शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२४६ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।७।१७।२

०६८-CR-११८३

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : कास्की जिल्ला, अर्मला गा.वि.. वडा नं. ८ बस्ने कुमान गुरूङसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : कृष्णकुमारी सापकोटाको जाहेरीले नेपाल सरकार

 

§  प्रतिवादीहरूले आफूले गल्ती गरेको महसुस गरी आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कामकारवाहीमा सहयोग गरेको भन्ने आधारमा सुरूले अ.बं.१८८ नं.को प्रयोग गरी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्दा  चर्को पर्ने भनी जनही १०/१० वर्षमात्र कैद हुने ठहर्याएको सुरूको राय समर्थन गरेको पुनरावेदन अदालतको राय सम्बन्धमा विचार गर्दा निर्मम तवरले कुटपीट गरेको, घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तवरले रातारात लास जङ्गलमा लगी गाडिएको र घटनापश्चात यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको देखिएको ।

§  ज्यान मारी सकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जङ्गलमा लगी लास गाडी दबाउने प्रयास भएको देखिँदा यसरी अपराध गरेको अवस्थामा प्रतिवादीहरूलाई दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार नदेखिने ।

(प्रकरण नं.)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू लक्ष्मीप्रसाद मैनाली र रामचन्द्र त्रिपाठी

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, .बं. १८८ नं.

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं.

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री नीलकण्ठ उपाध्याय रेग्मी

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या. श्री रामप्रसाद खनाल

            मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ

 

फैसला

            न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पोखराको मिति २०६८।८।२६ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट संयुक्त पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार छ :

            कास्की जिल्ला, अर्मला गा.वि.. वडा नं. ८ तिबेनियास्थित जङ्गलमा वनमासाको झाडीमा आलो माटोले पुरिएको, खन्दै जाँदा ५/५ फिट लम्बाई र ३ फिट चौडाईको खाल्डोमा उत्तर टाउको, दक्षिण गोडा पारी उत्तानो अवस्थामा रहेको मृतक लास फेला परेको, दुबै आँखा बन्द, बायाँतर्फको भाग किचिएको, जिब्रो टोकिएको र बाहिर निस्किएको, घाँटी लुलो भई टाउको लत्रिने भएको, टाउकाको बायाँतर्फ अङ्ग्रेजी भि आकारको ४ इन्च लम्बाईको चोट देखिएको, लास सडी गलीसकेको र दुर्गन्धित अवस्थामा रहेको देखिएको भन्ने व्यहोराको लास जाँच मुचुल्का ।

            कास्की जिल्ला, अर्मला गा.वि.. वडा नं. ९ स्थित रमेश सापकोटाको घरमा दैलो ठेला नजिक गारोको भित्ता उप्किएको र सोही ठाउँमा रमेश सापकोटालाई कुटपीट गरिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।

            वर्ष ४६ को रमेश सापकोटालाई कुमान गुरूङ, ध्रुव गुरूङ, जितबहादुर गुरूङ, ओमप्रकाश गुरूङसमेतले नेत्रप्रसाद

नेपालीको गोरूको खुट्टा काटिदिएको विषयलाई लिएर कुटपीट गरी घाँटी कसी मारी मिति २०६६।५।१९ गते तिबेनिया जङ्गलमा लास गाडेको अवस्थामा लास फेला पारी लास हेर्दा गम्भीर चोटपटक लागेको अवस्था रहेको हुँदा निजहरूले रमेश सापकोटालाई कुटपीट गरी कर्तव्यबाट मारी लास गाडिदिएको हुँदा कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी   दरखास्त ।

            मिति २०६६।५।३ गते बेलुकी २१:५० बजे समयमा कुमान गुरूङसमेत आई नेत्रप्रसाद नेपालीको गोरूले रमेश सापकोटाको घाँस खाई गोरूको खुट्टा काटिदिएको सम्बन्धमा छलफल गर्न मगना गुरूङले बोलाएको छ भनी मलाई रमेश सापकोटाको घरमा पुर्याए । मगना गुरूङले रमेश सापकोटालाई कुटपीट गर्दै थिए । चारजनाले बाँधी हातमुक्का, हँसियाले हानी मरेतुल्य भएको थियो । तैंले कसैलाई बताइस् भने तँलाई पनि मार्छौं भन्दै धम्की दिई रमेश सापकोटालाई कुटपीट गर्दै थिए । चारैजनाले बाँधी हातमुक्का, हँसियाले हानी मरेतुल्य भएको थियो । रमेश सापकोटाको घाँटीमा लगाएको तारले तान्दै तिबेनिया जङ्गलतर्फ लागेका हुन् । म आफ्नो घरमा गै सुतेँ । भोलिपल्ट रमेश सापकोटा हराएको भनी मिटिङ बस्यो । मलाई मिटिङमा नआउनु भनेका हुँदा गइन । १९ गते तिबेनिया जङ्गलमा खाडलमा लास भएको थाहा पाई प्रहरी आई उत्खनन् गर्दा रमेश सापकोटाको लास फेला परेको हो भन्ने व्यहोराको मनबहादुर तामाङको कागज ।

            लास सडी गली सकेको हुँदा मृत्युको कारण एकिन भन्न नसकिने भन्ने व्यहोराको पोस्टमार्टम रिपोर्ट ।

            मिति २०६६।५।२ गतेका दिन दाजुको छोराको मृत्यु भएकाले उक्त ठाउँमा गै घर फर्कँदा गोरूको खुट्टा काटिएको अवस्थामा पाएँ । गोरूले रमेश सापकोटाको पींढीमा रहेको घाँस खाएको देखेको हुँदा निजले गोरूको खुट्टा काटिदिएको विषयमा सोधपुछ गर्न कुमान गुरूङ, ध्रुव गुरूङ, जितबहादुर र ओमप्रकाश गुरूङलाई बताएको थिएँ । मिति २०६६।५।४ गते बिहान रमेश सापकोटा हराएकाले खोजतलास गर्दा अर्मलाको जङ्गलमा खाडलमा गाडिएको अवस्थामा लास फेला पारी प्रहरीले उत्खनन् गरी निकालेको थाहा पाएको हुँ । रमेश सापकोटालाई ओमप्रकाश गुरूङ, कुमान गुरूङ, जितबहादुर गुरूङ र ध्रुव गुरूङसमेतले कर्तव्य गरी लास गाडिदिएको भन्ने व्यहोराको नेत्रप्रसाद नेपालीको कागज ।

            मिति २०६६।५।२ गतेका दिन नेत्र नेपालीको गोरूको खुट्टा कसले काटिदिएको भनी पत्ता लगाउन नेत्र नेपालीले ध्रुव गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र कुमान गुरूङलाई भनेका थिए । मिति २०६६।५।३ गते साँझमा हामी ४ जना भेट भई रमेश सापकोटाको घाँस खाएकाले निजले गोरूको खुट्टा काटिदिएको विषयमा कुराकानी गर्न जाँदा रमेश सापकोटाले विभिन्न कुरा गरेको हुँदा पालैपालो लात मुक्काले हानेका हौं । बिजुलीको तारले घाँटीमा फनफनी बेरी एकातर्फ ध्रुव गुरूङ र जितबहादुर, र अर्कोतर्फ ओमप्रकाश र मैले तानी हातखुट्टा फालेकाले छट्पटाउन छाडे । त्यसपछि हामी चारैजनाले रमेश सापकोटालाई बोरामा हाली जङ्गलमा लगी खाडल खनी गाडेको हो भन्ने व्यहोराको कुमान गुरूङको बयान ।

            मिति २०६६।५।२ गतेका दिन रमेश सापकोटाको घरमा नेत्रप्रसाद नेपालीको गोरूले घाँस खाई गोरूको खुट्टा काटिदिएको विषयमा सोधपुछ गरिदिनुपर्यो भनी नेत्रप्रसाद नेपालीले भनेका थिए । मिति २०६६।५।३ गते साँझमा जितबहादुर गुरूङ, कुमान गुरूङ, ध्रुव गुरूङ र म रमेश सापकोटाको घरामा गै सोधपुछ गर्ने क्रममा निज रमेश सापकोटाले अपशब्द प्रयोग गर्दै गाली गरेको हुँदा ध्रुवले एक थप्पड लगाए । त्यसपछि मसमेतले हात मुक्काले कुटपीट गरी मैले तानी दिँदा छट्पटाउन छाडेपछि निजलाई बोरामा पोको पारी जङ्गलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने व्यहोराको ओमप्रकाश गुरूङको बयान ।

            नेत्रप्रसाद नेपालीको गोरूको खुट्टा काटिएको विषयमा रमेश सापकोटाको घरमा गै सोधपुछ गर्न खोज्दा निजले अपशब्द प्रयोग गर्दै गाली गरेकाले बिजुलीको तारले घाँटीमा फनफनी बेरी कुटपीट गर्दै एकातर्फ कुमान गुरूङ र ओमप्रकाश गुरूङ, र अर्कोतर्फ ध्रुव र मैले तानिदिँदा छट्पटाउन छाडेपछि निजलाई बोरामा पोको पारी जङ्गलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने व्यहोराको जितबहादुर गुरूङको बयान ।

            रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरूले घाँस खाएकाले गोरूको खुट्टा काटिदिएको विषयमा कुराकानी गर्न रमेश सापकोटाको घरमा पुग्दा रमेश सापकोटाले अपशब्द प्रयोग गर्दै गाली गरेकाले बिजुलीको तारले घाँटीमा फनफनी बेरी बाँधी तानिदिँदा छट्पटाउन छाडेपछि बोरामा पोको पारी जङ्गलमा लगी खाडल खनी गाडिदिएको हो भन्ने व्यहोराको ध्रुव गुरूङको बयान ।

            रमेश सापकोटाले गोरूको खुट्टा काटिदिएको विषयमा ध्रुव गुरूङ, कुमान गुरूङ, जितबहादुर गुरूङ र ओमप्रकाश गुरूङले निजलाई कुटपीट गरी बाँधी घाँटी कसी कर्तव्य गरी लासलाई जङ्गलमा लगी गाडिदिएको अवस्थामा लास फेला परेको हो भन्ने व्यहोराको बुझिएका मानिसहरूको कागज ।

            प्रतिवादी कुमान गुरूङसमेत चारैजना प्रतिवादीहरूको साबिती बयान, किटानी जाहेरी, सरिता भण्डारीसमेतका मौकामा बुझिएका व्यक्तिहरूको कागज र घटनास्थल मुचुल्काका आधार प्रमाणबाट मिति २०६६।५।३ गते बेलुकी २१:४५ बजे रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरूको खुट्टा काटिदिएको रिसइबिका कारणले प्रतिवादीहरू कुमान गुरूङ, ध्रुव गुरूङ, ओमप्रकाश गुरूङ र जितबहादुर गुरूङले रमेश सापकोटालाई कुटपीट गरी घाँटीमा बिजुलीको तारले कसी कर्तव्य गरी मारेको देखिएको हुँदा प्रतिवादीहरूले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३() नं अनुसारको कसुर गरेको देखिँदा निजहरूलाई ऐ. १३() नं. अनुसार सजाय गरिपाउँ भन्ने अभियोग मागदावी ।

            नेत्रप्रसाद नेपालीको गोरूले रमेश सापकोटाको घाँस खाइदिएको विषयमा कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र मसमेत मिति २०६६।५।३ गते रमेश सापकोटाको घरमा गै गोरूको खुट्टा काट्न हुन्थेन भन्दा उसले हामीलाई गाली गरेकाले हामी चारैजनाले निजलाई सामान्य कुटपीट गरी आँगनमा छाडिदिएको हो । पछि उनको लास जङ्गलमा गाडिदिएको अवस्थामा फेला परेको थाहा भयो । हामीले उनलाई हतियार प्रयोग गरी कुटपीट गरेको र तारले घाँटीमा कसेर मारी जङ्गलमा लगेर गाडेको होइन । जाहेरी झुट्ठा हो । सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी ध्रुव गुरूङको अदालतमा बयान ।

            मिति २०६६।५।१ गते नेत्रप्रसादको गोरूले आफ्नो घाँस खाएकाले रमेश सापकोटाले गोरूको खुट्टा काटिदिएको विषयमा छलफल गर्न मिति २०६६।५।३ गते कुमान गुरूङ, ओमप्रकाश, ध्रुव गुरूङ र म रमेश सापकोटाको घरमा गै गोरूको खुट्टा काट्न हुन्थेन भनी सम्झाउँदा रक्सी खाई बसेका निज रमेशले गोरूको खुट्टा मात्र होइन तिमीहरूलाई पनि काटिदिन्छु भनी हामीलाई कुटपीट गर्न आई हात हालाहाल हुँदा निज सामान्य घाइते भए । त्यसपछि रक्सी खाएका मान्छेलाई कुटपीट गर्न हुँदैन । भोलिपर्सि कुरा गरौंला भनी त्यहाँबाट आआफ्नो घर गएका हौं । तारले घाँटीमा कसेर मारी जङ्गलमा लगेर गाडेको होइन । उनको मृत्यु कसरी भयो थाहा भएन । जाहेरी झुट्ठा हो । अभियोग दावीबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी जितबहादुर गुरूङको अदालतमा बयान ।

            मिति २०६६।५।१ गते नेत्रप्रसाद नेपालीको गोरूले रमेश सापकोटाको घाँस खाएकाले उसले गोरूको खुट्टा काटिदिएको हुँदा ऐ ३ गते बेलुकी म र अन्य ३ जना प्रतिवादीहरू रमेश सापकोटाको घरमा गै सोधपुछ गर्दा उनले रक्सी खाएका र हामीसँग झगडा गरेकाले २/४ मुक्का हिर्काई ऊ भुइँमा लडेपछि हामी घर गएका हौं । निजलाई कर्तव्य गरी मारेको र तारले तान्दै जङ्गलमा लगेर खाल्डो खनी पुरेको होइन । जाहेरी झुट्ठा हो । म निर्दोष छु । सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी ओमप्रकाश गुरूङको अदालतमा बयान ।

            मिति २०६६।५।१ गते नेत्रप्रसाद नेपालीको गोरूले रमेश सापकोटाको घाँस खाएकाले उनले सो गोरूको खुट्टा

काटिदिएको हुँदा ऐ. ३ गते बेलुकी हामी चारैजना रमेशको घरमा सम्झाइबुझाई गर्दा ऊ रक्सी खाएको र झगडा गर्न लागेकाले हामीले ४/५ थप्पड लगायौं । ऊ भुइँमा लडेपछि हामी घरतिर गएका हौं । निजलाई हामीले मर्ने गरी कुटेको होइन र मरेपछि लतार्दै जङ्गलमा लगेर गाडेको पनि होइन । जाहेरी झुट्ठा हो । म निर्दोष छु । सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी कुमान गुरूङको अदालतमा बयान ।

            रमेश सापकोटाको मृत्यु कर्तव्यबाट भै जङ्गलमा लगी गाडिएकोमा विवाद देखिएन । गोरूको खुट्टा काटेको विषयमा छलफल हुँदा कुटपीट भएको कुरा प्रतिवादीहरूले स्वीकार गरेकै छन् । यी प्रतिवादीहरू बाहेक

अन्यले मारेको भन्ने कतै नहुँदा प्रतिवादी कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र मगना भन्ने ध्रुव गुरूङले रमेश सापकोटालाई कर्तव्य गरी मारेको र यसैको साङ्घातिक चोटले मरेको भन्ने नदेखिँदा सबैलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. ले जन्मकैद हुने ठहर्छ । प्रतिवादीहरूको मृतकसँग कुनै पूर्व रिसइबि देखिँदैन । मृतकले नेत्रप्रसादको गोरूको खुट्टा काटिदिएको विषयमा छलफल गर्नसम्म गएका अवस्थामा भनाभन भै कुटपीट भएको, गोरूको खुट्टा काट्न हुन्थेन भनी सम्झाउँदा उल्टै मृतकले गाली गरेको, प्रतिवादीहरू आफैँ प्रहरीमा उपस्थित भै कानूनबमोजिम होस् भनी अनुसन्धानमा र अदालतमा सत्य कुरा व्यक्त गरी सहयोग गरेको देखिँदा जन्मकैद गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १०/१० वर्ष कैद हुन राय व्यक्त गर्दछु भन्ने व्यहोराको सुरू कास्की जिल्ला अदालतको मिति २०६८।२।४ को फैसला ।

            कास्की जिल्ला अदालतको फैसलामा चित्त बुझेन । घटनास्थल प्रकृति मुचुल्काले कुटपीट भएको स्थानसम्म पनि किटान छैन । उक्त घटना भयो भनिएको ठाउँमा पनि कुनै सङ्केत देखिएको छैन । शव परीक्षण प्रतिवेदनमा लास सडेगलेको हुँदा मृत्युको कारण खुलाउन नसकिने भनिएको छ । तर लासप्रकृति मुचुल्कामा त्यस्तो स्थिति वा चोटपटक र तारले बाँधेको कुनै सङ्केत देखिँदैन । बुझिएका मानिस, स्वयम्जाहेरवाला र मेरा साक्षी जुमप्रसाद गुरूङले मृतक बढी रक्सी सेवन गर्ने अल्कोहलिक भएको भनेको अवस्था छ । केवल अनुमान र शङ्काकै भरमा हामीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था होइन । सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादीहरूको संयुक्त पुनरावेदन जिकिर ।

            पूर्व रिसइबि नभई तत्काल भएको भनाभनबाट सामुहिकरूपले कुटपीट गरेको कारणबाट मृत्यु भएको अवस्थामा ज्यानसम्बन्धीको महलको १३() नं. को सजाय गरेको सुरू कास्की जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, पोखरालाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।५।११ को पुनरावेदन अदालत, पोखराको आदेश ।

            पुनरावेदक प्रतिवादीहरूको सामूहिक कुटपीटको कारण रमेश सापकोटाको मृत्यु भएको, यसैको चोटको कारण मृत्यु भएको भन्ने खुल्न नआएको हुँदा प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याएको र मृतकसँग प्रतावदीहरूको पूर्व रिसइबि केही नभएको, नेत्रप्रसाद नेपालीको गोरूको खुट्टा मृतकले काटिदिएको विषयमा छलफलको क्रममा वादविवाद भै कुटपीट हुन गएको र प्रतिवादीहरूले आफूले गरेको गल्ती महसुस गरी आफैँ प्रहरी कार्यालयमा उपस्थित भई न्यायिक प्रक्रियामा सहयोग गरेको तथ्यलाई विचार गरी प्रतिवादीहरूलाई अ.बं.१८८ नं अनुसार १०/१० वर्ष कैद हुन सुरूले व्यक्त गरेको राय मनासिबै देखिँदा सुरू कास्की जिल्ला अदालतको मिति २०६८।२।४ को फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६८।८।२६ को फैसला ।

            मिति २०६६।५।३ का दिन मृतक रमेश सापकोटाले नेत्रप्रसाद नेपालीको गोरूले आफ्नो घाँस खाएको रिसमा गोरूको खुट्टा काटेको विषयमा त्यसो गर्नु हुन्न भनी सम्झाउँदा बुझाउँदा उल्टै मृतक रमेश सापकोटा हामीमाथि आइलागेकाले हामीबाट सामान्य कुटपीट भएको र सो कुटपीटको कारणले मृत्यु भएको पुष्टि नभएको, जाहेरवालीले घटना प्रत्यक्ष आफूले नदेखी अर्काले भनेको कुराको भरमा जाहेरी दिएकोमा पछि अदालतमा Hostile भएकी, हामी प्रतिवादीहरू आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कारवाहीमा सहयोग गरेको, .बं.११५ नं. बमोजिम बुझिएका घटनाका प्रत्यक्षदर्शी मनबहादुर तामाङले अदालतसमक्ष आई बकपत्र गर्दा घटनामा प्रतिवादीहरूको संलग्नता नरहेको भनी उल्लेख गरेको अवस्थामा हामीहरूउपर कसुर ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीहरूको संयुक्त पुनरावेदनपत्र ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री लक्ष्मीप्रसाद मैनाली र श्री रामचन्द्र त्रिपाठीले वारदातको समयमा प्रतिवादीहरू वारदातस्थलमा रही कुटपीटमा संलग्न रहेको पुष्टि हुँदैमा कर्तव्यतर्फ कसुर ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । जाहेरवाला कृष्ण कुमारी सापकोटाले घटनाको विषयमा आफूले देखेको नभै प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले भनेको भरमा जाहेरी दिएको र अदालतमा Hostile भएको अवस्था छ । साथै प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले समेत अदालतमा आई प्रतिवादीहरू निर्दोष रहेको बताइरहेको अवस्थामा प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न मिल्ने अवस्था छैन । साथै प्रतिवादीहरू आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कारवाहीमा सहयोग गरेको अवस्था हुँदा कसुर ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसला बदर गरी प्रतिवादीहरूले अभियोगदावीबाट सफाइ पाउनुपर्ने हुँदा अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । अब प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय हुने ठहराई प्रतिवादीहरू र मृतकबीचमा कुनै रिसइबि नरहेको र अ.बं. १८८ नं. अनुसार जनही १०/१० वर्ष कैद गर्न उपयुक्त हुने राय पेस गरेको सुरू फैसला सदर गरेको पुनरावदेन अदालतको फैसला मिलेको छ छैन तथा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्तैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

            . निर्णयतर्फ विचार गर्दा कुमान गुरूङ, ओमप्रकाश गुरूङ, जितबहादुर गुरूङ र ध्रुव गुरूङसमेत चारैजना प्रतिवादीहरू नेत्रप्रसाद नेपालीको गोरूले आफ्नो घाँस खाएकाले रमेश सापकोटाले गोरूको खुट्टा काटेको विषयमा मिति २०६६।५।३ दिन छलफल हुँदा आपसमा वादविवाद भनाभन भै रमेश सापकोटालाई हातपात कुटपीट गरेको कुरामा साबित भएको अवस्था छ भने सोही कुटपीटबाट रमेश सापकोटाको मृत्यु भएको देखिन्छ । साथै यी प्रतिवादीहरूको कुटाइबाटै रमेश सापकोटाको मृत्यु भएपछि मृतकको लासलाई तिबेनिया जङ्गलमा लगी खाल्डो खनी गाड्नमा यिनै प्रतिवादीहरूकै संलग्नता रहेको कुरा घटनापश्चात सबै प्रतिवादीहरू फरार रहेबाट पुष्टि हुन आउँछ । प्रस्तुत वारदात मिति २०६६।५।३ गते बेलुका २१:५० बजेको समयमा भएको, मिति २०६६।५।१९ मा लासको घटनास्थल मुचुल्का भएपछि मात्र मृतककी श्रीमती कृष्णकुमारीबाट मिति २०६६।५।२० मा जाहेरी परेको देखिन्छ । घटनापश्चात फरार रहेका यी चारैजना प्रतिवादीहरू भागी भारततर्फ गएकोमा लामो समय पश्चात मात्र मिति २०६७।१।२७ का दिन चारैजनाले आफूहरूले कसुर गरेको कुरा

स्वीकार गरी कानूनबमोजिम होस् भनी संयुक्त निवेदनसाथ जिल्ला प्रहरी कार्यालय, कास्कीसमक्ष उपस्थित भएको देखिन्छ । यसरी वारदातपश्चात तत्काल फरार रही लामो समयपश्चात आफूले कसुर गरेको स्वीकार गरी प्रहरीसमक्ष समर्पण हुनुबाट वारदातमा यी प्रतिवादीहरूको संलग्नता रहेको र वारदातपश्चात यिनै प्रतिवादीहरूले लास तिबेनिया जङ्गलमा लगी गाडेको कुरामा विवाद देखिएन ।

            . यसरी कर्तव्य ज्यानजस्तो गम्भीर अपराध गरी लाससमेत दबाउने काममा यी प्रतिवादीहरूको संलग्नता पुष्टि भइरहेको स्थितिमा वारदातका प्रत्यक्षदर्शी भनिएका मनबहादुर तामाङले अदालतमा आई प्रहरीसमक्ष आफूले गरेको कागजमा लेखिएको कुरा आफ्नो जानकारीमा नभएको र वारदातमा प्रतिवादीहरू संलग्न नरहेको भनेको र जाहेरवाला कृष्णकुमारी सापकोटा अदालतमा Hostile भएकै भरमा यी प्रतिवादीहरू निर्दोष छन् भन्ने निष्कर्षमा पुग्न सकिएन । तसर्थ, यी चारैजना प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम जन्मकैद हुने ठहर्याएको सुरू कास्की जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६८।८।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

            . अब यी प्रतिवादीहरूले आफूले गल्ती गरेको महसुस गरी आफैँ प्रहरीसमक्ष उपस्थित भै न्यायिक कामकारवाहीमा सहयोग गरेको भन्ने आधारमा सुरूले अ.बं.१८८ नं.को प्रयोग गरी प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्दा  चर्को पर्ने भनी जनही १०/१० वर्षमात्र कैद हुने ठहर्याएको सुरूको राय समर्थन गरेको पुनरावेदन अदालतको राय सम्बन्धमा विचार गर्नुपर्ने देखियो । निर्मम तवरले कुटपीट गरेको, घटनामा हँसियासमेतका हतियार प्रयोग भएको, अमानवीय तवरले रातारात लास जङ्गलमा लगी गाडिएको र घटनापश्चात यी प्रतिवादीहरू लामो समयसम्म फरार रहेको देखिन्छ । ज्यान मारी सकेपछि पनि कुनै पछुतो भएको नदेखिई घिसार्दै जङ्गलमा लगी लास गाडी दबाउने प्रयास भएको देखिन्छ । यसरी अपराध गरेको अवस्थाबाट प्रतिवादीहरूतर्फ दया, माया वा नरम दिल गर्नुपर्ने कुनै आधार देखिँदैन । तसर्थ प्रस्तुत मुद्दामा वारदातको दृष्टिबाट भवितव्य हो कि भनी शङ्का गर्नुपर्ने स्थिति पनि नभएको र अपराध गरेको अवस्थाबाट पनि प्रतिवादीहरूलाई जन्मकैद गर्दा चर्को पर्ने नदेखिएको अवस्थामा जिल्ला तथा पुनरावेदन अदालतबाट अ.बं. १८८ नं. अनुरूप जनही १० वर्ष कैद सजाय लगाएको रायसँग सहमत हुन सकिएन । प्रस्तुत फैसलाको जानकारी प्रतिवादीहरूलाई यथाशीघ्र दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.गोविन्दकुमार उपाध्याय

   

इति संवत् २०७१ साल कात्तिक १७ गते रोज २ शुभम् ।

इजलास अधिकृत : विदुर काफ्ले

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु