शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८०८८ - अंश ।

भाग: ५१ साल: २०६६ महिना: जेष्ठ अंक:

निर्णय नं. ८०८८    जेठ २०६६           अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय

संवत् २०६० सालको दे.पु नं. ८९४४

फैसला मितिः २०६५।११।१९।२

मुद्दा :अंश 

पुनरावेदक प्रतिवादीः रौतहट जिल्ला गा.वि.स रंगपुर वडा नं. ४  बस्ने राजवीर खाँ थारु                                                             

विरुद्ध

प्रत्यर्थी वादीः रौतहट जिल्ला गा.वि.स रंगपुर वडा नं. ४ बस्ने वहोरी खाँ थारु

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री एकराज आचार्य

पुनरावेदन फैसला गर्नेः

मा.न्या. कल्याण श्रेष्ठ

मा.न्या.श्री आत्माराम भट्टराई

 

§  अंशियारहरूको आफ्नो भोग ब्यवहार बमोजिम कानूनद्वारा उपलब्ध अनेक उपाय मध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो ब्यवहार मिलाउन स्वतन्त्र हुने तर  यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबण्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबण्डा लिखतको विकल्पको रुपमा मान्यता प्रदान गर्न भने नहुने 

§  पाउनु पर्ने जति आफ्नो अंशहकको सम्पत्ति जुनसुकै माध्यमबाट प्राप्त गरिसकेको ब्यक्तिले अर्को पक्षसँग रहेको उत्तिकै सम्पत्तिबाट पुनः आफ्नो अंश हक खोज्दै जान नमिल्ने 

(प्रकरण नं.३)

§  अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एक पटक अंश लिई सकेपछि सो हक समाप्त हुन्छ । जुन सुकै ब्यहोराबाट भए पनि आफूले प्राप्त गर्ने भाग जति प्राप्त गरे पछि अंशबण्डाको लिखत नभएको भन्ने आधारमा पटक पटक अंशमा दावी गर्न र अंश पाई रहने भन्ने स्थिति स्वीकार्य हुन नसक्ने 

(प्रकरण नं.४)

§  बकसपत्र प्राप्त गर्नुपूर्व आफ्नो नाममा कायम रहेको जग्गा बिक्री गरेको अवस्थामा अंशबण्डाको लिखत कै अभावको कारणले मात्र अंशबण्डा नभएको भनी मान्न नमिल्ने 

(प्रकरण नं.५)

§  ब्यक्तिले पैत्रिक सम्पत्ति पाउने हकबाट विमुख हुन नहुने, जुनसुकै ब्यहोराबाट भए पनिे सम्पत्ति प्राप्त गरी सकेको छ भने त्यो अवस्थामा अंशबण्डाको लिखत पारीत नभएको भनी दावी गरी रहन पाउने र अदालतले अंश दिलाइ दिइरहने अवस्था हुनु नहुने 

(प्रकरण नं.६)

पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र इन्द्र खरेल

प्रत्यर्थी वादीः विद्वान अधिवक्ता श्री सत्यमोहन जोशी

अवलम्वित नजीरः

§  ने.का.प.२०६३, नि.नं.७७६१ पृ.११७६

§  ने.का.प.२०५३, अङ्क ११, नि.नं. ६२९२ पृ.८०२

सम्बद्ध कानूनः

§  अंशवण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं.

 

फैसला

      न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१)(ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत  मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-

       मुल पुरुष राम शरणको २ छोरामा जेठा म वादीको बाबु सुखल खाँ र कान्छा राजवीर खाँ हुनुहुन्छ । जेठा सुखलको १ मात्र श्रीमती तथा १ मात्र छोरा म वादी बहोरी खाँ भई हजुरबुबा राम शरण, बुबा सुखल चौधरी लोग्नेस्वास्नी आआफ्नो काल गतिले स्वर्गवास भई सकेपछि हामी वादी प्रतिवादीहरू सगोलमा बसी आएकोमा सगोलको सम्पत्तिहरू प्रतिवादीले हिनामिना गर्न लागेको र अंश माग्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो दिन सम्मको चल अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीबाट दाखेल गराई २ भागको १ भाग अंश दिलाइ मेरा नाममा दर्ता समेत गराई पाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी 

      वादी मेरो सगोलको अंशियार नभएकोले अंश दिनु पर्ने होइन छैन । वादीको बाबु सुखल खाँ थारु  तथा म प्रतिवादी दुबै दाजु भाइ सर्भे नापी हुनु भन्दा पहिले २०१६ साल बैशाख महीनामा नै उसै बखत भएको सबै पैत्रिक सम्पत्ति जग्गा घर छोडी घरसारमा नै नरम गरम मिलाई बाँडफाँड गरी भिन्न भई बसी आएकोमा सर्भे नापी हुँदा आआफ्नो अंश भागको जग्गा एकलौटी भनी नापी गराएको हो । सोही बखत मोहीको १ नं. लगत, ७ नं. फाँटवारी छुट्टा छुट्टै भरेको छ । खरीद बिक्रीको ब्यवहार समेत अलगअलग गरेको प्रमाण समेतबाट वादी भिन्न भएको प्रमाणित भएको हुँदा वादीलाई अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर 

      वादी प्रतिवादी सगोलका अंशियार हुन । निजहरू बीच अंशबण्डा भएको छैन । वादीले प्रतिवादीबाट अंश पाउँनु पर्ने हो भन्ने समेत ब्यहोराको वादीका साक्षी सौखी चौधरीले गरेको बकपत्र 

      वादी अलगिया हुँदा निजले प्रतिवादीबाट अंश पाउनु पर्ने होइन भन्ने समेत ब्यहोराको प्रतिवादीका साक्षी राम किसुन दासले गरेको बकपत्र 

      नापीका बखत वादी प्रतिवादीले जग्गा छुट्टा छुट्टै दर्ता गरी आफ्नो जग्गा बिक्री समेत गरेको देखिएबाट वादी प्रतिवादी घरसारमा नरम गरम मिलाई भाग छुट्टाई दर्ता गरी भोग चलन गरी बिक्री ब्यवहार समेत गरेको देखिएको र अंशबण्डाको ३० नं. ले २०३४। ९।२७ भन्दा अगाडि नै वादी र प्रतिवादी छुट्टि भिन्न भएको देखिन आएकोले वादीले प्रतिवादीबाट अंश पाउने ठहर्दैन भन्ने समेत ब्यहोराको रौतहट जिल्ला अदालतको मिति २०५८।३।१९ को फैसला 

    मेरो बाबु सुखलको मोहीको १नं. लगत छैन भन्ने कुरा भूमिसुधार कार्यालयको पत्रबाट देखिएको र ७ नं. फाँटवारी पनि अलग नभएको र  म वादी सगोलको अंशियार देखिएको अवस्थामा अंश नपाउने गरी ठहर गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावी बमोजिम अंश दिलाइ पाऊँ भन्ने समेत ब्यहोराको वादीको पुनरावेदन अदालत हेटौंडामा पर्न आएको पुनरावेदन जिकिर 

      यसमा अंशियार अंशियार बीच ब्यवहार भएको नदेखिएको र अंश प्राप्त गरेको प्रमाण समेत नरहेको अवस्थामा अलगअलग नापी भएको जग्गा बिक्री गरेको भनी ब्यवहार प्रमाणबाट अलग भएको भनी लिएको आधार अंशबण्डाको ३० नं. समेतको परिप्रेक्षमा मिलेको नदेखिदा शुरु फैसला फरक पर्न सक्ने भई विचारणीय हुँदा अ.बं. २०२ नं तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश 

पुनरावेदक वादीको बाबु सुखल खाँ थारु र म प्रतिवादी दुबै दाजु भाइ सर्भे नापी अगाडि नै २०१६ साल बैशाख महीनामा नै पैत्रिक सम्पत्ति घरसारमा नै बाँडफाँड गरी भिन्न भई आआफ्नो हक भोगको जग्गा छुट्टा छुट्टै सर्भे नापी गराई मोहीको १नं. लगत तथा ७ नं. फाँटवारी पनि छुट्टा छुट्टै भरी भोग चलन गरी आएका छौ । वादीले आफ्नो नाममा रहेका जग्गा विभिन्न मितिमा विभिन्न ब्यक्तिलाई सुक्री बिक्री गरी सकेपछि बेइमानीको नियतले झुठ्ठा मुद्दा दिएका हुदा शुरु रौतहटको फैसला सदर कायम गरिपाऊँ भन्ने प्रतिवादीको लिखित प्रतिवाद 

       यसमा वादीको नाममा २०२१।२०२२ सालको नापीमा जग्गा दर्ता भएको भन्ने प्रतिवाद जिकिर बमोजिमका प्रमाणित फिल्ड बुक र तत्कालीन दर्ता उतार प्रतिवादीबाट पेश गर्न लगाई वादी बहोरी खाँ थारुले २०३९।३।३० मा राजवीर खाँबाट हा.ब. गरी लिएको लिखतको प्रमाणित नक्कल वादीबाट पेश गर्न लगाउने, प्रतिवादी राजवीर खाँले २०२१ सालमा पेश गरेको ७ नं. फाँटवारीमा उल्लिखित जग्गाहरू के कसरी दर्ता सर्दै आए सो विवरण प्रतिवादीबाट खुलाउन लगाई सके सम्म तत्सम्बन्धी लिखतहरू पनि प्रतिवादीबाट दाखेल गर्न लगाई पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश 

      यसमा आदेशानुसार वादीबाट हा.ब. को लिखतको प्रमाणित नक्कल तथा प्रतिवादीबाट जग्गाधनी प्रमाण पूर्जा र फिल्ड बुक समेतको प्रमाणित नक्कल पेश भएको 

      यसमा पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादी बीच नातामा विवाद नभई मुख मिलेकै देखिएको, भूमि सम्बन्धी ऐन नियमको प्रयोजनको लागि खडा भएको फिल्ड बुकमा उल्लेख भए बाहेक यी पुनरवेदक वादीले अंश बापत बाबु सुखल खाँ वा बाजे राम शरणका नामबाट जग्गा दर्ता नामसारी भई आएको मिशिलबाट नदेखिएको र अंशियार मध्ये कुनै एक ब्यक्तिले आफ्नो नाम दर्ताको जग्गा हक छोडी दिए उपर अर्को अंशियारले उजूरी गरी बदर वातिल नगराएको अवस्थालाई अंश भई सकेको भन्न मिल्ने समेत नदेखिदा कानूनबमोजिम अंशबण्डा भएको वा ब्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको तथ्ययुक्त सबुद नभई सगोलका अंशियार देखिएको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोही दिन सम्मको बण्डा गर्नु पर्ने सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी अंशबण्डाको २०,२१,२२ र २३ नं. बमोजिम दुबै पक्षबाट दाखेल गराई सो को आधारमा नपुग कोर्टफी समेत पुनरावेदक वादीबाट लिई पेश हुन आएको जग्गाको दर्ता उतार समेत सम्बन्धित मालपोत कार्यालयबाट लिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश 

      यसमा आदेशानुसार वादी प्रतिवादीबाट पेश भएको बण्डा गर्नु पर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी र दर्ता उतार पेश भएको 

       अंशबण्डाको ३० नं. अन्तर्गत ब्यवहार प्रमाणको आधारमा बण्डा छुट्टिएको ठहरिनलाई मुलुकी ऐन सातौं संशोधन भन्दा अगावैको प्रमाणको आधार लिनु पर्ने हुन्छ । सो अगावैको अवस्थामा वादीको नाममा दाखेल दर्ता बिक्री ब्यवहार आदी केही भएको पाइदैंन । यसरी अंशबण्डाको ३० नं. को पूर्वावस्था नभएको अवस्थामा पछिका मितिमा अंशियारले आफ्नो नामको कुनै सम्पत्तिको हक हस्तान्तरण गरेको आधारमा मात्र अंशबण्डाको ३० नं. बमोजिम भाग शान्ति बण्डा छुट्याई भोग बिक्री ब्यवहार गरेको मान्न नमिल्ने हुनाले वादीले अंश पाउन बाँकी नै देखियो । तसर्थ प्राप्त तायदाती बमोजिम ऋणको हकमा साहूको दावी परेका बखत ठहरे बमोजिम हुने र अरुमा तायदातीमा उल्लेख गरेको सम्पत्ति माग बमोजिम आधा अंश पाउने ठहर्छ । सो ठहराउनु पर्नेमा शुरुले वादी दावी नपुग्ने ठहराएको इन्साफ नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०५९।१२।२४।२ को फैसला 

       विपक्षी वादीको बाबु सुखल खाँ थारु  र म सर्भे नापी भन्दा अगाडि नै २०१६ साल वैशाखमा पैतृक सम्पत्ति घरसारमा नै वाडफाँड गरी भिन्न भै २०२१ । २०२२ सालको सर्भे नापीका बखत आआफ्नो हक भोगको जग्गालाई छुट्टा छुट्टै सर्भे नापी गराएकोबाट मोहीको १ नं. को पारिवारिक लगत तथा ७ नं. फाँटवारी समेतबाट हाम्रो सम्पूर्ण व्यवहार छुट्टाछुट्टै  गरी आएका छौ । वादीले मबाट मिति २०३९।३।३० मा ज.वि.१५ हालैको बकसपत्र लिखत पारीत गरी लिएको जग्गा मिति २०४५।२।४, २०५७।२।१, २०५७।३।१२ मा बिक्री गरी खाई सम्पत्तिविहीन भएपछि अंशमा दावी गर्न आएकोमा पुनरावेदन अदालतले अंश पाउने ठहर गरेको मिलेको छैन । पहिले व्यवहारिक अहिले कानूनी अंशबण्डा गर्नु वा हुनुले वादीको व्यवहारलाई पटक पटक गरी छुट दिइएको कारणबाट प्रत्यक्ष रुपमा दोहोरो अंशको भार खेप्नु पर्ने कुनै कानून समेतले नमिल्ने हुँदा पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुदा बदर गरी वादी दावीबाट फूर्सदपाऊँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर 

       यसमा पुनरावेदक प्रतिवादीले आफूसँग रहेको सम्पूर्ण सम्पत्तिको रोखपोख मिलाई आधा जति सम्पत्ति प्रत्यर्थी वादीलाई मिति २०३९।३।३० मा हालैको बकसपत्र पारीत गरी हक हस्तान्तरण गरेको देखिन आउँछ । बकसपत्रबाट पाएको उक्त सम्पत्ति अन्यत्र हक हस्तान्तरण गरी सकेपछि मात्र प्रत्यर्थी वादीले प्रस्तुत अंश मुद्दा दायर गरेको देखिदा उक्त बकसपत्रमा अंश बापत भन्ने व्यहोरा नजनिएको कारणले मात्र वादी प्रतिवादी बीच अंशबण्डा नभएको मानी वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी वादीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश 

     नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीकातर्फबाट विद्वान अधिवक्ता शम्भु थापा र इन्द्र खरेलले वादीले प्रतिवादीबाट मिति २०३९।३।३० मा बकसपत्र प्राप्त गरेको जग्गा बकसपत्र पारीत गरी लिएको भोली पल्ट नै ज.वि.०० र त्यसपछि विभिन्न मितिमा अन्य ब्यक्तिलाई बिक्री गरी आफ्नो नाममा १० धुर घडेरी जग्गा मात्र बाँकी राखी अंश मुद्दा दायर गरेका छन् । अंश हक मर्नु हुँदैन तर नरम गरम मिलाइसकेको छ भने पुनः अंशमा दावी गर्न मिल्दैन । वादी प्रतिवादीहरू ब्यवहार प्रमाणबाट छुट्टि भिन्न भइसकेको प्रमाणित भएको हुँदा वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनु पदर्छ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी वादीकातर्फबाट विद्वान अधिवक्ता सत्य मोहन जोशीले सेवा टहल गरेको कारणबाट प्रतिवादीले पहिला वादीलाई बकस गरी दिएको हो । अंश बापत भनी वादीले बकस गरी लिएको होइन । तायदाती फाँटवारी पेश गर्दा बण्डा लाग्ने सम्पत्ति यत्ति नै हो भनी प्रतिवादीले स्वीकार गरेको हुँदा निज विवन्धित हुनुहुन्छ । वादी प्रतिवादी बीच भिन्न भएको कुनै प्रमाण नहुँदा अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो 

       यसमा पुनरावेदक प्रतिवादी तथा प्रत्यर्थी वादीतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा शुरु रौतटहट जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराई गरेको फैसला उल्टी गरी वादी दावी बमोजिम वादीले प्रतिवादीबाट आधा अंश पाउने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

       यसमा निर्णयतर्फ विचार गर्दा राम शरणको २ छोरामा जेठा म वादीको बाबु सुखल खाँ र कान्छा राजवीर खाँ हुनुहुन्छ । जेठा सुखलको १ मात्र श्रीमती तथा १ मात्र छोरा म वादी बहोरी खाँ भई हजुरबुबा राम शरण, बुबा सुखल चौधरी लोग्नेस्वास्नी आआफ्नो कालगतिले स्वर्गवास भई सकेपछि हामी वादी प्रतिवादीहरू सगोलमा बसी आएकोमा सगोलको सम्पत्तिहरू प्रतिवादीले हिनामिना गर्न लागेको र अंश माग्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश दिलाइ पाऊँ भन्ने समेत वादीको  दावी भएकोमा रौतहट जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने गरी भएको फैसला उल्टी गरी वादी दावी बमोजिम वादीले प्रतिवादीबाट आधा अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादी राजवीर खाँ थारुको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न विषयमा निर्णय दिनु पर्ने देखिन आयो 

(क) वादी दावीबमोजिम वादीले प्रतिवादीबाट अंश पाउने हुन होइनन ?

(ख) पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन ?

      २.    पहिलो प्रश्नतर्फ विचार गर्दा वादी र प्रतिवादी बीच नातामा विवाद नदेखिई मुख मिलेता पनि मूल रुपमा अंशमा विवाद रहेको देखिन्छ । अंश नै नपाएकोले आधा अंश पाऊँ भनी वादीले लिएको दावीतर्फ विचार गर्दा स्व. रामशरण खाँको २ छोरामा जेठा सुखल खाँ र कान्छा राजवीर खाँ भएकोमा सुखल खाँको एक मात्र छोरा यी वादी भएकोमा विवाद देखिदैन । यीनै वादीले प्रतिवादीबाट मिति २०३९।३।३० मा र.नं. ८१७४ को हालैको बकसपत्र लिखत द्वारा कि .नं. १०, ११, १५८, ३४, १२५, २३५, ३२९ समेत ६ कित्ता जग्गा प्राप्त गरेको देखिन्छ । सोही कि.नं. मध्ये कि.नं. १० र ११ को जग्गा २०३९।३।३१ मा र.नं. ८२०५ बाट भिखनी थरुनीलाई, कि.नं. ३२९ को जग्गा २०४४।२।४ मा र.नं.४९५४ बाट चन्द्रेश्वर चौधरीलाई, कि.नं. २३५ को जग्गा २०५७।२।१ मा र.नं. ८६८३ बाट लसकरी राउतलाई, कि.नं. १५८ को जग्गा २०५७।३।१२ मा र.नं. ११०९१ बाट सुमित्रा देवीलाई र बकसपत्रबाट प्राप्त गरेको बाहेक निजकै नाममा रहेको कि.नं ५६८ को जग्गा मिति २०५७।२।१० मा हेजनानारायण चौधरीलाई राजिनामा लिखतद्वारा सुक्रीबिक्री गरेको तथ्यलाई वादीले अन्यथा भन्न सकेको छैन 

३.    वादी र प्रतिवादीको भोगमा रहेको सम्पत्ति हाल समान नभए पनि यिनै प्रतिवादीबाट हालैको बकसपत्रद्वारा प्राप्त गर्दा दुबै वादी प्रतिवादीमा समान सम्पत्ति रहेको देखिएको छ । यसरी अंशबाट पाउन सक्ने जति जग्गा नै यी वादीले २०३९।३।३० मा प्रतिवादीबाट बकसपत्र द्वारा प्राप्त गरेकोलाई रिझ बापत पाएको भने तापनि एकै चोटी त्यत्रो जग्गा र अंश बापत पाउन सक्ने जति जग्गा प्रतिवादीले रिझ बापत दिएका हुन् भनी अनुमान गर्नु स्वाभाविक देखिदैंन । अंशियारहरूको आफ्नो भोग ब्यवहार बमोजिम कानूनद्वारा उपलब्ध अनेक उपाय मध्ये कुनै पनि उपाय अवलम्बन गरी आफ्नो ब्यवहार मिलाउन स्वतन्त्र हुन्छन । यसको तात्पर्य बकसपत्रबाट पाएकोलाई अंशबण्डा नै हो भनी सामान्य अर्थ गर्नुपर्ने वा अंशबण्डा लिखतको विकल्पको रुपमा मान्यता प्रदान गर्नु भने होइन । तर वास्तबमा पाउनु पर्ने जति आफ्नो अंश हकको सम्पत्ति जुनसुकै माध्यमबाट प्राप्त गरी सकेको ब्यक्तिले अर्को पक्षसँग रहेको उत्तिकै सम्पत्तिबाट पुनः आफ्नो अंश हक खोज्दै जान मिल्ने पनि होइन 

४.    प्रतिवादीबाट बकसपत्रद्वारा प्राप्त गरेको जग्गा नै पटक पटक भिन्न भिन्न मितिमा भिन्न भिन्न ब्यक्तिलाई राजिनामा गरी आफूमा केही हिस्सा बाँकी राखेको देखिएको हुँदा वादीले आफ्नो भाग शान्ति लिए पाएको रहेनछ भन्न नमिल्ने हुन्छ । अंशको हक जन्मबाटै व्यक्तिले प्राप्त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एक पटक अंश लिई सकेपछि सो हक समाप्त हुन्छ । जुन सुकै ब्यहोराबाट भए पनि आफूले प्राप्त गर्ने भाग जति प्राप्त गरे पछि अंशबण्डाको लिखत नभएको भन्ने आधारमा पटक पटक अंशमा दावी गर्न र अंश पाई रहने भन्ने स्थिति स्वीकार्य हुन सक्दैन । अंशवण्डा सम्बन्धी कानूनी ब्यवस्था हेर्दा अंशियारहरू बीचको अंशबण्डाको लिखत रजिष्ट्रेशन पारीत हुनै पर्ने ब्यवस्था अंशबण्डाको ३० नं. र रजिष्ट्रेशनको १ नं. ले गरेको छ जुन प्रस्तुत मुद्दामा यी वादी प्रतिवादी बीच भएको छैन । तर सोही अंशबण्डाको ३० नं. ले कानूनबमोजिमको लिखत नभएमा पनि भोग, ब्यवहार प्रमाणबाट अंशवण्डा हुन सक्ने अवस्थालाई पनि कानूनी मान्यता प्रदान गरेको छ । आफ्नोआफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा बण्डा बमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री ब्यवहार गरेकोमा ब्यवहार प्रमाणबाट बण्डा भई सकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न नपाउने समेत अंशबण्डाको महलको ३० नं. मा कानूनी ब्यवस्था छ 

      ५.    प्रस्तुत विवादको सन्दर्भमा हेर्दा वादी प्रतिवादीबाट पेश भएको सम्पत्तिको तायदाती फाँटवारीको विवरण र वादीले बिक्री गरेको जग्गाको राजिनामा लिखत समेतबाट २०३९।३।३० देखि दुबै पक्षका नाममा अलगअलग जग्गाहरू दर्ता रही वादीले अनेक ब्यक्तिलाई भिन्न भिन्न मितिमा हक हस्तान्तरण गर्दै आएको देखिन्छ । वादीले प्रतिवादीबाट बकसपत्रबाट प्राप्त गरेको र बकसपत्र प्राप्त गर्नु पूर्व आफ्नो नाममा कायम रहेको जग्गा बिक्री गरेको देखिदा अंशबण्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादी बीच अंशबण्डा नभएको भनी मान्न मिल्ने हुँदैंन ।  यसै सन्दर्भमा अंशवण्डाको ३० नं. ले आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भाग बिक्री ब्यवहार गरेकोमा ब्यवहार प्रमाणबाट बण्डा भई सकेको ठहरेमा बण्डापत्र रजिष्ट्रेशन नभएको वा घटी बढी असल कमसल भएको भन्न नपाउने र वादी प्रतिवादीले आआफ्नो भागको अचल छुट्टाछुट्टै भाग बिक्री ब्यवहार गरेको प्रमाणबाट पुष्टि भएको देखिदा वादीले प्रतिवादीबाट अंश भाग छुट्टाई लिन पाउने अवस्था देखिन नआउनेभनी ने.का.प.२०५३, अङ्क ११, नि.नं. ६२९२ पृ.८०२ संयुक्त इजलासबाट गंगाबहादुर महर्जन विरुद्घ राम महर्जन भएको अंश चलन मुद्दामा र अंशबण्डाको ३० नं. ले ब्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको देखिएको अवस्थामा बण्डा लिखत नै हुनु पर्ने भन्ने अनिवार्यता नहुनेभनी ने.का.प.२०६३, नि.नं.७७६१ पृ.११७६ हरिहर पुरी विरुद्घ केशब पुरी समेत भएको अंश चलन मुद्दामा संयुक्त इजलासबाट कानूनी सिद्घान्त प्रतिपादित भई सकेको पाइन्छ 

      ६.    निर्णय गर्दा विवादको रोहमा जे बोलिन्छ सो बोल्दा न्याय पर्दछ भने सोही कुरामा अदालतले न्यायको निरोपण गर्ने हो । ब्यक्तिले पैत्रिक सम्पत्ति पाउने हकबाट विमुख हुनु हुँदैन । जुन सुकै ब्यहोराबाट भए पनि प्रतिवादी सरह प्रतिवादीबाटै वादीले सम्पत्ति प्राप्त गरी सकेको छ भने त्यो अवस्थामा अंशबण्डाको लिखत पारीत नभएको भनी वादीले दावी गरी रहन पाउने र अदालतले अंश दिलाइ दिइरहने अवस्था हुनु हुँदैन । वादी प्रतिवादी समान हैसियत राख्ने अंशियार भएकाले समान अनुपातको सम्पत्ति अंश बापत उपभोग गर्न पाउने हुन् । यी वादीले अंश बापत प्राप्त गर्न सक्ने जति प्रतिवादी सरहको सम्पत्ति प्राप्त गरेपछि आफूखुसी बिक्री गर्दै जाने र प्रतिवादीको सम्पत्ति बिक्री नभई सुरक्षित रही रहेको अवस्थामा सम्पत्ति सकिन लागेपछि प्रतिवादीको हकको सम्पत्तिबाट पुनः वादीले अंश प्राप्त गर्न सक्ने देखिदैंन । प्रतिवादीको नाममा निजको अंश हकको मात्र सम्पत्ति बाँकी रहेको भए पनि प्रतिवादीको नाममा केही सम्पत्ति बाँकी छ भनी वादीले दावी गर्दै जाने र अदालतले दिलाइ दिदै जाने हो भने त्यो न्याय हुँदैन । न्यायिक सदविवेक शुन्यतामा जान्छ र न्यायिक तथा ब्यवहारिक न्याय दुबै परेको देखिदैंन । वादीले प्रतिवादीबाट २०३९।३।३० मा प्राप्त गरेको सम्पत्ति ज.वि १५ देखिन्छ भने  प्रतिवादीको नाममा ज.वि.११६ रहेको छ । यस्तो अवस्थामा वादीलाई सगोलको अंशियार कायम गरी अंश दिलाइ दिन कानूनसम्मत न्यायोचित देखिदैंन 

७.    अब दोश्रो प्रश्नतर्फ विचारगर्दा वादीले प्रतिवादीबाट मिति २०३९।३।३० मा बकसपत्र लिखतद्वारा प्राप्त गरेको जग्गा र आफ्नो नाममा दर्ता रहेका अन्य कित्ता जग्गाहरू समेत स्वतन्त्र हैसियतले भिन्नभिन्न ब्यक्तिलाई बिक्री गरेको समेत देखिँदा वादी प्रतिवादीहरू सगोलका अंशियारहरू रहेछन् भनी मान्न मिल्ने देखिएन । माथिका प्रकरणहरूमा विवेचना गरिए अनुसार  लिखत प्रमाण, व्यवहार, भोग, बिक्री समेतबाट यी वादी प्रतिवादीबाट अलग भिन्न भई सकेको पुष्टि भएको अवस्थामा हाल आएर वादीले प्रतिवादीहरूसँग अंशमा दावी गर्न मिल्ने देखिएन र दावी अनुसार प्रतिवादीबाट वादीले अंश प्राप्त गर्न सक्दैनन् ।  

८.    तसर्थ वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहर गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५९।१२।२४ को फैसला मिलेको नदेखिदा उक्त फैसला उल्टी भई वादीले अंश नपाउने ठहराएको रौतहट जिल्ला अदालतको फैसला मुनासिब हुँदा सदर हन्छ । अंश पाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ  । 

अरुमा तपसिल बमोजम गर्नु ।   

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहरी फैसला भएकोले पुनरावेदन अदालत हेटौंडाले  फैसलाको तपसिल खण्डको प्रकरण १ मा बण्डा छुट्याई दिने भनी र प्रकरण २ मा कोर्टफी भराई दिने भनी राखेको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी पुनरावेदन अदालत हेटौंडामा लेखी पठाई दिनू  ..१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ..२

 

उक्त रायमा म सहमत छु 

 

न्या.कृष्णप्रसाद उपाध्याय

 

इति संवत् २०६६ बैशाख १६ गते रोज ४ शुभम्

इजलास अधिकृतः दीपक ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु