शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७८८ - कर्तव्यज्यान

भाग: ४८ साल: २०६३ महिना: फागुन अंक: ११

निर्णय नं. ७७८८    ने.का.प.२०६३             अङ्क ११

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनुपराज शर्मा

माननीय न्यायधीश श्री कल्याण श्रेष्ठ

फैसला

सम्वत् २०६२ सालको फै.मु. नं.: ३१०२

सम्बत् २०६२ सालको फौ.मु.का.: ३१२६

संवत् फौ.सा.नं.: २४४

फैसला मितिः २०६३।११।१६।४

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादीः ललितपुर जिल्ला ललितपुर उप म न पा वडा नं. ७ घर भै कारागार शाखा नखुमा कैदमा रहेका राजेन्द्र महर्जन

विरूद्ध

प्रत्यर्थी/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार

 

पुनरावेदक/प्रतिवादीः ललितपुर जिल्ला उप म.न.पा. वडा नं. ७ लउटोल घर भै हाल कारागार शाखा नखुमा कैदमा रहेका लेकमान महर्जन

विरूद्ध

प्रत्यर्थी/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार

पुनरावेदक/वादीः चन्द्र अवालेको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादीः लेकमान महर्जन

 

§  अदालतले वादी र प्रतिवादी पक्षबाट प्रस्तुत तथ्यगत वस्तुनिष्ट आधारमा न्याय निरोपण गर्दछ । अदालत आफै अग्रसर भएर मुद्दाको तथ्य भन्दा बाहिर गएर न्याय निरोपण गर्न नसक्ने ।        

(प्रकरण नं. ३१)

 

§  ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियोजन पक्षले अनुसन्धान गर्दा मुद्दामा निक्र्यौल गर्नु पर्ने सम्मको सम्पुर्ण प्रकिया पुरा गरीमात्र अभियोग दायर गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको फितलो अनुसन्धान भै त्यस्तो अनुसन्धानबाट वास्तविक अपराधी ठहर गर्न अदालतलाई निकै कठिनाई हुन जाने । 

(प्रकरण नं. ३३)

§  चाकु महर्जनको कुनै यकिनै नगरी हचुवाको भरमा चाकु महर्जन भनी अर्का व्यक्ति यि राजेन्द्र महर्जनलाई अभियोग लगाई कसुरदार वनाएको पाइन्छ । यस्तो प्रतिवादीको सम्वन्धमा यकिन नगर्दा अर्कोलाई मुद्दा चलाउने र सजाय हुन सक्ने अवस्था रहन्छ । त्यस्तो निश्चिन्तताको अभावमा मुद्दा चलाउन र कसुरदार वनाउन नमिल्ने हुदाँ प्रतिवादी राजेन्द्र महर्जनले प्रस्तुत मुद्दाबाट सफाइ पाउने । 

(प्रकरण नं. ३४)

§  भविष्यमा वादी नेपाल सरकारको तर्फबाट दायर हुने अभियोगपत्रमा पक्राउ परेका प्रतिवादीको परिचयात्मक लिखत प्रमाण जस्तोःनागरिकता परिचय पत्र र शैक्षिक प्रमाणपत्रमा रहेका विवरण खुलाउने, निजको शारिरीक बनौट, अनुहारको आकृति, परिचयात्मक हुने हुलिया, निजको फोटो र ल्याप्चे हस्ताक्षर लगायत अन्य पहिचान हुन सक्ने आधारहरु खुलाउनु   पर्ने । 

(प्रकरण नं. ३५)

§  फरार प्रतिवादीको हकमा निजको बाबु र बाजेको नाम थर र वतन तिन पुस्तेस्थायी र अस्थायी वतन निजको नागरिकता नम्बर, मतदाता नामावलीको नम्वर र अन्य लिखत प्रमाण भए सो मा रहेको नाम उपनाम प्रष्टसँग उल्लेख हुनको लागि महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयमा निर्देशनात्मक आदेश जारी हुने । 

(प्रकरण नं. ३६)

 

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताहरु श्री रंजितभक्त प्रधानाङ्ग, लभ कुमार मैनाली

प्रत्यर्थी वादीका तर्फबाटः विद्धान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी

अवलम्बित नजीरः

फैसला

न्या. अनुपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०६१।११।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-

२.    ललितपुर जिल्ला सुन्धारामा मिति २०५५।७।२ मा सानमिगेल वियर र च्यालेन्जर हुस्कीको संयुक्त आयोजनामा संचालित फेष्टूवल म्युजिक कार्यक्रम हेर्न भनी मेरो छोरा प्रेम अवाले गएका थियौ ।  सो स्थानमा राती अन्दाजी ९.०० बजेको समयमा धर्म महर्जन, चाकु मर्हजन, राजु महर्जन, विक्रम  लगायत अन्य नाम थाहा नभएका मानिसहरु समेत मै कुटपिट गरी धारिलो हतियार समेत प्रयोग गरि कर्तव्य गरी मारेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउं भन्ने चन्द्र अवालेको मिति २०५५।७।४ को जहेरी दरखास्त ।

३.    ललितपुर जिल्ला ललितपुर उप महानगर पालिका वडा नं. ८ चपटटोल स्थित कच्ची सडकमा इट्टाका टुक्र फुटेको उक्त स्थानमा, सडकमा र ढलमा समेत रगत लगि सुकेको उक्त स्थानमा बोतलको समेत टुक्राहरु यत्रतत्र छरिएको पाइएको घाइते प्रेम अवालेलाई उपचारार्थ अस्पताल पठाई सकिएकाले घटनास्थलमा घाइते भएको भन्ने घटनास्थल प्रकृती मुचुल्का पाटन अस्पतालको मुर्दाघरमा रहेको प्रेम अवालेको लासमा दाया आखी भौमा २ इन्च काटिए को टाउकोमा अस्पतालको वेन्डीज बाधेको दुवै आंखा बन्द भएको दाया तर्फ कोखामा ४ इन्च लामो लछारिएको घाउ भएको भन्ने लाश प्रकृती मुचुल्का ।

३.१.   शरिरको विभिन्न ठाउमा लागेको घाउहरुबाट निस्किएको रक्तश्रापको कारणबाट मृत्यु भएको भन्ने पाटन अस्पतालले प्रेम अवालेको लास पोष्टमार्टम गरी पठाएको प्रतिवेदन घटनास्थलमा उठाईएको रगत र प्रेम अवालेको पाटन अस्पतालमा लास पोष्टमार्टम हुँदा नमूनाका लागि निकालिएको रगत समेत परिक्षणका लागि पठाउदा दुईटै रगतहरु मानिसको रगत हो भन्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटारको परिक्षण प्रतिवेदन ।

४.    मिति २०५५।७।२ गतेका दिन साँझ ललितपुर जिल्ला सुन्धरामा भएको फेष्टुबल म्युजिक कार्यक्रम हेर्नको लागि म गएको थिए ।  उक्त स्थानमा साथी प्रेम अवाले सँग धर्म महर्जन, चाकु महर्जन, राजु महर्जन, विक्रम महर्जन, अर्जुन महर्जन, लेकमान महर्जन, लगायतका अन्य देखेमा चिन्न विभिन्न मानिसहरु आई झगडा गर्न लागेपछि प्रेम अवाले सो स्थानबाट भाग्न लाग्दा लेकमान महर्जन समेतका व्यक्तिहरुले गखेटदै गई ललितपुर उपमहानगरपालिका वडा न ८ स्थित चपट जाने लौहान कसाइ गल्लिमा पुग्ना साथ कुटपिट गरी धारिलो हतियार समेत प्रहार गरी लेकमान महर्जन समेतले कर्तव्य गरी मारेका हुन भन्ने मिति २०५६।४।९ गते अनिल अवालेले गरेको कागज ।

५.    ललितपुर जिल्ला सुन्धारामा मिति २०५५।७।२० गते सांझ सन्चालन भएको कार्यक्रम हेर्नका लागि जादा प्रेम अवाले समेत बसेको ठाँउमा अर्जुन महर्जन, लेकमान महर्जन, विक्रम महर्जन, राजु महर्जन, चाकु महर्जन लगायतका अन्य देखेमा चिन्ने नाम थाहा नभएका मानिसहरु समेत उक्त स्थानमा आई एक्कासी प्रेम अवालेलाई हातपात गरी ढुंगा मुढा समेत प्रहार गरी प्रेम अवाले भाग्न लाग्दा निज लेकमान महर्जन समेतका व्यक्तिहरुले ढुंगाले हानी कुटपिट गरी कर्तव्य गरी मारेका हुन भन्ने मिति २०५६।४।९ मा विजय अवालेले गरेको कागज । मिति २०५५।७।२ गते ललितपुर जिल्ला सुन्धारामा सन्चालन भएको कार्यक्रम हेर्नको लागि म समेतका साथीहरु गएको अवस्थामा जाहेरी दरखास्तमा उल्लेखित प्रतिवादीहरु लगायतका मास्ट्रर धन समेत भन्ने लेकमान महर्जन तथा अन्य देखेमा चिन्ने नाम थाहा नभएका मानिसहरु आई प्रेम अवाले सँग  झै झगडा गरी कुटपिट गरी राती अन्दाजी ९.०० बनेको समयमा कर्तव्य गरी मारेका हुन भन्ने रविन्द्र अवालेको  कागज ।

६.    मिति २०५५।७।२ गतेका दिन साथी प्रेम अवाले समेत भै ललितपुर जिल्ला सुन्धारामा संचालन भएको फेष्टुवल म्युजिक कार्यक्रम हेर्न गएकोमा उक्त स्थानमा बसी रहेका अवस्थामा धर्म महर्जन, राजु महर्जन, विक्रम महर्जन, अर्जुन महर्जन ,लगायत धन मास्टर मन्ने लेकमान महर्जन समेतका र अन्य देखेमा चिन्ने मानिसहरु बसेको ठाउमा आई चुनावको विषयको कुरा उठाई प्रेम अवालेलाई निजहरुले कुटपिट गर्न लाग्दा प्रेम अवाले भाग्दै गर्दा ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं. ८ चपाटो जाने लोहान कसै गल्लीमा पुग्नासाथ निज प्रतिवादीहरुले धारिलो हतियार समेत प्रयोग गरी हिर्काइ घाइते बनाई रगताम्य अवस्थामा छाडी फरार भएकाले निज साथी प्रेम अवालेलाई उपचारार्थ पाटन अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएको हो भन्ने मनोज महर्जनको कागज ।

६.१.   ललितपुर जिल्ला सुन्धारामा सन्चालित फेस्टुबल म्युजिक कार्यक्रम हेर्न मिति २०५५।७।२ गते गएकोमा उक्त स्थानमा पुग्दा धर्म महर्जन, भरत महर्जन, रविन्द्र महर्जन, रविन्द्र भन्ने रविन महर्जन , विनोद महर्जन, अर्जन महजैन, चाकु महर्जन, बाबु महर्जन , दिनेश महर्जन, विक्रम महर्जन माइला महर्जन ,सुनिल महर्जन ,विकाश महर्जन, राजु महर्जन, सुरजमान महर्जन, लगायतका साथीहरुसँग भेट हुदाँ प्रेम आवले समेतका व्यक्ति हरुले प्रहार गरेको ढुंगाले मलाई लागेपछि रिसको सुरमा मैले पनि भाग्दै गरेको प्रेम अवाले लाई ढुंगाले प्रहार गरेकोमा निजलाई लगि लड्नासाथ साथी राजु महर्जनको हातमा भएको तरबार र सविन्द्र महर्जनको हातमा भएको खुकुरी समेतको प्रहार गरी अन्य साथीहरुले हात मुक्का लत्ती फल्याक र ढुंगा र लाठी समेतले. प्रेम अवालेलाई प्रहार गरी उक्त घाइते बनाइ सके पछि हामीहरु त्यहांबाट फरार भएका हो ।  निज प्रेम अवालेलाइै म समेतका व्यक्तिहरुले ढुंगा हानी कुटपिट गरी धारिलो हतियार समेत प्रयोग गरी कर्तव्य गरी मारेका हौ मास्टर घन समेत भन्ने लेकमान महर्जन ले अधिकारी समक्ष गरेको बयान । 

७.    मिति २०५५।७।२ गते म अन्य साथीहरुसँग लपुजि सुन्धारामा गएको थिइन । साथी प्रेम अवालेलाई धर्म महर्जन समेतका व्यक्तिहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी मारेको भन्ने पछि मैले थाहा पाएको हु भन्ने समेत व्यहोराको जीवन अवालेको कागज । 

८.    मिति २०५५।७।२ गतेका दिन राति ल पु जि अ सुन्धारामा संचालन भएको म्युजिक फेस्टुबल कार्यक्रम हेरी रहेका प्रेम अवालेलाई लेकमान महर्जन लगायतका अन्य फरार प्रतिवादीहरुले ढुंगा फल्याक लात मुक्काले समेत प्रहार गरी धारिलो हतियारले काटी कर्तव्य गरी मारेको हो भन्ने थाहा पाएको हौ भन्ने समेत व्यहोराको घटनास्थल आसपासका मानिसहरुले प्राय एकै मिलानमा वकि दिएको कागज ।

९.    मिति २०५५।७।३ गते लक्ष्मी पुजाको दिनको साझ ल.पु. जि.ल.पु.उ.म.न.पा. वडा नं. ७ सुन्धारामा सानमिगल वियर र च्यालेन्जर हुस्कीको संयुक्त आयोजनामा संचालन भएको फेस्टुवल म्युजिक कार्यक्रम हेर्नको लागी जाहेरवालाको छोरा प्रेम अवाले समेतका व्यक्तिहरु गएको र उक्त स्थानमा हाल पक्राउमा परि आएका घन मास्टर साव भन्ने लेकमान महर्जन लगायत अन्य फरार प्रतिवादीहरु धर्म महर्जन, भरत महर्जन, चाँकु महर्जन , रविन्द्र महर्जन , राजु महर्जन , विक्रम महर्जन, अर्जुन महर्जन, रविन्द्र भन्ने रविन महजैन विनोद महर्जन, बाबु महर्जन, दिनेश महर्जन, माहिला महर्जन, सुजिल महर्जन, विकाश महर्जन, सुरेश महर्जन, सुरजमान महर्जन, विकाश महर्जन समेतका अन्य नाम खुल्न नआएका व्यक्तिहरु समेत भै जाहेरवालाको छोरा प्रेम अवालेलाई धकेला धकेल गरी कुटपिट गर्न थाले पछि प्रेम अवाले ज्यान बचाउनका लागि भाग्दै ल.प.उ.म.न.पा वडा नं. ८ चपाटो जाने लोहार टोल स्थित वसाईटोलको गल्लीमा पुग्दा पछाडीबाट लखेटदै आएको प्रतिवादीहरु मध्येका लेकमान महर्जनले प्रहार गरको ढुगांले प्रेम अवालेलाई लागि ढल्न गएपछि अन्य प्रतिवादीहरुले समेत आआफ्नो हातमा भएको तरवार खुकुरी लाठी, इट्टा, फल्याक समेतले प्रहार गरी मरणासन्न अवस्थामा पारी प्रेम अवाले मर्यो होला भन्ने सोची प्रतिवादीहरु भागी गएको र प्रेम अवालेलाई उपचारार्थ पाटन अस्पतालमा लगेकोमा निजको मिति २०५५।८।३ गते राति ११ बजे मृत्यु भएको हुँदा यी प्रतिवादीहरुले प्रेम अवालेलाई कर्तव्य गरेर मारेको पुष्टी हुन आएकाले उल्लेखित प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १ नं. विपरित १३(३) नं. को कसुर अपराधमा सोही महलको १३(३) नं. अनुसार सजाय हुन माग दावी लिई फरार प्रतिवादीहरुका हकमा अदालतबाटै म्याद वारेण्ट जारी हुन सादर अनुरोघ छ भन्ने मुख्य अभियोग माग दावी ।

१०.    प्रेम अवाले मरेका दिनमा घटनास्थलमा म गएको थिइन । मेरो काम गर्ने समय विहान १० बजे देखि बेलुका ११.०० बजे सम्म थियो ।  मलाई राजनितिमा लागेकोले फसाउने नियतले षडयन्त्र गरेका हुन । प्रेम अवाले भन्ने मान्छे कहिले मर्यो कसरी मर्यो मन्ने सम्बन्धमा मलाई थाहा छैन ।  प्रहरीले मलाई कुटिपिट गरी अनेक यातना दिएर प्रहरीमा कागज गराएको हो मैले कुनै अपराध नगरेको हुँदा सजाय हुनु पर्ने होइन मन्ने लेकमान महर्जनले शुरु अदालतमा गरेको बयान । 

११.    मिति २०५५।७।२ गते लेकमान महर्जन गुणसिनेमा हलको सेक्युरिटी गार्ड भएकाले बिहान ९.०० बजे आएको र त्यस दिन लक्ष्मी पुजा भएकोले सबै स्टाफहरु हलमा नै बसी लक्ष्मी पुजा गरी अन्दाजी १०:३० बजे राति घरमा गएको हो । लेकमान लाई कुनै रिसइविका कारण फसाउन खोजेको जस्तो लाग्यो भन्ने प्रतिवादी लेकमान महर्जनको साक्षी भुवन महर्जनले गरेको बकमत्र ।

१२.   मेरो छोरो प्रेम अवालेलाई कुटपिट गरेर ढुंगाले हानेर र छुरी हानेर मारेका हो । उसको जिउ मरि घाउ नै घाउ थियो । छोरालाई उपचार गराउन पाटन अस्पताल लगेकोमा उपचार हुँदा हुदै सोही दिनको राति मृत्यु भएको हो । जाहेरी मैले दिएको हो । सो जाहेरीमा भएको नाम सहीछाप मेरो हो भन्ने जाहेरीवाला चन्द्र अवालेको बकपत्र ।

१३.   प्रेम अवालेलाई अर्जुन महर्जन, धर्म महर्जन, बिक्रम महर्जन, लेकमान महर्जन, चाकु महर्जन, राजु महर्जनले हतियार तरवार, चक्कु, काठ, इटा, खुकुरी प्रयोग गरेर कुटपिट गरी घाइते बनाएका हुन । प्रेम अवालेको मृत्यु पाटन अस्पतालमा २०५५।७।२ गते राति ११.०० बजे भएको हो । घटना भएको ठाँउबाट म ५।६ मिटर पर थिए । घटनालाई मैले देखेको हो भन्न मनोज महर्जनको वकपत्र ।

१४.   घटना भएको ठाउमा म थिइन ।  साथीहरुको भनाइ अनुसार प्रेम अवालेलाई धर्म, लेकमान, अर्जुन समेतले छुरा हानी कुटपिट गरेको भन्ने सुनेको हुँ भन्ने घटनास्थल आसपासमा बुझिएको विनोद अवालेले गरेको बकपत्र ।

१५.   प्रेम अवालेको मृत्यु कुटपिट हातहतियार प्रयोग गरी भएको भन्ने मैले सुनेको हुँ । झगडा भएको बेला म थिइन भन्ने बुझिएका राजु अवालेले गरेको वकपत्र ।

१६.    लेकमान महर्जनले प्रेम अवालेलाई कुटपिट गरी मारेको होइन । प्रेम अवालेको मृत्यु कसरी भएको हो थाहा छैन । लेकमानलाई फसाउन मुद्दा दिएको हो । लेकमान महर्जन मिति २०५७।७।२ गते विहान १०:०० बजे देखि डयुटिमा जानु भएको थियो ।  बेलुका १०.३० बजे तिर म लेकमान समेत ग्वार्को चोक सम्म सँगै आएको हो भन्ने प्रतिवादी लेकमान महर्जनका साक्षी जनक महर्जनले गरेको बकपत्र ।

१७.   प्रेम अवालेको मृत्यु कुटपिटबाट भएको हो । घटना भएको बेला म घरमा नै थिए । घटना मैले देखिन भन्ने घटनास्थल आसपासमा बुझिएका व्यक्ति शंकर अवालेको वकपत्र ।

१८.   मैले जाहेरवालाको छोरा प्रेम अवालेलाई मारेको छैन । प्रेम अवाले मरेको कुरा मैले आज सम्म नसुनेको हुँदा थाहा छैन । को कसले मार्यो थाहा भएन । जाहेरी दरखास्त प्रहरीमा अनिल अवाले समेतका मानिसले गरेको कागज सर्जमिनका विनय अवाले, शंकर अवाले समेतले लेखाएको व्यहोरा समेत सुने । किन मलाई पोल गरे थाहा छैन । मैले कोही कसैलाइै चिनेको छैन ।  अभियोग दावी तथा निजहरुले लेखाए अनुसारको कसुर मैले गरेको छैन । म निर्दोश छु भन्ने  प्रतिवादी चाकु महर्जन भन्ने राजेन्द्र महर्जनले शुरु अदालतमा गरेको बयान । 

१९.    प्रेम अवालेलाई राजेन्द्रले कुटपिट गरी मारेको छैन । राजेन्द्र महर्जन घटना भएको भनिएको दिन विहान देखि बेलुका सम्म मेरो साथमा रहेका थियो । प्रेम अवालेको कसरी मृत्यु भएको हो सो मलाई थाहा छैन भन्ने प्रतिवादी चाकु भन्ने राजेन्द्र महर्जनका साक्षी सरी महर्जनले गरेको बकपत्र ।

२०.   प्रेम अवालेलाई कर्तव्य गरी मारेकाभनी मौकामा देख्ने मनोज महर्जन, अनिल अवाले, विजय अवाले, रविन्द्र अवाले समेतले किटानी गरका छन् भने प्रत्यक्षदर्शी मध्ये मनोज महर्जनले शुरु अदालतमा आई वकपत्र गर्दा समेत लेकमान महर्जन, चाकु महर्जन समेतले निर्ममतापूर्वक प्रेम अवालेलाई हातहतियार, तरवार, चक्कु, काठ ढुंगा, इट्टा, खुकुरी प्रयोग गरी कुटपिट गरी सख्त घाइते तुल्याई उपचार हुँदाहुँदै मृत्यु भएको हो । यिनै प्रतिवादीहरुको कर्तव्यबाट प्रेम अवालेको मृत्यु भएको भनी किटानी गरेको अवस्था रहेको लास जांच मुचुल्का, पोष्टमार्टम रिर्पोट ।

२०.१.  प्रेम अवालेको आङ जिउमा भएको घाउ खतबाट कुटपिट कै कारणले मृत्यु भएका पुष्टी भएको घटनास्थल आसपासका व्यक्तिहरुले शुरु अदालतमा गरेको बकपत्रले समेत कुटपिटगरी मृत्यु भएको पुष्टी गरेकाले प्रतिवादी लेकमानले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टीगरेकाले उक्त बयानतलाई अन्यथा भन्न मिलेन । तसर्थ मृतक प्रेम अवालेलाई प्रतिवादीहरु मध्ये लेकमान महर्जन र चाकु महर्जनले ढुंगा, हातहतियार प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी ज्यान मारेको ठहर्छ ।  सो ठहर्नाले मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३(३) ले प्रतिवादी लेकमान महर्जन र प्रतिवादी चाकु महर्जन भन्ने राजेन्द्र महर्जनलाई जन्म कैद हुने ठहर्छ । र फरार प्रतिवादी हश्रको हकमा हाजिर भएका बखत वा पक्राउ परेका बखत बांकी कारवाही गर्ने गरी अ.व.१९० नं बमोजिम मुल्तवीमा राखि दिने गरी भएको शुरु ललितपुर जिल्ला अदालत को फैसला ।

२१.   कर्तव्य ज्यान जस्तो गम्भीर आरोपका पुष्टी हुन स्वतन्त्र निष्पक्ष र ठोस आधारको अभावमा हुन सक्दैन भन्ने कानुनको सर्वमान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपदित नजिर समेतलाई आत्मसात गरि प्रत्यक्ष देख्ने साक्षी प्रमाणको अभावमा मृतक अवालेको मृत्यु के कसरी भयो भन्ने कुरा खुलाउन नसकेको र केवल शंका र अनुमानको भरमा अभियोग लगाई ज्यान सम्बन्धी महलको १३(३) नं अनुसार जन्म कैद हुने ठहर ललितपुर जिल्ला अदालतले गरेको फैसलामा गम्भिर कानुनी बुटी हुदाँ चित्त बुझेन उक्त फैसला बदर गरी पुर्णत सफाई पाउं भन्ने समेत व्यहोराको प्र. लेकमान महर्जन तथा प्रतिवादी चाकु महर्जन भन्ने राजेन्द्र महर्जनको पुनरावेदन अदालतमा पाटनमा पर्न आएको छुट्टाछुट्टै पुनरावेदन पत्र ।

२२.   यसमा पुनरावेदक प्रतिवादीको मृतकलाई मार्नु पर्ने सम्मको रिसइवी भइ प्रस्तुत मुद्धाको वारदात घटाएको भन्ने नदेखिएको । म्युजिक फेस्टिबल कार्यक्रम हेर्न गईरहेको अवस्थामा एक आपसमा भनाभन भएको कारणले प्रस्तुत मुद्धाको वारदात घटन गएको अवस्थामा ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादी लेकमान महर्जन र चाकु महर्जन भन्ने राजेन्द्र महर्जनलाई जन्म कैदको सजाय गर्ने गरी गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसला प्रमाण मुल्यांकनको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिदा छलफलको लागी अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली २०४८ को नियम ४७ बमोजिम गरी नियमानुसार पेश गर्नु भन्ने व्यहोराको मिति २०६१।३।१० को पुनरावेदन अदालत पाटनको आदेश ।

२२.१.  प्रतिवादीहरु कसुरमा इन्कार भै बयान गरे पनि प्रतिवादी मध्येका लेकमान महर्जनले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा मृतकलाई कुटपिट गरी कर्तव्य गरी मारेको भनी गरेका साविति बयानको पुष्टी मौकामा देख्ने मनोज महर्जन, अनिल अवाले विजय अवाले, रविन्द्र अवाले समेतले किटानी कागज गरेका छन । यि प्रत्यक्षदर्शी मध्ये मनोज महर्जनले शुरु अदालतमा आई वकपत्र गर्दा समेत लेकमान महर्जन, चाकु महर्जन समेतले निर्ममतापुर्वक प्रेम अवालेलाई हाहातहतियार तरबार र चक्कु, काठ, इट्टा, खुकुरी प्रयोग गरी कुटपिट गरी सख्त घाइते तुल्याई उपचार हुदाहुदैँ मृत्यु भएको हो । यिनै प्रतिवादीहरुको कर्तव्यबाट प्रेम अवालेको मृत्यु भएको भनी किटानी गरेको अवस्था रहेको छ । लास जाँच मुचुल्का र पोष्टमार्टम रिर्पोट हेर्दा प्रेम अवालेको आङ जिउमा विभिन्न घाउ खत रहेको र कुटपिटकै कारणबाट मृत्यु भएको तथ्य पुष्टी भएको एवं घटना आसपासका व्यक्तिले शुरु अदालतमा आई वकपत्र गर्दा समेत कुटपिट भएको तथ्यलाई पुष्टि गरेकाले प्रतिवादी लेकमानले अधिकार प्राप्त अधिकारीले समक्ष गरेको बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टी गरेको मान्नुपर्छ । उक्त बयान लाई अन्यथा भन्न मिलेन ।  तसर्थ उल्लेखित सबुद प्रमाणका आधारबाट प्रेम अवालेलाई प्रतिवादी मध्ये लेकमान महर्जन र चाकु महर्जन भन्ने राजेन्द्र महर्जनले ढुंगा हातहतियार प्रयोग गरी कुटपिट गरेको र कर्तब्य गरी मारेको ठहर्नाले मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादी लेकमान महर्जन र प्रतिबादी चाकु महर्जन भन्ने राजेन्द्र महर्जनलाई जन्म कैद हुने ठहर गरी शुरु जिल्ला अदालतबाट मिति ०६०।७।१३ मा भएको फैसला मनासिव नै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको २०६१।११।२० गतेको फैसला ।

२३.   पुनरावेदन अदालतको फैसलामा चित्त वुझेको छैन । मेरो नाम राजेन्द्र महर्जन हो ।  मेरो नाम जाहेरी लगायत मौकामा देख्ने मानिसहरुको कागजमा र बकपत्रमा समेत उल्लेख छैन ।  अभियोग पत्र लगायत अन्य व्यक्तिको कागजमा चाकु महर्जनको नाम उल्लेख छ । चाकु महर्जन भन्ने व्यक्ति म हुंदै होइन । अ.व.१७३ चाकु भन्ने व्यक्ति मै हु भन्ने सनाखत गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । सो बमोजिम सनाखत समेत भएको छैन । म हुंदै नभएको मानिसलाई प्रहरीले समाति चाकु भन्ने राजेन्द्र महर्जन लेख्दैमा म चाकु महर्जन हुन सक्दैन ।  तसर्थ मेरो इन्कारी बयान अनुसार अभियोग दावीबाट सफाई पाउ भन्ने राजेन्द्र महर्जनको यस अदालतमा पर्न आएको पुनरावेदन ।

२४.   पुनरावेदन अदालत पाटनको फैसलामा मेरो चित्त बुझेको छैन । मैल अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि गरेको मान्नु पर्ने भनि उल्लेख गरको पाइन्छ । सो बयानलाई पुष्टि गर्ने यस मद्दामा अन्य स्वतंत्र र विश्वसनीय प्रमाणहरु विधमान छन भनी भन्न खोजिएको पाइन्छ । तर पुनरावेदन अदालतको फैसलामा उल्लेख भए बमोजिम कुनै पनि प्रमाण प्रस्तुत मुद्दामा विधमान छैन । मेरो साविति बयान इच्छा विपरित गराएको हो । जुन प्रमाण ऐन २०३१ को दफा ९(१) एवं ने.का.प. २०३० पुष्ट २५१ मा प्रतिपादित नजिरको विपरित छ ।  वारदातको समयमा म कार्यरत गुण सिनेमा हलको गार्डको डिउटीमा रहेको पत्र र मेरो साक्षीको बकपत्र बाट समर्थन भैसकेको छ । मेरो साक्षी प्रमाणलाई ग्रहण नगरी वादी पक्षका साक्षीको कथनलाई ग्रहण गरी भएको फैसलामा प्रमाण ऐन २०३१  को दफा २८ एवं ने.अ‍े.प. २०४५ पुष्ट १०९२ को विपरित भएको छ । उपरोक्त आधार प्रमाणबाट पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने प्रतिवादी लेकमान महर्जनको यस अदालतमा पर्न आएको पुनरावेदन । 

२५.   यसमा पुनरावेदन अदालत पाटनको फैसला उपर साधक सदरको लागि पेश भएको र प्रतिबादीको पुनरावेदन समेत परेको अवस्था हुदाँ न्यायप्रशासन ऐन २०४८ को दफा १०(३) बमोजिम साधकको लगत कट्टा गरी दिएको छ । पुनरावेदकहरु प्रतिवादी लेकमान महर्जन र राजेन्द्र महर्जन अदालतमा बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको देखिएको प्रतिवादी लेकमानले प्रहरीमा बयान गर्दा वारदात स्थलमा झगडा चलीरहेको अवस्थामा पुगी ढुंगा सम्म प्रहार गरेको भनि लेखाइ दिएको स्थिति, प्रत्यक्षदर्शी मनोज महर्जनको बकपत्रमा कसले कुन ठाउमा प्रहार गरे भन्न सक्दिन भनी यकिन खुलाउन नसकेको अवस्था देखिएको प्रतिवादी का साक्षीहरुले निजहरुको अदालतको बयानलाई समर्थन गर्ने गरी बकपत्र गरेको अवस्था देखिए समेतबाट निजहरुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैदको सजाय गरेको पुनरावेदन अदालतको फैसला नमिली फरक पर्ने हुदा छलफल निमित अ.व. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नू भन्ने यस अदालतको मिति २०६२।९।६ को आदेश ।

२६.   नियम बमोजिम पेशीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदकहरुको पुनरावेदन जिकिर सहितको मिसिल सुक्ष्म रुपमा अध्ययन गरी पुनरावेदक प्रतिवादी राजेन्द्र महर्जनको तर्फबाट विद्धान अधिवक्ता डा.रन्जित भक्त प्रधानाङले राजेन्द्र महर्जन कसुरमा इन्कार भै  अदालतमा बयान गरेको छ । राजेन्द्र महर्जनको नाम अभियोग पत्रमा उल्लेख छैन ।  जाहेरी लगायत मौकामा कागज गर्ने व्यक्तिको मौकाको कागज र अदालतको बकपत्रमा पनि राजेन्द्र महर्जनको नाम उल्लेख गरेको पाइदैन । जाहेरी लगायत अभियोग पत्रमा चाकु महर्जनको नाम उल्लेख छ ।  प्रहरीले पक्राउ गरी चाकु भन्ने राजेन्द्र महर्जन हो भनी नाम उल्लेख गरी सोही आधारमा पुनरावेदन अदालत पाटन समेतले कसुरदार ठहराई जन्म कैदको सजाय तोकेको छ । चाकु महर्जन नै राजेन्द्र महर्जन हो भन्ने कुराको पुष्टि हुने गरी कुनै तथ्ययुक्त प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको छैन जबकी राजेन्द्र महर्जनको नागरिकता र मतदाता नामावलीमा समेत राजेन्द्र महर्जन मंगललाल महर्जनका छोरा भनी उल्लेख छ । चाकु महर्जन कसको छोरा हो, कस्तो हुलीयाको छ सो को यकिन हुन सकेको छैन । उनको व्यक्तिको नामबाट राजेन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरी अदालत पेश गर्देमा फौजदारी मुद्दाको अभियोगमा कसुरदार वनाउन मिल्दैन ।  त्यसो हुनाले राजेन्द्र महर्जनले अभियोगबाट सफाइ पाउनु पर्दछ । 

२७.   अर्का प्रतिवादी लेकमान महर्जनको तर्फबाट विद्धान अधिवक्ता श्री लभ कुमार मैनालीले प्रतिवादी लेकमान महर्जन अधिकार प्राप्त अधिकारी समक्ष कसुरमा सावित भएपनि अदालतमा कसुरमा पुर्ण इन्कार भै बयान गरेको छ ।  सो को पुष्टि निजको साक्षी जनक महर्जनले गरिदिनु भएको छ । जाहेरी मनोज महर्जनको भनाइ अनुसार परेको हो त्यसमा प्रतिवादी लेकमान महर्जनको नाम सम्म उल्लेख गरेको छ । मनोज महर्जनको मौकाको कागजमा लेकमान समेतले मृतक प्रेम अवालेलाई कुटपिट गरेको भन्ने उल्लेख गरे पनि अदालतको बकपत्रमा सो कुरा वाझिएको छ ।  वारदात राती ८ र ९ वजेका समयमा म्युजिक कन्सर्ट चलिरहेको वेलामा दोहोरो भिडन्त भै कुटपिट भएको छ ।  मृतकको मृत्यु कसको कुटाइबाट भएको हो सो कुरा खुलेको छैन ।  मृतक र प्रतिवादी लेकमान महर्जन को बीच पुर्व चिनाजानि पनि छैन । मार्नु पर्ने सम्मको कुनै सिइवि छैन । विना रिसइवी कसैले कसैलाइ मार्न सक्दैन । फौजदारी अभियोगमा सविति लाई मात्र आधार मानेर सजाय गर्न मिल्दैन । उपरोक्त आदेशबाट लेकमान महर्जनले कसुरबाट सफाई पाउनु पर्दछ । अर्को विद्धान अधिवक्ता श्री हरिहर दाहालले वारदात राती ९ बजे म्युजिक फेष्टिवल चलिरहेको अवस्थामा भएको छ । प्रतिवादी लेकमान महर्जन मृतक प्रेम अवालेलाई मार्ने मनसाय रहेको छैन । हुलमुलमा झगडा भै दोहोरो भिडन्तमा मृतकलाई चोट लागि मृत्यु भएको देखिन्छ ।  वारदात स्थलमा प्रतिवादी लेकमान महर्जन रहदैमा निजकै चोटबाट मृतक प्रेम अवालेको मृत्यु भएको छैन । तत्कालको परिस्थितिमा वारदात भै मृतकको मृत्यु भएकोले ज्यान सम्वन्धीको १७ नं. अनुसार प्रतिवादी लेकमानलाई थोरै भन्दा थोरै सजाय हुनु पर्दछ । त्यसो नभएमा अ.व.१८८ नं. बमोजिम सजायमा विचार हुनु पर्दछ । प्रत्यर्थी वादी नेपाल सरकारका तर्फ बाट महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता श्री युवराज सुवेदीले मृतकको मृत्यु कर्तव्यबाट भएकोमा यि प्रतिवादीहरुले पनि स्वीकार गरेको छन । प्रतिवादी लेकमान महर्जन कसुरमा सावित भै अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको छ । सो बयान अन्यथा हो भन्न सकेको छैन ।  उक्त बयान अन्य स्वतंत्र  प्रमाण जाहेरी लगायत मौकामा कागज गर्ने मनोज अवालेको बकपत्र लगायत लाश जाँच मुचुल्का, शव परिक्षण प्रतिवेदन  समेतबाट समर्थन भएको छ । त्यसैले चाकु भन्ने राजेन्द्र महर्जन भनि अदालतमा सही छाप गरी स्वीकारगरेको छ । यस उपर प्रतिवादीको तत्काल कुनै प्रतिक्रिया छैन । दुई तह सजाय भै सकेपछि हाल आएर सो कुराको जिकिरको कुनै महत्व हुन सक्दैन । चाकु भन्ने नै यिनै राजेन्द्र महर्जन हुन । तसर्थ शुरुले कसुरदार ठहराई प्रतिवादीहरुलाई सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला कानून एवं न्याय सँगत नै भएको हुँदा सदर कायम हुनु पर्दछ । विद्वान कानून व्यवसायीहरुको वहस सुनी शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्छ पुग्दैन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

२८.   निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा साधक जाहेर भएको प्रतिवादीहरुको पुनरावेदन परेको देखिएकोले पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा हेरिने हुँदा साधकको लगत कट्टा गरी दिनु ।

२८.१.  प्रतिवादी लेकमान महर्जन प्रतिवादी चाकु महर्जन उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम अभियोग माग दावी भै प्रतिवादीहरु लेकमान महर्जन र चाकु भन्ने राजेन्द्र महर्जनलाई ज्यान सम्बन्धी को १३(३) नं. बोजिम जन्म कैदको सजाय गर्ने गरी शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनले सदर गरेको फैसला उपर प्रतिवादीहरु लेकमान महर्जन र राजेन्द्र महर्जनको छुट्टाछुट्टै पुनरावेदन पर्न आएको देखिन्छ ।

२९.   मिति २०५५।७।२ गते बेलुका देखि ललितपुर उप महानगरपालिका वडा नं. ७ स्थित सुन्धारामा स्यानमिगल वियर र च्यालेन्जर हिृस्कीको संयुक्त आयोजनमा संचालित फेस्टिवल म्याजिक कार्यक्रम चलिरहेको अवस्थामा राती ९ बजे मृतक प्रेम अवालेको ग्रुप उत्तेजित भै प्रतिवादी लेकमान महर्जन समेतका मानिसहरु आयोजक तर्फबाट सुरक्षाको लागि खटिएको र प्रेम अवालेलाई शान्त पूर्वक कन्सर्ट हेर्न सम्झाइ बुझाई गर्दा पनि मृतक प्रेम अवालेले प्रतिवादी लेकमान महर्जन समेत उपर इट्टा प्रहार गरेकाले यी प्रतिवादी लेकमान महर्जन समेतले मृतकलाई लखेट्दा भाग्दै गरेको प्रेम अवालेलाई चपटोलको कसाई गल्लीमा इट्टा, ढुंगा र तरवार लगायतका धारिलो हतियारको प्रहारबाट घाइते भै अचेत अवस्थामा पाटन अस्पतालमा उपचार हुँदा हुँदै प्रेम अवालेको मृत्यु भएको भन्ने घटनास्थलमा मुचुल्का, लाश जाँच मुचुल्का, शव परिक्षण प्रतिवेदन जाहेरी दरखास्त मौकामा कागज गर्ने प्रत्यक्षदर्शी मनोज अवालेको कागज व्यहोरा एवं अदालतमा भएको वकपत्र र प्रतिवादी लेकमान महर्जनको अधिकार प्राप्त अधिकारी समक्षको सावितीबाट मृतक प्रेम अवालेको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिंदैन ।

३०.   अब निज मृतक प्रेम अवालेको मृत्यू को को भै के कसरी कुटपिट गरेबाट भएको रहेछ भन्ने तर्फ मिसिल अध्ययन गरी हेर्दा शुरु जाहेरीमा चाकु महर्जन धर्म महर्जन , राजु महर्जन र विक्रम महर्जन समेतले मेरो छोरा प्रेम अवालेलाई कर्तव्य गरी मारेको भन्ने उल्लेख भएको छ । मौकामा देख्ने भनिएका मनोज महर्जनले आफनो मौकाको कागजमा र अदालतको बकपत्रमा समेत चाकु महर्जन लगायतका मानिसहरुले उक्त म्युजिक फेष्टिबल कार्यक्रममा मृतक प्रेम अवाले संगको झगडाको कारण इट्टा हतियारले मृतकलाइ प्रहार गरी हत्या गरेको भनी उल्लेख गरेको पाइन्छ ।  त्यस्तै मौकामा कागज गर्नेहरु मध्ये अनिल अवाले, विजय अवाले, रविन्द्र अवालेले चाकु महर्जन र लेकमान महर्जन समेतका मानिसहरुले मृतकलाई उक्त म्युजिक फेष्टिवल कन्सर्टमा इट्टा र अन्य हतियार को प्रहारबाट मृतक प्रेम अवालेको मृत्यु भएको भन्ने उल्लेख गरेको पाइन्छ । सोही आधारबाट दुपाट बस्ने चाकु महर्जन उपर अभियोग दायर भै उपरोक्त आधारप्रमाण बाट चाकु महर्जनको उक्त बारदात संग्लग्नता रहेकोमा विवाद देखिदैन । 

३१.   प्रतिवादी राजेन्द्र महर्जनको पुरावेदन जिकिर तर्फ विचार गर्दा निजलाई जिल्ला प्रहरी कार्यालय, ललितपुरको च.नं. ५००३ मिति २०६०।१।३० को पत्र साथ फरार प्रतिवादी टुपाट बस्ने चाकु महर्जन फेला परेकोले चाकु महर्जन भन्ने राजेन्द्र महर्जन उपर मिति २०५६।५।४ मा दायर अभियोग दावी बमोजिम सजाय हुन पठाएको देखिन्छ । प्रतिवादी बनाइएका राजेन्द्र महर्जनले शुरु ललितपुर जिल्ला अदालतमा बयानको परिचयात्मक व्यहोरामा आफ्नो नाम राजेन्द्र महर्जन र बाबुको नाम मंगललाल महर्जन उमेर २६ को भए बतन ललितपुर उपमहानगरपालीका वडा नं. १७ चौपु गल्लीमा पर्छ भन्ने उल्लेख गरेको देखिन्छ । निजले आफूलाई चाकु भन्ने राजेन्द्र महर्जन भनि बयान गरेको देखिंदैन । सो बयान कागजको सही छाप को व्यहोरामा अदालतका कर्मचारीद्वारा लेखिएको कागज व्यहोरामा चाकु महर्जन भन्ने राजेन्द्र महर्जन भन्ने सम्म रहेको पाइन्छ । चाकु महर्जननै राजेन्द्र महर्जन हो भन्ने कुराको कुनै कानुनी प्रकृया वादी पक्षबाट अनुसन्धानको क्रममा पुरा गरेको पाइदैन । आफनो अभियोगमा समेत चाकु महर्जनको शारीरिक आकृति, अनुहारको हुलीया पहिचान लगायत बाबु बाजेको नाम समेत उल्लेख नभएको अवस्थामा चाकु महर्जन यिनै राजेन्द्र महर्जन हो भन्ने हचुवाको भरमा मान्न मिल्दैन । अनुसन्धानकर्ताले कुनै पनि व्यक्ति माथी फौजदारी अभियोग लगाउदा त्यस व्यक्ति को सो वारदातमा रहेको संग्लग्नता लगायतका उस्को वास्तविकता पहिचान हुने सम्मको विवरणहरु जस्तो उस्को फोटा, ल्याप्चे सही छाप, शरीरको बनावट, अनुहारको आकृती, विषेश पहिचान हुन सक्ने हुलीया लगायत नाम उपनाम, बावु ,बाजेको नाम लगायतका विवरणहरु वादी पक्षले आफ्नो अभियोग पत्रमा प्रष्टसँग उल्लेख गरी खुलाउन सक्नुपर्दछ । तर प्रस्तुत अभियोगमा ललितपुर उप म.न.पा.वडा नं. ७ दुपाट बस्ने चाकु महर्जनको नामसम्म उल्लेख गरेको पाइन्छ । त्यति व्यहोराका आधारबाट चाकु भन्ने राजेन्द्र महर्जन यही व्यक्ति नै हो  भनेर मान्न सक्ने अवस्था हुदैन । अदालतले वादी र प्रतिवादी पक्षबाट प्रस्तुत तथ्यगत वस्तुनिष्ट आधारमा न्याय निरोपण गर्दछ । अदालत आफै अग्रसर भएर मुद्दाको तथ्य भन्दा बाहिर गएर न्याय निरोपण गर्न सक्दैन । 

३२.   उपरोक्त आधार प्रमाणबाट चाकु महर्जन नै राजेन्द्र महर्जन हो भन्ने सम्मको पुष्टि हुने सम्म कुनै तथ्यगत प्रमाण अभियोजन पक्षबाट प्रयास सम्म भएको पाइदैन । 

३३.   फौजदारी प्रकृतिको ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियोजन पक्षले अनुसन्धान गर्दा मुद्दामा निक्र्यौल गर्नु पर्ने सम्मको सम्पुर्ण प्रकिया पुरा गरीमात्र अभियोग दायर गर्नु पर्दछ ।  तर प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको पक्षबाट फितलो अनुसंधान भै त्यस्तो अनुसन्धानबाट वास्तविक अपराधी ठहर गर्न अदालतलाई निकै कठिनाई हुन जान्छ । 

३४.   चाकु महर्जनको सम्बन्धमा कुनै यकिनै नगरी हचुवाको भरमा चाकु महर्जन भनीअर्का व्यक्ति यि राजेन्द्र महर्जन लाई अभियोग लगाई कसुरदार बनाएको पाइन्छ । यस्तो प्रतिवादीको सम्वन्धमा यकिन नगर्दा अर्कोलाई मुद्दा चलाउने र सजाय हुन सक्ने अवस्था रहन्छ ।  त्यस्तो निश्चितंताको अभावमा मद्दा चलाउन र कसुरदार वनाउन नमिल्ने हुदाँ प्रतिवादी राजेन्द्र महर्जनले प्रस्तुत मुद्दाबाट सफाइ पाउने ठहर्छ । 

३५.   यसै सन्दर्भमा अभियोग पत्रमा खुलाउनु पर्ने प्रक्रियाको सम्वन्धमा कानुनी व्यवस्था हेर्दा सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा १८ मा उल्लेख भएको व्यहोरा हेर्दा सो दफा १८ मा अभियुक्तको पुरा नाम, थर र वतन मात्र खुलाउनु पर्ने व्यवस्था रहेको पाइयो । जसबाट फरार प्रतिवादीहरुको सम्वन्धमा अभियोग लगाउन र कसुरदार ठहराउन टड्कारो समस्या देखिएको पाइन्छ । जवकी देवानी प्रकृतिको मुद्दामा फिराद दायर गर्दा जिल्ला अदालत नियमावली २०५२ को नियम १९ (ख) मा प्रतिवादीको र थाहा भएसम्म निजको बावुको नाम थर वतन खुलाउनु पर्ने भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त कानुनी व्यवस्था हेर्दा प्रतिवादीको पुरा पहिचान हुन सक्ने अवस्था देखिएन । तसर्थ भविष्यमा वादी नेपाल सरकारको पक्षबाट दायर हुने अभियोग पत्रमा पक्राउ परेका प्रतिवादीको हकमा बाबुको नाम, थर र वतन, प्रतिवादीको परिचयात्मक लिखत प्रमाण जस्तो नागरिकता नंबर,  मतदान परिचय पत्र र शैक्षिक प्रमाणपत्रमा रहेका विवरण खुलाउने, निजको शारिरीक बनौट, अनुहारको आकृति, परिचयात्मक हुने हुलिया, निजको फोटो र ल्याप्चे हस्ताक्षर लगायत अन्य पहिचान हुन सक्ने आधारहरु खुलाउनु पर्ने देखिन्छ । 

३६.   त्यस्तै फरार प्रतिवादीको हकमा निजको बाबु र बाजेको नाम थर र वतन तिन पुस्ते खुल्ने गरी उल्लेख गर्ने । स्थायी र अस्थायी वतन निजको नागरिकता नम्बर मतदाता नामावलीको नम्वर र अन्य लिखत प्रमाण भए सो मा रहेको नाम उपनाम प्रष्ट सँग उल्लेख हुनको लागि महान्याधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयमा निर्देशनात्मक आदेश गरिएको छ । 

३७.   अर्का प्रतिवादी लेकमान महर्जनको पुनरावेदन तर्फ विचार गर्दा निज अदालतमा इन्कार रहेपनि अधिकार प्राप्त अधिकारी समक्ष कसुरमा सावित भइ मिति २०५५।७।२ मा वारदात स्थल भनिएको ललितपुर उपमहानगर पालिकाको वडा नं. ७ सुन्धारा स्थित चौरमा सानमिगेल वियर र च्यालेन्जर हवीस्कीको संयुक्त तत्वधानमा संचालन भएको फेष्टिवल कन्सर्टमा आयोजकको तर्फबाट स्वयंसेवक  खटी सहभागी भएको र राती ९ बजेतिर सो कन्सर्टको गितको धुनमा मृतक प्रेम अवाले र निजका साथीहरुले हुल दगां गर्न लाग्दा सम्झाई बुझाउने सम्मको प्रयास प्रतिवादी लेकमान महर्जनको (ग्रुप) समुहबाट प्रयास गर्दा सम्झाई बुझाउने मृतक प्रेम अवाले झन उत्तेजित भै त्यहाँ भएको इट्टाबाट प्रतिवादी पनि लेकमान महर्जन उपर प्रहार गरेको कारणबाट प्रतिवादी म लगायतका साथीहरुले मृतकलाई समात्ने प्रयास गर्दा त्यहाँबाट भाग्ने क्रममा चपटटोल स्थित कसाइ गल्लीमा लडी हामीहरुले इट्टा र तरवार  र काठको फल्याक बाट प्रहार गर्दा मृतक प्रेम अवाले घाइते भइ पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने वारदातको तथ्यगत विवरणमा प्रष्ट पारी अपराध कसुर स्वीकार गरेको पाइन्छ । सो साविती अधिकार प्राप्त अधिकारीले प्रभावमा पारेको वा अन्य डर धाक देखाएको हो वा कुटपिट गरेको भन्ने कुरा आफ्नो बयानमा जिकिर लिएपनि सो कुराको पुष्टि हुने प्रमाण पेश गर्न सकेको छैन । निजको शरीरमा चोटपटक लागेको भए सो को लागि अदालत समक्ष माग्नु पर्नेमा सो तर्फ माग दावी नरहेकोले अदालतको बयानमा सत्यता रहेको पाइएन । जवकी निज प्रतिवादी लेकमान महर्जनको साविती बयान वारदात स्थल लाश जाच मुचुल्का, शव परिक्षण प्रतिवेदन, जाहेरी दरखास्त र मौकामा कागज गर्ने मनोज महर्जन, अनिल अवाले, विजय अवाले, रविन्द्र अवाले समेतको मौकाको कागज एवं अदालतमा भएको वकपत्र समेतबाट समर्थित भएको पाइन्छ । जहाँ सम्म आफु वारदातको समयमा गुण सिनेमा हलमा डिउटीमा रहेको भन्ने गुण सिनेमा हलको पत्र र निजको साक्षी जनक महर्जन को वकपत्र तर्फ विचार गर्दा गुण सिनेमा हल ललितपुर  उप महानगर पालिका भित्र रहेको र यातायातबाट थोरै समयमा ओहोर दोहोर गर्न सक्न देखिदा निजको अदालतको इन्कारी बयान र गुण सिनेमा हलको पत्र र निजको साक्षीको बकपत्र विश्वास प्रद मान्न मिलेन । 

३८.   तसर्थ उपरोक्त आधा प्रमाणबाट प्रतिवादी लेकमान महर्जनलाई अभियोग दावी अनुसार मुलुकी ऐन ज्यानसम्बन्धी को १३(३) नं. अनुसार जन्म कैदको सजाय हुने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला अन्यथा नभै मिलेकै देखिदा सदर हुन्छ । 

३९.   अव वारदातको अवस्था हेर्दा सानमिगेल वियर र च्यालेन्जर हिवस्की संयुक्त तत्वाधानमा संचालित फेष्टिवल कन्सर्टमा राती ९ बजेको समयमा आधुनिक पप संगितमय अवस्था मा मृतक प्रेम अवाले एवं प्रतिवादी लेकमान महर्जन लगायत युवा केटा हरुले नाचगानको समयमा हलचल गरी नाचगान गर्दे जाँदा हुलमुल हुनु स्वाभाविक नै हुन्छ ।  त्यस्तो हुलमुलमा मृतक प्रेम अवालको समुह र यि प्रतिवादी लेकमान महर्जनको समुहको बीच मा झगडा भै मृतक प्रेम अवालेले पहिला चलाएको इट्टा प्रहारबाट प्रतिवादी लेकमान महर्जन घाइते भएपछि मृतक प्रेम अवालेलाई लखेट्ने खेद्‌ने क्रममा निज भाग्दै जाँदा चपाटो टोलको कसाई गल्लीमा लडेपछि ईट्टा, हतियारले प्रहार गरी घाइते भै उपचारको क्रममा पाटन अस्पतालमा मृतक प्रेम अवालेको मृत्यू भएको देखिन्छ । सो वारदात पूर्व मृतक प्रेम अवाले र यी प्रतिवादी लेकमान महर्जनको बीचमा चिनाजानी र पुर्व रिस राग रिसिइवी केही रहेको पाइदैन । निज मृतक प्रेम अवालेलाई मार्न प्रतिवादी लेकमान महर्जनको कुनै योजना रहेको भने पनि देखिदैन । कन्सर्टमा भएको नाचगानको जरियाबाट झगडा भै तत्कालको स्थितिबाट साधारण कुटपिट भै मृतक प्रेम अवालेको मृत्यु भएको देखिदा प्रतिवादी लेकमान महर्जनलाई ज्यान सम्वन्धि महलको १३(३) नं. बमोजिम जन्म कैदको सजाय गर्दा चर्को पर्न जाने देखिदा ऐन अ.व. १८८ नं. बमोजिम १० (दश) बर्ष मात्र कैद सजाय हुन्छ । प्रतिवादी लेकमान महर्जनको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल बमोजिम गर्नु । 

 

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम प्रतिवादी राजेन्द्र महर्जनले सफाई पाई छुट्टी गएकाले निजको हकमा केही वोलीरहन परेन ..................... १

प्रतिवादी लेकमान महर्जन ले इन्साफ खण्डन ठहरे बमोजिम १० (दश) वर्ष  मात्र कैद सजाय भएको र निज लेकमान महर्जन मिति २०५६।४।१० देखि थुनामा रहेको देखिएकोले सो मितिबाट १० (दस) वर्ष मिति २०६६।४।९ मा भुक्तान हुने हुदाँ सो कैद मुक्तान भएपछि थुनाबाट छाडी दिनु  मनी  निज  थुनामा  रहेको कारागार शाखा नख्खुमा लेखी पठाई दिनु .......................... २

मिसिल नियम बमोजिम बुझाई दिनु ३  

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कल्याण श्रेष्ठ

 

इति सम्वत २०६३ साल भाद्रं १८ गते रोज ६ शुभम..................................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु