शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८०० - गुठी कायम

भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२

निर्णय नं. ७८००     ने.का.प.२०६३       अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी

फैसला

संवत् २०५९ सालको दे.पु.नं. : ८०००

फैसला मितिः ०६३।११।१३।१

 

मुद्दाःगुठी कायम ।

 

पुनरावेदक गुठी संस्थान संचालक समिति, गुठी संस्थान केन्द्रिय कार्‍यालय काठमाडौं र   आफ्नो तर्फबाट समेत गुठी संस्थान केन्द्रिय कार्‍यालयका प्रशासक सेमन्तराज चापागाई १

विरूद्ध

      विपक्षीः स्व. नारायण प्रसाद लामिछानेको मु.स.गर्ने का.जि.का.म.न.पा.वडा नं.९ बस्ने   श्रीमती  ईश्वरी देवी लामिछाने समेत

 

§  गुठी संस्थानका प्रशासकवाट मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनी थप अन्यौल सिर्जना गरी गुठी संस्थान समेतको तर्फबाट यस अदालतमा पुनरावेदन जिकिर लिएकोमा स्वयं निर्णय गर्ने गुठी संस्थानका तत्कालिन प्रशासकले गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम विवादित जग्गाका सम्बन्धमा निर्णय गरेको थिए भनि मिति २०५८।४।१५ मा गुठी संस्थानलाई लेखेको मिसिल संलग्न पत्रवाट देखिदा संस्थानका प्रशासकले गरेको मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको निर्णय होईन भनि भन्न नमिल्ने।

§  साविक देखि नै मोहीमा कमाएको जग्गामा भएको दर्तावाल मोहीको हकमा असर पर्ने गरी गुठी संस्थानका प्रशासकबाट भएको निर्णयलाई कानून बमोजिमको निर्णय मान्न  नसकिने ।

§  खोला पसी वेकायम भै तिरो मिन्हा समेत भएकोमा जग्गा कायम भएपछि तिरो तिरेर त्यस्तो जग्गा भोग गर्न पाईने भन्ने जग्गा मिच्नेको महलको ३ क को देहाय (२) र (३) र जग्गा पजनीको ८ नं. मा कानूनी ब्यबस्था समेत भएको हुँदा यस्तो संस्थानका प्रशासकले श्री ५ को सरकारका नाममा दर्ता गर्ने गरी गरेको निर्णय मनासिव नदेखिंदा विवादित जग्गाका दर्तावाल मोही विपक्षीहरुलाई मोही कायम नगर्ने गरी गरेको निर्णयलाई कानून सम्मत मान्न नसकिने ।

(प्रकरण नं. २७)

§  मोहीयानी हकको प्राप्ती वा मोहीयानी हकको तेरो मेरो सम्बन्धी विवाद उठेको नभै पहिले देखि अविच्छिन्न रहेको दर्तावाला मोहीको मोहीयानी हकलाई प्रशासकको निर्णयवाट मोहीको हकलाई समाप्त गरेकोमा पुनरावेदन अदालतले मोहीको हकलाई निरन्तरतासम्म दिएको देखिन्छ । मोहीको मोहीयानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धमा विवाद सिर्जना भएमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१(क)(१) ले भूमी सुधार अधिकारीको क्षेत्राधिकारको बिषय हुन सक्ने हो तर गुठीमा भैरहेको दर्तावाला मोहीको हकलाई अदालतले दर्तावाला मोही हो भनी निरन्तरता दिन मिल्दैन भनि संकुचित अर्थ लगाई साँधुरो व्याख्या गर्न नमिल्ने ।

(प्रकरण नं. २८)

 

 

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल

विपक्षी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने र श्री माधव बास्कोटा

अवलम्बित नजीरः

 

फैसला

            न्या. राजेन्द्र कुमार भण्डारीः पुनरावेदन अदालत, पाटनको मिति २०५९।२।२० को फैसला उपर पुनरावेदकको तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

२.    श्री पशुपति सदावर्त गुठीको साविक सिनामंगल वडा नं.२ (ख) कि.नं.२४७ को क्षेत्रफल ०० र कि.नं.१०१ को क्षेत्रफल १० जग्गाको हाल नयाँ नापी हुँदा का.जि.का.म.न.पा. वडा नं.९ कि.नं.४५ को क्षेत्रफल २२ जग्गा ठहर भएको हुँदा उक्त बढ भएको जग्गाको बाली बुझाई ज.ध.द.प्र.पु. पाउँ भनी का.जि.सिनामंगल बस्ने नारायण प्रसाद लामिछानेको मिति २०४८।८।१२ मा र यसै जग्गा सम्बन्धमा मिति २०४८।७।१४ मा समेत श्री काठमाडौं गुठी तहसिल तथा खर्च कार्‍यालय कालमोचनमा निवेदन परेको ।

३.    उक्त कि.नं.४५ को जग्गाको फिल्डबुक उत्तार प्रतिलिपी हेर्दा जोताहाको महलमा नारायण प्रसाद लामिछाने का.जि.का.म.न.पा.वडा नं.९ बाबु ज्ञान प्रसाद बाजे लक्ष्मी प्रसाद लेखिएको तथा ज.ध.महलमा श्री पशुपति सदावर्त गुठी उल्लेख भै घर जग्गा जनिई क्षेत्रफल २२ कायम भै नापी भएको देखिन्छ ।

४.    उक्त जग्गाको हाल साविक स्थिति सम्बन्धमा नापी शाखाको मिति २०४८।९।४ को पत्रबाट साविक सिनामंगल २ (ख) कि.नं.१०१ साविकमा खोला र कि.नं.२४७ नारायण प्रसाद लामिछानेको भएकोमा हाल नापी नक्सा हुँदा का.जि.का.म.न.पा.वडा नं.९ कि.नं.१०२११४७०४ कि.नं.४५ मा मोहीको नाममा नारायण प्रसाद लामिछाने दर्ता बाँकी ज.ध.श्री पशुपतिनाथ सदावर्त गुठी क्षेत्रफल २२ देखिएको भनी का.गु.त.मा जवाफ पठाएको देखिन्छ ।

५.    उक्त जग्गा सम्बन्धमा फिल्डमा गई वडाको प्रतिनिधीको रोहबरमा सर्जमिन गर्दा उक्त कि.नं.४५ को २२ जग्गा साविक पशुपति सदावर्त गुठी ११ नं.बागमती डोल खेत २ मध्येको घरवास समेत भएको जग्गामा नारायण प्रसाद लामिछाने मोही कायम भै हाल सम्म निजले नै घरबास भोग चलन समेत गर्दै आएका हुन भनी मिति २०४८।९।१७ मा भएको स.मु. प्राप्त हुन आएको ।

६.    निवेदकले साविकमा मेरो नाममा रहेको श्री पशुपति सदावर्ग गुठी ११ नं.बागमती डोल खेत २ कै जग्गा बाटै खोलाले खाई बाँकी रहेको उत्तर तर्फको कि.नं.८० को जग्गाबाट कित्ताकाट भै कि.नं.२४७ को हाल २०४४ सालमा नापी हुँदा कि.नं.४२ कायम भएको गुठी जग्गा मेघादेवी पौडेलले आफ्ना नाउँमा रैकर तर्फ दर्ता गराएकोले सो को लगत कट्टा गराई मेरा नाउँमा गुठी नै कायम गराई पाउँ भनी २०२७ साल देखि २०४० साल सम्मको कार्‍यालयमा कि.नं.८० को ०० को ज्ञान प्रसाद लामछानेका नाउँबाट बाली बुझाएको रसिदको फोटोकपी र नारायण प्रसाद लामिछानेको नाउँको कि.नं.८० को ०० जग्गाको पुर्जाको फोटोकपी समेत संलग्न गरी मा.भु.सु.तथा व्यवस्था मन्त्री ज्यू समक्ष मिति २०४८।१०।८ मा नारायण प्रसाद लामिछानेको पुनः निवेदन पर्न आएको ।

७.    निवेदक नारायण प्रसाद लामिछानेका तर्फबाट उल्लेखित जग्गा दर्ता गराई पाउँ भनी पटक पटक दिएको निवेदन संस्थानमा प्राप्त हुन आएको सन्दर्भमा खोला कट्टी मिन्हा गरी पाउँ भनी निवेदकले कहिले सम्म निवेदन दिई खोला कट्टी गराई आएको छ, सो खुलाउने तथा यस्तो जग्गा दर्ता सम्बन्धमा समय समयमा भएका परिपत्र आदि समेत हेरी आवश्यक प्रमाण जुटाउनु पर्ने जुटाई एकिन राय साथ पेश गर्ने भनी मिति २०४९।४।२ को पत्रबाट शाखा कार्‍यालयलाई लेखिएको ।

८.    निज नारायण प्रसाद लामिछानेले पशुपति सदार्वत गुठीको ११ नं.खेत २ को जग्गा मध्येबाट भिडने व्यहोरा उल्लेख गरी उक्त कि.नं.१०१ कित्ताकाट भै कायमीको कि.नं.३६५ को ४३० जग्गा हाल श्री ५ को सरकारको नाउँमा कायमै छ, सो जग्गालाई समेत दावी लिई निवेदन गरेको पनि देखियो । साथै सोही कि.नं. को जग्गा मध्येबाट १० जग्गा नारायण प्रसाद लामिछानेको नाउँमा ज.ध.द.प्र.पु. उपलव्ध गराई दिने भनी का.गु.त.बाट मिति २०४३।१।११ मा मालपोत कार्‍यालय, काठमाडौंलाई पत्राचार गरेको देखिन्छ ।

      ९.    पशुपति सदावर्त गुठी सिनामंगल २ (ख) बागमती डोल खेत २ मा २००१ साल देखि बागमती नदी पसि बाली मिन्हा गराउदै आएको, गुठी संस्थान ऐन (संशोधन सहित) २०३३ को दफा २९ प्रयोग गरी गुठीमा दर्ता गरी ज.ध.द.प्र.पु. पाउँ भनी नारायण प्रसाद लामिछानेको छोरा किरण प्रसाद लामिछानेले संस्थानमा दिनु भएको निवेदनमा यो जग्गा कुन लगतको हो अव के गर्न उपयुक्त हुन्छ सप्रमाण राय साथ पेश गर्ने भनी शाखा कार्‍यालयलाई आदेश भएको ।

१०.    निवेदकको माग दावी अनुसार लगत उत्तार हेर्दा ज्ञान प्रसाद लामिछानेको नाउँमा सिनामंगल बागमती डोल खेत २ को लगत रहेको सिनामंगल २ (ख) कि.नं.२४७ को ०० र कि.नं.१०१ को क्षेत्रफल १० जग्गा २०४३ साल सम्ममा बाली बुझाएको रसिदको फोटोकपी संलग्न रहन गएको । निवेदकको माग गरिएको कि.नं.१०१ को फिल्डबुक उतार हेर्दा जोताहा महलमा बागमती खोला बिरहमा खोला क्षेत्रफल ४६।।।२ उल्लेख भई पुरै जग्गा श्री ५ को सरकारको नाउँमा दर्ता भई सकेको भनी उल्लेख भएको ।

११.    शाखा कार्‍यालयले ज्ञान प्रसाद लामिछानेको नाउँमा पशुपति सदार्वत गुठीको खला नं.११ मा साविक खेत २ उल्लेख भई खेत दुई (२) भनेको ५० रोपनी हुने खोलो लागे पछि घटी जग्गा हुने भए पनि खोला कट्टी भएको कार्‍यालयले दिएको प्रमाण पत्र लामिछाने परिवारसंग हुने भई फाइल पेश गरेको, अन्य प्रमाणहरु नारायण प्रसाद लामिछानेको छोरा बलरामले पेश गरेको रसिद तथा लगतको फोटोकपी पठाएको भनी शाखा कार्‍यालयको मिति २०५४।१२।१२ को पत्रमा उल्लेख भएको ।

१२.   यसै जग्गा सम्बन्धमा भक्तपुर मठको जग्गा हराएको यही लगत भित्रको हो भनी दावी परी कारवाही भएकोमा मठ गुठीको जग्गा भित्रको साविक कि.नं.१०१ को जग्गा नपर्ने भनी संचालक समितिबाट निर्णय समेत भई सकेको पाईन्छ ।

१३.   कुनै गुठी जग्गा रैकरमा दर्ता गराएको रहेछ र सो जग्गा गुठीको हो भन्ने गुठीको दानपत्र, सिलापत्र, लालमोहर, खडग निशाना, समद, सवाल, लगत आदीबाट स्पष्ट हुन्छ भने त्यस्तो जग्गाको रैकरको लगत कट्टा गरी पुनः गुठीमा नै दर्ता गर्न सक्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ (१) ले प्रशासकलाई प्रदान गरेको छ ।

१४.   उपरोक्त तथ्य एवं यसै बिषयमा बलराम लामिछानेले दिएको निवेदन र सो साथ पेश गरेको प्रमाण पत्र तथा गुठी तहसिल तथा खर्च कार्‍यालयको पत्र समेतको आधारमा निर्णयको लागि भनी ०५५।२।२४ मा कानूनी राय पेश भएको ।

१५.   नापीको समयमा फिल्डबुक खाली भै श्री ५ को सरकारका नाउँमा जग्गा दर्ता भएको जग्गा गुठी तैनाथी दर्ता गर्ने भन्ने श्री ५ को सरकारको परिपत्र रहेको र गुठी संस्थान संचालक समितिको निर्णय समेतबाट बिवादित कि.नं.३६५ को जग्गामा निवेदकको माग वमोजिम मोही कायम गर्न नमिल्ने हुँदा बिवादित कि.नं.३६५ को क्षेत्रफल ४३२ को जग्गा श्री ५ को सरकारको नाउँमा रहेको लगत कट्टा गरी पशुपति सदावर्त गुठी कायम गर्ने ठहर्‍याई गुठी संस्थानका प्रशासकबाट मिति २०५५।३।३।४ मा भएको निर्णय ।

१६.    २००१ सालमा खोला नलागेको भए २०२१ सालको नापीमा नै ज्ञान प्रसादले मोहीमा दर्ता गराउने जग्गा हो । खोला लागि हाल खोला उकास भएको जग्गा खोला लाग्नु भन्दा अगाडी जुन अवस्थामा थियो, खोला उकास हुँदा सोही अवस्थामा हुन्छ । ज्ञान प्रसादको लगतबाट भिड्ने जग्गा गुठी तैनाथी जग्गा हुन सकदैन । गुठी संस्थानका प्रशासक बिष्णु प्रसाद सिग्देलले मिति २०५५।३।३ मा गरेको निर्णयमा गुठी ठहर गरेको हदसम्म ठिक छ तर मोही ज्ञान प्रसाद लामिछानेको नामको खला ११ बाट भिडि दर्ता भएकोले मोही कायम नगरी गुठी तैनाथी जग्गा ठहर गरेको हदसम्म प्रशासकको निर्णय बदर गरी जसको लगतको जग्गा ठहर भएको हो उसैका सन्तान पुनरावेदक मोही हुने ठहर फैसला गरी पाउँ भन्ने इश्वरीदेवी लामिछाने समेत जना ६ को पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

१७.   कि.नं.३६५ को जग्गा मालपोत कार्‍यालय, काठमाडौ.को मिति २०४४।१०।५ को निर्णय अनुसार श्री ५ को सरकारको नाउँमा दर्ता भै श्रेस्ता पुर्जा समेत तयार भएको छ । गुठीको नाममा दर्ता गर्न मिल्ने होइन । गुठी संस्थान संचालक समितिले पटक पटक यो जग्गा गुठीको लगत भित्रको होइन श्री ५ को सरकारको नदी उकास जग्गा हो भनी गरेको निर्णय तर्फ ध्यान नदिई श्री ५ को सरकारलाई हानी नोक्सानी हुने गरी खडा गरिएको प्रस्तुत निर्णय पर्चा दुषित र गैरकानूनी भएकोले उक्त निर्णय पर्चा बदर गरी पाउँ भन्ने भुमि सुधार तथा व्यवस्था मन्त्रालयको तर्फबाट पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

१८.   यसमा पुनरावेदक साविक दर्तावाला नदी उकासवाला भन्ने भएकोले गुठीको नाममा कागज कसले गरेको भन्ने सम्बन्धमा निर्णय विचाराधिन हुँदा छलफलको लागि बिपक्षी झिकाउनु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०५७।२।१३ को आदेश ।

१९.    गुठी संस्थानको प्रशासकले गरेको निर्णय बदर गरी पाउँ भन्ने श्री ५ को सरकार पुनरावेदन जिकिर पुग्न सक्दैन । साविक कि.नं.३६५ को जग्गा हाल नाप नक्सा हुँदा का.जि.का.म.न.पा.वडा नं.९ सिट नं.१०२,११०७,२३ सिट नं.१०२,११४७, ०३१०२,११४७,०४ र सिट नं.१०२,११४७,०५ मा कायम भएका भनी उल्लेख भएका कित्ताहरुको नदी उकास भएको गुठी अधिनस्थ जग्गामा नारायण प्रसाद लामिछानेको मु.स.गर्ने यि पुनरावेदकहरुलाई मोही कायम गर्नु पर्नेमा सो नगरेको हदसम्म गुठी संस्थानको मिति २०५५।३।३।४ को निर्णय नमिलेकोले केही उल्टी भै सो जग्गामा पुनरावदेकको मोही हक जनाई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५९।२।२० को फैसला  ।

२०.   मिति २०५५।३।३ को निर्णय यस संस्थानबाट उत्पत्ति नभएको अवस्थामा सो निर्णय के कसरी फायल संलग्न हुन गयो, संस्थानलाई जानकारी नभएको व्यहोरा अनुरोध गर्ने भनी गुठी संस्थान संचालक समितिबाट मिति २०५७।१२।२८ मा निर्णय भै पुनरावेदन अदालतलाई जानकारी गराएकोमा सो तर्फ ध्यानै नदिई यस संस्थानबाट उत्पत्ति नै नभएको निर्णयलाई गुठी संस्थानको निर्णय मानी भएको फैसला त्रुटिपूर्ण छ । उक्त निर्णय संस्थानबाट भएको होइन भन्ने कुरा मिसिल संलग्न पंजिकाबाट समेत प्रमाणित हुन्छ । गुठी संस्थानले नै उक्त निर्णय यस संस्थानबाट उत्पत्ति भएको होइन भनी जवाफ दिएको अवस्थामा सो सम्बन्धमा आवश्यक सबुद प्रमाण बुझि यकिन गरी फैसला गर्नु पर्नेमा सो को यकिन नै नगरी हचुवा एवं आत्मनिष्ठ तवरले भएको फैसला अ.बं.१८०, १८४(क), १८५,१८९ एवं प्रमाण ऐन, २०३१ को दफा ३,५४ प्रतिकुल भै प्रारम्भ देखिनै बदर हुनु पर्ने निर्विवाद छ ।

२१.   एकछिनका लागि मिति २०५५।३।३ को कथित निर्णयलाई यस संस्थानबाट उत्पत्ति भएको निर्णय मान्दा कै अवस्थामा पनि सो निर्णय उपर बिपक्षीको पुनरावेदन लागि मोही कायम हुन सक्दैन । साविकको नापीमा बिवादको जग्गा बागमती खोला जनिई नाप नक्सा भै फिल्डबुकमा सोही व्यहोरा जनिएको छ । यस्तो जग्गामा बिपक्षी मोही कायम हुन सक्ने   होइन । त्यसै गरी गुठी संस्थान ऐन, २०३३ को दफा ३९ (१) वमोजिम भएको निर्णय उपर पुनरावेदन गर्ने अधिकार ऐ.को दफा ३९ (२) वमोजिम बिपक्षीलाई छैन । यसरी कानूनतः विपक्षीलाई पुनरावेदन गर्ने अधिकार नभएको अवस्थामा परेको पुनरावेदन स्वतः खारेज भागी छ । त्यसैगरी मोही सम्बन्धी निर्णय गर्न पाउने अधिकार पुनरावेदन अदालतलाई नभएको अवस्थामा अधिकार क्षेत्र नाघि विपक्षीलाई मोही कायम गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला अ.बं.३५ नं.विपरित भै बदर मागी छ । बिपक्षीले आफु मोही भएको भनी यसै जग्गा सम्बन्धमा गुठी संस्थान समेत उपर दायर गरेको निर्णय दर्ता बदर हक कायम मुद्दामा हकदैया नभएको कारणबाट फिराद खारेज गर्ने गरी काठमाडौं जिल्ला अदालत मिति २०५८।९।२२ मा भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला अन्तिम भएको अवस्थामा पुनः सोही जग्गामा मोही हक लाग्दछ भनी दावी गर्न नपाउने स्पष्ट छ । एक पटक विवादको निरोपण भएको बिषयमा पुनरावेदन ग्रहण गरी मोही कायम गर्न मिल्दैन । गुठी संस्थान कार्यव्यवस्था नियमावली, २०४९ को नियम १० (ज) मा नदी उकास गुठी जग्गा गुठी तैनाथीमा दर्ता हुने व्यवस्था छ । तैनाथी जग्गा भन्ना साथ उक्त जग्गामा कोही कसैको मोही हक लाग्न सक्दैन । कानूनमा स्पष्ट व्यवस्था भएको गुठी तैनाथी जग्गालाई अधिनस्थ ठहराई, देवानी मुद्दामा प्रमाण लिन नमिल्ने वस्तुस्थिति मुचुल्कालाई आधार लिई विपक्षीहरुलाई मोही कायम गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको गुठी संस्थान संचालक समिति र ऐ.का प्रशासकको तर्फबाट यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।

२२.   यसमा साविक कि.नं.३६५ को हाल नापीमा का.जि.का.म.न.पा.वडा नं.९ सिट नं.१०२, ११०७, २३ सिट नं.१०२, ११४७, ०३१०२, ११४७, ०४ र सिट नं.१०२, ११४७, ०५ कायम भएको जग्गाहरू गुठी तैनाथी कायम गर्ने पुनरावेदक गुठी संस्थानको मिति २०५५।३।३।४ को निर्णय बदर गरी पाउँ भनी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहराई भएको निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन पर्न आएको देखिदैन । त्यस तर्फ पुनरावेदन नपरेको स्थितिमा पुनरावेदन अदालत, पाटनको फैसलाले विवादित साविक कि.नं.३६५ कायम भएको जग्गाहरु गुठी तैनाथी कायम गर्ने निर्णय अन्तिम रहेको देखिन्छ । त्यसरी तैनाथी गुठी जग्गाको जोताहा मोही प्रत्यर्थी पुनरावदेकहरु कायम हुने नहुने सम्बन्धमा प्रमाण बुझि मोहियानी सम्बन्धी विवाद निर्णय गर्ने अधिकार भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१ क ले भुमि सुधार कार्‍यालयलाई भएकोमा सो तर्फ प्रमाण बुझि निर्णयका लागि भुमि सुधार कार्‍यालयमा पठाउनु पर्नेमा गुठी संस्थानको निर्णय उल्टी गरी मोही कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्ने देखिंदा अ.वं.२०२ नं. वमोजिम छलफलको लागि विपक्षी झिकाई आए वा अवधि नाघे पछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०६०।७।२४ को आदेश ।

२३.   यसमा गुठी संस्थानको यस अदालतमा परेको पुनरावेदनको प्रकरण ३ मा मिति २०५५।३।३ को साविक कि.नं.१०१ को सम्बन्धमा कुनै निर्णय नभएको भन्ने जिकिर लिएको देखिन्छ । यस बिषयमा विपक्षीहरुको पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदनको प्रकरण नं.४ मा गुठीका प्रशासकको निर्णयमा स्वीकार गरी सकेको भन्ने जिकिर लिएको देखिन्छ । तर प्रशासकको मिति २०५५।३।३ को निर्णयमा त्यसरी स्वीकार गरिएको नदेखिएकोले यस बिषयमा के भएको हो ? सो को स्पष्ट जवाफका साथै अब हुने पेशीका दिन कानून व्यवसायीलाई समेत अनिवार्य रूपले कागजात साथ पठाउनु भनी गुठी संस्थान केन्द्रिय कार्‍यालयलाई लेखी पठाई लगाउको मुद्दा साथ राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६२।११।२९ को आदेश ।

२४.   नियम बमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरियो । यसमा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेलले विवादित कि.नं.३६५ को जग्गा श्री ५ को सरकारको नाउँमा रहेको लगत कट्टा गरी पशुपति सदावर्त गुठी कायम गर्ने गरी ०५५।३।३।४ मा प्रशासकबाट भएको निर्णय गुठी संस्थानको आधिकारीक निर्णय होइन । २०५७।१२।२८ को गुठी संस्थान संचालक समितिबाट भएको निर्णयले मिति २०५५।३।३ को निर्णय गुठीको निर्णय होइन भनी पारित गरेकोले मिति २०५५।३।३ को निर्णयले कानूनी मान्यता पाउन सक्दैन । पुनरावेदन अदालतलाई मोहीयानी हक कायम गर्ने क्षेत्राधिकार कानूनले दिएको छैन । गुठी संस्थान कार्य व्यवस्था नियमावली, २०४९ को नियम १० (ज) बमोजिम नदी उकास भएको जग्गा गुठी तैनाथीमा दर्ता हुने र तैनाथी जग्गामा मोहियानी हक नलाग्नेमा विवादित जग्गालाई गुठी अधिनस्थ कायम गरी विपक्षीहरुको मोहियानी हक कायम गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी पाउँ भनी गर्नु भएको बहस सुनियो । विपक्षीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री बालकृष्ण न्यौपाने र श्री माधव बास्कोटाले प्रस्तुत मुद्दामा मोही तेरो मेरोको प्रश्न नभै पहिले देखि नै कायम भएको मोहीको अबिच्छिन्नताको प्रश्न भएकोले भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१ (१) आकर्षित हुन सक्दैन । विवादित जग्गामा खोलो लागि मोहीमा कमाउन नसकेकोमा खोलो उकास भए पछि मोहीको हैसियतले जग्गा कमाई आएकोले खोलो लागेकै कारणले मोही हक समाप्त हुन सक्दैन । गुठी संस्थानले मोहीको हकलाई छाडी आफ्नो हक मात्र कायम गर्न मिल्दैन । नारायण प्रसादको मु.स.गर्ने व्यक्तिहरु साविक देखि बिवादित कि.नं.३६५ को जग्गाको मोही भएकोले खोलो उकास भएपछि समेत मोहियानी हक यथावत कायम गर्नु पर्नेमा मिति २०५५।३।३।४ को गुठी संस्थानको निर्णयले मोहीको मोहियानी हकलाई खलल गरेकोले सो हद सम्म गुठी संस्थानको निर्णय बदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला सदर कायम गरी पाउँनु पर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।

२५.   आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुको उपरोक्त बहस समेतलाई विचार गरी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ छैन ? भन्ने सम्बन्धमा निम्न प्रश्नहरुको निर्णय गर्नु पर्ने देखियो ।

(१) गुठी संस्थानका प्रशासकले गरेको निर्णयले दर्तावाला मोहीको मोहीयानी हक समाप्त हुन सक्छ, सक्दैन ?

(२)   गुठीको अभिलेखमा जनिएको दर्तावाला मोहीको जग्गाको सम्बन्धमा अदालतले विवादको निरोपण गर्न सक्छ, सक्दैन ?

२६.   निर्णय तर्फ विचार गर्दा काठमाडौं जिल्ला सिनामंगल गा.वि.स.वडा नं.२(ख) साविक कि.नं.१०१ बाट कित्ताकाट भै कायमी कि.नं.३६५ को क्षेत्रफल ४३३ जग्गा गुठी कायम गरी मेरो नाममा खोला उकास जग्गा दर्ता गरी पाउँ भनी नारायण प्रसाद लामिछानेले गुठी संस्थानमा निवेदन दिएकोमा नापीका समयमा फिल्डबुक खाली भएका जग्गा गुठी तैनाथी कायम गरी ज.ध.द.प्र.पु. मात्र माग गर्ने भन्ने श्री ५ को सरकारको परिपत्र भएको भनी गुठी संस्थान संचालक समिति समेतवाट विवादित कि.नं.३६५ को जग्गामा माग बमोजिम निवेदकलाई मोही कायम गर्न नमिल्ने हुँदा विवादित कि.नं.३६५ को जग्गाको श्री ५ को सरकारको नाउँमा रहेको लगत कट्टा गरी श्री पशुपति सदावर्त गुठी कायम गर्ने ठहराई गुठी संस्थानका प्रशासकबाट मिति २०५५।३।३।४ मा भएको निर्णय केही उल्टी गरी नारायण प्रसाद लामिछानेको मु.स.गर्ने विपक्षीहरुका नाउँमा मोही कायम गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखियो ।

२७.   यसमा उल्लेखित पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा पशुपति सदावर्त गुठी ११ नं. लगतको वागमती डोलखेत २ को मोही ज्ञान प्रसाद जनिई गुठी तहसिल पहिला फाँटबाट २००७ सालमा तिरो बुझेको रसिदबाट देखिन्छ । सो गुठी जग्गाको २०२७ साल देखि २०४० साल सम्मको कुतवाली निज मोही ज्ञान प्रसाद लामिछानेले बुझाएको गुठी संस्थानको २०४०।०४१ सालको धरौट टिप्पणी रसिदको मिसिल संलग्न फोटोकपीबाट देखिन आउँछ । साथै ज्ञान प्रसादको मृत्यूपछि विवादित जग्गा नारायण प्रसाद लामिछानेको नाउँमा नामसारी भै मोहीमा कमाई आएकोमा निजको शेषपछि निजका सन्तान यी विपक्षीहरु समेत विवादित जग्गाको मोही भएकोमा विवाद देखिएन । विपक्षीहरुका पुर्खाले परापूर्व काल देखि मोहीको हैसियतले कमाई आएको जग्गामा मोहीयानी हक कायम गरी पाउँ भनि नारायण प्रसाद लामिछाने समेतको गुठी संस्थानमा परेको निवेदनमा कारवाही हुँदा गुठी संस्थानका प्रशासकले निवेदकको माग बमोजिम मोही कायम नगरी विवादित कि. नं. ३६५ को जग्गाको श्री ५ को सरकारको नाउँमा भएको लगत कट्टा गरी पशुपति सदावर्त गुठी कायम गर्ने ठहराई मिति २०५५।३।३ मा निर्णय गरेको मिसिल संलग्न सो मितिको निर्णयबाट देखिन आउँछ । यसरी साविक देखि नै मोहीमा कमाएको जग्गामा भएको दर्तावाल मोहीको हकमा असर पर्ने गरी गुठी संस्थानका प्रशासकवाट भएको निर्णयलाई कानून बमोजिमको निर्णय मान्न सकिदैन । त्यसैगरी प्रशासकबाट भएको सो मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनी थप अन्यौल सिर्जना गरी गुठी संस्थान समेतको तर्फबाट यस अदालतमा पुनरावेदन जिकिर लिएको देखिन्छ । स्वयं मिति २०५५।३।३ मा निर्णय गर्ने गुठी संस्थानका तत्कालिन प्रशासकले गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम विवादित जग्गाका सम्बन्धमा निर्णय गरेको थिए भनि मिति २०५८।४।१५ मा गुठी संस्थानलाई लेखेको मिसिल संलग्न पत्रवाट देखिदा संस्थानका प्रशासकले गरेको मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको निर्णय होईन भनि भन्न मिलेन । त्यसैगरी गुठी संस्थान संचालक समितीबाट भएको २०५८।४।१६ को निर्णय बमोजिम भूमी सुधार तथा व्यवस्था मन्त्रालयलाई लेखेको पत्रवाट समेत प्रशासकवाट भएको मिति २०५५।३।३ को निर्णयलाई गुठी संस्थानले स्वीकार गरेको देखिन्छ । कि. नं. २४७ र ३६५ को जग्गाका सम्बन्धमा भएको निर्णय पर्चा वारे मिति २०५८।४।९ का निर्णयानुसार तत्कालिन प्रशासक बिष्णु प्रसाद सिग्देलसँग जानकारी माग गर्दा मिति २०५५।३।३ गते निर्णय पर्चा गर्ने भन्ने आदेश भएको सोही मिति २०५५।३।३ गते नै निर्णय पर्चा गरी फायलमा नै समावेश गरिएको थियो । फायलमा कसरी नदेखिएको हो मेरो जानकारीमा छैन भन्ने लेखि आएकोले सो निर्णय पर्चा स्वयं निर्णयकर्ता प्रशासकले नै गरेको भन्ने हुँदा पर्चा र अदालतको आदेश बमोजिम श्री ५ को सरकारलाई पुनरावेदनको म्याद जारी गर्ने भनि गुठी संस्थान सञ्चालक समितीबाट मिति २०५८।४।१६ मा निर्णय समेत भएको देखिन्छ । यसरी पहिले कानूनले अख्तियारी दिएको अधिकारीले गरेको निर्णयलाई संचालक समितिको निर्णयबाट समेत स्वीकार गरी पत्राचार समेत गरी पछि मुद्दाको रोहमा आएर सो निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनि लिएको पुनरावेदन जिकिर निरर्थक देखिन्छ । गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) मा गुठीको जग्गाका सम्बन्धमा गुठी प्रशासकलाई निर्णय गर्ने अधिकार भएको र सोही कानूनी अधिकार प्रयोग गरी मिति २०५५।३।३ मा प्रशासकबाट भएको निर्णयलाई गुठी संस्थानले बदर गराउन समेत सकेको देखिदैन । कानूनले अख्तियारी दिएको अधिकारीले कानून बमोजिम गरेको निर्णय बदर नभएसम्म सो निर्णयले कानूनी मान्यता पाउँछ । विवादको जग्गा पशुपति सदावर्त गुठीको खला नं. ११ मा दर्ता भएको र सो मा २००१ सालमा खोला पसी पछि नदी उकास भएको भनि २०५८।११।२९।४ को मुचुल्का समेतमा उल्लेख भएको देखिन्छ । खोला पसी वेकायम भै तिरो मिन्हा समेत भएकोमा जग्गा कायम भएपछि तिरो तिरेर त्यस्तो जग्गा भोग गर्न पाईने भन्ने जग्गा मिच्नेको महलको ३ क को देहाय (२) र (३) र जग्गा पजनीको ८ नं. मा कानूनी ब्यबस्था समेत भएको हुँदा यस्तो संस्थानका प्रशासकले श्री ५ को सरकारका नाममा दर्ता गर्ने गरी गरेको निर्णय मनासिव देखिन आएन । तसर्थ गुठी संस्थानका प्रशासकले विवादित जग्गाका दर्तावाल मोही विपक्षीहरुलाई मोही काम नगर्ने गरी गरेको निर्णयलाई कानून सम्मत निर्णय मान्न सकिदैन ।

२८.   अब उल्लेखित दोश्रो प्रश्नका सम्बन्धमा विचार गर्दा माथि उल्लेखित पहिलो प्रश्नको विवेचनाबाट विपक्षीहरु विवादित कि. नं. ३६५ को जग्गाको दर्तावाल मोही भएको देखिएकोले प्रस्तुत मुद्दामा विपक्षीहरुलाई विवादित जग्गाको नयाँ मोही कायम गरेको नभै पहिले देखि नै कायम भएका दर्तावाल मोहीको मोहीयानी हकको निरन्तरताको प्रश्न सिर्जना भएको देखिन्छ । गुठी संस्थानका प्रशासकले मिति २०५५।३।३ मा गरेको निर्णय उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा नारायण प्रसाद लामिछानेको मु. स. गर्ने विपक्षीहरुलाई मोही कायम गर्ने गरी भएको पुनरावेदन अदालतको फैसलालाई श्री ५ को सरकारले स्वीकार गरी निजको हकमा सो फैसला अन्तिम भएको देखिन आयो । मोहीको तेरो मेरो सम्बन्धी विवादको निरुपण गर्ने क्षेत्राधिकार पुनरावेदन अदालतलाई छैन भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१ क(१) मा मोहीयानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धी परेको झगडाको निर्णय तोकिएको अधिकारीले गर्नेछ भन्ने व्यवस्था रहेको पाईन्छ । प्रस्तुत मुद्दामा मोहीयानी हकको प्राप्ती वा मोहीयानी हकको तेरो मेरो सम्बन्धी विवाद उठेको नभै पहिले देखि अविच्छिन्न रहेको दर्तावाला मोहीको मोहीयानी हकलाई प्रशासकको निर्णयबाट मोहीको हकलाई समाप्त गरेकोमा पुनरावेदन अदालतले मोहीको हकलाई निरन्तरतासम्म दिएको देखिन्छ । मोहीको मोहीयानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धमा विवाद सिर्जना भएमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१ (क)(१) ले भूमी सुधार अधिकारीको क्षेत्राधिकारको बिषय हुन सक्ने हो तर गुठीमा भैरहेको दर्तावाला मोहीको हकलाई अदालतले दर्तावाला मोही हो भनी निरन्तरता दिन मिल्दैन भनि संकुचित अर्थ लगाई साँधुरो व्याख्या गर्न मिल्दैन । गुठी संस्थानले दर्तावाल मोहीको हकलाई छाडी आफ्नो हक मात्र कायम गरी गरेको निर्णयले दर्तावाल मोहीको हकलाई आघात पुर्‍याएकोमा अदालतले दर्तावाला मोहीको हकलाई निरन्तरतासम्म दिएको देखिन्छ । अतः गुठी संस्थानका प्रशासकबाट भएको मिति २०५५।३।३ को निर्णय केही उल्टी गरी नारायण प्रसाद लामिछानेको मु. स. गर्ने यी दर्तावाला विपक्षीहरुको मोहीयानी हकलाई यथावत कायम गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला परिवर्तन गर्नुपर्ने देखिदैन ।

२९.   तसर्थ साविक कि.नं.३६५ को जग्गा हाल नापी नक्साको का.जि.का.म.न.पा.वडा नं.९ सिट नं.१०२, ११०७,२३ सिट नं.१०२,११४७, ०३१०२, ११४७,०४ र सिट नं.१०२, ११४७, ०५ मा कायम भएका भनी उल्लेख भएका कित्ताहरुको नदी उकास भएको गुठी अधिनस्थ जग्गामा नारायण प्रसाद लामिछानेको मु.स.गर्ने विपक्षीहरुलाई मोही कायम गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला परिवर्तन गर्नु पर्ने अवस्था नदेखिँदा उक्त फैसला सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न  सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. शारदा श्रेष्ठ

इजलास अधिकृतः रमेश प्रसाद ज्ञवाली

 

ईति सम्बत २०६३ साल फाल्गुण १३ गते रोज १ शुभमः––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु