शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२४२ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

फैसला मिति : २०७१।५।२७।६

०७०-RC-०११२

 

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी :गुराँसदेवी लामाको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला भक्तपुर, भक्तपुर न.पा. चाँगुनारायण घर भै जिल्ला रूपन्देही मुर्गियामा माइती घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, टुसालमा बसोवास गरी हाल  केन्द्रीय महिला कारागार कार्यालयमा थुनामा रहेकी राधिका श्रेष्ठ

 

§  प्रताडीत महिलाद्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबीच केही अन्तर रहेको पाइन्छ । आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । Battered Women syndrome (BWS) को दावी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम्नै रहेको हुने ।

§  धेरै जसो BWS सुविधा खोजिएको विवादमा वर्षौँदेखि प्रताडीत, घरेलु हिंसाको सिकार भएकी महिला जो पतिबाट दुर्व्यवहारको सिकार निरन्तर भएका हुन्छन्, चोट, प्रहार, धक्का (Trauma) बराबर पाउँछन्, बारम्बार परपुरूषको लान्छना, दुर्व्यवहार पाउँछन् वा ज्यान मार्ने धम्कीसमेत   पाउँछन् । निजले उक्त पीडक पति, प्रेमीको हत्या मौकामा गरेको नभई कैयौँ दिनपछि ज्यान जोगाउन वा पीडक निदाएको वा नशा सेवन गरेको बखत मौका छोपी गर्ने गर्दछन् । यस्तो हत्याको एकमात्र  कारण आवेश, घृणा, प्रहारबाट मुक्ति वा पीडकले मार्ने डर, त्रासबाट मुक्ति रहेको हुने ।

(प्रकरण नं. )

§  अदालतले अं.बं.१८८ नं. को  प्रयोग कर्तव्य ज्यान मुद्दामा अवस्था हेरी सजायमा छुट प्रदान गर्ने गरिन्छ । तर BWS भन्ने कुरा एक प्रकारले सम्बन्धित महिलाले पाउने कानूनी सुविधा हो जहाँ मृतक पीडक हुन्छ र महिला प्रताडीत हुँदा पीडित भएकी     हुन्छे । निज महिलाले गर्ने अपराध पीडाको उपज हुन     आउँछ । अत: अं.बं.१८८ नं. ले मात्र BWS को सम्बोधन हुन नसक्ने हुँदा यसको लागि छुट्टै कानूनद्वारा सम्बोधन हुन आवश्यक देखिने ।

(प्रकरण नं. १८)

§  सबै तथ्यगत परिस्थिति र आफ्नै लोग्नेबाट हुने गरेको घरेलु हिंसाबाट प्रताडीत भई घरको पारिवारिक वातावरण नै कलहमय भई आजित अवस्थामा पुगी आफ्नै लोग्नेलाई मार्नुपर्ने अवस्थामा प्रतिवादी पुगेको, निजको दुर्इ वटा नाबालिग छोरीहरूसमेत रहेको र निज नाबालिगहरूको पालनपोषण, रेखदेख संरक्षण गर्नुपर्ने तथ्यलाई समेत विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिँदा प्रतिवादीको अंशभागको हकमा सर्वस्व गर्नु नपर्ने र कैदको हकमा १० (दश) वर्ष सजाय हुने गरी व्यक्त भएको पुनरावेदन अदालतको राय मनासिब देखिने ।

(प्रकरण नं. १९)

§  BWS को अवस्था मुलुकी ऐन, .. १८८ नं. को भन्दा फरकफरक रहेकाले प्रतिपादित सिद्धान्त, परिवर्तित सन्दर्भ, समयको माग र BWS को गाम्भीर्यतासमेतको आधारमा कर्तव्य ज्यान मुद्दामा BWS को परीक्षण गर्ने र सो परीक्षण प्रतिवेदन एवम्विशेषज्ञको रायलाई सजायमा आंशिक छुट वा सजायबाट पूर्ण सफाइ दिनको लागि प्रमाणमा ग्राह्य बनाउन उपयुक्त व्यवस्था हुन आवश्यक  देखिने ।

(प्रकरण नं. २०)

 

निवेदकको तर्फबाट :

विपक्षीको तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३ नं.

§  मुलुकी ऐन, अं.बं. १८८ नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री जगतप्रसाद श्रेष्ठ

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री द्वारिकामान जोशी

मा.न्या.श्री काशिनाथ पोखरेल

 

फैसला

न्या. सुशीला कार्की : पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०() बमोजिम साधक जाँचका लागि पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार रहेको छ :

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, टुसालस्थित पाल्देन लामाको घरको भुइँ तलामा रहेको एउटा कोठामा राधिका श्रेष्ठ र निजको श्रीमान्सागर श्रेष्ठ बस्ने प्रयोजनको लागि लिएको भाडाको कोठाभित्र पसी हेर्दा भुइँमा रहेको विस्तारा पूर्णरूपमा जलेको, दराज जलेको, खाट, लत्ताकपडा तथा टेलिभिजनसमेत जलेको, कोठामा कालो धुँवा बसेको, कोठामा रहेको अधिकांश सामानहरू सबै जलेको अवस्थामा देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६८।१।१९ गते राति २३:०० बजेको समयमा काठमाडौं जिल्ला, वडा नं. ६ बौद्ध, टुसाल बस्ने सागर श्रेष्ठलाई कोठाभित्र सुतिरहेको अवस्थामा निजको ज्यानै मार्ने मनसायले श्रीमती राधिका श्रेष्ठले मट्टितेल खन्याई आगो लगाई फरार रहेकाले निज राधिका श्रेष्ठलाई खोजतलास गरी दाखिला गरेका छौं । आगोले जली घाइते भएका सागर श्रेष्ठको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेको हुँदा राधिका श्रेष्ठउपर ज्यानसम्बन्धीको महलअन्तर्गत कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।

घाइते सागर श्रेष्ठको शरीर ६५ प्रतिशत भाग जलेको भन्नेसमेत व्यहोराको घाउ जाँच प्रतिवेदन मिसिल संलग्न  रहेको ।

सागर श्रेष्ठ मेरो श्रीमान्हुन् । हामीबीच २०५६ सालमा प्रेम विवाह भई वर्ष दशकी जेठी छोरी र वर्ष चारकी सानी छोरीसमेत गरी दुईजना छोरीहरूको जायजन्म भएको छ । हामीहरूले ज्यालादारी काम गरेर खान्थ्यौँ । छोरीहरू जन्मिएपछि पति सागर श्रेष्ठले मलाई समयसमयमा विभिन्न किसिमका गालीगलौज गर्ने, हातपात कुटपीटसमेत गर्ने कार्य गरी रहनुहुन्थ्यो तर पनि मैले सहँदैआएकी थिएँ । यस्तैमा मिति २०६८।१।१९ गते साँझ निज श्रीमान्ले रक्सी खाएर हामी बस्दै आएको कोठामा आई विभिन्न किसिमका गाली गलौज गरी हातपात तथा कुटपीटसमेत गरी छोरीहरू लिएर निस्किएर जा भन्दै कराउँदै कुटपीट गरेकाले मलाई रिस उठी आज यसलाई ठीक पार्छु भन्ने सोची राति भुइँमा विस्तारा लगाई दिए । पति सागर श्रेष्ठ भुइँमा रहेको विस्तारामा सुतेपछि छोरीहरूलाई कोठाबाहिर निकाली कोठामा स्टोभ बाल्न भनी राखेको मट्टितेल विस्ताराको वरिपरि खन्याई कोठामा रहेको सलाई कोरी आगो लगाई कोठाबाहिर निस्की कोठाको ढोकामा बाहिरबाट चुकुल लगाई दिई छोरीहरूलाई लिई कपनमा गई बसेको अवस्थामा प्रहरीले मलाई पक्राउ गरेका हुन् । पक्राउपश्चात आगोले जलेर श्रीमान् सागर श्रेष्ठ घाइते अवस्थामा रहेछन् । आगो लागेकाले वरपरका मानिसहरूले देखी उपचारको लागि श्रीमान्लाई अस्पताल लगेका रहेछन् भन्नेसमेत व्यहोराको प्रतिवादी राधिका श्रेष्ठले अधिकारप्राप्त अधिकारिसमक्ष गरेको बयान ।

राधिका श्रेष्ठको कोठासँगै मेरो पनि कोठा रहेको छ । राधिका श्रेष्ठ र सागर श्रेष्ठ प्राय: जसो झगडा कुटपीट गरिरहन्थे । श्रीमान् श्रीमतीको झगडा हो आफैँ मिल्छन् भन्ने सोचिन्थ्यो । यस्तैमा यी दुईबीच मिति २०६८।१।२९ गते साँझ पनि झगडा गरिरहेका थिएँ । सधैँ झगडा गर्ने भएकाले त्यो दिन पनि वास्ता गरिएन । म खाना खाई सुतिसकेको थिएँ । राति ११ बजेतिर बाहिर मानिसहरू कराएको चिच्याएको सुनी ब्यूँझिई हेर्दा सागरको कोठाभित्रबाट ढक्ढक् गरेको आवाज सुनें अनि शान्तिसमेतका मानिसहरूले मलाई बोलाउँदा म तत्कालै मेरो कोठाबाट निस्की सागरको कोठातर्फ हेर्दा भित्र आगो लागिरहेको थियो । कोठाको बाहिरबाट चुकुल लगाइएको रहेछ । तत्कालै मैले चुकुल खोली दिँदा आगोको मुस्लो र सागर श्रेष्ठ एकैचोटी बाहिर निस्किए । सागर श्रेष्ठ जलिरहेका थिए । पानी हालेर कोठामा लागेको आगो निभाई मसमेतले सागरलाई उपचारको लागि अस्पतालमा लगिएको हो । उपचार गर्न लैजाँदा के कसरी भयो यस्तो भनी निज सागरलाई सोध्दा मलाई राधिकाले आगो लगाई भागी भनेका थिए । घटनास्थलमा राधिकासमेत थिइनन् । आफ्नो श्रीमान्सागर श्रेष्ठलाई मार्ने मनसायले आगो लगाई भागेकी रहिछन् भन्नेसमेत व्यहोराको अर्जुन तामाङले मौकामा गरेको कागज ।

म राधिका श्रेष्ठ र सागर श्रेष्ठ बस्ने कोठाभन्दा पछाडितर्फको कोठामा डेरा गरी बस्दछु । निजहरूसँग चिनजान राम्रै थियो । निजहरू समयसमयमा झगडा विवाद गरी रहन्थे । श्रीमान् र श्रीमतीबीचको झगडा हो भनेर वास्ता गरिन्नथ्यो । यस्तैमा मिति २०६८।१।२९ गते साँझ म आफ्नो कोठामा सुतिरहेकी थिएँ । राति अ. ११ बजेतिर कुकुर कराएकाले मेरो आमा ब्यूँझिनुभएछ । बाहिर निस्की हेर्दा सागर श्रेष्ठ बस्दै आएको डेरा कोठामा आगो लागेको ज्वाला देखेपछि आमाले मलाई उठाएपछि म पनि दौडिदै सागर श्रेष्ठको कोठातिर गएँ । कोठाभित्र आगो बलिरहेको थियो । बाहिरबाट कोठामा चुकुल लगाइएको रहेछ । अर्जुन तामाङ आई कोठाको चुकुल खोलेपछि भित्रबाट अइया आत्था भन्दै रन्थनिदै सागर श्रेष्ठ बाहिर निस्किए । वरपरका मानिसहरूले पानी हालेर आगो नियन्त्रणमा लिए । आगोले जलेर घाइते भएका सागर श्रेष्ठलाई उपचार गर्न लैजानको लागि मेन्दु लामालाई बोलाई उपचार गर्न भनी लगिएको हो । सो आगो लाग्दाको अवस्थामा राधिका श्रेष्ठ कोठामा थिइनन् । भोलिपल्ट मात्र सागर श्रेष्ठलाई सुतिरहेको अवस्थामा आगो लगाई भागी गएकी हुन् भन्ने थाहा पाएँ । निज राधिका श्रेष्ठले मार्ने मनसायले सुतिरहेको अवस्थामा आगो लगाई दिई कोठा बाहिरबाट चुकुल लगाई भागेकी रहिछन् भन्नेसमेत व्यहोराको शान्ति वि..ले मौकामा गरेको कागज ।

नेपाल मेडिकल कलेज, अत्तरखेलको आई.सि.यु. कोठा वेडमा रहेका मृतक सागर श्रेष्ठको अगाडिको पेट, छाती, कम्मर, गुप्ताङ्ग, तिघ्रासमेतको भाग बाहेक पछाडिको अधिकांश भाग जलेको, हात पाखुरासमेत जलेर ब्याण्डेज गरेको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।

मिति २०६८।१।२९ गते राति अ.११ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, टुसाल डेरा गरी बस्ने मेरो छोरा सागर श्रेष्ठलाई मार्ने मनसायले बुहारी राधिका श्रेष्ठले कोठाभित्र सुतेको अवस्थामा आगो लगाई दिई ढोका लगाई बाहिरबाट चुकुलसमेत लगाई भागेकी, घाइते भएका सागर श्रेष्ठको नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचार भइरहेकामा उपचारको क्रममा मिति २०६८।२।९ गते राति ११ बजेको समयमा कोठामा मृत्यु भएकाले निज राधिका श्रेष्ठलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको गुराँसदेवी लामाले मिति २०६८।२।९ मा जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा दायर गरेको जाहेरी दरखास्त ।

मिति २०६८।१।२९ गते राति ११ बजेको समयमा कोठामा सुतेको अवस्थामा मैले श्रीमान्सागर श्रेष्ठलाई मट्टितेल खन्याई आगो लगाई भागेकोमा घाइते सागर श्रेष्ठलाई वरपरका मानिसहरू जम्मा भई उपचार गर्न लगेका रहेछन् । उपचारको क्रममा निजको मृत्यु भएको भन्ने कुरा थाहा पाएकी हुँ । सागर श्रेष्ठ आगोको पीडाबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको राधिका श्रेष्ठले गरेको ततिम्बा बयान ।

सागर श्रेष्ठको मृत्युको कारण Burn Injuries बाट भएको भन्नेसमेत व्यहोराको पोस्टमार्टम प्रतिवेदन मिसिल संलग्न रहेको ।

सागर श्रेष्ठ र राधिका श्रेष्ठ मेरो पसल नजिकै रहेको कोठा भाडामा लिई बस्ने गर्दथे । निजहरूबीच समयसमयमा विवाद झगडा भइरहन्थ्यो । मैले समयसमयमा सम्झाई बुझाई गरिरहन्थे । श्रीमान्र श्रीमतीको विवाद भएकाले खासै वास्ता हुँदैनथ्यो । मिति २०६८।१।२९ गते राति अ. ११ बजेतिर शान्ति वि.. र अर्जुन तामाङले सागर जलेर घाइते भएका रहेछन्

तुरून्तै अस्पताल लैजानुपर्ने भयो भनी बोलाउन आएकाले म तत्कालै घटनास्थलमा जाँदा आगो नियन्त्रणमा आइसकेको रहेछ । सागर श्रेष्ठ आगोले जली घाइते भएको अवस्थामा देखेँ । राधिका र निजका २ वटी छोरीहरूलाई त्यहाँ देखिन । ट्याक्सीमा सागर श्रेष्ठलाई राखी उपचार गर्न भनी अस्पतालतर्फ लगियो । के कसरी आगो लाग्यो भनी सोध्दा म कोठाभित्र सुतेको अवस्थामा राधिकाले मट्टितेल खन्याई आगो लगाई दिई कोठा बाहिरबाट चुकुल लगाई भागिछन् भन्दै सागर श्रेष्ठले भन्दै थिए । मेडिकल उपचारको क्रममा सागर श्रेष्ठको मिति २०६८।२।९ गते बिहान मृत्यु भएको हुँदा राधिका श्रेष्ठ कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मेन्दु लामाले मौकामा गरेको कागज । 

राधिका श्रेष्ठले घटना हुनु भन्दा २ वर्षअगाडिदेखि मेरो घरमा काम गर्ने गर्दथिन् । श्रीमान्सागर श्रेष्ठ र निज राधिका श्रेष्ठ समयसमयमा झगडा गरिरहन्थे । मिति २०६८।१।२९ गते साँझ खाना खाई म आफ्नै घरमा सुतिरहेको थिएँ । राति अ. १ बजेतिर राधिका श्रेष्ठले आफ्नो दुई छोरीहरूलाई लिएर मेरो घरमा आइन् । किन रातको समयमा आएको भनेर सोध्दा मैले सागरलाई कोठाभित्र आगो लगाई दिएर आएँ भनी बताए पनि मलाई विश्वास लागेको थिएन । मेन्दु लामाले मलाई फोन गरी सागर श्रेष्ठलाई राधिकाले आगो लगाई दिई भागिछन् । सागर श्रेष्ठको मेडिकल कलेजमा उपचार भइरहेको छ भनेपछि मात्र मलाई निज राधिकाले आगो लगाइदिएकी रहिछन् भन्ने कुराको एकिन भएको हो । भोलिपल्ट प्रहरीमा खबर गरी राधिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हुन् भन्नेसमेत व्यहोराको जिना मादेन (थापा) ले मौकामा गरेको कागज ।

प्रतिवादी राधिका श्रेष्ठको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३() नं. विपरीत भएको हुँदा निज प्रतिवादी राधिका श्रेष्ठलाई सोही महलको १३() बमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ।

मिति २०६८।१।२९ गते साँझ मृतक सागर श्रेष्ठले मादक पदार्थ सेवन गरेर कोठामा आएपछि निजसँग मेरो विवाद भयो । त्यसपछि निजले मलाई लात्तीले हिर्काए । निज रक्सीको नशाले निक्कै मात्तिएका थिए । झगडा गर्दागर्दैको अवस्थामा निजलाई सुत्नको लागि भनी मैले भुइँमा ओछ्यान लगाई दिएकी थिएँ । उनी त्यहीं सुते । मलाई सधैंभरि कुटिरहने र त्यस दिन पनि कुटेको कारण रिस उठिरहेको थियो । नजिकै मट्टितेल देखेपछि मनमा आवेश आई मट्टितेल छर्किएर आगो लगाइदिएकी हुँ । मैले मृतक पतिलाई मट्टितेल खन्याएर मार्ने भनी पहिलादेखि नै योजना बनाएकी थिएँ । निज श्रीमान्ले मलाई बरोबर कुट्ने गरेको हुँदा रिस उठेको तथा उक्त समयमा मैलेसमेत मादक पदार्थ सेवन गरेको हुँदा अकस्मात् मनमा उठेको विचारबाट मृतक पतिलाई मट्टितेल खन्याई आगो लगाएर कोठाको ढोका बाहिरबाट चुकुल लगाई दिई छोरीहरूलाई लिई कपनमा गई बसेकी हुँ । मैले लगाएको आगोले घाइते भएका मेरा पति सागर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । सो घटनामा मेरो मात्र संलग्नता रहेको छ। अनुसन्धान अधिकारीसमक्ष भएको बयान व्यहोरा र सही छाप मेरै हो भन्नेसमेत व्यहोराको प्रतिवादी राधिका श्रेष्ठले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी राधिका श्रेष्ठले पति सागर श्रेष्ठलाई कर्तव्य गरी मारेको हुँदा निज प्रतिवादीलाई अभियोग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । साधक सदरको लागि मिसिल पुनरावेदन अदालत, पाटनमा पठाइदिनु भन्नेसमेत व्यहोराको सुरू जिल्ला अदालतबाट मिति २०६९।१।२७ मा भएको फैसला ।

अभियोजन पक्षले मनसायपूर्वक हत्याको लागि चाहिने आवश्यक तत्त्वहरूको पुष्टि गर्न नसक्दानसक्दै मलाई

ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्नु तथा म पुनरावेदिकाले कसुरसँग सम्बन्धित केही तथ्यलाई स्वीकार गरेको अवस्थामा कसुरमा नै पूर्णरूपमा साबित रहेको भन्ने सम्झी मनसायपूर्वकको हत्यामा मलाई सजाय गर्नु त्रुटिपूर्ण छ । मलाई मृतकले दिएको बारम्बारको पीडा र निजले ममाथि गरेको हिंसाले म प्रताडीत भई सोही कारणले मृतकको हत्या गरेकी हुँ । मृतकको मृत्युको मूल कारक निज नै भएकाले सुरू अदालतको फैसला अन्यायपूर्ण रहेकोले बदर गरिपाउँ भन्ने प्रतिवादी राधिका श्रेष्ठले पुनरावेदन अदालत, पाटनमा दायर गरेको पुनरावेदनपत्र ।

मिति २०६८।१।२९ को मृतक पति सागर श्रेष्ठ वारदातको रात रक्सी खाई आफूसँग झगडा गरेको र झगडापछि मृतक अलग्गै ओछ्यानमा सुतेकोमा मृतक सुतेको ओछ्यान वरिपरि स्टोभमा हाल्न भनी कोकको बोतलमा ल्याएको मट्टितेल छर्की सलाई कोरी आगो लगाई नाबालक दुईटी छोरीलाई कोठाबाहिर ल्याई मृतक सुतेको ढोकाको चुकुलसमेत बाहिरबाट लगाई आफू नाबालक छोरीहरू लिई आफन्तको घर कपनतर्फ गएको सोही आगोले जलेको कारणबाट मृतकको मिति २०६८।२।९ गते मृत्यु भएको भनी कसुरमा प्रतिवादी राधिका श्रेष्ठ प्रहरी र अदालतमा बयान गर्दासमेत साबित छन् । मिसिल संलग्न लास प्रकृति मुचुल्कालगायतका अन्य प्रमाणहरूबाटसमेत सो कुरा पुष्टि भएको पाइन्छ । यस्तो अवस्थामा काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।१।२७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दामा मिसिलसंलग्न कागजातहरू अध्ययन गरी हेर्दा मृतक र प्रतिवादीबीच बारम्बार झगडा भइरहने, वारदातको रात पनि मृतक र प्रतिवादीबीच झैझगडा भएको पाइन्छ । मृतकलाई प्रतिवादीले पूर्वयोजना बनाई मारेको नभई अकस्मात् तत्कालको घटनाक्रमबाट प्रतिवादीमा अन्यथा सोच आई मृतकको ओछ्यानमा आगो लगाएको अवस्थासमेत देखिएको र प्रतिवादी राधिका श्रेष्ठले अदालती प्रक्रियामा सहयोग गरेको र घटना घट्नुमा रहेभएका परिदृश्यसमेतको मूल्याङ्कन गर्दा निज पुनरावेदक प्रतिवादीलाई ऐ. महलको १३() नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं. बमोजिम १०(दश) वर्ष कैद सजायमात्र गरे उपयुक्त हुने देखिई राय व्यक्त गरिएको छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०७०।४।२२ मा भएको फैसला । 

पुनरावेदक प्रतिवादी राधिका श्रेष्ठ प्रत्यर्थी/ वादी गुराँसदेवी लामाको जाहेरीले नेपाल सरकार भएको संवत्, २०६९ सालको स.फौ.नं. ०६९-CS-०८८१ को यस अदालतबाट मिति २०७०।४।२२ मा फैसला भएको कर्तव्य ज्यान मुद्दाको रेकर्ड मिसिल र यिनै वादी प्रतिवादी भएको काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०१।२७ मा फैसला भएको संवत् २०६८ सालको स.फौ.नं. २१८७ को कर्तव्य ज्यान मुद्दाको सुरू मिसिलसमेत  गरी जम्मा मिसिल थान दुई यसै पत्रसाथ

साधक जाँचको लागि पठाइएको छ भनी पुनरावेदन अदालत, पाटनको मिति २०७१।३।१० को पत्रबाट उक्त मुद्दा यस अदालतमा प्राप्त भई साधक दायरीमा दर्ता भएको रहेछ ।

नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरियो । प्रतिवादी राधिका श्रेष्ठले निजको पति सागर श्रेष्ठलाई कर्तव्य गरी मारेको अभियोगमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरी अं.बं. १८८ नं. बमोजिम  १० वर्ष कैद सजायको गर्ने गरी राय व्यक्त भएको पुनरावेदन अदालत, पाटनको राय सहितको फैसला मिलेको छ, छैन मिसिल संलग्न कागजात हेरी साधकको रोहबाट निर्णय दिनुपर्ने देखिन  आयो ।

. निर्णयतर्फ विचार गर्दा मृतकको लासजाँच मुचुल्कामा शरीरको अधिकांश भाग आगोले जलेको भनी उल्लेख भएको पाइँदा मृतकको मृत्यु आगोको कारणबाट जलेर भएको हो भन्ने पुष्टि हुन्छ । अब उक्त आगो मृतकको शरीरमा को कसले लगाएको हो भनी हेर्दा प्रतिवादी राधिका श्रेष्ठले मृतक पति सागर श्रेष्ठलाई सुतिरहेको विछ्यौनामा मट्टितेल खन्याई आगो लगाई दिएबाट निजको शरीर जली उपचारको क्रममा मृत्यु भएको हो भनी जाहेरवालाले यी प्रतिवादीउपर किटानी जाहेरी दिएको देखिन्छ । प्रतिवादी राधिका श्रेष्ठले मौकामा अधिकारप्राप्त अधिकारिसमक्ष गरेको बयानलाई हेर्दा मिति २०६८।१।२९ गते मृतक घर कोठामा आउँदा सधैझैं अत्यधिक रक्सी सेवन गरी प्रतिवादीलाई गालिगलौज गरेका र दुबै जनाका बीचमा कुटपीटसमेत भइसकेपछि भुइँमा लगाइएको विस्तारामा मृतक सागर श्रेष्ठलाई यी प्रतिवादीले सुत्न लगाई मृतक निदाएपछि छोरीहरूलाई कोठाबाट बाहिर निकाली सोही कोठामा रहेको मट्टितेल मृतक सुतिरहेको विस्ताराको वरिपरि छर्की सलाई कोरी आगो लगाइदिएपछि कोठाको बाहिरबाट चुकुल लगाई (..) दिएको हो भनी साबिती बयान गरेको देखिन्छ । यी प्रतिवादीको बयान कथन अनुसार मृतकले सधैं रक्सी खाई बारम्बार कुटपीट गाली गलौज गर्ने, विभिन्न प्रकारका शङ्काहरू गर्ने, छोरीहरूलाई लिई निस्केर जा भनी दुःख हैरानी दिने जस्ता कार्यहरू गर्ने गरेको र वारदातका

दिन पनि सोही प्रकृतिका कार्यहरू दोहोर्याएकाले सधैं दुःख पाउनु भन्दा आज यसलाई ठीक पार्छु भन्ने सोच आई रिसको झोकमा निज सुतिरहेको विस्तारामा मट्टितेल खन्याई आगो लगाई कोठाबाहिरबाट चुकुल लगाइदिएकी (..) हुँ भनी एउटा प्रताडीत महिला (Battered Woman) को रूपमा उल्लेख गरेको देखिन्छ । प्रतिवादी राधिका श्रेष्ठले अदालतमा आई गरेको बयानमा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरा र दस्तखत मेरै हो भनी कसुरमा साबित भई बयान गरी (..) अपराधको अनुसन्धान र न्याय सम्पादनको कार्यमा सहयोग गरेको पाइन्छ । प्रतिवादीको बयानलाई मौकामा कागज गर्ने जिना मादेन थापा र मेन्दु लामाले समेतले मृतकलाई यिनै प्रतिवादी राधिका श्रेष्ठले आगो लगाई सोही कारणबाट मृतकको मृत्यु भएको हो भनी गरिदिएको बकपत्रसमेतबाट प्रतिवादी राधिका श्रेष्ठकै कर्तव्यबाट मृतकको मृत्यु भएकोमा विवाद देखिएन ।

. तथापि प्रतिवादी राधिका श्रेष्ठले मृतकलाई मार्ने मनसाय थिएन, मलाई मृतकले दिएको बारम्बारको पीडा र निजले ममाथि गरेको असह्य हिंसाले म प्रताडीत भई सोही कारणले मृतकको हत्या गरेकी हुँ । मृतकको मृत्युको मूल कारक तत्त्व निज नै भएको भनी पुनरावेदनपत्रमा जिकिर लिएको देखिन्छ । प्रतिवादीले अधिकारप्राप्त अधिकारिसमक्ष मृतकलाई मार्ने योजना बनाई निज सुती निदाई सकेपछि मृतक सुतिरहेको विस्तारामा मट्टितेल छर्की आगो लगाई दिएकी हुँ भनी उल्लेख भएको र उक्त बयान आफैँले गरेको हो भनी अदालतमा आई कसुरलाई स्वीकार गर्दा साबिती बयान गरेको पाइयो । मृतक प्रतिवादीले लगाइदिएको विस्तारामा निदाएपछि प्रतिवादी राधिका श्रेष्ठको मनमा आफ्नो श्रीमान्अर्थात मृतकलाई मार्ने विचार उत्पन्न हुन्छ र आफ्ना दुई छोरीहरूलाई कोठाबाहिर निकाली मृतक सुतिरहेको विस्ताराको वरिपरि मट्टितेल खनाएपछि सलाई कोरी आगो लगाएको देखिएको तथ्य मिसिल अवलोकनबाट देखिन्छ ।

. प्रस्तुत मुद्दाको वारदातलाई मध्यनजर गरी हेर्दा प्रतिवादी पुनरावेदिकाले आफ्ना पति सागर श्रेष्ठलाई आगो लगाई बन्दकोठामा थुनी भाग्न उम्कन नदिई मार्ने नियत राखी उपरोक्त कार्य गरेको हो भन्ने प्रष्ट देखिन्छ । यस सम्बन्धमा पुनरावेदन अदालत, पाटनबाट फैसलाको रोहमा अ.बं. १८८ नं. को प्रयोग हुनको निम्ति रायसमेत प्रस्तुत गरेको पाइन्छ। वस्तुतः वारदात हेर्दा जघन्य अपराधपूर्ण देखिन्छ । प्रतिवादीले आगो लगाई मृतकको हत्या गर्नुपर्ने कारण हेर्दा लामो समयको तिक्त सम्बन्ध रहनु हो भन्ने कुरा मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेकाले यी प्रतिवादी र मृतकबीचको कटुतापूर्ण सम्बन्धको कारण मृतकले प्रतिवादीलाई बारम्बार कुटपीट, गालीगलौज गरी प्रताडना दिई निरन्तर हिंसा (Violence)  गर्ने गरेको कुरासमेत मिसिलबाट पुष्टि हुन आएको छ । यसरी मृतकले प्रतिवादीलाई बारम्बार प्रताडीत (battered) गरेको र सोबाट उत्पन्न भएको Battered Women Syndrome (यसपछि BWS भनिनेछको कारण प्रस्तुत वारदात घटित भएको देखिन आयो ।

            . प्रस्तुत सन्दर्भमा BWS सम्बन्धी अवधारणा र यसको प्रयोगको अवस्थासम्बन्धी अवलोकन हुनु उपयुक्त देखिन्छ । BWS भन्नाले एउटा मनोदशा हो जुन हिंसाको (Violence) सिकार भएकी महिलाले बारम्बार कठोर हिंसा भोग्नुपरेको कारणबाट घटित हुन्छ । यसमा महिलाले पुरूष स्वजन पति, प्रेमी, पिता वा घर-परिवारका अन्य सदस्यहरूबाट मानसिक, शारीरिक दुर्व्यवहार (abuse)  वा चोट प्रहार (Trauma)  बारम्बार पाएका हुन्छन् । L. E. Walker को कथनअनुसार battered woman भन्नाले “A battered woman is a woman who is repeatedly subjected to any forceful physical or psychological behavior by a man in order to coerce her to do something he wants her to do without any concern for her rights. ‘Battered women’ include wives or woman in any form of intimate relationship with men. Furthermore, in order to be classified as a battered woman, the couple must go through the battering cycle at least twice. Any woman may find herself in an abusive relationship once. If it occurs a second time, and she remains in the situation, she is defined as a battered woman.”[1] त्यसैगरी L. E. Walker को कथनअनुसार Battered woman syndrome” भन्नाले “To understand battered woman syndrome, one first understands how someone becomes “battered”,... a woman experience at least two complete battering cycles to woman. The cycle has three distinct phases. First is the tension building phase, followed by the exploitation or act loving respite after referred to as the honeymoon phase.”[2] The cycle theory of violence identifies three components of a battering relationship varying in intensity and time: (1) the tension building phase; (2) the explosion or acute battering incident; and (3) the calm, loving respite.[3]  In the initial phase, smaller emotional and physical battering and verbal harassments escalate.[4] In the second phase, the batterer loses control of his emotions and a severe, perhaps lethal, battering occurs.[5] In the final phase, the batterer is remorseful and loving, and the time is marked by a respite from aggression.[6] Battered woman syndrome, as it was originally conceived, consisted of the pattern of the signs and symptoms that have been found to occur after a woman has been physically, sexually and/or psychologically abused in an intimate relationship, when the partner (usually, but not always a man) exerted power and control over the woman to coerce her into doing whatever he wanted, without regard for her rights or feelings.[7] At the core of the battered woman syndrome lie the theories of ‘learned helplessness’[8] and the “cycle of violence.”[9]

          . प्रत्येक महिलाले आफ्नो परिवारसँग, पति वा प्रेमीसँग आदर्शपूर्वक जीवन बिताउन चाहेकी हुन्छिन् केही उदाहरणबाहेक सबै महिलाले हिंसात्मक व्यवहाररहित जीवन बाँच्न चाहेका हुन्छन् तर आफन्तहरूबाट नकारात्मक तुच्छ व्यवहार पाउँदा तिनको व्यवहारमा कठोरता आउनु स्वाभाविक हो महिलामा यस्तो दुर्व्यवहार जतिजति भयो उतिउति नकारात्मक मनोदशा भाव बढ्दै जान्छ, तथापि पतिसँग एउटै छानामुनी बसोवास गरेका महिलाबाट अपत्यारिलो वारदात घट्न सक्दछ जुन विश्वासलायक हुँदैन आफ्नो वा आफ्नो सन्तानको ज्यान जोगाउन, वा अन्तस्करणमा रहेको हीन भाव बदलाको भावना BWS मा कहिलेकहीं देखिन्छ सामान्यरूपमा हेर्दा मानव बधको सबै तत्त्वहरू समावेश भएको यस्तो प्रकृतिको मुद्दामा आफू आफ्नो सन्तानलाई मृतकबाट जोगाउने उपायस्वरूप महिलाले मृतकको हत्या गरेको देखिए तापनि यस्ता हत्यामा मृतकले पीडकको भूमिका निर्वाह गरी निरन्तर यातना दिने कार्य गरी प्रताडीत गरेको अवस्था हुन्छ

. प्रताडीत महिलाको आक्रमण प्रेमी, पति विरूद्ध निरन्तर तिनका प्रहारबाट बच्न, गालीगलौज, दुर्व्यवहार वा परपुरूषसँग वात लगाएका कारण निरन्तर व्यङ्ग्यात्मक व्यवहारको कारण वा मार्ने नियतले पुरूषले प्रहार गर्दा आवेशमा आई प्रतिकार गर्दा अथवा फेरि आफूउपर दुर्व्यवहार नदोहोरियोस् भनी हत्या गरेको हुन्छ । सबै BWS भएको विवादमा हत्याको प्रमुख कारक तत्त्व मर्ने व्यक्तिको दुर्व्यवहार नै हुनेगर्दछ । मृतकले महिलालाई आवेशमा नल्याएको भए, गालीगलौज नगरेको भए निजको हत्या हुने थिएन । यो सबै पीडित महिलाको मनोवैज्ञानिक र मानसिक दशा हो जुन निरन्तर पीडाबाट उत्पन्न भएको हुन्छ ।

. प्रताडीत महिलाद्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबीच केही अन्तर रहेको पाइन्छ । आवेशप्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । BWS को दावी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम्नै रहेको हुन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको दफा १४ मा आवेशप्रेरित हत्यामा भएजस्तो तत्काल उठेको रिसबाट लात्ती, मुड्की, लाठा, ढुङ्गाले प्रहार गरी मारेको अवस्थामा BWS मा पनि हुन्छ । तर धेरैजसो BWS सुविधा खोजिएको विवादमा वर्षौंदेखि प्रताडीत, घरेलु हिंसाको सिकार भएकी महिला जो पतिबाट दुर्व्यवहारको सिकार निरन्तर भएका हुन्छन्, चोट, प्रहार, धक्का (Trauma) बराबर पाउँछन्, बारम्बार परपुरूषको लान्छना, दुर्व्यवहार पाउँछन् वा ज्यान मार्ने धम्कीसमेत पाउँछन् । निजले उक्त पीडक पति, प्रेमीको हत्या मौकामा गरेको नभई कैयौँ दिनपछि ज्यान जोगाउन वा पीडक निदाएको वा नशा सेवन गरेको बखत मौका छोपी गर्ने गर्दछन् । यस्तो हत्याको एकमात्र  कारण आवेश, घृणा, प्रहारबाट मुक्ति वा पीडकले मार्ने डर, त्रासबाट मुक्ति रहेको हुन्छ ।

. प्रताडीत महिलासम्बन्धी विवादमा आजभोलि विकसित मुलुकहरूमा यदि यो सुविधाको माग गरेको खण्डमा मनोवैज्ञानिक विधि (psychological method) बाट प्रताडीत अवस्था वा विवाद हो होइन भनी परीक्षण गरी पत्ता लगाउने कार्य गरिन्छ । साथै चिकित्सकहरूद्वारा अध्ययन गर्ने र उपचार गर्ने गरिन्छ। यस्तो भएमा प्रताडीत महिलासम्बन्धी विवाद हो होइन भन्ने कुरा एकिन हुन आउँछ । उल्लिखित Walker को  BWS सम्बन्धी ढाँचा (framework)  लाई अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा जस्ता विश्वका विभिन्न मुलुकहरूले स्वीकार गरी अदालतमा BWS परीक्षणसम्बन्धी विशेषज्ञको प्रतिवेदन (expert’s testimony on the BWS) लाई प्रमाणमा स्वीकार गरी BWS को कारणले अपराध गरेको पुष्टि भएमा अभियुक्तलाई सजायमा कमी गर्ने वा पूरै मुक्ति दिने गरेको देखिन्छ ।

१०. जस्तै उदाहरणको रूपमा संयुक्त अमेरिकामा Walker को  BWSसम्बन्धी  ढाँचालाई स्वीकार गरी IbnTamas v. U.S.[10] मुद्दामा BWS परीक्षणसम्बन्धी विशेषज्ञको प्रतिवेदन (expert’s testimony on the BWS) र सोसम्बन्धी अन्य प्रमाण लिने सम्बन्धमा मापदण्ड तयार गरी लागू गरेको पाइन्छ । State v. Kelly[11] मुद्दामा New Jersey को Supreme Court ले BWS परीक्षणसम्बन्धी विशेषज्ञको प्रतिवेदन (expert’s testimony on the BWS) लाई प्रमाणमा ग्राह्य गरेको थियो । त्यसैगरी बेलायतमा R.v. Ahluwalia[12] को मुद्दामा BWS को व्याख्या भई

प्रतिवादीलाई न्यून उत्तरदायित्व (Diminish responsibility) घोषणा गरिएको थियो । यसमा प्रतिवादीले मृतक पतिबाट बारम्बार पीडा पाएको, कुटपीट र यातना दिने गरेको समेत कारणबाट वारदात घटेको अवस्था थियो ।[13] वर्तमान अवस्थामा बेलायतमा Coroners and Justice Act २००९ को दफा ५४ र ५५ मा यससम्बन्धी व्यवस्था रहेको

छ ।[14] R.v. Angelique Lavallee[15] को मुद्दा क्यानाडाको लागि BWS सम्बन्धमा प्रथम मानिन्छ । यस मुद्दामा भएको व्याख्यापछि त्यहाँ प्रताडीत महिलाले आफ्नो ज्यान जोगाउन हत्या गरेको हो भन्ने तर्कको आधारमा सजायमा कमी गरिएको  छ ।[16] त्यसैगरी Marie, Angelina Napolitano[17]  को मुद्दामा क्यानाडाको सर्वोच्च अदालतबाट र Osland v The Queen[18] को मुद्दामा अस्ट्रेलियामा BWS को सम्बन्धमा व्याख्या भएको पाइन्छ । न्युजिल्यान्डमा कानून आयोगले महिलाविरूद्ध हिंसाको मात्र होइन, महिलाले पुरूषमाथि गरिने हिंसाका अतिरिक्त समलिङ्गीबीच भएको प्रताडीत हिंसाको आधारमा मुद्दाहरू पर्ने र चल्ने गरेको पाइन्छ ।

११. उपरोक्तानुसार बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडासमेतमा BWS को सम्बन्धमा विस्तृत व्याख्यासहित Walker को  BWSसम्बन्धी  ढाँचा (framework)  लाई स्वीकार गरी BWS परीक्षणसम्बन्धी विशेषज्ञको प्रतिवेदन (expert’s testimony on the BWS) सोसम्बन्धी अन्य प्रमाण लिने गरेको पाइन्छ केही मुलुकले BWS सम्बन्धमा मापदण्ड एव कानूनसमेत बनाएको अवस्था जसका आधारमा महिलाहरूबाट हिंसक वारदात देखिए पनि आजीवन कारावासको सजाय नभई सजाय घटाए वा सजायबाट पूर्णरूपमा छुट दिएको अवस्थासमेत देखिन्छ

१२. उक्त मुलुकहरूमा BWS को पुष्टि गर्न प्रताडीत महिलाको मनोवैज्ञानिक मनोदशा (Psychological condition) विशेषज्ञबाट नै पुष्टि हुनुपर्ने, हिंसात्मक हमला, हत्या गर्ने अवस्था थियो वा थिएन भन्ने पुष्टि हुनुपर्ने, तत्काल हत्या गर्दा महिलाको मस्तिष्क तर्क गर्न सक्ने नभई विवेकशून्य भएको हुनुपर्ने, महिलाले एकाधपटक मात्र होइन, निरन्तर हिंसात्मक पीडा पाएको हुनुपर्ने, बारम्बारको यातनाबाट महिलामा नकारात्मक सोच उत्पन्न भएको हुनुपर्ने एवम्पति र प्रेमी सहयोगी पुरूषमित्रबाट बल प्रयोग गर्दाको अवस्थामा मुक्ति पाउने क्रममा प्रतिकार गरेको र त्यस्तोमा हत्या भएको पुष्टि हुनुपर्ने जस्ता आधारहरू लिइएको पाइन्छ ।

            १३. नेपालमा BWS सम्बन्धमा कुनै कानूनी व्यवस्था रहेको छैन । घर परिवारभित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को निर्माण भएको छ । यस ऐनको दफा २() ले "घरेलु हिंसा" भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाईसमेत जनाउँछ भनी घरेलु हिंसाको परिभाषा गरेको छ । सो ऐनको दफा १३() मा कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रूपैयाँदेखि पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ भनी सजायको व्यवस्था

छ । तर यस ऐनले BWS  को आधारमा भएको अपराधको सम्बन्धमा कुनै व्यवस्था गरेको छैन् ।

१४. नेपालमा BWS सम्बन्धी कानूनको निर्माण भइनसकेको भए तापनि परम्परागत तौरमा मुलुकी ऐन, .बं. १८८ नं. को प्रयोग भई सजाय घटाएको पाइन्छ । अ.बं. १८८ नं. को प्रयोग  हुँदा निम्नलिखित कुरा हेर्ने गरेको समेत   पाइन्छ । विशेष महिलाले स्वजन पति, प्रेमी वा आफन्तको हत्या गरिएकोमा विशेषतः हत्या गर्ने महिलाको अवस्था, वारदात हुँदाको मनोदशा, उमेर, हुर्केको परिवेश, उसको पारिवारिक जीवन, सामाजिक वातावरण, आर्थिक अवस्था, उसमाथि आश्रित हुने बालबालिका, उसले भोगेको जीवन, अपराध गर्नुपर्ने बाध्यता र कारण, उसले अपराध गरेकोमा अदालत, प्रहरी अधिकारी वा सरकारी वकिललाई सत्य कुराको अभिव्यक्त गरी अनुसन्धानमा गरेको सहयोग आदि । यस्तो किसिमको वारदातमा हत्या हिंसक र हत्या (Culpable Murder)  भए तापनि उक्त हत्याको वारदात घटाउन मृतकले नै प्रेरक (trigger)  को भूमिका निर्वाह गरेको हुनुपर्दछ ।      

            १५. उपरोक्त आधारमा यस अदालतबाट विभिन्न मुद्दामा अं.बं.१८८ नं. को व्याख्या भएको  छ । लक्षिमा वादी वि. लालबहादुर वादीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा[19] प्रतिवादीहरू मागी खाने आर्थिक दुरावस्थाका भएका र ८/  जना छोराछोरी हुँदा पनि त्यस्तो मगन्ते परिवारको जीविकाको कुनै फिक्री नगरी विवाह भएको समय २३ वर्षदेखि नै सधैं रक्सी खाई झै झगडा कुटपीट गरिरहने, कुनै कमाई धमाई नगरी आफ्नो परिवारप्रतिको कुनै जिम्मेवारी बोध नगर्ने, छोराछोरीलाईसमेत बिनाकारण कुटपीट गरी घरबाट लखेटिदिने गरी एक प्रकारले मानिसको अनुहारमा दानव र पशुतुल्य व्यवहार रहेको लोग्नेको सधैँको उपरोक्तबमोजिमको व्यवहारबाट ८/८ वटा छोराछोरीको आमा एक अवला महिला प्रतिवादी लक्षीमा वादीमा मृतक लोग्नेप्रति असाध्यै घृणा र त्यस्तो दुःखदाई जीवनबाट विरक्ति असन्तुलित मनस्थिति रहेको अवस्थामा प्रस्तुत अपराध गरेको देखिन आएको हुँदा आफ्नो र आफ्नो छोराछोरीलाई जीवनपर्यन्त दुःख दिने गरेबाट त्यस किसिमको मनस्थिति उत्पन्न भै सो अपराध गरेको र निजका ससाना छोराछोरीसमेत भएको स्थितिमा निजलाई ऐनले तोकेबमोजिम सजाय गर्दा चर्को पर्ने भै अपराध गर्दाको पारिवारिक अवस्था, प्रतिवादीको विरक्तिपूर्ण दुःखदायी जीवन, नाबालक छोराछोरीसमेत भएको र मागी खाने निम्नस्तरको महिला मनस्थितिलाई समेत विचार गर्दा निज प्रतिवादीलाई ७ वर्षसम्म कैदको सजाय गर्दा न्यायोचित देखिन आउने भनी यस अदालतबाट BWS  को अवस्था र परिवेशको वर्णन भएको अवस्था छ ।

१६. त्यसैगरी जोककुमारी कार्की वि. नेपाल सरकार[20] भएको कर्तव्य ज्यान मुद्दामा यस अदालतबाट प्रतिवादी जोककुमारीले मृतक पतिबाट पाएको शारीरिक एवम्मानसिक प्रताडना सहँदै दुर्इवटा छोरालाई जन्म दिएको र मृतकले प्रतिवादीलाई मात्र नभई नाबालक छोराहरूलाईसमेत गालिगलौज गर्ने कुटपीट गरी नाबालकमाथिसमेत हिंसा गर्ने गरेको पाइएकाले यी प्रतिवादी जोककुमारी कार्की लामो समयदेखि आफ्नै लोग्ने मृतक अम्बरबहादुरको घरेलु हिंसाबाट प्रताडीत  महिलाको मनोदशाको स्थितिबाट गुज्रदै आएको भनी अ.. १८८ नं. बमोजिम सजायमा कमी गरेको देखिन्छ ।

१७. शान्ति वि.. वि. नेपाल सरकार[21] भएको कर्तव्य ज्यान मुद्दामा अं.बं.१८८ नं. को प्रयोग कस्तो अवस्थामा गर्ने भन्नेसम्बन्धी आधारहरूको पहिचान गरिएको छ । अं.बं.१८८ नं. बमोजिम अपराध र सजायबीच सन्तुलन कायम गर्ने सन्दर्भमा निम्न कुराहरूलाई विचार गर्नुपर्ने भनी औंल्याइएको देखिन्छ: () मार्नेसम्मको मनसाय राखी इबि अदावत लिई पूर्वयोजना बनाई हत्या भएको छ, छैन () क्रूरता र यातनापूर्वकको हत्या, () अपराधको प्रकृति र मात्रा () अपराध गर्ने व्यक्तिको उद्देश्य र सामाजिक पृष्ठभूमि, () अपराध हुनपर्ने परिस्थिति, () अपराध गर्ने व्यक्तिको उमेर, () अपराध गर्ने व्यक्तिको शारीरिक, मानसिक, आर्थिक अवस्था र पारिवारिक स्थिति, () पीडित पक्षको राय वा भावना, () पीडित पक्ष वा समाजलाई हुन गएको हानि नोक्सानी, () अपराधीको विगतको आपराधिक प्रवृत्ति, () अदालतमा साँचो कुरा गरी न्यायिक प्रक्रियालाई सहयोग गरे नगरेको, () कसुर गरेमा पश्चातापको भाव आए नआएको, () सुध्रेर भविष्यमा अपराध नगर्ने वाचा गरे वा नगरेको, () कसैको बहकाव वा दबाबमा अपराध गरे वा नगरेको, () यस्तै मुद्दाको तथ्यगत अवस्थाबाट देखिने अन्य उपयुक्त कारणहरू भनी अ.बं. १८८ नं. को प्रयोगको सम्बन्धमा व्याख्या भएको छ ।

१८. महिला विरूद्ध हुने विवाद एउटा हिंसा वा घरेलु हिंसाको विवाद हो र प्रताडीत महिलाको विवाद पनि यसैभित्र पर्न आउँछ । समग्रमा हामीले प्रयोग गरेको अं.बं.१८८ नं. सबै विवादहरूको निमित्त हुने धेरै विवादमा यो कुन अवस्थामा प्रयोग हुने हो भन्ने कुराको आवश्यक तत्त्वको निर्धारण भएको देखिन्छ । अदालतले अं.बं.१८८ नं. को प्रयोग कर्तव्य ज्यान मुद्दामा अवस्था हेरी सजायमा छुट प्रदान गर्ने गरिन्छ । तर BWS भन्ने कुरा एक प्रकारले सम्बन्धित महिलाले पाउने कानूनी सुविधा हो जहाँ मृतक पीडक हुन्छ र महिला प्रताडीत हुँदा पीडित भएकी हुन्छे । निज महिलाले गर्ने अपराध पीडाको उपज हुन आउँछ । अत: अं.बं.१८८ नं. ले मात्र BWS को सम्बोधन हुन नसक्ने हुँदा यसको लागि छुट्टै कानूनद्वारा सम्बोधन हुन आवश्यक देखिन्छ ।

१९. प्रस्तुत मुद्दामा पनि मृतकले मृतकको हत्या जघन्य अपराध गरी आगो लगाई मारेको भए तापनि निजको उमेर अपराध हुँदा २९ वर्षको मात्र रहेको देखिन्छ । निजको जिम्मामा २ सन्तान छोरीको दायित्व रहेको छ। यसको अतिरिक्त निज मृतकसँग वैवाहिक सम्बन्ध स्थापना गरी आदर्श दाम्पत्य जीवन व्यतीत गर्ने सपना देखेकोमा मृतकबाट दिनरात कुटपीट, गालीगलौज, दैनिक रक्सी खाई घर व्यवहार नहेर्ने र परिवारको भार आफूले मात्र बोक्नुपर्ने भएकाले सम्पूर्ण पीडाबाट प्रताडीत मनोदशा (BWS) बाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले मृतकको हत्या गरेको देखिए तापनि अनुसन्धानको क्रममा प्रहरी र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको अपराधको स्वीकार गरी अनुसन्धान अधिकारी र अदालतलाई सहयोग गरेको देखिन आउँछ । अतः यी सबै तथ्यगत परिस्थिति र आफ्नै लोग्नेबाट हुने गरेको घरेलु हिंसाबाट प्रताडीत भई घरको पारिवारिक वातावरण नै कलहमय भएको हुँदा आजित अवस्थामा पुगी आफ्नै लोग्नेलाई मार्नुपर्ने अवस्थामा प्रतिवादी राधिका श्रेष्ठ पुग्न गएको अवस्था निजको दुर्इ वटा नाबालिग छोरीहरूसमेत रहेको र निज नाबालिगहरूको पालनपोषण, रेखदेख संरक्षण गर्नुपर्ने तथ्यलाई समेत विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिँदा प्रतिवादीको अंशभागको हकमा सर्वस्व गर्नु नपर्ने र कैदको हकमा १० (दश) वर्ष सजाय हुने गरी व्यक्त भएको पुनरावेदन अदालत, पाटनको राय मनासिब देखिँदा सदर हुने ठहर्छ ।

२०. साथै, उल्लिखित विवेचना, प्रतिपादित सिद्धान्त, प्रस्तुत उदाहरणहरू समेतको आधारमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडाजस्ता मुलुकहरूमा BWS को सम्बन्धमा सम्बन्धित विशेषज्ञको राय (expert’s testimony on the BWS) प्रमाणमा लिई सो प्रमाणको आधारमा सजायमा कमी वा सजायबाट सफाइ दिने गरेको देखिन्छ । तर नेपालमा BWS को सन्दर्भमा प्रताडीत महिला अभियुक्तलाई चिकित्सक वा मनोविज्ञानविद्बाट परीक्षण गरी सो परीक्षण प्रतिवेदन वा विशेषज्ञको रायलाई प्रमाणमा लिने व्यवस्था रहेको पाइँदैन । उल्लिखित लक्षिमा वादी र जोककुमारी कार्कीको मुद्दामा यस अदालतबाट BWS को वर्णन गरिए तापनि BWS लाई प्रमाणमा ग्राह्यता दिने वा नदिने सम्बन्धमा केही बोलिएको पाइँदैन । उक्त मुद्दाहरूमा BWS को चर्चा अ.बं. १८८ नं. को प्रयोगको सन्दर्भमा मात्र गरिएको पाइन्छ । BWS को अवस्था अ.. १८८ नं. को भन्दा फरकफरक रहेकाले उक्त प्रतिपादित सिद्धान्त, परिवर्तित सन्दर्भ, समयको माग र BWS को गाम्भीर्यतासमेतको आधारमा कर्तव्य ज्यान मुद्दामा BWS को परीक्षण गर्ने र सो परीक्षण प्रतिवेदन एवम्विशेषज्ञको रायलाई सजायमा आंशिक छुट वा सजायबाट पूर्ण सफाइ दिनको लागि प्रमाणमा ग्राह्य बनाउन उपयुक्त व्यवस्था हुन आवश्क देखिन आयो । अतः नेपालको सन्दर्भमा सोसम्बन्धी अध्ययन गरी आवश्यक कानून एवम्अन्य पूर्वाधारको यथाशीघ्र व्यवस्था गरी सोको जानकारी सर्वोच्च अदालतलाई गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवम्व्यवस्थापिका संसद सचिवालयको ध्यानाकर्षणसमेत गराइएको छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी राधिका श्रेष्ठलाई अभियोग माग दावीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्याएको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको रायसहितको फैसलामा प्रतिवादीको अंशभाग सर्वस्व नगरी १० (दशवर्ष कैद सजाय गर्ने राय सदर हुने ठहरेकाले प्रतिवादी मिति २०६८।१।३० देखि हालसम्म पनि कैदमा बसेको देखिएकाले सोही मितिबाट लागू हुने गरी मिति २०७८।१।२९ गतेसम्म थुनामा राख्न कैदीपुर्जी ठेकी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाइदिनु भनी सुरू काठमाडौं जिल्ला अदालतलाई लगत दिनू ....

सोहीबमोजिम कैदमा अंश सर्वस्व गर्न न्यायसङ्गत नदेखिँदा सुरू काठमाडौं जिल्ला अदालतले प्रतिवादीको अंश भाग सर्वस्व गर्नु भनी राखेको लगत राखिरहनु नपर्ने हुँदा उक्त लगत कट्टा गर्नु भनी सुरूलाई लेखी पठाउनू..

प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद सचिवालय, कानून तथा न्याय मन्त्रालय र कानून आयोगलाई समेत दिनू .........

प्रस्तुत फैसलाको जानकारी फैसला कार्यान्वयन महानिर्देशनालयसमेतलाई दिनू ................

सुरू काठमाडौं जिल्ला अदालतको फैसलाले लगत नं. १०८२८ मा मिति २०६९।११।९ मा राखेको लगत कट्टा गरी सोको सट्टा यसै फैसलाबमोजिमको लगत राख्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू .....................

फैसलाको जानकारी थुनामा रहेकी प्रतिवादीलाई दिनू ................................

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू .....................

 

उक्त रायमा सहमत छु ।

न्या. बैद्यनाथ उपाध्याय

 

इति संवत् २०७१ साल भदौ २७ गते रोज ६ शुभम् ।

इजलास अधिकृतहरूरमेश रिजाल, लोकनाथ पराजुली

 

 



[1] Lenore E. Walker (1979). The Battered Woman. New York: Harper and Row. p. xv

[2] Ibid. Cited in Shushil Karki.(2068).Gender Equality. Kathmandu: Pairavi Prakashan.p.237

[3] Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. p.55

[4] Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. pp.56-59

[5] Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. pp.59-65

[6] Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. p.65-70

[7] Lenore E. Walker. (2009). The Battered Woman Syndrome. New York: Springer Publishing Company.LLC.p.42

[8] Learned helplessness is a psychosocial theory for lack of response, or passive behavior in the face of the ability to act. Experiments on rats and dogs, with humans administering continuous negative stimuli such as electrical shocks, proved that physical abuse created a sense of powerlessness in these animals. The dogs, for instance, soon learned that they could not control being given a shock, and became “compliant, passive and submissive,” ceasing voluntary movement. (Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. p.46.). The learned helplessness theory thus explains why the battered woman who kills has not left the situation prior to the killing. This theory, coupled with her possible failed attempts to call the police, go to a shelter for battered women, or convince her husband or lover to stop beating her, implies that killing her abuser was a perceived last resort. The woman learned that she was powerless to stop the repeated batterings, and therefore, turned to a relatively calm time to end the abuse herself. (Mira Mihajlovich.(1987). Does Plight Make Right: The Battered Woman Syndrome, Expert Testimony and the Law of Self-Defense. Indiana Law Journal.Vol.62.Issue 4.pp.1254-1282. Retrieved from http://www.repository.law. indiana.edu/ilj/vol62/ iss4/9 on 26 December 2014.) In adapting this psychosocial theory to battered women, Dr. Walker claims that a woman responds with learned helplessness when she can control a given outcome but does not believe that she can. Battered women operate from a belief that they are helpless and this belief becomes reality. Because these women allow what they perceive to become beyond their control, they become submissive and passive. Battered women, therefore, do not attempt to escape the battering relationship. ( Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. p.47.)

[9] Lenore E. Walker. (1979). The Battered Woman. New York: Harper and Row. pp.55-70, 187.

[10] IbnTamas v. U.S.407 A.2d 626; 1979 D.C. App. LEXIS 457

[11] State v. Kelly, 97 N.J. 178, 187 (N.J. 1984)

[12] R v Ahluwalia (1993) 96 Cr App R 133

[13] Shushil Karki.(2068).Gender Equality. Kathmandu: Pairavi Prakashan.p.242

[14] Section 54 and 55(6)(a) of Coroners and Justice Act 2009.  The Section  54.Partial defence to murder: loss of control: (1)Where a person (“D”) kills or is a party to the killing of another (“V”), D is not to be convicted of murder if—(a) D’s acts and omissions in doing or being a party to the killing resulted from D’s loss of self-control,(b)the loss of self-control had a qualifying trigger, and (c)a person of D’s sex and age, with a normal degree of tolerance and self-restraint and in the circumstances of D, might have reacted in the same or in a similar way to D. (2) For the purposes of subsection (1)(a), it does not matter whether or not the loss of control was sudden. (3) In subsection (1)(c) the reference to “the circumstances of D” is a reference to all of D’s circumstances other than those whose only relevance to D’s conduct is that they bear on D’s general capacity for tolerance or self-restraint. (4) Subsection (1) does not apply if, in doing or being a party to the killing, D acted in a considered desire for revenge. (5) On a charge of murder, if sufficient evidence is adduced to raise an issue with respect to the defence under subsection (1), the jury must assume that the defence is satisfied unless the prosecution proves beyond reasonable doubt that it is not. (6) For the purposes of subsection (5), sufficient evidence is adduced to raise an issue with respect to the defence if evidence is adduced on which, in the opinion of the trial judge, a jury, properly directed, could reasonably conclude that the defence might apply. (7) A person who, but for this section, would be liable to be convicted of murder is liable instead to be convicted of manslaughter. (8) The fact that one party to a killing is by virtue of this section not liable to be convicted of murder does not affect the question whether the killing amounted to murder in the case of any other party to it. The Section 55 Meaning of “qualifying trigger”: (1) This section applies for the purposes of section 54. (2) A loss of self-control had a qualifying trigger if subsection (3), (4) or (5) applies. (3) This subsection applies if D’s loss of self-control was attributable to D’s fear of serious violence from V against D or another identified person. (4) This subsection applies if D’s loss of self-control was attributable to a thing or things done or said (or both) which- (a) constituted circumstances of an extremely grave character, and (b) caused D to have a justifiable sense of being seriously wronged. (5)This subsection applies if D’s loss of self-control was attributable to a combination of the matters mentioned in subsections (3) and (4). (6) In determining whether a loss of self-control had a qualifying trigger- (a)D’s fear of serious violence is to be disregarded to the extent that it was caused by a thing which D incited to be done or said for the purpose of providing an excuse to use violence; (b) a sense of being seriously wronged by a thing done or said is not justifiable if D incited the thing to be done or said for the purpose of providing an excuse to use violence; (c) the fact that a thing done or said constituted sexual infidelity is to be disregarded. (7) In this section references to “D” and “V” are to be construed in accordance with section 54.

[15] R. v. Lavallee, [1990] 1 S.C.R. 852. This case is a leading Supreme Court of Canada case on the legal recognition of battered woman syndrome

[16] Shushil Karki.(2068).Gender Equality. Kathmandu: Pairavi Prakashan.p.245

[17] Marie, Angelina Napolitano. University of Toronto/Université Laval, 2004. page accessed June 2008. Angelina Napolitano  was an immigrant to Canada who murdered her abusive husband in 1911, igniting a public debate about domestic violence and the death penalty. She was the first woman in Canada to use the battered woman defense on a murder charge.

[18] Osland v The Queen [1998] HCA 75; 197 CLR 316; 159 ALR 170; 73 ALJR 173

[19] नेकाप. २०६०. अंक / नि.नं. ७२४६ पृ ५८७

[20] नेकाप २०६६,अङ्ग , पृ. १४९

[21] नेकाप २०६१ अङ्क ६ पृष्ठ ७६९

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु