निर्णय नं. ७०११ - कर्तव्यज्यान

निर्णय नं. ७०११ ने.का.प. २०५८ अङ्क ५/६
संयुक्त इजलास
माननीय न्यायधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत् २०५६ सालको फौ.सा.नं. ...३०८
सम्वत् २०५६ सालको फौ.पु.नं. .....२२८०
सम्वत् २०५७ सालको नि.नं. .......५७०
फैसला मितिः २०५७।१२।३०।५
मुद्दाः कर्तव्य ज्यान ।
वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ बस्ने साइला भन्ने बलबहादुर थामी समेत
पुनरावेदक
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ घर भै हाल केन्द्रिय कारागार शाखा, जगन्नाथ देवलमा कैदमा बस्ने माइलो भन्ने चन्द्रबहादुर थामि
विरुद्ध
विपक्षी
वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ घर भै हाल जिल्ला प्रशासन कार्यालय, भद्रवन्दी गृहमा थुनामा रहेको साइला भन्ने बलबहादुर थामी
विरुद्ध
विपक्षी
वादीः लक्ष्मीकान्त नेपालको जाहेरीले श्री ५ को सरकार
§ प्रतिवादी बलबहादुर थामी तथा चन्द्रबहादुर थामीले आफूहरुले अयोध्या तिमिल्सिनाको वर्ष १० को अवोध वालिका रीता कार्की समेतलाई जवरजस्ती करणी गरी जवरजस्ती करणी गरेपश्चात धारिलो हतियार प्रयोग गरी निज अयोध्या तिमिल्सिना, रीता कार्की एवं डिल्ली प्रसाद तिमिल्सिना समेतलाई कर्तव्य गरी मारेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि समर्थन भै रहेको हुँदा मृतक अयोध्या तिमिल्सिना, अवोध नावालक रीता कार्की समेतलाई जवरजस्ती करणी जस्तो जघन्य अपराध गरी सो अपराध पश्चात आफूले गरेको अपराध लुकाउन छिपाउन निज अयोध्या तिमिल्सिना, रीता कार्कीलाई जवरजस्ती करणी गरेको देखि थाहा पाउने छोरालाई अमानुषिक तवरले ज्यान मार्ने कसूर गरेका प्रतिवादी बल बहादुर थामी र चन्द्र बहादुर थामी (गुरुङ्ग) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पहिले जवरजस्ती करणी जस्तो निन्दनीय कार्य गरी तत्पश्चात कर्तव्य ज्यान जस्तो जघन्य अपराध गर्ने प्रतिवादी चन्द्रबहादुरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १८८ नं.आकर्षित हुनुपर्दछ भन्ने विद्वान अधिवक्ता रामप्रसाद अर्यालको वहस जिकिरसँग सहमत हुन नसकिने ।
(प्र.नं. ३३)
विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद अर्याल
पुनरावेदक प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.लक्ष्मणप्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन, ऐ.दफा १०(१)(२) बमोजिम पर्न आएको साधक तथा ऐ.१०(४) अनुसार पुनरावेदन सरहको जिकीर समेत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यस प्रकार छः
२. सिन्धुपाल्चोक जिल्ला मानेश्वारा गा.वि.स.वडा नं.८ बस्ने सदानन्द तिमल्सिनासँग मेरी छोरी अयोध्याको विवाह भई १ छोरा, १ छोरी जायजन्म भएपछि जुवाईले हेला गरेकोले ५,६ वर्ष अगाडी निज छोरीलाई धुस्कुन गा.वि.स.वडा नं.१ पतेरी भन्ने ठाउँमा घर बनाई जग्गा समेत दिई सोही घरमा बस्दै आएकोमा मिति २०५४।३।५ गते राती कुन समयमा निज छोरी अयोध्यालाई को, कस्ले काटी मारेछन्, भोलिपल्ट विहान खेताला भन्न नेत्र कुमार जाँदा मृत अवस्थामा देखी म समेतलाई खवर गरेकाले घटनास्थलमा जाँदा छोरी अयोध्या नानी डिल्ली प्रसाद तथा रिता कार्की समेत जना ३ को मृत लाश रहेकोले अपराधिको पत्ता लगाई कारवाही गरी पाउँ भन्ने लक्ष्मीकान्त नेपालको जाहेरी दरखास्त ।
३. सिन्धुपाल्चोक जिल्ला धुस्कुना गा.वि.स.वडा नं.१ पतेरीस्थित बनेको १ तले घर भित्र रीता कार्कीको लाश दक्षिण टाउको, उत्तर गोडा भई घोप्टो अवस्थामा रहेको, अनुहार, गाला, कानको आड समेतका काटेको घाउ भएको योनी च्यातिएको, सुन्निएको भन्ने मृतक रीता कार्कीको लाश प्रकृति विवरण ।
४. सो लाश नजिक दक्षिण पश्चिम टाउको, उत्तर पूर्व गोडा भई उत्तानो अवस्थामा मृतक अयोध्या तिमिल्सिनाको लाश रहेको, वायां आंखा माथि र तल काटेको घाउ, अनुहारमा काटेको घाउ रगतले पुरै लतपतिएको अयोध्याको लाश प्रकृति विवरण र खाट माथि मृतक डिल्ली प्रसाद तिमल्सिनाको लाश, दायां कान पछाडी काटेको घाउ रहेको लास पुरै रगतले भिजेको लास प्रकृति मुचल्का ।
५. धारिलो हतियार प्रयोग गरी काटी मारेको भन्ने मृतक अयोध्या, डिल्लीप्रसाद र रीता कार्कीको लाश पोष्टमार्टम प्रतिवेदन ।
६. उक्त हत्या सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला धुस्कुन गा.वि.स.वडा नं.४ फापरचौर बस्ने साहिला भन्ने बल बहादुर थामी, माइलो भन्ने चन्द्रबहादुर थामी र निजहरुको वैनी जुवाई सुब्बा थामीले निज अयोध्या तिमल्सिना समेतलाई कर्तव्य गरी मारेको बुझिएकोले पक्राउ गरी कारवाही गरी पाउँ भन्ने प्र.ना.नि.दिवाकर घिमिरे समेतको प्रतिवेदन ।
७. मिति ०५४।३।५ गते म आफ्नै घरमा बसी रहेको अवस्थामा बेलुका गोपाल थामीको पसलमा साहिलो भन्ने बल बहादुर थामी आएकोले निज गोपाल थामीको पसलमा म समेत गइ जुवाई जेठान बसी जाड खाइ घरमा आएर खाना आएपछि अरु परिवारु सुतेपछि कुखुरा चोरी गर्न जाउँ भनि जेठानले भनेको हुँदा हुन्छ भनि जेठानसँग केही पर पुगेपछि माइलो जेठान चन्द्र बहादुर थामीसँग भेट भयो र ३ जना भई रक्सी खादैं मृत अयोध्या तिमल्सिनाको घरमा पुगेपछि मलाई बाहिर राखि साहिलो र माइलो जेठान दुवै घर भित्र परेका हुन् । भित्र मानिस रोए कराएको सुने । एक घण्टा पछि बाहिर निसिक याहा बस्न हुदैन भनि मलाई बोराको झोलाकोपोको बोकाइ हिड जाउँ भनेको हुँदा हिडेका हौं । मलाई घर नजिक पुर्याई दुबै दाजु भाई गए । निजहरुले मारेको कुरा मलाई थाहा थियो । हत्या गर्दा म घर बाहिर बसेको थिए भन्ने अभियुक्त सुब्बा थामीको प्रहरीमा भएको बयान ।
८. मिति २०५४।३।५ तगेका दिन हामी ३ जना राती अयोध्या तिमिल्सिनाको घरमा गयो । सुब्बा थामीलाई बाहिर राखि म तथा साइलो भई घर भित्र गइ सुतिरहेको अयोध्या तिमिल्सिना र रीता कार्कीलाई करणी गर्न थाल्यौं । रीता कार्की रोइ कराई कराई गरेको अयोध्याको छोराले थाहा पाई मलाई हिर्काएकोले मैले पनि हिर्काएर साइलो बल बहादुर थामीले रीतालाई चुपी प्रहार गर्न थाल्यो र डिल प्रसादलाई पनि सोही चुपी प्रहार गर्न थालेको देखि अयोध्या तिमिल्सिना जाई लागेकोले मैले निजलाई हसियाले हिर्काउने र भाईले समाउने गरी निज चल्न चटपटाउन छाडेपछि बाहिर निस्कि सो कुरा कसैलाई नभन्नु भनि जुवाई सुब्बालाई घर नजिक पुर्याई रगत लागको कपडा पखाली खाडी चौरसम्म आई बसबाट बलेफी आई जलवीरे तर्फ भाई साहिलो बल बहादुर थामी बस चढी काठमाडौं तर्फ गएको हो । करणी गरिसकेपछि काटी मारेका हौं भन्ने माइलो चन्द्र बहादुर थामीको बयान ।
९. बरामद भएको कमिज, सर्ट सुरुवाल मेरो हो । सो दिन हत्या गर्दा सोही कपडा लगाएको हुँ र पखाली घरको चोटामा झुण्ड्याएको भन्ने चन्द्र बहादुर थामीको सनाखत कागज ।
१०. मिति २०५४।३।३ गते माइलो छोरा चन्द्रबहादुर थामीको घर जलविरे जान्छु भनि गएको थिए, वलेफीमा साइलो छोरा बलबहादुर थामीसँग भेट भाये, ५ गते विहान २ छोराहरु गोपालको घर पसलमा गइ आएपछि कुराकानी गरी दिको ३, ४ बजेतिर छोरा चन्द्रबहादुर र वलबहादुर थामी गए । गोपालको पसलमा जुवाइ सुब्बा पनि गफ गरी बसेका थिए । राती घरमा आएको छैन भन्ने चत्तल बहादुर थामीको कागज ।
११. मिति २०५४।३।५ गते मेरो छोरी रीता कार्की, वर्ष १० की अयोध्या तिमल्सिनाको घरमा सुत्न गएकी थिइन । भोलिपल्ट विहान निज समेतलाई कर्तव्य गरी मारेको कुरा थाहा पाई घटनास्थलमा जाँदा मृत अवस्थामा देखेको हुँ । साइलो थामी अयोध्याको घरमा आउने जाने गर्दथ्यो भन्ने थाहा पाएकोले निजहरुको चाल चलन ठीक नभएको हुँदा निजहरुले मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने मृतक रीता कार्कीको बाबु शम्भु कार्कीको कागज ।
१२. सो दिन म सानी आमाको घरमा गएको थिएं । मेरो घर परिवार सम्बन्धमा साइलो भन्ने बल बहादुर थामी, माइलो भन्ने चन्द्र बहादुर थामीलाई थाहा जानकारी भएको हुँदा निजहरुले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने मृतक अयोध्याको छोरी रम्वा तिमिल्सिनाको कागज ।
१३. मिति २०५४।३।५ गतेका दिन मेरो छोराहरु ३,४ बजेतिर माइलो छोरा चन्द्र बहादुर थामी जलविरे जान्छु भनि गएको फर्कि आएको थिएनन् । साइलो छोरा घरमा नै रातीसम्म जुवांई सुब्बासँग गफ गरी बसेको थियो । राती उठेर हेर्दा घरमा थिएनन् भन्ने गोठी भन्ने रत्नमाया थामीको कागज ।
१४. मिति २०५४।३।५ गते दिउँसो तथा साँझमा साइलो भन्ने बल बहादुर थामी समेत मेरो पसलमा आइ जांड रक्सी खाई बेलुकी ८ बजेतिर गएको सो पछि देखेको छैन । साइलो थामीको चाल चलन राम्रो थिएन । सधै मार्छु काट्छु भनि साथमा छुरी समेत बोकी हिड्ने गरेको हुँदा वारदात निजले नै घटाएकोमा विश्वास लाग्छ भन्ने पदमलाल थामीको कागज ।
१५. उक्त दिन दाजुरहरु मेरो घरमा आएकोले खाना खान दिएको हुँ । भोलिपल्ट विहान उठ्दा मेरो घरमा थिएनन् भन्ने कान्छी थामीको कागज ।
१६. आजभन्दा ५,६ वर्ष अगाडीको ससुरा लक्ष्मीकान्त नेपालले घर बनाई दिएकोले आमाजु अयोध्या तिमल्सिना तथा भान्जा डिल्लीप्रसाद र भान्जी समेत सोही घरमा बसी आएकोमा २०५४।३।५ गते विहान खेताला भन्न जाँदा कर्तव्य गरी मारेको मृतक लाश देखि घरमा खबर गरेको हुँ । आमाजुको घर नजिक गोठमा बसी अर्काको जग्गा कमाइ गर्दा घरमा बल बहादुर थामी चन्द्र बहादुर थामी बराबर आउने जाने गर्ने भन्ने सुनेको थिए । निजहरुबाट नै हत्या भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने नेत्र कुमारी नेपालको कागज ।
१७. ९, १० वर्ष अघि देखि श्रीमतीसँग मन मुटाव भई छोरा छोरी लिई माइती घरमा बस्न थालेपछि निजलाई घर बनाई राखि दिएकोले बसी आएका थिए । बल बहादुर, चन्द्र बहादुर थामी आउने जाने गरेको कुरा सुनी थाहा भएको । ०५४।३।५ गते श्रीमती समेतलाई कर्तव्य गरी मारेको थाहा पाई घटनास्थलमा जाँदा श्रीमती समेतको मृत लाश देखेको हुँ । निजहरुलाई बलबहादुर, चन्द्रबहादुर र सुव्वा थामी समेतले मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने मृतकको पती सदानन्द नेपालको कागज ।
१८. आजभन्दा २,३ वर्ष अगाडि जलविरे आएर अर्काको जग्गा कमाई श्रीमान चन्द्र बहादुर र म बसी आएका थियौं । ०५४।३।३ गते ससुरा तथा देवर वल बहादुर आएकोले सो दिन यहिं बसी भोलिपल्ट ०५४।३।५ गते धुस्कुन जान श्रीमान, देवर, ससुरा गएकोमा ०५४।३।६ गते मात्र श्रीमान चन्द्रबहादुर थामी जलविरे गएका हुन् भन्ने श्रीमती सुकुमाया थामीको कागज ।
१९. मिति २०५४।३।५ गते दाजुहरु साँझसम्म घरमा आएका थिए । भोलिपल्ट विहान घरमा थिएनन् । दाजुहरु माइलो र साइलोको राम्रो चाल चलन थिएन । निजहरुले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने बल बहादुरको भाई राम बहादुर थामीको कागज ।
२०. मिति २०५४।३।५ गते अयोध्या तिमल्सिना समेतलाई कर्तव्य गरी मारेको कुरा सो दिनको भोलिपल्ट थाहा पाई घटनास्थलमा जाँदा मृत अवस्थामा देखेको । अभियुक्त साइलो र माइलोको चाल चलन ठीक नभएको हुदा निजहरुले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने कुलप्रसाद डोटेलको कागज ।
२१. २०५४।३।५ गते जलविरेबाट घरजान भनि हिडी घरमा पुगी खाना खाई म गोपालको पसलमा गई रक्सी खाई घरमा आएर बसें । दाजु चन्द्र बहादुर जलविरे जान हिंडे । म पनि पछि हिडेको केहि पर पुगेपछि हामी दुबैको भेट भयो र आज यतै बसौं साँझ अयोध्यायको घरमा जानुपर्छ भनि गोपालको पसलमा जांड खाइ घरमा गइ जुवाइ सुब्बा थामीलाई पनि कुखुरा चोर्न जाने भनि घरको सबै परिवार सुतिससकेपछि जुवाइ र म माइलो दाजु चन्द्र बहादुर थामी बसेको ठाउँमा पुगी ३ जना भई राती अयोध्याको घरमा गयौं । जुवाइ सुब्बा थामीलाई घर बाहिर राखि अयोध्यायको छोरी कालीलाई बोलाई ढोका घचेडे र उघ्रियो । काली भनि अयोध्याले भनिन । म हुँ दिदी भनि बाहिर निस्कि दाजु चन्द्रबहादुरलाई भित्र जाउँ भनि ३ नैं जना भित्र पसी अयोध्याको छोरी रम्भा घरमा रहेनछ । रीता कार्की सुतेको रहेछन् । दाजु चन्द्र बहादुर र मैले दुवै जनालाई करणी गर्न थाल्यौं । सानो बच्ची भएकोले रीता रुन कराउन थालिन । मैले बल गर्दा निजको हात समेत भांचिएको थियो । डिल्ली प्रसाद उठी दाजुलाई हिर्काउने गरेको देखेको हुँदा अव मरिने भो सबैलाई मार्छन भनि साथमा भएको छुरी झिकी रीता कार्कीलाई प्रयोग गरें र त्यस पछि डिल्लीप्रसादलाई प्रयोग गर्दा छोरा मार्यो भनि अयोध्याले झम्टेको हुँदा मैले समाउने, दाजुले हसियाले हान्ने गरी ३ नै जना मारी बाहिर निस्कि झोलाको पोको जुवाइ सुब्बालाई बोक्न लगाई हिडी बाटोमा आई रगत लागको कपडा धोइ नुहाइ यो कुरा कसैलाई नभन्नु भनि सुब्बा थामीलाई भनि बलेफी आइ दाजु चन्द्र बहादुरलाई जलविरे जाउँ भनि म काठमाडौं जाने बसमा चढी गएँ र काठमाडौंमा लुकी बसेकोमा दाजु चन्द्र बहादुरलाई लामोसाँगु आई बसबाट ओर्लिइ दाजु समेत पक्राउ परेको थाहा पाइ राती खोलाको जंगलमा गइ लुकी बसेको थिएँ । सो दिन अयोध्या समेतलाई करणी गरी चुपी तथा हसिया समेत प्रयोग गरी मारेको हो भन्ने बल बहादुर थामीको बयान कागज ।
२२. प्रतिवादी ३ जना करणीको आसय लिइ मृतकको घरमा प्रवेश गरी रातको समयमा केवल एउटा मात्र घर भएको एकान्त ठाउँ पारी मृतक मध्येका अयोध्या र वर्ष १० की अवोध वालीका रीता कार्कीलाई करणी गर्दै गरेको अवस्थाबाट सिर्जना भएको वातावरणमा अत्यन्तै अमानसिक र पासविक रुपमा धारिलो हतियार प्रयोग गरी शरीरको अनेक ठाउँमा जथाभावी चोट छोडी ३ जना व्यक्तिलाई एकै थलोमा कर्तव्य गरी मारेको हुँदा यी प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं.मा वर्णित प्रकृतिको कसूर अपराध गरेको कुरा सिद्ध हुन आएकोले त्यस्तो अपराध गर्ने बल बहादुर थामी, चन्द्र बहादुर थामी, सुब्बा थामीलाई समेत मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. अनुसार हदैसम्म सजाय गरी पाउँ भन्ने अभियोग मागदावी ।
२३. प्रतिवादी साइला भन्ने बलबहादुर समेत घरमा गइ खाना खाइ जाँड खान जाउँ भनेकोले म पनि गएको अवस्थामा प्र.चन्द्र बहादुर बाटामा भेट भयो । बल बहादुरले हामीलाई पसलभन्दा टाढा पुर्याएकोले किन यता आयौं भनि भन्दा बालकृष्णको घरमा जाने भन्दा म जान्न भन्दा तिमीलाई मारी दिन्छ भनेकोले बलबहादुर, चन्द्रबहादुरका पछि लागि गएँ । सल्लाघारीमा पुगेपछि रक्सी खाई मृतकको घर मुनि पुगेपछि बल बहादुर, चन्द्र बहादुरले पाकेटको रक्सी खाइ मृतकको घर बाहिर मलाइ र चन्द्र बहादुरलाई बाहिर बस भनि मृतकको घरको ढोका बल बहादुर खोल्न लाग्दा नखुलेकोले ओ काली भनि बोलाएर भित्र पसी चन्द्र बहादुरलाई बोलाई भित्र पस्नासाथ लुगाको पोको बाहिर फ्याके । म बाहिर बसी रहेको थिएं । १ घण्टापछि ढोकाको प्यालबाट हेर्दा जाउँ जाउँ मार्छन भन्दा रहेछन् । ढोका खोली उ त्यो झोला बोक भनि मैले झोला बोकी आउँदा झोला डाडांबाट फालिदिए । निजहरुले नुहाए । किन नुवाएको भन्दा गर्मी भएकोले भने । घरमा जाउँ भन्दा नमानी बल बहादुर बस तर्फ गए, म घरमा गए । भोलीपल्ट गाउँमा ३ जना मानिस मारेछन् भनि हल्ला गर्दा सुनेको हुँ, मैले मारेको पनि होइन मारेको पनि देखिन । सर्जीमिनले किन त्यसो भने मृतकको घरमा जाने गरेको भन्ने सुनेको हुँ, एकपटक चिच्याएको सुनेको हुँ भन्ने प्रतिवादी सुब्बा थामीले अदालतमा गरेको वयान ।
२४. मेरो जन्मस्थान ढुंगाथलीबाट जलविरे गएको ५ वर्ष भयो । भाइ बल बहादुरले आमा विरामी छ हेर्न हिंड भनेकोले २०५४।३।५ गते जलविरेबाट धुस्कुन आमा बसेको घर सुब्बाकोमा पुगें । बल बहादुरले म खाना खान्न भनि गोपालको पसलमा जांड खान जान्छु भनि गए । म घर जान्छु भनि हिडिरहेको अवस्थामा मलाई बोलाइ आएपछि घर भोली गए पनि हुन्छ, जुवाइ एकछिन पछि आउनु भनि प्रतिवादी सुब्बा र बल बहादुर वियरको सिसीमा रक्सी समेत ल्याई म र भाई बल बहादुरले खाए । तिमीले मलाई कहां लान लागेको भन्दा जाहां भएपनि जानुपर्छ नगए मारिदिन्छु भनि मृतकको घरमा पुगेपछि मृतकको घरमा बल बहादुरले सिठा माग्छु भनि काली भनि बोलाए त्यसपछि ओ सानी भनि बोलाएपछि ढोका खोलेर ती मर्ने सानी केटीले किन यति राती बोलाएको भनी । केटी सँगसंगै बल बहादुर घरभित्र पसे र मलाई बोलाए म पनि गएँ । मलाई लौं दशै मान् भनी अयोध्या मृतकलाई करणी गर, नगरे मारी दिन्छु भने । मैले गर्दिन भन्दा मार्छु नगरे भनेकोले मैले अयोध्यालाई करणी गरें । बलबहादुरले मृतक सानी केटीलाई करणी गर्न थाले । करणी गर्दा सानी केटी कराउन थालिन । अयोध्याले चाहि केही भनिनन् । केटी कराएपछि प्र.बलबहादुरले केटीको हात खुट्टा भांचिदिएछ । केटी चिच्याएको सुनी मृतक केटा उठी मलाई कुटेकोले मैले पनि मृतक डिल्ली प्रसाद तिमल्सिनालाई २ मुड्की हानी हिर्काएपछि मृतकले मार्यो दिदी “बहिनी मार्न लागे” भनि छुट्याउन जाँदा छुरी जस्तो हतियारले प्रतिवादी बलबहादुरले मृतकको शरीरको जताततै हिर्काएपछि मृतक रीता र डिल्लीप्रसादलाई मारी म भाग्न लाग्दा बलबहादुरले त कहां भाग्छेस् भनि अयोध्या मृतकको हात पाखुरामा हसिंयाले हिर्काउन लगाएकोले मैले हिर्काएको हुँ । मैले हिर्काएपछि निज बल बहादुरले मृतक अयोध्यालाई छुट्याएपछि र त्यसपछि जाउँ भनि बाहिर निस्केको मृतकको लुगा सुब्बालाई बोकाएकोमा लडी भिरबाट खसेछ । बल बहादुरले प्रतिवादी सुब्बालाई हामीले मारेको भन्ने कुरा कसैलाई नभन्नु भनि शरीरमा लागेको रगत धोएर बलेफी पुगी खाजा खाइ बल बहादुर काठमाडौंतिर गए । म जलविरे तर्फ गएँ । मैले अयोध्यालाई करणी गरी कुटपिट गर्दा प्र.सुब्बा चाहि घर बाहिर बसीरहेको थियो । सुब्बाले भित्र गइ मृतकलाई केही गरेन भन्ने चन्द्र बहादुर थामीको अदालतमा भएको वयान ।
२५. मृतक अयोध्यालाई दाजुले के के गरे मैले देखिन । मृतकको लुगा हामीहरुको सल्लाहले बाहिर फालिदिएका हौं । शरीरमा लागेको रगत सुनकोशी खोलामा धोइ पखाली गरी जुवाइ सुब्बालाई घरमा जाने बाटोसम्म पुर्याई घरमा जान मन नलागेकोले फर्कि दाजु भएको ठाउँ सुनकोशी आइ बसे र चन्द्रबहादुर र म बलेफी आइगुगेपछि दाजु निजको घरतर्फ गएको हो । म चाहि काठमाडौं गइ लुकी बसेकोमा पछि घर फर्कदा गाउँलेहरुले मलाई पक्राउ गरेको हो भन्ने समेत साइला भन्ने बल बहादुर थामीले अदालतमा गरेको बयान ।
२६. प्रहरीमा कागज गर्ने व्यक्तिहरुको वकपत्र मिसिल सामेल रहेको ।
२७. मौकामा बुझिएको विभिन्न व्यक्तिहरुले अदालत समक्ष गरेको वकपत्रबाट समेत अभियुक्तहरु चन्द्र बहादुर थामी तथा बल बहादुर थामीको साविती बयानलाई समर्थित गरकै पाइएकोले निजहरुले अभियोग दावी बमोजिको कसूर गरेको ठहर्छ । निजहरुलाई अभियोग पत्र मागदावी बमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ । अर्का प्रतिवादी सुब्बा थामीले हात हतियार उठाइ मृतकहरुलाई मार्नमा सरिक भएको नदेखिए पनि उक्त वारदातमा निज मत सल्लाहमा भने पसेको देखिन आएकोले निज वारदात स्थलमा उपस्थित भइ अरु केही नगरी हेरी रहने र उक्त कार्यमा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको अवस्था स्थिति देखिएको समेत हुँदा निज सुब्बा थामीले ज्यान सम्बन्धी महलको १७(३) नं.बमोजिम कसूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०५४।९।२८ को फैसला ।
२८. प्रतिवादी सुब्बा थामीलाई अभियोग माग दावी बमोजिम सजाय हुनुपर्नेमा सो नगरेको उक्त फैसला त्रुटिपुर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
२९. प्रतिवादी सुब्बा थामीलाई ज्यान सम्बन्धी महलको १७(३) बमोजिम २ वर्ष कैद हुने ठहर्याएको फैसलामा प्रमाण मुल्यांकन त्रुटी भई फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पु.वे.अ.को आदेश ।
३०. प्रतिवादी साइलो भन्ने बलबहादुर र माइला भन्ने चन्द्रबहादुरलाई ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याएको जाहेरी फैसला मिलेकै देखिन्छ । प्रतिवादी सुब्बा थामीलाई ज्यान सम्बन्धी महलको १७(३) नं.बमोजिम २ वर्ष कैदको सजाय गर्ने गरेको शुरु फैसला मिलेको देखिंदा सोलाई अन्यथा भन्न मिलेन । प्र.सुब्बा थामीलाई सोही महलको १७(३) नं.बमोजिम २ वर्ष कैदको सजाय गर्ने ठहर्याएको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । साधक सदरको लागि सर्वोच्च अदालतमा पठाइ दिनु भन्ने समेत व्यहोराको २०५६।३।५।६ को पुनरावेदन अदालत पाटनको फैसला ।
३१. पु.वे.अ.पाटनबाट मिति २०५६।३।२५ मा फैसला हुँदा प्रतिवादी बल बहादुर थामी एवं चन्द्र बहादुर थामीको हकमा साधक सदरको लागि पेश गर्नु भन्ने भए अनुसार यस अदालतको २०५६।८।१७ को आदेशानुसार यस अदातलको फौ.सा.नं.३०८ मा र अभियोग दावी बमोजिमको कसूर अपराध र सजाय गरेको ठहर गरी शुरुले गरेको सदर गरी पु.वे.अ.पाटनबाट भएको फैसला उपर चित्त नबुझेको हुँदा उत्त फैसला उल्टी गरी सफाइ पाउनुपर्छ भनि र साधक जाहेर भएको मुद्दामा पुनरावेदन सरहको जिकीर प्रस्तुत गरेको छु भन्ने समेत बलबहादुर थामीको निवेदन पर्न आएको रहेछ ।
३२. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक चन्द्रबहादुर थामीको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद अर्यालले मेरो पक्षले अधिकार प्राप्त अधिकारी तथा मुद्दा हेर्ने अदालत समक्ष आफूबाट भए गरेको कार्य स्वीकार गरी मुद्दाको अनुसन्धान कार्य समेतलाई सहयोग पुर्याएको हुँदा अभियोग दावी बमोजिमको सजाय कायम ठहर गरेता पनि सजायको हकमा मलुकी ऐन अ.वं.१८८ नं.को प्रयोग गरी कम सजाय हुनुपर्दछ भनि गर्नु भएको वहस जिकीर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनबाट मिति ०५६।३।२५ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
३३. यसमा प्रतिवादी बल बहादुर थामी तथा चन्द्र बहादुर थामी (गुरुङ्ग) एवं सुब्बा थामी उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १३(१) नं.बमोजिमको सजायको माग दावी लिई अभियोग दायर भएकोमा शुरु सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रतिवादीमध्येका बलबहादुर थामी तथा चन्द्रबहादुर थामी (गुरुङ्ग) ले अभियोग माग दावी बमोजिम कसूर अपराध गरको ठहर गरी ऐ.को १३(१) नं.बमोजिम सर्वश्व सहित जन्म कैद र प्रतिवादी मध्येका सुब्बा थामीले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(३) नं.बमोजिम सजांय भएकोमा बलबहादुर र चन्द्रबहादुरका हकमा साधक एवं प्रतिवादी सुब्बा थामी उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत, पाटनमा साधक एवं पुनरावेदनको रोहबाट पेश भएकोमा पुनरावेदन अदालत, पाटनले तीनवटै प्रतिवादीहरुको हकमा शुरु जिल्ला अदालतको फैसला सदर गरे उपर यस अदालतमा प्रतिवादी चन्द्र बहादुर थामी (गुरुङ्ग) को पुनरावेदन तथा बल बहादुर थामीको हकमा साधकको रोह र पुनरावेदन सरहको जिकीर समेत भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा प्रतिवादी चन्द्र बहादुर थामी (गुरुङ्ग) एवं बल बहादुर थामी समेतको चालचलन ठीक नभै मादक पदार्थ खाने, गुण्डागर्दी गर्ने, छुरी बोकी हिड्ने, मार्छौ काट्छौं भनि हिड्ने गरेकाले मृतकहरुलाई पनि निजहरुले नै कर्तव्य गरी मारेका हुन भन्ने समेत ०५४।३।९ मा किटानी जाहेरी पर्न आएको, प्रतिवादी बल बहादुर थामी र चन्द्रबहादुर थामीले आफैले मृतक अयोध्या एवं रीता कार्कीलाई जवरजस्ती करणी गरेपश्चात मृतक अयोध्या, रीता एवं अयोध्याको छोरा समेतलाई कर्तव्य गरी मारेकोमा अधिकारप्राप्त अधिकारी र अदालत समक्ष सावित रही बयान गरेको पाइन्छ । प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी र अदालत समक्षको साविती वयान, मौकामा भएको घटनास्थल तथा लास जांच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट समेत पुष्टि समर्थन भै रहेको पाइन्छ । प्रतिवादी बलबहादुर थामी तथा चन्द्रबहादुर थामीले आफूहरुले अयोध्या तिमिल्सिनाको वर्ष १० को अवोध वालिका रीता कार्की समेतलाई जवरजस्ती करणी गरी जवरजस्ती करणी गरेपश्चात धारिलो हतियार प्रयोग गरी निज अयोध्या तिमिल्सिना, रीता कार्की एवं डिल्ली प्रसाद तिमिल्सिना समेतलाई कर्तव्य गरी मारेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि समर्थन भै रहेको हुँदा मृतक अयोध्या तिमिल्सिना, अवोध नावालक रीता कार्की समेतलाई जवरजस्ती करणी जस्तो जघन्य अपराध गरी सो अपराध पश्चात आफूले गरेको अपराध लुकाउन छिपाउन निज अयोध्या तिमिल्सिना, रीता कार्कीलाई जवरजस्ती करणी गरेको देखि थाहा पाउने छोरालाई अमानुषिक तवरले ज्यान मार्ने कसूर गरेका प्रतिवादी बल बहादुर थामी र चन्द्र बहादुर थामी (गुरुङ्ग) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूरमा ऐ.को १३(१) बमोजिम सर्वश्व सहित जन्म कैद गर्ने गरेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पहिले जवरजस्ती करणी जस्तो निन्दनीय कार्य गरी तत्पश्चात कर्तव्य ज्यान जस्तो जघन्य अपराध गर्ने प्रतिवादी चन्द्रबहादुरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १८८ नं.आकर्षित हुनुपर्दछ भन्ने विद्वान अधिवक्ता रामप्रसाद अर्यालको वहस जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादी चन्द्रबहादुर थामीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी बलबहादुर थामीको पुनरावेदन सरहको निवेदन जिकिर पुग्न नसकी साधक समेत सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी साइला भन्ने बल बहादुर थामी तथा माइला भन्ने भन्द्र बहादुर थामी (गुरुङ्ग) लाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं.को कसूर अपराधमा ऐ.को १३(१) नं.अनुसार सर्वश्व सहित जन्म कैद हुने हुँदा निजहरुको अंश हकको सम्पत्ति कानून बमोजिम सर्वश्व गरी प्रतिवादी मध्येका चन्द्रबहादुर थामी (गुरुङ्ग) लाई २०५४।३।११ र बलबहादुर थामीलाई २०५४।४।१ देखि प्रहरी हिरासतमा रहेको देखिँदा निजहरुलाई लागेको उक्त कैद उक्त मितिबाट कट्टा गरी कारागारमा थुनामा राख्न लगत कस्नका लागि शुरु सिन्धुपाल्चोक जिल्ला अदालतमा लेखि पठाइदिनु ............ १
मिसिल नियमानुसार गरी बुझाइदिनु ...२
उक्त रायमा म सहमत छु ।
न्या. केदारप्रसाद गिरी
इति सम्वत् २०५७ चैत्र ३० गते रोज ५ शुमभ् ।