निर्णय नं. ८२९७ - कर्तव्य ज्यान ।

निर्णय नं. ८२९७ वैशाख, २०६७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
संवत् २०६५ सालको फौ.सा.नं. ०९५
संवत् २०६५ सालको फौ.विविध नं. ३६२५
संवत् २०६५ सालको फौ.पु.नं. .. ०३४१
फैसला मितिः २०६६।२।२०।४
मुद्दा : कर्तव्य ज्यान ।
वादीः मगरे कुर्मीको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रतिवादीः जिल्ला बाँके कम्दी गा.वि.स.वडा नं. १ वस्ने पितरदिन खटिक
एवं
निवेदक प्रतिवादीः बाँके जिल्ला कम्दी गा.वि.स.वडा नं १ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका पितरदिन खटिक
विरुद्ध
विपक्षी वादी मगरे कुर्मीको जाहेरीले नेपाल सरकार
र
पुनरावेदक प्रतिवादीः बाँके जिल्ला कम्दी गा.वि.स.वडा नं १ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेका पितरदिन खटिक
विरुद्ध
प्रत्यर्थी वादी मगरे कुर्मीको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.न्या. श्री यज्ञप्रसाद वस्याल
पुनरावदेन फैसला गर्ने:
मा.मुं.न्या श्री कृष्णप्रसाद उपाध्याय
मा.न्या. श्री देवेन्द्रगोपाल श्रेष्ठ
§ कसूर गरे तापनि अनुसन्धान र अदालतमा समेत कसूरमा सावित भई अदालती प्रक्रियालाई सहयोग पुर्याउने इमानदार अपराधी र अपराध गरेर पनि अन्तिमसम्म आफ्नो अपराध लुकाई सजायबाट उम्कन चाहने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त नहुने ।
(प्रकरण नं.७)
वादी तर्फवाटः
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाई
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
o ज्यानसम्बन्धी महलको १, १३(१)
o अ.वं. ११८ नं.
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६४।१०।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन परी र साधकमा समेत दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
जिल्ला वाके कम्दी गा.वि.स. वडा नं ७ स्थित पूर्व ववनपुरवा सामुदायिक वन क्षेत्र, उत्तर ऐ. वन क्षेत्र, पश्चिम वव्वनपुरवा वन क्षेत्र तथा बगैचा टोल, दक्षिण डुरुवा खोला टोल यति चारकिल्ला बीचमा रहेको वरगतवासा भन्ने जडीवुटी खेती गरिएको नर्सरीबीचमा उत्तर टाउको दक्षिण खुट्टा दुवै हातलाई पछाडि ढाडको लाइनमा कलेजी रंगको सलले वाधेको दुवै खुट्टा पराले डोरीले वाँधेको घाटीमा २ इञ्च लम्वाई र १/२ इञ्च चौडाई भएको धारिलो हतियारले काटेको घाउ मुखको चिउडोको वायाँ साइडमा २ इञ्च लम्वाई १/२ इञ्च चौडाई धारिलो हतियारले काटेको घाउ खत रहेको लाश जाँच मुचुल्का ।
जिल्ला बाँके कम्दी गा.वि.स. वडा न. ४ स्थित पूर्वमा असघर खाँको घर , पश्चिममा बाटो, उत्तरमा झोला कुर्मीको घर दक्षिणमा कोलिया बाटो यति ४ किल्लाबीचमा पश्चिम मोहडा भएको मगरे कुर्मीको खपडाले छाएको कच्ची घर उक्त घर अगाडि दक्षिण उत्तर लम्वाई भएको फुसले छाएको घरमा विनोदकुमार कुर्मी सुतेको भन्ने घटनास्थल मुचुल्का ।
म मिति २०६३।७।३ गते घरमा थिए । म विगत ७ वर्ष पहिलाबाट सामुदायिक वनको चौकिदार काम गर्दै आएको छु । मिति २०६३।७।४ गते म वनको रेखदेख गर्न गएको अवस्थामा वनको बीचमा वरगत वावा भन्ने ठाउमा रहेको जडीवुटी नर्सरीमा एक जना मानिस मृत अवस्थामा रहेको मृतकले लगाएको कपडाबाट मृतक विनोदकुमार कुर्मी रहेको हेरी चिनी घरमा खवर गरेको हुँ भन्ने इन्ताज अली नाउले गरेको वयान ।
मेरो जेठो छोरा वर्ष १८ को विनोदकुमार कुर्मी २०६३।७।३ गते राति अ. ८.३० वजेको समयमा घरमा खाना खाई मेरा छेउमा खटियामा सुतेकोमा राति नमालुम के कुन वेलामा के कसरी मृतकको निधार कञ्चट चिउडो समेतमा धारिलो हतियारले प्रहार गरी मृत अवस्थामा कम्दी गा.वि.स.वडा नं ७ ववनपुरवा नर्सरीमा फेला परेका भनी इन्ताज अलिले खवर गर्दा हेर्दा छोरा विनोदकुमारलाई कर्तव्य गरी मारेकोमा अनुसन्धान गरी कारवाही गरिपाऊँ । अपराधी खुल्न आएपछि जानकारी गराउने छु भन्ने मगरे कुर्मीको जाहेरी दरखास्त ।
मगरे कुर्मीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पितरदिन खटिक भएको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी पितरदिन खटिकलाई पक्राउ गरी दाउ सहित वरामद गरी दाखिला गरेको भन्ने प्रहरी प्रतिवेदन ।
जिल्ला बाँके कम्दी गा.वि.स.वडा न. १ सिधनिया गाउँ स्थित पूर्वमा गोली खटिकको घर पश्चिममा आफ्नै आप वगैचा, उत्तरमा कच्ची ग्रावेल सडक, दक्षिणमा भोला भन्ने रामकुमार यादवको खेत यति चार किल्ला भित्र रहेको घरमा पालीबाट दाउ वरामद गरेको भन्ने वरामदी मुचुल्का ।
यसमा मिति २०६३।७।३ गते राति मेरो छोरा वर्ष १८ को विनोदकुमार कुर्मीको कर्तव्यबाट मृत्यु भएकोमा म जाहेरवालाले मिति २०६३।७।४ गते जाहेरी दिएकोमा पितरदिन खटिकले जोखिम हतियारद्वारा कर्तव्य गरी मारेको गाउ घरमा वुझिन आएकाले कारवाही होस् भन्ने मगरे कुर्मीको जाहेरी दरखास्त ।
यसमा मिति २०६३।७।३ गते राति विनोदकुमार कुर्मी मेरा घरमा आई मलाई निजले हानेकाले निजकै रुमालले निजको दुवै हात बांधी निजका घरतिर लादा नर्सरीमा मलाई निजले लात्तीले छातीमा हानेकाले हातमा लिएको लाठीले निजलाई हानेपश्चात् भुईमा लडी वेहोस भएपछि परालले खुट्टा बाँधी साथमा भएको दाउले घाँटीमा काटी मारेको हुँ भन्ने प्रतिवादी पितरदिन खटिकको साविती वयान ।
यसमा मिति २०६३।७।३ गते राति अ. ९.३० वजेको सयममा विनोदकुमार कुर्मी हाम्रो घरमा आएका वखतमा वाद विवाद हुँदा मेरो वावु पितरदिन खटिकले निजलाई साथमा लिई घरतिर लगेका हुन् । निज १ घण्टा पछि आएका हुन भन्ने छोटकन्नी खटिकको कागज ।
मृतक विनोदकुमार कुर्मीको निस्सासिएर तथा चोटको कारण मृत्यु भएको भन्ने शव परीक्षण पत्र ।
जिल्ला बाँके कम्दी गा.वि.स.वडा न. ४ स्थित पूर्वमा सामुदायिक वन गोरेटो पश्चिम ववनपुरवा सामुदायिक वन क्षेत्र, उत्तर सामुदायिक वन, दक्षिण नाम थाहा नभएको मानिसको जग्गा यति चारकिल्ला भित्र रहेको डुडुवा नालामा दशीको लाठी फेला परेको भन्ने वरामदी मुचुल्का ।
यसमा मिति २०६३।७।४ गते विहान मृतक विनोदकुमार कुर्मी सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् तत्काल को कसले मार्यो थाहा खुल्न आएन र पछि पितरदिन खटिकले कर्तव्य गरी मारेको खुल्न आएको हो । हतियारसहित वरामद भएको हो भन्ने राजेश खटिक, उसमान खाँ, सुखा लोहार, साव्विर खाँ, समिउल्ला खाँ र सीसराम कुर्मीले गरेको एकै मिलानको घटना विवरण कागज ।
मिति २०६३।७।३ गते राति अ. ९ वजेको समयमा आफ्नो घरमा आएको विनोदकुमार कुर्मीसँग प्रतिवादीले सोधपुछ गर्दा भएको वाद विवाद झगडामा भएको हात हालाहाल समेतको रिसइवी लिई प्रतिवादी पितरदिन खटिकले विनोदकुमार कुर्मीलाई हातमा रुमालले वाँधी घटनास्थल नर्सरीमा लगी टाउकोमा लाठीले हानी वेहोश पारी फलामको दाउले घाटीमा प्रहार गरी कर्तव्य गरी मारेको तथ्य प्रमाणित हुन आएकोले प्रतिवादी पितरदिन खटिकलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं को कसूरमा सोही महलको १३(१) नं बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग पत्र ।
मलाई विनोदकुमार कुर्मीले मार्न खोजेकोले मैले विनोदकुमार कुर्मीलाई लाठीले हानी घोची खुट्टा हात वाधेर कर्तव्य गरी मारेको हुँ भन्ने समेत प्रतिवादी पितरदिन खटिकले अदालतमा गरेको वयान ।
जाहेरवाला मगरे कुर्मीले जाहेरी दरखास्त सनाखत गरी प्रतिवादी पितरदिन खटिकले मेरो छोरालाई किन मारे निजलाई नै थाहा होला भनी गरेको वकपत्र ।
गाउँलेहरूले प्रतिवादीलाई पक्राउ गरी प्रहरी जिम्मा लगाई प्रतिवादी अधिकार प्राप्त अधिकारी र अदालतमा आरोपित कसूरमा सावित भई गडसाले विनोदकुमार कुर्मीलाई घाटीमा काटी मारेको कसूर स्वीकार गरेको कुरालाई लाश प्रकृति पोष्टमार्टम र जाहेरवालाको वकपत्र एवं वरामद दशीले समर्थन गरेको देखिंदा प्रतिवादी पितरदिन खटिकले आफ्नो घरमा आएका विनोदकुमार कुर्मीलाई कुटपीट गरी वाँधी धारिलो हतियार प्रयोग गरी मारेर फाली अभियोग दावीअनुसार ज्यानसम्बन्धी महलको १ र १३(१) नं अनुसार कसूर गरेकोले ऐ को १३(१) नं बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने बाँके जिल्ला अदालतबाट मिति २०६३।१२।७ मा भएको साधक फैसला ।
यसमा साधक सदरका लागि दर्ता हुन आएको प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता गरी नियमानुसार इजलाससमक्ष पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जबाट मिति २०६४।८।१६ मा भएको आदेश ।
प्रतिवादी अधिकार प्राप्त अधिकारी तथा अदालत समेतमा आफ्नै कर्तव्यबाट विनोदकुमारको मृत्यु भएको तथ्यलाई स्वीकार्दै कसूरमा सावित रहेको देखिन्छ । सो साविती वयानलाई निज पितरदिन खटिकले अधिकार प्राप्त अधिकारीसमक्ष वयान गरे अनुसार विनोदकुमारलाई मार्दाको अवस्थामा प्रयोग भएको दशी प्रमाणको रुपमा वरामद भएको हतियार (दाउ) लाश जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतले पुष्ट्याई र समर्थन गरिरहेको समेतका आधार, प्रमाणहरूबाट मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं को कसूर गरेको ठहर गरी सोही ऐनको सोही महलको १३(१) नं बमोजिम प्रतिवादी पितरदिन खटिकलाई सर्वश्वसहित जन्मकैद गर्ने गरी गरेको शुरु बाँके जिल्ला अदालतको मिति २०६३।१२।७।४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । मुलुकी ऐन अ.वं. १८६ नं बमोजिम सर्वोच्च अदालतमा कानूनबमोजिम साधक जाहेर गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६४।१०।२० को फैसला ।
प्रस्तुत मुद्दामा मृतकको मृत्यु सम्बन्धमा देख्ने व्यक्ति कोही छैन र मृतकलाई मार्नुपर्ने समेतको कारण वा मार्नुपर्ने मनसाय पनि अनुसन्धानको कागजबाट खुल्दैन । मनसायरहित अवस्थाको विद्यमानता देखिन्छ, मार्नुपर्ने सम्मको कारण पनि कही कतै खुल्दैन । प्रतिवादी कसूरमा सावित नै रहेको अवस्था छ । मृत्युको कारणमा निसासिएर भन्ने उल्लेख छ । यस्तो अवस्थामा घटनाको अवस्थाप्रति विचार गर्दा भवितव्य हो कि भन्न हुने सम्मको शंका गर्नुपर्ने ठाउँ पनि भेटिन्छ भने अपराध हुन गएको अवस्था विचार गर्दा यत्रो सजाय तोक्दा चर्को हुने अवस्था छैन भन्नेगरी फैसला हुनु न्यायिक मन, मनासिव निर्णय र न्यायालयको निर्णय भित्र नपर्न सक्ने हो कि भन्ने सतर्कता यहाँनिर अपनाउनु पर्ने देखिन्छ । अतः उल्लिखित कुरा अवस्था र स्थितिको राम्ररी विश्लेषण गर्दै सर्वस्वसहित जन्मकैद हुनेगरी भएको फैसलालाई केलाउदै कमसे कम सजाय हुनेगरी न्याय र निसाफ प्रदान गरिपाऊँ । यो पुनरावेदन पत्र न्याय प्रशासन ऐन, २०४८ को दफा १०(४) वमोजिम प्रस्तुत उजूरी निवेदन गरेको छु भन्ने समेत व्यहोराको प्रतिवादी पितरदिन खटिकको मिति २०६५।८। २० को निवेदन ।
प्रस्तुत मुद्दामा प्रतिवादीले अदालतमा आई कसूरमा सावित हुदै लठ्ठीले घाँटीमा घोचेको भनेकोमा त्यसलाई स्वाभाविक नै मान्नु पर्नेमा त्यसको प्रतिकूल अनुमान गरी Extra Judicial confession लाई आधार मानी भएको फैसलाप्रति गम्भीर मनन र विचार गरी इन्साफ र न्याय निरोपण गरिपाऊँ । घटनास्थल लाश जाँच मुचुल्कालाई हेर्ने हो भने घाँटीको अवस्था भन्ने शीर्षकमा २ इञ्च लामो १/२ इञ्च चौडा गहिरो घाटीको नशा काटिएको जस्तो देखिएको भन्ने घाउखतको विवरण देखिन्छ । यदि मैले निज मृतकलाई हात खुट्टा बाँधी भूईमा लडाई गडसाले घाटीमा हिर्काएको भए २ इञ्च लामो १/२ इञ्चको चोट होइन निज मृतक व्यक्तिको घाटी नै छिन्ने थियो । मैले आफ्नो वचाउको निमित्त आफूसँग भएको लाठीले मार्ने कुनै मनसाय विना नै निजलाई घोच्ने क्रममा संयोगवस घाँटीमा लाग्न गै यस्तो दुर्घटना हुन गएको हो । अतः उल्लिखित अवस्था र स्थितिको राम्ररी विश्लेषण गर्दै सर्वस्वसहित जन्मकैद हुने गरी भएको फैसलालाई केलाउदै राम्ररी विश्लेषण गर्दै केलाउदै कम से कम सजाय हुने गरी न्याय इन्साफ प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको मिति २०६५।९।२० को पुनरावेदन पत्र ।
नियमबमोजिम इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वैतनिक अधिवक्ता शान्ता सेढाईले प्रस्तुत मुद्दामा मृतकलाई मार्नु पर्ने सम्मको पूर्व रीसइवी राखी पूर्वतयारी साथ मृतकलाई वाध छाद, कुटपीट आदि गरी मारेको अवस्था होइन । मृतक आफै रातको समयमा प्रतिवादीको घर छेउमा गई लुकी छिपी वसी वारदात घटाउन उत्प्रेरित गरेको र मृतकले प्रतिवादीलाई लात्तीले हिर्काएपछि तत्काल उठेको रीसबाट प्रतिकार गर्दा मृत्यु हुन गएको तथ्यलाई विश्लेषण नगरी सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको वहस गर्नुभयो ।
पेश हुन आएको मिसिल कागजात अध्ययन गरी पुनरावेदकको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ताको वहस समेत सुनी पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ सोही विषयमा निर्णय दिनुपर्ने भएको छ ।
२. निर्णय तर्फ विचार गर्दा मेरो छोरा विनोदकुमार कुर्मी २०६३।७।३ गते राति अ. ८.३० वजेको समयमा घरमा खाना खाई सुतेकोमा राति के कुन वेला के कसरी मृतक अवस्थामा कम्दी गा.वि.स.वडा नं ७ बव्बनपुरवा नर्सरीमा फेला परेको भनी इन्ताज अलीले खवर गर्दा गई हेर्दा छोरा विनोद कुर्मीलाई कर्तव्य गरी मारेकोमा अनुसन्धान गरी कारवाही गरिपाऊँ भन्ने व्यहोराको मगरे कुर्मीको जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा मिति २०६३।७।३ गते राति अं. ९.०० वजेको समयमा आफ्नो घरमा आएको विनोदकुमार कुर्मीसँग प्रतिवादीले सोधपुछ गर्दा भएको वाद विवाद झगडामा हात हालाहाल समेतको रिसइवी लिई प्रतिवादी पितरदिन खटिकले विनोदकुमार कुर्मीलाई कर्तव्य गरी मारेकोले प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १ नं को कसूरमा सोही महलको १३(१) नं बमोजिम सर्वश्वसहित जन्म कैदको सजायको माग दावी लिई अभियोग पर्न आएकोमा शुरु बाँके जिल्ला अदालतबाट अभियोग मागबमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहरी भएको साधक पैmसलाको पुनरावेदन अदालतमा साधक जाहेरी हुँदा पुनरावेदन अदालतबाट शुरुको पैmसलालाई नै सदर हुने ठहरी भएको पैmसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
३. प्रतिवादीको तर्फबाट पुनरावदेन पर्न आएकोले पुनरावेदनको रोहबाट नै प्रस्तुत मुद्दामा इन्साफ हुने हुँदा साधक सदरको लागि पर्न आएको फौ.सा.नं. ००९५ र प्रतिवादीको तर्फबाट पर्न आएको विविध नं ३६२५ को निवेदनको लगत कट्टा गरी दिनू ।
४. यसमा मुलतः प्रतिवादीले फलामको हतियार दाउले मृतकको घाँटीमा प्रहार गरी मारेकाले सर्वश्वसहित जन्मकैद हुनुपर्छ भन्ने मुख्य अभियोग दावी रहेकोमा प्रतिवादीको मृतकलाई मार्ने मनसाय थिएन । मार्नुपर्ने सम्मको पूर्व कुनै रीसइवी पनि थिएन । वारदातको रात मृतक प्रतिवादीको घर करेसामा आई निहु खोजी कुटपीट हात हालाहाल हुँदा मृतकले प्रतिवादीको मुखमा झापड हानी दाँत समेत भाँचिदिएपछि मृतककै रुमालले निजको दुवै हात वाँधी निजको घरतर्फ लैजादा बाटोमा निजले पुनः लात्ताले प्रतिवादीलाई हिर्काएकोले सोही रिसको कारण आफ्नो साथमा रहेको लाठीले प्रहार गरी घाँटीमा घोची दिएकोमा सोही घोचाईको कारणबाट रगत वगी मृतकको मृत्यु भएको फलामको दाउले प्रहार नगरेको हुँदा पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको फैसला चर्को भएकोले आफूले सत्य व्यहोरा बकी न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलाई समेत विचार गरी न्याय इन्साफ पाऊँ भन्ने पुनरावेदन जिकीर रहेको पाइयो ।
५. प्रतिवादीले अदालतसमक्ष उपस्थित भई गरेको वयानको स.ज.४ मा विनोदकुमार कुर्मी रातको समयमा मेरो घरको करेसामा लुकेको र मैले निजलाई के हो भनी भन्दा लकडी पक्रन आएको हुँ भनेको र मैले त्यहाँवस्न दिन्न भनेपछि निजले मलाई हानेकाले निजको कठालो समाती उठाउन खोजे र एक थप्पड हानी निजलाई घरजाउ भनेकोमा मेरो मुखमा एक थप्पड हानी मेरो दात भाँचिन गै मुखबाट रगत आउन लाग्यो । निज घरमा जान नमानेकोले निजको गम्छाले पछाडि हात बाँधि सैरको थानमा कसम खुलाउन भनी जाँदा बीच बाटोमा मलाई निजले लात्तले हानेको र मैले हातमा लिएको डण्डीले सोझो गरी घाँटीमा घोच्दा सो चोटले निजको घाँटीबाट रगत बग्न थाल्यो भन्दै स.ज.७ मा मेरो घरबाट लकडी पक्राउ गरेमा मलाई समेत लकडी वोक्ने मानिसले मार्छन की भनी घरमा नवस्न भनेको हुँ । मलाई नै निजले मार्न खोजेकाले मैले निजलाई एकान्तमा लगी मारेको हुँ भनी लेखाएको पाइन्छ । त्यस्तै स.ज.१० मा मैले विनोदकुमार कुर्मीलाई लाठीले हानी घोची खुट्टा हात वाधेर कर्तव्य गरी मारेको हुँ । मैले कसूर गरेको भए पनि सजाय हुनुपर्ने होइन भनी कर्तव्य गरी मारेको कुरालाई पूर्ण रुपमा स्वीकारी वयान गरेको पाइन्छ । रातको समयमा मृत व्यक्ति पीडाले कराई हार गुहार गर्दा पनि कसैले सुन्न नसक्ने ठाउँ वन एरिया भित्र लगी टाउकोमा लाठीले हानी वेहोश पारी लडाएर घाँटीमा हतियारले हानी मारेको कुरा स्वयम प्रतिवादीले मौकामा अधिकार प्राप्त अधिकारीसमक्षको वयान एंव अदालतको वयानमा समेत स्वीकारेको अवस्था छ । प्रतिवादीको सो स्वीकारोक्तिलाई मृतकलाई मार्न प्रयोग गरेको दशीको रुपमा वरामद भएको हतियार दाउ लाश जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतले पुष्टयाई र समर्थन गरी रहेको र प्रतिवादीले अदालतको वयानमा नै निजले लकडी पक्राउ गरेमा मलाई समेत लकडी वोक्ने मानिसले मार्छन की भनी भनेकोमा मलाई नै निजले मार्न खोजेकोले मैले निजलाई एकान्तमा लगी मारेको हुँ भनी वयान गरेको देखिंदा मृतकलाई मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकीर सत्य साँचो भएको पाइएन । प्रतिवादीकै कर्तव्य अपराधबाट मृतक विनोदकुमार कुर्मीको हत्या भएको पाइयो ।
६. तसर्थ माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी पितरदिन खटिकले मृतक विनोदकुमार कुर्मीलाई कर्तव्य गरी मारेको पुष्टि भएकोले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं मा वर्णित कसूर अपराधमा ऐ को १३(१) नं बमोजिम निज प्रतिवादी पितरदिन खटिकलाई सर्वश्वसहित जन्मकैद हुने ठहराएको हदसम्म पुनरावेदन अदालत नेपालगञ्जको मिति २०६४।१०।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
७. अव माथि उल्लेख भएबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं बमोजिम सर्वश्वसहित जन्मकैद हुने कसूर ठहर गरेको पुनरावेदन अदालतको इन्साफ सदर हुने ठहरी पैmसला भए तापनि यी पुनरावेदक प्रतिवादीको मृतक विनोदकुमार कुर्मीलाई मार्नु पर्ने सम्मको पहिले देखिकै रिसइवी भएको र विनोदकुमारलाई मार्नलाई पूर्व योजना बनाई योजनाबमोजिम हत्या गरेको अवस्था देखिदैन । मृतक आफैं रातको समयमा प्रतिवादीको घर करेसामा गई प्रतिवादीसँग निहू खोजी हात हालाहाल समेत गरी वारदात हुनका लागि आफूले समेत प्रतिवादीलाई उत्प्रेरित गरेको पाइन्छ । यी प्रतिवादीले मृतक र आफूवीच वारदातको दिन भएको सवै घटनाविवरण उल्लेख गर्दै अदालतमा समेत वारदातमा सावित भई न्यायिक प्रक्रियामा पूर्ण सहयोग पु¥याएको देखिन्छ । कसूर गरे तापनि अनुसन्धान र अदालतमा समेत कसूरमा सावित भई अदालती प्रक्रियालाई सहयोग पुर्याउने इमान्दार अपराधी र अपराध गरेर पनि अन्तिम सम्म आफ्नो अपराध लुकाई सजायबाट उम्कन चाहने अपराधीलाई एउटै तराजुमा राखी समान सजाय तोकिनु न्याय र कानूनको दृष्टिकोणबाट उपयुक्त हुदैन । यस्ता दुवै प्रकृतिका अपराधीलाई समान सजाय तोक्ने हो भन्ने भविष्यमा कसूरमा सावित भई न्यायिक प्रक्रियामा सहयोग पुर्याउने प्रवृत्तिमा निरुत्साहन हुन जाने र अपराध स्वीकार्ने प्रवृत्तिमा पनि नकारात्मक असर हुने देखिन्छ । उल्लिखित यी सवै तथ्यलाई विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(१) नं बमोजिम पूरै सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएकोले अ.व. १८८ नं बमोजिम १० वर्ष मात्र कैद सजाय गर्नु न्यायोचित हुने देखिंदा सोहीबमोजिम १० वर्ष कैद सजाय हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नू ।
तपसील
इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतबाट प्रतिवादी पितरदिन खटिकलाई सर्वश्वसहित जन्मकैदको कसूर ठहर गरेको सम्म सदर भै अ.व. १८८ न. बमोजिम १० वर्ष मात्र कैद सजाय हुने ठहरी पैmसला भएकोले शुरु बाँके जिल्ला अदालतको फैसलाको तपसील खण्डको देहाय १ मा कसेको सर्वस्वसहित जन्म कैदको लगत कट्टा गरी १० वर्ष कैदको लगत कसी सोही बमोजिम असूल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू ....१
माथि इन्साफ खण्डमा लेखिएबमोजिम १० वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले प्रतिवादीको अंश सर्वश्व गर्नु नपर्ने भएको हुँदा शुरु फैसलाको तपसील खण्डको देहाय ४ बमोजिम प्रतिवादी पितरदिन खटिकको भागको घर जग्गा रोक्का राखिसकेको भए फुकुवा गर्न सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाउनू भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू … … … … २
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनू ... … … ३
उक्त रायमा म सहमत छु ।
न्या. राजेन्द्रप्रसाद कोइराला
इति संवत् २०६६ साल जेठ २० गते रोज ४ शुभम
इजलास अधिकृतः माधवप्रसाद अधिकारी