शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२३९ - लेनदेन

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज..रा.

फैसला मिति : २०७१।३।१०।३

०६६-CI-०४७८

मुद्दाः लेनदेन ।

 

पुनरावेदक/वादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने दिनेशकुमार तिवारी

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने गोविन्दप्रसाद तिवारीसमेत

 

०६६-CI-०४७९

पुनरावेदक/वादी : जिल्ला बाँके, बेलभारा गाउँ विकास समिति वडा नं.८ बस्ने घिर्राउ कांदु

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. ६ बस्ने गोविन्दप्रसाद तिवारीसमेत

 

§  अर्काको हक मेट्ने, हदम्याद  तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने कार्य गरी नगरे नभएको झुट्ठा कुरा गरे भएको हो भनी कागज गराउने कार्यलाई जालसाजीको कसुर मानिएको देखिने ।

(प्रकरण नं. )

§  लिखतबमोजिमको रकम बुझी सही छापसमेत गरी दिइसकेपछि लिखतका लेखक र साक्षीले आफूहरूको सामुन्नेमा लेनदेन भएको नदेखेको भनी गरेको बयानलाई मात्र आधार मानी वादीबाट प्रतिवादीले रकम नै नलिएको भन्न नमिल्ने ।

(प्रकरण नं. )

§  आफूहरूको समेत अंश हक रहेको जग्गासँग सम्बन्धित लिखत हुनु नै जालसाजी क्रियाका लागि पर्याप्त आधार हुन नसक्ने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीका तर्फबाट :

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता दीर्घलाल गिरी

अवलम्बित नजिर :

§  नेकाप २०७०, असार, नि. नं. ८९८५ पृ. ४५४

सम्बद्ध कानून :

§  मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं.

§  प्रमाण ऐन, २०३१ को दफा ३, २३(), २८ र ५४

सुरू तहमा फैसला गर्ने :-

मा.जि.न्या.श्री सत्यराज गुरूङ

पुनरावेदन तहमा फैसला गर्ने :-

मा.न्या.श्री जागेश्वर सुवेदी

मा.न्या.श्री फणिन्द्रदत्त शर्मा

 

फैसला

            न्या.चोलेन्द्र शमशेर ज..रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यसप्रकार छ :

प्रतिवादीका बाबु स्व.रामवली तिवारीले मिति २०५४।३।१९ गते म फिरादीबाट घर खर्च गर्न भनी नगद रू.,२०,०००।- (एकलाख बीस हजार) घरसारमा बुझी लिई सो रूपैयाँबापत निज रामवली तिवारीका नाममा दर्ता रहेको जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. () कि.नं. २०२ को ज.वि. --/ जग्गा घरसारमा राजीनामा लेखी मालपोत कार्यालय, बाँकेबाट रोक्का मोठसमेत भिडाइ सकिएको थियो । तर सो जग्गा पारित नहुँदै निज रामवली तिवारीको मृत्यु भएको र अपुताली खाने हकवाला निजकी श्रीमती तथा छोराहरूसँग सो रूपैयाँ माग्दा दिन इन्कार गरेकाले लेनदेन व्यवहारको २ नं. का हद म्यादभित्र प्रस्तुत फिराद दिएको छु, लेनदेन व्यवहारको २२ नं. बमोजिम प्रतिवादीहरूबाट उक्त साँवा रू.,२०,०००।- र सोको भरिभराउका मितिसम्मको ब्याजसमेत दिलाइभराइ पाउँ भन्ने व्यहोराको फिरादपत्र ।

वादी फुलचन्द्र तिवारी प्रतिवादी रामवली तिवारी भएको २०४९ सालको दे.नं. १५११ को अंश मुद्दामा रामवली तिवारीले उक्त कि.नं. २०२ को ज.वि. --/ जग्गासमेत अंशको फाँटवारी दिँदा उल्लेख गर्नुभएको थियो । बाबुको नाममा प्रशस्त सम्पत्ति भएकाले यी वादीसँग ऋण लिनुपर्ने आवश्यकता नभएकाले ऋण लिनुभएको होइन । वादीका नाममा गलत तरिकाले जालसाजी गरी तमसुक खडा गरेका हुन् वा मेरा बाबुको नाम लेखी उनाउ व्यक्तिको दस्तखत सही छाप गराई प्रस्तुत मुद्दा दायर गरेका हुन्, वादीबाटै सक्कल लिखत पेस गर्न लगाई उक्त लिखत हेर्न पाएको बखत अ.बं. ७८ नं. बमोजिम बयान गर्नेछु । साथै जग्गा खरिद बिक्रीको कागज खडा गर्दा हकवालालाई साक्षी नराखी गरेको व्यवहार सदर नहुने हो । लिँदै नलिएको ऋणको हकमा हाम्रो सम्पत्ति खान सकिन्छ कि भनी बाबुको मृत्युपश्चात बेइमानी चिताइ फिराद गरेको हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी गोविन्दप्रसाद तिवारीको प्रतिउत्तरपत्र र सोही मिलानको मुन्गा तिवारी, गोकर्णप्रसाद तिवारी र ज्ञानेन्द्रकुमार तिवारीको छुट्टै संयुक्त प्रतिउत्तरपत्र ।

स्व.रामवली तिवारीले वादीबाट मिति २०५४।३।१९ मा रू.,२०,०००।- बुझी घरसारको राजीनामाको लिखत गरी दिएको सम्बन्धमा मलाई केही थाहा छैन । उक्त लिखत अ.बं.७८ नं. बमोजिम देखाए सुनाएका बखत मात्र केही भन्न सक्ने हुँदा सोही समयमा प्रतिवाद गर्नेछु भन्ने व्यहोराको प्रतिवादी फुलचन्द्र तिवारीको प्रतिउत्तरपत्र ।

वादी दावीको सक्कल लिखत देखाई पढी वाँची सुनाउँदा सुनें । सो लिखत भएका अवस्थामा म रामवली तिवारी साथमा नभएकाले सो लिखतका विषयमा मलाई थाहा छैन, विशेषज्ञबाट जाँच गराइ पाउँ । रामवली तिवारी, दिनेशकुमार तिवारी र लिखतका साक्षी घिर्राउ कांदु, गुढई कोरी, ओमप्रकाश मिश्रसमेत मिली जालसाजी गरेका हुन् भन्ने व्यहोराको प्रतिवादी फुलचन्द्र तिवारीले अ.बं. ७८ नं. बमोजिम गरेको बयान ।

सक्कल लिखत देखाउँदा देखेँ । सो लिखतमा लागेको सही छाप रामवली तिवारीको हो होइन भन्न सक्तिन । साथै लिखतमा म साक्षीसमेत नबसेकाले सो व्यवहारको सम्बन्धमा मलाई थाहा छैन । सही छापसम्बन्धमा विशेषज्ञबाट जाँच भएमा प्रष्ट हुनेछ । वादी फुलचन्द्र तिवारी, प्रतिवादी रामवली तिवारीसमेत भएको दे.नं. १५११ को अंश मुद्दामा रामवली तिवारीले फाँटवारी दिँदा कृषि विकास बैंकको मात्र ऋण देखाएको हुँदा सो राजीनामा जालसाजी हो । सो लिखतमा मलगायतका अन्य हकवालालाई साक्षीसमेत नराखेको हुँदा लिखतका लेखक, साक्षी र वादीसमेत मिली जालसाजी गरी लिखत खडा गरेका हुन् भन्ने व्यहोराको प्रतिवादी गोविन्दप्रसाद तिवारी, मुन्गा तिवारी, ज्ञानेन्द्र तिवारी र गोकर्ण तिवारीको वारिस फलबहादुर गौतमले अ.बं. ७८ नं. बमोजिम गरेको बयान ।

प्रतिवादी फुलचन्द्र तिवारी र प्रतिवादी फलबहादुर गौतमले अ.बं. ७८ नं. बमोजिम सक्कल लिखत हेरी गरेको बयान व्यहोरा पढी वाँची सुनाउँदा सुनेँ, लिखत जालसाजी होइन, सद्धे साँचो हो मेरो रकम पचाउनका लागि लिखत जालसाजी भनी बयान गरेका हुन् भन्ने व्यहोराको वादी वारिस राधेश्याम त्रिपाठीले अ.बं. ७८ नं. बमोजिम गरेको बयान । 

रामवली तिवारीले जग्गा बिक्री गर्न भनी वादीसँग कर्जा लिएका होइनन् । रामवली तिवारीका नामको कि.नं. २०२ को जग्गा सबै अंशियारको हक लाग्ने जग्गा हो । लिखत लेखिएका समयमा रामवली तिवारीलाई त्यति रकम लिनपर्ने आवश्यकता नै थिएन । राजीनामा लिखत जालसाजी हो । वादीलाई प्रतिवादीहरूले रकम तिर्नपर्ने होइन भन्ने व्यहोराको प्रतिवादी मुन्गा तिवारी, गोकर्ण तिवारी र ज्ञानेन्द्रकुमार तिवारीको साक्षी गोपाल कुर्मीले गरेको बकपत्र ।

वादी दावीको लिखतको समयमा स्व.रामवली तिवारीको घरमा कुनै पनि कार्य नभएकाले निजले ऋण लिएका थिएनन् । फिरादमा उल्लिखित कि.नं.२०२ को जग्गा रामवली तिवारीको मात्रै हक लाग्ने नभई सबै अंशियारको हक लाग्ने जग्गा हो भन्ने व्यहोराको प्रतिवादी गोविन्दप्रसाद तिवारीको साक्षी गंगाराम तिवारीले गरेको बकपत्र ।

प्रतिवादी फुलचन्द्र तिवारी आफ्नो बाबु रामवली तिवारीसँग २०४९ सालबाटै अलग बसी आएका छन् । रामवली तिवारी र फुलचन्द्र तिवारीको बीचमा अंश मुद्दा चलेको थियो । रामवली तिवारीले कसैसँग रूपैयाँ कर्जा लिएका होइनन् र राजीनामासमेत लेखी दिएका छैनन् । लिखत जालसाजी हो । घिर्राउ कांदु, गुढई कोरी, वादी र ओमप्रकाश त्रिपाठीसमेत मिली लिखत जालसाजी गरी खडा गरेका हुन् भन्ने व्यहोराको प्रतिवादी फुलचन्द्र तिवारीको साक्षी जगदीशप्रसाद तिवारी र महाराज सिंह ठाकुरले एकै मिलानको पृथकपृथक गरेको बकपत्र ।

            मिति २०५४।३।१९ गतेको रू.,२०,०००।- को घरसारको राजीनामा मैले लेखेको हुँ, तर मेरो सामुन्नेमा लेनदेन गरेको चाहिँ मैले देखिँन । दिनेशकुमार तिवारी र रामवली तिवारीले घरसारको राजीनामा लेखी दिनुहोस् भनेकाले दुईप्रति कागज लेखी दिएको हुँ । मैले कुनै जालसाजी गरेको छैन भन्ने व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका ओमप्रकाश मिश्रले गरेको बयान ।

कारणी रामवली तिवारीले वादीबाट रकम लिएको मैले देखिँन । मालपोत कार्यालयअगाडि रिक्सा रोकी राखेको ठाउँमा बोलाएर सही छाप गरी देउ भनेकाले मैले सही छाप गरी दिएको हुँ । मेरो सामुन्नेमा रकम लिनुदिनु नभएको हुँदा प्रतिवादीहरूले वादीलाई रकम दिनुपर्ने होइन भन्ने व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका गुढई कोरीले गरेको बयान ।

धनी दिनेशकुमार तिवारी ऋणी रामवली तिवारी भएको मिति २०५४।३।१९ गतेको रू.,२०,०००।- को घरसारको राजीनामा मालपोत कार्यालय, बाँकेअगाडि बसी लेखिएको हो । लेनदेन भै सकेपछि रामवली तिवारीले सही छाप गरेका हुन् । उक्त राजीनामामा म पनि साक्षी बसेको छु । प्रतिवादीहरूले रकम तिर्न बुझाउन नपरोस् भनी झुट्ठा बयान गरेका हुन् भन्ने व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका घिर्राउ कांदुले गरेको बयान ।

            वादीले प्रतिवादीहरू मुन्गा तिवारी, गोविन्दप्रसाद तिवारी, गोकर्ण तिवारी र प्रतिवादी ज्ञानेन्द्रकुमार तिवारीबाट वादी दावीबमोजिम साँवा रू.,२०,०००।- र सो को आजसम्म र भरिभराउ हुँदासम्मको दश प्रतिशतले हुने ब्याजसमेत भराई पाउने ठहर्छ । प्रतिवादी फुलचन्द्र तिवारीको हकमा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको मिति २०६१।११।१० को फैसला ।

            लिखतमा लागेको ल्याप्चे सही छाप ऋणी रामवली तिवारीको हो होइन भन्ने सम्बन्धमा उक्त लिखत विशेषज्ञबाट जाँच गराई पाउँ भनी अ.बं. ७८ नं. बमोजिम बयान गरेको अवस्थामा विशेषज्ञलाई बुझी फैसला गर्नुपर्नेमा विशेषज्ञलाई बुझिएको छैन । लिखतका साक्षी गुढई कोरीले

अदालतमा बयान गर्दा मेरो सामुन्नेमा लेनदेन भएको होइन भनी र अर्का साक्षी घिर्राउ कांदुले पनि लेनदेन भएको आफूले नदेखेको भनी बयान गरेको स्थितिमा प्रमाणको मूल्याङ्कन नगरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी न्याय पाउँ भन्ने व्यहोराको प्रतिवादी गोविन्दप्रसाद तिवारीले पुनरावेदन अदालत, नेपालगन्जमा दिएको पुनरावेदनपत्र ।

            हामीहरूका बाबु रामवली तिवारीले वादीबाट ऋण लिएका होइनन्, वादी तथा निजका साक्षीसमेत मिली लिखत खडा गरेका हुन् भन्ने व्यहोराको प्रतिउत्तर फिराई सोही व्यहोरा उल्लेख गरी अ.बं. ७८ नं. बमोजिम बयान गर्नुका साथै अ.बं.१३९ नं. बमोजिम बुझिएका लिखतका लेखक ओमप्रकाश मिश्र र गुढई कोरीसमेतले आफ्नो सामुन्नेमा लेनदेन भएको होइन भनी बयान गरेको स्थितिमा उक्त प्रमाणको मूल्याङ्कन नगरी भएको सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबाट फुर्सद पाउने गरी इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीहरू गोकर्ण तिवारी र ज्ञानेन्द्रकुमार तिवारीले पुनरावेदन अदालत, नेपालगन्जमा दिएको संयुक्त पुनरावेदनपत्र ।

            ऋणी रामवली तिवारीले वादीबाट रकम लिएको छैन, लिखत जालसाजी हो भनी प्रतिउत्तर फिराइ अ.बं. ७८ नं. बमोजिम बयान गर्नुका साथै लिखतका लेखक ओमप्रकाश मिश्र र लिखतका साक्षी गुढई कोरीले अदालतमा बयान गर्दा मेरो सामुन्नेमा लेनदेन भएको होइन भनेको स्थितिमा ती प्रमाणको मूल्याङ्कन नगरी भएको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावीबाट फुर्सद पाउने गरी न्याय पाउँ भन्ने व्यहोराको प्रतिवादी मुन्गा तिवारीले पुनरावेदन अदालत, नेपालगन्जमा दिएको पुनरावेदनपत्र ।

            विवादको लिखत लेख्ने व्यक्ति ओमप्रकाश मिश्रले र लिखतका साक्षी गुढई कोरी र घिर्राउ कांदुसमेतले आफ्नो सामुन्ने रूपैयाँ लिई लेनदेन गरेको होइन भनी बकपत्र गरेकोमा सोतर्फ विवेचना नभएको र प्रतिवादीमध्येका गोविन्द तिवारीले बाबु रामवली तिवारीलाई विपक्षी बनाई २०५१ सालमा दिएको १२८४ को अंश मुद्दाबाट पुनरावेदक प्रतिवादी गोविन्द तिवारी लिखत हुनुपूर्व अर्थात् २०५४।३।१९ भन्दा अघि मानो छुट्टिएको अवस्थामा निज गोविन्द तिवारीसमेतबाट भरिपाउने ठहर गरेको सुरू बाँके जिल्ला अदालतको २०६१।११।१० को फैसला प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६२।१०।१८ को आदेश ।

            वादी दावीको मिति २०५४।३।१९ को लिखत हेरी पुनरावेदक/प्रतिवादीहरूले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा सो लिखत जालसाजी हो, विशेषज्ञबाट जाँच गराई पाउँ भनी जालसाजीतर्फ दावी लिएको देखिँदा उक्त लिखतमा परेको कारणीको सही छाप पुनरावेदकहरूका पति तथा पिता स्व.रामवली तिवारीको हो होइन भन्ने सम्बन्धमा विशेषज्ञबाट परीक्षण गराउनुपर्ने देखिँदा निज रामवली तिवारीको सही छाप परेको समकालीन लिखत छ, छैन पुनरावेदकहरूबाट अ.बं. १३३ नं. बमोजिम कागज गराई खुलाउन लगाई समकालीन लिखत भए दाखिला गराई सोमा लागेको सही छाप र वादी दावीको मिति २०५४।३ १९ को लिखतमा लागेको सही छाप परस्पर भिड्छ, भिड्दैन विशेषज्ञद्वारा परीक्षण गराउन लाग्ने दस्तुर पुनरावेदकबाटै लिई परीक्षण गर्न पठाई यिनै पुनरावेदकहरूबीच चलेको २०४९ सालका दे नं. १५११, २०५१ सालको १२८४ र १२८२ को अंश मुद्दाका मिसिलहरू झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६४।८।९ को आदेश ।

समकालीन लिखतको सम्बन्धमा यस अदालतबाट मिति २०६३।१२।४ मा भएको आदेश अनुरूप पुनरावेदकहरूबाट कागज गराएकोमा आदेशबमोजिमको लिखित पेस गर्न सक्तिन भनी लेखाई दिएको देखिन्छ । अब निजहरूबाट स्व.रामवली तिवारीको ल्याप्चे छाप भएको लिखत कुनै अड्डा अदालतमा वा निजहरूसँग छ छैन अ.बं. १३३ नं. बमोजिम कागज गराई खुलाई भए सो लिखित सक्कलै सम्बन्धित कार्यालय वा निजहरूबाट दाखिला गराई उक्त लिखत र प्रमाणमा आएको दे.नं. १२८१ को अंश मुद्दामा मिति २०५२।३।१ मा रामवलीबाट पेस भएको प्रतिउत्तरपत्र सक्कलै झिकी पूर्व आदेशबमोजिम उल्लिखित लिखतहरूमा लागेको रामवली तिवारीको ल्याप्चे छाप र प्रतिउत्तरमा भएको निजको लेखात्मक सही विवादित मिति २०५४।३।१९ को लिखतमा लागेको लेखात्मक रेखात्मक सही छापसँग परस्पर भिड्छ, भिड्दैन जाँच गर्न पठाई सोको प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६४।८।९ को आदेश ।

विवादित लिखतमा तत्कालीन भेरी अञ्चलाधीश कार्यालयबाट मिति २०२३।२।३ मा नागरिकता नं.७६० बाट प्रतिवादी रामवली तिवारीले नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्ने देखिँदा निज रामवली तिवारीले भरेको आवेदनपत्रसहितको रामवली तिवारीको ल्याप्चे सही छापसमेत परेको सक्कलै अभिलेख जिल्ला प्रशासन कार्यालय, बाँकेबाट झिकाई प्राप्त हुन आएमा पूर्व आदेशबमोजिम सही छाप जचाउने कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जबाट मिति २०६४।१२।११ मा भएको आदेश ।

            रामवली तिवारीको नागरिकताको प्रमाणपत्र प्राप्त गर्दाका समयमा खडा भएका सक्कल कागजात जिल्ला प्रशासन कार्यालय, बाँकेको च.नं. ५०१२ मिति २०६५।१।२२ को पत्रसाथ प्राप्त भई विवादित लिखत विशेषज्ञबाट जाँच भई सोको प्रतिवेदन मिसिल सामेल रहेको ।      

वादीबाट पेस भएको लिखतबमोजिमको थैली पुनरावेदकका बाबुले पाएका लिएका भन्ने देखिन नआएको अवस्थामा पनि सो लिखतको साँवा ब्याज भराई लिन पाउने गरी बाँके जिल्ला अदालतबाट मिति २०६१।११।१० मा भएको फैसला मिलेको देखिन आएन । अतः सो फैसला उल्टी भई लेनदेनको बिगो भराई पाउँ भन्ने फिराद दावी पुग्न सक्तैन । बेदामी लिखतको रूपैयाँ घरसारमा दिएको थिएँ भनी झुट्ठा कुरा गरी प्रतिवादीहरूको सम्पत्ति लिने खाने उद्देश्यले किर्ते कागजको महलको ३ नं. प्रतिकूल वादी दिनेशकुमार तिवारी र घिर्राउ कांदुसम्मले जालसाजी गरेको ठहर्छ । किर्ते कागजको महलको १० नं. ले निज प्रतिवादीहरूलाई जनही रू.१५,०००।- जरिवाना हुन्छ। अरू प्रतिवादीहरूका हकमा जालसाजीको दावी पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६५।९।१३ को फैसला ।

            प्रतिवादीहरूले स्पष्टरूपमा विवादित लिखत किर्ते वा जालसजी भन्न नसकेको र लिखत जाँच गर्ने विशेषज्ञले लिखतमा लागेको कारणीको सही छाप मिल्ने भिड्ने भनी राय

दिएको अवस्थामा पनि बिनाआधार उक्त लिखतलाई जालसाजी ठहर गरी वादीलाई सजायसमेत गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी इन्साफ पाउँ भन्ने व्यहोराको वादी दिनेशकुमार तिवारीले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

            कारणीले राजीखुसीले राजीनामा लिखतमा सही छाप गरी रकमसमेत बुझी सकेकाले भएको व्यहोरा उल्लेख गरी बयान गरेको अवस्थामा पनि लिखत जालसाजी ठहर गरी सजायसमेत हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी इन्साफ पाउँ भन्ने व्यहोराको अ.बं. १३९ नं. बुझिएका लिखतका साक्षी घिर्राउ कांदुले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

            लिखतमा लागेको ल्याप्चे सही छाप कारणीको सही छापसँग मिल्ने भिड्ने भन्ने विशेषज्ञको राय भएको अवस्थामा किर्ते कागजको ३ नं. को कसुरमा ऐ.को १० नं. अनुसार सजाय गरेको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१।२१ को आदेश ।

            मैले मिति २०५४।३।१९ को लिखत जाँच गरी राय दिएको हुँ र त्यसको आधार प्रतिवेदनमा स्पष्ट खुलाएको छु भन्ने व्यहोराको लिखत जाँच गर्ने विशेषज्ञ केशवबहादुर थापाले यस अदालतमा गरेको बकपत्र ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट विद्वान् अधिवक्ता दीर्घलाल गिरीले वादीबाट पेस भएको लिखत जालसाजी तवरले खडा भएको भन्ने प्रतिवादीको अ. बं. ७८ नं. को बयानलाई उक्त लिखतका लेखक एवम्साक्षीसमेतले लिखतबमोजिमको रकम आफूहरूको सामुन्नेमा लिनुदिनु नभएको भनी अ.बं. १३९ नं. बमोजिम अदालतमा बयान गरी समर्थन गरेको अवस्था हुँदा प्रतिवादीले वादीबाट कर्जा लिएको भन्ने कुरा प्रमाणित हुँदैन, तसर्थ वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको छ भनी गर्नुभएको बहससमेत सुनियो ।

            प्रतिवादीका पति/पिता रामवली तिवारीले वादीबाट रू.,२०,०००।- बुझी लिई निज रामवली तिवारीका नामको जिल्ला बाँके, वनकट्टी गाउँ विकास समिति वडा नं. () कि.नं.२०२ को ज.वि.--/‌२ जग्गा घरसारको राजीनामा लेखी मालपोत कार्यालयबाट मोठ रोक्कासमेत भइसके पनि सो जग्गा पारित हुन बाँकी रहेकोमा ऋणी रामवली तिवारीको मृत्यु भएकाले निज रामवली तिवारीका हकवाला प्रतिवादीहरूबाट उक्त रकमको साँवा ब्याजसमेत भराई पाउँ भन्ने वादी दावी रहेकोमा जालसाजी गरी तमसुक खडा गरेका हुन् वा उनाउ व्यक्तिको सही छाप गराएका हुन् भन्ने कुरा अ.बं.७८ नं. बमोजिम बयान गर्नेछु भन्ने प्रतिउत्तर जिकिर रहेको छ ।

            . निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरूले अ.बं. ७८ नं. बमोजिमको बयानमा वादी दावीको लिखतमा लागेको प्रतिवादीहरूका पति/पिताको सही छाप निजको हो, होइन भन्ने कुरा आफूहरू विशेषज्ञ नभएको हुँदा एकिन गर्न नसक्ने हुँदा विशेषज्ञबाट जाँच गराई पाउन माग गरी आफूहरूको समेत अंश हक रहेको जग्गाको राजिनामासम्बन्धी लिखत भएकाले उक्त लिखत जालसाजी हो भनेको देखिन्छ ।

            . मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं. मा भएको व्यवस्था अनुसार अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने कार्य गरी नगरे नभएको झुट्ठा कुरा गरे भएको हो भनी कागज गराउने कार्यलाई जालसाजीको कसुर मानिएको देखिन्छ । यस्तै शारदा घिमिरे विरूद्ध भगवती फुँयाल भएको जालसाजी मुद्दामा यस अदालतको संयुक्त इजलासबाटजालसाजीको कसुर आफ्नो फाइदा र अरूको नोक्सानी पुर्याउने नियतले गैरकानूनी कागजको माध्यमबाट व्यक्तिद्वारा व्यक्तिविरूद्ध गरिने फौजदारी प्रकृतिको अपराध भएबाट जालसाजीको अपराध स्थापित हुन आपराधिक कार्य र सो कार्य गर्ने आपराधिक मनसायको पुष्टि हुनैपर्दछ । कुनै पनि कार्य स्वतः जालसाजीपूर्ण हुने होइन । जालसाजी हुन अंश लाग्ने सम्पत्ति बिक्री भई प्राप्त हुने अंश भागमा प्रतिकूल असर पर्यो भन्नुमात्र पर्याप्त नहुनेभनी (नेकाप २०७०, असार, नि.नं. ८९८५, पृ. ४५४) मा सिद्धान्त प्रतिपादन भएको छ ।

            . स्व.रामवली तिवारीले आफ्ना नामको जग्गा वादीलाई राजीनामा गरी दिने लिखत गरी उक्त राजीनामाको लिखत पारित हुन नसकेका कारणले कपालीमा परिणत भएको अवस्था देखिएको छ । कारणी रामवली तिवारीलाई करकापमा पारी वा झुक्याई राजीनामाको लिखतमा सही छाप गराएको भन्ने प्रतिवादीको भनाई रहेको छैन । आफ्ना नाममा रहेको जग्गा अरूलाई राजीनामाको लिखत गरी दिएको कार्यबाट प्रतिवादीहरूको हक जाने वा निजहरूलाई कुनै किसिमको नोक्सान हुने वा वादीलाई फाइदा हुने कार्य भएको भन्न मिल्दैन र त्यस्तो क्रियालाई किर्ते कागजको महलको ३ नं. मा भएको कानूनी व्यवस्था र यस अदालतबाट माथि उल्लिखित मुद्दामा प्रतिपादित सिद्धान्तसमेतका आधारमा जालसाजीको संज्ञा दिन मिल्ने देखिएन । त्यसमा पनि उक्त राजीनामाको लिखत पारित भई नसकेको हुँदा प्रतिवादीहरूले प्राप्त गर्ने अंश हकमा कुनै प्रतिकूल असर पर्ने पनि देखिँदैन ।   

            . वादी गोविन्दप्रसाद तिवारी प्रतिवादी रामवली तिवारीसमेत भएको दे.नं. १२८१ को अंश मुद्दामा प्रतिवादी रामवली तिवारीले मिति २०५२।३।१ मा पेस गरेको प्रतिउत्तर र निजको नागरिकताको प्रमाणपत्रमा लागेको सही छाप र विवादित लिखतमा निज रामवली तिवारीले गरेको सही छाप परीक्षणका लागि सर्वोच्च अदालतका रेखा तथा लेखा विशेषज्ञसमक्ष पठाउँदानागरिकताको बाँया ल्याप्चे छापमा प्रष्ट भेटिएका रेखाका गुणहरूसँग लिखतको मिति बन्दको दोस्रो ल्याप्चे छापमा प्रष्ट भेटिएका रेखाका गुणहरू आपसमा भिडी मिलेका छन्भन्ने रलिखतको कारणीको हस्ताक्षर सहीको लेखन गुण र मूल स्वभावसँग नागरिकता र प्रतिउत्तरपत्रको हस्ताक्षर सहीको लेखन गुण र मूल स्वभाव आपसमा मेल गरेका छन्भन्ने राय दिएको देखिन्छ भने यस अदालतको मिति २०७०।१०।६ को आदेशानुसार उक्त लिखत जाँच गर्ने विशेषज्ञले यस अदालतमा आई बकपत्र गर्दा उक्त लिखत आफूले जाँच गरेको भनी बकपत्र गरिदिएको अवस्था छ ।

            . प्रमाण ऐन, २०३१ को दफा २३() माअदालतले विदेशी कानून, विज्ञान, कला, हस्ताक्षर वा ल्याप्चेका सम्बन्धमा राय एकिन गर्नुपरेमा सोसम्बन्धी विशेषज्ञको राय प्रमाणमा लिन हुन्छभन्ने व्यवस्था रहेको छ भने दफा ५४ माहस्ताक्षर, ल्याप्चे, विदेशी कानून, विज्ञान, रीति रिवाज, कला वा यस्तै अन्य विषयसम्बन्धी कुरा एकिन गर्नुपर्ने हुन आएमा अदालतमा त्यस सम्बन्धमा विशेष दक्षता, अनुभव वा तालिम प्राप्त व्यक्तिलाई साक्षीसरह उपस्थित गराई बकाउनु   हुन्छ । सोबमोजिम कुनै विशेषज्ञलाई साक्षीसरह बकाएमा मुद्दाको पक्षहरूलाई यस ऐनबमोजिम जिरह गर्ने मौका दिनुपर्छभन्ने व्यवस्था रहेको छ ।

            . यसरी विवादित लिखत जाँच गर्ने विशेषज्ञले लिखतमा लागेको सही छाप मिले भिडेको भनी राय व्यक्त गरी यस अदालतमा आई बकपत्रसमेत गरिदिएको स्थितिमा निजले दिएको उक्त रायलाई प्रमाण ऐन, २०३१ को दफा २३() र ५४ बमोजिम प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने हुन आउँछ ।

            . लिखतका लेखक ओमप्रकाश मिश्र र लिखतका साक्षी गुढई कोरीले अ.बं. १३९ नं. बमोजिम बयान गर्दा लिखतमा कारणीको सही छाप परेको तथ्यलाई अन्यथा भन्न नसकी आफूहरूको सामुन्नेमा लेनदेन भएको होइन भन्नेसम्मको व्यहोरा लेखाएका छन् भने लिखतका अर्का साक्षी घिर्राउ कांदुले बयान गर्दा प्रतिवादीहरूका पति/पिता रामवली तिवारीले वादीबाट दावीबमोजिमको रकम लिएकाले सो लिखतमा आफू साक्षी बसेको भनी लेखाएको अवस्था छ । लिखतबमोजिमको रकम बुझी सही छापसमेत गरी दिइसकेपछि लिखतका लेखक र साक्षीले आफूहरूको सामुन्नेमा लेनदेन भएको नदेखेको भनी गरेको बयानलाई मात्र आधार मानी वादीबाट प्रतिवादीले रकम नै नलिएको भन्न मिल्दैन ।

. प्रतिवादीहरूले आफूहरूको अंश हक रहेको जग्गासँग सम्बन्धित लिखत भएकाले सो लिखत जालसाजी हो भनी अ.बं.७८ नं. बमोजिम बयान गरेको देखिएको छ । तर विवादित लिखत के कसरी जालसाजी हो भन्ने कुराको तथ्ययुक्त आधार र कारण उक्त बयानमा खुलाउन सकेको देखिँदैन । वादीले पेस गरेको लिखत जालसाजी हो भन्ने जिकिर प्रतिवादीले लिएपछि त्यस्तो जिकिर प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम प्रतिवादीमा नै रहने हुन्छ । तर उक्त जिकिर

प्रमाणित हुने कुनै पनि प्रमाण प्रतिवादीले पेस गर्न सकेको छैन । आफूहरूको समेत अंश हक रहेको जग्गासँग सम्बन्धित लिखत हुनु नै जालसाजी क्रियाका लागि पर्याप्त आधार हुन सक्तैन । लिखतका कारणी रामवली तिवारी स्वयम्ले हस्ताक्षर गरी निजका आफ्नै नाममा रहेको जग्गा राजीनामा गरी दिने गरी भएको घरसारको राजीनामाको लिखतलाई अन्यथा प्रमाणित नभएसम्म जालसाजी भन्न र मान्न मिल्दैन । 

१०. प्रतिवादीहरूले विवादित लिखतलाई किर्ते नभनी जालसाजीसम्म भनेको अवस्थामा उक्त विवादित लिखत जचाउनु प्रमाण ऐन, २०३१ को दफा ३ प्रतिकूल असम्बद्ध प्रमाण बुझ्नु हुन्छ भन्ने पुनरावेदन अदालतको फैसलामा उल्लेख गरिएको छ । तर प्रतिवादीहरू स्वयम्ले उक्त विवादित लिखत जचाई पाउन माग गरेको स्थितिमा उक्त लिखत जाँच गराउने आदेश भएबमोजिम विशेषज्ञले जाँच गरी रायसमेत दिई सकेपछि निजले दिएको त्यस्तो रायलाई प्रमाणमा लिन नमिल्ने भन्न मिल्दैन । 

            ११. तसर्थ, माथि विवेचित आधार प्रमाणहरूबाट वादीले प्रतिवादीलाई लिखतबमोजिम रकम दिएको प्रमाणित हुँदाहुँदै पनि वादी दावी पुग्न नसक्ने र वादी दिनेशकुमार यादव र लिखतका साक्षी घिर्राउ कांदुलाई जनही रू.१५,०००।- जरिवाना हुनेसमेत ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६५।९।१३ को फैसला उल्टी भई वादीले प्रतिवादीबाट लिखतबमोजिमको साँवा र कानूनबमोजिम भरिभराउका मितिसम्मको ब्याजसमेत भराई लिन पाउने ठहर्याएको बाँके जिल्ला अदालतको मिति २०६१।११।१० को फैसला सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम   गर्नू ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, नेपालगन्जको फैसला उल्टी भई बाँके जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएकाले बाँके जिल्ला अदालतको फैसलाको तपसिल खण्डको १, , ३ नं. बमोजिमको साँवा ब्याज र कोर्ट फीसमेत प्रतिवादीहरूबाट वादीलाई भराई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ......................................................

पुनरावेदन अदालत, नेपालगन्जको फैसलाबमोजिम वादी दिनेशकुमार तिवारी र लिखतका साक्षी घिर्राउ कांदुसमेतलाई जनही लागेको जरिवाना रू.१५,०००।- को लगत कट्टा गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ............................................................................................

पुनरावेदक/वादी दिनेशकुमार तिवारीले पुनरावेदन अदालत, नेपालगन्जमार्फत यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रू.७५६।भराई पाउँ भनी प्रतिवादीहरूको यसै सरहदको जेथा देखाई वादीले कोर्ट फि ऐन, २०१७ को दफा १५(११) बमोजिमको दुई वर्षको म्यादभित्र दरखास्त दिए दफा १३() बमोजिम केही दस्तुर नलिई प्रतिवादीबाट वादीलाई भराइदिनू .....................................

पुनरावेदन अदालत, नेपालगन्जको फैसलाले पुनरावेदक दिनेशकुमार तिवारीलाई लागेको जरिवाना रू.१५,०००।- बापत निजले यस अदालतमा पुनरावेदन गर्दा कुसुमलता त्रिपाठी नाम दर्ताको जिल्ला बाँके, होलिया गाउँ विकास समिति वडा नं. () कि.नं. ४०२ को ०--६ जग्गा र अर्का पुनरावेदक घिर्राउ कांदुलाई लागेको जरिवाना रू.१५,०००।-बापत ओमप्रकाश त्रिपाठी नाम दर्ताको जिल्ला बाँके, पुरैनी गाउँ विकास समिति वडा नं. ६ कि.नं. ३५० को ०--/ र ऐ.ऐ कि.नं. ३४८ को ०--१४/ जग्गा जेथा राखी पुनरावेदन गरेको देखिँदा उक्त जेथा राखेको जग्गा फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कायालयमा लेखी पठाइदिनू ……………………………………........

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................

 

उक्त रायमा सहमत छु ।

न्या. रामकुमार प्रसाद शाह

 

इति संवत्२०७१ साल असार १० गते रोज ३ शुभम् ।

इजलास अधिकृत : किशोर घिमिरे

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु