निर्णय नं. ९२५० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।७।१०।२
०६८-CR-१११९
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला नुवाकोट, छाप गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय, नुवाकोटमा थुनामा रहेका ईरमान तामाङ
विरूद्ध
प्रत्यर्थी/वादी : आसमान तामाङको जाहेरीले नेपाल सरकार
§ मार्ने मनसाय राखी, योजना बनाई जोखिमी हतियारले प्रहार गरी भएको हत्या आवेश प्रेरित हत्याको कोटीमा पर्ने देखिँदैन । आवेश प्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भै आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधाप्राप्त गर्ने ।
(प्रकरण नं. ५)
§ भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभै सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवस वा भवितव्यवस मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको हुन्छ । त्यस्तो अवस्थामा मात्र ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सो अन्तर्गतको सुविधा प्राप्त गर्ने ।
(प्रकरण नं. ६)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता त्रिलोकबहादुर चन्द
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
§ नेकाप २०७०, अङ्क ४, नि.नं. ९००५, पृ. ६२४
§ नेकाप २०७०, अङ्क ६, नि.नं. ९०२७, पृ. ८२७
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, ५, १३(३), १४ नं.
सुरू तहमा फैसला गर्ने :-
मा.जि.न्या श्री मोहनकृष्ण खनाल
पुनरावेदन तहमा फैसला गर्ने :-
मा.न्या.श्री फणिन्द्रदत्त शर्मा
मा.न्या.श्री यज्ञप्रसाद बस्याल
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र निर्णय यस प्रकार छ :
जिल्ला नुवाकोट, छाप गा.वि.स.-३ तामागोडे स्थित पूर्वमा आँपको रूख, पश्चिममा भीमबहादुर तामाङको घर, उत्तरमा श्रीमान तामाङको घर र दक्षिणमा धनबहादुर तामाङको घर यति चारकिल्लाभित्रको स्थानमा मृतक धनबहादुर तामाङको लास रहेको, उक्त लासको दुबै कान र बाँया आँखाको परेलामा नील डाम र चोट रहेको भन्नेसमेत व्यहोराको मिति २०६६।१०।२ गतेको घटनास्थल लास जाँच प्रकृति मुचुल्का ।
मिति २०६६।१०।१ गते अं. १९:३० बजेको समयमा वर्ष ६७ को धनबहादुर तामाङ आफ्नो घरमा बसिरहेको अवस्थामा निजकै कान्छो छोरा वर्ष ३० को ईरमान तामाङले घरायसी कुराकानीको विषयमा विवाद हुँदा निज ईरमान तामाङले निजको बाबु धनबहादुर तामाङलाई लात्ती मुक्काले कन्चट तथा शरीरको विभिन्न भागमा हानी सख्त घाइते बनाएको र निजको सोही चोटको कारणले मृत्यु भएको हुँदा फरार निज ईरमान तामाङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा हदैसम्म कारवाही गरिपाउँ भन्ने व्यहोराको आसमान तामाङको जाहेरी दरखास्त ।
म मिति २०६६।१०।१ गते आफू कार्यरत् रहेको नेपाली सेनाको बन्दोवस्ती कार्य गणबाट आफ्नो घर जिल्ला नुवाकोट, छाप गा.वि.स.-३ तामागोडे गएको थिएँ । अं. १२:०० बजेको समयमा आफ्नो गाउँमा पुगेपछि सोही दिन गाउँमा डोजरले बाटो खनेका रहेछन् । दिनभर सोही स्थानमा बसी साँझ १८:०० बजेको समयमा म आफ्नो घरतर्फ गएको थिएँ । घरमा पुगी बाबु धनबहादुर तामाङलाई भेटी केही कुराकानी गर्नासाथ बाबुले एक्कासी अपशब्द प्रयोग गरी गाली गलौज गर्न लाग्नुभयो । बाबुलाई मैले सम्झाई बुझाई गर्न लाग्दा नमानी तेरो आमा माइत गएकी छे । तेरो आमा आज घरमा भएको भए त्यसलाई मैले मारी दिने थिएँ भनी अति नै आक्रोशित भई कराई मलाई गाली गलौज गरे । बाबुलाई मैले तपाई नकराउनुस् भनी नम्रतापूर्वक भन्दा नमानी बन्चरो समाती घरको भर्याङ, थाममा प्रहार गरी बाबु अति आक्रोशित भएपछि मलाई पनि रिस उठ्यो र मैले बाबुलाई मेरो बाँया हातले जोडले बाबुको कन्चटमा हिर्काई दिएँ । भुइँमा लडेपछि मैले पुनः लडेको स्थानमा नै रिसको झोकमा आफूले लगाएको छालाको जुत्ताले बाबुको शरीरको विभिन्न स्थानमा ६।७ पटक जोडले
हिर्काएँ । भुइँमा ढलेका बाबु एकछिन सम्म नबोले, नचलेपछि धेरै नै चोट लागेछ भनी आत्तिदै गाउँले छिमेकीहरूलाई बोलाई घटनाको बारेमा जानकारी गराई बाबुलाई औषधि उपचार गर्न भनी स्टेचरमा राखी लैजाँदा अं. १०/१५ मिनेटको पैदल दूरीमा पुग्दा बाबुको मृत्यु भएको हो । उक्त मितिमा मेरो बाबु धनबहादुर तामाङलाई मैले घरायसी कुराकानीको सिलसिलमा रिसमा आई लात्ती, मुक्काले हान्दा बाबुको मृत्यु भएको हो भन्ने मिति २०६६।१०।८ गते प्रतिवादी ईरमान तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६६।१०।१ गते साँझ १९.३० बजेको समयमा म आफ्नो घरमा नै थिएँ । उक्त समयमा म परिवारका साथ खाना खान लागेको समयमा मेरै छरछिमेकी धनबहादुर तामाङको घरमा झैझगडा गरेको आवाज सुनी के भएछ भनी त्यसतर्फ जाँदा गाउँका केही मानिसहरू भेला भई सकेका रहेछन् र निजलाई औषधि उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा निज धनबहादुर तामाङको बाटोमा मृत्यु भएको हो । मृतक धनबहादुर तामाङलाई निजकै कान्छो छोरा ईरमान तामाङले कुटपीट गरी घाइते बनाएको र सोही पीडाले गर्दा धनबहादुर तामाङको मृत्यु भएको हो भन्ने व्यहोराको रामबहादुर तामाङले प्रहरीमा गरेको कागज ।
मिति २०६६।१०।१ गते साँझ १९.३० बजेको समयमा हल्लाखल्ला भएको आवाज सुनी के भएछ भनी जाँदा बाबु धनबहादुर तामाङ र छोरा ईरमान तामाङबीच घरायसी विवाद हुँदा छोरा ईरमानले बाबु धनबहादुरलाई लात्ती मुड्की प्रयोग गरी कुटपीट गरी सख्त घाइते बनाएको र सोही चोटको कारणले धनबहादुर तामाङको मृत्यु भएको हो भन्ने व्यहोराको बुझिएका अर्जुन तामाङ र मैले तामाङले प्रहरीमा गरेको कागज ।
Cause of death is blunt force injuries to head and chest भन्ने व्यहोराको मृतक धनबहादुर तामाङको शव परीक्षण प्रतिवेदन ।
यसमा रायसहितप्राप्त हुन आएको सङ्कलित मिसिल घटनास्थल लासजाँच प्रकृति मुचुल्का, जाहेरी दरखास्त, प्रतिवादी ईरमान तामाङको बयान कागज, बुझिएका मानिसहरू रामबहादुर तामाङ, अर्जुन तामाङ र मैते तामाङले गरिदिएको कागज, Autopsy Report लगायत मिसिल संलग्न कागजातहरूको अध्ययन गर्दा मिति २०६६।१०।१ गते साँझ अं. १९.३० बजेको समयमा जिल्ला नुवाकोट, छाप गा.वि.स.-३ तामागोडे बस्ने ईरमान तामाङ र निजकै सहोदर बाबु धनबहादुर तामाङका बीचमा निजहरूकै घरमा घरसायी विवाद हुँदा छोरा ईरमान तामाङले बाबु धनबहादुर तामाङलाई लात्ती, मुड्कीले हिर्काई गारो (भित्ता) मा ठोकाई सख्त घाइते बनाएको र सोही चोटको कारणले धनबहादुरको मृत्यु भएको वारदात स्थापित हुन आएको हुँदा यी प्रतिवादी ईरमान तामाङउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(३) नं. बमोजिमको कसुर अपराधमा सोही १३(३) नं. बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्ने अभियोग मागदावी ।
मिति २०६६।१०।१ गते काठमाडौंबाट घरमा जाँदा गाउँमा नयाँ बाटो डोजरले खनी बनाएको रहेछ र साथीभाइहरू पनि त्यही बाटो बनाएको गाउँमा भेट भयो । तँ पनि आइस् गाउँमा नयाँ बाटो पनि बनिरहेछ भनी सरसल्लाह गरी बेलुकीतिर अब खाजा खान जाउँ भनी गाउँको पसलमा खाजा खाई घरजाने क्रममा बाटोमा बुबाको घर पर्थ्यो । त्यस कारण अब बुबालाई भेटनुपर्यो भनी भित्र पस्दा बुबाले रक्सी खाई कराइरहेका रहेछन् । त्यसपछि मैले बुबालाई आमा खोई भनी सोध्दा तेरो आमा र मेरो झगडा परी मैले आमालाई घरबाट लखेटी दिएँ भने, बुबा रक्सीले मातेका रहेछन् । पख तँ सँग पनि कुरा गर्नुछ भनी माथि चोटाबाट हातमा बन्चरो लिई सबैलाई मारी दिन्छु भनेर भर्याङ र थाममा बन्चरोले हानी मलाईसमेत प्रहार गर्न लाग्नुभयो । त्यसपछि मैले बाँया हातले बन्चरो समाई आफू बच्नको लागि बुबालाई कन्चटमा मुड्कीले हिर्काउँदा रन्थनिएर भित्तामा ठोक्किई बुबा ढल्नुभयो । त्यसै क्रममा मैले फेरि लात्तीले हिर्काएको हो । त्यसपछि मुर्छा पर्नुभयो र मैले गाउँका दाजुभाइलाई बोलाई अस्पताल लाने क्रममा बाटामा बुबा धनबहादुरको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ईरमान तामाङले अदालतसमक्ष गरेको बयान ।
प्रहरीमा मैले धनबहादुरलाई ईरमानले लात्ती मुक्काले हानेको भनेको छैन अरू कुरा मैले भनेबमोजिम लेखेको ठिक छ भनी बुझिएका रामबहादुर तामाङले अदालतमा गरेको बकपत्र ।
चाडबाडमा मर्नेले रक्सी खाएको र प्रतिवादी ईरमान गोश्वारामा जागिरे भएको र चाडबाडको बेला घरमा आएकोमा के निहुँमा बाबु छोराको झगडा भयो । पछि प्रतिवादीले बाबुलाई मैले घचेडी दिएको कारण कानबाट रगत आई मुर्छा परे । अस्पताल लानुपर्यो भनी गाउँलेहरूलाई बोलाएकाले हामीसमेत भई अस्पताल लाने क्रममा बाटामा मृत्यु भएको हो भनी जाहेरवाला आसमान तामाङले अदालतमा गरेको बकपत्र ।
मृतक धनबहादुर तामाङ सधै जाँडरक्सी खाएर हिड्ने मानिस हुन् । प्रतिवादी ईरमान तामाङ पनि चाडबाडको विदामा घर आएको अवस्थामा बाबुले निजलाई काट्छु मार्छु भन्दा रिसको झोकमा हातले धकेलिदिँदा भित्तामा ठोक्किएर निजको मृत्यु भएको हो, ज्यानमार्ने उद्देश्यले धकेलेको नभै भवितव्य हुन गएको हो भन्ने बुझिएका मानिस अर्जुन तामाङ र मैते तामाङसमेतले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीले कन्चट जस्तो मर्मस्थलमा प्रहार गरेमा साबित भएको र अन्य भागमा समेत लात्तीले कुटपीट गरेमा साबित भएको देखिएको छ । Autopsy report बाट मृतकको छाती टाउकोमा गहिरो चोट पुगेको देखिएको छ । टाउकाको हड्डीहरू भाँचिएको समेत Autopsy report बाट देखिएको छ । यस्तो अवस्थामा प्रस्तुत वारदात भवितव्यभित्रको देखिन आएन । चोटको गम्भीर्यतालाई हेर्दा ज्यानसम्बन्धीको महलको १४ नं. भित्रको देखिन आएको हुँदा निजलाई सोही १४ नं. ले १० वर्ष कैदको सजाय हुने ठहर्छ भन्ने मिति २०६७।११।२५ मा नुवाकोट जिल्ला अदालतबाट भएको फैसला ।
मृतक बाबुको आक्रमणबाट बच्न निजको हातको बन्चरो खोसी अर्को हातले बुबालाई धकेल्दा रक्सी खाई मातिएका बाबु भित्तामा टाउको र छाती ठोकिई बजारिन पुग्दा चोट लाग्न गएको हो । मृतक बाबुसँग मेरो कुनै रिसइबि र आपराधिक मनसाय एवम् आपराधिक कार्यसमेत नभएको अवस्थामा उल्लिखित व्यहोराको भवितव्यगत घटनालाई कर्तव्य ज्यान जस्तो बात लगाउनु फौजदारी न्यायको सिद्धान्तविपरीत छ । तसर्थ तथ्यहीन व्यहोराको दावीकै आधारमा मलाई सुरू अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार १०(दश) वर्ष कैद सजाय हुने ठहर्याई भएको इन्साफ त्रुटिपूर्ण भएकाले सो बदर गरी अभियोग दावीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ईरमान तामाङको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
रक्सीले मातेको आफ्नो ६७ वर्षको वृद्ध बाबुलाई ३० वर्षका जवान सैनिक सेवाका प्रतिवादीले एक पटक टाउकोमा हातले हानी धकेलेको मात्र भए भित्तामा ठोकिएर छातीमा समेत चोट लाग्न सक्ने अवस्था नहुने हुँदा प्रतिवादी ईरमान तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम सजाय गर्ने गरी सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०६७।११।२५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६८।५।२७ को फैसला ।
पुनरावेदक अदालतको फैसलामा चित्त बुझेन । म पुनरावेदक मिति २०६९।१०।१ गते काठमाडौंबाट घर जाँदा गाउँमा डोजरले नयाँ बाटो बनाउँदै गरेको र साथी भाइसँग भेट भई बेलुका खाजा खाई घर जाने क्रममा
बाटोमा बुबाको घर पर्ने भएकाले बुबालाई भेटनुपर्यो भनी घरभित्र पस्दा बुबा रक्सी खाई कराएर बसेका रहेछन् । बुबालाई आमा खोई भन्दा मसँग झगडा परी घरबाट लखेटी दिएँ । तँसँग पनि कुरा गर्नु छ भनी मलाई पर्खाई चोटाबाट हातमा बन्चरो लिई सबैलाई मारी दिन्छु भनी भर्याङ र थाममा बन्चरोले हानी मलाईसमेत प्रहार गर्न लागे । त्यसपछि मैले कन्चटमा मुड्कीले हिर्काउँदा रन्थनिएर भित्तामा ठोकिई बुबा ढल्नुभयो । त्यसै क्रममा फेरि लात्तीले हिर्काएको हो । बुबा मुर्छा परेपछि गाउँका दाजुभाइलाई बोलाई अस्पताल लाने क्रममा बाटामा बुबाको मृत्यु भएको यथार्थ विवरण अदालतसमक्षको बयानमा उल्लेख गरेको हो । मैले बुबालाई मार्नुपर्ने अन्य कुनै कारण नभएको, बुबा रक्सीले मातेको अवस्थामा म माथि आइलाग्दा आफ्नो ज्यानको बचाउका खातिर प्रहार गर्दा सोही चोटबाट मृत्यु हुनपुगेको हो । मैले बुबालाई मार्ने नियतसाथ हिर्काएको होइन ज्यान लिने इबिलाग र मनसाय पनि नभएको, मैले हानेको चोटकै कारणबाट बुबाको मृत्यु होला भन्ने
पनि नलागेको तर कुठाउँमा लाग्न गै सोही चोटका कारणले भवितव्य पर्न गै मृत्यु हुनपुगेको हुनाले मलाई भवितव्यअन्तर्गत सजाय गर्नुपर्नेमा आवेश प्रेरितअन्तर्गत सजाय गर्ने गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला न्यायको रोहमा त्रुटिपूर्ण भएकाले बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ईरमान तामाङको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री त्रिलोकबहादुर चन्दले मेरो पक्षले मृतक बाबुलाई ज्यान मार्ने मनसाय राखी योजना बनाई कुटपीट गरी मारेको भन्ने कुरा कहिं कतैबाट खुल्न आएको छैन । बुबाले नै एक्कासी बन्चरो लिई प्रहार गर्न खोज्दा सोबाट बच्न एक हातले बन्चरो समाई अर्को हातले प्रहार गर्दा कुठाउँमा लाग्न गै भवितव्यबाट मृत्यु हुनगएको अवस्था
छ । निजले हानेको चोटकै कारणबाट मृतकको मृत्यु होला भन्ने अवस्था पनि नभएकोमा समेत मेरो पक्षलाई भवितव्यअन्तर्गत सजाय गर्नुपर्नेमा ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम आवेश प्रेरित हत्याको कसुरदार कायम गरी सजाय गरेको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम कानून व्यवसायीले गर्नुभएको बहस सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदक प्रतिवादी ईरमान तामाङले आफ्नै सहोदर बाबु धनबहादुर तामाङलाई लात्ती मुड्कीले हिर्काई भित्तामा ठोक्काई सख्त घाइते बनाएको र सोही चोटको कारणले निजको मृत्यु भएकाले निज प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐजन १३(३) नं. बमोजिमको कसुर अपराधमा ऐजन १३(३) नं. बमोजिमको सजायको अभियोग माग दावी भएको प्रस्तुत मुद्दामा सुरू नुवाकोट जिल्ला अदालतले
निज प्रतिवादी ईरमान तामाङलाई ज्यानसम्बन्धीको महलको १४ नं. को कसुरदार कायम गरी कैद वर्ष १० सजाय गर्ने गरेको फैसला पुनरावेदन अदालत, पाटनबाट सदर भएको र उक्त फैसला बदर गरी भवितव्यको कसुर कायम गरिपाउँ भन्नेसमेतको निज प्रतिवादी ईरमान तामाङको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. यसमा जाहेरवाला आसमान तामाङको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । उक्त जाहेरीमा मृतक दाजु धनबहादुर तामाङलाई निजकै कान्छो छोरा ईरमान तामाङले घरायसी व्यवहार र खानपिनको विषयलाई बाहाना बनाई
आक्रमण गरी कन्चटमा मुक्का प्रहार गरी घरको भित्तामा ठोक्किन गई भुइँमा पल्टिएको र सो कै कारण नाक, कान मुखबाट अत्यधिक रगत बग्न गै निज दाजु धनबहादुरको मृत्यु हुनगएको भनी उल्लेख गरेको देखिन्छ ।
४. निज प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा आफू नेपाली सेनामा कार्यरत् रहेको घर गएको अवस्थामा आफ्नो बाबु मृतक धनबहादुर तामाङलाई भेट्न साँझको समयमा गएको, कुराकानी गर्न लाग्दा बाबुले एक्कासी अपशब्द प्रयोग गरी गाली गलौज गरेको, सम्झाई बुझाई गर्न लाग्दा नमानी बन्चरो समाती घरको भर्याङ, थाममा प्रहार गरी तँलाई पनि मारी दिन्छु भनी मलाई बन्चरो ताकी आक्रोशित भएपछि मलाई पनि रिस उठ्यो र मैले बाबुलाई मेरो बाँया हातले जोडले कन्चटमा हिर्काएँ, मैले हिर्काएको जोडले बाबु घरको गारोमा ठोक्किन पुगे र भुइँमा लडे र मैले पुनः बाबुलाई लडेको स्थानमा नै रिसको झोकमा छालाको जुत्ता लगाएको खुट्टाले जोडसँग शरीरको विभिन्न स्थानमा ६/७ पटकसम्म हिर्काएँ, बाबु सोही स्थानमा ढले, बाबु केहीबेरसम्म नचले नबोलेपछि बाबुलाई धेरै चोट लागेछ कि भनी छिमेकीहरूलाई बोलाई उपचारको लागि काठमाडौं लाँदै गर्दा मृत्यु भएको भनी लेखाएको देखिन्छ । निजले अदालतमा बयान गर्दा अनुसन्धान अधिकारीसमक्ष गरेको उक्त बयानलाई समर्थन हुने गरी लेखाइदिएको र पोस्टमार्टम रिपोर्टमा मृत्युको कारणमा Blunt force injuries to head and chest भन्ने उल्लेख भै टाउको र छातीमा गहिरो चोट लागेको, टाउकोको हड्डीहरू भाँचिएको भन्ने उल्लेख भएको देखिँदा मृतक धनबहादुर तामाङको मृत्यु निजकै छोरा यी पुनरावेदक प्रतिवादीले मुक्का तथा लातले कन्चट, छातीसमेतमा प्रहार गरेको कारणबाट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ ।
५. अब यी पुनरावेदक प्रतिवादीलाई सुरू जिल्ला अदालतले निज आवेशमा आई कुटपीट गरेको कारणबाट मृतकको मृत्यु भएकाले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिमको कसुर कायम गरी कैद वर्ष १० सजाय हुने ठहर्याएको फैसला पुनरावेदन अदालतबाट सदर भएको र यी पुनरावेदकले बुबालाई मार्नुपर्ने रिसइबि तथा मनसाय नभएको, आफूले प्रहार गरेको चोटकै कारणबाट बुबाको मृत्यु होला भन्ने नलागेको तर कुठाउँमा लाग्न गै सोही चोटबाट भवितव्य परी मृत्यु हुनगएकाले उक्त फैसला मिलेको छैन भनी पुनरावेदन जिकिर लिएको देखिँदा निज प्रतिवादीले गरेको कसुर आवेश प्रेरित हत्या हो वा भवितव्य हो भनी निष्कर्षमा पुग्नुपर्ने देखियो । सो सम्बन्धमा प्रचलित नेपाल कानूनमा कस्तो व्यवस्था रहेछ भनी हेर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा “ज्यानमार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इबि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्था अनुसार कुनै हत्या आवेश प्रेरित हत्याको कोटीमा पर्नका लागि प्रतिवादीको मृतकलाई मार्ने मनसाय हुन नहुने, ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइबि हुन नहुने, लुकी चोरी हानेको हुन नहुने तर मौकामा नै कुनै कुरामा उठेको रिस थाम्न नसकी साधारण लाठा, ढुङ्गा, लात, मुक्का आदिले प्रहार गर्दा सोही चोट पीरले मानिस मरेको हुनुपर्दछ । मार्ने मनसाय राखी, योजना बनाई जोखिमी हतियारले प्रहार गरी भएको हत्या आवेश प्रेरित हत्याको कोटीमा पर्ने देखिँदैन । आवेश प्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भै आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधाप्राप्त गर्दछ ।
६. त्यसै गरी ज्यानसम्बन्धीको महलको ५ नं. मा “ज्यान लिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएमा भवितव्य ठहर्छ” भन्ने उल्लेख भएको देखिँदा भवितव्य हत्या हुनका लागि ज्यान लिने मनसाय वा इबि हुन नहुने, आफूले गरेको कुनै कार्यले मानिस मर्ला भन्ने जस्तो देखिन नहुने तर कुनै काम गर्दा दुर्भाग्यवस मानिसलाई लाग्न गै मृत्यु भएको हुनुपर्ने देखिन्छ । भवितव्य हत्यामा प्रतिवादीले मानिसउपर ताकेर प्रहार गरेको नभै सावधानीपूर्वक कुनै कार्य गर्दा दुर्भाग्यवस वा भवितव्यवस मानिसलाई लाग्न गई सो कारणबाट मानिसको मृत्यु भएको हुन्छ । त्यस्तो अवस्थामा मात्र ज्यानसम्बन्धीको महलको ५ नं. आकर्षित हुने र प्रतिवादीले सो अन्तर्गतको सुविधाप्राप्तगर्दछ ।
७. उल्लिखित कानूनी व्यवस्थाको पृष्ठभूमिमा प्रस्तुत वारदातलाई हेर्दा यी पुनरावेदक प्रतिवादी ईरमान तामाङले आफ्नो बाबु मृतक धनबहादुर तामाङले रक्सी खाई मातेको अवस्थामा विवाद गरी बन्चरोले प्रहार गर्न खोजेको अवस्थामा आवेशमा आई मुक्काले कन्चटमा प्रहार गरेको कारणले भित्तामा ठोक्किई भुइँमा लडेको अवस्थामा पुनः छालाका जुत्ता लगाएको खुट्टाले छातीलगायत शरीरका विभिन्न ठाउँमा प्रहार गरेको कारणबाट घाइते भई बेहोस भएको र उपचार गर्न लाने क्रममा बाटा मै मृत्यु भएको देखिएको छ । यसरी यी पुनरावेदक प्रतिवादीले आफ्नो वृद्ध बाबुलाई रिसको आवेगमा एक पटक प्रहार गरी भुइँमा लडिसकेपछि पुनः प्रहार गरेको देखिएको, त्यस्तो कार्यबाट मानिस मर्न सक्ने भन्ने कुरा सामान्य समझको मानिसले स्वतः अनुमान गर्न सक्ने हुँदा आफूले प्रहार गरेको चोटकै कारणबाट बाबुको मृत्यु होला भन्ने नलागेको, कुठाउँमा लाग्न गै भवितव्य पर्न गएको भनी लिएको जिकिर उपर्युक्त कानूनी व्यवस्थाको रोहमा खम्बिर हुन सक्ने देखिएन ।
८. यसै सन्दर्भमा “मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. अनुसारको घटनामा फौजदारी अपराधमा हुने आपराधिक तत्वमध्ये महत्त्वपूर्ण तत्त्व मनसायको अभाव रहने हुन्छ । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान यसमा हुँदैन । कुनै एउटा कामको निमित्त सावधानीसँग सतर्कतापूर्वक गरिरहेको अवस्थामा अचानक केही व्यहोराले अरूलाई लाग्न गएकोमा भवितव्य हुन्छ । भवितव्यबाट सो घटना घट्न गएको हो भन्ने पक्षले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन, उचित सतर्कता र सावधानी राखिएको थियो भन्ने कुराको प्रमाणित गर्नुपर्दछ । अरू नै कुनै केही चीज वस्तुउपर प्रहार गर्दा अचानक मानिसउपर पर्न गै मानिसको मृत्यु भएको हुनुपर्ने” भनी ईश्वर लिम्बु विरूद्ध नेपाल सरकार (नेकाप २०७०, अङ्क ४, नि.नं. ९००५, पृ. ६२४) भएको कर्तव्य ज्यान मुद्दामा व्याख्या भएको साथै “उत्तेजनामा आई चोटमाथि चोट छाडिएको प्रमाणबाट पुष्टि भएको वारदातलाई ज्यानसम्बन्धीको महलको ५ नं. मा वर्णित अन्तर्वस्तुको अभावमा भवितव्य वारदात भन्न नमिल्ने” भनी नेपाल सरकार विरूद्ब नेत्रबहादुर मगरसमेत भएको कर्तव्य ज्यान मुद्दा (नेकाप २०७०, अङ्क ६, नि.नं. ९०२७, पृ. ८२७) मा सिद्धान्त प्रतिपादन भएकोसमेत देखिन्छ । तसर्थ प्रचलित कानून र प्रतिपादित सिद्धान्तको रोहमा प्रस्तुत मुद्दाको वारदातको परिस्थिति र प्रतिवादीको कार्यको विश्लेषण गर्दा प्रस्तुत वारदात भवितव्यअन्तर्गत पर्ने नदेखिई ज्यानसम्बन्धीको महलको १४ नं. को व्यवस्था आकर्षित हुने देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर र निजका तर्फबाट रहनुभएका विद्वान् अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।
९. अतः माथि उल्लिखित आधार कारणबाट यी पुनरावेदक प्रतिवादी ईरमान तामाङले रिसको आवेगमा आफ्नो वृद्ध बाबु धनबहादुर तामाङलाई मुक्का तथा लातले कन्चट, छातीसमेतमा प्रहार गरेको चोटका कारणबाट मृत्यु भएको देखिँदा निज प्रतिवादी ईरमान तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसुरमा सोही नं. बमोजिम कैद वर्ष १० सजाय गर्ने ठहर्याएको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६७।११।२५ को फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६८।५।२७ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. गोविन्दकुमार उपाध्याय
इति संवत् २०७१ कात्तिक १० गते रोज २ शुभम् ।
इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली