निर्णय नं. ७७०२ - मोही नामसारी

निर्णय नं.७७०२ ने.का.प.२०६३ अङ्क ५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
सम्वत् २०६१ सालको दे.पु.नं.८८८३
आदेश मितिः २०६३।५।२।६
मुद्दा : मोही नामसारी ।
पुनरावेदक र प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं.१६ बस्ने कृष्णवहादुर डंगोल
बिरुद्ध
प्रत्यर्थी र वादीः ऐ.ऐ.बस्ने नानीछोरी महर्जन
§ मोही हक खाने पत्नी तथा छोराहरु समेत नरहेको र त्यस बखत प्रचलनमा रहेको भूमि सम्बन्धी ऐनको दफा २६(१) ले मोही हक छोरीमा सर्ने व्यवस्था समेत नभएको स्थितिमा पछि २०५३ सालमा भएको भूमि सम्बन्धी (चौथौ संशोधन) बाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई समेत मोहीयानी हक प्राप्त हुने भनी हक सिर्जना गरेको भनी वादीले दावी लिई सिद्धान्ततः आउन नमिल्ने ।
§ सामान्यतः कानून बनी सकेपछि जुन मितिबाट लागु हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोहि मितिबाट त्यो ऐनमा भएको प्रावधानहरु लागु भएको मान्नुपर्ने ।
§ २०५३ सालमा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) संशोधन भई सो संशोधनबाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई श्रृजित मोहीयानी हक त्यस भन्दा अघि उठेको विवादको विषयमा समेत लागु हुन्छ भन्नु प्रचलित कानून तथा न्यायका मान्य सिद्धान्त विपरीत हुन जाने।
(प्रकरण नं.११)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री निलम ज्ञवाली
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की
अवलम्वित नजीरः
आदेश
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५६।८।२० को फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउँ भनी प्रतिवादीको निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. काठमाडौं जिल्ला कालिमाटी वडा नं. १(ग) कि.नं.४३ को क्षेत्रफल ०–१–३–०, ऐ.कि.नं.४५ को क्षेत्रफल ०–९–०–०, जग्गाको जग्गाधनी कृष्णवहादुर डंगोल र मोही मेरा पिता अष्ट नारायण महर्जन भएकोमा पिता २०३९ सालमा परलोक भएको मोहीका हकदार म एक मात्र अविवाहिता छोरी भएको हुँदा उक्त कित्ता जग्गाको मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी ।
३. यसै कित्ता जग्गाको मोही कायम गरिपाऊँ र मोही लगत कट्टा गरिपाऊँ भनी छुट्टा छुट्टै दावी गर्न आएको देखिंदा मांग दावी अनुसार मोही नामसारी हुने हो हैन भनी श्रेस्तामा देखिएका जग्गाधनी कृष्णवहादुर डंगोल तथा मोही कायम गरिपाऊँ भन्ने तिर्थ माया महर्जनका नाममा २० दिने म्याद जारी गर्ने भनी भएको आदेश बमोजिम म्याद जारी गर्दा म्यादै भित्रै पर्न आएको प्रस्तुत प्रतिउत्तरमा दावीको कित्ता जग्गाको मोही अष्ट नारायण महर्जन परलोक भएको हुँदा निजका नामबाट अविवाहिता छोरी नानी छोरी महर्जनका नाममा मोही नामसारी गर्न मन्जुर छ भनी तिर्थमाया महर्जनको प्रतिवाद भएको देखिन्छ भने दावीको कित्ता जग्गाको मोही कायम गरिपाऊँ भनी २०४५।६।१४ मा तिर्थमाया महर्जनको दावी भएकोमा अष्ट नारायण महर्जन परलोक भएपछि निजको हकदार छोरी तिर्थमाया, मोतीमया, हेरामाया, नानीछोरी भएकोमा सबै छोरी विवाह भै कान्छी छोरी नानी छोरी महर्जन अविवाहिता भएको र निज अमेरिका तर्फ लागेको र उक्त जग्गा तिर्थमाया महर्जले जोती कमाई आएको भन्ने स्थलगत सर्जमिन । तिर्थमाया महर्जनले दावीको कित्ता जग्गामा दावी लिएको र सो दावीबाट नामसारी नहुने देखि अविवाहिता भनी देखाई नानी छोरी महर्जनलाई दावी गर्न लगाई नामसारीतर्फ कार्यवाही गर्ने प्रयास भएको प्रष्ट देखिन्छ । यसको अतिरिक्त निज अमेरिका रहे भएको भन्ने तर नामसारीको मांग गर्ने कति सम्म उचितको कुरा हो साथै निज उपस्थित नभई वारेसनामाद्धारा निवेदन दर्ता गराएको र निज मरे वा बाँचेको भन्ने कुरा हालसम्म थाहा हुन नसकेकोले निजलाई यसै कार्यालयबाट झिकाई उपस्थित गराई मेरो रोहवरमा राखि कार्यवाही गरिपाऊँ । निजको विवाह का.म.न.पा.वाडा नं.१२ ब्रम्हटोल बाह्र वर्षे इनारमा भएको भन्ने कुरा थाहा हुन आएको छ । उक्त स्थानमा स्थलगत सर्जमिन गरेको अवस्थामा थाहा हुने कुरा हो । निजका नाममा मोही नामसारी हुने होइन, निजको निवेदन खारेज गरी मोही लगत कट्टा गरिपाऊँ भन्ने प्रतिवादी जग्गाधनी कृष्णवहादुर डंगोलको प्रतिउत्तर ।
४. कालीमाटी १(ग) कि.नं.१३ को क्षेफल ०–१–३–० र ऐ.कि.नं.४५ को क्षेत्रफल ०–९–०–० समेत २ कित्ता जग्गाको मृतक मोही अष्टनारायणका नामबाट निजकी एक मात्र हकदार अविवाहिता छोरी नानी छोरी महर्जनका नाममा भूमि सम्बन्धी ऐन, २०२१ को चौथौ संशोधन सहितको दफा २६(१) बमोजिम मोही नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको भुमि सुधार कार्यालय, काठमाडौंको २०५५।३।१ को फैसला ।
५. भूमिसुधार कार्यालय काठमाडौंको फैसलामा चित्त बुझेन । उक्त फैसलामा न्यायिक मन र विवेकको प्रयोग नभई त्रूटि गरिएको हुँदा सो फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णवहादुर डंगोलको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
६. यसमा कि.नं.४३ र ४५ को जग्गाको मोही अष्टनारायण भएको र निजको छोरी नानी छोरी महर्जन भएको विवाद नभएको र निज छोरीको विवाह भई सकेको ठोस प्रमाणको अभाव हुनुको साथै निज बाहेक निज मोहीको अन्य हकदार देखिन गुज्रन नआएको समेत कारण निज मोहीको मृत्यु पश्चात निज वादीको नाममा मोही नामसारी हुने ठहराएको भूमिसुधार कार्यालय काठमाडौंको २०५५।३।१ को निर्णय फैसला अन्यथा गर्न मनासिव नभएकोले सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५६।८।२० को फैसला ।
७. मोही अष्टनारायण २०३९ सालमा परलोक भएको र २०३९ साल पश्चात विपक्षी नानी छोरी महर्जनले हालसम्म उल्लेखित कि.नं.४३ र ४५ को जग्गा खनजोत नगरेकी, निज मोही अष्टनारायणको परलोकपछि तिर्थ मायाले उल्लेखित जग्गा आफ्नो खनजोतमा रहेको छ भनी आफ्नो नाममा मोही नामसारी कायम गरिपाऊँ भनी भू.स.का.मा निवेदन दिएको र भू.सु.का.बाट निज तिर्थमायाको नाममा मोही नामसारी गर्न नमिल्ने भनी मिसिल तामेली राख्ने गरी निर्णय भए पश्चात यिनै तिर्थमायाले आफ्नी विवाहिता बहिनी नानी छोरी महर्जनको उल्लेखित जग्गामा खनजोत रहेको भनी पुनः निज तिर्थमायाले नै नानी छोरीको वारेस वनी मोही नामसारी गरिपाऊँ भनी मांग गर्नु भएको अवस्थामा पुनरावेदन अदालतबाट समेत वुझ्नु पर्ने प्रमाण नवुझी भुमि सम्बन्धी ऐन, २०२१ को दफा २५ प्रमाण ऐन, २०३१ को दफा ३ मुलुकी ऐन अ.वं.१८४(क) समेतको विपरीत गई भूमिसुधार कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण भएकोले उक्त मुद्दा दोहोर्याई हेरी मेरो निवेदन मांग दावी बमोजिम सो फैसला बदर गरिपाऊँ भन्ने समेतको प्रतिवादीको निवेदन ।
८. यसमा कि.नं.४३ र ४५ को जग्गाको मोही वादी पिता अष्टनारायण महर्जनको मृत्यु २०३९ सालमा भएको भन्ने कुरामा विवाद नभएको, तत्काल प्रचलित भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोहीको मृत्युपछि छोरीको नाउँमा मोहीयानी हक प्राप्त हुने व्यवस्था नगरेको अवस्थामा मृतक मोहीको नामबाट निजकी छोरी नानी छोरी महर्जनका नाउँमा मोही नामसारी हुने ठहर्याएकोपुनरावेदन अदालत पाटनको फैसलामा भूमि सम्बन्धी ऐन, २०२१ को तत्काल प्रचलित दफा २६(१) को व्याख्यात्मक त्रूटि रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालतको मिति २०६१।८।२ को आदेश ।
९. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिक्ता श्री निलम ज्ञवालीले विवादित जग्गाको मोही अष्टनारायणको २०३९ सालमा नै मृत्यु भएको र तत्पश्चात उक्त जग्गा निजको छोरी नानी छोरी महर्जनले जोत भोग गरेको नपाइनुको साथै तत्काल प्रचलित भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मोहीको मृत्युपछि छोरीको नाउँमा मोहीयानी हक प्राप्त हुने व्यवस्था गरेको समेत नपाइएको अवस्थामा भूमिसुधार कार्र्यालयले मोही नामसारी हुने ठहर गरेको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको फैसला त्रूटिपूर्ण देखिंदा सो फैसला बदर गरिपाऊँ भन्ने र प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्कीले उक्त जग्गाको मोही अष्टनारायण रहेको र निजको एक मात्र छोरी नानी छोरी महर्जन रहे भएको कुरामा विवाद नरहेको, साथै निज छोरीको विवाह समेत नभै बाबुको हक खाने हकदार निज मात्रै रहे भएको अवस्थामा उक्त विवादित सम्पत्तिमा यि वादीको मोही हक कायम रहने नै देखिंदा भूमिसुधार कार्यालयले मोही नामसारी गर्ने ठहर गरेको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सो फैसला सदर होस् भनी गर्नु भएको बहस समेत सुनी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा शुरु भूमिसुधार कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिले नमिलेको के छ ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
१०. निर्णयतर्फ विचार गर्दा– काठमाडौं जिल्ला कालिमाटी वडा नं.१(ग) कि.नं.४३ र ४५ को जग्गाको जग्गाधनी कृष्णवहादुर डंगोल र मोही मेरा पिता अष्ट नारायण महर्जन भएकोमा पिताको २०३९ सालमा परलोक भएको र मोहीको हकदार म एक अविवाहित छोरी मात्र भएको हुँदा उक्त जग्गाको मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी र वादी दावी बमोजिम मोही नामसारी हुने होइन निजको निवेदन खारेज गरी मोही लगत कट्टा गरिपाऊँ भन्ने समेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु भूमिसुधार कार्यालयबाट वादी दावी बमोजिम मोही नामसारी हुने ठहर्याईगरेको निर्णय फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको चित्त नबुझी मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन परी निस्सा प्रदान भै पेश हुन आएको देखियो ।
११. मिसिल संलग्न कागजात हेर्दा प्रस्तुत मुद्दामा विवादित कि.नं.४३ र ४५ को जग्गाको मोही अष्टनारायण रहेको भएतापनि निज मोहीको २०३९ सालमा मृत्यु भएको र तत्कालिन ऐन बमोजिम निजको हक खाने निजको श्रीमती तथा छोराहरु समेत नरहेको भन्ने कुरामा कुनै विवाद देखिदैन । जहाँसम्म वादी दावी बमोजिम अष्ट नारायणको मोही हक सम्पत्तिमा निजको छोरीले मोही नामसारी गरी लिन पाउने नपाउने के हो भन्ने प्रश्न छ, सो सम्बन्धमा तत्कालिन भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) लाई हेर्दा यस परिच्छेदको अन्य दफाहरुको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने उल्लेख भएको पाईन्छ । यसरी अष्टनारायणको मोही हक खाने पत्नी तथा छोराहरु समेत नरहेको र त्यस बखत प्रचलनमा रहेको भूमि सम्बन्धी ऐनको दफा २६(१) ले मोही हक छोरीमा सर्ने व्यवस्था समेत नभएको स्थितिमा पछि २०५३ सालमा भएको भूमि सम्बन्धी (चौथौ संशोधन) बाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई समेत मोहीयानी हक प्राप्त हुने भनी हक सिर्जना गरेको भनी वादीले दावी लिई सिद्धान्तत आउन मिल्ने अवस्था देखिदैन । किनकी मोही अष्ट नारायणको मृत्यु २०३९ सालमा भएको अवस्था छ । सामान्यत कानून बनी सकेपछि जुन मितिबाट लागु हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोहि मितिबाट त्यो ऐनमा भएको प्रावधानहरु लागु भएको मान्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा २०५३ सालमा भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) संशोधन भई सो संशोधनबाट ३५ वर्ष पुगेकी अविवाहित छोरीलाई श्रृजित मोहीयानी हक त्यस भन्दा अघि उठेको विवादको विषयमा समेत लागु हुन्छ भन्नु प्रचलित कानून तथा न्यायका मान्य सिद्धान्त विपरीत हुन
जान्छ । जहाँसम्म प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ताले बहसको क्रममा उठाइएको ने.का.प.२०५३ अंक ७ नि.नं.६२२९ को नजीरको विषय छ । अंश जस्तो नैसंर्गिक अधिकार सम्बन्धको विवादको विषय रहेको र सो मुद्दाको तथ्य र प्रकृति प्रस्तुत मुद्दाको भन्दा भिन्न प्रकृतिको रहे भएको देखिएको अवस्थामा उक्त मुद्दामा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने अवस्था समेत देखिन आएन ।
१२. तसर्थ माथि विवेचित वुँदा प्रमाणहरु समेतको आधारमा वादी दावी बमोजिम मोही नामसारी हुने ठहर्याएको भूमिसुधार कार्यालयको निर्णय फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा सो फैसला उल्टी भई वादी दावी नपुग्ने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रकुमार भण्डारी
इति सम्बत् २०६३ साल भाद्र २ गते रोज ६ शुभम्––––––––––