निर्णय नं. ९१२५ - कुटपीट अङ्गभङ्ग

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
फैसला मिति : २०७०।३।३०।१
०६७-CR-०७९०
मुद्दा : कुटपीट अङ्गभङ्ग ।
पुनरावेदक/वादी : जितेन्द्रकुमार कविरथको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला सुनसरी, गा.वि.स. प्रकाशपुर वडा नं. ४ बस्ने सुरेन्द्रकुमार कविरथसमेत
§ वारदातका समयमा परेको चोटको असरले गर्दा त्यो अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्चात् त्यो अङ्गले पहिलाको जस्तै काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपीटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्न सकिन्छ । तर उपचारपश्चात् पहिलाको जस्तै त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा बेकम्माको अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून :
§ कुटपीटको महलको १, २ तथा ६ नं. ।
§ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ ।
शुरू तहमा फैसला गर्ने :- मा.जि.न्या.श्री लक्ष्मीकृष्ण श्रेष्ठ
पुनरावेदन तहमा फैसला गर्ने :-
मा.न्या. श्री डम्बरबहादुर साही
मा.न्या. श्री शिवनारायण यादव
फैसला
का.मु.प्र.न्या.दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-
२०६३ जेठ महिनामा सुरेन्द्रकुमार कविरथले जग्गाको विषयलाई लिएर पटकपटक आक्रमण गरी टाउकोसमेत फुटाई दिएकोले मैले यस कार्यालयसमेतमा निवेदन दिएको थिएँ । कारवाही नभएको कारणले निज प्रतिवादीको मनोबल बढी हामीलाई मारी दिने धम्की दिई गाउँघरमा उक्त कुरा भन्दै हिँड्ने गरेका थिए । मिति २०६४।९।२० का दिन जग्गाको पिलरलाई आधार मानी गाउँ समाजको सहमतिबमोजिम जग्गा नापजाँच गर्न लाग्दाका अवस्थामा निज प्रतिवादी सुरेन्द्र र निजको छोरा जयप्रकाशसमेत आई सुरेन्द्रले बोकेको कोदालोको धारतर्फबाट मलाई प्रहार गर्दा मेरो बहिनी ज्वाईँ श्यामसुन्दरले मलाई धकेली बचाउन लाग्दा निज श्यामसुन्दरको काँधमा लाग्न गै गर्धन काटिई निज घाइते भई भूइँमा लडे । त्यसपछि निज प्रतिवादीले मलाईसमेत सोही कोदालोको बीडतर्फबाट प्रहार गर्दा देब्रे नाडीमा लाग्न गै भाँच्चिन गएको छ । श्यामसुन्दरको श्रीमती पारूलदेवी कविरथले हारगुहार गर्दा निजलाईसमेत प्रतिवादीहरूले कुटपीट गरी घाइते बनाएकाले तत्काल गाउँलेहरूको सहयोगमा उपचारार्थ अस्पताल लगेकोले बाँच्न सफल भएकी तर अङ्गभङ्ग पारिदिएकोले पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने जितेन्द्रकुमार कविरथको जाहेरी ।
मिति २०६४।९।२० का दिन ११ बजेको समयमा मेरो खेतको सीमानामा पर्ने स्वरूप कविरथको जग्गाको आलीलाई जाहेरवाला जितेन्द्र कविरथसमेतले सार्दै गरेको भन्ने कुरा सुनी उक्त स्थानमा गई किन यस्तो काम गरेको भनी सोध्दा श्यामसुन्दरसमेतले मलाई लछारपछार गरे । मलाई लछारपछार गरेको देखी मेरो बाबु उक्त स्थानमा जाँदा जितेन्द्र कविरथसँग लछारपछार भएको र सोही अवस्थामा जाहेरवालाको हात भाँच्चिएको हुनुपर्छ जाहेरवालाको मसँग झगडा भएको छैन भन्ने प्रतिवादी सुरेन्द्रकुमार कविरथको बयान ।
मिति २०६४।९।२० गतेका दिन गाउँकै स्वरूप कविरथसँग जग्गाको साँध सीमाना सम्बन्धमा मेरो बाबुको कुरा भएको थियो । म घटनास्थलमा थिइन तर निज जाहेरवाला र मेरो बाबु सुरेन्द्रका बीचमा झै–झगडा भै जितेन्द्रको हात भाँच्चिएको सुनी थाहा पाएको हुँ भन्ने जयप्रकाश कविरथको बयान ।
उक्त वारदातका क्रममा म घटनास्थलमा थिएँ । सुरेन्द्रकुमारसमेतले जितेन्द्रकुमार कविरथलाई कुटपीट गरी हात भाँची दिएका हुन् । निजहरूबीच जग्गाको विषयमा पहिलादेखि नै रिसइबी रहेको र निज सुरेन्द्रले पटकपटक जाहेरवालालाई कुटपीटसमेत गरेकोमा उक्त घटनामा निजले जाहेरवालाको हात भाँच्चिने गरी कुटपीट गरेका हुन् भन्ने बुझिएका श्यामसुन्दर कविरथको कागज ।
उक्त घटनास्थल नजिकै म आफ्नै खेतमा काम गरिरहेको थिएँ । सुरेन्द्रकुमार कविरथसमेतले जितेन्द्र कुमारलाई फरूवाको पासोले कुटपीट गरी हातसमेत भाँचिदिएका हुन् । निज प्रतिवादीहरू र जाहेरवालाका बीचमा पहिलादेखिकै जग्गाको विषयमा वादविवाद रहेकोले पूर्वरिसइबीसमेत थियो भन्ने बुझिएका जोगेन्द्र चन्द्रवंशीको कागज ।
जाहेरीमा उल्लिखित मिति र समयमा सुरेन्द्रकुमार कविरथसमेतले जितेन्द्रकुमार कविरथसमेतलाई कुटपीट गरेको र सोही क्रममा मलाईसमेत निज प्रतिवादीहरूले कुटपीट गरेका हुन् । जाहेरवाला तथा प्रतिवादी सुरेन्द्र कविरथका बीचमा पहिलादेखि नै जग्गासम्बन्धी झै–झगडा भै पूर्व रिसइबीसमेत थियो भन्ने बुझिएकी पारूलदेवी कविरथको कागज ।
मिति २०६४।९।२० गतेका दिन विरूद्ध खण्डमा उल्लेखित प्रतिवादी सुरेन्द्रकुमार कविरथले जाहेरवाला जितेन्द्रकुमार कविरथलाई कोदालोको पछाडिको भागले हिर्काउँदा निजको हात भाँच्चिएको हो । सो स्थानमा निज सुरेन्द्रका छोरा जयप्रकाश कविरथसमेत थिए । निजसमेतले जाहेरवालालाई कुटपीट गरेका हुन् । निजहरूले जाहेरवालालाई पहिला पनि कुटपीट गरेका हुन् भन्ने बुझिएका वस्तुस्थिति मुचुल्काका बेचन कविरथसमेतले गरिदिएको कागज ।
मिति २०६४।९।२० गतेका दिन विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू सुरेन्द्र कविरथसमेतले जग्गा नापजाँच गर्दाको अवस्थामा प्रतिवादी सुरेन्द्रले बोकेको कोदालोले श्यामसुन्दरलाई प्रहार गर्दा निजको काँधमा लाग्न गै काटिएको र जितेन्द्रकुमार कविरथको देब्रे नाडीमा लाग्न गै देब्रे नाडी भाँचिन गएको भन्ने देखिएको छ । जग्गाको वादविवाद झै–झगडामा प्रतिवादीहरू सुरेन्द्र, भिम तथा जयप्रकाशले जाहेरवाला जितेन्द्र कविरथ र पारूलदेवीसमेतलाई कोदालोले प्रहार गरी १/१ वटा हात भाँची अङ्गभङ्गसमेत पारी दिएकोले निजहरूको उक्त कार्य मुलुकी ऐन, कुटपीट महलको १, २ तथा ६ नं. विपरीत कसूर गरेको हुँदा सोही महलको ६ नं. बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको अभियोग माग दावी ।
मैले जाहेरवालालाई कुटपीट गरेको होइन । अभियोगदावीअनुसार कसूर गरेको नहुँदा सजाय हुनुपर्ने होइन । जाहेरवालाको हात भाँच्चिएको नभाँच्चिएको सम्बन्धमा मलाई थाहा भएन । दावीको मिति समयमा म टि.भी. हेरी घरमै बसिराखेको थिएँ । जाहेरी झूठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी जयप्रकाश कविरथले शुरू अदालतमा गरेको बयान ।
मैले जाहेरवालाहरूलाई कुटपीट गरी अङ्गभङ्ग गराएको होइन । को कसले कुटपीट गरेका हुन् सो मलाई थाहा छैन । प्रत्यक्षदर्शी भई कागज गर्नेको भनाई झूठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी सुरेन्द्रकुमार कविरथले शुरू अदालतमा गरेको बयान ।
पीडित पक्षले नै मैले कुटपीट गरेको भनी आरोप लगाउन सकेका छैनन् । मउपर लगाइएको अभियोग दावी झूठ्ठा हुँदा मैले सजाय पाउनुपर्ने होइन । वारदात मितिमा म वारदात स्थलमा नभई राजगंज सिनवारी गएको हुँदा म निर्दोष छु भन्नेसमेत व्यहोराको प्रतिवादी भीम कविरथले गरेको बयान ।
वादी प्रतिवादीका साक्षीहरूले गरेको बकपत्र ।
अस्पतालबाट भएको पीडित जाहेरवालाको घाजाँच प्रतिवेदन ।
प्रतिवादीमध्येका सुरेन्द्रकुमार कविरथले हानेको फरूवाको चोटबाट जाहेरवाला जितेन्द्रकुमार कविरथ र पारूल देवीको दायाँ बायाँ दुबै हात भाँच्चिएको, सो भाँच्चिएको हात हाल काम लाग्ने अवस्थामा रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पुष्टी हुन आएकोले निज प्रतिवादी सुरेन्द्रकुमार कविरथले कुटपीटको महलको १, २ र ६ नं. को कसूर गरेको देखिन आएकोले कुटपीटको ६ नं. अनुसार कैद २ वर्ष सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरूलाई प्राप्त प्रमाणबाट कसूरदार नदेखिँदा सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको शुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।१०।२९ को फैसला ।
पीडित भनिएका जितेन्द्र र पारूलको हड्डी काम लाग्ने अवस्थामा छ भनी परीक्षण प्रतिवेदनमा उल्लेख छ । हात खुट्टा भाँच्चिएको नभई औंला भाँच्चिएको उल्लेख भैरहेको अवस्थामा त्यसलाई अङ्गभङ्ग ठहर्याउन मिल्दैन । पीडित र जाहेरवालाको कथनले अपराध पुष्टि नहुँने हुँदा औंला भाँच्चिएकोमा कुटपीटको ७ नं. अनुरूप अपराध कायम हुनुपर्नेमा ऐनको गलत व्याख्या गरी भएको फैसला उल्टी गरिपाऊँ भन्ने प्रतिवादी सुरेन्द्रकुमार कविरथको पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।
प्रतिवादी सुरेन्द्रकुमार कविरथले मौकामा बयान गर्दा प्रतिवादी भीम कविरथको वारदातमा संलग्नता थियो भनी पोल गरेका र प्रतिवादी जयप्रकाशले मौकामा बयान गर्दा बाबु सुरेन्द्र र जाहेरवालाबीच कुटपीट भई जाहेरवालाको अङ्गभङ्ग भएको हो भनी मौकामा लेखाएका छन् । मौकामा प्रतिवादीहरूले गरेको बयानमा एकरूपता नभई फरकफरक रहेको पाइन्छ । मौकामा बुझिएका मानिसहरूले तीनैजना प्रतिवादीहरूको वारदातमा संलग्नता थियो भनी लेखाई दिएको र अदालतमासमेत वारदातमा इन्कारमा रहने प्रतिवादीहरूले सोको कुनै विश्वासप्रद् प्रमाणसमेत पेश गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरू जयप्रकाश कविरथ र भीम कविरथलाई अभियोग दावीबाट सफाइ दिएको शुरूको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।
घाइतेहरूको भाँच्चिएको हात जोडिएर हाल काम लाग्ने अवस्थामा छ भन्ने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको मिति २०६५।४।२१ को परीक्षण प्रतिवेदनबाट देखिएकोले पुनरावेदक प्रतिवादी महादेव यादवसमेत विरूद्ध प्रत्यर्थी वादी बुदीमा देवी सुडीसमेत भएको कुटपीट मुद्दा (नेकाप २०५५, अंक ६, नि.नं. ६५५६, पृष्ठ ३२८) मा सर्वोच्च अदालतबाट कायम भएको नजीरको परिप्रेक्ष्यमा शुरू इन्साफ फरक पर्न सक्ने देखिएको र घाइते पारूल देवी कविरथले जयप्रकाश र सुरेन्द्रले मिली हानेको हो भनी बकपत्र गरेको देखिएबाट शुरू इन्साफ फरक पर्न सक्ने देखिएकोले अ.बं. २०२ नं. समेतको आधारमा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।६।२७ को आदेश ।
पीडितहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पारूलदेवीको हात हाल काम लाग्ने अवस्थामा रहेको र जितेन्द्रको भाँच्चिएको हड्डी जोडिएर हाल काम लाग्ने अवस्थामा रहेको भन्ने उल्लेख भई जितेन्द्रको हातको एउटा हड्डीमात्र भाँच्चिन गएको र पारूलदेवीको एउटा औंलामात्र भाँच्चिन गई हाल दुबैको हात काम लाग्ने अवस्थाको समेत देखिएबाट प्रस्तुत वारदात अङ्गभङ्ग भन्न नमिल्ने हुँदा शुरू सुनसरी जिल्ला अदालतले कुटपीटको २ नं. अन्तर्गत ऐ.ऐ. ६ नं.बमोजिम सजाय गर्ने गरेको मिति २०६५।१०।२९ को फैसला मिलेको नदेखिँदा बदर भई पीडित पक्षले कुटपीटअन्तर्गत मुद्दा सकार गर्न आए सकार गराई कारवाही गर्नु भनी शुरू जिल्ला अदालतमा लेखी पठाई दिनु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।७।२४ को फैसला ।
पीडितहरूको घा जाँच केश फारामसमेतबाट जितेन्द्र कविरथको बायाँ हातको हड्डी र पारूल कविरथको दायाँ हातको चोर औंला भाँचिएको देखिँदा पीडितहरूको अङ्गभङ्ग भएको तथ्यमा विवाद छैन । मुलुकी ऐन, कुटपीटको महलको ६ नं. मा खत निको भई काम लाग्ने भएमा कम सजाय गर्ने गरी विधिकर्ताले गरेको कानूनी व्यवस्थाबाट पनि हातको हड्डी र औंला भाँच्चिनुमात्र आफैंमा अङ्गभङ्ग परिभाषाभित्र पर्ने र कुनै अङ्ग भाँचिनुको अर्थ त्यो अङ्ग त्यसबखत काम नलाग्ने गरी बेकम्मा हुनु प्रयाप्त हुने देखिन्छ । प्रस्तुत मुद्दामा पनि पीडितहरूको हात र औंला भाँच्चिएको तथ्य स्थापित भई सकेकोमा निजहरूको हात बेकम्मा भएको देखिन नआएको भनी गलत आधारमा कसूर ठहर नगरी दावी परिणत गरेको फैसलामा मुलुकी ऐन, कुटपीटको महलको ६ नं. को व्याख्यात्मक त्रुटि छ ।
मुलुकी ऐन, कुटपीटको महलको २ नं. को कानूनी व्यवस्थासमेतलाई हेर्दा घटित वारदातमा परिणामतः त्यस्ता अङ्गहरू तत्काल बेकम्मा भएमा नै अङ्गभङ्ग कुटपीट हुने देखिन्छ । प्रस्तुत वारदात हुँदा पीडितहरूको हात र औंला भाँच्चिएकोबाट अङ्गभङ्गको वारदात भएको स्पष्ट हुँदा उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा प्रतिवादीहरू सुरेन्द्र कविरथसमेतले कोदालोले जितेन्द्रकुमार कविरथ र पारूलदेवीलाई प्रहार गरी निजहरूको १/१ वटा हात भाँची अङ्गभङ्गसमेत पारी दिएकोले निजहरूलाई कुटपीटको महलको १, २ तथा ६ नं. विपरीत कसूरमा सोही महलको ६ नं.अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा सुरेन्द्रकुमार कविरथले दावीबमोजिम कसूर गरेको ठहर गरी निजलाई कुटपीटको महलको ६ नं. अनुसार कैद २ वर्ष सजाय हुने र अन्य प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर गरेको शुरू सुनसरी जिल्ला अदालतको फैसला बदर गरी पीडितहरूको भाँच्चिएको हात काम लाग्ने अवस्थामा भएको हुँदा पीडित पक्षले कुटपीटअन्तर्र्गत मुद्दा सकार गर्न आए सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम दुनियाँवादी फौजदारी दायरीमा दर्ता गर्नु भनी शुरू जिल्ला अदालतमा लेखी पठाई दिने भनी पुनरावेदन अदालत, विराटनगरबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
३. मुलुकी ऐन, कुटपीटको महलको ६ नं. मा खत निको भई काम लाग्ने भएमा कम सजाय गर्ने गरी विधिकर्ताले गरेको कानूनी व्यवस्थाबाट पनि हातको हड्डी र औंला भाँच्चिनु आफैंमा अङ्गभङ्ग परिभाषाभित्र पर्दछ । कुनै अङ्ग भाँच्चिनुको अर्थ त्यो अङ्ग हाल काम लाग्ने भएपनि वारदातको तत्कालीन अवस्थामा काम नलाग्ने गरी बेकम्मा हुनु नै अङ्गभङ्गको लागि प्रयाप्त आधार हो भनी वादी नेपाल सरकारले यस अदालतमा पुनरावेदन गर्दा उक्त कुराको जिकीर लिएको देखिन्छ । अभियोग दावी एवम् पुनरावेदनमा अङ्गभङ्ग कुटपीटको जिकीर लिएको देखिँदा प्रस्तुत वारदात अङ्गभङ्ग कुटपीटको वारदात हो होइन भन्ने विवादित प्रश्नको निरोपण गर्नुपर्ने देखिन आयो ।
४. प्रतिवादी सुरेन्द्रकुमार कविरथसमेतले शुरू अदालतमा बयान गर्दा जाहेरवाला र पीडित पारूलदेवीलाई कुटपीट नगरेको भनी इन्कार रही बयान गरेता पनि अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मिति २०६४।९।२० का दिन ११ बजेको समयमा प्रतिवादी सुरेन्द्रकुमार कविरथको खेतको सीमानामा पर्ने स्वरूप कविरथको जग्गाको आलीलाई जाहेरवाला जितेन्द्र कविरथसमेतले सार्दै गरेको सुनी उक्त स्थानमा जाँदा विवाद भई आफूलाई श्यामसुन्दरसमेतले लछारपछार गरेकोले बाबु उक्त स्थानमा जाँदा जितेन्द्र कविरथसँग लछारपछार भएको र सोही अवस्थामा जाहेरवालाको हात भाँच्चिएको हुनुपर्छ भनी उल्लेख गरेका छन् । अर्का प्रतिवादी जयप्रकाश कविरथले गरेको बयानमा जाहेरवाला र मेरो बाबु सुरेन्द्रका बीचमा झै–झगडा भै जितेन्द्रको हात भाँच्चिएको सुनी थाहा पाएको हुँ भनी प्रतिवादी सुरेन्द्रकुमार र जाहेरवाला जितेन्द्रकुमारबीच जग्गाको सीमानाको कुरालाई लिएर विवाद भई कुटपीट भएको कुरा उल्लेख गरेका छन् । वस्तुस्थिति मुचुल्काका बेचन कविरथसमेतले गरेको मौकाको कागजमा प्रतिवादी सुरेन्द्रकुमार कविरथले जाहेरवाला जितेन्द्रकुमार कविरथलाई कुटपीट गर्दा निजको हात भाँच्चिएको हो । सो स्थानमा निज सुरेन्द्रका छोरा जयप्रकाश कविरथसमेत थिए भनी आ आफ्नो भनाई लेखाएका र पीडितमध्येकी पारूलदेवीले समेत उक्त घटनामा आफूसमेत घाइते भई आफ्नो हात भाँच्चिएको भनी उल्लेख गरी कागज गरेकी छिन् ।
५. पीडितहरूको घाजाँच प्रतिवेदनमा जितेन्द्रकुमारको Fracture shaft of ulna तथा पारूलको Facture 1st phalanx if ri index finger भनी उल्लेख भएको र जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीको च.नं. २२ मिति २०६५।४।२१ को पत्रमा पीडितहरूको स्वास्थ्य परीक्षण गर्दा पारूलदेवीको हात र जितेन्द्रको हातको भाँच्चिएको हड्डी जोडिएर हाल काम लाग्ने अवस्थामा रहेको भनी प्रतिवेदनमा उल्लेख हुँदा कुटपीटको वारदात भएको तथ्यमा विवाद भएन । अब, उक्त वारदात नेपाल सरकारले दावी लिएबमोजिम अङ्गभङ्ग कुटपीटको वारदात हो होइन भन्नेतर्फ विचार गर्दा मुलुकी ऐन, कुटपीटको महलको २ नं.मा अङ्गभङ्ग कुटपीट सम्बन्धमा देहायको कानूनी व्यवस्था रहेको छ :
२ नं. कुटपीट गर्दा देहायबमोजिम भएमा अङ्गभङ्गको खत ठहर्छ–
आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी अन्धो गरिदिएमा .....................१
नाकको सुङ्घ्ने शक्ति हरण गरिदिएमा .....................................................१
कानको सुन्ने शक्ति हरण गरी बहिरो गरिदिएमा .......................................१
जिब्रोको बोल्ने शक्ति हरण गरिदिएमा .....................................................१
स्वास्नीमानिसको दूध काटी बेकम्मा गरिदिएमा ...........................................१
नल फलको पुरूषत्व शक्ति हीन गरी नपुंसक गरिदिएमा................... .............१
मेरूदण्ड डँडाल्नु, हात, खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएमा.................................................................................१
६. उक्त कानूनी व्यवस्था अनुसार अङ्गभङ्ग कुटपीट वारदात स्थापित हुन माथि उल्लिखित शरीरका कुनै अङ्गमध्ये केही वा सबै वा एक अङ्गलाई काम नलाग्ने किसिमको बनाउनु, उक्त अङ्गलाई शरीरबाट अलग्याउनु वा कामै गर्न नसक्ने गरी बेकाम्मा पारीदिने गरी कुटपीटका कार्य गरेको हुनुपर्दछ ।
७. अन्धो बनाउनु, नाकको सुङ्घ्ने शक्ति हरण गर्नु, बहिरो बनाउनु, स्वास्नीमानिसको दूध काटी बेकम्मा पार्नु, नल फलको पुरूषत्व शक्ति हीन गरी नपुंसक गरिदिनु र मेरूदण्ड डँडाल्नु, हात, खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएको कारण तत्कालीन अवस्थामा र त्यसको निरन्तरतामा कालान्तरसम्म त्यस अङ्गले कुनै काम नगर्नु हो । वारदातका समयमा परेको चोटको असरले गर्दा त्यो अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्चात् त्यो अङ्गले पहिलाको जस्तै काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपीटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्न सकिन्छ । तर उपचारपश्चात् पहिलाको जस्तै त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा बेकम्माको अर्थ गर्न मिल्दैन ।
८. प्रस्तुत कुटपीटको वारदातमा जितेन्द्रकुमार कविरथको बायाँ हातको हड्डी र पारूलदेवीको दायाँ हातको एउटा औंला भाँच्चिन गएकोमा मुद्दा कारवाहीको क्रममा पीडितहरूको हालको स्वास्थ्य परीक्षणका लागि भएको आदेशानुसार जिल्ला स्वास्थ्य कार्यालय, सुनसरीबाट मिति २०६५।४।२१ मा पीडितहरूको स्वास्थ्य परीक्षण गरी दिएको रायमा पीडितहरूमध्ये पारूलदेवी र जितेन्द्रकुमारको हात हाल काम लाग्ने अवस्थामा रहेको भन्ने उल्लेख छ । परीक्षण प्रतिवेदनबाट पीडितहरूको हात हाल काम लाग्ने अवस्थामा रहेको हुँदा काम नलाग्ने गरी बेकम्मा पारी प्रतिवादीहरूबाट अङ्गभङ्ग कुटपीटका कार्य भएको भनी मान्न सक्ने अवस्था देखिएन ।
९. अतः माथि विवेचित आधार र कारणबाट प्रस्तुत वारदातको प्रकृति र त्यसबाट पीडितहरूलाई पर्न गएको चोटको मात्रा, भाँच्चिएको हातको हालको अवस्थाको राय प्रतिवेदनसमेतबाट प्रस्तुत वारदात अङ्गभङ्ग कुटपीटको अन्तर्गतको वारदात नदेखिएबाट प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर गरेको शुरू सुनसरी जिल्ला अदालतको मिति २०६५।१०।२९ को फैसला बदर गरी कुटपीटअन्तर्गत मुद्दा सकार गर्न आए सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम सकार गराई कारवाही गर्न शुरूमा पठाउने ठहर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।७।२४ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या. ज्ञानेन्द्रबहादुर कार्की
इति संवत् २०७० साल असार ३० गते रोज १ शुभम्
इजलास अधिकृत : दीपक ढकाल