शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७७०६ - नामसारी दर्ता बदर अपूताली दर्ता कायम

भाग: ४८ साल: २०६३ महिना: भाद्र अंक:

निर्णय नं.७७०६     ने.का.प.२०६३ अङ्क ५

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी

सम्वत् २०५८ सालको दे.पु.नं.८२०१

फैसला मितिः २०६३।५।५।२

 

मुद्दा :नामसारी दर्ता बदर अपूताली दर्ता कायम ।

 

            पुनरावेदक

            वादीः जिल्ला सुनसरी इनरुवा नगरपालिका वार्ड नं. २ बस्ने डिल्लीराज पोख्रेल

विरुद्ध

            प्रत्यर्थी

            प्रतिवादीः ऐ. ऐ. वार्ड नं. २ बस्ने बृज कुमारी पोखरेल

 

§  २००४ सालमा वण्डा पत्र पारित भै छुटिृसकेपछि पितासंग बस्न आएको र पुनरावेदकले पालन पोषण गरेको भनी पुनरावेदकले भनेता पनि पछि  पुनः सगोलमा बसेको कुनै प्रमाण योग्य कागज नभएको अवस्थामा केवल फिराद र पुनरावेदनमा जिकिर लिएकै आधारमा मात्र संग बसेको वा मानो जोडिएको भन्ने मान्न नमिल्ने ।

§  पारीवारिक विषयमा सर्जमिनको एक आधार मात्र भरपर्दो प्रमाण मान्न नसकिने ।

§  स्व.जनक कुमारी सगोलमा रहनु भएको बखत परलोक हुनु भएकोले निजको पालनपोषण र काजकृया पनि आफूले गरेको हुँदा निजको नाउँको जग्गाहरु अपूतालीको ११ नं. बमोजिम आधा जग्गामा हक कायम गरिपाऊँ भन्ने पुनरावेदन जिकीर पुग्न नसक्ने ।

(प्रकरण नं.१८)

 

पुनरावेदक वादी तर्फवाटःडिल्लीराज पोखरेल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिहर दाहाल र मातृकाप्रसाद निरौला

अवलम्वित नजीरः

 

फैसला

            न्या.वलराम के.सीं: न्याय प्रशासन ऐन, २०४८ को दफा १२को उपदफा १ को खण्ड (क) (ख) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति ०५८।६।१८ को फैसला उपर वादीको तर्फबाट दोहोर्‍याई पाउँ भनि निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :-

            २.    मेरो बाजे हरीप्रसाद पोखरेलका २ भाई छोरामा जेठा मेरा पिता स्व. अक्लनाथ पोखरेल र कान्छा स्व. रत्नप्रसाद हुनुहुन्थयो र काका रत्नप्रसादकी २ वटी श्रीमती मध्ये जेठी जनक कुमारीको मिति ०५२।१०।२७ मा मृत्यु भएको र कान्छी बृज कुमारी जिवित हुनु हुन्छ । काका रत्नप्रसाद निसन्तान भई २००० साल मार्ग महिनामा परलोक हुनु भए पछि मेरा पिताले निज काकीहरुलाई रेखदेख गरि पिताका नाम दर्ताको ३३ नं. सतेरझोरा गा.वि.स. अन्तरगतको एकमुष्ट जग्गा विगाहा ६० मध्ये ३ भाग लगाई १।१ भाग २ वटी काकीहरुलाई र १ भाग आफ्ना नाउँमा कायम राखी  सगोलमै रही आउनु भएको सगोलमा मेल मिलाप हुन नसक्दा जि.सु ईनरुवा रै.नं. ६२२ को ज.वि.०० जग्गा निज काकी दुवै जनाका नाउँमा संयुक्त दर्तामा खरिद गरी दिनु भएका र २ वटा घरहरु बनाई दिनु भई दक्षिण पटिृको घरमा जेठी कार्की जनक कुमारी र उत्तर पटिृको घरमा कान्छी काकी वृज कुमारीलाई बसाई आउनु भएकोमा काकीहरु बीचमा मेलमिलापत्र नहुँदा जेठी काकीलाई म समेत बस्ने गरेको पिताकै घरमा राखी मिति ०२६।१।२० मा मलाई र दाजु गुरुप्रसाद पोखरेललाई जि.प.का सुनसरी मालबाट पारीत गरी दिनु भएको वण्डा पत्र लिखत अनुसार साविक इनरुवा गा.प.९(ख) को कि.नं. १०९ को तथा हाल इनरुवा न.पा. २।४० मा भएको मेरा अंश हक दर्ता परेको घरमा निज काकी  (जेठी) बसि आउनु भएको घरमा पिता मिति ०४७।५।१५ मा परलोक हुनु भएकोले निज जेठीकार्की मेरो सगोलमा बसि आउनु भएका बखत मिति ०५१।१०।१७ मा परलोक हुनु भएकोले निजको काजकृया पनि मैलनै गरेका हुँ । निज मृतक जेठी काकी जनक कुमारी दर्ताको सुनसरी ३३ नं. सतेरझोरा गा.वि.स.वा.नं. ३(क) को कि.नं. ५९ को ज.वि.०, ऐ. कि.नं.६० मा ज.वि. ०१७ ऐ. वडा नं.४(ख) को कि.नं. ११५ मा ज.वि. ०, ऐ. कि.नं.४०७ मा ज.वि. ०१६१९, ऐ. वडा नं. ४(क) कि.नं. ६२३ मा ज.वि.०९ ऐ. कि.नं. ६२४ मा ज.वि.२११÷२  ऐ. कि.नं.६६१ मा ज.वि.०१० ऐ. कि.नं. ६६२ मा ज.वि. २१६११/२ समेत ज.वि.७१२ र इनरुवा गा.पं. वडा नं.९ को हाल इनरुवा न.पा. वडा नं.२ को कि.नं.३३ को ज.वि.०० समेत कान्छी वृज कुमारी पोखरेलले निजका नाउँमा एक्लौटी दर्ता नामसारी गराई पाउँ भनी निवेदन दि. मा. पो. का. सुनसरीबाट ०५४।३।९ मा नामसारी दर्ता हुने गरी निर्णय भएको र निजका नाउँमा दर्ता भई निजले ज.ध.द.प्र.पुर्जा प्राप्त गरेको तथ्य मिति ०५४।१०।१० मा निवेदन दि प्रमाण खण्डका पेश गरेको नक्कल कागजातबाट पुष्टी भएको छ र मलाई प्रष्ट जानकारी हुन गएको छ । मृतक काकी नाउँमा दर्ता रहेको उल्लिखित जग्गाहरु मेरो पिताको दयामायाबाट स्वइच्छाले दिएको सम्पति भै मृतक काकीको उल्लेखित व्यहोरा अनुसार पालन पोषण र काजकृया समेत गरेको परिणामबाट मु.ऐन अपुतालीको ११ नं. बमोजिम उल्लिखित जग्गा मध्ये आधा जग्गामा मेरो हक लाग्ने कुरा प्रष्ट हुँदा हुदै एकलौटी निज कान्छी वृज कुमारीले नामसारी गरी दर्ता गराएकी हुँदा मु. ऐन अपुतालीको ११ नं. ऐन अन्तरगत अपुतालीको २० नं. को म्यादभित्र फिराद गर्न आएको छु ,तसर्थ नामसारीको निर्णय र दर्ता बदर गरी उल्लिखित जग्गा मध्येको नरम करम मिलाई  आधा जग्गा मेरो नाममा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको मिति ०५४।१०।१२ को फिराद पत्र ।

            ३.    मेरो सौता स्व. जनक कुमारीलाई वादीले पालन पोषण काजकृया गरेको भन्ने वादीको फिराद झुठ्ठा हो , हामी सौता सौता सबै मिलेर बसेको थियौ हामी दुवै सौता सौताको सल्लाहले यौटा धर्म बैष्णव भएर सगोलमै बसेका हौ । यि वादीले मेरी सौता स्व.जनक कुमारीलाई आफ्नो साथ एकासगोलमा राखेर कहिल्यै पालन पोषण गरेको पनि छैन । मेरपछि यि वादी आफुले काजकृया गरेको समेत केही छैन । यि सम्पूर्ण काम कुरा म आफैले गरेकी छु । यस कारण यो फिराद दावी सम्पूर्ण झुठा हो । यो जिल्ला अन्तरगतमा तत्काल भएको अंश वण्डा गर्नुपर्ने जम्मा ज.वि. ४११८८ मात्र भएको जग्गामध्ये हाम्रो पतिको अंशभागमा बराबर नरमगरम मिलाई आधा २०१९४ पाउनु पर्नेमा धेरै उव्जा हुने हाम्रो चक्ला मिलेको जम्मा ज.वि.२३१२६ जग्गा विपक्षीको बाबु अक्कनाथले  पहिलो आफ्नो अंशभागमा राखेर त्यसपछि स्व.सौता जनक कुमारीलाई ज.वि.९१२१४ र म वृज कुमारीलाई ८१३८ समेत गरी हामी आधा अंश खाने दुवै दिदी बैनीलाई जम्मा १८२ जग्गामा अंश वण्डा दिई २००३११५ मा हामीलाई वण्डा पत्र गरी दिई सो वण्डापत्र लिखत गत २००४८ मा तत्काल सो.वि. मालबाट रजिष्ट्रेशन  पास भएको छ । तत्काल ६० विगाहा थियो, दयामायाले ३ भागको २ भाग ४० विगाहा हामीलाई दिएको भन्ने फिराद दावीलाई प्रस्तुत वण्डा पत्र लिखतले स्वतः झुठा सावित गरेको छ । ०५२।१०।२७ गतेमा मेरो सौता जनक कुमारीको मृत्यु भएको हो भन्ने यी वादीले जनक कुमारीको नाउँको अचल जग्गा तत्कलै आफ्नो नाउमा नामसारी गराई लिन नसक्ने कारण के थियो , विपक्षीको फिराद दावीबाट कुनै कुरा खुल्दैन म वृज कुमारीको समान अंशियार मेरो सौता जनक कुमारीको मृत्युपछि अपुतालीको २ नं.ले हक पुग्ने अंशीयार म वृज कुमारी भएकोले इनरुवा न.पा.को च.नं.१९८० मिति ०५४।२।२१ को सिफारिस बमोजिम ०५४।२।२२ मा मैले निवेदन दर्ता गरेपछि ७ दिने सूचना जारी गर्ने आदेश भएपछि सूचना प्रकाशित भै ०५४।३।९ गते स्व. सौता जनक कुमारीको नाउँमा दर्ता भएको सम्पूर्ण जग्गा मेरा नाउँमा नामसारी दा.खा.गर्ने निर्णय भएको हो, अतः वादीको हकै नपुग्ने यि वादीले बिना आधार दायर गरेको यो फिराद पत्रको मात्र आधारमा स्व.जनक कुमारी दर्ताको मेरो नाउँमा नामसारी हुने गरि भएको मालपोत कार्‍यालय सुनसरीको निर्णय र सो को आधारमा मेरो नाउँमा नामसारी दा.खा.दर्ता समेत बदर हुने हैन । विपक्षीको झुठा फिराद दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर पत्र ।

            ४.    २००४८ गतेको सक्कल वण्डा पत्र प्रतिवादीबाट दाखिल गराई वादीलाई अ.वं. ७८ नं. बमोजिम सनाखत बयान गराई पेश गर्नु भन्ने ०५५।४।१८ गतेको आदेश ।

            ५.    मिति २००४८ मोरंग मालबाट पास भएको लिखत अर्थ लाग्छ तर घरसारको वण्डा पत्रको श्री व्यहोरा लिखित मलाई छुवाएर लिखतको अन्तिम व्यहोरा इति सम्वतमा समेत कारणीको सहीछाप नपरेको त्यस बखतको प्रचलित मुलुकी ऐन, १९९० को कागज जाँचको महलको रित नपुगेको, वण्डापत्रलाई मोरंग मालले पास गर्न नसक्ने लिखत पनि पास भएको भन्ने विपक्षीले देखाउनु भएको सो पारीत बेहोराको सबै सरकारी छाप दस्तखत समेत किर्ते गरेर सो लिखत तयार भएको प्रष्ट रुपमा देखिन गएको छ । किर्ते नै हो भन्ने आधारमा नयाँ कागजमा आधुनिक फोन्टेनपेनबाट आधुनिक मसिले सो लिखत तयार भएकोले पनि प्रष्ट हुन्छ । अर्को आधारमा प्रतिउत्तर प्रकरण ३ मा विवादित लिखत पेश गरेको भन्ने लेखि तपसिलको कागज खण्डमा नखुलाई अदालतलाई झुक्याएको र मेरो उजुर पछि बाध्य भएर सो लिखत पेश भएको परिणामले पनि प्रष्ट हुन्छ । कारणीको सहिछाप सद्दे किर्ते तर्फ बयान गर्नुपर्ने स्थिति नभई सरकारी छाप दस्तखत गर्ने किर्ते, हो होइन भन्ने तर्फ स्थिति देखिनाले अनुसन्धान अधिकारी जिल्ला प्रहरी कार्‍यालय सुनसरी इनरुवामा यस विवाद सम्बन्धमा जाँच बुझ तहकिकात र दायरी निम्ति प्रस्तुत मिसिल पठाई पाउन अनुरोध गर्दछु भन्ने समेत व्यहोराको वादी डिल्लीराज पोखरेलले गरेको वण्डा पत्र सनाखत कागज ।

            ६.    वादी डिल्लीराजले किर्ते भनेको सक्कल वण्डा पत्र मोरंग मालबाट पारीत भएको हो सहिसत्य व्यहोराको सक्कल वण्डा पत्रको उक्त वण्डा पत्रलाई किर्ते भनी वादीले गरेको बयान सबै झुठा हो भन्ने समेतको प्र.वा. इन्द्रप्रसाद दाहालले गरेको बयान ।

            ७.    वादीका साक्षी धु्रव पौडेल, शरद कुमार भटृराई, पुष्पराज घिमिरेले जनक कुमारीको रेखदेख र काजकृया वादीले गरेको भनी बकपत्र गरेको र प्र.का. साक्षी गणेश प्र.पोखरेल र कुमारप्रसाद पोखरेले जनक कुमारीको मृत्यु वृन्दावनमा भएको वादीले पालन पोषण र काज क्रिया समेत गरेको थाहा छैन भन्ने समेतको बकपत्र ।

            ८.    मृतक जनक कुमारीको पालन पोषण र काज क्रिया कसले गरेका हुन सो सम्बन्धमा सम्बन्धीत स्थलमा गई सर्जमीन गरी पेश गर्नु भन्ने ०५५।७।११ गतेको आदेश ।

            ९.    स्व. जनक कुमारीको पालन पोषण र काज क्रिया बृज कुमारीले गरेका हुन भन्ने समेतको कपिलप्रसाद पोखरेल, मथुरारमण पोखेरल, अम्बिका सिलवाल, निर्मलादेवी झा, भोजराज पोखरेल, कुमारप्रसाद पोखरेल, प्रमोद पोखरेल, सतन कुमार पोखरेलले बकि लेखाई दिएको सर्जमिन मुचुल्का र जनक कुमारीको पालन पोषण र काजकृया बादी डिल्लीराजले गरेको भन्ने  समेत रमेश तिम्सिना, राजु अधिकारी, रमेश अधिकारी ,मनोज अधिकारी, सरद कुमार भटृराई, सूर्यरत्न गुभाजु, राजेश कुमार पोखरेल, गजेन्द्र खतिवडा र राजु परियारले बकि लेखाइ दिएको सर्जमिन मुचुल्का ।

            १०.    डिल्लीराज पोखरेल मेरो सहोदर भाई हो, वृज कुमारी मेरो सहोदर काकी नाताका हुन डिल्लीराज र मेरो बिचमा ०२६ सालमा वण्डा भै सकेको छ । काका रत्नप्रसादको २ श्रीमती जेठी जनक कुमारी र कान्छी वृज कुमारी हुन, संन्तान छैन । काकी जनक कुमारी वृज कुमारीका साथमा ०१५ साल देखि ०४० सालसम्म संगै बसेका थिए, तर ०१७ सालमा जनक कुमारी, तिर्थ जान्छु भनी ०१७ सालदेखि वृन्दावनमा गै बसेकी थिईन, निजको जग्गाको रेखदेख मैले नै गरेको थिए र निजलाई वृन्दा वनमै खर्च मैले नै पठाई दिने गरेको थिए र उहांको ०५२ साल माघ २७ गते शनिवारको दिन वृन्दावनमै स्वर्गवास भएको कुरा त्यसैदिन राती वृज कुमारीको छिमेकी गणेशप्रसाद पोखरेलको घरमा दे.नं.६०१७७ मा टंकल आयो र वृज कुमारीले मलाई बोलाई काकी जनक कुमारीको स्वर्गवास भएको खबर सुनाउनु भयो, त्यसपछि जनक कुमारी वैष्णव भएको हुनाले वैष्णव भएपछि मात्र कृया गर्न पाउँ भन्न भयो र मैले वैष्णव हुन ईन्कार गरेपछि वृज कुमारीले आफै काजकृया गर्छु भनी भोलीपल्ट माघ २८ गते वृन्दावनगै निजको काजकृया गरी फागुण अन्तिम हप्तामा इनरुवा आउनु भएको थियो, तसर्थ वृज कुमारीले नै जनक कुमारीको काजकृया गरेकी हुन र ०४० सालदेखिको जनक कुमारीको जग्गाको हेरचाह समेत वृज कुमारीले नै गर्नु भएको भन्ने समेतको बुझीएका गुरुप्रसाद पोखरेलको बयान कागज।

            ११.    वादी दावा पुग्न सक्दैन भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको फैसला ।

            १२.   शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दावी अनुसार गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको तर्फबाट परेको पुनरावेदन पत्र ।

            १३.   वादीका साक्षी र अदालतबाट बुझीएका सर्जमिन मुचुल्काका विभिन्न व्यक्तिहरुको अभिव्यक्तिहरुको अभिव्यक्तिबाट मृतक काकीलाई स्याहार संहार गरेको भन्ने वादी दावाको समर्थन भईरहेको स्थितिमा वादीका साक्षी र वादीको समर्थनमा व्यहोरा लेखाउने सर्जमिनका व्यक्ति अर्कै वडाका मानिस भएकोले निजहरुको कथन अविश्वसनिय रहेको भन्ने शुरुको निर्णयाधार कानूनसम्मत नरहेको र विवादित जग्गा आफ्ना छोराहरुको नाउँमा बकसपत्र पारित गराईलिएका वादीको दाजुको कथनलाई वादीको विरुद्धको प्रमाणका लिई वादी दावा पुग्न नसक्ने ठहर्‍याएको शुरु फैसला फरक पर्न सक्ने देखिंदा अ.वं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको अदालतको आदेश ।

            १४.   मृतक जनक कुमारी र प्र.वृज कुमारी एकै हाँगाको समान हकका सौता सौता भएकोले मृतक जनक कुमारीको सम्पत्तिमा पहिलो हक अपुताली महलले वृज कुमारीकै रहने हुँदा मालपोत कार्‍यालय सुनसरीले मृतक जनक कुमारीको नाउँको जग्गा प्र.वृज कुमारीको नाउँमा नामसारी हुने निर्णय गरी सोही आधारमा वृज कुमारीको नाउँमा दर्ता भएको मनासिबनै भएकोले वादीको दावी पुग्न नसक्ने ठहर्‍याईभएको शुरु सुनसरी जिल्ला अदालतको ईन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको फैसला । 

            १५.   विवादीत अपुताली जग्गा प्रतिवादीले आफ्ना नाममा नामसारी गराई दर्ता गराउनु भएपछि सो सम्पूर्ण अपुताली जग्गा दाजु गुरुप्रसादका ३ जना छोराहरुमा शेषपछिको बकसपत्र कागज पास भएको   छ । दाजु गुरुप्रसादले मृतक काकी जनक कुमारीको काजकृया आफुले नगरेकोमा स्वीकार गरी रहेको अवस्थामा सामाजिक परम्परा अनुसार मृतक काकीको काजकृया र पालन पोषण मैले नै गरेको पुष्टी भैरहेको अवस्थामा निजको अपुताली मैले नपाउने गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रूटिपूर्ण हुँदा बदर गरी वादी दावी बमोजिम गरिपाऊँ भनि प्रतिवादीको यस अदालतमा परेको  निवेदन ।

            १६.    यसमा प्रतिवादीले प्रमाण स्वरुप पेश गरेको २००४।२।८ को वण्डापत्र वादीलाई अ.वं.७८ नं. बमोजिम सुनाउँदा किर्ते भनि र प्रतिवादकिो सद्धे भनि भनेपछि अ.वं.८० नं. बमोजिम सद्दे किर्ते तर्फ नबोली पु.वे.अ. विराटनगरबाट मिति ०५।६।१८ मा भएको  फैसलामा मु.ऐन अ.वं.७८, ८० तथा १९२ नं. समेतको त्रूटि भै न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को (क) को अवस्था विद्यमान देखिंदा दोहोर्‍याई हेर्नका लागि निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको आदेश ।

            १७.   नियम बमोजिम दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रसतुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेरियो । पुनरावेदक वादीका तर्फबाट स्वयं वादी डिल्लीराज पोखरेलले मृतक काकी जनक कुमारी मेरो साथ सगोलमा बसी आउनु भएको बखत परलोक हुनु भएको हो, निजलाई मैले पालनपोषण काजकृया गरेको कुरामा विवाद छैन । मेरो साक्षीहरुले दावीलाई समर्थन हुने गरी बकपत्र गरिदिएका छन् । अपुतालीको ११ नं. ले आधा जग्गामा मेरो हक लाग्ने हुँदा प्रतिवादीको नामसारी निर्णय र दर्ता बदर गरी आधा जग्गा मेरो नाउँमा दर्ता गरिपाऊँ भनि बहस गर्नु भयो भने प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु हरिहर दाहाल र मातृकाप्रसाद निरौलाले जनक कुमारी र वृज कुमारी बीच वण्डा भएको भन्ने छैन । त्यस कारण समान अंशियारले अपूताली पाउने कानूनी व्यवस्था छ । मृतक समेतका वादीका बाबुसंग २००४ सालमा नै छुटिृ भिन्न भएको र मृतक जनककुमारी नाउँमा दर्तारहेको दावीको जग्गा नामसारीको लागि मेरो पक्षले निवेदन गरी मालपोत कार्‍यालयले हक दावीको सूचना प्रकाशित गर्दा वादीले कुनै उजुर समेत गरेको नदेखिंएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहर्‍याएकोपुनरावेदन अदालतको फैसला मनासिब हुँदा सदर हुनुपर्ने भनि बहस गर्नु भएकोमा अब वादी दावी पुग्न नसक्ने ठहर्‍याएकोपुनरावेदन अदालत विराटनगरको उक्त फैसला मिलेको छ छैन र  वादीको पुनरावेदन जिकिर पुग्ने हो होइन सो को निर्णय दिनुपर्ने देखिन आयो ।

            १८.   निर्णय तर्फ विचार गर्दा स्वं.काका रत्नप्रसादको जेठी श्रीमती जनक कुमारी मेरो अंश दर्तामा परेको घरमा सगोलमा बसि आउनु भएको बखतमा परलोक हुनु भएकोले मैले नै काजकृया गरेको हुँदा निजको नाउँमा दर्ता रहेको कि.नं.३३ र कि.नं.५९ जग्गा समेत विपक्षीले एकलौटी नामसारी गराएकोले अपुतालीको ११ नं.ले आधा जग्गाको उक्त नामसारी निर्णय र दर्ता बदर गरिपाऊँ भन्ने वादी दावी भएकोमा, मृतक जनक कुमारी वादीसंग बसेको हैन । हामी सौता सौता सगोलमा बसि आएको अवस्था हुँदा निजको परलोक भएको र काजकृया समेतको कार्य मैले नै गरेको हुँदा वादीले अपुताली पाउने होइन भनि प्रतिउत्तर जिकिर रहेको देखिन्छ । स्व.जनक कुमारी र प्रतिवादी वृज कुमारी सौता सौता भई स्व. रत्नप्रसादको विधवा पत्नि भएको कुरामा विवाद भएको पाइदैन । प्रतिवादीबाट पेश भएको मिसिल संलग्न २००४ सालको वण्डा पत्र अनुसार मृतक जनक कुमारी समेत वादीका पिता अकलनाथ र मृतक जनक कुमारी र प्रतिवादी वृजकुमारीको नाउँमा अलग अलग जग्गा दर्ता गरी अघि देखिनै भोग चलन गरेको कुरामा वादीले अन्यथा भन्न सकेको पाइदैन । वादी र वादीका दाजु गुरुप्रसाद बीच २०२६।१।३० गते वण्डापत्र पास गरी छुटिृ भिन्न भै बसेको कुरामा वादीले फिराद दावीमा उल्लेख गरेको देखिन्छ । प्रतिवादीले पेश गरेको वण्डा पत्र अलग अलग दर्ता श्रेस्ता समेत र वादी तथा वादीका दाजु बिचको २०२६ सालको वण्डा पत्रको आधार प्रमाणबाट वादीसंग मृतक जनक कुमारी सगोलमा रहे बसेको पुष्टी हुन नसकि वादी दावी खण्डित भैरहेको देखिन्छ । वादीका बाबु मृतक जनककुमारी र यी प्रतिवादी वृज कुमारी २००४ सालमा वण्डा पत्र भएपछि अपूतालीको ६ नं. बमोजिम अंश मिसाइ बसेको पनि देखिन आउदैन । २००४ सालमा वण्डा पत्र पारित भै छुटिृ सकेपछि पितासंग बस्न आएको र पुनरावेदकले पालन पोषण गरेको भनी पुनरावेदकले भनेता पनि पछि  पुनः सगोलमा बसेको कुनै प्रमाण योग्य कागज नभएको अवस्थामा केवल फिराद र पुनरावेदनमा जिकिर लिएकै आधारमा मात्र संग बसेको वा मानो जोडीएको भन्ने मान्न मिल्ने देखिदैन । यस्तो पारीवारिक विषयमा सर्जमिनको एक आधार मात्र भरपर्दो प्रमाण मान्न सकिदैन । मृतक सौता जनककुमारीको मृत्यु भएपछि निजको नाउँको छृट्टै जग्गा र जनक कुमारी र वृज कुमारीको संयुक्त नाउँमा दर्ता भएको जग्गा समेत प्रतिवादी वृज कुमारीले आफ्नो नाममा नामसारी गरिदिन मालपोत कार्‍यालय सुनसरीमा कारवाही अगाडि बढाएकोमा सो कार्‍यालयले निजको नाममा नामसारी गरिदिने गरी ०५४।३।९ निर्णय भएको देखिन्छ । अ.वं.१३९ नं.बमोजिम बुझिएका वादीका दाजु गुरुप्रसादले मृतक जनक कुमारीको हेरचाह २०४० साल देखि प्रतिवादी वृज कुमारीले गर्नु भएको र मृत्यु हुँदा वृन्दावन मै निजैले नै काजकृया समेत गर्नु भएको हो भनि बयान गरेको देखिन्छ । गुरुप्रसादको उक्त बयान प्रतिवादीका साक्षी गणेशप्रसाद पोखरेल, तथा कुमार पोखरेलको बकपत्रबाट समेत समर्थीत भएको छ । मृतक जनक कुमारीका नाउँका जग्गा प्रतिवादी वृज कुमारीका नाउँमा नामसारी गरी पाउन निवेदन दिइ मालपोत कार्‍यालयले हकदावीमा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत सो अवस्थामा वादीले हकदावी नगरी उजुर समेत गरेको पाइदैन । यसबाट पुनरावेदक वादीले स्व.जनक कुमारी सगोलमा रहनु भएको बखत ०५२।१०।२७ मा परलोक हुनु भएकोले निजको पालनपोषण र काजकृया पनि आफूले गरेको हुँदा निजको नाउँको कि.नं.५९, ६०, ११५, ४०७, ६२३ समेतका जग्गाहरु अपूतालीको ११ नं. बमोजिम आधा जग्गा मेरो नाउँमा दर्ता हुनुपर्नेमा सम्पूर्ण जग्गाहरु वृज कुमारीको नाउँमा नामसारी दर्ता गर्ने गरेको मालपोत कार्‍यालयको निर्णय बदर गरी सो जग्गा मध्ये आधा जग्गामा हक कायम गरिपाऊँ भन्ने पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन ।

 १९.   तसर्थ, मिसिल संलग्न सवूद प्रमाणहरुबाट वादीले मृतक जनक कुमारीलाई जिवीतकालमा पालनपोषण गरी हेरविचार गरेको र निजको काजकृया गरेको पुष्टी हुन नसकेको र मृतक जनक कुमारी र प्रतिवादी वृज कुमारी एकै हाँगाको समान हकका सौता सौता भएकोमा मृतक जनक कुमारीको सम्पत्तिमा पहिलो हक वृज कुमारीकै रहने हुँदा मालपोत कार्‍यालय सुनसरीले मृतक जनक कुमारीको नाउँको जग्गा प्रतिवादी वृज कुमारीको नाममा नामसारी हुने निर्णय गरी सोही आधारमा वृज कुमारीको नाममा दर्ता भएको मनासिब भै वादी दावी पुग्न नसक्ने ठहर्‍याएकोपुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ताहिर अलि अन्सारी

 

 

इति सम्वत २०६३ साल भदौ महिना ५ गते रोज २ शुभम् ।.........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु