निर्णय नं. ९०४२ - हातहतियार खरखजाना

ने.का.प. २०७०, अङ्क ८
निर्णय नं.९०४२
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री ज्ञानेन्द्र बहादुर कार्की
फैसला मिति : २०७०।३।३।२
२०६९–CR–०१८२
मुद्दा : हातहतियार खरखजाना ।
पुनरावेदक/वादी : प्रहरी निरीक्षक इन्द्रबहादुर थापाको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : इलाम जिल्ला, गजुरमुखी गा.वि.स. वडा नं. ७ हाल काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. ३ बस्ने प्रविण मिश्र
§ गाडीमा सवार भईरहेको अवस्थामा अभियोग पत्रमा उल्लेखित अवैध हातहतियारहरू बरामद भएको तथ्यलाई स्वीकार गरेको भए पनि अदालतमा बयान गर्दा सो गाडीमा आफूलाई अवैध हतियार रहेको भन्ने थाहा नभएको भनी उल्लेख गरेको देखिएको र निजलाई सो गाडीमा अवैध हातहतियार रहेको भन्ने कुराको जानकारी थियो भनी अन्य प्रतिवादीहरूले समेत भन्न नसकेको स्थितिमा अवैध हात हतियार राखेको गाडीमा चढेको कारणले मात्र निजले आरोपित कसूर गरेको भन्न नमिल्ने ।
(प्रकरण नं.४)
शुरू तहमा फैसला गर्नेः
प्र.जि.अ. श्री हरिराज पन्त
जिल्ला प्रशासन कार्यालय, नवलपरासी
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा
मा.न्या. श्री नीता गौतम दीक्षित
पुनरावेदन अदालत बुटवल, रूपन्देही ।
पुनरावेदक/वादीकातर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल
प्रत्यर्थी/प्रतिवादीकातर्फबाट :
अवलम्बित नजीर :
सम्बद्ध कानून : हातहतियार खरखजाना ऐन, २०१९
फैसला
मा.न्या.ज्ञानेन्द्रबहादुर कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं. १ स्थित पूर्व दुम्किवास बजार, पश्चिम ज्यामिरे खोला, उत्तर बाबुराम पुरीको घर तथा होटल, दक्षिण वनप्रसाद गुरूङको खेत यति चारकिल्लाभित्रको महेन्द्र राजमार्गको दक्षिणतर्फ किनारामा पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको दिपक घिमिरे, प्रविण मिश्र, दिपक लामा, टेकबहादुर श्रेष्ठ, विपिन भट्टराई, ओमकार विक्रम कुँवर सवार रहेको बा. ८ च. १७७३ नं. को पजेरो गाडीलाई रोकी खानतलासी गर्दा खुँडा थान १, खुकुरी थान ३, सवारी चालक अनुमति पत्र थान १, सवारी दर्ता प्रमाण पत्र थान १, Automatic Pistol लेखिएको पेस्तोल नाल १, ऐ.को गोली राउण्ड ३ र म्यागजिन थान १ बरामद भएको हो भन्नेसमेत व्यहोराको खानतलासी एवं बरामदी मुचुल्का ।
मिति २०६७।११।१ गते विहान १०:३० बजे जिल्ला नवलपरासी दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा सवारी साधनसमेत आदेशानुसार चेकजाँच गर्ने क्रममा पूर्वतर्फबाट पश्चिमतर्फ आईरहेको बा.८ च. १७७३ नं. को पजेरो गाडीको खानतलासी गर्दा खुँडा थान १, खुकुरी थान ३, सवारी चालक अनुमति पत्र थान १, सवारी दर्ता प्रमाण पत्र थान १, Automatic Pistol लेखिएको पेस्तोल नाल १, ऐ. को गोली राउण्ड ३ र म्यागजिन थान १ बरामद भएको, सो पजेरो गाडीमा सवार भै आएका दिपक घिमिरे, टेकबहादुर श्रेष्ठ, दिपक लामा, प्रविण मिश्र, ओमकार विक्रम कुँवर, विपिन भट्टराईसमेतलाई पक्राउ गरी खानतलासी बरामदी मुचुल्कासमेत खडा गरी बरामदी मुचुल्कामा उल्लेख गरिएका दशीका सामानसहित आवश्यक कारवाहीको लागि दाखिला गरेको छु भन्नेसमेत व्यहोराको प्रहरी निरीक्षक इन्द्रबहादुर थापाको प्रहरी प्रतिवेदन ।
मेरो पहिलादेखि चिनजान भएका प्रविण मिश्रले मैले चिनेको राजन श्रेष्ठ भन्ने राजकुमार राजवंशी माडेको ड्राईभर हुनुहुन्छ, उहाँले आफू काम गर्ने माडेले भारतबाट अवैध सुन लिई आउँछ, हामीहरूले माडेको सुन लुट्नुपर्छ, सुन अवैध भएकोले उसले प्रहरीमा रिपोर्ट पनि गर्दैन, यसअघि ३ पटकसम्म १/१ क्वीन्टल सुन ल्याई सकेको छ, फेरि पनि सुन ल्याउनेवाला छ भनी बताएका छन् भनेकोले मैले हुन्छ भनी सहमति दिएँ । मलगायत अन्य चिनेका साथीहरू दिपक लामा, टेकबहादुर श्रेष्ठ, विपिन भट्टराई, ओमकार विक्रम कुँवरसमेत भई माडेको सुन लुट्नको लागि तयार भयौं । सोही क्रममा मेरो र प्रविण मिश्रको राजकुमार राजवंशीसँग २ पटक भेट भयो । निजले सुन लुट्ने योजना कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने पेस्तोल नाल १, म्यागजीन थान १ र गोली राउण्ड ३ रक्सौलबाट रू. ५०,०००।– मा किनी काठमाडौं स्थित आफ्नो घरमा ल्याई लुकाई राखे । बसुन्धाराबाट रू. २६००।– मा एउटा खुँडा, दुईवटा खुकुरी किने । एउटा खुकुरी मैले मनकामनाबाट किनेर ल्याएको थिएँ । राजकुमार राजवंशीले मिति २०६७।११।१ गते माडेले भारतबाट ५० किलो सुन लिई आउने प्रोग्राम छ, म माडेसँग भैरहवा जाँदैछु, गाडीमा सुन लोड गरी सकेपछि तपार्इंहरूलाई गाडीको नम्बर र रंग फोनमा बताई दिन्छु, तपार्इंहरू दाउन्ने उकालोमा गाडी रोक्ने इशारा गर्नुहोला, म गाडी साईडबाट रोकिदिन्छु, त्यसपछि तपार्इंहरूले माडेलाई हतियार खुँडा, खुकुरी देखाई तर्साइ सुन लुट्नुहोला र मलाई पनि कुटपीट गरी घाईते बनाई दिनुहोला भनेकोले मैले सोही योजनाअनुसार बा. ८ च. १७७३ नं. को पजेरो गाडी भाडामा लिई मिति २०६७।११।१ गते मेरो साथीहरू दिपक लामा, टेकबहादुर श्रेष्ठ, प्रविण मिश्र, ओमकार विक्रम कुँवर र विपिन भट्टराईसमेतलाई साथमा लिई मैले घरमा राखेको खुँडा थान १, खुकुरी थान ३, पेस्तोल नाल १, गोली राउण्ड ३ र म्यागजीन थान १ बा.८ च. १७७३ नं. को पजेरोमा लोड गरी सुन लुट्न दाउन्ने उकालोमा आउँदा जिल्ला नवलपरासी, दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा डिउटीमा रहेका प्रहरीहरूले हामी चढेको पजेरो गाडी रोकी खानतलासी गर्दा हामीहरूले लिई आएको पेस्तोल नाल १, म्यागजीन थान १, गोली राउण्ड ३, खुँडा थान १, खुकुरी थान ३ समेत फेला पारी हामी छजनालाई पक्राउ गरी लिई आएको हो । बरामद गरिएको हातहतियार देखाउँदा हेरेँ चिनेँ । उक्त हतियारहरू हामी सबैजनाले बा. ८ च. १७७३ नं. को पजेरोमा सुन लुट्नको लागि लिई आएका हतियार हुन् । बरामदी मुचुल्कामा गरेको सहीछाप मेरो हो भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
म इलाममा B.A. First Year मा अध्ययन गर्दा झापा सुरूङ्गा बस्ने राजन भन्ने राजकुमार राजवंशीसँग मेरो चिनाजानी थियो । पछि म काठमाडौं पढ्न आउँदा निजसँग अचानक भेट भई कुराकानीको क्रममा राजकुमार राजवंशीले आफू माडेको निजी कारको ड्राइभरको रूपमा कार्यरत् रहेको बताएका थिए । पछि फोनमा राजकुमारसँग कुराकानी हुँदा निजले आफू काम गर्ने माडेले भारतबाट अवैध सुन ल्याई कारोवार गर्छन्, एक पटकमा घटीमा पनि ५० किलो सुन ल्याउँछन्, सुन लिनको लागि माडे आफैं आउँछ कि त माडेको छोरा आउँछ, हामीहरूले उक्त सुन लुट्नुपर्छ भनेकोले म पनि लोभ लालचामा परेर सो कुरामा सहमत भएँ । उक्त काम गर्नको लागि मैले चिनेका दिपक घिमिरेलाई सो कुरा सुनाउँदा दिपक घिमिरे पनि सुन लुट्ने योजनामा सहमत भएपछि राजकुमार राजवंशीसँग फोनमा कुरा गराई भेट गराई दिएको थिएँ । राजकुमारले सुन लुट्नको लागि ५/६ जना मानिस र पेस्तोलको आवश्यकता पर्छ भनी आफू भारत गएको अवस्थामा पेस्तोल लिई आउँछु भनेका थिए । निजले पेस्तोल ल्याएपछि दिपक घिमिरेले रक्सौलबाट पेस्तोल गोलीसमेत किनी ल्याए र खुँडा, खुकुरीसमेत किनी राखे । सुन लुट्नको लागि दिपक लामा, टेकबहादुर श्रेष्ठ, ओमकार विक्रम कुँवर, विपिन भट्टराईसँग कुरा गरी राखेका थिए । मिति २०६७।११।१ गते म माँडेसँग कारमा आउँछु, हिड्नुभन्दा पहिला तपाईंलाई गाडी नम्बर र रंग फोनमा भनिदिन्छु, १ गते दाउन्ने उकालोमा आई बस्नु, मैले हाँकी ल्याएको गाडीलाई हात दिएर रोक्न लगाउनु, मैले गाडी रोकी दिन्छु, त्यसपछि साहु र मलाईसमेत कुटपीट गरी सुन खोसी हाल्नुहोला, लुटिएको सुन हामी सबैजनाले बराबर बाँडौला भनी राजकुमार राजवंशीले मलाई र दिपक घिमिरेलाई भनेपछि दिपक घिमिरेले २०६७।११।१ गते पजेरो गाडी भाडामा लिए । पछि दिपक लामासमेत दिपक घिमिरेको घरमा गई निजले आफ्नो घरमा राखेको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा थान १, खुकुरी थान ३ समेत हामी चढी गएको बा. ८ च. १७७३ नं. को पजेरो गाडीमा राखी माडेको सुन लुट्नको लागि काठमाडौंबाट नवलपरासी जिल्लाको दाउन्नेदेवी उकालोमा आउँदा जिल्ला नवलपरासी, दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा प्रहरीहरूले हामी चढी आएको पजेरो गाडीको चेकजाँच गर्दा हतियारहरू फेला पारेकोले हामी सबैजनालाई पक्राउ गरी लिई आएको हो । बरामद गरिएको हातहतियारहरू देखाउँदा हेरेँ चिनेँ । उक्त हतियारहरू हामीहरूले दिपक घिमिरेको घरबाट बा. ८ च. १७७३ नं. को पजेरो गाडीमा लिई आएको हतियार हो, बरामदी मुचुल्कामा गरेको सहीछाप मैले गरेको हो, सनाखत गरी दिएँ । मसँग हातहतियार राख्न पाउने, एक स्थानबाट अर्को स्थानमा लिई जान पाउने अनुमति पत्र छैन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रविण मिश्रले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मेरो पहिलादेखि चिनाजानी भएका दिपक घिमिरे र प्रविण मिश्रसमेतले मसँग पहिला नै सल्लाह गरेबमोजिम माडेले लिई आउने अवैध ५० किलो सुन खोस्नको लागि मिति २०६७।११।१ गते दिपक घिमिरेले भाडामा लिएको बा.८ च. १७७३ नं. को पजेरो जीपमा म, दिपक घिमिरे, प्रविण मिश्र, टेकबहादुर श्रेष्ठ, ओमकार विक्रम कुँवर, विपिन भट्टराई, काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ८ स्थित दिपक घिमिरेको घरमा गई दिपक घिमिरेको घरमा पहिलादेखि नै राखेको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्याग्जीन थान १, खुँडा थान १, खुकुरी थान ३ समेत सोही पजेरो गाडीमा लुकाई हामी सबैजना सोही पजेरो जीपमा सवार भई भैरहवातर्फबाट राजकुमार राजवंशीले आफ्नो साहुको साथमा कारमा लिई आएको अवैध सुन खोस्नको लागि दाउन्ने देवीको उकालोतर्फ जाँदै गरेको अवस्थामा जिल्ला नवलपरासी दुम्किवास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा डिउटीमा रहेका प्रहरीहरूले हामी चढी आएको पजेरो जीपलाई रोकी खानतलासी गर्दा हामीले उक्त पजेरोमा ल्याएको पेस्तोल नाल १, ऐ. को गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा थान १, खुकुरी थान १ समेत बरामद भएकोले प्रहरीले पक्राउ गरी लिई आएको हो । देखाईएको हातहतियार तथा गोलीहरू हामीहरूले दिपक घिमिरेको घरबाट लिई आएका हौं । बरामदी मुचुल्कामा गरेको सहीछाप मेरो हो, मैले हातहतियार राख्न पाउने, एक स्थानबाट अर्को स्थानमा लान पाउने अनुमति पत्र प्राप्त गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मेरो पहिलादेखि चिनाजानी भएका दिपक घिमिरे र प्रविण मिश्रसमेतले मसँग पहिला नै सल्लाह गरेबमोजिम माडेले लिई आउने अवैध ५० किलो सुन खोस्नको लागि मिति २०६७।११।१ गते दिपक घिमिरेले भाडामा लिएको बा. ८ च. १७७३ नं. को पजेरो जीपमा म, दिपक घिमिरे, प्रविण मिश्र, टेकबहादुर श्रेष्ठ, ओमकार विक्रम कुँवर, विपिन भट्टराई, काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ८ स्थित दिपक घिमिरेको घरमा गई निजले आफ्नो घरमा राखेको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्याग्जीन थान १, खुँडा थान १, खुकुरी थान ३ समेत सोही पजेरो गाडीमा लुकाई हामी सबैजना सोही पजेरो गाडीमा सवार भई भैरहवातर्फबाट दाउन्ने देवीको उकालोतर्फ जाँदै गरेको अवस्थामा जिल्ला नवलपरासी, दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा डिउटीमा रहेका प्रहरी कर्मचारीहरूले हामी चढी आएको पजेरो जीपलाई रोकी खानतलासी गर्दा हामीले उक्त पजेरोमा राखी ल्याएको पेस्तोल नाल १, ऐ. को गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा थान १, खुकुरी थान ३ समेत बरामद भएकोले प्रहरीले पक्राउ गरी लिई आएका हुन् । देखाईएको हतियार तथा गोलीहरू हामीहरूले दिपक घिमिरेको घरबाट लिई आएको हातहतियारहरू हुन् । बरामदी मुचुल्कामा गरेको सहीछाप मेरो हो । मैले हातहतियार राख्न पाउने, एक स्थानबाट अर्को स्थानमा लान पाउने अनुमती पत्र प्राप्त गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी टेकबहादुर श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
दिपक घिमिरेसँग मेरो पहिलादेखि चिनजान थियो, उहाँले मेरो चिनाजानी भएका एकजना माडेको ड्राइभर राजकुमार राजवंशीले भनेअनुसार निजको साहुले भारतबाट अवैध सुन लिई आउँछन्, २/३ पटक १/१ क्वीन्टल सुन लिई आई सकेका छन्, फेरि ५० किलो सुन लिई आउनेवाला छन्, हामीहरूले ५० किलो सुन लुटी बराबर बाड्नु पर्छ भनेका छन् तपार्इं पनि सुन लुट्न जानुपर्छ भनेकाले मनमा लालचा सिर्जना भई म पनि दिपक घिमिरेलाई आफू पनि उक्त कार्यमा सहभागी हुन सहमति दिएँ । त्यसपछि दिपक घिमिरेले सुन लुट्नको लागि आवश्यक पर्ने हातहतियार मैले घरमा संकलन गरी राखेको छु, माडेले सुन ल्याएको कुरा राजकुमार राजवंशीले हामीलाई खबर गर्छन्, सोहीअनुसार सुन लुट्न जाने भनेका थिए । माडेको ड्राइभरले खबर गरेअनुसार मिति २०६७।११।१ गते नवलपरासी जिल्लाको दाउन्ने देवीको उकालोमा माडेको सुन लुट्ने तय भई दिपक घिमिरेले बा. ८ प. १७७३ नं. को पजेरो गाडी भाडामा लिई आए । गाडीमा म, दिपक लामा, प्रविण मिश्र, टेकबहादुर श्रेष्ठ र ओमकार बिक्रम कुँवर दिपक घिमिरेको घरमा गई निजले घरमा राखेको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा थान १, खुकरी थान ३ समेत सो गाडीमा राखी हामी चढी गएको अवस्थामा अन्दाजी १०:३० बजेको समयमा जिल्ला नवलपरासी, दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा डिउटीमा रहेका प्रहरीले हामी चढी आएको पजेरो गाडीलाई रोकी खानतलासी लिँदा हामीले उक्त पजेरो गाडीमा लिई आएको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा १, खुकुरी थान ३ समेत बरामद भएकोले सबै जनालाई प्रहरीले पक्राउ गरी लिई आएको हो । देखाईएको हातहतियारहरू हामी काठमाडौंबाट सुन लुट्न लिई आएको बा. ८ च. १७७३ नं को पजेरो जीपबाट बरामद भएको हो, बरामदी मुचुल्काको सहीछाप मेरो हो, मसँग हातहतियार राख्न पाउने, एक स्थानबाट अर्को स्थानमा हतियार लिई जान पाउने अनुमति पत्र छैन, भन्नेसमेत व्यहोराको प्रतिवादी विपिन भट्टराईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मेरो पहिलादेखि चिनजान भएका दिपक घिमिरेले मलाई भेटी एकजना माडेले भारतबाट अवैध तरिकाले सुन ल्याउँछन्, उक्त कुरा ड्राइभर राजन भन्ने राजकुमार राजवंशीले मलाई बताएका छन्, माडेले भारतबाट निकट भविष्यमा ५० किलो अवैध सुन लिई आउँदैछन् सो सुन ल्याउने बेलामा राजकुमारले हामीहरूलाई खवर गर्छन्, हामी सबैजना मिली उक्त सुन लुट्नुपर्छ, हामी सबैजनाले बराबर बाँडौंला, हामीसँगै दिपक लामा, बिपिन भट्टराई, टेकबहादुर श्रेष्ठ, प्रविण मिश्र पनि जान्छन् भनेकोले मेरो मनमा लालच सिर्जना भई मैले पनि उक्त कार्य गर्नको लागि सहमति दिएको थिएँ । पछि राजकुमार राजवंशीले दिपक घिमिरेलाई फोन गरी मिति २०६७।११।१ गते माडेले भारतबाट ५० किलो सुन लिई आउदै छन्, हामीले दाउन्नेको उकालोमा ड्राइभर र माडेलाई सामान्य कुटपीट गरी सुन खोस्नुपर्छ भनेबमोजिम दिपक घिमिरेले सुन लुट्न जाने अन्य साथीहरूलाई खबर गरी आफू बा. ८ च. १७७३ नं. को पजेरो जीप लिई आए । उक्त पजेरो जीपमा म, दिपक लामा, प्रबिण मिश्र, विपिन भट्टराई, टेकबहादुर श्रेष्ठसमेत दिपक घिमिरेको घरमा गई निजले पहिलादेखि नै आफ्नो घरमा संकलन गरी राखेको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्यागजीन थान १, खुँडा थान १, खुकुरी थान ३ समेत पजेरो जीपमा लोड गरी लुकाई सोही पजेरो जीपमा चढी माडेको सुन लुट्नको लागि जाँदै गर्दाको अवस्थामा प्रहरीहरूले हामी चढेको पजेरो गाडी रोकी खानतलासी लिँदा उक्त पजेरो गाडीमा राखेको हातहतियार बरामद भएको हो । बरामदी मुचुल्काको सहीछाप मेरो हो, मसँग हतियार राख्न पाउने, एक स्थानबाट अर्को स्थानमा हतियार लिई जान पाउने अनुमति पत्र छैन भन्नेसमेत व्यहोराको प्रतिवादी ओमकार बिक्रम कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६७।११।१ गते १०:३० बजेको समयमा म जिल्ला नवलपरासी, दुम्किबास गा.वि.स. वडा नं. १ स्थित महेन्द्र राजमार्गमा थिएँ । सोही समयमा पूर्वतर्फबाट पश्चिमतर्फ गई रहेको बा. ८ च. १७७३ नं. को पजेरो जीपलाई डिउटीमा रहेका प्रहरीहरूले रोकी उक्त जीपको खानतलासी लिँदा खुँडा थान १, खुकुरी थान ३, सवारी चालक अनुमति पत्र थान १, सवारी दर्ता प्रमाण पत्र १, Automatic Pistol लेखिएको पेस्तोल नाल १, सोको गोली राउण्ड ३, म्यागजीन थान १ समेत बरामद भएकोले बरामदी मुचुल्कासमेत खडा गरी उक्त जीपमा चढी आएका दिपक घिमिरे, दिपक लामा, टेकबहादुर श्रेष्ठ, विपिन भट्टराई, ओमकार विक्रम कुँवर, प्रविण मिश्रसमेतलाई प्रहरीले पक्राउ गरी लिई गएका हुन् । पक्राउमा परेका व्यक्तिहरूले उक्त हातहतियार गोली गठ्ठा के कुन प्रयोजनको लागि लिई आएका थिए, सो सम्बन्धमा थाहा भएन भन्नेसमेत व्यहोराको नारायण पौडेलसमेत जना ३ ले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
बरामदी मुचुल्का, प्र.नि. इन्द्रबहादुर थापाको प्रतिवेदन, दिपक घिमिरेसमेत जना ६ को बयान, वस्तुस्थिति मुचुल्का र बरामद पेस्तोल, म्याग्जीन, गोली, खुँडा, खुकुरीसमेतका प्रमाणका आधारमा प्रतिवादी दिपक घिमिरेसमेतको आपसी सरसल्लाह योजना र मिलेमतोमा २०६७।११।१ गतेका दिन नवलपरासी जिल्लाको दाउन्ने पहाडमा सुन लुट्ने उद्देश्यले इजाजतबिना बरामद हतियार खरखजाना, खुँडा, खुकुरी बा. ८ च. १७७३ नं. को पजेरो गाडीमा राखी आफूहरू सोही गाडीमा बसी काठमाडौं देखि ल्याउने कार्य गरेकोले प्रतिवादी दिपक घिमिरेसमेत जना ६ ले हात हतियार खरखनाजा ऐन, २०१९ को दफा ३(२), ४(२), ५(१) को बर्खिलाप कार्य गरी सोही ऐनको दफा २०(२) को देहाय (क) (ख) (ग) तथा दफा २०(३) को देहाय (क) र (ख) को कसूर गरेकोले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा २०(२) र दफा २०(३) बमोजिम सजाय गरी बरामदी मुचुल्कामा उल्लेखित हतियार ओसार पसार गर्न प्रयोग भएको बा. ८ च. १७७३ नं. को पजेरो गाडी, पेस्तोल, गोली म्यागजीनसमेत ऐ. ऐनको दफा १६ बमोजिम जफत गरी पाऊँ भन्ने व्यहोराको अभियोग पत्र ।
मिति २०६७।११।१ गते मसमेतका प्रतिवादीहरू काठमाडौंदेखि बा. ८ च. १७७३ नं. को गाडीमा आउँदै गर्दा नवलपरासी जिल्लाको दुम्किबास स्थित राजमार्गमा प्रहरीले हामी आएको गाडी खानतलासी गर्दा बरामदी मुचुल्कामा उल्लेखित सामान बरामद भएको हो । उक्त सामान दिपक घिमिरेले कहाँबाट ल्याए थाहा छैन । मैले सो सामान ल्याएको होइन, प्रहरीमा भएको कागज नदेखाई नसुनाई सहीछाप गराइएको हो । मैले आरोपित कसूर गरेको छैन । मसँग हातहतियार लिई हिड्न पाउने इजाजत पत्र छैन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रविण मिश्रले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
दिपक घिमिरेले बुटवलतर्फ घुम्न जाउँ भनेकोले बा. ८ च. १७७३ नं. को गाडीमा मसमेतका प्रतिवादीहरू आउँदै गर्दा जिल्ला नवलपरासी, दुम्किबासस्थित राजमार्गमा प्रहरीले गाडी रोकी गाडी चेकजाँच गर्दा पेस्तोल गोलीसमेत फेला पारी प्रहरीले बरामद गरेका हुन् । अवैध हतियार गाडीमा थियो भन्ने कुरा मलाई थाहा थिएन । प्रहरीमा भएको कागज पढी बाची नसुनाई गराईएको हो । मैले आरोपित कसूर गरेको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी ओमकार विक्रम कुँवरले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
मसमेतका प्रतिवादीहरू काठमाडौंदेखि बा. ८ च. १७७३ नं. को गाडीमा बुटवलसमेतका स्थानमा घुम्न भनी आई रहेका बखत जिल्ला नवलपरासी, दुम्किबासस्थित राजमार्गमा प्रहरीले गाडी खानतलासी गर्दा गाडीमा पेस्तोल गोली म्याग्जीनसमेत बरामद भएको हो, मैले ल्याएको होइन, मलाई गाडीमा अवैध हतियार रहेको कुरा थाहा थिएन, प्रहरीमा गराईएको कागज पढी बाची नसुनाई गराईएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विपिन भट्टराईले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
मिति २०६७।११।१ गते का दिन मसमेतका प्रतिवादीहरू बुटवल घुम्न जान बा. ८ च. १७७३ नं. को गाडीमा आउँदै गर्दा जिल्ला नवलपरासी, दुम्किबासमा प्रहरीले गाडी रोकी खानतलासी गर्दा गाडीमा भएको पेस्तोलसमेतका सामान बरामद गरेका हुन् । उक्त सामान मैले आत्मरक्षाको लागि लिई हिँडेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दिपक घिमिरले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
२०६७।११।१ गतेका दिन मसमेतका प्रतिवादीहरू बा. ८ च. १७७३ नं. को गाडीमा आउँदै गर्दा जिल्ला नवलपरासी, दुम्किबासस्थित राजमार्गमा प्रहरीले गाडीको खानतलासी गर्दा पेस्तोलसमेतका सामान बरामद भएको हो उक्त सामान मेरो होइन दिपक घिमिरेले कहाँबाट ल्याए थाहा छैन भन्ने व्यहोराको प्रतिवादी दिपक लामाले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
२०६७।११।१ गतेका दिन मसमेतका प्रतिवादीहरू बा. ८ च. १७७३ नं. को गाडीमा आउँदै गर्दा जिल्ला नवलपरासी, दुम्किबासस्थित राजमार्गमा प्रहरीले गाडीको खानतलासी गर्दा पेस्तोलसमेतका सामान बरामद भएको हो । उक्त सामान मेरो होइन । दिपक घिमिरेले कहाँबाट ल्याए थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी टेकबहादुर श्रेष्ठले शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा गरेको बयान ।
किटानी प्रतिवेदन, बरामदी मुचुल्कासमेतका आधारमा प्रतिवादी दिपक घिमिरेसमेत जना ६ ले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) र ५(१) को बर्खिलाप हुने गरी सोही ऐनको दफा २०(२) को देहाय (क), (ख), (ग) र २०(३) को देहाय (क) र (ख) को कसूर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादी प्रविण मिश्र र दिपक घिमिरेलाई जनही ३/३ बर्ष कैद र प्रतिवादीहरू टेकबहादुर श्रेष्ठ, दिपक लामा, विपिन भट्टराई र ओमकार विक्रम कुँवरलाई जनही रू. ८०,०००।– जरीवाना हुने र बरामद भएको बा. ८च. १७७३ को गाडी पेस्तोल, खुकुरी, गोली, म्यागजीन जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०६८।२।१८ को फैसला ।
पेस्तोल मबाट बरामद भएको होइन । सहप्रतिवादी दिपक घिमिरेले मैले आत्मरक्षाको लागि राखेको भनी जिल्ला प्रशासन कार्यालयसमक्ष बयान गरेको पाईन्छ । मबाहेक अरू कसैको संलग्नता छैन भनी निजले बयान गरी रहेको अवस्था छ । मौकामा भएको बयान व्यहोरा मलाई नसुनाई सहीछापसम्म गराएका हुन् । आरोपित कसूर मैले गरेको होइन । प्रतिवेदकले समेत बकपत्र गर्दा मेरो संलग्नता रहेको भनी लेखाउन सकेको छैनन् भने दिपक लामासमेतलाई जरीवाना गर्ने र मलाई कैद गर्ने गरी भएको शुरू फैसला आफैंमा बिरोधाभाषपूर्ण छ । मैले आरोपित कसूर नगरेको अवस्थामा सजाय हुने गरी भएको शुरू फैसला अ.वं. १८४क, १८५ नं. तथा प्रमाण ऐन, २०३१ को विपरीत हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रविण मिश्रको पुनरावेदन अदालत, बुटवलमा पर्न आएको पुनरावेदन पत्र ।
प्रतिवादी प्रविण मिश्रको साथबाट हतियार बरामद नभएको र निजले आरोपित कसूरमा इन्कार रही बयान गरेको स्थितिमा निजलाई अभियोग दावीबमोजिम सजाय गर्ने गरेको जिल्ला प्रशासन कार्यालय, नवलपरासीको निर्णय फरक पर्न सक्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय, बुटवललाई पेशीको जानकारी गराई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६८।८।१४ को आदेश ।
सवारी धनी हरिकृष्ण धेकेलाई बुझेको नदेखिँदा निजलाई अ.बं. १३९ बमोजिम बुझी पेश गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६८।११।३० को आदेश ।
बा. ८ च. १७७३ नं. को जापानी पजेरो गाडी मेरो नाउँमा दर्ता छ । उक्त गाडी बिक्री गर्न एस.आर.एस. अटो सर्भिसका समिर बुढालाई जिम्मा दिएकोमा दिपक घिमिरेले चित्त बुझे किन्ने नत्र विवाह कार्यक्रममा ट्रायल गरी दैनिक रू. ५०००।– भाडा दिने गरी लगेका रहेछन् । निज सम्पर्कमा नआएपछि मैले हनुमान ढोकामा गाडी हराएको भनी निवेदन दिएको थिएँ । पछि हातहतियार मुद्दामा परेको थाहा पाई जिल्ला प्रशासन कार्यालय, नवलपरासीमा सो गाडी फिर्ता पाउन निवेदन दिएकोमा पछि खबर गरौंला भनी जानकारी दिएका र मलाई नबुझी जफत गर्ने भनी निर्णय गरेउपर सर्वोच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दिएको छु, मैले कुनै कसूर गरेको छैन, गाडी फिर्ता पाऊँ भन्ने व्यहोराको सवारी धनी हरिकृष्ण धेकेले पुनरावेदन अदालत, बुटवलमा गरेको बयान ।
बरामद भै आएको १ थान पेस्तोल यी पुनरावेदक प्रतिवादी प्रविण मिश्रको साथबाट बरामद भएको देखिएन । सो पेस्तोल प्रविण मिश्रले कसैबाट खरीद गरेको वा कसैलाई बिक्री गरेको वा आफ्नो साथमा राखेको वा चलाएको वा ओसारपसार आदि केही गरेको देखिने कुनै तथ्य खुल्न आएको पाईएन । केवल प्रतिवादी दिपक घिमिरेको साथमा पेस्तोल रहेको र निज दिपक घिमिरेले चलाई ल्याएको गाडीमा सँगै आएकोसम्मको कारणबाट प्रतिवादी प्रविण मिश्रलाई अवैध हातहतियारसम्बन्धी कसूरदार ठहर गर्नु न्यायोचित देखिएन । अतः मिसिल संलग्न प्रमाणबाट प्रतिवादी प्रविण मिश्रले आरोपित हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० बमोजिम सजाय हुने कसूर गरेको भनी अभियोजन पक्षले प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएको हुँदा केवल शङ्काकै भरमा दोषी ठहर गर्नु मुनासिब नभएकोले निजलाई कसूरदार ठहर गरेको शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०६८।२।१८ को फैसला केही उल्टि भई प्रतिवादी प्रविण मिश्रले आरोपित कसूरको अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९।१।३१ को फैसला ।
सुन लुट्ने योजना बनाई अवैध हातहतियारसहित बा.८ च. १७७३ नं. को गाडीमा चढी प्रतिवादीहरू हिँडेका अवस्थामा सो गाडीबाट अवैध हतियार बरामद भएको, प्रतिवादी प्रविण मिश्रले अनुसन्धान अधिकारीसमक्ष आरोपित कसूरमा सावित भई बयान गरेको, हातहतियार खरखजाना ऐन, २०१९ ले हातहतियार लिई हिड्ने कार्यलाई निषेध गरेको समेतका स्थितिमा प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टि गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारकातर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फका विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेलले प्रतिवादी प्रविण मिश्रसमेतको सल्लाहमा सुन लुट्ने उद्देश्यले बा. ८ च. १७७३ नं. को पजेरो गाडीमा अवैध हतियार राखी आइरहेको अवस्थामा पक्राउ परेका र निज प्रतिवादी आरोपित कसूरमा अधिकारप्राप्त अधिकारीसमक्ष साबित भएको समेतका कारणले निजसमेत अवैध हातहतियार ओसार पसार गर्ने कार्यमा संलग्न रहेको हुँदा निजलाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत, बुटवलको फैसला नमिलेको हुँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने आदेश जारी हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
२. अब, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु पर्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा बा. ८ च. १७७३ नं. को पजेरो गाडीमा सवार भई रहेको अवस्थामा पेस्तोल थान १, गोली राउण्ड ३ र म्यागजीनसमेत बरामद भएकोले सो गाडीमा यात्रा गर्ने प्रतिवादीहरू दिपक घिमिरे, प्रविण मिश्र, दिपक लामा, टेकबहादुर श्रेष्ठ, विपिन भट्टराई र ओम विक्रम कुँवरसमेतले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(३) को खण्ड (क) र (ख) को कसूर गरेका हुँदा निजहरूलाई सोही ऐनको दफा २०(२) र २० (३) बमोजिमको सजाय माग दावी लिई अभियोग पत्र दायर भएको देखिन्छ । शुरू जिल्ला प्रशासन कार्यालय, नवलपरासीले प्रतिवादीहरूलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २०(२) को खण्ड (क), (ख) र (ग) तथा दफा २०(३) को खण्ड (क) र (ख) को कसूरमा सोही दफाबमोजिम प्रतिवादी दिपक घिमिरे र प्रविण मिश्रलाई जनही ३ वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरू टेकबहादुर श्रेष्ठ, दिपक लामा, विपिन भट्टराई र ओमकार विक्रम कुँवरलाई जनही रू. ८०,०००।– का दरले जरीवाना हुने ठहर्याई फैसला गरेउपर प्रतिवादीमध्येका प्रविण मिश्रले पुनरावेदन अदालत, बुटवलमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, बुटवलले प्रतिवादी प्रविण मिश्रलाई सफाइ दिने ठहर्याई फैसला गरेउपर वादी नेपाल सरकारकोतर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
३. प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बरामद भएको पेस्तोल, गोली तथा म्यागजीनसमेत बा. ८ च. १७७३ नं. को गाडीमा राखी सुन लुट्ने उद्देश्यले हिँडेको भनी बयान गरे पनि अदालतमा बयान गर्दा आफूलाई उक्त गाडीमा अवैध हातहतियार रहेको कुरा थाहा नभएको र उक्त हातहतियार प्रतिवादीहरूमध्येकै दिपक घिमिरेको भएको भन्ने व्यहोरा लेखाएको पाईन्छ । अन्य प्रतिवादीहरूले अदालतमा बयान गर्दा यी प्रतिवादी प्रविण मिश्रलाई बरामद भएको बा. ८ च. १७७३ को गाडीमा अवैध हातहतियार रहेको कुराको जानकारी रहेको थियो भन्ने कुरा खुलाउन सकेको देखिँदैन । अझ प्रतिवादीमध्येका दिपक घिमिरेले अदालतमा बयान गर्दा आफूले उक्त हतियार आत्मरक्षाका लागि लिएर हिँडेको भन्ने व्यहोरा उल्लेख गरेबाट आरोपित कसूरमा निजको मात्र संलग्नता रहेको र यी प्रतिवादीको संलग्नता नरहेको भन्ने पुष्टि गरी दिएका छन् ।
४. यी प्रतिवादी प्रविण मिश्रले अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गर्दा बरामद भएको बा. ८ च. १७७३ नं. को गाडीमा सवार भईरहेको अवस्थामा अभियोग पत्रमा उल्लेखित अवैध हातहतियारहरू बरामद भएको तथ्यलाई स्वीकार गरेको भए पनि अदालतमा बयान गर्दा सो गाडीमा आफूलाई अवैध हतियार रहेको भन्ने थाहा नभएको भनी उल्लेख गरेको देखिएको र निजलाई सो गाडीमा अवैध हातहतियार रहेको भन्ने कुराको जानकारी थियो भनी अन्य प्रतिवादीहरूले समेत भन्न नसकेको स्थितिमा अवैध हात हतियार राखेको गाडीमा चढेको कारणले मात्र निजले आरोपित कसूर गरेको भन्न मिलेन ।
५. हातहतियार खरखजना ऐन, २०१९ ले अवैधरूपमा हातहतियार राख्ने, त्यस्तो हातहतियार लिई हिंड्ने र बिक्री वितरण गर्नेसमेतका कार्यलाई निषेध गरेको भए पनि निज प्रतिवादीसमेत चढेको गाडीमा अवैध हातहतियार रहेको कुराको जानकारी यी प्रतिवादीलाई रहेको तथ्ययुक्त प्रमाणबाट नदेखिएको र उक्त गाडीमा अवैध हातहतियार राख्ने कार्यमा निजको संलग्नता रहेको पनि नदेखिएको स्थितिमा निज चढेको सवारी साधनबाट अवैध हातहतियार बरामद भएको कारणले मात्र निजलाई कसूरदार ठहर गर्नु कानून एवं न्यायसङ्गत देखिन आउँदैन । वादी पक्षले प्रतिवादी प्रविण मिश्र चढेको गाडीमा अवैध हातहतियार रहेको कुरा निज प्रतिवादीलाई थाहा थियो र त्यस्तो अवैध हातहतियार गाडीमा राख्ने कार्यमा निज प्रतिवादीको संलग्नता रहेको भन्ने कुराको ठोस र तथ्ययुक्त प्रमाण पेश गर्न सकेको देखिँदैन । प्रतिवादीले आरोपित कसूर गरेको भन्ने ठोस र तथ्ययुक्त प्रमाणको अभाव रहेको यस्तो स्थितिमा केबल शङ्का र अनुमानको भरमा मात्र निजलाई कसूरदार ठहर गर्न मिलेन ।
६. तसर्थ प्रतिवादी प्रविण मिश्रलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को कसूरबाट सफाइ दिने ठहर्याई पुनरावेदन अदालत, बुटवलबाट मिति २०६९।१।३१ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
मा.न्या.रामकुमार प्रसाद शाह
इति सम्वत् २०७० साल असार ३ गते रोज २ शुभम् ............................।
इजलास अधिकृतः— किशोर घिमिरे