकरणी गरी मुलुकी ऐन जवरजस्तीकरणीको महलको १ नं. को कसूर अपराध गरेको हुँदा सोही महलको ३ नं. अनुसार सजाय गरिपाउँ र जवरजस्तीकरणीको १० नं. अनुसार प्रतिवादी दिपक तुल्सी वाख्योको आधा अंश सर्वश्व गरी पीडित सजना माक श्रेष्ठलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।

      ११.    सजना माकलाई जवरजस्तीकरणी गरेको छैन । उक्त वारदात घटना भयो भनेको दिन म घरमा नभै छालिङ्ग गा.वि.स. मा आफ्नो खेतमा गएको थिएँ । जाहेरवालासँग पहिला झगडा भएको रिसइवीले जाहेरी दिएका हुन् । प्रहरीमा बयान गर्दा मलाई कुनै किसिमबाट पढी बाँची नसुनाई सही गराएको हो ।  अभियोग माग दावी बमोजिम मैले कुनै किसिमको कसूर अपराध नगरेको हुँदा आरोपित दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिपक तुल्सी वाख्योले अदालत समक्ष गरेको बयान ।

१२.   पीडित सजनाको डाक्टरी जाँच रिपोर्ट समेतबाट यी प्रतिवादी कसूरदार होइनन् भन्न सकीने अवस्था विद्यमान नदेखिदा तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी कसूरदार देखिएकोले पछि ठहरे बमोजिम हुने गरी हाल अ.वं. ११८ को देहाय (२) बमोजिम थुनामा राख्नु भन्ने समेत व्यहोराको थुनछेक आदेश ।

१३.   प्रतिवादीको साक्षीले प्रतिवादी मिलान र मौकामा प्रहरीमा कागज गर्ने व्यक्तिहरुले वादी मिलान हुने गरी अदालतमा गरेको बकपत्र साथै पीडित सजना माकले वादी श्री ५ को सरकारलाई समर्थन हुने गरी गरेको वकपत्र मिसिल सामेल रहेछ ।

१४.   अदालतको आदेशानुसार बुझीएको मेडिकल अधिकृत डा. भुवन शर्माले गरेको वकपत्र मिसिल सामेल रहेछ ।

१५.   पीडितले मौकामा कागज गर्दा आफ्नो योनीमा प्रतिवादीको लिङ्गबाट सेतो चिप्लो पदार्थ झरेको भनेकोमा शारिरीक परिक्षणबाट सो को पुष्टि हुन सकेको छैन । २०५४।८।८ गते दिनको १:०० बजे जवरजस्तीकरणीको वारदात भएको नै शंकास्पद देखिन आई वारदात पुष्टि हुन सकेको पाईएन । अतः सजना माकलाई जवरजस्तीकरणी गरेको भन्ने अभियोगबाट प्रतिवादी दिपक तुल्सी वाख्योले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको फैसला ।

१६.    पीडितको उमेर, योनी जाँचबाट देखिएको घा चोटको अवस्था, यसको गाम्र्भिर्यता तथा  Alibi बारेको प्रमाणको भार नपुगेको विषय समेतलाई विचार नगरी भएको फैसला वदर गरी प्रतिवादीलाई अभियोग माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

१७.   प्रतिवादी अदालत  समक्ष बयान गर्दा कसूरमा इन्कार रहेको, मिति २०५४।८।८ को वारदातका सम्बन्धमा मिति २०५४।८।१० मा जाहेरी परेको, जाहेरीमा उद्योग गरेको भनेको, करणी गरेको भन्न नसकेको, चिकित्सकको प्रतिवेदनमा योनी सुनिएको र कन्या जाली च्यातिएको भन्ने देखिए पनि परिक्षण गर्ने डाक्टरले वकपत्र गर्दा सम्भावना सम्म व्यक्त गरेको देखिन्छ । तत्काल देख्ने भनेको सागर माकको वकपत्र र प्रहरीमा गरेको कागज स्वयंमा बाझिएको अवस्था छ । पीडित भनिएकी सजनाको वकपत्र, जाहेरी दरखास्त र डाक्टरको जाँच प्रतिवेदन एक आपसमा बाझिएको अवस्थामा जवरजस्तीकरणी गरेको भन्ने अभियोग दावी नपुग्ने ठहराई भएको शुरु भक्तपुर जिल्ला अदालतको मिति २०५६।२।२६ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५६।१२।२४ को फैसला ।

१८.   पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९, १० १८ र ५४ समेतको गंभिर कानूनी त्रुटी गरिएको छ । पीडित सजना माकको शरिर परिक्षण गरी मिति २०५४।८।११ मा दिएको प्रतिवेदनमा कन्याजाली च्यातिएको, योनीमा खोस्रिएको घाउ भएको, तथा Vulva सुन्निई रातो भएको भन्ने उल्लेख छ । शारीरिक परिक्षण गरी राय व्यक्त गर्ने चिकित्सकले अदालत समक्ष वकपत्र गर्दा वकपत्रको स.ज. १० र १२ मा पीडित केटीको मानसिक स्थिति समेतको आधारमा उल्लिखित चोट लिङ्गको धक्काबाटै हुन सक्दछ भनी थप पुष्टि हुने गरी लेखाई दिएको वकपत्रलाई प्रमाणमा नलिई भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १८ को त्रुटी रहेकोले बदर भागी छ । जाहेरवालाले आफ्नो छोरीलाई प्रतिवादीले करणी गरेको भनी दिएको जाहेरीको समर्थनमा अदालतमा आई वकपत्र गरेको अवस्था छ । पीडितको उमेर ६ वर्षको भन्ने स्पष्ट हुँदा त्यस्तो नाबालकले उमेर पुगेको व्यक्ति सरह खुला इजलासमा आफ्नो कुरा भन्न नसक्नु अस्वभाविक हुँदैन । प्रतिवादीले आफ्नो कट्टु तानी लिङ्ग दलेको कुरालाई अदालतमा गरेको वकपत्रमा उल्लेख गर्दा गर्दै समुच्चा वकपत्रको मूल्याङ्कन नगरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी गरिएको छ । प्रतिवादी मौकामा सावित छन् । अदालतमा पीडितको बाबुसँग वाल्टीनको पानी प्रयोग गरेको विषयमा रिसईवी रहेको भनी इन्कारी बयान गरेको भए पनि त्यतीकै भरमा छोरीको इज्जत माथि प्रश्न उठ्ने गरी झुठ्ठा जाहेरी दिएको अनुमान गर्न मिल्दैन । मौकामा घटना थाहा पाउने पीडितका दाजु सागर माकको प्रहरी समक्षको कागजलाई प्रमाणमा नलिइएको फैसला समेत प्रमाण ऐन, २०३१ प्रतिकूल बदर भागी छ । ६ वर्षको बालिकाको मञ्जुरी लिई करणी गरे पनि जवरजस्तीकरणी नै हुने र पीडितको अदालत समक्षको बकपत्रबाट जवरजस्तीकरणीको पुष्टि भई रहेको अवस्थामा प्रतिवादीलाई सफाई दिने गरी शुरुबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन जवरजस्तीकरणी महलको १ नं. को व्याख्या सम्बन्धी गम्भिर कानूनी त्रुटी हुँदा मुद्दा दोहोर्याई हेरी उक्त फैसला बदर गरी अभियोग  माग दावी बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन पत्र ।

१९.    यसमा सम्बन्धित शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०५७।८।७ को आदेश ।

२०.   यसमा ६ वर्षकी नावालिग पीडित सजना माकले अदालतमा वकपत्र गर्दा  प्रतिवादीले पिसाव फेर्ने ठाउँमा घुसाई दिएको भनी वकपत्र गरेको, मौकामा थाह पाउने पीडितका दाजु सागर माकले वहिनी रोएको सुनी जाँदा प्रतिवादी भागेको र फोहोर गरेको भनी पीडितले भनेको भनी वकपत्र गरेको र चिकित्सकको जाँच प्रतिवेदनबाट समेत योनी सुनिएको भन्ने उल्लेख भई रहेको अवस्थामा पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतबाट मिति २०५८।६।२४ मा भएको आदेश ।

२१.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शरद कुमार खड्काले वारदात घटेको तथ्य स्थापित भएको छ, छैन भन्ने कुरा मूख्य हो, वारदातको विषयमा कसले के भनेको छ भन्ने कुरा गौण हो । पीडित सजना माकको योनी सुन्निएको, कन्या जाली च्यातीएको भन्ने शारिरीक जाँच प्रतिवेदन भई सो को समर्थनमा चिकित्सकले वकपत्र समेत गरेको अवस्था छ । पीडितको मौकाको बयानबाट प्रतिवादीले जवरजस्तीकरणी गरेको तथ्य पुष्टि भएकै छ । ६ वर्षको उमेरकी पीडितले अदालतमा आएर सबै कुरा भन्न सक्ने अवस्था हुँदैन । मौकामा घटना देख्ने पीडितका दाजु सागरले गरेको कागज र वकपत्र तथा जाहेरी दरखास्त र जाहेरवालाको वकपत्रमा सामान्य कुराहरु फरक पर्दैमा वारदात नै नभएको भन्न मिल्दैन । समयान्तरमा भए गरिएका कागजमा देखिएको सानो तिनो फरकलाई महत्व दिई मूख्य प्रमाणलाई नै अन्यथा गरेको त्रुटीपूर्ण छ । प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष सावित छन् । अदालतमा एलिवीको जिकिर लिए पनि सो को पुष्टि हुन सकेको छैन । प्रतिवादीले वारदात भएको समयमा छालिङमा रहेको भनेकोमा साक्षीले सुर्य विनायक भनेका छन् । दुवै ठाउँबाट वारदात स्थल सम्म पुग्न असम्भव नहुँदा एलिवीको जिकिर खण्डित भई रहेको छ । जाहेरवालाले आफ्नो नावालक छोरीको इज्जत माथि प्रश्न उठ्ने गरी प्रतिवादी उपर झुठ्ठा जाहेरी दिनु पर्ने कारण समेत प्रतिवादीले बयानमा खुलाउन सकेका छैनन् । तसर्थ प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिएको शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई अभियोग दावी बमोजिम सजाय ठहर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

२२.   प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री शुरेश कुमार थापाले मिति २०५४।८।८ को वारदातका सम्बन्धमा ३ दिन पछि १० गते मात्र जाहेरी परेको छ । ढोका बन्द गरी जवरजस्तीकरणी गरेको भन्ने जाहेरी दरखास्त, पीडितको कागज र मौकामा घटना देख्ने भनिएका सागरको भनाईबाट पुष्टि हुन सकेको छैन । मुख थुनेको, कट्टु च्यातिएको, सेतो चिल्लो पदार्थ झारेको भन्ने कुरा कहि कतैबाट प्रमाणित भएको पाईदैन । जाहेरवाला घटनाको प्रत्यक्षदर्शी होइनन् । जाहेरीमा जवरजस्तीकरणी गरेको भन्न नसकी खेडवाड गरेको भन्ने सम्म उल्लेख छ । सागरले प्रहरीमा कागज गर्दा प्रतिवादी गई रहेको देखेको भनेकोमा अदालतमा वकपत्र गर्दा धक्का दिएर गएको भनेका छन् । ६ वर्षकी वच्चीको हाइमन च्यातिएको भए रगत आउनु पर्ने हुन्छ । मौकामा पीडितको योनी हेर्ने दाजु र बाबुले त्यस्तो असामान्य अवस्था देख्दैनन् । हाइमन च्यातिएको भनी प्रतिवेदन दिने चिकित्सकले अदालतमा वकपत्र गर्दा करणी भएको भनी एकिन साथ भन्न नसकी संभावना सम्म व्यक्त गरेको अवस्था छ । यसरी वादी पक्षले शंका रहित तवरले दावी प्रमाणित गर्न नसकेको स्थितीमा प्रतिवादीलाई सफाई दिने ठहराई भएको फैसला कानून सम्मत हुँदा सदर गरिनु पर्दछ भन्ने समेत वहस गर्नु भयो ।

२३.   पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उल्लिखित वहस जिकिर मनन् गरी पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा अभियोग दावी पुग्न नसक्ने ठहराएको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।

२४.   निर्णय तर्फ विचार गर्दा पीडित वर्ष ६ कि सजना माक घरमा एक्लै भएको मौका पारी प्रतिवादीले जवरजस्तीकरणी गरी मुलुकी ऐन जवरजस्तीकरणी महलको १ नं. को कसूर अपराध गरेको हुँदा सोही ३ नं. अनुसार सजाय गरी १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई भराई पाउँ भन्ने समेत वादी पक्षको मूख्य अभियोग माग दावीमा प्रतिवादीले मौकामा आरोपित कसूरमा सावित भई तथा अदालतमा इन्कार रही बयान गरेको देखिन्छ । शुरुले अभियोग दावी पुग्न नसक्ने ठहराई प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिई गरेको इन्साफ पुनरावेदन अदालतबाट सदर गरिए उपर वादी पक्षको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन पर्न आएको रहेछ । पीडितको मौकाको बयान र अदालत समक्षको वकपत्र, घटना बारे तत्काल थाहा पाउने पीडितका दाजु सागरको मौकाको भनाई र वकपत्र, जाहेरी दरखास्त र जाहेरवालाको वकपत्र, हाइमन च्यातिएको भनी मौकामा पीडितको शारिरीक जाँच गरी प्रतिवेदन दिने चिकित्सकले अदालतमा गरेको वकपत्र समेतबाट प्रतिवादीले पीडित सजना माकलाई जवरजस्तीकरणी गरेको तथ्य पुष्टि भई रहेकोमा मौकाको कागज र वकपत्रमा देखिएको सामान्य भिन्नतालाई प्रधानता दिई प्रमाणको समग्र मूल्याङन नगरी प्रतिवादीलाई सफाई दिने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी पक्षको मूख्य निवेदन जिकिरमा आधारित रही यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको अवस्था विद्यमान रहेको पाईयो ।

२५.   यसमा मिति २०५४।८।८ का दिन जवरजस्तीकरणीको वारदात भएको भन्ने कुरा नै शंकास्पद देखिन आई वारदात पुष्टि हुन नसकेको भन्ने समेत आधारमा शुरुले प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिएको फैसला पुनरावेदन अदालतबाट सदर गरिएको देखिदा प्रथमतः अभियोग दावी बमोजिमको जवरजस्तीकरणीको बारदात भएको हो, होइन ? भन्ने विषयमा नै विवेचना गर्नुपर्ने देखियो । त्यस सम्बन्धमा निरोपण गर्न जाहेरी दरखास्त, पीडितको भनाई, मौकामा वारदात स्थलमा पुग्ने पीडितको दाजु सागर माकको मौकाको कागज र वकपत्र तथा पीडितको शारिरीक जाँच प्रतिवेदन र सो प्रतिवेदन दिने चिकित्सकले अदालतमा उपस्थिति भई गरी दिएको वकपत्र जस्ता मिसिल संलग्न स्वतन्त्र र प्रत्यक्ष प्रमाणहरुको विश्लेषण गर्नुपर्ने हुन आउँछ । उक्त प्रमाणहरु मध्ये पनि पीडितको भनाई र निजको मौकाको शारिरीक परिक्षण प्रतिवेदन यस सन्दर्भमा प्रमुख देखिएका छन् । पीडित भनिएकी वर्ष ६ की सजना माकको मौकाको कागज हेर्दा मिति २०५४।८।८ गतेका दिन निजका बाबु आमा कामका लागि घर बाहिर गएका, पीडित र निजको दाजु स्कुल जान भनी सूर्य विनायक पुग्दा गाडि छुटी सकेकोले घरैमा फर्केर आई बसेको, दिउसो दाजु सागर पसल गएको अवस्थामा पीडित घरको झ्यालमा एक्लै बसी रहेको थिएँ भन्ने उल्लेख गरेको पाइन्छ । पीडितले गरेको उक्त कागजमा प्रतिवादी दिपक तुलसी वाख्यो म बसेको ठाउँमा आएर केही नभनी मैले लगाएको कट्टु तानी तल झारेकोले मलाई लाज लागी कट्टु माथि तानेर बस्दा निजले सो ठाउँबाट उचालेर हामी सुत्ने गरेको खाट माथि ओछ्यानमा लगेर जवरजस्ती लडाई मेरो कट्टु खोलेर निजले आफ्नो लिङ्ग मेरो योनी तथा पिसाव फेर्ने ठाउँमा घुसार्न थालेकोले म के गरेको यस्तो नगर भनी रुन कराउन थाल्दा निजले मेरो योनीमा आफ्नो लिङ्ग दली योनीमा छिराउन खोजी रहेका  थिए । मेरो योनी दुखेकोले म रोई कराई चिच्याई रहेको थिएँ । केही बेर पछि निजको लिङ्गबाट मेरो योनीमा चिप्लो सेतो तरल पदार्थ समेत लागेको थियो, त्यस पछि निजले मलाई छाडि गएका हुनभन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । निज पीडित सजना माकले अदालतमा गरेको वकपत्रको स.ज. ५ मा उक्त मितिमा म झ्यालमा बसी राखेको बेला दिपक तुलसी वाख्यो आई कट्टु फुकाली पिसाव गर्ने ठाउँमा घुसारी दिएको होभनी मौकामा निज माथी जवरजस्तीकरणीको वारदात भएको भनी गरेको कागजको समर्थन गरी दिएको पाइन्छ ।

२६.   पीडित बालिकाले बाल सुलभ शैली र भाषामा घटनापूर्वको स्थिति देखि घटना हुँदाका अवस्था एवं तत् पश्चातका कुराहरु समेत सविस्तार वर्णन गरेको देखिन्छ । निर्दोश रुपमा बालिकाले गरेको वर्णनमा खास कुनै विरोधाभाष देखिन्न र बालिकाले घटना वर्णनको क्रममा कुनै भ्रम, विस्मृती वा अन्दाज प्रस्तुत गरेको पनि देखिदैन । प्रतिवादीको सम्बन्धमा निजले व्यक्त गरेको कुराबाट प्रतिवादी उपर कुनै दुराग्रह व्यक्त गरेको पनि देखिन्न । यसरी सहज र स्वभाविक रुपले प्रतिवादीले निज उपर गरेको काम र व्यवहारको सम्बन्धमा व्यक्त गरेको भनाईलाई अविश्वसनीय मान्नु पर्ने कारण देखिन आएको छैन ।  पीडित सजना माकको शारिरीक जाँच गरी मिति २०५४।८।११ मा दिएको प्रतिवेदनमा The Hymen is raptured with laceration. The Vulva is Red and Swollen. भन्ने उल्लेख भई उक्त प्रतिवेदन दिने डा. भुवन शर्माले अदालत समक्ष उपस्थित भई गरेको  वकपत्रको स.ज. १ मा सजना माक मानसिक रुपमा डराएको थियो । उसको योनीको भल्वा सुनिएको थियो । भल्वाको पछाडि पट्टिको भाग (फोरसेट) रातो थियो । भल्वा भित्र हाइमन अलिकती च्यातीएको थियोभन्ने समेत उल्लेख गरी स.ज. १२ मा उक्त अवस्था लिङ्गको धक्काबाट हुन सक्नेभनी लेखाएको देखिन्छ । शारीरिक परिक्षण गर्ने डाक्टरले दिएको उपरोक्त अभिव्यक्तिबाट पीडितको योनीमा प्रतिवादीले आफ्नो लिङ्गद्धारा क्षतविक्षत पारेको देखिन आएकोले जवरजस्तीकरणीको कसूरको प्रयोजनको लागि हुन सक्ने सबै कार्य गरेको देखिन आएको छ । यसका अतिरिक्त घटनास्थल प्रकृति मुचुल्का, बारदात स्थलमा तत्काल पुग्ने पीडितका दाजु सागर माकको मौकाको कागज र अदालत समक्ष गरेको वकपत्रमा तत्काल प्रतिवादी घटनास्थलबाट निस्कदै गरेको देखेको र वहिनीलाई सोध्दा दिपक तुलसी वाख्योले फोहोर गर्यो भनेकी भनी व्यहोरा लेखाएको पाईन्छ । उक्त भनाईबाट प्रतिवादीको विर्य करणीको सिलसिलामा स्खलीत भएको समेत देखिन्छ । पीडितका बाबु जाहेरवाला घटनाका बारेमा प्रत्यक्ष जानिफकार नभए पनि पछि प्राप्त जानकारीका आधारमा आफ्नी छोरीलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भनी दिएको किटानी जाहेरी दरखास्तको समर्थन गर्दै अदालत समक्ष वकपत्र गरेको समेत पाईन्छ । मिसिल संलग्न उपरोक्त सवुद प्रमाणहरुबाट अभियोग माग दावी अनुरुप जवरजस्तीकरणीको वारदात घटेको भन्ने कुरा स्पष्ट रुपमा स्थापित भई रहेको देखियो । ६ वर्षको नावालिका पीडितको मौकाको कागज र अदालतको वकपत्रमा केही फरक देखिनु अस्वभाविक होइन । प्रतिवादीले आफू घरमा वसी रहेको अवस्थामा आई कट्टु फुकाली पिसाब गर्ने ठाउमा घुसाई दिएकोभनी अदालतमा जवरजस्तीकरणी गरेको भन्ने मुल तथ्य फरक नपर्ने गरी वकपत्र गरेको देखिन्छ । उक्त शब्दहरु स्पष्ट छन् । मञ्जुरीले पनि उक्त कार्य गर्न नसकिने कानूनी अवस्था छ । उक्त कार्य भएको ठाउँ र समयको तपसिल कहिले काही दुरुस्त वर्णन गर्न नसकिने प्रकृतिको हुन सक्छ । तर कुनै कार्य भए वा नभएको ठहर गर्न त्यस्ता कुराहरुको सहायक वा गौण महत्व हुन्छ । मूलतः आरोपित मूख्य तथ्यको सम्बन्धमा निश्चयात्मक भनाई आए वा नआएको हेर्नु पर्ने हुन्छ । जाहेरी दरखास्त र जाहेरवालाको अदालतमा भएको वकपत्र, पीडितको मौकाको कागज र अदालतको वकपत्र तथा सागर माकको मौकाको कागज र अदालतको वकपत्रमा देखिएको सामान्य फरक (Minor Inconsistency) लाई प्रधानता दिई मिसिल संलग्न सवुद प्रमाणको समग्र मूल्याङ्कन नगरी वारदातनै स्थापित नभएको ठहराई भएको शुरुको सदर गरेको पुनरावेदन अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटीपूर्ण देखिन आयो ।

२७.   पीडित वा साक्षीको  रुपमा प्रस्तुत गरिने बालबालिकाको परिक्षणको क्रममा देखिन सक्ने अन्तरविरोधहरु कृतिम र प्रायोजित रुपमा आउने गरिएको प्रयासको फलस्वरुप भन्दा बालबालिकाको साक्षी परिक्षण गर्दा अपनाउनु पर्ने विशेष सर्तकता र उपयुक्त प्रणाली नअपनाउनुको परिणाम स्वरुप हुने गरेको पाईन्छ । हाम्रो न्याय प्रणालीमा बालबालिका सम्बन्धी ऐन नियमको छुट्टै व्यवस्था भई बाल न्यायको पृथक अवधारणालाई अंगिकार गरिएको भए पनि बालक पक्ष वा विपक्ष रहेको अवस्थामा गर्नुपर्ने सोधपुछ वा साक्षी परिक्षणको हरेक चरणमा देखाउनु पर्ने संवेदनशीलता र तद् अनुरुप कार्य प्रक्रियाको व्यवहारीक रुपान्तरणको अभावले न्यायिक प्रक्रियामा तिनीहरुको योगदान अपेक्षीत मात्रा र स्तरमा हासिल गर्न नसकिएको कतिपय अवस्थाहरु दिनहुँ जस्तो देख्न पाईन्छ । बालबालिकासँग गरिने सोधपुछ वा साक्षी परिक्षण जस्तो अनुसन्धान वा न्यायिक प्रक्रियामा जारी हुनु पर्ने नियम निर्देशिकाहरु र सोको सहि कार्यान्वयनको लागि उपयुक्त वातावरण सहितको कार्यकक्षको अभावमा बालबालिकाले आफ्ना जो भएका सत्य तथ्य कुराहरु सही रुपमा भन्न नसक्ने र भनेका कुराहरुको पनि सही रुपमा लेखवद्ध वा प्रतिनिधित्व गर्न नसक्ने अवस्थाहरु रहन्छन् । भौतिक र अभौतिक वातावरणीय कमजोरीको कारणबाट उजागर गर्नुपर्ने वा गर्न सकिने कुराहरु गर्न नसकिएको र बालबालिकाको हितको प्रतिकूल हुने देखिएका कतिपय व्यवहारहरु न्यायिक प्रक्रियामा यद्यपी बहाल रहेको समेत देखिन आउँछन् । यी कुराहरुको निराकरणको लागि बाल न्यायको आधारभूत दर्शन, न्यायिक प्रक्रियामा तिनको समाविष्टी र व्यवहारीक प्रयोगको स्थिति सुनिश्चित गर्नको लागि कानूनी, भौतिक एवं वातावरणीय प्रयासहरु गर्नुपर्ने अनिवार्यता महसुस भएका छन् । जसको लागि अदालत स्वयं अनि कानून कार्यान्वयनको तहमा रहेका विभिन्न निकायहरू एवं व्यवसायीहरु एवं सरकारको प्रतिवद्धता र व्यवहारिक प्रयास अपेक्षित छन् । प्रस्तुत मुद्दामा साक्षी परिक्षणको क्रममा के कसरी प्रश्न सोधियो, सो सम्बन्धमा बालिकाको समझदारी के रह्यो, सान्दर्भिक कुराको पुनः स्मरण गराइयो गराईएन आदि जस्ता कतिपय कुराहरुको प्रयासको स्थिति अज्ञात छ ।  तथापि मूल रुपमा निजले व्यक्त गरेको कुराको उसको स्मरण शक्ति र प्रस्तुतीमा विरोधाभाष देखिने कुनै कुरा झल्केको छैन ।  यस्ता कुराहरुलाई विशेष रुपले शर्तकता पूर्वक हेर्नु पर्ने मूख्य कुरा के हो भने बालबालिकाले अरुका दवाव वा वहकाउ वा भूलवस कुनै कुरा प्रतिकूल रुपमा व्यक्त गरेको छ वा   छैन ? भन्ने हो । प्रस्तुत विवादमा पीडित बालिकाले प्रारम्भमा गरेको कागज र पछि गरेको बकपत्रको अन्तर्वस्तुका आधारभूत कुराहरुमा सँगति देखिएकोले बालिकाको वकपत्रको प्रमाणिक महत्वलाई गौण बनाएर मूल्याङ्कन गर्नुपर्ने देखिएन।

२८.   बालबालिकाले कुनै प्रश्नको परिणाम र प्रकृति राम्रोसँग नबुझ्ने गरी गरिएको बाल अमैत्रीपूर्ण परंपरागत अदालती प्रणाली अनुरुपको जिरहमा व्यक्त भएको सानो तिनो कुरालाई मूल आधार लिनु भनेको अभियुक्त उपर कठोर फौजदारी दायित्व रहने जवरजस्तीकरणी जस्तो अपराध वा त्यसमा पनि ६ वर्षको अवोध नावालिका माथि गरिएको नृसंस र वर्वरतापूर्ण अपराधबाट अपराधीलाई उन्मुक्ति दिनु सरह हो । यसो गर्दै जाने हो भने अपराधीलाई सजाय दिलाउने र समाजलाई अपराधबाट जोगाउने फौजदारी न्याय प्रशासनको आधारभूत मूल्य, मान्यता र उद्देश्य नै परास्त हुन जान्छ । मौकामा घटनास्थलमा पुग्ने पीडितको दाजु सागर माकले मौकाको कागजमा निज प्रतिवादीलाई आफ्नो घरबाट गई रहेको देखेकोभनेको तथा अदालतमा वकपत्र गर्दा आफूलाई धक्का दिई गएकोभनेको कुरामा सामान्य भिन्नता भए पनि उक्त दुवै भनाईले प्रतिवादीको घटनास्थलको उपस्थितीलाई समर्थन नै गरेको पाईदा ११ वर्ष उमेरको व्यक्तिले समयान्तरमा गरेको कागजमा लेखाएको उल्लिखित सामान्य फरकलाईअन्यथा अर्थ गर्नु उचित देखिदैन ।

२९.   मिति २०५४।८।८ को वारदातको सम्बन्धमा सोही १० गते ढिलो गरी जाहेरी दरखास्त दिएको र जाहेरवालाले जवरजस्तीकरणी भएको भनी किटानी रुपमा उल्लेख नगरी उद्योग सम्मको अवस्था देखाएको भनी प्रतिवादीलाई सफाई दिन आधार ग्रहण गरिएको पुनरावेदन अदालतको ठहर बुँदालाई प्रतिवादी तर्फका विद्वान वरिष्ठ अधिवक्ताले वहसको क्रममा प्रमूखताको साथ उठाउनु भएको छ । कुनै पनि अपराध घटित भएको सूचना शिघ्रातीशिघ्र सम्बन्धित निकायमा दिईनु फौजदारी मुद्दाको अनुसन्धान तहकिकातको लागि ज्यादै नै महत्वपूर्ण विषय हो । समयमा दिएको जाहेरी दरखास्तबाटै वारदात स्थलको सूरक्षा, अपराध गर्ने व्यक्तिको खोजी वा पक्राउमा तदारुकता तथा अपराधसँग सम्बन्धित चिज, वस्तु वा दशी प्रमाणको संरक्षण र संकलनमा समेत सहयोग पुग्न जाने हुन्छ । जसबाट अन्ततः पर्याप्त प्रमाणद्धारा अपराधिक कार्यको पुष्टि हुन जाने हुँदा फौजदारी न्यायको लक्ष प्राप्तिमा सुगमता आउँछ । यसको लागि कुनै एक पक्षको भूमिका मात्र पर्याप्त नहुँने हुँदा राज्य, नागरिक समाज र सम्बन्धित अपराधबाट पीडित व्यक्ति वा समुदाय सबै पक्षको सक्रिय र सचेत भूमिका अपेक्षीत रहन्छ । घटित अपराधको वारदातस्थल सुरक्षा गरी त्यसको सूचना तत्काल सम्बन्धित निकायमा दिई हाल्नु पर्छ भन्ने कुराको ज्ञान समाजका सबै सदस्यलाई गराउनु राज्यको दायित्व हो भने सो अनुरुप अपराधको सूचना तत्काल दिनु सचेत नागरिकको कर्तव्य पनि हो । तर राज्य वा समाजमा विद्यमान आर्थिक, सामजिक, राजनीतिक, सांस्कृतिक भेदभाव र चेतनाको स्तर जस्ता तत्वहरुले यस विषयमा प्रत्यक्ष र परोक्ष दुवै रुपमा प्रभाव पारी रहेकै हुन्छन् । यूरोप र अमेरिका जस्ता पश्चिमा मूलुकहरुको सामाजिक अवस्था र हाम्रो जस्तो समाजको चेतनाको स्तर र अवस्थामा उस्तै सजगता र सक्रियताको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा हाम्रो फौजदारी न्याय प्रशासन संचालन गर्दा हाम्रै सामाजिक पृष्ठभूमिलाई आत्मसात गर्नु पर्दछ । आफ्नो सामाजिक पृष्ठभूमिलाई नजरअन्दाज गर्नु निश्चय पनि यथार्थ न्यायको लागि व्यवहारीक र उपयुक्त हुँदैन ।

३०.   समयमानै जाहेरी दरखास्त दिनु पर्ने मान्यता भित्र अपराध अनुसन्धानमा सहायक हुने माथि उल्लेखित घटनास्थलको सुरक्षा, अपराधी पक्राउ गर्ने कार्य, अपराधसँग सम्बन्धित चिज वस्तु वा दशी प्रमाण नष्ट हुने अवस्था रोकी अपराध सिद्ध गर्ने तत्वहरुको वचावट वा संरक्षण जस्ता प्रमूख विषय सन्निहीत रहेको हुन्छ । यती हुँदाहुँदै पनि जाहेरी दरखास्त यती घण्टा, वा दिन भित्र दिई सक्नु पर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन । अपराधको प्रकृती, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसूरको पिडा, पीडित भएर पनि पीडित उपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरुप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरुप कसूरको जाहेर गर्ने वा नगर्ने  भन्ने कुरामा नै दुविधा हुने मनोवैज्ञानिक दवाव (Psychological Stress) जस्ता तत्वहरुले यसमा प्रभाव पारि रहेका हुन्छन् । प्रस्तुत विवादमा मिति २०५४।८।८ गते दिउसो १:०० वजेको समयमा घटना घटेको अवस्था छ । उक्त समयमा वारदात स्थलमा पीडित वर्ष ६ कि सजना माक, निजका दाजु वर्ष ११ का सागर माक तथा स्वयं प्रतिवादीको मात्र उपस्थिति रहेको अवस्था छ । पीडितका बाबु आमा खेती किसानीबाट बेलुकी अवेर घरमा फर्केको भन्ने पनि जाहेरवाला, पीडित र निजका दाजु सागरको वकपत्र समेतबाट खुल्न आएकै छ । दिनभरी खेतमा काम गरी थकित मुद्रामा बेलुकी अवेर घर आएका पीडितका बाबु आमाले भोली पल्ट ९ गतेका दिन मात्रै अघिल्लो दिनको वारदातबारे स्पष्ट हुन सक्ने अवस्थालाई नकार्न मिल्दैन । एक दिन ढिलो गरी परेको जाहेरीबाट सवद्ध प्रमाणहरु नष्ट भई संकलन गर्न नसकिने अवस्था रहेको देखिएन । यस्तो समग्र स्थितिको विश्लेषणबाट ८ गतेको वारदातलाई लिएर १० गते परेको जाहेरी ढिलो गरी परेको भनी अन्यथा निष्कर्षमा पुग्न सकिने स्थिति प्रस्तुत मुद्दामा देखिएन ।

३१.   जहाँसम्म जवरजस्तीकरणीको वारदात भएको भनी जाहेरी दरखास्तमा किटानी उल्लेख नभएको भन्ने भनाई छ, जाहेरी दरखास्त सिर्फ अपराधको वारदात वा घटना घटेको भन्ने कुराको आधिकारिक निकायमा दिईने जानकारी वा सूचना मात्र हो । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३(१) मा अनुसूची१ मा लेखिएको कुनै पनि अपराध भएको, भैरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले तत् सम्बन्धी अपराध बारे आफूसँग भएको वा आफूले देखे जाने सम्मको सवुत प्रमाण खुलाई यथाशिघ्र सो कुराको लिखित दरखास्त वा मौखिक सूचना नजिकको प्रहरी कार्यालयमा दिनु पर्ने छभन्ने  समेतको  कानूनी व्यवस्था रहेको देखिन्छ । भैरहेको उक्त कानूनी प्रावधानबाट घटी सकेको अपराधको सम्बन्धमा मात्र नभई घटी रहेको वा घट्ने संभावना भएको अपराधको सम्बन्धमा समेत थाहा पाउनेले जाहेरी दरखास्त दिनु पर्ने देखिदा जाहेरी दरखास्त स्वयंमा अपराध पुष्टि गर्ने प्रमाण होइन । जाहेरवाला घटनाको पीडित हुनु पर्ने वा घटना प्रत्यक्ष देखेको व्यक्तिनै हुनु पर्ने कानूनी अनिवार्यता समेत नहुँदा अपराध बारेको सम्पूर्ण तथ्य जाहेरी दरखास्तमा नै उल्लेख भएको हुनु पर्दछ भनी मान्न मिल्ने अवस्था पनि हुँदैन । जाहेरी दरखास्त अपराधको प्रथम सूचना मात्र भएको हुँदा जाहेरीमा कुनै कुरा उल्लेख नहुँदैमा अनुसन्धानको क्रममा प्राप्त अन्य प्रमाणबाट पुष्टि भएको तथ्यलाई अन्यथा ठहर गर्नु सैद्धान्तिक, व्यवहारिक र कानूनी सबै दृष्टिकोणबाट उचित हुँदैन । प्रस्तुत विवादमा जाहेरवाला पीडितका बाबु भए पनि घटनाका प्रत्यक्षदर्शी समेत होइनन् । उनले सुनेको भरमा जाहेरी दिएका छन् । जाहेरी दरखास्तमा परेको कुनै एउटा शब्दबाट करणीको उद्योग गरेको भन्ने जस्तो भान पर्न गएको देखिए पनि समग्र जाहेरी दरखास्तको भाव हेर्दा जवरजस्तीकरणीकै घटना भएको भन्ने नै देखिन्छ । जाहेरवालाको अदालत समक्षको वकपत्रबाट सो कुरा अझ स्पष्ट रुपमा समर्थित भएको देखिदा जाहेरी किटानी नभएको भन्ने अवस्था पनि देखिएन ।

३२.   जहाँसम्म प्रतिवादीले जाहेरवालाले निज उपर रिसइवीले झुठ्ठा उजुर गरेको भन्ने प्रश्न छ, त्यसतर्फ विचार गर्दा प्रतिवादीले अदालत समक्ष इन्कार रहि गरेको बयानमा मूख्यतः जाहेरवालासँग १, २ महिना अगाडि बाल्टीनको पानी झीकी गोडा धोएको विषयमा झगडा परेको रिसईवीबाट झुठ्ठा जाहेरी दिएको भनेको छ । बाल्टीनबाट पानी झिकी गोडा धोएको विषयमा १,२ महिना अगावै परेको सामान्य भनाभन र वादविवादको विषय एकातिर प्रमाणित छैन भने अर्को तिर उक्त कुरालाई लिएर रिसइवी साँधी आफ्नो नावालिग छोरीको भविश्य माथि खेलवाड हुने र चरित्र माथि दाग लाग्ने गरी हाम्रो जस्तो सामाजिक परिवेशमा पीडितका बाबु जाहेरवालाले नभएको कुरा रचि काल्पनीक र झुठ्ठा जाहेरी दिएको भन्ने प्रतिवादीको भनाई सर्वथा प्रतितलायक देखिन आएन ।

३३.   जहाँ सम्म प्रतिवादीको आफू वारदात स्थलमा नभएको छालिङ्गमा खेत जोत्न गएको भनी अन्यत्रावस्था (Alibi) को जिकिर लिएको प्रश्न छ, प्रस्तुत वारदात भएको जाहेरवालाको भक्तपुर जिल्ला भ.पु.न.पा.वडा नं. ११ स्थित घर र प्रतिवादीले उक्त दिन खेत जोतेको भनेको भक्तपुरकै छालिङ भन्ने स्थान अस्वभाविक रुपमा टाढा रहेको भन्ने देखिन नआई सजिलैसँग आवत जावत गर्न सकिने अवस्थाको देखिन्छ । त्यसमा पनि प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा वारदातका दिन घर नजिकैको श्रीकृष्ण त्वान्जुको सूर्य विनायकको खेत जोत्न गएको भनेको र प्रतिवादीले साक्षीको रुपमा उपस्थित गराएका निज श्रीकृष्ण त्वान्जुले अदालत समक्ष गरेको वकपत्रमा समेत सुर्य विनायकमा नै खेत जोतेको कुरा उल्लेख गरी वकपत्र गरेबाट प्रतिवादीको अदालत समक्षको उक्त बयान आफ्नै साक्षीको वकपत्रबाट खण्डित भई रहेको देखिदा वारदातको दिन वारदात स्थलमा नगई दिन भरी छालिङमा खेत जोतेको भन्ने प्रतिवादीको अन्यत्रावस्थाको जिकिर विश्वासनीय देखिन आएन । त्यस्तो अविश्वासनीय र प्रमाणित नभएको अन्यत्र गएको भन्ने जिकिरका भरमा प्रतिवादी घटना स्थलमा नभएको भनी मान्न सकिने अवस्था नहुँदा अन्त्रावस्थाको जिकिर खण्डित भएको स्थितीमा प्रतिवादी उपरको अभियोग थप खम्वीर भएको देखियो ।

३४.   तसर्थ प्रतिवादी उपरको किटानी जाहेरी, पीडितले घटनाको सविस्तार वर्णन गरी प्रतिवादीले जवरजस्तीकरणी गरेको भनी मौकामा गरेको कागजको पुष्टि हुने गरी अदालतमा गरेको वकपत्र, पीडितको कन्याजाली च्यातिएको, योनीको भल्वा सुनिएको रातो भएको भन्ने शारिरीक परिक्षणबाट प्राप्त प्रतिवेदन, सो प्रतिवेदन दिने चिकित्सकले उक्त प्रतिवेदन पुष्टि हुने गरी अदालतमा आई वकपत्र गरेको समेतका मिसिल संलग्न अभियोग दावी पुष्टि हुने यथेष्ठ र आधारभूत प्रमाणको विद्यमानता रहँदा रहँदै घटनाका प्रत्यक्षदर्शी र पीडित समेत नरहेका जाहेरवालाको जाहेरी र वकपत्रमा पाईने सामान्य भिन्नता (Minor Inconsistency) लाई प्रधानता दिदै सवुद प्रमाणको गलत मूल्याङ्कन गरी प्रतिवादीलाई सफाई दिने ठहराएको शुरुको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।१२।२४ को फैसला त्रुटीपूर्ण देखिएको हुँदा उल्टी हुन्छ । प्रत्यर्थी प्रतिवादीले अभियोग दावी बमोजिम मुलुकी ऐन जवरजस्तीकरणी महलको १ नं. विपरीतको कसूर गरेको  ठहर्छ । प्रतिवादीको उमेर समेतको अवस्थालाई विचार गर्दा निजलाई मुलुकी ऐन तत्काल प्रचलित जवरजस्तीकरणी  महलको ३ नं. बमोजिम कैद वर्ष ८ सजाय हुने ठहर्छ । सोही १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई यसै मुद्दाबाट तपसिल बमोजिम गरी भराई  दिनु ।

     

तपसिल

 

यसमा अभियोग दावी नपुग्ने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई आरोपित कसूर गरेको ठहरी प्रतिवादी दिपक तुल्सी वाख्योलाई मुलुकी ऐन जवरजस्तीकरणीका महलको ३ नं. बमोजिम कैद वर्ष ८ सजाय हुने ठहरेकाले वेरुजु रहेका प्रतिवादी दिपक तुल्सी वाख्योलाई लागेको कैदको लगत कसी निज पूर्पक्षको लागि थुनामा बसेको अवधि कटाई बाँकी कैद असुल उपर गर्नु भनी शुरु अदालतमा लगत पठाई दिनु  ..... १

प्रतिवादीले पीडित सजना माकलाई अभियोग दावी बमोजिम जवरजस्तीकरणी गरेको ठहरी जवरजस्तीकरणी महलको १० नं. बमोजिम प्रतिवादी दिपक तुल्सी वाख्योको आधा अंश सर्वस्व गरी पीडितलाई भराई दिने ठहरेकोले, पीडित सजना माकलाई अदालतबाटै झिकाई प्रतिवादीको अंश भाग एकिन गरी, रोक्का राखी, निजको भागमा परेको आधा अंश पीडित सजना माकलाई दिलाई भराई अड्डैबाट चलन समेत चलाई दिनु भनी शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनु .......२

 

मिसिल नियमानुसार गरी बुझाई दिनु .३

 

उक्त रायमा सहमत छु ।

                                                           

न्या.केदारप्रसाद गिरी

इ.अ.नारायणप्रसाद सुवेदी

 

इति सम्व्त २०६३ साल माघ ८ गते रोज २ शुभम् .........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु