शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६८९ - जग्गा खिचोला

भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक:

निर्णय नं. ३६८९     ने.का.प. २०४६      अङ्क १

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४३ सालको दे.पूर्ण ई.नं. ७७

फैसला भएको मिति :      २०४५।१२।२४।५ मा

निवेदक/वादी : नुवाकोट जिल्ला वेलकोट गा.पं. वार्ड नं. ५ तल्लोती गाउँ बस्ने तोरणबहादुर    पाण्डे

विरुद्ध

विपक्षी/प्रतिवादी : नुवाकोट जिल्ला मदानपुर गा.पं. वार्ड नं. ९ बस्ने देवनाथ पनेरु

मुद्दा : जग्गा खिचोला

(१)    सूचनाको म्यादभित्रै रैकरमा परिणत गरी पाउन दरखास्त दिई रैकरमा परिणत गर्ने आदेश भई रैकरमा परिणत गरिएकोलाई पहिलो दर्ता मान्नु पर्ने, पछिको दूषित दर्तालाई कानुन बमोजिमको दर्ता भनी मान्यता दिन नमिल्ने ।

 (प्रकरण नं. १३)

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४१।९।१३ को फैसला पूर्ण इजलासबाट दोहोर्‍याई हेरी दिनु भनी सर्वोच्च अदालतको नाउँमा हु.प्र. बक्स पाउँ भनी वादी तोरणबहादुर पाण्डेले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको मिसिल झिकी फुलबेन्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    पातले खेत माटो ।५० मध्ये हाल खोलो कट्टी ।१० बुद्धिनाथले खाएको ।१० कटाई पूर्व खोल्सी, पश्चिम खोलो, उत्तर टिकाप्रसाद, दक्षिण कूलो यति ४ किल्लाभित्रको माटो ।३० को जग्गा शेरजंग समेतको बिर्ता तिरो दपोटमा हरिदत्तको उजूर परी सो जग्गा समेत मैले भोगी आएको भनी मेरो समेत बयान भई २०२४।७।२१ मा फैसला भएको बिर्ता उन्मूलन ऐन, २०१६ बमोजिम बिर्तावारहरूले रैकरमा परिणत पनि नगरेको भू.सु. ऐन लागू भएपछि हदभन्दा बढीको जग्गा भएकोले २०१६ सालदेखि ०२९ सालतकको तिरो बुझाई रैकरमा परिणत गरी दर्ता गरेको मूल्य रु. ६००।जाने माटो ।३० जग्गामा २०३०।८।१५ गते विपक्षीहरूले खिचोला गरेको मेटाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३०।११।६ को तोरणबहादुरको फिरादपत्र ।

३.    हामीहरूको हकको पातले खेत २०२४।६।१९ मा पूर्व कूलो, पश्चिम खोलो, उत्तर खोल्सो जाई पाण्डेको खेत, दक्षिण कूलो यति ४ किल्ला भित्रको जग्गा रोपनी ६ बिर्ता उन्मूलन ऐन, ०१६ को दफा ७ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयको २०२४।५।५ को संख्या १९ को राजपत्रमा प्रकाशित सूचना अनुसारको म्यादभित्र रैकरमा परिणत गराई २०१६ सालदेखि २०२३ सालतकको मालपोत बुझाई आमा भद्रकुमारीको नामबाट २०२३।१।१० मा जोताहा अस्थाई निस्सा पाएको, वादीले जोताहा निस्सा छ भन्न सकेको छैन । विपक्षीले परिणत गराए उपर बदर गरिपाउँ भनी आजै फिराद दिएको छु । शेरजंगको बिर्ता भन्ने वादीको भनाई छ । २०२४ सालमा हामीले परिणत गरेको कुरामा कानुनको म्यादभित्र बिर्तावालको उजूर नपरेको समेतबाट हामीहरूको कुस बिर्तालाई वादीले झूठ्ठा उजूर गरेको हो भन्ने समेत व्यहोराको २०३१।१।२६ को देवनाथको प्रतिउत्तरपत्र ।

४.    वादीले दावी लिएको पातले भन्ने खेत परस्पर आफ्नो आफ्नो दर्ताको भन्ने वादी र प्रतिवादीको भनाई भएको परिणत दर्ता उपर परेको परिणत दर्ता बदर मुद्दाहरूमा वादी तोरणबहादुरको दर्ता कायम ठहरी यिनै वादी प्रतिवादीको परिणत दर्ता बदर मुद्दा आजै किनारा भएकोले जग्गा मेरो भन्ने देवनाथले म्यादै गुजारी बसेको जग्गा मेरो कुस बिर्ता हो भन्ने प्रतिवादीले खिचोला गरेन होला भन्न नमिल्ने हुनाले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको र.त.नु.जि.अ. को फैसला रहेछ ।

५.    हामीहरूको कुस बिर्तालाई खिचोला ठहरा एको चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी देवनाथ पनेरुको २०३३।३।७ मा बा.अं.अ. मा पुनरावेदन परेको ।

६.    मुद्दा परेको जग्गा कुस बिर्ता हो भनी प्रतिवादीहरूले दर्ता गराए तापनि सो दर्ता दूषित नै देखिन आयो र त्यस्तो दूषित दर्ताको आधारमा भएको तिरो तिरानको आधारमा जग्गाको स्वामित्व प्रतिवादीहरूलाई प्राप्त हुन सक्ने स्थिति छैन । बिर्ता जग्गा बिर्तावालले दर्ता गराए नगराएको स्पष्ट छैन वादीले दर्ता गराई लिएको देखिँदैन र कुस बिर्ताको प्रमाण प्रतिवादीले पेश गर्न नसकेको स्थितिमा विवादग्रस्त जग्गामा प्रतिवादी पुनरावेदकको हक कायम नहुने ठहर्‍याएको र.त.नु.जि.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति ०३५।१२।१ को फैसला रहेछ ।

७.    उक्त फैसला उपर प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

८.    वादीले आफ्नो फिरादपत्रमा मिति २०३०।७।२१ मा नुवाकोट मालमा परिणत दर्ता गराएको भन्ने उल्लेख गरेका र प्रतिवादी पुनरावेदकहरूले अर्थ मन्त्रालयको मिति २०२४।५।४ को सूचना अनुसार मौकैमा म्यादभित्र रैकरमा परिणत गराई भोगी आएका छौं भन्ने जिकिर लिएको देखिन्छ । विवादको जग्गाको जोताहा अस्थायी निस्सा प्रतिवादीहरूले मिति २०२३।१।१० मा र २०२३।१।१६।५ मा समेत प्राप्त गरेको र नुवाकोट मालबाट आएको दर्ता उतार हेर्दा प्रतिवादी विष्णुप्रसादको नाउँमा मिति २०३०।७।१७ मा प्रतिवादी इन्द्रप्रसादको बाबु देवदत्त पनेरुको नाममा २०३०।७।१५ मा दर्ता भएको दर्ता उतारबाट देखिन आयो । जोताहा अस्थायी निस्सा मौकैमा परिणत गराउन दिएको दरखास्त तिरो तिरेको रसिद समेतका प्रमाणहरूबाट जग्गामा भोग प्रतिवादीकै भएको पुष्टि हुन आयो । बिर्तावालले रैकरमा परिणत नगरेको यस प्रकारको अवस्था यस्तो जग्गा भोगी आउने प्रतिवादीहरूले अघि गराएको दर्तालाई कानुनी मान्यता नदिई यस मुद्दामा गर्नु पर्ने प्रश्न देखि बाहिर गई बिना आधार दूषित दर्तालाई मान्यता दिन नमिल्ने भनी बागमती अञ्चल अदालतले ठहर गरेको कानुनी त्रुटिपूर्ण देखिन्छ । यसको अतिरिक्त यिनै वादी होमनाथ समेत भएको र प्रतिवादी विष्णुप्रसाद, इन्द्रप्रसाद, भवनाथ समेत प्रतिवादी भएको दर्ता परिणत बदर मुद्दामा बा.अं.अ.बाट २०३४।११।१२।५ मा यिनै प्रतिवादीहरूको दर्ता बदर गराउन दावी भएको दावी समेतको फिराद खारेज भएको र सो मुद्दा अन्तिम भइरहेको देखिनाले प्रतिवादीहरूको दर्तालाई कुनै पनि कारण अन्यथा मान्नु पर्ने देखिन आएन । प्रमाणको निमित्त आएको दपोट मुद्दाको फैसला हेर्दा प्रतिवादीहरू समेत संलग्न भई मुद्दा चलेको नदेखिएको र बिर्ता उन्मूलन ऐन, २०१६ अनुसार कानुनको रीत पुर्‍याई भएको दर्ता अनुसार प्रतिवादीले जग्गा भोगचलन गर्न पाउने देखियो । उपरोक्त उल्लेख गरिए अनुसार प्रतिवादीको दर्ता पहिलो र कानुनसंगत देखिनाले विवादको जग्गामा प्रतिवादीको हक नपुग्ने भन्ने बागमती अञ्चल अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुनाले शुरु जिल्ला अदालतको र बागमती अञ्चल अदालतको दुबै फैसला बदर हुने ठहर्छ । विवादको एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने र जग्गामा प्रतिवादीहरूकै हक देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३९।१।१६ को फैसला ।

९.    म.क्षे.अ.को फैसलामा चित्त बुझेन उक्त उपर सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र.बक्स पाउँ भनी वादी तोरणबहादुरले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा म.क्षे.अ.बाट २०३९।१।१६ मा छिनिएको जग्गा खिचोला मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स    भई आएको रहेछ ।

१०.    बिर्ता जग्गा बिर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रै.प. नगराएमा कानुनी स्वामित्व प्राप्त हुन नसक्ने हुँदा यस्तो जग्गा बिर्तावालले रैकरमा परिणत नगरेमा भोगी आउनेले दर्ता अघि गराएको देखिन्छ । एउटै जग्गा दोहोरो दर्ता गराएकोमा पछिबाट दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने र जग्गामा प्रतिवादीहरूकै हक देखिएकोले खिचोला गर्‍यो भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४१।९।१३।५ को फैसला । (ने.का.प. भाग, २६, अड्ढ ९, नि.नं. २१२८, पृष्ठ ८४१ मा प्रकाशित सं.)

११.    सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको मिति २०४१।९।१३।५ को फैसला फुलबेञ्चबाट इन्साफ जाँच गरिपाउँ भनी वादी तोरणबहादुर पाण्डेले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको जग्गा खिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ ।

१२.   निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले देवनाथले नुवाकोट मालमा २०२४ सालमा दिएको निवेदनमा नम्बरी गरिदिने भनी तोक आदेश गरे बमोजिम नम्बरीमा परिणत भई २०१६ सालदेखि कै भूमि कर सदर स्याहा भएको छ । ७ नं. फाँटवारी र १ नं. लगत पनि मेरो पक्षले नै भरेको छ । यसरी ०२४।५।५ को सूचना म्यादभित्रै विवरण दिई २०२४ सालमै बुझाएको तिरो सदर स्याहा भई नम्बरी गरी दिने भनी तोक लागेपछि प्रतिवादी तर्फबाट गर्नुपर्ने सम्पूर्ण कानुनी कर्तव्य पूरा गरी सकेकोले अड्डाले सो बमोजिम काम तामेल नगरी पछि मात्र काम पूरा गरेबाट पछिको दर्ता भन्न नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको यस अदालत डिभिजनबेञ्चको इन्साफ नै सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।

१३.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा पातले खेत माटो ।३० को जग्गा शेरजङ्ग समेतको बिर्ता तिरो दपोटमा हरिदत्तको उजूरी परी सो जग्गा समेत मैले भोगी आएको भनी २०२४।७।२१ मा फैसला भएको र २०१६ सालदेखि २०२९ सालतकको तिरो बुझाई रैकर परिणत गरेको जग्गा २०३०।८।१५ मा विपक्षीले खिचोला गरेको भन्ने वादी दावी र उक्त जग्गा बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ बमोजिम २०२४।५।५ को राजपत्रको सूचनाले तोकेको म्यादभित्रै रै.प. गराई पाउँ भनी २०१६ सालदेखि २०२३ सालतकको मालपोत बुझाई २०२४ सालमै हामीले रै.प.गराएको भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ । यसबाट विवादको जग्गा बिर्ता जग्गा भएको भन्ने कुरामा दुवै पक्षले स्वीकार गरेको पाइन्छ । एउटै जग्गा वादी र प्रतिवादी दुवैले रैकर परिणत गराएको देखिँदा कसको दर्ता अगाडिको हो भन्नेतर्फ विचार गर्दा प्रतिवादीले अर्थ मन्त्रालयको सूचनाको म्यादभित्रै २०२४।६।१९ मा २०१६ सालदेखि २०२३ सालसम्मको भूमि कर समेत दाखिल गरी विवादको बिर्ता जग्गा रैकर परिणत गरिपाउँ भनी निवेदन दिएको र सोही मितिमा नुवाकोट मालबाट दाखिल भएको भूमि कर सदर स्याहा गरी निवेदकको नाउँमा नम्बरी दर्ता गरिदिने भन्ने आदेश भएको प्रतिवादीले पेश गरेको मिसिल साथ रहेको सो निवेदन नक्कलबाट देखिन्छ । यसबाट प्रतिवादीले कानुनले दिएको म्यादभित्रै विवादको जग्गा रैकर परिणत गराउन विवरण दाखिल गरेको र रैकरमा परिणत गरी नम्बरीमा दर्ता गरी दिने आदेश समेत भइसकेको पाइन्छ । तर उक्त आदेश बमोजिम सोही मौकामा प्रतिवादीको नाममा विवादको जग्गा नम्बरी दर्ता गरिदिनु पर्नेमा मालपोत कार्यालयले आफूले गर्न पर्ने काम समयमा गरी नदिई पछि २०३० सालमा मात्र दर्ता गरी दर्ता मोठमा सो मिति जनाई दिएको कारणबाट मात्र प्रतिवादीको २०३० सालको दर्ता भनी भन्न मिलेन । अर्कोतर्फ वादीले मिति २०३०।७।२१ मा मात्र कानुन बमोजिम रैकरमा परिणत गरिपाउँ भनी विवरण दिई रैकरमा परिणत गराएको छ । तर प्रतिवादीले झै आफूले पनि सूचनाको म्यादभित्रै विवरण दिएको भनी वादीले जिकिर लिन सकेको छैन । यसरी प्रतिवादीले सूचनाको म्यादभित्रै रैकरमा परिणत गरी पाउन दरखास्त दिई रैकरमा परिणत गर्ने आदेश भई रैकरमा परिणत गरिएकोलाई पहिलो दर्ता मान्नु पर्ने हुन्छ । पछिको यस्तो दूषित दर्तालाई कानुन बमोजिमको दर्ता भनी मान्यता दिन मिलेन । अतः माथि उल्लेख गरिए बमोजिम विवादको जग्गा प्रतिवादीहरूकै दर्ताको देखिँदा सोही जग्गामा खिचोला रहेको भन्ने वादी दावी पुग्न सक्ने अवस्था रहेन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।९।१३ गतेको फैसला मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.पृथ्वीबहादुर सिंह,

न्या.हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४५ साल चैत्र २४ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु