शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७०० - परमादेश

भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक:

निर्णय नं.७७००     ने.का.प.२०६३ अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री गौरी ढकाल

संवत् २०६१ सालको रिट नं. –––––३२५३

आदेश मितिः २०६३।३।१५।५

 

विषयःपरमादेश ।

 

            निवेदकः का.जि.का.म.न.पा.वडा नं. २० वस्ने प्रतुत लाल श्रेष्ठ

विरुद्ध

            विपक्षीः संचालक समिति राष्ट्रिय, वाणिज्य वैंक काठमाडौं समेत

 

§  वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ग अनुसार वैंकको हित सुरक्षण हुने गरी वैंक र जमानी हुने व्यक्तिको विचमा भएको सम्झौताको शर्तको आधारमा वैंकले ऋण दिन सक्ने हुँदा सो ऋण असुल नभएसम्म जमानी हुने व्यक्तिले लेखि दिएको धितो फुकुवा हुन नसक्ने ।

§  वैंक तथा वित्तिय संस्थासम्वन्धी अध्यादेश, २०६२ को दफा ५७ ले वैंकको धितो सुरक्षणमा रहेको अचल सम्पत्ति वैंकले लिलाम विक्रि गरी ऋण असुल गर्न पाउने हुँदा मैले वैंकलाई धितो सुरक्षणमा दिएको घर जग्गा तेश्रो पक्षलाई लिलाम विक्री गर्न मिल्ने होईन भन्ने निवेदन जिकिर मनासिव नदेखिने ।

(प्रकरण नं.१०)

 

निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई

विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल

अवलम्वित नजीरः

 

आदेश

            न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ ,८८ (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यसप्रकार छः

            २.    विपक्षी मध्येको नारा इन्टरनेशनलका संचालक मध्येका १ जना संचालक मेरा दाजु अतुललाल श्रेष्ठ हुनु हुन्थ्यो । सो कम्पनी सँग मेरो कुनै प्रत्यक्ष संलग्नता छैन । विपक्षी वैंक सँग कम्पनीले आफ्नो भवन जग्गा समेत धितो राखी जम्मा रु ९,००,००,०००। ऋण लिएको जानकारी मलाई गराएका थिए । सो कम्पनीलाई आवश्यक परेको थप कर्जाको लागि कम्पनीका संचालक दाजुले मेरो घर जग्गा केही समयका लागि वैंकका नाउंमा थप धितो वन्धक पास गरि दिन आग्रह गरे बमोजिम मेरो का.म.न.पा.वडा नं. २२ ड कि.नं. २०९ को ज.रो १० र सोमा वनेको घर समेतको मूल्यांकन गराउदा वैंक नियम अनुसार २७,००,०००। सम्मको थप ऋण लिन पाउने र सोका लागि सो घर जग्गा धितो पास गरि दिनुपर्ने भनियो । कम्पनीले रु ३८ करोड भन्दा वढी मूल्य पर्ने आफ्नो सम्पत्ति धितो राखि ९ करोड ऋण लिएको हुंदा सो ऋण सोही धितोवाट असुल हुन सक्ने र असुल गर्न सक्ने विपक्षीहरुले आस्वासन दिएका आधारमा मेरो जिम्मेवारी, दायित्व मेरो घर जग्गाको मुल्यांकन गरी वैंकले ठहर गरेको रकम रु २७,०००००। ऋण रकम र सो को व्याज सम्ममा सिमित रहने कुराको विश्वास गरी वैंकको नाउँमा सो मेरो घर जग्गा धितो वन्धकी पास गरि दिएको थिए । मैले धितो राखेको घर जग्गा विक्रि गरी वैंकको ऋण चुक्ता गर्न चाहेकाले वैंकको व्याज, पेनाल व्याजमा अन्य व्यक्तिहरुलाई वैंकले दिए सरहको केही सहुलियत समेत पाउँ र हर हिसाव गरी के कति रकम मैले बुझाउनु पर्ने हो जानकारी समेत पाउँ भनी मिति २०६१।४।२७ मा निवेदन पेश गरेकोमा सो उपर निर्णय गरिएन । यसै विच विपक्षीहरुले एकातर्फ कम्पनीले वैंकको कर्जा नतिरेको भनी उक्त कम्पनीको सम्पत्ति लिलाम गरेको जस्तो गरी नगन्य मुल्यमा मेरो सम्पत्ती उपर तेश्रो व्यक्तिको हक पिसर्जना गर्न चाहेको आशंका देखि मेरो पूर्व निवेदनमा निर्णय गरी के कती रकम वैंकलाई वुझाएमा मेरो धितो फुकुवा हुने हो जानकारी पाउँ भनी पुन निवेदन दिएको थिए । तपाईले पास गरि दिएको धितो पासको लिखतमा ऋणी नारा इन्टरनेशनल प्रा.लि.ले वैंकको साँवा र सोमा लाग्ने व्याज नतिरे सम्म सुरक्षणमा रहने भनी लिखत गरेको देखिन्छ, उक्त लिखतवाट तपाईको दायित्व रु २७,००,०००। सम्ममा मात्र सिमित रहने भन्ने देखिदैन । धितो लेखि दिएको सम्पत्तिको तत्कालिन मूल्यांकन र २७,००,०००। भनी गरिएको विषयलाई तपाईको वैंक प्रतिको दायित्व २७ लाख मा रहने अर्थ गर्न नमिल्ने हुनाले तपाईको माग बमोजिम सो घर जग्गा फुकुवा गर्न नमिल्ने भनी राष्ट्रिय वाणिज्य वैंक केन्द्रिय कार्यालय को मिति ०६।७।२० को पत्रवाट जानकारी दिइयो ।

            ३.    वैंकले मैले धितो वन्धक पास गरि दिएको लिखतको गलत अर्थ लगाएको छ । मैले पास गरि दिएको धितोको आधारमा नारा इन्टरनेसनललाई ९ करोड ऋण दिएको होइन । मेरो धितोवाट सो ऋण असुल हुन सक्छट भनी विपक्षीहरुले ऋण लिनु दिनु गरेको होइनन् । मैले गरि दिएको लिखत धितो वन्धकीहो, जमानी पत्रको लिखत होईन । नारा इन्टरनेसनलले लिएको ऋण तिर्ने दायित्व मेरो होइन । कम्पनीले लेखि दिएको धितो संगै मैले पास गरी दिएको घर जग्गा पनि साथै राखी एकै पटक लिलाम गर्न पाउने व्यहोरा लिखतमा छैन । वैंकलाई मैले रु २७ लाख ऋण कर्जाको लागि मात्र मेरो घर जग्गा धितो राखेकामा सो रकम र व्याज समेत बुझाई मेरो घर जग्गा फुकुवा गर्न निवेदन दिंदा समेत वैंकले पैसा वुझ्न इन्कार गरेको र मेरो घर जग्गा समेत लिलाममा चढाएकाले मेरो घर जग्गा लिलाम गर्ने, वैंक आफैंले वा तेश्रो व्यक्तिले उक्त घर जग्गामा स्वामित्व वा हकाधिकार कामय गर्ने लगायतका काम कारवाही र निर्णय नगर्नु नगराउनु तथा मैले धितो राखेको मेरो घर जग्गाको वैंकले कायम गरेको मूल्य रु २७ लाख र सोको व्याज समेत हिसाव गरी म निवेदकवाट वैंकले रकम वुझि मेरो घर जग्गा फुकुवा गरी दिनु भनी विपक्षीहरुका नाउंमा अन्तरिम आदेश सहित परमादेश लगायत आज्ञा आदेश जारी गरिपाऊँ भन्ने समेत व्यहोराको रिट निवेदन पत्र ।

            ४.    यसमा के कसो भएको  हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? १५ दिन भित्र लिखितजवाफ प्रस्तुत गर्नु भनी विपक्षीहरुका नाममा सूचना पठाउनु । साथै निवेदनमा उल्लेख गरिएको सम्पत्तिको रिट निवेदनको निर्णय नभए सम्म लिलाम सम्वन्धि काम कारवाही नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउंमा अन्तरिम आदेश जारी गरि दिएको छ भन्ने यस अदालतको मिति ०६१।८।१५ को आदेश ।

            ५.    नारा इन्टरनेशनल हिमालयन स्प्रिङ्ग वाटर प्रा.लि. संग यस वैंकले हाल सम्म सावा व्याज गरी करिव रु २१,३०,०००००। असुल उपर गर्न वाँकी छ । विपक्षी निवेदकले मिति ०५५।७।२९ मा पारित गरि दिएको धितो वन्धक लिखतमा विपक्षी मध्येका नारा इन्टरनेशनलले लिएको नौ करोड कर्जाको सुरक्षणका लागि धितो दिएको र उक्त कर्जा चुक्ता नभएमा उक्त सम्पत्ति लिलाम विक्रि भएमा मेरो मन्जुर छ भन्ने व्यहोरा उल्लेख गरी दिएको स्पष्ट हुँदा हुँदै मेरो दायित्व २७ लाख र सोमा हुन आउने व्याज सम्म मात्र हो भनी कदापी भन्न पाउने होइन । त्यसरी कानून बमोजिम लिखत गरि दिएकोमा त्यसलाई सोझै इन्कार गरी अन्य असम्वन्धीत व्यहोरा उल्लेख गरी परमादेश माग गर्न मिल्ने होइन । विपक्षीले आफ्नो स्वविवेकवाट विपक्षी मध्येका कम्पनीका  कर्जाको थप सुरक्षणको लागि धितो वन्धक पारित गरि दिंदा त्यसवाट भविष्यमा पर्न सक्ने अवस्थाका वारेमा स्वयं सचेत हुनु पर्नेमा अहिले आएर वैंक विरुद्ध अनरगल कुरा उल्लेख गर्न मिल्दैन । वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ (क) एवं वैंक तथा वित्तिय संस्था सम्वन्धि अध्यादेश २०६१ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी वैंकको कर्जाको थप सुरक्षण वापत पारित गरी दिएको अचल सम्पत्तिलाई कानून बमोजिम गरी कर्जा असुल गर्न पाउने नै हुँदा यस वैंकले विपक्षीको घरवास उठाउने गरी हक हनन गर्ने कार्य नभएको हुंदा अन्तरिम आदेश सहित रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको राष्ट्रिय वाणिज्य वैंक केद्रीय कार्यालय समेतको लिखितजवाफ ।

            ६.    नियमानुसार मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल एंव विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराईले हाम्रो पक्षले ०५५।७।२५ मा धितो वन्धक पास गरि दिएको निजको घर जग्गाको वैंकले मूल्यांकन गरेर वैंकको नियमानुसार २७ लाख रुपैया कर्जा दिएको हुंदा निजको दायित्व सोहि घर जग्गा र ऋण सम्ममा मात्र सिमित हुने हो । उक्त ऋण र सोको हुन आउने व्याज समेत हिसाव गरि बैंकको ऋण चुक्ता गर्नको लागि के कति रकम वैंकलाई बुझाएमा मेरो धितो फुकुवा हुने हो त्यसवारे जानकारी पाउँ भनी पटक पटक निवेदन दिंदा घर जग्गा फुकुवा गर्न नमिल्ने भनी जानकारी दिइएको छ । मेरो घर जग्गा लिलाम गरी तेश्रो व्यक्तिको हक सिर्जना गर्न मिल्ने होइन । मैले धितो वन्धक पास गरि दिंदा वैंकले दिएको २७ लाख ऋणको साँवा व्याज वुझि लिएर मेरो घर जग्गा फुकुवा हुनुपर्छ। नारा इन्टरनेसनलले लिएको ऋण चुक्ता नभए सम्म मेरो घर जग्गा फुकुवा गर्न मिल्दैन भन्नु नियम संगत नहुने हुंदा माग बमोजिमको आदेश जारी होस भनी वहस प्रस्तुत गर्नु भयो । विपक्षी वाणिज्य वैंकको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले निवेदकले पास गरि दिएको मिति २०५५।७।२९ को लिखतमा नारा इनटरनेसनल हिमालयन स्प्रिङ्ग वाटरले वैंकवाट लिएको ९ करोड ऋणको सुरक्षण वापत धितो लेखि दिएको भन्ने उल्लेख भई सो सम्पूर्ण ऋण चुक्ता नभएसम्म धितो दिएको सम्पत्ति हक हस्तान्तरण गर्नें छैन भन्ने उल्लेख भएको हुंदा कम्पनीले लिएको सम्पूर्ण ऋण रकममा निजको दायित्व रहेको स्पष्ट छ । निवेदकको सम्पत्तिको हकमा सम्म निजको दायित्व सिमित हुने भन्नेर लिखतमा उल्लेख भएको छैन । वैंकको सवै रकम असुल नभएमा अरु चल अचल सम्पत्तिवाट असुल गरि लिएमा मन्जुर छ भनी लिखत गरि दिएको स्थितिमा वैंकको सवै ऋणमा निवेदकको दायित्व भएको हुँदा माग बमोजिमको आदेश जारी हुने अवस्था छैन । रिट खारेज होस भनी वहस प्रस्तुत गर्नु भयो ।

            ७.    पेश भएको मिसिल कागज अध्ययन गरी दुवै तर्फका विद्वान कानून व्यवशायीहरुले प्रस्तुत गर्नु भएको वहस जिकिरलाई दृष्टिगत गर्दा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होईन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            ८.    निर्णय तर्फ विचार गर्दा मैले नारा इन्टरनेसनल हिमालयन स्प्रिङ वाटर प्रा.लि.को कर्जाको सुरक्षणको लागि मेरो नाउंको कि.नं. २०९ को १० जग्गा र सोमा वनेको घर मिति ०५५।७।२९ मा रु २७,००,०००। मा धितो वन्धक पारित गरि दिएकाले मेरो दायित्व सो २७ लाख र सोको व्याज सम्ममा सिमित रहने हुंदा सो रकम वुझि मेरो घर जग्गा फुकुवा गरिपाऊँ भनी वैंकमा जाँदा इन्कार गरी कम्पनीको धितो संगै मेरो जग्गा समेत लिलाम गर्न लागेको हुंदा मैले धितो राखेको घर जग्गाको वैंकले कायम गरेको मुल्य रु २७ लाख र सोको व्याज समेत हिसाव गरी म वाट वैंकले रकम बुझि मेरो घर जग्गा फुकुवा गरी दिनु भनी परमादेश जारी गरिपाऊँ भन्ने मुख्य रिट निवेदन दावी रहेछ । मिति ०५५।७।२९ मा निवेदक प्रतुतलाल श्रेष्ठले पारित गरि दिएको लिखत नारा इन्टरनेशनल कम्पनीले वैंक सँग लिएको सम्पूर्ण ऋण चुक्ता नभएसम्म धितोमा लेखिएको सम्पत्ति अरु कसैलाई कुनै व्यहोराले हक हस्तान्तरण गर्ने छेन । निज ऋणिलाई वैंकको सम्पूर्ण ऋण रकम तिर्न वुझाउन लगाउने छु । नवुझाएमा वैंकलाई सुरक्षण वापत धितो वन्धक लेखि दिएको उक्त कि.नं. २०९ को घर जग्गा वैंकले लिलाम विक्रि वा अन्य व्यवस्था गरि असुल गरी लिएमा मन्जुरी छ । पछि गएर एकाको कारोवारमा मेरो सम्पत्तिवाट असुल उपर गर्न पाइने होइन भनी कुनै उजुर गर्ने छैन भनी उल्लेख भएको पाईन्छ । सो लिखतवाट वैंकले २७ लाख रुपैया ऋण दिएको भएतापनि रिट निवेदक प्रतुलालको दायित्व सोही २७ लाख सम्म मात्र सिमित हुने भनी लेखिएको पाइदैन । सो पारित लिखतको व्यहोरावाट नारा इन्टरनेशनलले राष्ट्रिय वाणिज्य वैंकबाट लिएको ९ करोड ऋण र सोको व्याज समेतमा यी निवेदकको दायित्व कायम हुने स्पष्ट रुपमा देखिएको छ ।

            ९.    नारा इन्टरनेशनल हिमालयन स्प्रिङ्ग वाटरले राष्ट्रिय वाणिज्य वैंकबाट लिएको ऋण वापतमा निवेदक प्रतुतलाल श्रेष्ठले आफ्नो घर जग्गा सुरक्षण वापत धितो लेखि दिएको उक्त मिति ०५५।७।२९ को लिखत व्यहोरावाट देखिन आउछ । करार ऐन, २०५६ को दफा १५ मा कुनै व्यक्तिले लिएको ऋणको दायित्व चुक्ता वा पुरा नगरेमा तेश्रो पक्षले चुक्ता वा पुरा गरि दिने गरी करार भएमा जमानत सम्वन्धि करार हुने र त्यसरी जमानत सम्वन्धि करार भई तेश्रो व्यक्तिले जमानत दिएमा ऋण तिर्नुपर्ने व्यक्तिले नतिरेमा वा दायित्व पुरा नगरेमा त्यस्तो ऋण वा दायित्व जमानत दिनेले तिर्नु पर्ने व्यवस्था भई रहेको पाइयो । सो व्यवस्थावाट निवेदक प्रतुतलाल श्रेष्ठ र राष्ट्रिय वाणिज्य वैंक विचमा भएको उक्त लिखतको व्यहोरावाट समेत नारा इन्टरनेसनलले वैंकलाई तिर्नुपर्ने ऋणको दायित्ववाट यी निवेदक पन्छिन मिल्ने देखिन आउदैन । सो कम्पनीले वैंक प्रतिको आफ्नो ऋण तिर्नु पर्ने दायित्व पुरा नगरेमा यि निवेदकको धितोवाट समेत वैंकले आफ्नो ऋण असुल गर्न सक्ने नै देखिन आउँछ ।

            १०.    वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ ग अनुसार वैंकको हित सुरक्षण हुने गरी वैंक र जमानी हुने व्यक्तिको विचमा भएको सम्झौताको शर्तको आधारमा वैंकले ऋण दिन सक्ने हुँदा सो ऋण असुल नभए सम्म जमानी हुने व्यक्तिले लेखि दिएको धितो फुकुवा हुन सक्ने अवस्था देखिएन । वैंक तथा वित्तिय संस्था सम्वन्धी अध्यादेश २०६२ को दफा ५७ ले वैंकको धितो सुरक्षणमा रहेको अचल सम्पत्ति वैंकले लिलाम विक्रि गरी ऋण असुल गर्न पाउने हुँदा समेत मैले वैंकलाई धितो सुरक्षणमा दिएको घर जग्गा तेश्रो पक्षलाई लिलाम विक्री गर्न मिल्ने होईन भन्ने निवेदन जिकिर मनासिव देखिन आएन ।

            ११.    निवेदक प्रतुतलाल श्रेष्ठ र राष्ट्रिय वाणिज्य वैंक विच भएको मिति ०५५।७।२९ को लिखतको सम्वन्धमा प्रस्तुत रिट निवेदन दायर भएको पाइन्छ । उक्त लिखतको शर्तभन्दा वाहिर गएर लिखतलाई आफु अनुकुल व्याख्या गरी अनर्थ लगाई वैंकले आफ्नो घर जग्गा तेश्रो व्यक्तिलाई लिलाम गर्न लागेको हुंदा सो समेत रोकि पाउन प्रस्तुत रिट निवेदन लिएर आएको देखियो । करार ऐन, २०५६ को दफा ८७ ले कुनै पक्षले करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारवाही वा व्यवहार गर्न लागेमा मर्कापर्ने पक्षले त्यस्तो काम कारवाही वा व्यवहार रोकी पाउन पुनरावेदन अदालतमा उजुरी दिन सक्ने व्यवस्था गरेकोमा सो व्यवस्था अनुरुप पुनरावेदन अदालतमा उजुरी नदिई यस अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको देखिन्छ । करारिय सम्वन्धवाट सिर्जना भएको विवादमा यस अदालतले असाधारण अधिकारक्षेत्र ग्रहण गरी हस्तक्षेप नगर्ने सिद्दान्तलाई अगाली आएको छ । साथै उचित वैकल्पिक उपचार छदा छदै असाधारण अधिकार क्षेत्रमा प्रवेश गर्न नमिल्ने भन्ने सिद्धान्तलाई यस अदालतले अंगाली आएको हुंदा निवेदकको माग बमोजिमको आदेश जारी हुन सक्ने देखिएन ।

            १२.   अतः माथि विवेचना गरिएका आधार र कारणवाट निवेदकको माग बमोजिमको आदेश जारी हुन सक्ने अवस्था देखिन आएन । रिट निवेदन खारेज हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. गौरी ढकाल

 

इति सम्वत् २०६३ साल असार १५ गते रोज ५ शुभम–––––––––––––––––––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु