निर्णय नं. ७७९९ - नामसारी हक कायम

निर्णय नं. ७७९९ ने.का.प.२०६३ अङ्क १२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री शारदा प्रसाद पण्डित
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
फैसला
सम्वत् २०५९ सालको दे.पु.नं.८९९९
सम्बत् २०६१ सालको दे.पु.नं.९१५७
फैसला मितिः ०६३।११।१०।५
मुद्दाः नामसारी हक कायम ।
पुनरावेदक/वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.१ घर भै हाल का.जि. का.म.न.पा. वडा नं.८ बस्ने ऋद्धिकुमारी कार्की समेत
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला झापा धरमपुर गा.वि.स.वडा नं.८ बस्ने ऋतध्वज कार्की भन्ने ऋद्धि वहादुर कार्की समेत
पुनरावेदक/प्रतिवादीः प्रतिजिल्ला झापा धरमपुर गा.वि.स.वडा नं.८ बस्ने ऋतध्वज कार्की भन्ने ऋद्धि वहादुर कार्की समेत
विरुद्ध
प्रत्यर्थी/वादीः का.जि.का.म.न.पा. वडा नं.३३ ज्ञानेश्वर बस्ने सरिता कुमारी कार्की (थापा) समेत
§ अपुतालीको क्षेत्रमा मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा नभएमा छोरीले अपुताली पाउने गरी अपुतालीमा एकाउदरलाई प्राथमिकता दिई अपुतालीको १० र १२ नं.को व्याख्यामा छोरा भनेको ठाउँमा सौतेनी छोरा पनि हुने भनी व्याख्या गर्न नमिल्ने कुरालाई पुष्ट्याई दिइएको पाइन्छ । यसरी एकाउदरका छोरीले स्व.आमाको अपुताली आधासम्म मात्र पाउने भन्ने पुनरावेदन अदालतको निष्कर्ष कानून र न्याय सम्मत भएको नपाइने ।
(प्रकरण नं. १८)
§ पुनरावेदक प्रतिवादीहरु वादीहरुको आमाबाट भिन्न भएको भन्ने कुरा वण्डापत्रबाट देखिएको समेत हुँदा भिन्न भई सकेका प्रतिवादीहरुले सौतेनी आमाको स्याहार सुसार गरेको अनुमान गर्नु स्वाभाविक देखिन नआउँदा स्याहार गरेको भन्ने आधारमा पुनरावेदक प्रतिवादीहरुको अपुतालीमा हक पुग्न नसक्ने ।
(प्रकरण नं. २१)
§ रजिष्ट्रेशन महलको १ नं. अनुसार छुट्टि भिन्न भएकोमा संगोलमा बसेको भन्ने कुरा पारित लिखतबाट प्रमाणित नभएको अवस्थामा संगोलमा बसेको भन्न नमिल्ने ।
(प्रकरण नं. २२)
§ पालन पोषण समेत गरेको भनी पुरै अपुतालीमा दावी गरेकोमा शुरु जिल्ला अदालतले अपुतालीको ११ नं. र पुनरावेदन अदालतले एैजनको १० नं. को आधार लिएर आधा आधा गर्ने गरेको फैसला सो हदसम्म कानुन र न्यायसम्मत नदेखिने ।
(प्रकरण नं. २४)
§ पुनरावेदन अदालतले अपुतालीको १० नं. बमोजिम आधा ऐन बमोजिमका हकवाला वादीहरुको र बाँकी आधा अपुताली हक मृतकको स्याहार सम्भार गरी मृत्यु पश्चात काजक्रिया गर्ने हकवाला प्रतिवादीहरुको कायम हुने ठहर्याएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भै अपुतालीको सम्पत्तिमा वादीहरुको मात्र हक कायम हुने ।
(प्रकरण नं. २५)
पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ता श्री प्रकाश राउत
प्रत्यर्थी वादीका तर्फबाटः विद्धान अधिवक्ता श्री मिथिलेश कुमार सिंह
अवलम्बित नजीरः
फैसला
न्या. शारदा प्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत इलामको मिति २०५६।४।१६।१ को फैसला उपर वादी प्रतिवादीको दुवै तर्फबाट मुद्दा दोहोर्याई हेरी पाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : –
२. पिता रेवन्त बहादुरका ३ पत्नीमा जेठी पत्नीका सन्तान नभएका, माईली तर्फका जिवित सन्तानमा प्रतिवादीहरु ३ जना रहनु भएको र कान्छी रमाकुमारीका सन्तानहरु फिरादीहरु ३ छोरी मात्रै हौं । पिता रेवन्त वहादुरको २०२० सालमा परलोक भयो । आमा रमाकुमारी २०२० साल मै छुट्टी भिन्न हुनु भएको र रेखदेख, पालन पोषण दवाई उपचार हामीले नै गरेका हौं र स्वर्गवास भएपछि काजक्रिया समेत गरेका हौं । आमा रमाकुमारी परलोक हूँदा निजका नाउँको जम्मा ३–८–० जग्गा दर्ता रहेकोमा विपक्षीहरुले सौतेनी छोराहरुको नाता देखाई नामसारी गर्न मा.पो.का.मा निवेदन दिएको रहेछ । मा.पो.का.ले २१ दिने सूचना जारी गरी प्रतिवादीहरुका नाममा नामसारी गरी दिने निर्णय गरेकोमा पुनरावेदन गर्दा हक बेहकको प्रश्न उठेकोमा हक बेहकमा जान सुनाउने फैसला भै हक कायम गरी ल्याउने भनी सुनाएकोले फिराद गरेका छौं । आमाको अपुताली छोरा वा छोरी ज्वाईले पाउने हुँदा उक्त ज.वि.३–८–० जग्गा हामी फिरादीहरुका नाउँमा नामसारी हुने हक कायम गरी नामसारी समेत गरी पाउँ भन्ने समेत व्यहोराको २०५३।५।२५ को तिनै जना वादीहरुको संयुक्त फिराद पत्र ।
३. स्व.पिता रेवन्त वहादुरका ३ पत्नीमा जेठी भक्तमाया भन्ने महेश कुमारीको कुनै सन्तान भएनन् र निज जिवितै हुनुहुन्छ । माहिली रुद्र कुमारीवाट हामी प्रतिवादीहरुको जायजन्म भयो । निजको २०४८।९।१८ मा मृत्यु भयो । कान्छी रमा कुमारीबाट कुनै छोरा नभै विपक्षी छोरीहरुको जायजन्म भएको हो । निज रमा कुमारीको २०५१।५।१० मा मृत्यु भएको र निजलाई मुखाग्नी दिने कार्य म प्रतिवादी ऋद्धि वहादुरले गरेको र सुद्धाई तथा श्राद्ध समेत प्रतिवादीले नै गरेको हो । अपुतालीको १० नं. मा अंश लिई छुटिएकी स्वास्नी मरी भने छोरा भए छोराले र छोरा नभए लोग्नेले पाउँछ । यि नभए सौतेनी छोराले पाउँछ भन्ने कानूनी व्यवस्था भएकोले विपक्षीहरुको खारेज हुनुपर्ने झुठ्ठा फिराद दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको तिनै जना प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भै मिसिल संलग्न रहेको ।
५. वादीहरु विवाहीत जीवन बिताई अन्यत्र रहेका, प्रतिवादीहरुले स्व.रमाकुमारीबाट अचल सम्पत्ति बिक्री दिनेको छोराको हैसियतले मिति २०५१।१।३ को पारित लिखतमा साक्षी बसेको, विराटनगर ठेगाना भएको आमालाई अन्यत्र काठमाडौ, जनकपुर ठेगाना भएका वादीहरुले जीवनभर पालन पोषण गरेको नदेखिने, काजक्रिया प्रतिवादीबाट भएको तथ्यलाई वादीकै साक्षीले स्वीकारेका समेतका आधार प्रमाणबाट स्व.रमा कुमारीको जीवन कालमा वादीहरुले अचल सम्पत्ति बकसपत्र पारित गरी लिई सकेको लिखत तथा स्व.रमाकुमारी प्रतिवादीहरुको सँग साथमा बसाई सरी गएको समेतका आधारबाट प्रतिवादीहरुले नै पालन तालन र कृया कार्य समेत गरेको तथ्य पुष्टी हुन आएकोले अपुतालीका ११ नं.अनुसारको अचल सम्पत्तिमा ऐन बमोमिजका हकवाला वादीहरुको र बाँकी आधा रमाकुमारीको स्याहार सम्भार गरी मृत्यु पश्चात काजक्रिया समेत गरेका हकवाला प्रतिवादीहरुकै हकको रहने हुँदा वादीहरुको आधामा मात्र अपुताली हक कायम हुने ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको मिति २०५४।९।२३ को फैसला ।
६. आमा रमाकुमारीको अपुतालीको हक अपुतालीको २, ३ नं.ले समेत हामीहरुले प्राप्त गर्ने र २०४९।१।१८ को राजीनामामा म ऋद्धिकुमारी संरक्षक बसेकी, २०४९।३।३१ को शेषपछिको बकसपत्रको लिखतमा तिमी छोरीहरुले सेवा सुसार गरी आई रहेकाले भन्ने उल्लेख भएको हामी वादीहरुले आमालाई मैले भेलोर र वीर हस्पिटल लगायत अन्य क्लिनिकमा लगि उपचार गराएको र त्रि.वि.शिक्षण अस्पतालमा मृत्यु हुँदा लास समेत हामीले बुझी लिएको प्रमाणहरु हामीले पेश गरेकोबाट हामी वादीहरुले आमाको पालन पोषण उपचार र मृत्युपछि काजक्रिया समेत गराएको पुष्टी भै रहेको र हाम्रा साक्षीको बकसपत्रबाट समेत सो तथ्य पुष्टी भएकोमा पनि छुट्टी भिन्न भै सकेकी आमाको ठेगाना र हामीहरुको ठेगाना अलग अलग भएको आधारमा मात्र आधा सम्पत्तिमा मात्र हाम्रो अपुताली हक कायम हुने गरेको शुरुको फैसला मिलेको नहुँदा पूरै अचल सम्पत्तिमा हामीहरुको हक कायम गरी पाउँ भन्ने समेत वादीहरुको संयुक्त पुनरावेदन पत्र ।
७. स्व.आमा रमाकुमारी २०२० साल मै छुट्टी भिन्न भएको, पिताको २०२० साल मै मृत्यु भएको र रमाकुमारीका छोरा नभएको तथ्य वादीहरुले नै स्वीकारे पछि अंश लिई छुट्टी भिन्न बसेकी स्वास्नी मानिसको अपुताली, अपुतालीको १० नं. बमोजिम छोरा भए छोराले, छोरा नभए लोग्नेले र छोरा लोग्ने नभए सौतेनी छोरीले पाउने व्यवस्था भएकोमा आधामा मात्र हाम्रो हक हुने गरेको शुरु फैसला मिलेको नहुँदा पूरै जग्गामा हाम्रो हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त पुनरावेदन पत्र ।
८. मुलुकी ऐन, अपुतालीको महलको १० नं. अनुसार आधा ऐन बमोजिमका हकवाला वादीहरुको र बाँकी आधा मृतक रमाकुमारीको स्याहार सम्भार गरी मृत्यु पश्चात काजकृया गर्ने हकवाला प्रतिवादीहरुको हकमा रहने ठहराई वादीहरुको आधा जग्गामा मात्र हक कायम हुने ठहराएको शुरु झापा जिल्ला अदालतको मिति २०५४।९।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०५६।४।१६।१ को फैसला ।
९. हाम्रो तर्फबाट लगाइएको खर्चमा विपक्षीहरुबाट गरिएको काजकृयाले अपुतालीमा विपक्षीहरुले आधा हक पाउन सक्ने गरी कुनै पनि कानूनले विपक्षीलाई हकदैया वा अधिकार प्रदान गरेको छैन । २०२० सालमै अंश भाग विपक्षीहरुले बुझी अलग बस्दै आएको भए पनि हामी निवेदीकाहरुले आमाको जीवनकालमा बकसपत्रबाट अचल सम्पत्ति पाई सकेकोबाट आमाको पालनपोषण र काजक्रिया विपक्षी प्रतिवादीहरुबाटै भएको पुष्टी हुन आएको देखिएको भन्ने आधारबाट आधा सम्पत्तिमा मात्र हक कायम हुन्छ भन्नु सरासर गलत छ । अचल सम्पत्तिको आधार नै हेर्ने हो भने पनि करोडौं रुपैयाँको सम्पत्ति विपक्षीहरुले अंश भाग पाई आपसमा अंशवण्डा गराएको मिति २०५०।१।१८ को लिखतले पनि स्पष्ट गरेको छ । आफ्नो एकाउदरको छोरा नभएमा मुलुकी ऐन अपुतालीको २ नं.ले र पालनपोषण गरेमा पनि ३ नं.बमोजिम एकाउदरकी छोरीहरुले अपुतालीको सम्पूर्ण सम्पत्तिमा हक पाउने स्पष्ट रुपमा किटानी रहेको कानूनको गलत व्याख्या गरी तथा यस सम्मानित अदालतबाट प्रतिपादित ने.का.प.२०५३ अंक ९ पृष्ठ ६९७ नि.नं.६२६२ सूर्य वहादुर थापा विरुद्ध धन कुमारी सारु मगर भएको अपुताली हक कायम मुद्दाको नजिरको पालना नगरी पुनरावेदन अदालत इलामबाट भएको फैसला त्रुटीपूर्ण हुँदा हाम्रो फिराद दावी बमोजिमको स्व.आमाको नामको सम्पूर्ण सम्पत्तिमा नामसारी दर्ता हक कायम गराई न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
१०. रेवन्त बहादुर कार्कीको कान्छी श्रीमती रमा कुमारी २०२० सालमा भिन्न भई अलग बसेको निजको कोही छोरा नभई तीन छोरी वादीहरुको मात्र जायजन्म भएको भन्ने देखिन्छ । वादीहरुले आफ्नो आमा रमा कुमारीको रेखदेख, पालन पोषण, औषधोपचार र स्वर्गवासपछि काजक्रिया समेत गरेको भन्ने वादी दावी रहेको पाईन्छ । यस्तो अवस्थामा मर्नेको अपुताली अपुतालीको महलको २ नं.बमोजिम हुनेमा शुरु झापा जिल्ला अदालतले ११ न.बमोजिम सौतेनी माईली तर्फका छोरा प्रतिवादीहरुलाई आधामा हक कायम हुने ठहर्याएको फैसलालाई पुनरावेदन अदालत इलामले १० नं.लगाई सदर गरेको फैसलामा ने.का.प.२०५३ अंक ९ नि.नं.६२६२ पृष्ठ ६९७ मा प्रतिपादित सिद्धान्तको विपरित र अपुतालीको महलको २, १० र ११ नं.समेतको व्याख्यात्मक त्रुटी विद्यमान देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५८।१२।२७।३ को आदेश ।
११. अपुतालीको ११ नं.ले छोरा छोरीले सम्भार नगर्दा हकवाला वा दाजुभाईले स्याहार सम्भार गरेको रहेछ भनी त्यो मरी अपुताली पर्यो भने त्यो अपुतालीको चलमा सबै र अचलमा आधा सो स्याहार सम्भार गर्ने हकवाला दाजुभाइले र आधा ऐन बमोजिमका हकवालाले पाउँछ भन्ने व्यवस्था छ । मृतक रमा कुमारीको हामी निवेदकहरु छोरा र विपक्षीहरु विवाहित छोरी भएको कुरामा कुनै विवाद छैन । यस्तो अवस्थामा हामीले स्याहार सम्भार र औषधी उपचार गरेको र निजको मृत्यु पश्चात दाहसंस्कार पनि हामीले नै गरेकोले पहिलो हक हामी छोराहरुको हुने कुरा निर्विवादित छ । यस्तो अवस्थामा शुरु जिल्ला अदालतले हामी प्रतिवादीहरुको आधा जग्गामा मात्र हक कायम हुने ठहर्याएको फैसलालाई पुनरावेदन अदालतबाट सदर गरेको गम्भिर कानूनी त्रुटीपूर्ण हुँदा आंशिक उल्टी गरी हामी पुनरावेदक प्रतिवादीहरुको एकलौटी कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन ।
१२. रमा कुमारीको नाउँमा दर्ता रहेको जग्गा निज स्वर्गीय भएपछि अपुताली निजको बिहे भएको छोरीले पाउने वा सौतेनी छोराले पाउने भनी दुवै पक्षमा विवाद उत्पन्न भएको देखियो । रमा कुमारी स्वर्गीय हुनु भन्दा अघि २०५१ सालमा आफ्नो नाउँमा दर्ता रहेको जग्गा राजिनामा गर्दा निवेदकलाई साक्षीमा राखेको देखिन्छ । स्व.रमा कुमारीको रेखदेख स्याहार सम्भार निजकी छोरीले नै गरेको भए राजिनामाको लिखतमा निवेदकलाई साक्षी राख्नु पर्ने अवस्था नै हुने थिएन । आफ्नो छोरा छोरीले हेरविचार नगरी हकवालाले हेरविचार गरेमा चलमा सबै र अचलमा आधीसम्म तीन पुस्ताभित्रको हकवालाले पाउने भनी अपुतालीको ११ नं.मा उल्लेख भएको देखिन्छ । उल्लिखित परिप्रेक्ष्यमा पुनरावेदन अदालत इलामको फैसलामा अपुतालीको ११ नं.को त्रुटी विद्यमान रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)क अनुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिदिएको छ । विपक्षी झिकाई लगाउँको दे.पु.नं.८९९९को पुनरावेदन समेत साथै नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६१।१०।२५।२ को आदेश ।
१३. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो । पुनरावेदक वादी तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री प्रकाश राउतले मिति २०५०।१।१८ र.नं.९८१७ को प्रतिवादीहरुकै वण्डापत्रको लिखतमा “कान्छी सौतेनी आमा रमाकुमारी कार्कीले अगाडि २०२० सालतिरै आफ्नो सौतेनी अंश भाग लिई भिन्न भै सकेकी हुँदा” भन्ने शव्द परेकोबाट हाम्रो आमा २०२० सालबाटै अंश भाग लिई अलग बस्दै आएको तथ्य स्थापित भएको छ । साथै अपुतालीको २ नं.बमोजिम मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा कोही नभएकोले छोरीले अपुताली पाउने स्वतः प्रष्टै छ । यसरी एकाउदरका छोरीहरु वादीले अपुताली पाउने स्पष्टै देखिएको अवस्थामा आधामा वादीहरुको मात्र हक पुग्ने गरेको पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी गरी पूरै जग्गामा अपुताली हक कायम गरी पाउँ भनी बहस गर्नु भयो । प्रत्यर्थी पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री मिथिलेश कुमार सिंहले २०२० सालमा छुट्टि भिन्न भएको छ भनेतापनि अंशवण्डा भएको विधिवत लिखत छैन । यसरी विधिवत् अंशवण्डाको लिखत नभएपछि हालसम्म सगोलमै प्रतिवादीहरुसँग रहे बसेको प्रमाणित हुन्छ । साथै यो सम्पत्ति पनि पति स्व.रेवन्त वहादुर कार्कीबाटै हक हस्तान्तरण भै आएको पैत्रिक सम्पत्ति भएको कुरामा पनि विवाद नभएको तथा विवाहिता ३ छोरीहरुको वतन काठमाडौं र जनकपुरमा देखाइएको छ र जग्गा बिक्री गर्दा प्रतिवादी छोरा साक्षी बसेको, आमा रमाकुमारीको पालन पोषण काजक्रिया प्रतिवादीहरुले नै गरेको भनी वादीहरुकै साक्षीहरुले भनेको अवस्थामा मुलुकी ऐन, अपुतालीको महल (दशौं संशोधन २०५०) को १० नं.बमोजिम छोरा, लोग्ने नभए सौतेनी छोराले अपुताली पाउने व्यवस्था हुँदा हुँदै आधामा मात्र प्रतिवादीहरुले पाउने गरेको पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा पूरै जग्गामा प्रतिवादीहरुको हक कायम गरी पाउँ भनी बहस गर्नु भयो ।
१४. उपर्युक्त विद्धान कानून व्यवसायीहरुको बहस जिकिरलाई मध्यनजर गरी प्रस्तुत मुद्दामा निम्न प्रश्नहरुमा निर्णय गर्नुपर्ने भएको छ :–
(१) स्व.रमा कुमारीको सम्पत्ति सहोदर छोरीले पाउने हो वा सौतेनी छोराहरुले पनि पाउने हो ?
(२) शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन ? र
(३) पुनरावेदक वादी र प्रतिवादी दुवैको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
निर्णयतर्फ विचार गर्दा आमा रमाकुमारीका छोरा नभएका र पिताको २०२० साल मै मृत्यु भएको हुँदा हामी छोरीहरुले आमालाई जीवित छउन्जेल पालन पोषण, उपचार र मृत्युपछि काजक्रिया समेत गरेकोले निजका नाउँमा रहेको अचल सम्पत्ति झापा तोपगांछी वडा नं.६ को कि.नं.८१९ को ज.वि.०–८–० र कि.नं.८१८ को ज.वि.३–०–० गरी जम्मा ज.वि.३–८–० जग्गामा हाम्रो हक कायम गरी नामसारी समेत गरी पाउँ भन्ने वादी दावी भएको देखिन्छ । यसको प्रतिवादमा स्व.आमा रमाकुमारीलाई हामीले पालन पोषण गरी मृत्यु पछि काजक्रिया समेत गरेको र अपुतालीका १० नं.बमोजिम हामी नजिकका हकवाला हुँदा निजका नाउँको अचल सम्पत्ति हामीले पाउनु पर्ने हो वादीहरुले पालन पोषण समेत नगरेको हुँदा निजहरुले पाउने होइन भनी प्रतिउत्तर जिकिर भै विवाद उत्पन्न भएको पाइन्छ । शुरु जिल्ला अदालतले स्व.रमाकुमारीका नाउँको चल सम्पत्तिमा आधा वादीहरु र आधा प्रतिवादीहरुको हक कायम हुने ठहराई गरेको फैसला पुनरावेदन अदालतबाट सदर कायम गरे उपर सबै सम्पत्तिमा आफ्नै हक हुनु पर्ने भनी वादी प्रतिवादी दुवै थरले चित्त नबुझाई यस अदालतमा पुनरावेदन गरेको अवस्था छ । प्रस्तुत, मुद्दामा पहिलो प्रश्नतर्फ विचार गर्दा स्व.रेवन्त वहादुर कार्कीका ३ वटी श्रीमतीमा जेठी भक्तमाया कार्की भन्ने महेश कुमारी, माहिली स्व.रुक्मीणी भन्ने इन्द्र कुमारी पट्टीबाट ३ छोराहरु तथा कान्छी रमाकुमारी पट्टी ३ छोरीहरुको जायजन्म भएकोमा २०२० मा नै बाबु रेवन्त वहादुर कार्कीको मृत्यु भैसकेको देखिन्छ ।
१५. मिति २०५१।५।१० मा रमाकुमारीको पनि मृत्यु भएकोमा वादीहरु क्रमशः ऋद्धि कुमारी कार्की, सरिता कुमारी कार्की (थापा) र अनिता कार्की (थापा) निज रमा कुमारीका सहोदर छोरी भएको तथ्यमा विवाद देखिदैन । प्रतिवादीहरु क्रमशः ऋद्धि वहादुर कार्की, गणेश सिंह कार्की र ज्ञानेन्द्र मान सिंह कार्की निज स्वः रमाकुमारी कार्कीका सौतेनी पट्टिका छोराहरु हुन भन्ने कुरामा पनि विवाद नभएको र स्व.रमाकुमारी २०२० सालमा नै छुट्टी भिन्न भैसकेको भन्ने तथ्य प्रतिवादीहरुको र.नं.८९१० मिति २०५०।१।१८ को वण्डापत्रको लिखतबाटै स्पष्ट भएको छ ।
१६. जहाँसम्म दावीको जायजेथामा वादी वा प्रतिवादीहरु के कसको, के कति हक कायम हुने भन्ने प्रथम प्रश्नतर्फमा विचार गर्दा तत्कालिन अपुतालीको महलको कानूनी व्यवस्थालाई हेर्दा अपुतालीको २ नं.मा “अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउदैंन । त्यस्तो कोही नभए छोरीले अपुताली पाउँछ । छोरीहरु मध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले २ खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले १ खण्डको हिसावले अपुताली पाउँछ । छोरी नभए सँग बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरु हकवालाले अपुताली पाउँछ” भन्ने स्पष्ट रुपमा व्यक्त भएको पाइन्छ ।
१७ उपर्युक्त कानूनी व्यवस्थाले अपुताली हक प्राप्तीको प्राथमिकताको क्रम तोकेको छ र “मर्नेको” भन्ने शव्दले जो मरी अपुताली परेको छ उसको आफ्नै उदर(पेट) बाट जन्मेको छोरा, नाती, ती नभए छोरीले अपुताली पाउने भन्ने उक्त कानूनी व्यवस्थाको मनसाय हो । अतः प्रस्तुत मुद्दामा स्व.रमा कुमारी कार्कीको आफ्नै पेटबाट कोही छोराहरु पैदा नभएका र वादी छोरीहरुको मात्र जायजन्म भएकोले हामी छोरीहरुले मात्र आमाको अपुताली पाउनु पर्छ भन्ने दावी भएको छ।
१८. प्रतिवादी दाजुहरु स्व.आमा रमाकुमारी कार्कीको आफ्नै पेटबाट जन्मेको सन्तान नभै सौतेनी छोराहरु भएको हुँदा निजहरुले स्व.आमा रमाकुमारीको सम्पत्तिमा हकदावी राख्न पाउने अवस्था अपुतालीको महलको कानूनी व्यवस्थानुसार छैन । निजहरुले निजकै आमाबाट तत्कालिन अपुतालीको २ नं.बमोजिम हक प्राप्त गर्न सक्ने अवस्था हुन्छ भनी वादीहरुले पुनरावेदन जिकिर लिएको देखिन्छ ।
१९. मिति २०५०।१।१८ मा प्रतिवादीहरुले पारित गरी लिएको र.नं.९८१० को अंशवण्डा पत्रमा “कान्छी रमाकुमारी कार्कीपट्टी ३ छोरीहरुको जायजन्म भएको, कान्छी सौतेनी आमाले २०२० सालतिर आफ्नो सौतेनी अंश भाग लिई भिन्न भै सकेकी हुँदा पति बावु रेवन्त बहादुर समेत मिति २०२०।५।६ मा परलोक भै सकेको हुँदा बाँकी ४ अंशियारले आफ्नो वण्डा पारित गरी लिएका छौं” भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । यसरी स्व.रमाकुमारी विपक्षी प्रतिवादीकै वण्डापत्रको लिखत व्यहोराबाटै छुट्टि अलग भिन्न भएकी भन्ने स्पष्ट भैरहेको अवस्थामा छुट्टि भिन्न भै बसेका सौतेनी छोराहरुले पालन पोषण र स्याहार सम्भार गरेको भनी पुनरावेदन अदालतबाट अपुतालीको महलको १० नं.बमोजिम रमाकुमारीको नाउँको अचल सम्पत्ति मध्ये स्याहार सम्भार गर्ने प्रतिवादीहरुले आधा र ऐन बमोजिमका हकवाला वादीहरुले आधा पाउने ठहर गरेको इन्साफसँग यो इजलास सहमत हुन सकेन ।
२०. मिति २०४९।१।१५ र.नं.९४६१ मा र ऐ.मितिमा र.नं.९४६२ मा आमा रमाकुमारीले जग्गा पास गरी दिँदा ऋणीको छोरा नभएको र पति परलोक भएकोले संरक्षकको रुपमा छोरी ऋद्धि कुमारी कार्कीको नाम उल्लेख भई जग्गा रजिष्ट्रेशन पारित गराई दिएको लिखतबाट देखिएको छ।
२१. सर्वोच्च अदालतबाट सूर्य वहादुर थापा विरुद्ध धन कुमारी सारु भएको ने.का.प.२०५३ अंक ९ नि.न. ६२६२ पृष्ठ ६९७ को अपुताली हक कायम मुद्दामा “अपुतालीको २ नं.मा मर्नेको भन्ने उल्लेख भएकोबाट मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरबाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । अपुताली पर्दा जो मरी अपुताली परेको छ सो बाट क्रमको गणना गर्नुपर्ने ऐ.२ नं.को कानूनी व्यवस्था छ । अपुतालीमा एकाउदरलाई प्राथमिकता दिइएको कुरा अपुतालीको १० र १२ नं.को कानुनी व्यवस्थाबाट पुष्टी हुन आउने” भन्ने कानूनी सिद्धान्त समेत प्रतिपादन भएको छ । यस प्रकार अपुतालीको क्षेत्रमा मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा नभएमा छोरीले अपुताली पाउने गरी अपुतालीमा एकाउदरलाई प्राथमिकता दिइएको अपुतालीको १० र १२ नं.को व्याख्यामा छोरा भनेको ठाउँमा सौतेनी छोरा पनि हुने भनी व्याख्या गर्न नमिल्ने कुरालाई पुष्ट्याई दिइएको पाइन्छ । यसरी एकाउदरका छोरीले स्व.आमा रमाकुमारीको अपुताली आधासम्म मात्र पाउने भन्ने पुनरावेदन अदालतको निष्कर्ष कानून र न्याय सम्मत भएको पाइदैन । अतः पुनरावेदक प्रतिवादीहरु वादीहरुको आमाबाट भिन्न भएको भन्ने कुरा मिति २०५०।१।१८ को वण्डापत्रबाट देखिएको समेत हुँदा भिन्न भई सकेका प्रतिवादीहरुले सौतेनी आमाको स्याहार सुसार गरेको अनुमान गर्नु स्वाभाविक देखिन आउँदैन । त्यसकारण स्याहार गरेको भन्ने आधारमा पुनरावेदक प्रतिवादीहरुको उक्त अपुतालीमा हक पुग्न सक्ने देखिदैन ।
२२. उपयुक्त ने.का.प.२०५३ नि.नं.६२६२ को सूर्य बहादुर थापा विरुद्ध धन कुमारी सारुको मुद्दामा प्रतिपादित नजिरको पूर्ण रुपमा पालना नगरी आधा गर्ने गरेको, २०२० सालमै छुट्टि भिन्न भै सकेको कुरा २०५०।१।१८ को वण्डापत्रको लिखतबाटै पुष्ट्याई भैरहेको अवस्थामा उक्त अपुताली प्रतिवादीहरुले आधा पाउने गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिदैन । पुनः छुट्टि भिन्न भैसकेको लिखत प्रमाणबाट प्रमाणित भएको अवस्थामा सगोलमा बसी पालन पोषण गरेको भन्ने पुनरावेदक प्रतिवादीको जुन जिकिर छ, त्यस सम्बन्धमा रजिष्ट्रेशन महलको १ नं.अनुसार छुट्टि भिन्न भएकोमा सगोलमा बसेको भन्ने कुरा पारित लिखतबाट प्रमाणित नभएको अवस्थामा सगोलमा बसेको भन्न मिल्दैन । साथै पुनरावेदक वादीहरुले पालन पोषण गरे सम्बन्धमा औषधि उपचार गराएको डाक्टरको प्रेसक्रिप्शन, अस्पतालका रिपोर्टहरु समेत मिसिल संलग्न भएको पाइन्छ ।
२३. पुनरावेदक प्रतिवादीले आफ्नो पुनरावेदन पत्रमा उल्लेख गरेको चन्द्र वहादुर सुवेदी समेत विरुद्ध दुखी सरी मेचे ने.का.प.२०४४ नि.नं.३०८२ पृष्ठ ५०७ को मुद्दामा पूर्ण इजलासबाट प्रतिपादित “सँग बसेको अन्य हकवाला नभएको स्थितिमा बाबुको अपुताली छोरीलाई प्राप्त हुने” भन्ने नजिर प्रतिवादीहरुको हकमा आकर्षित हुन नसक्ने हुन्छ । प्रतिवादीहरु निज रमा कुमारीसँग रहे बसेका हकवाला नभएको नरहेको तथ्य मिसिल संलग्न मिति २०५०।१।१८ को वण्डापत्रको लिखतबाटै स्वतः पुष्टी भैरहेको स्थितिमा सँग बसेका हकवालाको जिकिर लिंदैमा सो जिकिर पुग्न सक्ने देखिदैन । रेवन्त बहादुर कार्कीको कान्छी श्रीमती रमा कुमारी २०२० सालमा भिन्न भई अलग बसेको र निजको कोही छोरा नभई तीन छोरी वादीहरुको मात्र जायजन्म भएको देखिन्छ । निज वादीहरुले आफ्नो आमा रमा कुमारीको रेखदेख, पालन पोषण, औषधोपचार र स्वर्गवासपछि काजक्रिया समेत गरेको भन्ने उपर्युक्त आधार प्रमाणहरुबाट संपुष्टि भएको पाइन्छ ।
२४. शुरु जिल्ला अदालत र पुनरावेदन अदालतले एका सगोलको भनी प्रतिवादीहरु ले पुरै अपुतालीमा दावी गरेको अवस्थामा कानुन बमोजिमको हकवाला अपुतालीको २ नं. बमोजिम वादीहरु भएको कुरालाई स्वीकार गरेको देखिन्छ । यस स्थितिमा वादीको दावी पालन पोषण समेत गरेको भनी पुरै अपुतालीमा दावी गरेकोमा शुरु जिल्ला अदालतले अपुतालीको ११ नं. र पुनरावेदन अदालतले एैजनको १० नं. को आधार लिएर आधा आधा गर्ने गरेको फैसला सो हद सम्म कानुन र न्यायसम्मत देखिन आएन ।
२५. तसर्थ, पुनरावेदन अदालत इलामले अपुतालीको १० नं.बमोजिम आधा ऐन बमोजिमका हकवाला वादीहरुको र बाँकी आधा अपुताली हक मृतक रमाकुमारीको स्याहार सम्भार गरी मृत्यु पश्चात काजक्रिया गर्ने हकवाला प्रतिवादीहरुको कायम हुने ठहर्याएको मिति २०५६।४।१६।१ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भै वादीहरुको मात्र अपुतालीको सम्पत्तिमा अपुताली हक कायम हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. ताहिर अलि अन्सारी
शा.अ.ठगिन्द्र कटेल
ईति सम्बत् २०६३ साल फागुन १० गते रोज ५ शुभम् –––––––