निर्णय नं. ७७९२ - लेनदेन

निर्णय नं. ७७९२ ने.का.प.२०६३ अङ्क ११
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
फैसला
संम्वत २०५८ सालको दे.पु.नं.: ७६८७
फैसला मितिः ०६२।११।१।२
मुद्दा : लेनदेन समेत ।
पुनरावेदक/वादीः दाङ जिल्ला डुरुवा गा.वि.स.वडा नं. ३ लुहाडवरा बस्ने
कमान बहादुर खड्का
विरूद्ध
प्रत्यर्थी/प्रतिवादीः दाङ जिल्ला डुरुवा गा.वि.स. वडा नं. ३ लुहाडवरा वस्ने
शिवा कुमारी खड्का
§ अपुताली पाउनेले अपुताली वापत पाउने सम्पत्ति आफ्नो नाममा नामसारी दा.खा गरी हक कायम गरी नलिएसम्म निजले त्यस्तो अपुताली सम्पत्ति खाइसकेको भनी मान्न नमिल्ने।
§ अपुतालीको १५ नं. मा अपुताली खान, पाउनेले अपुताली खान्न भने कर लाग्दैन भन्ने उल्लेख भएको र लेनदेन व्यवहारको २२ नं. ले समेत अपुताली नखानेलाई साहुले पक्रन हुदैन अपुताली खाएपछि साहु तिर्दिन भन्न पनि हुंदैन भन्ने उल्लेख भएबाट पनि अपुताली नखाएसम्म अपुताली खान पाउने हक भएकै आधारमा त्यस्तो व्यक्तिलाई साहुले पक्रन नमिल्ने ।
§ प्रस्तुत मुद्दामा पनि शेर बहादुरको विवादित अपुतालीको सम्पत्ति प्रतिवादी शिवा कुमारीले आफ्नो नाउमा नामसारी गरी खाइसकेको भन्ने नदेखिंएको र निवेदन दिएको भन्ने उल्लेख गरेको भएपनि मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी शिवा कुमारीले नामसारीको लागि मा.पो.का.मा निवेदन दिएको नभै सम्वन्धित गा.वि.स.बाट नामसारीको सिफारिश लिएको सम्म देखिएको र मालपोत कार्यालयबाट अपुतालीको सम्पत्ति प्रतिवादीको नाममा नामसारी दा.खा गर्ने सम्वन्धमा कुनै कार्य नभएकोमा पनि प्रतिवादीले अपुताली खाइसके सरह मानी लेनदेन व्यवहारको २२ नं. को प्रतिकूल भनी मुद्दा दोहोराउने निस्सा प्रदान गर्ने यस अदालतको आदेश अपुतालीको १५ नं. र लेनदेन व्यवहारको २२ नं समेतको विपरित देखिने ।
(प्रकरण नं. १८)
§ कसैले अपुताली खाएको अवस्थामा सो बाट ऋण असुल गर्ने साहुको हक अधिकार लोप हुन नसक्ने परिप्रेक्षमा यी प्रत्यर्थी प्रतिवादीले शेर बहादुरको सम्पत्ति आफुले नामसारी दा. खा गराई नलिएसम्म शेर बहादुरले गरेको लिखत बमोजिमको रकम भराई पाऊ भनी यी प्रतिवादी उपर वादीले फिराद गर्ने कुनै कानूनी आधार तत्काल विद्यमान नदेखिंदा प्रस्तुत मुद्दामा शेर बहादुरले गरिदिएको लिखत अनुसारको सावा व्याज रकम यी प्रतिवादीबाट भराई पाऊ भन्ने वादीको दावी कानून सम्मत नदेखिने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादीका तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश वस्ती
प्रत्यर्थी प्रतिवादीका तर्फबाटः ×
अवलम्बित नजीरः×
फैसला
न्या. राजेन्द्र प्रसाद कोइरालाः न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुल्सीपुरको मिति २०५८।२।१७।४ को फैसला दोहोराउने निस्सा पाई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :-
२. पिता शेर बहादुरले आफ्ना नाममा दर्ता श्रेस्ता भएको दाङ डुरुवा गा.वि.स. वडा नं. ३ क कि.नं. ३२५ मध्ये ०।५।१९ समेतका २ कित्ता जग्गा विगाह ०–६–५ जग्गा मेरा नाममा पारित गरि दिने भनि म बाट रु.४०,०००। बुझि लिई २०५१।३।१५ गते मा राजिनामा गरि दिनु भएकोमा लिखत रजिष्ट्रेशन हुने म्याद वांकी छदै पिताको स्वर्गवास भएकोले अपुताली हक खाने अन्यायवालीलाई उक्त जग्गा रजिष्ट्रेशन गरी दिनु होस भन्दा नमानेकीले उक्त रुपैयाको सावा व्याज दिलाई भराई पाऊ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. फिरादीले रु. ४०,०००। मेरा पतिलाई दिएका होइनन् । नदिएको रुपैया तिर्न बुझाउने पर्ने होइन । विपक्षीले जग्गा विगाह २–०–९ शेष पछिको बकसपत्र गरि लिने र रु. ४०,०००। को राजिनामा पनि गराई लिएको हूंदा उक्त राजिनामा सद्दे किर्ते के रहेछ देख्न सुन्न पाएका वखत नामकरण गर्ने छु भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. वादीले काल्पनीक लिखत खडा गरेको हो । मिति, सही तथा ल्याप्चे सहिछाप प्रतिवादीको पति शेर बहादुरको होइन । लेखत साक्षीहरुले किर्ते गरी खडा गरेको हो भन्ने समेत व्यहोराको प्र.वा.अर्जुन कुमार अधिकारीको बयान ।
५. प्रतिवादीकोपति शेर बहादुरलाई क्यान्सर रोगको बिरामी हुँदा उपचार गर्नका लागि म बाट रुपैया लिनु भएको हो भन्ने समेत व्यहोराको वादीको बयान ।
६. वादी दावी अनुसार प्रतिवादीले रुपैया तिर्न बुझाउन नपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु अदालतको मिति २०५३।९।२९ को फैसला ।
७. सद्दे किर्ते तर्फ केही नवोली गरेको शूरुको फैसला बदर गरि दिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति २०५५।३।१० को फैसला ।
८. अर्के व्यक्तिको सहिछाप किर्ते गरी तमसुक खडा भएको होइन । खुदै शेर बहादुरले कमान बहादुर बाट औषधी उपचार गर्दा साहु ऋण तिर्न भनी शेर बहादुरले २०५१।३।१५ मा कमान बहादुर कै घरमा नर बहादुर, चित्र बहादुर, अम्मर बहादुरका रोहवरमा कर्जा लिई मलाई राजिनामा लेखि दिनु भनेकाले लेखि दिएको हु भन्ने समेत व्यहोराको प्र. हुर्मत बहादुर के.सीले शुरु अदालतमा गरेको बयान ।
९. रु.४०,०००। नगदै बुझी राजिनामाको कागज गरि दिएका हुन राजिनामा भएको सहिछाप शेर बहादुर कै हो भन्ने समेत व्यहोराको प्र. चित्र बहादुर खड्का र प्र. अम्मर खड्काको करिव एकै मिलानको बयान ।
१०. चित्र बहादुर, अम्वर बहादुर, नर बहादुर फड्के साक्षी हो । रोहवरामा राजिनामा खडा भएको ठिक साँचो हो भन्ने समेत व्यहोराको प्रतिवादी चित्र बहादुरको साक्षी श्याम बहादुर के.सी ले शुरु अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।
११. वादीले शिवा कुमारी उपर फिराद दिएकोमा शिवा कुमारी तथा शेर बहादुर विच अंशवण्डा भै सकेको कुरा प्रमाण मिसिल संलग्न वण्डापत्रबाट देखिन आयो । साथै लेनदेन व्यवहारको २२ नं. बमोजिमको दावी पनि नरहेको र शेर बहादुर र शिवा एका सगोलमा रहे बसेको समेत नदेखिएको अवस्थामा शेर बहादुरले तिर्नु बुझाउनु पर्ने उक्त कागज बमोजिको रकम प्रतिवादी शिवा कुमारीले कुन आधारबाट बुझाउनुपर्ने हुन जाने हो, सो सम्वन्धमा वादीले आफ्नो फिरादमा केहि उल्लेख गर्न समेत नसकेको अवस्थामा उक्त कागज बमोजिमको रकम दिलाई पाऊ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शूरु दाङ देउखुरी जिल्ला अदालतको मिति २०५६।११।२६ को फैसला ।
१२. प्र. शिवा कुमारी खड्काले स्व. लोग्ने शेर बहादुर खड्काको अपुताली जग्गा खाएको छैन , भोग चलन गरेको छैन , यसैले लोग्ने शेर बहादुरले खाएको ऋण मैले तिर्नु बुझाउन पर्दैन भनी आफ्नो प्रतिजिकिर गर्न, भन्न, लेख्न नसकेकी र निज प्र. शिवाकुमारी स्व. शेर बहादुरको एकमात्र जिवित पत्नी भएकोले अपुतालीको महलको १,२,१० नं. बमोजिम अपुताली खाने हकवाला निज प्र. शिवा कुमारी भएकीले तथा अन्य टाढाको हकवालाहरु कसैले पनि शेर बहादुरको अपुताली पाउं भनी दावी उजुर समेत कहीं कतै नगरेका र त्यस्तो दावी उजुर गर्ने अपुतालीको महलको २० नं. बमोजिमको हद म्याद समेत समाप्त भै सकेकोले निज प्र. शिवा कुमारीले जहिले सुकै पनि उक्त अपुतालीको जग्गा मा.पो.का. बाट आफ्नो नाउमा दा.खा नामसारी गराउन पाउने हुँदा प्र. शिवा कुमारीले प्रस्तुत मुद्दामा अन्तिम किनारा लाग्दा सम्म उक्त अपुताली जग्गा आफ्नो नाउमा दा.खा. नामसारी नगराई भोग चलन गरी उव्जा आयस्ता खाने र प्रस्तुत मुद्दामा अन्तिम फैसला भएपछि उक्त अपुताली जग्गा आफ्नो नाउमा दा.खा. नामसारी गराई लिई खाने मेरो लेना सांवा व्याज रुपैया भुस तुल्याउने चलाखी गरेको तर्फ शुरु अदालतले दृष्टि नपुर्याई प्रतिवादी शिवा कुमारीको प्रतिउत्तर भन्दा बाहिर गई प्र. शिवा कुमारीले स्व. शेर बहादुरको अपुताली खाएको कुरा स्वीकार गरेको स्थितिमा पनि प्र.शिवा कुमारीले शेर बहादुरको अपुताली नखाएको हुँदा शेर बहादुरले खाएको ऋण तिर्न बुझाउन पर्दैन भनी मलाई हराई भएको उक्त फैसला अपुतालीको महल १,२,१० नं. को सम्वन्धमा तथा प्रमाणको मुल्यांकनको सम्वन्धमा समेत गम्भीर रुपमा कानुनी त्रुटिपूर्ण छ । अतः उल्लेखित आधार प्रमाणबाट शुरु दाङ देउखुरी जि.अ. बाट भएको फैसला बदर गरी मेरो शुरु फिराद दावी तथा बयान जिकिर दावी बमोजिम न्याय दिलाई पाऊ भन्ने समेत व्यहोराको बादी कमान बहादुर खड्काको मिति २०५७।४।६ मा पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१३. यसमा दाङ देउखुरी डुरुवा गा.वि.सको शेर बहादुरको नाउको सम्पत्ति अन्य व्यक्तिको नाउमा नामसारी भई गएको छ, छैन मालपोत कार्यालय दाङमा बुझि आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५७।६।३ को आदेश ।
१४. आदेशनुसार मा.पो.का. दाङबाट आएको पत्र जवाफ मिसिल सामेल रहेको । यसमा मृतक शेर बहादुर र प्रत्यर्थी शिवा कुमारी एका सगोलमा रहे बसेको समेत नदेखिएको र विवादित जग्गा मृतक शेर बहादुरको नाममा हालसम्म कायम रही रहेको अवस्थामा पुनरावेदक र शेर बहादुर बीच भएको लिखतको आधारबाट प्रत्यर्थी शिवा कुमारीबाट रकम दिलाई पाऊ भन्ने वादी दावी नपुग्ने ठहराएको शुरुको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने मिति २०५८।२।१७।४ को पु.वे.अ.तुल्सीपुरको फैसला ।
१५. शेर बहादुरको अपुताली खाने एकमात्र हकवाला प्रतिवादी शिवा कुमारी भएकोमा निजले त्यस्तो अपुताली नामसारी नगरेकै कारणले मात्र अपुताली पर्ने निजको पतिले लिएको ऋण निजले तिर्नु नपर्ने भनी भएको शुरु फैसला सदर गरेको पुनरावदेन अदालत तुल्सीपुरको २०५८।२।१७ को फैसलामा लेनदेन व्यबहारको २२ नं. समेतको त्रुटी देखिदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क)(ख) बमोजिम उक्त फैसला दोहोराई पाऊ भन्ने वादीको निवेदन ।
१६. यसमा विपक्षी प्रतिवादी शिवा कुमारी मृतक शेर बहादुरकी श्रीमती देखिएको, सम्पत्ति मृतक शेर बहादुर कै नाउमा रही निजकी श्रीमती शिवा कुमारीले सो सम्पत्तिमा कारवाही चलाएको समेत देखिएको अवस्थामा वादी दावी नपुग्ने ठहराएको शुरु सदर गरिएको पु.वे.अ.को फैसला लेनदेन व्यवहारको २२ नं. र ने.का.प.२०२५ पृ १८ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५८।६।११।५ को आदेश ।
१७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावदेक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले शेर बहादुरले वादी सँग ऋण लिएको लिखत सद्दे प्रमाणित भएको अवस्थामा शेर बहादुरको श्रीमती शिवा कुमारीले निजको अपुताली खाने भएपछि उक्त लिखत बमोजिमको ऋण पनि शीवा कुमारीले नै तिर्नु पर्नेमा वादी दावी नपुग्ने ठहराएको शुरु फैसला सदर गरेको पु.वे.अ.को फैसला उल्टी भै वादीले दावी बमोजिम लिखतको रकम प्रतिवादीबाट भराई लिन पाउनु पर्छ भनी गर्नु भएको बहस सुनियो । विद्वान अधिवक्ताकोवहस सुनी मिसिल संलग्न कागजातको अध्ययन गर्दा वादी दावी नपुग्ने ठहराएको शुरु फैसला सदर गरेको पु.वे.अ. तुल्सीपुरको फैसला मिलेको छ , छैन ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्छ , पुग्दैन ? निर्णय दिनुपर्ने देखियो ।
१८. निर्णय तर्फ विचारगर्दा पिता शेर बहादुरको नाउमा दर्ता रहेको २ कित्ता जग्गा पारित गरिदिने शर्तमा पिता शेर बहादुरलाई मिति २०५१।३।१५ मा रु.४०,०००। नगद दिई घरसारको राजिनामा लिखत गरेकोमा पिताको मृत्यु भएको र पिता शेर बहादुरको अपुताली प्रतिवादी शिवा कुमारीले पाउने हुँदा उक्त जग्गा प्रतिवादीले रजिष्ट्रेशन पारित पनि गरि नदिएकाले लिखत अनुसारको रकमको सांवा व्याज समेत भराई पाउं भन्ने फिराद दावी भएकोमा उक्त रुपैया वादीले दिएको होइन, लिखत सद्दे किर्ते के हो पछि नामाकरण गर्नेछु, भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । सद्दे किर्तेमा बयान गर्ने क्रममा प्रतिवादीले लिखत किर्ते भनेकोमा शेर बहादुरको उपचार खर्च वापत रकम दिई लिखत लेख्न भनेकाले उक्त लिखत लेखेको हुं भन्ने लेखक साक्षी हुर्मत बहादुर के.सी को बयान भै सोही मिलानको लिखतका अन्तर साक्षी द्वय चित्र बहादुर खड्का र अमर बहादुर खड्काको बयान भएको र सो बयानलाई श्याम बहादुर के.सीको वकपत्र समेतले पुष्टी गरी रहेकोमा विवादित लिखत किर्ते भन्ने प्रतिवादीको भनाई पत्यार लायक देखिन आउदंैन । तथापी उक्त लिखतको रकम प्रतिवादीबाट भराई पाऊ भन्ने वादीको मुख्य फिराद दावी भएकोले सो तर्फ विचारगर्दा, लिखत गरिदिने शेर बहादुरको अपुताली खाने वादी एकमात्र हकवाला भएको भन्ने आधारमा प्रतिवादीबाट लिखत बमोजिको रकम भराई पाऊ भनी वादीले दावी गरेको देखिन्छ । मिसिल संलग्न कागजातबाट शेर बहादुर सँग छुट्टी भिन्न भै बसेकी यी प्रतिवादीले शेर बहादुरको सम्पत्ति अपुताली वापत प्राप्त गरिसकेको भन्ने देखिन आउदैन । अपुताली पाउनेले अपुताली वापत पाउने सम्पत्ति आफ्नो नाममा नामसारी दा.खा गरी हक कायम गरी नलिएसम्म निजले त्यस्तो अपुताली सम्पत्ति खाइसकेको भनी मान्न मिल्दैन । अपुतालीको १५ नं. मा अपुताली खान, पाउनेले अपुताली खान्न भने कर लाग्दैन भन्ने उल्लेख भएको र लेनदेन व्यवहारको २२ नं. ले समेत अपुताली नखानेलाई साहुले पक्रन हुदैन । अपुताली खाएपछि साहु तिर्दिन भन्न पनि हुंदैन भन्ने उल्लेख भएबाट पनि अपुताली नखाएसम्म अपुताली खान पाउने हक भएकै आधारमा त्यस्तो व्यक्तिलाई साहुले पक्रन मिल्ने देखिंदैन । प्रस्तुत मुद्दामा पनि शेर बहादुरको विवादित अपुतालीको सम्पत्ति प्रतिवादी शिवा कुमारीले आफ्नो नाउमा नामसारी गरी खाइसकेको भन्ने पनि नदेखिंएको निवदेन दिएको भन्ने उल्लेख गरेको भएपनि मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी शिवा कुमारीले नामसारीको लागि मा.पो.का.मा निवेदन दिएको नभै सम्वन्धित गा.वि.स.बाट नामसारीको सिफारिश लिएको सम्म देखिएको र मालपोत कार्यालयबाट अपुतालीको सम्पत्ति प्रतिवादीको नाममा नामसारी दा.खा गर्ने सम्वधमा कुनै कार्य नभएकोमा पनि प्रतिवादीले अपुताली खाइसके सरह मानी लेनदेन व्यवहारको २२ नं. को प्रतिकूल भनी मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्ने यस अदालतको मिति २०५८।६।११।५ को आदेश अपुतलाीको १५ नं. र लेनदेन व्यवहारको २२ नं समेतको विपरित देखिंदा उक्त निस्सा प्रदान आदेश सँग सहमत हुन सकिएन ।
१९. कुनै अपुताली खान पाउने व्यक्तिले अपुताली परेको सम्पत्ति आफ्नो नाउमा नामसारी दा.खा. गराई आफ्नो नाउमा नलिएसम्म निजले अपुताली खाएको भन्न नमिल्ने र त्यसरी अपुताली नखाएसम्म अपुताली खान पाउने भएकै आधारमा अपुताली पर्नेको ऋणमा साहुले पक्रन नहुने लेनदेन व्यवहारको २२ नं.ले स्पष्ट व्यवस्था गरेको र अपुताली खाईसकेकोमा भने त्यस्तो ऋण तिर्दिन भन्न नपाइने भनी सोही नं. ले व्यवस्था गरि कसैले अपुताली खाएको अवस्थामा सो बाट ऋण असुल गर्ने साहुको हक अधिकार लोप हुन नसक्ने रहेको परिप्रेक्षमा यी प्रत्यर्थी प्रतिवादीले शेर बहादुरको सम्पत्ति आफुले नामसारी दा.खा गराई नलिएसम्म शेर बहादुरले गरेको लिखत बमोजिमको लिखत रकम भराई पाऊ भनी यी प्रतिवादी उपर वादीले फिराद गर्ने कुनै कानूनी आधार तत्काल विद्यमान नदेखिंदा प्रस्तुत मुद्दामा शेर बहादुरले गरिदिएको लिखत अनुसारको सावा व्याज रकम यी प्रतिवादीबाट भराई पाऊ भन्ने वादीको दावी कानून सम्मत देखिन आएन ।
तसर्थ, माथि उल्लेखित आधार कारणहरुबाट वादी दावीको विवादित जग्गा मृतक शेर बहादुरको नाउमा कायम रही रहेको अवस्थामा पुनरावेदक वादी र शेर बहादुर बीच भएको लिखतको आधारबाट प्रत्यर्थी प्रतिवादी शिव कुमारीबाट रकम दिलाई पाऊ भन्ने वादी दावी पुग्न नसक्ने देखिंदा प्रस्तुत मुद्दामा वादीको उपरोक्त दावी पुग्न नसक्ने ठहराएको शूरुको फैसला सदर गरेको पु.वे.अ.तुल्सीपुरको मिति २०५८।१२।१७ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावदेक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. दामोदर प्रसाद शर्मा
शा.अ. राजेन्द्र थापा
इति सम्वत २०६२ साल फागुण १ गते रोज २ शुभ्म............