निर्णय नं. ७७९७ - कर्तव्यज्यान

निर्णय नं. ७७९७ ने.का.प.२०६३ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलाश
माननीय न्यायाधीश श्री मीन बहादुर रायमाझी
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
फैसला
संवत् २०६२ सालको फौ.पु.नं. : ३२७५
फैसला मितिः ०६३।११।३०।४०
मुद्दा : – कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः धनकुटा जिल्ला, भेडेटार गा.वि.स.वडा नं. ५ घर भई हाल कारागार शाखा विराटनगरमा थुनामा रहेकी कन्यामाया लिम्बु
विरुद्ध
प्रत्यर्थी/वादीः अशोक राईको जाहेरीले नेपाल सरकार
§ प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को हुन जाने देखिँदा अ.वं. १८८ नं. बमोजिम शुरुले ३ वर्ष कैदको सजायँ गर्ने व्यक्त राय मनासिव ठहर्याई पुनरावेदन अदालतबाट समेत सोही रायलाई समर्थन गरेको देखियो । यि प्रतिवादी कन्यामायाको उमेर ३० वर्ष रहेको, निजको ४ जना सन्तान समेत भएको र निजको पति रोजगारको सिलसिलामा २०५७ सालदेखि साउदी अरवमा गएको अवस्थामा निजको गोरेमान राईसँग शारीरिक सम्पर्क हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको मिसिलबाट देखिँदा अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गर्दा प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले शुरु र पुनरावेदन अदालतले ३ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी व्यक्त राय न्यायको दृष्टिले मनासिव हुँदा सदर हुने ।
(प्रकरण नं. २५)
पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ताहरु श्री मीरा ढुंगाना र श्री लोक हरि बस्याल
प्रत्यर्थी वादीका तर्फबाटः विद्वान उप–न्यायाधिवक्ता श्री सूर्यराज दाहाल
अवलम्बित नजीरः ×
फैसला
न्या. मीन बहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : –
२. जिल्ला धनकुटा, भेडेटार गा.वि.स.वडा नं. ३ बस्ने श्रीमति कन्यामाया लिम्बुको श्रीमान् नगेन्द्र लिम्बु मेरो जेठान दाजु नाताको पर्नु हुन्छ । निज २०५७ सालदेखि नै रोजगारीको क्रममा विदेश जानु भएकोमा कन्यामाया लिम्बुले के कस्को अवैध गर्भ बोकी २०६१ साल श्रावण २ गते १० बजेको समयमा महिना पुगेको छोरा जातको नवजात शिशु जन्माई कर्तव्य गरी मारेको अवस्थामा फेला परेको छ भन्ने थाहा पाई गई हेर्दा सोही बमोजिमको फेला परेको हुंदा को कससँग यौन सम्पर्क गरी बच्चा जन्माई मारी फालेको हो ? निजलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको अशोक राईको जाहेरी दरखास्त ।
३. जिल्ला धनकुटा, भेडेटार गा.वि.स.वडा नं. ३ स्थित पूर्वमा गोबिन्द राईको घर, पश्चिममा हरि बहादुर रानाको घर, उत्तरमा गोविन्द लिम्बुको घर, दक्षिण गोरेमान राईको घर, यति ४ किल्ला भित्र मकैबारीमा छोरा जातको नवजात शिशुको लाश घोप्टो अवस्थामा शिशु बच्चाको घाँटी अं. ७ फिट लामो प्लास्टीकको डोरीले वरिपरी ४ फन्का बाँधेको अवस्थामा रहेको भन्ने समेत व्यहोराको घटनास्थल लाश जाँच मुचुल्का ।
४. बुबा २०५७ साल देखिनै बाहिर हुनुहुन्छ । बच्चा आमाले जन्माएपछि मात्र थाहा पाएको हुँ, को कस्को गर्भ हो ? जीउदो मरेको वा के कस्तो थियो मलाई थाहा छैन भन्ने समेत व्यहोराको नगेन्द्र लिम्बुको छोरा मनोज लिम्बुले प्रहरीमा गरिदिएको कागज ।
५. मेरो श्रीमान्, २०५७ सालदेखि साउदी अरबमा काम गर्न जानु भएको हो, हालसम्म घर आउनु भएको छैन । २०६० साल असोज कार्तिक तिर म भरखर नछुने भएको थिए । त्यो बखत छिमेकी गोरेमान राई आई मलाई करणी गरी हिड्यो । त्यो भन्दा अघि पनि पटक पटक करणी गरेको थियो । पछिल्लो पटक २०६० असोज कार्तिक तिरको करणीबाट गर्भ रही २०६१ साल आषाढ ३१ गते राती अं. १२ बजे आफ्नै घरमा मरेको बच्चा जन्मीयो । रूने कराउने चलमलाउने नगरेकोले बच्चा बोकी लैजान घिन लागि डोरीले बाधी गोरेमान राईको मकैको बारीमा फाली दिए भन्ने समेत व्यहोराको प्रतिवादी कन्यामाया लिम्बुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।
६. कन्यामाया लिम्बु मेरो घर छिमेकी भएकोले र निजको श्रीमान २०५७ सालदेखि नै विदेश तर्फ गएकोले म निजसँग मादक पदार्थ खाँदै बस्दा २०५८ सालदेखि नै करणी गर्न थालेको हुँ । २०६० साल असोज कार्तिक तिर गरेको करणीको कारण गर्भ रहेपछि ३–४ महिनापछि गर्भ रह्यो, अस्पतालमा गएर फालौं भनेकीमा खर्च नभएकोले पछि जन्मिएपछि मारेर फाल्नुपर्छ भनेका थिए भन्ने समेत व्यहोराको प्रतिवादी गोरेमान राईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज ।
७. नवजात शिशु, उमेर पुगि जन्मेको र जीउँदो जन्मिएको हो भन्ने समेत व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाको शव परीक्षण प्रतिवेदन ।
८. प्रतिवादी कन्यामाया लिम्बुले नवजात शिशु छोरा जातको बच्चा जन्माई फालेको भन्ने सुनी थाहा पाएको हुँ, जीउँदो वा मरेको जन्मिएको थाहा छैन मेरा ससुरा गोरेमान राईले निजसँग अवैध यौन सम्पर्क गरे नगरेको समेत थाहा छैन भन्ने समेत व्यहोराको सीता राईले प्रहरीमा गरेको कागज ।
९. प्रतिवादीहरु कन्यामाया लिम्बु र गोरेमान बीच अवैध यौन सम्बन्ध राखी गर्भ रही कन्यामाया लिम्बुले नवजात शिशु छोरा जातको बच्चा जन्माई दुवैको सहमतीमा नवजात शिशुलाई मारी फालेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरु हरि माया याम्फुङ राई, पदम बहादुर आले, गोविन्द कटुवाल, कृष्ण बहादुर लिम्बु र कर्ण बहादुर राईले गरिदिएको कागज ।
१०. बच्चा जन्मिएपछि बच्चाकी आमा कन्यामाया लिम्बुले दुध ख्वाउने आदि आमाले गर्नुपर्ने दायित्व पुरा नगरेको, बच्चा जन्मिएपछि बच्चालाई प्लास्टिकको डोरीले घाँटीमा बाँधी घिसार्दै मकैबारीमा लगि फालेको कार्यबाट बच्चाको मृत्यु भएको कुरा प्रतिवादीको बयान र शव परीक्षण प्रतिवेदन समेतबाट देखिन्छ । मिसिल संलग्न कागजातहरु अध्ययन गर्दा प्रतिवादी कन्यामाया लिम्बुले आफूले जन्माएको बच्चाको ज्यान मार्ने गैह्र कुरा गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. र १३(३) नं. को कसुर अपराध गरेको देखिएकोले प्रतिवादी कन्यामाया लिम्बुलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजायको माग दावी गरिन्छ । प्रतिवादी गोरेमान राईले बच्चाको ज्यान मार्नेमा बचन दिई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. र १३(४) नं. को कसुर गरेको देखिएकोले प्रतिवादी गोरेमान राईलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १३(४) नं. बमोजिम मागदावी गरिन्छ भन्ने समेत व्यहोराको जिल्ला सरकारी वकिल कार्यालय धनकुटाको अभियोग पत्र ।
११. मिति २०६१।३।३१ गते रातीको समयमा मरेको अवस्थाको नचल्मलाएको बच्चा जन्मिए पछि मैले डर लागि हातले समाउन घिन लागि मरेको बच्चालाई नछुनु भन्ने सुनी आएकोले उक्त मृतक बच्चालाई प्लास्टीकको डोरीले बाँधी पोको पारी घर माथिको जंगलमा एक्लै लगि गाडेको हो । भन्ने समेत व्यहोराको प्रतिवादी कन्यामाया लिम्बुले शुरु धनकुटा जिल्ला अदालतमा गरेको बयान ।
१२. कन्यामाया लिम्बुको श्रीमान् विदेश गएको र मैले पनि रक्सी खाएकोले २०६० साल कार्तिक मंसिर तिर यौन सम्पर्क भएको थियो । कन्यामाया लिम्बुले गर्भ रह्यो भनि भनेको पनि थिएन । निजलाई बच्चा जन्मिएपछि मार्नुपर्छ भनि भनेको होईन । बच्चा फाल्नमा पनि मेरो सहमति, सहयोग केही छैन भन्ने समेत व्यहोराको प्रतिवादी गोरेमान राईले शुरु धनकुटा जिल्ला अदालतमा गरेको बयान कागज ।
१३. जीउँदो वा मरेको बच्चा कस्तो जन्मिएको हो मलाई थाहा छैन, मैले देखेको होईन । कन्यामाया लिम्बुले जीउँदो बच्चा जन्माई मारी फालेकोमा विश्वास लाग्दैन भन्ने समेत व्यहोराको जाहेरवाला अशोक राई, प्रहरीमा कागज गर्ने सीता राई, र वस्तुस्थिति मुचुल्काका पद्म बहादुर आलेले शुरु धनकुटा जिल्ला अदालतमा गरेको एकै मिलानको बकपत्र ।
१४. प्रतिवादी कन्यामाया लिम्बुले बच्चा जन्माएका बखत सो स्थानमा उपस्थित नदेखिएको तथा मार्नलाई बचन दिएको भन्ने स्पष्ट नदेखिँदा निज प्रतिवादी गोरेमान राईले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ । नवजात शिशु प्लास्टिकको डोरीले बाँधी पोको पारी फालेको कुरामा अदालतमा सावित भएको अवस्था हुँदा प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । साथै उक्त कसुर मनसाय प्रेरित नभई परपुरुषसँगको शारीरिक सम्पर्कबाट जन्मिएको बच्चालाई लोक लाजबाट जोगिनसम्म उक्त कसुर गरेको देखिँदा अ.वं. १८८ नं. बमोजिम निजलाई ३(तीन) वर्षको कैद सजायँ गर्नेगरी राय व्यक्त भएको समेत व्यहोराको शुरु धनकुटा जिल्ला अदालतको मिति २०६१।६।११।२ को फैसला ।
१५. मृतक बच्चालाई प्लास्टिकको डोरीले बाँधी पोको पारी फालेको मात्र हो । जातक बच्चालाई कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी साक्षीको अभाव रहेको छ । मैले २०६१।३।३१ गते बच्चा जन्माएको तर शव परीक्षण ०६१।४।३ गते मात्र भएको अवस्थामा अदालतमा उपस्थित नभएको चिकित्सकको रायलाई समेत आधार मानी कानून विपरित मलाई सर्वस्व सहित जन्मकैद गरेको शुरु धनकुटा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक कन्यामाया लिम्बुको कारागार शाखा धनकुटा मार्फत पुनरावेदन अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
१६. मिसिल संलग्न कागजातबाट प्रतिवादी गोरेमान राईको सल्लाह र सहमतिबाटै प्रतिवादी कन्यामाया लिम्बुले बच्चा जन्माई फालेको कुरा निर्विवाद रुपमा पुष्टि भएको अवस्था विद्यमान रहँदा प्रतिवादी गोरेमान राईलाई सफाई दिने गरी भएको शुरु धनकुटा जिल्ला अदालतको फैसला मिलेको नदेखिएकोले सो हदसम्म उक्त फैसला बदर गरी अभियोग माग दावी बमोजिम सजाय हुन वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत धनकुटामा पर्न आएको पुनरावेदन पत्र ।
१७. प्रतिवादी गोरेमान राईले ओरपित कसूरबाट सफाई पाउन र प्रतिवादी कन्यामाया लिम्बुलाई नवजात जन्मेको बच्चाको घाँटीमा बाधेको डोरीको कारणबाट मृत्यु भएको देखिएकोले कसूरदार ठहर्याई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर गरी प्रतिवादी कन्यामाया लिम्बुलाई अ.वं. १८८ नं. बमोजिम ३ वर्ष कैद हुने गरी राय जाहेर गरेको शुरु धनकुटा जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०६२।१।१९ को फैसला ।
१८. जातक बच्चाको शव परिक्षण गर्ने चिकित्सकलाई प्रमाण ऐन २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम अदालतमा उपस्थित गराई जिरह गर्ने मौका दिई परिक्षण गराउनु पर्नेमा गराइएको छैन । बच्चालाई मैले कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शीको अभाव छ । स्वयं जाहेरवाला अशोक राईले कन्यामाया लिम्बुले जिउँदो बच्चा जन्माई मारी फालेको विश्वास लाग्दैन भनी अदालतमा बकपत्र गरेका छन् । शंकाको भरमा अपराधी घोषित गर्नु न्याय संगत नहुने भनी सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्त समेतको विपरित हुने गरी शुरु जिल्ला अदालतको फैसला सदर ठहर्याई भएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट फूर्सद दिलाई न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कन्यामाया लिम्बुको यस अदालतमा परेको पुनरावेदन ।
१९. यसमा मृतक बच्चाको शव परीक्षण गरी प्रतिवेदन दिने चिकित्सकलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम बकपत्र नगराई निजको रायलाई प्रमाणमा लिई प्रतिवादीलाई कसूरदार ठहराई भएको पुनरावेदन अदालत धनकुटाको फैसला उक्त कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा त्रुटीपूर्ण भई फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिनु । साथै शव परीक्षण गरी प्रतिवेदन दिने धनकुटा अस्पतालका डाक्टर अर्चन अधिकारी हाल कहाँ कार्यरत रहेका छन् । सम्बन्धित निकायमा बुझि निज कार्यरत रहेको इलाकाको जिल्ला अदालत मार्फत बन्द सवालद्वारा बकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।३।१८ को आदेश ।
२०. नियम बमोजिम पेशी सूचीमा चढी इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मीरा ढुंगानाले कन्यामायाको इच्छा विरुद्ध भएको सम्बन्धले गर्दा बच्चा जन्मेको भन्ने कुराको प्रमाण गोरेमान राईको वारीमा लगी बच्चा फालेबाट पुष्टि हुन्छ । साथै बच्चा जन्मदा चलमलाएको थिएन भनी कन्यामायाले बयान गरेबाट बच्चा जिउंदो नजन्मेको प्रष्ट हुँदा प्रतिवादी कन्यामायालाई अभियोग दावीबाट सफाई दिनुपर्छ । पुनरावेदक तर्फबाटै उपस्थित अर्का विद्वान अधिवक्ता श्री लोक हरि बस्यालले कन्यामायाले प्रहरी र अदालतमा आई बयान गर्दा मरेको बच्चा जन्मेको र मरेको बच्चालाई नछुनु भन्ने सुनेकोले अलग्गैबाट प्लाष्टिकको डोरीले बाँधी घिसार्दै लगेको भनी भनेबाट प्रतिवादी कन्यामायाले मरेको बच्चा जन्माई फालेबाट अभियोग दावीबाट सफाई पाउनु पर्छ भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
२१. प्रत्यर्क्षी नेपाल सरकारको तर्फबाट विद्वान उप न्यायाधिवक्ता श्री सूर्य राज दाहालले शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण घाँटीमा पासो लगाएकोले श्वास प्रश्वास अवरुद्ध भई मृत्यु भएको भन्ने कुरालाई शव परीक्षण गर्ने डाक्टरले अदालतमा आई गरेको बकपत्रले समेत पुष्टि गरेको हुँदा प्रतिवादी कन्यामायाले जिउँदो बच्चा जन्माई घाँटीमा डोरीले कसी मारेको प्रमाणित भएकोले अभियोग दावी बमोजिम सजायँ होस् भन्ने व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
२२. विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, धनकुटाको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्तैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२३. निर्णय तर्फ विचार गर्दा कन्यामाया लिम्बुले बच्चा जन्मेपछि बच्चालाई प्लाष्टिकको डोरीले घांटीमा बाँधी मारी घिसार्दै मकै बारीमा लगि फालेकोले निजलाई ज्यान सम्बन्धीको १३ (३) नं. बमोजिम र प्रतिवादी गोरेमान राईलाई सोही ऐनको १३(४) बमोजिम सजाय गरी पाउँ भन्ने अभियोग माग दावी रहेको देखिन्छ । प्रतिवादी गोरेमान राईले आरोपित कसूरबाट सफाई पाउने र प्रतिवादी कन्यामाया लिम्बुले बच्चा जन्माई मारेको देखिंदा निजलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ भै अ.वं. १८८ बमोजिम ३ वर्षमात्र कैदको सजायँ गर्न उपयुक्त हुने भन्ने शुरु धनकुटा जिल्ला अदालतबाट भएको फैसला उपर प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालत धनकुटाबाट शुरु अदालतबाट भएको अ.वं. १८८ नं. बमोजिमको राय सहितको फैसला सदर हुने ठहर्याई भएको फैसला उपर प्रतिवादीको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको पाइन्छ ।
२४. प्रतिवादी कन्यामाया लिम्बुले आफ्नो लोग्ने रोजगारीको लागि साउदी अरव गएको र गोरेमान राईसंग भएको शारीरिक सम्पर्कको कारण गर्भ रही २०६१।३।३१ गते राती बच्चा जन्मियो । बच्चा चलमलाउने समेत केही नगरेकोले मरेको बच्चालाई फाल्नु पर्यो भनी सोची बोकेर लैजान घिन लाग्यो र बच्चाको घांटीमा डोरीले बांधी घिसार्दै गोरेमान राईको मकैवारीमा फालेको भनी अधिकार प्राप्त अधिकारी एवं अदालतमा समेत सोही व्यहोराको बयान गरेको देखिन्छ । मिसिल संलग्न शव परीक्षण प्रतिवेदन हेर्दा "cause of death is asphyxia due to ligature around the neck" भन्ने उल्लेख भएको पाइन्छ भने बच्चा उमेर पुगी जन्मेको र जिउंदो जन्मेको भन्ने व्यहोरा समेत लास जाँच रिपोर्टबाट देखिन्छ । प्रतिवादी कन्यामाया लिम्बुले जिउंदो बच्चा जन्माई डोरीले घांटी कसी मारी फालेको भन्ने तथ्य प्रतिवादीकै बयानबाट पुष्टि हुन आएबाट निज प्रतिवादी कन्यामाया लिम्बुलाई अभियोग माग दावी बमोजिम मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सजायँ हुने गरी भएको शुरु धनकुटा जिल्ला अदालतको फैसलालाई सदर ठहर्याई भएको पुनरावेदन अदालत धनकुटाको मिति २०६२।१।१९ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन ।
२५. प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को हुन जाने देखिदा अ.वं. १८८ नं. बमोजिम शुरुले ३ वर्ष कैदको सजायँ गर्ने व्यक्त राय मनासिव ठहर्याई पुनरावेदन अदालत धनकुटाबाट समेत सोही रायलाई समर्थन गरेको देखियो । यि प्रतिवादी कन्यामायाको उमेर ३० वर्ष रहेको, निजको ४ जना सन्तान समेत भएको र निजको पति रोजगारको सिलसिलामा २०५७ सालदेखि साउदी अरवमा गएको अवस्थामा निजको गोरेमान राईसँग शारीरिक सम्पर्क हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्नबाट अभियोग बमोजिम अपराध गरेको र वास्तविक तथ्यलाई स्वीकार गरी न्यायिक कार्यलाई सहयोग पुर्याएको र साथै निजको कलिला सन्तान उपरको जिम्मेवारी निजले कैदमा बसेर पुरा गर्न सम्भव नभएको अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गर्दा प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले शुरू र पुनरावेदन अदालतले ३ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी व्यक्त रायमा न्यायको दृष्टिले मनासिव हुँदा सदर हुन्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथी इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय हुने ठहर्याई अ.वं. १८८ नं. बमोजिम ३ वर्ष मात्र कैद सजाय हुने भनी फैसला भएकोले प्रतिवादी कन्यामाया लिम्बुलाई सोही बमोजिम ३ वर्षको कैदको लगत कस्नुभनी शुरु धनकुटा जिल्ला अदालतमा लेखी पठाईदिनु ...........१
मिसिल नियमानुसार बुझाई दिनु ....१
उक्त रायमा सहमत छु ।
न्या. शारदा श्रेष्ठ
फैसला तयार गर्ने शा.अ. हरि कोइराला
ईति संवत् २०६३ साल फागुण ३० गते रोज ४ शुभम् ..........................।