शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७८४ - अंश चलन

भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११

निर्णय नं. ७७८४    ने.का.प.२०६३             अङ्क ११

           

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री पवन कुमार ओझा

फैसला

सम्वत २०६१ सालको दे.पु.नं.: ८९०५

सम्वत २०६२ सालको दे.पु.नं.: ९५००

फैसला मितिः ०६३।१०।२४।४

 

मुद्दा :अंश चलन ।

 

पुनरावेदक

वादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ३ बस्ने रोशन महर्जन समेत

विरूद्ध

प्रत्यर्थी

प्रतिवादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ९ बस्ने सिद्धिलाल भन्ने भुयुचा महर्जन समेत

 

पुनरावेदक

प्रतिवादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ९ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ३४ बस्ने आपुलु महर्जन डंगोल समेत

विरूद्ध

प्रत्यर्थी

वादीः ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ३ बस्ने जोगमाया महर्जन समेत   

 

§  प्रतिवादीहरुले वादीहरुलाई श्रीमती, छोरा नाताका व्यक्ति होइनन् भनि प्रतिउत्तर र बयान जिकिरसम्म लिएपनि सो को पुष्टि हुने कुनै प्रमाण गुजार्न नसकेको र निजका साक्षीले नाता सम्बन्ध बारे थाहा नभएको भनि वकपत्र गरेको देखिएबाट सो जिकिर स्वतः खण्डित हुने ।

(प्रकरण नं. १८)

 

§  वादीहरुले वंशजका आधारमा नागरिकताको प्रमाण पत्र लिएकोमा आफूले पति/पिताको हैसियतले सनाखत नगरेको र नागरिकता जालसाजीमा छुट्टै मुद्दा दिएको हुँदा त्यस्तो नागरिकतालाई प्रमाणमा लिई नाता कायम गर्न नमिल्ने भन्ने जिकिर लिएकोमा सरकारी कार्‍यालयबाट विशेष कानून अन्तर्गत जारी भएको नागरिकता जस्तो प्रमाणपत्र कसैले झुठ्ठा विवरणका आधारमा प्राप्त गरेमा सो बदर गराउने प्रक्रियाका सम्बन्धमा उक्त विशेष ऐनमा नै पृथक व्यवस्था रहेकोमा सो बमोजिम नगरी जालसाजी मुद्दा दिएको भरमा नागरिकताको प्रमाणपत्र विवादित भएकोले प्रमाणमा लिन नहुने भन्ने जिकिर समेत आधारहिन देखिने ।

(प्रकरण नं. १९)

§  पितृत्वको कुरा सधै अनुमानमा आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाको भनाई साँचो मान्नु पर्ने भन्ने मान्यतालाई यस अदालतद्धारा हिन्दु विधिशास्त्रको स्थापित सिद्धान्तको रुपमा हाल सम्म अनुसरण गरिदै आईएको परिप्रेक्ष्यमा वादी दावी र बयान तथा सोको समर्थनमा पेश भएका सबुद प्रमाण खण्डित हुने कुनै पनि प्रमाण स्वयं प्रतिवादी पक्षबाट आउन नसकेको अवस्थामा वादी प्रतिवादी बीच नाता कायम हुने ।

(प्रकरण नं. २०)

§  नाता सम्बन्धनै अस्विकार गर्ने प्रतिवादीहरुले वादीहरुलाई अघि नै अंश दिई सकेको होला भनी अनुमान गर्नु पर्ने अवस्था नरहने ।

§  तत्काल कायम रहेका अंशीअंशी बीच भएको व्यवहारलाई वण्डापत्रको एक अंशीयार आपुलु तर्फको अंश खाने पुनरावेदक वादीहरुले हाल आएर अन्यथा जिकिर लिन नमिल्ने भई उक्त वण्डापत्र बाहेकको गोश्वारा पैत्रिक सम्पत्ति बाँकी रहेको देखिन आए वा त्यस्तो पैत्रिक सम्पत्ति कुनै वखत निजहरुका पति/पिताका नाममा आउने अवस्था परेमा त्यसबाट पुनरावेदक वादीहरुले आफ्नो हक हिस्सा जति छुट्याई लिन पाउने ।

(प्रकरण नं. २१)

पुनरावेदक वादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री शम्भु थापा, इन्दिरा श्रीस र शिवराज सिलवाल

प्रत्यर्थी प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री हरिहर दाहाल र सुष्मा वास्कोटा वराल

अवलम्बित नजीरः×

 

फैसला

न्या. केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन अदालत पाटनको मिति २०६१।३।२९ को फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

२.    विपक्षी मध्येका भुयुचा हामीहरुको बाजे तथा ससुरा नाताको हुनुहुन्छ । आपुलु महर्जन पति तथा पिता, बाबुराजा महर्जन देवर तथा काका हुनु हुन्छ भने विपक्षी मध्येकी लक्ष्मी महर्जन सौता तथा सौतिनी आमा नाताका हुनु हुन्छ । सासु ज्यानमाया महर्जनको मृत्यु भै सकेको छ । सासु तथा बाजेको २ छोरा आपुलु महर्जन र बाबुराजा महर्जन भएकोमा आपुलु महर्जनसँग फिरादी मध्येको जोगमाया महर्जनको २०३१।१०।५ मा वैवाहिक सम्बन्ध भएको र वैवाहिक सम्बन्ध पछि मिति २०३२।८।१० मा रोशन महर्जनको जायजन्म भएको हो । रोशनको जन्मको १ महिनामा माईती मावली घर सल्लाहले गएका थियौं  र हाम्रो नेवार परम्परा अनुसार सुत्केरी भएर माईतीमा गएपछि घरबाट लिन नआउन्जेल घरमा फर्किन नहुने भएकोले विपक्षीहरुबाट लिन आउनु हुन्छ कि भनी पर्खि बस्यौं । विपक्षीहरुले हामीलाई लिन आउनु भएन । पति तथा पिताले विपक्षी मध्येको लक्ष्मीलाई दोश्रो विवाह गरेर बस्नु भएको रहेछ । एक्कासी छिमेकीहरुबाट तिमीहरुको सासु तथा बजैको मृत्यु भयो भनी खवर सुनाएकोले हामी फिरादी सोकाकुल भै माईतीहरु र छिमेकीको सहाराले घरमा जाँदा पति तथा पिताले घरमा बस्न नदिई कुटपिट गरी घरबाट निकाला गरेकोले म फिरादीले नाबालक छोरा बोकी पुनः माईतीकै शरणमा आई बस्यौं । विपक्षीहरुले हामीहरुको खोज खवर नगरेकोले बाबु तथा पतिको सहारा विना लामो समयसम्म असहाय अवस्थामा माईतीहरुकै सहारामा बस्न बाध्य भयौं ।  यसै बीच फिरादी मध्यको रोशन मर्हजन १६ वर्ष पुगी नागरिकताको लागि सिफारिस गरी दिनु पर्यो भनी घरमा गै बाबुलाई भन्दा तलाई मेरो घरमा आउने कुनै अधिकार छैन । यस घरबाट निस्की हाल भनी कुटपिट गरी घरबाट निकाला गरेकोले मावाली घरमा आई बसी रहेका छौं । मिति २०५६।९।९ मा हाम्रो धर्म अनुसार दिवालीमा माईती तथा छिमेकीको सहाराले गुठीमा जाँदा अन्य दाजु भाईहरुलाई समेत गाली बेइज्जती गरी हामीहरुलाई समेत गुठीमा पस्न नदिई कुटपिट गरी घरमा बस्ने हो भने अड्डा अदालत धाउनु पर्छ अनीमात्र मेरो सम्पत्ति पाउला भनी निकाला समेत गरेकोले अन्यायमा परी फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वण्डा गर्नु पर्ने श्रीसम्पत्तिको तायदाती फाँटवारी मगाई ३ भाग गरी ३ भागको १ भागबाट पुनः ४ भाग लगाई हामी फिरादी मध्यको रोशन महर्जनको विवाह भाग छुट्याई २ भाग अंश छुट्याई अदालतबाटै चलन चलाई पाउँ भन्ने फिराद दावी ।

३.    वादीले आफ्नो फिरादमा जे सुकै लेखे पनि निजहरुका पति पिता भनिएका आपुलु महर्जन हामी प्रति उत्तरवालाका अलग वसेका छोरा दाजु हुन । मिति २०४८।६।१५ मा पारित लिखतबाट हामी अलग भै बसेका छौं । वादीलाई हामी प्रतिवादीहरु उपर फिराद गर्ने हकदैया छैन, विपक्षीका पति पिता भनिएका व्यक्ति काठमाडौं तर्फ कहाँ बस्छन्  हामीलाई थाहा छैन । विपक्षीहरु हामीहरुको नाता पर्ने थाहा छैन । वादी मध्येकी जोगमायालाई हाम्रो छोरा आपुलुले विवाह गरेको थाहा छैन । म भुयुचा भन्ने सिद्धिलाललाई विपक्षी बुहारी हो भन्ने थाहा छैन । विपक्षीहरु हामी कहाँ तथा अलग बसेका आपुलुको घर ठेगाना आएको छैन । आपुलुको विवाह लक्ष्मी महर्जनसँग भएको हो । आपुलु र लक्ष्मीको तर्फबाट छोरा छोरी भएको हामीलाई थाहा छ । विपक्षी आमा छोरा कसका स्वास्नी छोरा हुन् थाहा छैन । नातानै नपर्ने त्यसमा पनि आपुलाल महर्जन र हामीहरु अलग बसेको व्यक्तिलाई नातानै पर्ने भएपनि आपुलु महर्जनको नाताबाट हामीलाई प्रतिवादी बनाएको फिराद खारेज गरी पाउँ भन्ने व्यहोराको भुयुचा भन्ने सिद्धिलाल र बाबुराजा महर्जनको संयुक्त प्रतिउत्तर ।

३.१.   फिरादी जोगमायासँग आपुलु महर्जनले विवाह गरेको होइन । हाम्रो घरमा कहिले पनि नाता देखाएर नआएको मानिसलाई कुटपिट गर्ने, गाली गर्ने प्रश्नै आउँदैन । नाता देखाई घरमा आएको र हामीले पस्न नदिई, नातामा विवाद देखाएको भए विपक्षीहरुले तत्काल नाता कायम गराई राख्नु पर्दथ्यो । नातामा विवाद गरेको भन्ने कुरा फिरादमा उल्लेख गरेको छ । जव विवाद भएपछि विपक्षीले नाता कायम गराई आएपछि मात्र अंशतर्फ फिराद गर्नु पर्नेमा नगरी एकएक अंशमा फिराद गरेको हुँदा खारेज गरी पाउँ । विपक्षीले नभएको नातालाई नाता देखाई आएको प्रष्ट छ । विपक्षीहरु वेवारिस भएकोले हामीलाई वारेश बनाउने दुस्प्रयास मात्र गरेको देखिन्छ । अर्कोतर्फ म आपुलु महर्जन र लक्ष्मी महर्जनको २०३८ सालमा विवाह भएको र हामी तर्फबाट अनिल र निराजन २ छोराहरु क्रमशः १८ र १६ वर्ष उमेर पुगी सकेका छन् । विपक्षी नाता पर्ने भए तत्काल बहु विवाहमा उजुरी गर्न सक्नु हुन्थ्यो । फेरी छोराहरुलाई समेत अंशियार देखाई आउन सक्नु हुन्थ्यो । २०३१ सालमा विवाह गरी माईतीमा बसेको भनिएकोमा २६ वर्ष पछि नाता देखाई अंश माग्न आउनु यो कसैको बकाउमा परी म प्रति प्रतिसोध लिने दुस्प्रयास गरी विपक्षीहरुलाई हतियार बनाई काल्पनिक कथन रची गरेको फिराद हुनाले नातानै नपर्ने व्यक्तिलाई अंश दिन नपर्ने हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको आपुलु महर्जन, लक्ष्मी महर्जन समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।

४.    मिति २०३१।१०।५ मा भुयुचा महर्जनको छोरा आपुलु महर्जनसँग विवाह भै २०३२।८।१० गते छोरा रोशनको जायजन्म भएको । छोरा जन्मेको १ महिना पछि सुत्केरी बस्न माईती गएकी र ३४ महिना पछि तिम्रो लोग्नेले अर्को स्वास्नी लिई भागी गएको भनेर टोलका मानिसहरुले भनेका र हाम्रो नेवार जातीको परम्परा अनुसार सुत्केरी बस्न गएपछि घरबाट लिन नआउञ्जेल सम्म घरमा जान हुँदैन । अरु मानिसहरुको कुरालाई पत्यार नमानी छोरा समेत भएको म श्रीमतीलाई लिन आउला भनी माईतीमा बसी सकेपछि मेरो सासुको मृत्यु भएको खवर थाहा पाई म घरमा गएँ र तिमीहरु किन यहाँ आएको तिमी स्वास्नी छोरा हौ । १३ दिनको काम पछि लिन आउँला भनी पति आपुलुले भनेको र कुटपिट गरी घरबाट निकाला गरेकोले म फर्कि माईतीमा गै बसे पछि नागरिकता लिन भनी घरमा बाबुलाई भेट्न जाँदा भेट्न नदिई अरुहरुले कुटपिट गरी पठाएको र वडा समितिबाट सिफारिस गरी निज रोशन महर्जन आपुलालको छोरा हो भनी सिफारिस दिएकोले सोही आधारबाट मिति २०५०।१०।२१ मा नागरिकता लिएको र म जोगमायाले पनि वडा समितिको सिफारिसमा मिति २०४७।१०।८ मा नागरिकता लिएको हो, स्कुलमा पनि रोशन महर्जनको बाबु आपुलु महर्जन भनी लेखाई दिएको हो । सो को प्रमाणित स्कुलले गरी दिएको छ । म आपुलु महर्जनको श्रीमती छोरा भएकोले नाता कायम गरी पाउँ भन्ने जोगमाया महर्जनले गरेको नातामा बयान ।

५.    वादी तर्फको बयान हेरे । कारणीले भने बमोजिम नाता पर्दैन भनी भनेको हो, वादीबाट पेश भएका नागरिकता प्रमाणपत्रको सम्बन्धमा मलाई केही थाहा छैन । वादी नाता पर्दैन भनी लगाएको प्रतिउत्तरमा खुलाएको छ । सोही आधार प्रमाण बुझी पाउँ भन्ने प्रतिवादी वारेश जमुना थापाले गरेको बयान ।

५.१.   यी वादी जोगमाया र आपुलुका बीच २०३१ सालमा विवाह भै २०३२ सालमा छोराको जायजन्म भएको, माईतमा गए पछि अहिले सम्म पनि लिन नआएकोले अंशमा नालेश गरेको हो । वादीलाई खान लाउन दिएको छैन । रोशनलाई जोगमायाले पालन पोषण गरेको छ भन्ने वादीका साक्षी कृष्ण महर्जनको वकपत्र ।

५.२.  वादी प्रतिवादी नाता पर्छ, पर्दैन मलाई थाहा छैन । मैले वादी प्रतिवादीलाई अदालतमा आएर चिनेको हो । कानूनले के गर्दछ सो बमोजिम होस । नाता सम्बन्धमा मलाई थाहा भएन । कानून बमोजिम अंश पाउनु पर्ने हो भन्ने प्रतिवादीका साक्षी फेमिना डंगोलको वकपत्र ।

६.    म आफैंले देखेर थाहा पाएको बाबु लोग्ने हो भन्ने कुराको प्रमाण नागरिकता प्रमाणपत्र छ । नागरिकताको सिफारिस माग्न जाँदा छोरा रोशनलाई निजको कान्छि आमा लक्ष्मीले कुटेर पठाएको हो। वादीहरुले प्रतिवादीहरुबाट अंश पाउनु पर्छ भन्ने वादीका साक्षी कयोनानी डंगोलले गरेको वकपत्र ।

६.१.   हामी वादीहरुलाई अंश दिनु पर्छ भनी तयार गरेको लिखतमा मलाई चित्त बुझ्दैन । त्यसमा यो बाहेक अरु सम्पत्ति छ, सम्पूर्ण सम्पत्ति वण्डापत्रमा उल्लेख नगरी वण्डापत्र भएको छ । मलाई थाहा नगरी वण्डापत्र भएको छ । मिति २०४८।६।१५ को वण्डापत्र जालसाजी हो । बाबु राजा महर्जन, आपुलु महर्जन, लक्ष्मी महर्जन र भुयुचा महर्जन समेत भै निजहरुकै घरमा बसी जालसाजी गरेका हुन् ।  उक्त लिखत जालसाजी हो । मलाई विवाह गरी भित्र्याएको समेत वण्डापत्रमा उल्लेख गरेको छैन । जालसाजी हुँदा बदर गरी पाउँ भन्ने जोगमायाले अ.वं. ७८ नं. बमोजिम गरेको बयान ।

७.    लिखत अंशियार बीच मालपोत कार्‍यालयमा पास भएको हो । जालसाजी होइन । सद्धे हो भन्ने प्रतिवादी वारेश जमुना थापाले गरेको बयान ।

७.१.   म अनिल महर्जन, आपुलु महर्जनको कान्छि श्रीमती लक्ष्मी महर्जनको २ छोरा मध्ये म जेठो छोरा हुँ । कान्छो निराजन दार्जिलिङ्गमा अध्ययन गर्न गएका छन् । म समेतले अंश पाएको छैन । अंशवण्डा नभएकोले मैले समेत कानून बमोजिम अंश पाउनु पर्छ । मेरो समेत अंश कानून बमोजिम दिलाई भराई पाउँ भन्ने अ.वं. १३९ नं. बमोजिम बुझिएका अनिल महर्जनको वारेश हसना थापाले अ.वं. १३९ नं. बमोजिम गरेको बयान ।

८.    फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीबाट श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई नपुग कोर्टफि समेत वादीबाट लिई तायदातीमा उल्लेखित जग्गाहरुको सम्बन्धित कार्‍यालयबाट दर्ता उतार समेत झिकाई पेश गर्नु भन्ने आदेशानुसार सम्बन्धित कार्‍यालयबाट दर्ता उतार समेत झिकाई आएको मिसिल सामेल देखिन आयो ।

९.    वादी प्रतिवादीहरु नाता अंशियार हो होइन भनी हेर्दा वादीहरुले गरेको बयानमा प्रतिवादी आपुलु महर्जन पति तथा बाबु हुन् भनी किटानी बयान गरेको र जिल्ला प्रशासन कार्‍यालय ललितपुरले प्रदान गरेको नागरिकता प्रमाणपत्र नं. ५०५२६, ६५१२६ को नागरिकताको प्रमाणपत्रले वादीहरु प्रतिवादी आपुलु महर्जनका पत्नी र छोरा हुन् भन्ने देखिन आयो । तसर्थ पत्नी र छोरालाई पति पिताले इज्जत आमद अनुसार खान लाउन दिनु पर्नेमा सो नदिएको भन्ने कुरा प्रतिवादी आपुलुको लेखबाटै पुष्टि भै रहेकोले अंश दिनु पर्ने हुन आयो । अंश सम्बन्धमा विचार गर्दा प्रतिवादीहरु भुयुचा महर्जन, छोराहरु आपुलु महर्जन र बाबुराजा महर्जन मिति २०४८।६।१५ मा आफ्नो अंश लिई भिन्न बसेका, प्रतिवादी मध्येका बाबु भुयुचा महर्जनको नाममा के कति सम्पत्ति वण्डामा परेको हो सो कुरा खुलाएको छैन । उक्त मितिमा वण्डा हुँदा प्रतिवादीहरु आपुलु र बाबुराजाले बरावरी सम्पत्ति प्राप्त गरेको हुँदा मिति २०४८।६।१५ को वण्डापत्रलाई खारेज गर्नु पर्ने अवस्था देखिएन । यसर्थ वादीहरुले मिति २०४८।६।१५ मा प्राप्त गरेको वण्डापत्रका आधारमा प्रतिवादी आपुलु महर्जनको भागबाट अंश पाउने देखिन्छ । अव प्रतिवादी भुयुचा महर्जन तर्फ विचार गर्दा यी वादीहरुका बाजे ससुरा अत्यन्तै वृद्धा अवस्था अर्थात फिरादमानै ८१ वर्ष उमेर उल्लेख भएको देखिन्छ । मिति २०४८।६।१५ को वण्डापत्रबाट निजका नाउँमा के कति घर जग्गा बाँकी रहेको भन्ने देखिदैन । हाल यस मुद्दामा पेश भएको दायदातीमा घर जग्गा खरीद गरेको र मिति २०५५।१०।११ मा निज सिद्धिलालले ८६ वर्षको अवस्थामा पनि जग्गा खरीद गरेको देखिन्छ । त्यसै गरी निजलाई दुवै छोराहरुले हेरचाह गर्ने भनी वण्डापत्रमा उल्लेख भएको हुँदा निजको नाममा दर्ता रहेको घर जग्गाहरुबाट पनि प्रतिवादी आपुलु महर्जनको भागमा पर्न आएको घर जग्गा र निजको नाममा दर्ता श्रेस्ता रहेकै जग्गाबाट निजकी श्रीमतीहरु वादी जोगमाया, प्रतिवादी लक्ष्मी महर्जन त्यस्तै छोराहरु वादी रोशन महर्जन र अन्य भाईहरु अनिल र निराजन समेत जम्मा ६ जनाले ६ भाग लगाई वादीहरु जोगमाया र रोशनले २ भाग अंशवण्डा छुट्याई चलन समेत चलाई पाउने ठहर्छ भन्ने शुरु ललितपुर जिल्ला अदालतले मिति २०६०।३।३२ मा गरेको फैसला ।

९.१.   शुरुले म प्रतिवादी भुयुचा महर्जन मिति २०४८।६।१५ मा भिन्न भै बसेको ससुरा, बाजेबाट समेत अंश लाग्ने भनी गरेको फैसला कानूनी त्रुटीपूर्ण भएकोले सो फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर र पुनरावेदन जिकिर बमोजिम हक इन्साफ गरी पाउँ भन्ने प्रतिवादी भुयुचा भन्ने सिद्धिलाल महर्जनको पुनरावेदन  पत्र ।

१०.    वादी जोगमाया महर्जन र रोशन महर्जन मेरो कुनै (आपुलु महर्जनको) नाता सम्बन्ध पर्दैन । यस्तो अवस्थामा शुरुले मेरो (आपुलु महर्जनको) श्रीमती र छोरा  हुन् भनी नाता कायम गरी अंश दिलाएको अवस्था छ । हामी प्रतिवादीहरु भुयुचा (पिता), आपुलु र बाबुराजा (छोराहरु) बीच मिति २०४८।६।१५ मा वण्डापत्र पारित गरी आआफ्नो खती उपति गरी आएका थियौं । शुरुले मिति २०५८।६।१५ को वण्डालाई मान्यता दिएको भनेता पनि पुनः पिता भुयुचा र छोराहरु बीच वण्डा गरी म (आपुलु) बाट अंशवण्डा गर्ने गरी भएको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला उल्टी गरी हाम्रो प्रतिउत्तर पत्र र पुनरावेदन जिकिर बमोजिम हक इन्साफ गरी पाउँ भन्ने प्रतिवादी आपुलु महर्जन समेतको पुनरावेदन पत्र ।

११.    शुरु ललितपुर जिल्ला अदालतबाट मिति २०६०।३।३२ मा प्रतिवादी बाबुराजा महर्जनको सम्पत्तिलाई वण्डा नगर्ने गरी भएको फैसलाको हदसम्म शुरुको इन्साफ उल्टी गरी हाम्रो फिराद र पुनरावेदन जिकिर बमोजिम हक इन्साफ गरी पाउँ भन्ने वादी रोशन महर्जन समेतको पुनरावेदन पत्र ।

१२.   यसमा पुनरावेदक वादी जोगमाया महर्जनलाई पुनरावेदक प्रतिवादी मध्येको आपुलु महर्जनकी पत्नी एवं पुनरावेदक वादी रोशन महर्जनलाई निज आपुलुले छोरा भनी गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसला मिलेकै देखिन्छ । पुनरावेदक प्रतिवादीहरु भुयुचा महर्जन, आपुलु महर्जन एवं बाबुराजा महर्जन बीच २०४८ सालमानै वण्डापत्र पारित भै निजहरु छुट्टि भिन्न भै सकेको देखिनाले भुयुचा महर्जन समेतबाट वादीले अंश पाउने ठहराएको फैसला सो हदसम्म मिलेको नदेखिदा केही उल्टी हुने ठहर्छ । सो ठहर्नाले पुनरावेदक प्रतिवादी आपुलु महर्जनका दुई पत्नि पुनरावेदक वादी जोगमाया महर्जन एवं पुनरावेदक प्रतिवादी लक्ष्मी महर्जन तथा जोगमाया तर्फको एक छोरा पुनरावेदक वादी रोशन महर्जन एवं लक्ष्मी महर्जन तर्फका दुई छोराहरु अनिल र निराजन समेत जम्मा ६ अंशियार देखिनाले ६ भाग मध्ये पुनरावेदक वादीहरुले एक/एक भाग अर्थात जम्मा दुई भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६१।३।२९ को फैसला ।

१३.   सबै प्रतिवादीहरुबाट अंश पाउने ठहर गर्नु पर्नेमा प्रत्यर्थी पति/पिता आपुलु महर्जनबाट मात्र अंश पाउने ठहर गरेको हदसम्मको पुनरावेदन अदालतको फैसलमा चित्त बुझेन । मूल पुरुष भुयुचा भन्ने सिद्धिलालका दुई छोराहरुमा जेठा प्रत्यर्थी पति/पिता आपुलु महर्जन र कान्छा प्रत्यर्थी काका/ देवर बाबुराजा महर्जन भई पुनरावेदकहरु मूल पुरुष सिद्धिलालबाटै अंशवण्डाको २ नं. अनुसार अंश पाउने अंशियार हकवाला हौं । अंशहकबाट वञ्चित गर्ने बद्‌नियतले प्रत्यर्थीहरुले वण्डा गरी लिनु दिनु गरेकोबाट पुनरावेदकहरु गोश्वारा प्राकृतिक सम्पत्तिबाट वञ्चित हुने ठहराई भएको फैसला अंशवण्डाको १ र २ नं. को प्रत्यक्ष विपरित छ । कथित वण्डापत्र गर्दा काठमाडौं तर्फका हजारौ बहाल आउने मूल्यवान घर जग्गा अन्य अंशियारलाई पारी ललितपुर तर्फको बाटोमा परेकोमुद्दा परेको तथा खेतीको थोरै जग्गा मात्र हामीहरुका पति पिताको भागमा पारिएको दुषित लिखतको भरमा हाम्रो हक समाप्त पार्ने गरी भएको फैसला त्रुटीपूर्ण छ । पुनरावेदकहरु अंशियार रहेको तथ्य स्थापित भएपछि गोश्वारा पैत्रिक सम्पत्तिबाट वञ्चित गर्ने गरी भएको फैसला अ.वं. १८४ क नं. विपरित छ । अतएवः शुरुको फैसला केही उल्टी गरेको हद सम्मको पुनरावेदन अदालतको फैसला अंशवण्डाको १, , , १५, ३५ अ.वं. ८२, १८४क, १८५ र प्रमाण ऐन, २०३१ को दफा ३, , ५४ तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित हुँदा बदर गरी सबै प्रत्यर्थीहरुबाट अंश पाउने ठहर फैसला गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१४.   पुनरावेदन  अदालतको उक्त फैसलामा चित्त बुझेन । विपक्षी जोगमाया म पुनरावेदक आपुलुको श्रीमती र रोशन छोरा नै होइनन् । त्यस्तो अंशियार नभएको व्यक्तिलाई अंश मुद्दा दिने अ.वं. ८२ नं. बमोजिम हकदैया छैन । त्यस तथ्यतर्फ विवेचना नगरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी रहेको छ । मैले मिति २०३१।१०।५ मा जोगमायासँग विवाह गरेको र मेरो वीर्यबाट २०३२।८।१० मा रोशन जन्मेको भन्ने भनाई असत्य हो । त्यसो हुँदो हो त उसै वखत नाता कायम गराउने तर्फ कारवाही चलाउनु पर्नेमा माईत बसेको भनी २६ वर्ष पछि प्रस्तुत अंशमुद्दा दिएबाट विपक्षीको फिराद लेख, नाता तर्फको बयान समेतका तथ्य बनावटी असत्य र आधारहिन हुन भन्ने स्पष्ट छ । नागरिकता प्रमाणपत्र, स्कुलको सर्टिफिकेट र ड्राईभिङ लाईसेन्सको मात्र आधार लिई हाम्रो प्रतिवादी जिकिर एवं पेश गरेका प्रमाण सम्बन्धमा कुनै विवेचना र निरुपण नगरी नाता कायम हुने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला अ.वं. १८४ क, १८५ र १८९, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरित छ । म पुनरावेदकले सनाखत गरी विपक्षीहरुले नागरिकता प्राप्त गरेको होइन । यसरी मलाई जानकारी नै नदिई प्राप्त गरेको नागरिकताबाट निजहरु मेरा पत्नि/छोरा कायम हुन सक्ने अवस्था छैन ।  दावी प्रमाणित गर्ने भार वादीमै भएको र विपक्षीहरुले सो गर्न नसकेको हुँदा हुँदै नाता कायम गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २५  र २६ समेतको त्रुटी गरिएको छ । जालसाजी पूर्वक मलाई पति पिता देखाई विपक्षीहरुले लिएको नागरिकताका सम्बन्धमा किर्ते कागजको ३ नं. अन्तर्गत छुट्टै नालेश गरेकोमा वादी दावी नपुग्ने गरी भएको फैसला उपर मुद्दा दोहोर्‍याई पाउँ भनी आजै निवेदन दिई सकेको हुँदा सो विवादित प्रमाणलाई ग्रहण गरी भएको फैसला त्रुटीपूर्ण छ । तायदातीमा ऋण समेत देखाएकोमा सो सम्बन्धमा नबोलिएको फैसला बदर भागी छ । अतएवः पुनरावेदन अदालतबाट भएको फैसला त्रुटीपूर्ण र अन्यायपूर्ण भएकोले बदर गरी अंश नपाउने ठहराई निर्णय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीहरु आपुलु महर्जन (डंगोल) समेतको यस अदालतमा पर्न आएको पुनरावेदन  पत्र ।

१५.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी पक्षबाट रहनु भएका विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, इन्दिराकुमारी श्रीस र शिवराज सिलवालले पुनरावेदिका जोगमायाको प्रत्यर्थी मध्येको आपुलु महर्जनसँग २०३१ सालमै परम्परागत रुपमा विवाह भई २०३२ सालमा पुनरावेदक मध्येको छोरा रोशन महर्जनको जायजन्म भएको हो । छोराको जन्म भएपछि माईती बस्न गएकोमा विपक्षी पति पिता लिन नगएको र नेवारी परम्परा अनुसार लिन नगई घर फर्कन नमिल्ने भएबाट पुनरावेदक वादीहरु माईती घरकै संरक्षणमा लामो समय सम्म बस्नु परेको हो । बीचमा पटकपटक घर फर्कने सम्बन्धमा माइती तर्फबाट पहल भएपनि विपक्षी आपुलुले लक्ष्मी महर्जनलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएकोबाट पहल सफल हुन सकेन । समय वित्दै जाँदा विपक्षी प्रतिवादीहरुले वादीहरुलाई नाता सम्बन्धनै नस्विकार्ने अवस्थाको श्रृजना भएको हो । वादीहरु आफ्नो स्वास्नी छोरा होइनन् भन्ने प्रतिवादीहरुको जिकिर रहेपनि सो को प्रमाण गुजार्न सकेको अवस्था छैन । वादी मध्येको जोगमाया तथा रोशनले प्रत्यर्थी आपुलुलाई क्रमशः पति र पिता देखाई नागरिकता प्रमाणपत्र लिएको अवस्था छ । त्यसै गरी पुनरावेदक वादी रोशनले विद्यालयमा भर्ना हुँदा तथा ड्राईभिङ लाईसेन्स लिदा समेत आपुलुलाई पिता उल्लेख गरेको अवस्था छ । जालसाजी पूर्वक नागरिकता लिएको भनी प्रत्यर्थीहरुले जालसाजी मुद्दा दिएको भएपनि झुठ्ठा विवरण दिई नागरिकता लिएको भनी सो  बदर तर्फ नागरिकता ऐन बमोजिमको कानूनी प्रक्रियामा जान सकेको अवस्था छैन । नागरिकता ऐन बमोजिमको प्रक्रियाबाट नागरिकता बदर नभए सम्म उल्लेख भएको नाता सम्बन्धलाई अन्यथा भन्न मिल्ने अवस्थै छैन । पुनरावेदक वादीहरुलाई अंशहकबाट वञ्चित गर्न विपक्षीहरु बीच २०४८ सालमा वण्डा पत्र खडा गरिएको हुँदा त्यसलाई मान्यता दिईनु हुँदैन । नाता कायम हुने अंश भाग नाम मात्रको पाउने अवस्थाले पुनरावेदक वादीहरुलाई न्याय दिन सक्दैन । तसर्थ २०४८ सालको वण्डापत्रलाई  मान्यता दिई सो मा उल्लेख भए बाहेकको सम्पत्ति वादीहरुलाई वण्डा नलगाएको हद सम्मको पुनरावेदन अदालतको फैसला उल्टी गरी सम्पूर्ण सम्पत्तिबाट दावी अनुसार वादीहरुले अंश पाउनु पर्दछ भन्ने समेत वहस गर्नु   भयो ।

प्रत्यर्थी प्रतिवादीहरुको तर्फबाट रहनु भएका विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल र सुस्मा वास्कोटा बरालले विपक्षी वादीहरु आपुलु महर्जनका श्रीमती र छोरा नाताका व्यक्तिहरुनै होइनन् । २०३२ सालमा छोराको जन्म भई माईत बस्न  गएको व्यक्ति २०५७ साल सम्म घरबाट लिन नगएको भनी माईतै बसी रहेको भन्ने फिराद लेख समेत काल्पनिक छ । वादीहरु श्रीमती छोरा भएको भए समयमानै उपचार खोज्न आउनु पर्ने थियो । जालसाजी घोषित गरी पाउँ भनी दावी लिएको नागरिकतामा पति/पिता उल्लेख भएको भरमा नाता कायम गरिएको पनि त्रुटीपूर्ण छ । नागरिकता ऐन अन्र्तगत छुट्टै नालेश नभएपनि जालसाजी मुद्दाबाटै सो तर्फ हेर्न मिल्नेमा जालसाजी मुद्दामा कुनै ठहर बुँदा नै नबोली अंश तर्फ नाता कायम भएको आधारमा जालसाजी मुद्दामा दावी नपुग्ने ठहर गरेको समेत मिलेको छैन । जालसाजी तर्फ मुद्दा दोहोर्‍याउन छुट्टै निवेदन परेको हुँदा त्यसै मुद्दाबाट इन्साफ हुने अवस्था बाँकी नै छ  । त्यसमा पनि वंशजको आधारमा उक्त विवादित नागरिकता लिदा प्रतिवादी आपुलुले पति पिताको हैसियतले सनाखत गरेको अवस्था पनि छैन । विद्यालयमा भर्ना हुँदा र ड्राईभिङ लाईसेन्स लिदा विपक्षीहरुले आपुलुलाई पिता उल्लेख गराएको भएपनि सो कार्यमा प्रतिवादीको कुनै संलग्नता र मञ्जुरी छैन । त्यस्तो अवस्थामा वादीहरुले एक तर्र्फी रुपमा उल्लेख गराएका कुराहरु निजहरुकै पक्षमा प्रमाणमा लाग्ने होइन । एउटी स्वास्नी मानिसले जातका सम्बन्धमा व्यक्त गरेका कुरालाई सामाजिक परम्पराका आधारमा मात्रै विश्वास गरी हाल्नु पर्ने बर्तमान अवस्था होइन । हालको विज्ञान र प्रविधिको युगमा DNA Test गरेर समेत सो तथ्य एकिन गर्न सकिनेमा त्यस्तो गरिएको छैन । तसर्थ शुरुको सदर गरेको पुनरावेदन अदालतको फैसला बदर गरी वादी दावी नपुग्ने ठहर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

१६.    पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उल्लिखित वहस जिकिर तर्फ ध्यान दिई पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदक वादीहरुलाई प्रतिवादी मध्येको आपुलु महर्जनको श्रीमती र छोरा नाता कायम हुने ठहराई निज प्रतिवादीबाट मात्र वादीहरुले अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? सम्पूर्ण प्रतिवादीहरुबाट दावी अनुसार अंश पाउनु पर्दछ भन्ने पुनरावेदक वादीहरुको र वादीहरु आफ्नो नाता सम्बन्धका व्यक्तिहरु नहुँदा सम्पूर्ण फिराद दावी नपुग्ने ठहर गरिनु पर्दछ भन्ने समेत पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा केन्द्रित रही निर्णय दिनु पर्ने देखियो ।

१७.   निर्णय तर्फ विचार गर्दा प्रतिवादी मध्येका आपुलु महर्जनसँग मिति २०३१।१०।५ मा धार्मिक परम्परा अनुसार बैवाहिक सम्बन्ध कायम भई मिति २०३२।८।१० मा छोरा रोशन महर्जनको जायजन्म भएको, छोराको जन्म भएपछि माइती बस्न गएकोमा विपक्षी पति पिता लिन नआएकोले नेवारी परम्परा अनुसार घरबाट लिन नआउन्जेल फर्कन नमिल्ने भई माईतीकै शरणमा बसी आएका थियौं ।  विपक्षी आपुलुले विपक्षी मध्येको लक्ष्मीलाई दोश्रो विवाह गरी बसेको थाहा पाई माइती समेतको सहाराले घर फर्कन खोज्दा पति पिताले पस्न नदिई कुटपिट गरी निकालेका र माईती तथा छरछिमेक समेतले मिलाउन खोज्दा समेत नमानी उल्टै नातानै होइन भनी वेइज्जती गरेकोले विपक्षीहरुबाट तायदाती फाँटवारी लिई विपक्षी मूल अंशियार भुयुचा, आपुलु र बाबुराजाको ३ अंश लगाई आपुलुको अंश भागमा पर्ने चल अचल सम्पत्तिबाट ४ भागको २ भाग अंश दिलाई पाउँ भन्ने समेत वादीहरुको मूख्य फिराद दावी रहेको देखिन्छ । प्रतिवादी आपुलु महर्जन समेतले वादीहरुलाई श्रीमती र छोरा नातामानै अस्विकार गरी प्रतिउत्तर फिराएको र नाता तर्फ भएको बयानमा वादीहरुले फिराद दावी अनुरुप नागरिकता प्रमाणपत्र समेतका प्रमाण दिई श्रीमती छोरा नाता कायम हुनु पर्ने तथा प्रतिवादीहरुले नाता कायमै नहुनु पर्ने भनी बयान गरेको अवस्था रहेछ । शुरुले दावी अनुसार नाता कायम हुने ठहराई वादीले प्रतिवादीहरुबाट ३ भागको १ भाग गरी १ भागको पुनः ६ भाग लगाई त्यसबाट २ अंश पाउने ठहराएको फैसला केही उल्टी गरी २०४८ सालको वण्डापत्रबाट भुयुचा, बाबुराजा र आपुलु छुट्टि भिन्न भई सकेको देखिएको भनी वादीहरुले प्रतिवादी आपुलु महर्जनबाट मात्रै ६ भागको २ भाग अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला उपर वादी र प्रतिवादी आपुलु महर्जन समेतको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परेको देखियो । २०४८ सालको वण्डापत्र आफूहरुलाई अंशहकबाट वञ्चित गर्ने उद्देश्यबाट गरिएकोले सो वण्डापत्रको सम्पत्ति सहितको सबै प्रतिवादीहरुबाट अंश पाउँ भन्ने वादीहरुको र वादीहरु आफ्नो नाता सम्बन्धका मानिसहरु नहुँदा नाता कायम हुनु पर्ने र अंश पाउनु पर्ने होइन भन्ने समेत प्रतिवादीहरुको मूख्य पुनरावेदन जिकिर रहेको पाईयो ।

१८.   यसमा मूल पुरुष  भुयुचा महर्जनको दुई छोरामा जेठा आपुलु महर्जन र कान्छा बाबुराजा महर्जन रहेको भनी वादीहरुले दिएको नाता पुस्तेवारीमा मुख मिलेकै देखिन्छ । प्रत्यर्थी मध्येको आपुलु महर्जनसँग पुनरावेदक वादी मध्येको जोगमायाको २०३१ सालमा परंपरागत रुपमा विवाह भई २०३२ सालमा पुनरावेदक मध्येको छोरा रोशनको जायजन्म भई वादीहरु निज प्रतिवादीको क्रमशः श्रीमती र छोरा नाताको व्यक्ति भएको भन्ने वादी दावीलाई प्रतिवादीहरुले अस्विकार गरी नाता सम्बन्ध नै नरहेको भनी जिकिर लिएको पाइन्छ । पुनरावेदक वादी र प्रतिवादीहरु बीच मूख्य विवाद रहेको नाता सम्बन्धको विषयमा कुन पक्षबाट आफ्नो दावी जिकिर पुष्टि हुने ठोस र भरपर्दौ प्रमाण पेश भएको रहेछ भन्ने कुराबाट निरोपित हुने देखिदा प्रथमतः सोही तर्फ विश्लेषण गर्नु पर्ने देखियो । सो सम्बन्धमा वादीहरुले आफ्नो दावी र बयानको समर्थनमा साक्षी वकपत्र गराएको तथा आपुलु महर्जनलाई पति/पिता देखाई प्राप्त गरेको नागरिकताको प्रमाणपत्र, विद्यालय र कलेजबाट प्रदान गरिएको चारित्रिक प्रमाण पत्र र ड्राईभिङ लाईसेन्स समेतका प्रमाण पेश गरेको देखिन्छ । प्रतिवादीहरुले वादीहरुलाई श्रीमती छोरा नाताका व्यक्ति होइनन् भनी प्रतिउत्तर र बयानमा जिकिर सम्म लिए पनि सो को पुष्टि हुने कुनै पनि प्रमाण दिन गुजार्न सकेको पाईदैन । प्रतिवादी तर्फबाट पेश गरिएकी एकमात्र साक्षी फेमिना डंगोलले वादी प्रतिवादीको नाता सम्बन्धबारे आफूलाई थाहा नभएको भनी वकपत्र गरेको देखिएबाट पुनरावेदक प्रतिवादीहरुको जिकिर स्वतः खण्डित भई रहेको पाईयो ।

१९.    वादीहरुले वंशजका आधारमा नागरिकताको प्रमाण पत्र लिएकोमा आफूले पति/पिताको हैसियतले सनाखत नगरेको र नागरिकता जालसाजीमा छुट्टै मुद्दा दिएको हुँदा त्यस्तो नागरिकतालाई प्रमाणमा लिई नाता कायम गर्न नमिल्ने भन्ने पनि पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर रहेको देखिन्छ । वादीहरुले नागरिकता लिदा आफूले सनाखत नगरी दिएको भए तथा आफ्ना श्रीमती र छोरा नै नभएका वादीहरुले आफूलाई पति/पिता भनी झुठ्ठा विवरणका आधारमा नागरिकता लिएको भए प्रचलित नागरिकता ऐन अन्तर्गत नागरिकता बदर तर्फ कारवाही चलाई वादीहरुले लिएको नागरिकता बदर गराउन सक्नु पर्नेमा पुनरावेदक प्रतिवादी आपुलु महर्जनले सो गर्न गराउन सकेको पनि पाईएन । सरकारी कार्‍यालयबाट विशेष कानून अन्तर्गत जारी भएको नागरिकता जस्तो प्रमाणपत्र कसैले झुठ्ठा विवरणका आधारमा प्राप्त गरेमा सो बदर गराउने प्रक्रियाका सम्बन्धमा उक्त विशेष ऐनमा नै पृथक व्यवस्था रहेकोमा सो बमोजिम नगरी जालसाजी मुद्दा दिएको भरमा नागरिकताको प्रमाणपत्र विवादित भएकोले प्रमाणमा लिन नहुने भन्ने जिकिर समेत आधारहिन देखियो । त्यसमा पनि उक्त नागरिकता प्रमाणपत्र जालसाजी घोषित गरी पाउँ भनी यिनै प्रत्यर्थी आपुलुले यिनै पुनरावेदक वादीहरु उपर दिएको जालसाजी मुद्दाहरुमा वादी दावी नपुग्ने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरी पाउँ भनी दिएको लगाउका दो.नि.नं ३५३७ र ३५३८ को निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान नरहेकोले निस्सा दिन नमिल्ने भनी आज यसै इजलासबाट आदेश भई सकेको अवस्थामा जालसाजी मुद्दा दिएकै आधारमा पुनरावेदक वादीहरुले लिएको नागरिकताको प्रमाणपत्रलाई अन्यथा भन्न सकिने अवस्था देखिएन ।

२०.   यसका अतिरिक्त पितृत्वको कुरा सधै अनुमानमा आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाको भनाई साँचो मान्नु पर्ने भन्ने मान्यतालाई यस अदालतले बच्चि विष्ट क्षेत्री विरूद्ध कविन्द्रबहादुर विष्ट क्षेत्रीको अंश माना चामल मुद्दा (ने.का.प. २०३४ नि.नं. १०५२ अंक ५ पृ. १३८) देखि अनुसरण गर्दै आई हिन्दु विधि शास्त्रको स्थापित सिद्धान्तको रुपमा हाल सम्म अनुसरण गरिदै आईएको परिप्रेक्ष्यमा वादी दावी र बयान तथा सोको समर्थनमा पेश भएका सबुद प्रमाण खण्डित हुने कुनै पनि प्रमाण स्वयं प्रतिवादी पक्षबाट आउन नसकेको अवस्थामा वादी प्रतिवादी बीच नाता कायम हुने ठहराएको फैसला मनासिव देखियो ।

२१.   अव पुनरावेदक वादी र प्रतिवादी आपुलु बीच पति पिता नाता रहेको देखिएको यस स्थितिमा वादीहरुले केकुन प्रतिवादीहरुबाट केकुन हिसावबाट अंश पाउने हो भन्ने सम्बन्धमा विचार गर्दा, नाता सम्बन्ध नै अस्विकार गर्ने प्रतिवादीहरुले वादीहरुलाई अघि नै अंश दिई सकेको होला भनी अनुमान गर्नु पर्ने अवस्था रहेन । फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिन सम्मको सगोलको चलअचल श्री सम्पत्तिबाट वादीहरुले आफ्नो हकहिस्सा जतीमा अंश पाउने नै देखिदा त्यस तर्फ थप विवेचना गरी रहनु परेन । जहाँ सम्म २०४८ सालको वण्डापत्र आफूहरुलाई अंशहकबाट मार्न प्रतिवादीहरुको मिलोमतोबाट भएकोले भुयुचा र बाबुराजा समेतका प्रतिवादीबाट अंश पाउनु पर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर छ, वादीहरुको प्रस्तुत अंश मुद्दाको फिराद मिति २०५७।२।९ मा दायर भएको देखिन्छ । प्रस्तुत फिराद पर्नु भन्दा करिव ९ वर्ष अघि मिति २०४८।६।१५ मा नै वादीहरुका पति/पिता प्रत्यर्थी आपुलु र निजका पिता भुयुचा तथा भाई बाबुराजा बीच अंशवण्डा पारित गरी रित पूर्वक छुट्टि भिन्न भएको देखियो । यसरी वादीहरुको प्रस्तुत अंशको नालेश पर्नु ९ वर्ष अगावै प्रत्यर्थी भुयुचा र निजका २ छोराहरु बीच कानून अनुरुप भएको पारित वण्डापत्रलाई पुनरावेदक वादीहरुले ९ वर्ष पछि दिने अंश मुद्दा प्रभावित पार्ने नियतबाट भएको भनी वादी दावी र पुनरावेदन जिकिर अनुरुप मान्न सकिने अवस्था रहेन । तत्काल कायम रहेका अंशीअंशी बीच भएको सो व्यवहारलाई उक्त वण्डापत्रको एक अंशीयार आपुलु तर्फको अंश खाने पुनरावेदक वादीहरुले हाल आएर अन्यथा जिकिर लिन नमिल्ने भई उक्त वण्डापत्र बाहेकको गोश्वारा पैत्रिक सम्पत्ति बाँकी रहेको देखिन आए वा त्यस्तो पैत्रिक सम्पत्ति कुनै वखत निजहरुका पति/पिताका नाममा आउने अवस्था परेमा त्यसबाट पुनरावेदक वादीहरुले आफ्नो हक हिस्सा जति छुट्याई लिन पाउनेनै हुँदा पुनरावेदक वादीहरुका पति पितासँग २०४८ सालमै रित पूर्वक वण्डापत्र पारित गरी छुट्टि भिन्न भएका प्रतिवादीहरु भुयुचा र बाबुराजाबाट वादीहरुले अंश पाउने अवस्था देखिएन । वादीका पति पिता आपुलुबाट मात्र निजका श्रीमती र छोरा यी पुनरावेदक वादीहरुले अंश पाउने स्थिति भई आपुलुको प्रत्यर्थी मध्येको लक्ष्मी महर्जन कान्छि श्रीमती र निजहरु तर्फका २ छोरा अनिल र निराजन समेत जम्मा ६ अंशियार देखिदा वादीहरुले ६ खण्डको २ खण्ड अंश पाउने अवस्था रहेको  देखियो ।

२२.   तसर्थ उल्लिखित आधार कारणबाट पुनरावेदक वादीहरु र प्रत्यर्थी मध्येको आपुलु महर्जन बीच पति/पिता र श्रीमती/छोराको नाता कायम भई आपुलु महर्जनको सम्पत्तिबाट ६ अंश गरी वादीहरुले त्यसबाट २ भाग अंश छुट्याई लिन पाउने ठहराएको समेत पुनरावेदन अदालत पाटनको मिति २०६१।३।२९ को फैसला मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु  ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. पवन कुमार ओझा

इजलास अधिकृत (शा.अ)

नारायण प्रसाद सुवेदी

 

इति सम्व्त २०६३ साल माघ २४ गते रोज ४ शुभम् ................... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु