शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८०१ - अदालतको अपहेलना

भाग: ४८ साल: २०६३ महिना: चैत्र अंक: १२

निर्णय नं. ७८०१     ने.का.प.२०६३       अङ्क १२

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

फैसला

सम्वत् २०६० सालको फौ.पु.नं. : ३३७७

फैसला मितिः २०६३।९।१३।५

 

मुद्दाः अदालतको अपहेलना ।

 

पुनरावेदक/निवेदकः जिल्ला सिरहा खरुक्याही गा.वि.स. वडा नं. ८ वस्ने जुगुतलाल यादव

विरुद्ध

प्रत्यर्थी/विपक्षीः जिल्ला सिरहा जिझौला गा.वि.स. वडा नं. ८ बस्ने सोमन ठाकुर वडही समेत     

 

§  अवहेलना सम्बन्धी मुद्दा अदालतले आफ्नो स्वतन्त्रता न्यायिक गरिमा र अदालत प्रतिको जनआस्था जोगाउने प्रयोजनको लागि अदालत आफैँ वादी भई चलाउने मुद्दा हो । जसको निवेदनबाट कारवाही प्रारम्भ भए पनि यसमा वादी पक्ष अदालतनै हुन्छ । निवेदकको दाइत्व अदालतको अवज्ञा वा असम्मान भएको घटनाको जानकारी सम्म गराउने हो । हक बेहक वा पीडित वा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम अवहेलना मुद्दाको निवेदकको दाइत्व भित्र नपर्ने।

§  कुनै अदालतले आफ्नो अवहेलना भएको छैन भन्ने ठहर गरेबाट अवहेलना मुद्दाको निवेदक माथि कुनै विपरीत असर पर्ने अवस्था हुँदैन । त्यसकारण अवहेलना मुद्दामा आरोप ठानी विपक्षीले सजाय पाएमा निजले कानून बमोजिम पुनरावेदन गर्न पाउँछ, अन्यथा निजले सफाई पाएमा त्यसबाट अवहेलना मुद्दाका निवेदकको लागि पुनरावेदन गर्न पाउने कानूनी हकको सिर्जना नहुने ।

 

(प्रकरण नं. ९)

 

पुनरावेदक निवेदकका तर्फबाटः वरिष्ठ अधिवक्ता श्री महादेव यादव

प्रत्यर्थी विपक्षीका तर्फबाटः ×

अवलम्बित नजीरः ×

 

फैसला

            न्या. ताहिर अलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

२.    विपक्षीहरुले मेरो कि.नं. ९९१ को ०११ जग्गामा ईटा समेत थुपारी जवरजस्ती दिवाल हाली खपडाको छानो हाल्छौं भनी तयार भएकोले मैले मिति ०५५।२।१५ गते दे.ठा.नं. ३३९ को निषेधाज्ञा मुद्दा हाली बिपक्षीहरुका नाममा मिति ०५९।२।१६ मा अन्तरिम आदेश भई सो आदेश तामेल समेत भै सकेकोमा मेरो कि.नं. ९९१ को ०११ जग्गामा भएको २ थान फुसको घरको भित्ता उखेली जवरजस्ती मजदुरहरुलाई खटाई ईटाको दिवाल लगाउन शुरु गरेको र सम्मानित अदालतवाट भएको अन्तरिम आदेशको अपहेलना गरेको हुँदा बिपक्षीहरुलाई हदै सम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक जुगुतलाल यादवको मिति ०५९।३।२ गतेको निवेदनपत्र ।

३.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको अदालतको अपहेलनामा सजाय किन गर्न नपर्ने हो अदालतको अपहेलनामा सजाय गर्न नपर्ने कुनै कारण भए आफुसँग भएको सवुद प्रमाण संलग्न राखी वाटाको म्याद वाहेक १५ दिन भित्र आफै वा वारेस वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदकको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति ०५९।३।३ गतेको पुनरावेदन अदालतको  आदेश ।

४.    प्रस्तुत निवेदनमा उल्लेखित गरिएको दे.ठा.नं. ३३९ को निषेधाज्ञाको मुद्दाको अन्तरिम आदेश र समाह्वान म्याद हामीले पाएका छैनौं विपक्षीले दावी गरेको साविक कि.नं. ९९१ को जग्गाको चौहदी भित्र नपरेको जग्गामा हामी पुस्ताको अबिछिन्न वसोवास भोग भै आएको जग्गालाई बिपक्षीले कव्जा गर्न मिति ०५५ सालको दे.नं. २१५३ को घर वहाल दिलाई घर खाली गराई जग्गा खिचोला चलन मुद्दा दायर गरेकोमा विपक्षीको दावी नठहरी फैसला भएको र विपक्षीले यसै अदालतमा पुनरावेदन गरेकोमा शुरु जिल्ला अदालतको फैसला सदर भै यस सम्मानित अदालतवाट फैसला भै सकेको हुँदा निजले उक्त जग्गा कव्जा गर्न झुठा मुद्दा दिएको हुन् । हामीले अदालतको आदेशको अपहेलना गरेको छैन अदालतको आदेश हामीलाई सधै मान्य हुन्छ निजको झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०५९।४।८।८ को प्रतिवादी सोमन ठाकुर वडही समेत जना ४ को संयुक्त लिखित जवाफ ।

५.    मैले निवेदकको जग्गामा गई कुनै किसिमको अतिक्रमण अवरोध गरेको छैन अन्तरिम आदेशको अवज्ञा अन्य प्रतिवादीहरुले गरेका हुँदा म उपरको दावी खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको मिति ०५९।४।३० गते प्रतिवादी सत्य नारायण यादवको लिखित जवाफ ।

६.    अदालतको अपहेलनामा कारवाही र सजाय गरी पाउँ भन्ने निवेदन दावी पुग्न नसक्ने ठहर्छ भनी पुनरावेदन अदालत राजविराजवाट मिति ०५९।१०।९।५ मा भएको फैसला ।

७.    निषेधाज्ञा मुद्दामा विपक्षीहरुका नाममा मिति ०५९।२।१६ गते अन्तरिम आदेश जारी भई म्याद तामेल समेत भइसकेको बाबजुद दुई थान फुसको घरको भित्ता उखेली जवरजस्ती मजदुर लगाई इटा दिवाल लगाउन शुरू गरेको कुरालाई अन्यथा भनी विपक्षीहरुले अस्वीकार नगरेकोले विपक्षीहरुबाट अदालतबाट भएको अन्तरिम आदेशको अपहेलना गरेको स्पष्ट हुँदा हुँदै पनि निवेदन दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले उक्त फैसला वदर गरी विपक्षीहरुलाई अदालतको अपहेलनामा सजाय गरी पाउँ भनी निवेदकको तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादवले विपक्षीहरुले निषेधाज्ञाको मुद्दामा अदालतबाट जारी भएको अन्तरिम आदेशको विपरित गई कार्य गरेको भन्ने देखिइरहेको अवस्थामा निजहरुलाई सजाय नगरेको पुनरावेदन अदालतको फैसला प्रत्यक्ष त्रुटीपूर्ण भएकोले सो फैसला वदर गरी अदालतको अपहेलनामा विपक्षीहरुलाई सजाय गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनी पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन ? निवेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

९.    निर्णयतर्फ विचार गर्दा निवेदकले दिएको निषेधाज्ञाको मुद्दामा विपक्षीहरूका नाममा मिति ०५९।२।१६ मा अन्तरिम आदेश जारी भएको म्याद समेत तामेल भइसकेपछि पनि निजहरू अदालतको आदेशको अपहेलना गरी निर्माण कार्य सूचारु गरेको हुँदा विपक्षीहरुलाई सजाय गरी पाउँ भन्ने निवेदन दावी भएकोमा, हामीले अदालतको अपहेलना गरेका छैनौं । झुठा दावी खारेज गरी पाउँ भन्ने विपक्षीहरुको लिखित जवाफ देखिन्छ । पुनरावेदन अदालतले निषेधाज्ञा मुद्दा खारेज हुने ठहरेकाले यसमा पनि दावी पुग्न नसक्ने फैसला गरे उपर निवेदनको तर्फवाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिइ त्यस तर्फ हेर्दा आज यसै इजलासबाट यीनै पुनरावेदक जुगुतलाल यादव प्रत्यर्थी सोमन ठाकुर वडही समेत भएको यसै लगाउको दे.पु.नं. ९२१९ को निषेधाज्ञ मुद्दामा निवेदन खारेज हुने ठहराई पुनरावेदन अदालतबाट भएको इन्साफ सदर हुने ठहरी फैसला भएको छ । अदालतको अवहेलना सम्बन्धी मुद्दा अदालतले आफ्नो स्वतन्त्रता न्यायिक गरिमा र अदालत प्रतिको जनआस्था जोगाउने प्रयोजनको लागि अदालत आफै वादी भई चलाउने मुद्दा हो । जसको निवेदनबाट कारवाही प्रारम्भ भए पनि यसमा वादी पक्ष अदालतनै हुन्छ । निवेदकको दाइत्व अदालतको अवज्ञा वा असम्मान भएको घटनाको जानकारी सम्म गराउने हो । हक बेहक वा पीडित वा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम अवहेलना मुद्दाको निवेदकको दाइत्व भित्र पर्दैन । कुनै अदालतले आफ्नो अवहेलना भएको छैन भन्ने ठहर गरेबाट अवहेलना मुद्दाको निवेदक माथि कुनै विपरीत असर पर्ने अवस्था हुँदैन । त्यसकारण अवहेलना मुद्दामा आरोप ठहरी विपक्षीले सजाय पाएमा निजले कानून बमोजिम पुनरावेदन गर्न पाउँछ, अन्यथा निजले सफाई पाएमा त्यसबाट अवहेलना मुद्दाको निवेदकको लागि पुनरावेदन गर्न पाउने कानूनी हकको सिर्जना हुँदैन । त्यसकारण प्रस्तुत मुद्दामा प्रत्यर्थीहरुले अदालतको अवेलना नगरेकोले सफाई पाउने ठहराई पुनरावेदन अदालत राजविराजबाट मिति ०५९।१०।९।५ मा भएको फैसला मुनासिव देखिदा सदर हुने ठहर्छ । निवेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीकोलगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. राजेन्द्र कुमार भण्डारी

शा.अः पुष्पराज थपलिया

 

इति सम्वत् २०६३ साल पौष १३ गते रोज ५ शुभम् 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु