शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२९६ - अंश दर्ता ।

भाग: ५२ साल: २०६७ महिना: बैशाख अंक:

निर्णय नं. ८२९६    वैशाख, २०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल

दे.पु.नं. :  ०६३CI०४४५

फैसला मितिः २०६६।१०।६।४

मुद्दा : अंश दर्ता ।

पुनरावेदक/प्रतिवादीः धनुषा जिल्ला, लोहना गा.वि.स. वडा नं. ७ बस्ने रामचरित्र साह    समेत

विरुद्ध

प्रत्यर्थी/वादीः धनुषा जिल्ला, लोहना गा.वि.स. वडा नं. ७ बस्ने वौधनाथप्रसाद साह   

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री बलरामप्रसाद अधिकारी

पुनरावेदन फैसला गर्नेः

मा.मु.न्या. श्री प्रेम शर्मा

मा.न्या. श्री मधुसुदनलाल श्रेष्ठ

 

§  एउटा निश्चित प्रयोजनका लागि छुट्याइएको जग्गा सो प्रयोजनमा उपयोग समेत भै बाँकी रहेको अवस्थामा त्यसलाई बण्डा गर्न नपर्ने निजी आर्जनको भनी अलग गर्न नमिल्ने ।

§  सगोलमा रहेका अंशियारले सगोलकै पैतृक सम्पत्तिबाट विद्याध्ययन प्रयोजनका लागि प्राप्त गरेको जग्गालाई आफ्नो निजी आर्जनको संज्ञा दिने हो भने अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. को व्यवस्था अर्थहीन हुन जाने ।

(प्रकरण नं.२)

§  कुनै व्यक्ति विशेषको कथन मात्रै कुनै सम्पत्ति निजी आर्जनको हो भन्ने कुराको पुष्ट्याईंको आधार बन्न त्यस्तो सम्पत्ति प्राप्त गर्दाको स्रोतलाई  हेर्नुपर्ने ।

§  लिखतमा दाइजो पेवाको रकमबाट खरीद गरिएको भन्ने व्यहोरा उल्लेख हुनु मात्रले पनि दाइजो पेवाबाट प्राप्त भएको भन्ने मानिँदैन, को कसबाट कहिले र कति दाइजो वा पेवा प्राप्त भएको हो भन्ने स्रोत खुलाउन सक्नुपर्ने ।

§  निजी आर्जनको आफूखुश गर्न पाउने सम्पत्ति भन्ने कुनै पनि स्रोत र आधार प्रस्तुत हुन नसकेको अवस्थामा सगोलका अंशियारहरूमध्ये कुनै एक अंशियारका रुपमा रहेको सम्पत्तिलाई अन्य अंशियारले दावी गर्नसक्ने र त्यसलाई बण्डायोग्य सम्पत्तिबाट बाहेक गर्न सकिने स्थिति नरहने ।

(प्रकरण नं.३)

 

पुनरावेदक/प्रतिवादी तर्फबाटः

प्रत्यर्थी/वादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

o   अंशबण्डाको २ र १८ नं.

o   स्त्री अंशधनको ५ नं.

 

फैसला

      प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

मुल पुरुष जनक साहको २ छोरा जेठा सीताराम साह तथा कान्छा रामऔतार साह हुनुहुन्छ । सीताराम तथा रामऔतारबीच कानूनतः अंशबण्डा भई दुवैजना अलगअलग भई बसेका छन् । रामऔतारको ४ छोरा जेठा विपक्षी रामचरित्र साह, माहिला रामअनुग्रह साह, साँहिला म फिरादी वौधनाथप्रसाद साह तथा कान्छा विपक्षी जीतनारायण साह हुनुहुन्छ । विपक्षी मीरा साह विपक्षी रामचरित्र साहको श्रीमती तथा विपक्षी सावित्रीदेवी विपक्षी रामअनुग्रह साहको श्रीमती हुनुहुन्छ । आमा स्वर्गीय भैसक्नु भएको छ । हामी वादी प्रतिवादीहरू एकासगोलमा बस्दै आइरहेका थियौं । पारिवारिक संख्याको बृद्धि भएपश्चात् घरमा एक आपसमा बराबर झैं झगडा हुने गरेकोले म फिरादीले विपक्षी पितालाई अब हाम्रो परिवार ठूलो भैसक्यो, त्यसकारण अंशबण्डा गरी अलग अलग भई बसौं भनी भन्दा विपक्षी पिताले झगडा भए होस्, तिम्रो यस जग्गामा अंश छैन र तिमीलाई पैतृक सम्पत्तिको जग्गाबाट अंश पनि दिँदैनौं भनी भन्दा गाउँघरमा सार्वजनिक पञ्चायत बसाउँदा गाउँघरका भरभलादमीहरू समेतले निज विपक्षीहरूलाई सम्झाउँदा बुझाउँदा झन् विपक्षी पिता उत्तेजित भई तिमीलाई अंश पनि दिदैनौं तथा यो सम्पूर्ण जग्गाहरू म बेचविखन गरी दिन्छु, । तिमी जे गर्नुछ गर भनी  भन्नुभयो । साथै विपक्षीहरू रामचरित्र साह तथा रामअनुगह्र साह समेतले हाम्रो पत्नीको नाममा रहेको जग्गाहरूबाट समेत तिमीलाई अंश दिँदैनौं र यो जग्गाहरू समेत अरुको नाममा हस्तान्तरण गरी दिन्छु भनी जवाफ दिएकाले फिराद गर्न आएको हुँ । अतः विपक्षीहरूबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी माग गरी सबै सम्पत्तिलाई ५ खण्ड गरी ५ खण्डको १ खण्ड म फिरादीलाई छुट्याई मेरो नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

घरको मुख्य म रामऔतार हुँ । मैले दुःखकष्ट गरी सम्पत्ति जोडेको हुँ । वादी प्रतिवादी समेतका  छोराहरूलाई डाक्टर, प्रोफेसर बनाएँ, विवाह समेत गरी दिएर नाति नातिनी भै शिक्षा दिँदैछु । एउटा साधारण किसानले यसरी छोराहरूलाई उच्च शिक्षा प्राप्त गराउन कस्तो कष्ट हुन्छ, बुझ्न सकिन्छ । कुन सम्पत्तिमा अंश लाग्ने हो र कुन सम्पत्तिमा अंश लाग्ने होइन त्यो मलाई थाहा छ । विपक्षी वादीलाई एम.ए.सम्म शिक्षा दिएँ । त्यो पनि विदेशमा विवाह गरी   दिएँ । धनुषा साइन्स क्याम्पस खोल्छु त्यसमा नोकरी पनि लाग्छ मलाई पुँजी दिनुहोस् भनी विपक्षी छोराले भने बमोजिम शेयर पूँजिबापत मैले ०१० विगाहा जग्गा धितो दिएको छु । त्यसैबाट विपक्षीले र निजको पत्नीले नोकरी पाए । विपक्षी बौधनाथ हामी प्रतिवादीहरूको भाइ तथा छोरा हुन् । अंशियार हुन् भन्नेमा विवाद छैन । हामी प्रतिवादीमध्येका रामऔतार साह, रामअनुग्रह साह, सावित्रीदेवी साह, जीतनारायण साह समेतको व्यहोरा यो छ कि मिति २०३१।२।३१ गते र.नं. ३३७ को अंशबण्डाको लेखबाट रामऔतार साह र रामचरित्र साहको नाममा आएको जग्गा र पैतृक घर समेत सगोल परिवारको सम्पत्ति हो, यसमा सबै अंशियारको अंश हक
लाग्छ । घरको मूल म रामऔतारले घर व्यवहार चलाउन ऋण कर्जा लिएको सो समेत फछ्र्यौट गरी बाँकी रहेकोमा मात्र अंश हक लाग्छ । छोरा जीतनारायण र रामचरित्रकी छोरी र रामअनुग्रह साहकी छोरी रञ्जुकुमारीको विवाह गर्न वाँकी छ, निजको विवाह खर्च पर सारी सगोलको सम्पत्तिमा अंशबण्डा गरी लिन हाम्रो मञ्जूरी छ । अंशियारहरूले सगोलको ऋण कर्जा फर्छ्यौट गरी विवाह खर्च पर सारी पैतृक सम्पत्तिमा मात्र अंशबण्डा लाग्ने हो । प्रतिवादीमध्ये म रामचरित्र साह र मीरादेवी साहको प्रतिउत्तर व्यहोरा यो छ कि ऐनले जे जति कुरामा  अंश लाग्छ त्यति कुरामा अंश दिएमा हाम्रो मञ्जूर छ । सो बाहेक हाम्रो एकलौटी हकभोगको र हाम्रो ज्ञानसीपबाट आर्जन गरेको सम्पत्तिमा विपक्षीको अंश हक नलाग्ने पनि प्रष्ट नै छ । एकासगोलको पैतृक सम्पत्तिमा अंशबण्डा भएमा हाम्रो मञ्जूर छ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

वादी प्रतिवादीहरू बाबु, छोरा, दाजु, भाइ, भाउजु, भतिजा नाताका व्यक्ति रहे भएको कुरामा नाता सम्बन्धमा विवाद नदेखिएको, कानूनको रीतपूर्वक यी अंशियारवीच अंशबण्डा भएको नदेखिएको, सगोलका अंशियार रहे भएको कुरामा विवाद नभएको अवस्था हुँदा फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०५५।१२।१४ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डा गर्नु पर्ने सम्पूर्ण चल अचल ऋण धन श्रीसम्पत्तिको तायदाती फाँटवारी अंशबण्डाको २०,२१,२२ र २३ नं. बमोजिम दुवै पक्षबाट लिई एक अर्कामा परस्पर सुनाई दाखिल हुन आएको तायदातीको अचल सम्पत्तिको दर्ता उतार झिकाई भए नपुग कोर्टफी वादीबाट दाखेल गराई नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०५७।३।२८।४ मा शुरु अदालतबाट आदेश भएको ।

वादीले तारेख गुजारी बसेकाले मिति २०५७।७।२।४ मा शुरु अदालतबाट तामेलीमा रहेकोमा मिति ०५७।९।१९।४ मा तामेलीबाट जागी पुनः दायर भएको ।

प्रतिवादी रामऔतार साहले दिनु भएको निवेदनमा उल्लेख भएका जग्गाहरू मेरो दाइजो पेवाको रुपैया र मैले आफ्नो स्रोतबाट कमाएको धनबाट मुद्दा परिसकेपछि मिति २०५७।११।१४ गते डाँक बढाबढमा सकार गरी लिएको मेरो मात्र एकलौटी हक हुने जग्गा हुँदा कसैको हक अंश नलाग्ने हो भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएकी नीतारानी साहको बयान ।

मिति २०५७।७।२७ मा अधिकार पत्रमा भएको ल्याप्चे सहिछाप र व्यहोरा समेत मेरै  हो । सो कागजमा उल्लेख भएका जग्गाहरू अंशबण्डा नभएको जग्गा हुन् । उक्त जग्गा सबै अंशियारहरूको अंश हक लाग्ने जग्गा हो भन्ने समेत व्यहोराको वादी वारेस जयकुमार लाल कर्णको मिति २०५८।१०।१५ को बयान ।

डाक्टर जस्तो आय आर्जन हुने पेशामा कार्यरत् प्रतिवादी रामचरित्र साहले आफ्नो नाउँमा र पत्नी प्रतिवादी मीरा साहको नाउँमा तथा प्रतिवादी रामअनुग्रह साहले शिक्षण पेशामा रही कमाएको रकमबाट निजकी पत्नी सावित्री देवीको नाउँमा किने जोडेको तथा मीरा साहले हालको बकसपत्रबाट पाएको जग्गा निज प्रतिवादीहरूको निजी आर्जनको कमाईबाट जोडे किनेको होइन भन्न वादीले सकेको नदेखिँदा, साथै वादीको श्रीमती नीतारानीको नाउँमा मानो छुट्टिएपछि डाँक लिलामबाट सकार गरी दर्ता भएको जग्गा समेतमा बण्डा लाग्ने देखिन आएन । प्रतिवादी रामचरित्र साहले मिति २०३१।२।३१ को पारित बण्डापत्रबाट विद्याध्ययन गर्न आफूखुसी गर्ने निजी रुपमा पाएको जग्गा समेत बण्डा लाग्ने सम्पत्ति रहेछ भनी मान्न सक्ने अवस्था पनि आएन । एक अंशियारले अर्का अंशियारको सम्पत्ति तायदातीमा देखाएको सो हदसम्मको लिन नमिल्ने सम्पत्तिको लिएको बाहेक गरी घरको मुख्य बाबु तथा ससुरा प्रतिवादी रामऔतार साहको नाउँ दर्ताको घर जग्गा सम्ममा बण्डा लाग्ने सम्पत्तिबाट विवाह नभएको छोरा भाइ प्रतिवादी जीतनारायण साहको अंशबण्डाको महलको १७ नं. बमोजिम विवाहखर्च पर सारी बाँकी सम्पत्तिको ५ खण्डको १ खण्ड वादीले अंश छुट्याई दर्ता समेत गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतबाट मिति २०५९।९।२१ मा भएको फैसला ।

विपक्षीमध्येका रामचरित्र साह, मीरा साह, सावित्रीदेवी साहको नाम दर्ता रहेको जग्गाबाट समेत ५ खण्डको एक खण्ड अंश पाउनु पर्नेमा सो नगरी भएको धनुषा जिल्ला अदालतको मिति २०५९।९।२१ को फैसला कानून, नजीर र प्रमाण समेतको आधारमा सो हदसम्मको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी विपक्षीहरू रामचरित्र साह, मीरा साह र सावित्रीदेवी साहको नाउँमा दर्ता रहेको जग्गाबाट समेत ५ खण्डको १ खण्ड अंश पाउने गरी इन्साफ प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदन पत्र ।

यसमा घरको मूली मानिस रामऔतार साहले प्रतिवाद गर्दा सबै छोराहरूलाई सगोलकै सम्पत्तिबाट शिक्षा दिक्षा दिएको र सबै सम्पत्तिलाई बढाई समेत गरेको हो र हालसम्म सगोलमै बसी व्यवहार गरी आएका छौं, बण्डा गर्न मञ्जूर छ भनी स्वीकार गरेको स्थितिमा निजी आर्जनको सम्पत्ति हो भन्ने वस्तुगत प्रमाणको अभावमा प्रतिवादी रामचरित्र साह, मीरा साह र सावित्री देवी साहको नाममा भएको सम्पत्तिलाई बाहेक गरी बण्डा गर्ने गरेको शुरुको इन्साफ फरक पर्नसक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०६१।१०।२८ मा भएको आदेश ।

      प्रमाणबाट निजी आर्जनको भन्ने पुष्टि नभएकोले वकसपत्रबाट प्राप्त गरेको कित्ता नं. १४४ को जग्गा बाहेक अरु राजीनामाबाट प्रतिवादीहरूको नाममा दर्ता रहेको तायदातीमा उल्लिखित जग्गामा वादीको अंश हक लाग्न नसक्ने गरी भएको हदसम्मको धनुषा जिल्ला अदालतको मिति २०५९।९।२१ को फैसला त्रुटिपूर्ण देखिएकोले केही उल्टी भई प्रतिवादी रामचरित्र साह, मीरा साह र सावित्रीदेवीको नाउँमा दर्ता कायम रहेको तायदातीमा उल्लिखित वकसपत्रबाट प्राप्त गरेको कि.नं. १४४ को जग्गा बाहेक अरु सम्पूर्ण जग्गामा वादी दावीबमोजिम ५ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६३।१।११ को फैसला ।

      घरको मुख्य व्यक्ति पिता रामऔतार हुन्, घरको जानकार र व्यवहार गर्ने व्यक्तिका रुपमा रहेका पिता रामऔतार र वादी बाहेकका अरु अंशियारले समेत म मीरा साहका नाममा रहेको जग्गा बण्डा लाग्ने सगोलको जग्गा होइन भनी प्रतिउत्तर लगाएको अवस्थामा अन्य प्रमाणको आवश्यकता नै नपर्नेमा पुनरावेदन अदालतबाट त्यसतर्फ विचार पुर्‍याइएको छैन । मिति २०३१।२।२१ को अंशबण्डाको लिखतबाट म रामचरित्रलाई विद्या अध्ययनको लागि बाबु राम औतार, जेठा बाबु सीताराम र हजुरआमा प्रमेश्वरीले आफ्नो अंशमध्येबाट क्षेत्रफल विगाहा २९ जग्गा छुट्याई मेरा नाममा एकलौटी नामसारी दर्ता गरी मैले आफूखुश गर्न पाउने गरी मलाई पारित गरिदिएको अवस्था हुँदा त्यस्तो जग्गाबाट वादीले अंश पाउने भन्न मिल्ने नहुँदा पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीतर्फबाट परेको पुनरावेदनपत्र ।

      नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी माग गरी ५ भागको १ भाग अंश छुट्याई पाऊँ भन्ने वादी दावी रहेको देखिन्छ । शुरु जिल्ला अदालतबाट प्रतिवादी रामचरित्र साहले आफ्नो नाउँमा र पत्नी मीरा साहको नाउँमा तथा रामअनुग्रह साहले निजकी पत्नी सावित्री देवीको नाउँमा किने जोडेको तथा मीरा साहले हालको  वकसपत्र पाएको जग्गा निज प्रतिवादीहरूको निजी आर्जनको हुने र वादीकी श्रीमती नीतारानीको नाउँमा मानो छटिृएपछि डाँक लिलामबाट सकार गरी दर्ता भएको जग्गा समेतमा बण्डा नलाग्ने, प्रतिवादी रामचरित्र साहले मिति २०३१।२।३१ को पारित बण्डापत्रबाट आफूखुशी गर्न निजी रुपमा पाएको जग्गा समेत बण्डा नलाग्ने भनी भएको फैसलाउपर वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट वकसपत्रबाट प्राप्त गरेको कित्ता नं. १४४ को जग्गा बाहेक अरु सम्पूर्ण जग्गामा वादी दावी बमोजिम ५ भागको १ भाग अंश वादीले पाउने ठह¥याई फैसला भएको देखिन्छ । सो फैसलामा चित्त नबुझेको भनी प्रतिवादीमध्येका रामचरित्र साह र मीरा साहका तर्फबाट प्रस्तुत पुनरावेदन परेको सन्दर्भमा मिति २०३१।२।३१ को बण्डापत्रबाट रामचरित्र साहले प्राप्त गरेको जग्गा र प्रतिवादीमध्येकै मीरा साहको नाममा रहेको जग्गाहरू के कुन स्रोतबाट प्राप्त भएका के कुन हैसियतका जग्गाहरू हुन् भन्ने सम्बन्धमा विवेचना गरी पुनरावेदन अदालत जनकपुरबाट भएको  फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भएको छ ।

      २. निर्णयतर्फ विचार गर्दा यी वादी प्रतिवादीहरू सगोलका अंशियार रहेको र फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम गरिएको तर्फ वादी प्रतिवादीले कुनै प्रश्न नउठाएको हुँदा त्यसतर्फ थप विवेचना गर्नुपर्ने अवस्था देखिएन । अब, प्रस्तुत मुद्दामा मिति २०३१।२।३१ को पारित बण्डापत्रलाई हेर्नुपर्ने अवस्था छ । सो बण्डापत्र रामऔतार साह, सीताराम साह र प्रमेश्वरी साहसमेतका बीचमा भएको देखिन्छ । सो बण्डापत्रले रामऔतार साहलाई पैतृक सम्पत्ति प्राप्त भएको देखिन्छ । त्यसरी बाबु रामऔतार साहका नाममा आएको सम्पत्तिमा सबै अंशियारको समान अंश हक रहने कुरामा विवाद हुन सक्दैन । सोही बण्डापत्रमा कित्ता नं. २९० समेतका क्षेत्रफल २० का ११ कित्ता जग्गाहरू रामचरित्र साहको विद्याध्ययन गर्न निमित्त भनी उल्लेख भएको देखिन्छ । त्यसरी छुट्याइएको सम्पत्तिको प्रयोग निज रामचरित्र साहले विद्याध्ययनमा पनि गरेको भन्ने कुरा निज स्वयंले फिराएको प्रतिउत्तरपत्र र तायदाती फाँटवारीमा समेत उल्लेख गरेको पाइन्छ । त्यसरी विद्याध्ययनमा प्रयोग भै बाँकी रहेको सम्पत्ति निजको निजी आर्जनको भै आफूखुशी गर्न पाउने सम्पत्ति अन्तर्गत पर्ने हो वा सगोलको बण्डायोग्य सम्पत्ति मानिने हो भन्ने पनि प्रस्तुत मुद्दामा निर्क्यौल गरिनु पर्ने विषय बनेको छ । मुलुकी ऐन, अंशबण्डाको १८ नं. ले मानो नछुटिृई सँग बसेको अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लगाएको ऋण सबै अंशियारलाई भाग लाग्ने देखिन्छ । विवादको साविक कित्ता नं. २९० लगायतका जग्गाहरू यी पुनरावेदक प्रतिवादीले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तबरले दान वा वकस पाएको जग्गा होइन भन्ने कुरामा विवाद हुन सक्दैन । एउटा निश्चित प्रयोजनका लागि छुट्याइएको जग्गा सो प्रयोजनमा उपयोग समेत भै बाँकी रहेको अवस्थामा त्यसलाई बण्डा गर्न नपर्ने निजी आर्जनको भनी अलग गर्न मिल्ने अवस्था पनि देखिँदैन । सगोलमा रहेका अंशियारले सगोलकै पैतृक सम्पत्तिबाट विद्याध्ययन प्रयोजनका लागि प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गालाई आफ्नो निजी आर्जनको संज्ञा दिने हो भने अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. को व्यवस्था अर्थहीन हुन जान्छ । तसर्थ त्यसरी प्रतिवादी रामचरित्र साहको विद्याध्ययन गर्न निमित्त भनी छुट्याइएको जग्गालाई निजले आफूखुशी गर्न पाउने निजको एकलौटी हक लाग्ने जग्गा भनी मान्न मिल्ने अवस्था नहुँदा त्यसतर्फको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।

      ३. अब, पुनरावेदक प्रतिवादीमध्येकै मीरा साहले आफनो नाममा खरीद भएका जग्गालाई सगोलको भन्ने आधारमा अन्य अंशियारलाई समेत अंश लाग्ने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण रहेको भन्ने पुनरावेदन जिकीरका सम्बन्धमा विचार गर्दा, निज मीरा साहका नाममा जनकपुर नगरपालिका अन्तर्गतका कित्ता नं. १६२, १६०, ३२८, ३३०, १६१, २६६, ३२ र लक्ष्मीपुर वगेवा गा.वि.स. अन्तर्गतको कित्ता नं. १४४ को जग्गा रहेको भन्ने विवरण सहित तायदाती फाँटवारी प्रस्तुत गरिएको देखिन्छ । ती जग्गाहरू मध्ये कित्ता नं. १४४ को जग्गा बाहेक अन्य जग्गालाई सगोलको बण्डायोग्य सम्पत्ति मानिएको विषयमा चित्त नबुझेको भनी प्रस्तुत पुनरावेदनमा ती मीरा साहका नाममा रहेका सबै जग्गालाई निजको निजी आर्जनको मानी बाहेक गर्नुपर्ने भन्ने जिकीर लिइएको देखिन्छ । उल्लिखित जग्गाहरू सगोलेको नभै आफ्नो निजी आर्जनको भएकाले बण्डा लाग्ने होइन भन्ने नै प्रतिवादी मीरा साहको मुख्य जिकीर रहेको छ । निजी आर्जनको भन्ने आफ्नो भनाईको पुष्ट्याईंका लागि निजले घरको मुख्य व्यक्तिका रुपमा रहेका रामऔतार साहको भनाइलाई आधारका रुपमा प्रस्तुत गरेको पाइन्छ । कुनै व्यक्ति विशेषको कथन मात्रै कुनै सम्पत्ति निजी आर्जनको हो भन्ने कुराको पुष्ट्याईंको आधार बन्न सक्दैन । त्यस्तो सम्पत्ति प्राप्त गर्दाको स्रोतलाई हेर्नु पर्ने हुन्छ । अंशबण्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तबरले दान वा वकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बर बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउनेको निजी ठहर्छ भनिएको छ । त्यस्तो सम्पत्ति बण्डा गर्न पर्दैन । त्यसैगरी स्त्री अंशधनको ५ नं. मा स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुश गर्न पाउने व्यवस्था गरिएको छ । तर प्रस्तुत मुद्दामा मीरा साह नाममा रहेका उल्लिखित कित्ता जग्गाहरू निज मीरा साहले कसैबाट दान वकस वा अपुतालीबाट पाएको वा निजी तबरले आर्जन गरेको वा दाइजो पेवास्वरुप पाएको भन्ने कुरा कुनै पनि लिखतबाट खुल्दैन । निज मीरा साहसमेतले पेश गरेको तायदाती फाँटवारीमा पनि कित्ता नं. १४४ को जग्गालाई वकसपत्रबाट प्राप्त गरेको, एकलौटी हक भोग भएको, अरु कसैको अंश हक नलाग्ने भनी छुट्टै महलमा विवरण प्रस्तुत गरेको पाइन्छ । तर विवादका अन्य जग्गाहरूको हकमा भने दाइजो पेवाको सम्पत्तिबाट खरीद गरेको भन्ने व्यहोरा उल्लेख गरेपनि कित्ता नं. १४४ को जग्गाको लिखतमा झैं अन्य जग्गाको लिखतबाट निजको निजी आर्जन वा वकसपत्र वा दाइजो पेवा भन्ने स्पष्ट आधार खुलेको पाईंदैन । लिखतमा दाइजो पेवाको रकमबाट खरीद गरिएको भन्ने व्यहोरा उल्लेख हुनु मात्रले पनि दाइजो पेवाबाट प्राप्त भएको भन्ने मानिँदैन, को कसबाट कहिले र कति दाइजो वा पेवा प्राप्त भएको हो भन्ने स्रोत खुलाउन सक्नु पर्ने हुन्छ । त्यस्तो प्रमाण पेश गर्ने भार त्यसको जिकीर लिने पक्ष स्वयंले नै वहन गर्नुपर्छ । तर त्यसरी निजी आर्जनको आफूखुश गर्न पाउने सम्पत्ति भन्ने कुनै पनि स्रोत र आधार प्रस्तुत हुन नसकेको अवस्थामा सगोलका अंशियारहरूमध्ये कुनै एक अंशियारका रुपमा रहेको सम्पत्तिलाई अन्य अंशियारले दावी गर्नसक्ने र त्यसलाई बण्डायोग्य सम्पत्तिबाट बाहेक गर्न सकिने स्थिति रहँदैन । तसर्थ प्रतिवादी मीरा साहका नाममा रहेका कित्ता नं. १४४ बाहेकका अन्य जग्गाहरू वादी प्रतिवादीहरू एका सगोलमा नै रहेको अवस्थामा राजीनामाको लिखतबाट प्राप्त भएको देखिएको हुँदा त्यस्तो सम्पत्तिलाई अंशबण्डाको प्रयोजनका लागि बाहेक गरी कुनै एक अंशियारको एकलौटी हक रहने गरी अलग गर्न सकिने कानूनी व्यवस्थाको अभावमा प्रतिवादी मीरा साहको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन ।

      ४. तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा प्रतिवादी रामचरित्र साह, मीरा साह र सावित्री देवीको नाउँमा दर्ता कायम रहेको तायदातीमा उल्लिखित वकसपत्रबाट प्राप्त गरेको कि.नं. १४४ को जग्गा बाहेक अरु सम्पूर्ण जग्गामा वादी दावीबमोजिम ५ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०६३।१।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

उक्त रायमा सहमत छु ।

न्या. गिरीशचन्द्र लाल

इति संवत् २०६६ साल माघ ६ गते रोज ४ शुभम्

 

इजलास अधिकृत: उमेश कोइराला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु