निर्णय नं. ३६९४ - बिगो भराई पाउँ

निर्णय नं. ३६९४ ने.का.प. २०४६ अङ्क १
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको दे.पु.ई.नं. ८६
फैसला भएको मिति : २०४५।१२।२९।३ मा
निवेदक/वादी : बुटवल न.पं.वा.नं. ६ बस्ने हरिप्रसाद पाण्डे
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.रुपन्देही परौहा गा.पं. वडा नं. ७ बस्ने भुवनेश्वर श्रेष्ठ
मुद्दा : बिगो भराई पाउँ
(१) अ.बं. १७१(क) नं. बमोजिम बेचबिखन समेत गर्न रोक्का रहेको सम्पत्ति रोक्का फुकुवा नभएसम्म अरुका नाममा बेचबिखन दर्ता नामसारी हुने अवस्था रहँदैन, अरुका नाममा बेचबिखन दर्ता नामसारी भएमा पनि त्यसले कानुनी मान्यता प्राप्त गर्न सक्ने अवस्था नहुने ।
(प्रकरण नं. १४)
निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०४२।३।३१ मा भएको निर्णय दोहोराई पाउँ भनी हरिप्रसाद पाण्डेको हकमा तीर्थ डंगोलले न्यायिक समिति मार्फत चढाएको निवेदनहरू र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४३।२।२२ गतेमा लेखिई आएको व्यहोरा पेश हुँदा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको २०४३।३।१२ गतेको आदेशानुसार यस इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :–
२. विपक्षीसंगको लेनदेन मुद्दामा मैले प्रतिवादीबाट रु. ५०,०००।– र व्याज रु. १८,९३०।४१ र अन्य दस्तूर र कोर्टफी समेत रु. २२४२।– समेत जम्मा रु. ७१,१७२।४१ भराई लिन पाउने गरी रुपन्देही जिल्ला अदालतबाट मिति २०३८।७।२७ मा फैसला भएकोले प्रतिवादीका हकको सेमलार आ.गा.पं. वडा नं. २(ख) कि.नं. ६० को ज.वि. ०–१९–१० जग्गा र सोही जग्गामा बनेको घर समेतबाट बिगो भराइपाउँ भन्नेसमेत व्यहोराको वादी हरिप्रसाद पाण्डेको मिति २०३८।९।२९ गतेको निवेदन ।
३. फैसला अनुसार बिगो भराई दिन प्रतिवादीका नाममा ३५ दिने म्याद जारी भई गएकोमा निजले बिगो दाखिल नगरेकोले बिगो भराउने कारवाही भएकोमा दरखास्तमा लेखिएको जग्गा प्रतिवादीको नाममा नभई कूलप्रसाद र भीमलालको नाममा दर्ता भएको भन्ने मालपोत कार्यालय, रुपन्देहीको पत्रबाट देखिएकोले एकाले खाएको बिगोमा अर्को व्यक्तिको जग्गा लिलाम गरी बिगो भराउन नमिल्ने हुँदा कानुन बमोजिम गर्नु भनी दरखास्तवालालाई सुनाई दिनु भन्ने समेत रुपन्देही जिल्ला अदालतबाट मिति २०३९।९।१६ मा भएको आदेश ।
४. विवादको जग्गा मिति २०२७।९।१८ मा भुवनेश्रवरका नाममा फिल्डबुकमा नापी भइसकेको छ र रोक्का राख्ने आदेश हुँदा भुवनेश्वरकै नाममा श्रेस्ताबाट देखिन्छ । रोक्का राख्ने आदेश गएपछि रोक्का राख्ने आदेशको प्रतिकूल मिति २०३८।९।९ मा निजै भुवनेश्वरको छोडपत्र समेतको आधारमा मालपोत कार्यालयले कि.नं. ६० फोड गरी कि.नं. १६५, १६६ कायम गरी कूलप्रसाद र भीमलालका नाममा दर्ता गरिदिनु भएको हुँदा भएको आदेशमा चित्त बुझेन भन्ने समेत वादी हरिप्रसाद पाण्डेको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र
५. अन्य व्यक्तिको नाममा रहेको जग्गा अदालतबाट दर्ता बदर नभएसम्म कायम रहने हुँदा पुनरावेदन जिकिर पुग्न सक्ने भएन । शुरु रुपन्देही जिल्ला अदालतको आदेश मनासिब छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।७।२८ गतेको फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेतको वादी हरिप्रसाद पाण्डेको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदनपत्र ।
७. पश्चिमाञ्चल क्षे.अदालतको फैसलामा अ.बं. १७१(क) को त्रुटि गरेको देखिएकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेतको सर्वोच्च अदालत डिभिजन बेन्चको २०४०।९।४ गतेको आदेश ।
८. भुवनेश्वरबाट भराई दिनु पर्ने बिगोको सम्बन्धमा कूलप्रसाद समेतका नाममा दर्ता रहेको जग्गाबाट बिगो भराई दिन मिल्ने देखिएन । अन्य व्यक्तिको नाममा दर्ता रहेको जग्गा अदालतबाट दर्ता बदर नभएसम्म कायम रहने र पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बूँदा प्रमाणहरूको समेतको आधारमा बिगो भराउन नमिल्ने ठहराएको रुपन्देही जिल्ला अदालतको आदेश सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।३।३१ गतेको फैसला ।
९. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४३।२।२२ मा लेखिआएको पत्रसाथ प्राप्त मुद्दा दोहराउन जाहेर गरेको न्यायिक समितिको सिफारिश पर्चाको प्रतिलिपिमा अ.बं. १७१(क) नं. बमोजिम जग्गा रोक्का राख्न रुपन्देही जिल्ला अदालतबाट मिति २०३७।११।२६ मा पत्र लेखेको र लेनदेन मुद्दाको फैसला मिति २०३८।७।२७ मा भएको देखिन्छ । भुवनेश्वरबाट अरुका नाममा दर्ता गर्ने गरी मालपोत कार्यालयबाट मिति २०३८।९।९ मा निर्णय भएको छ । बिगो भराउन नमिल्ने भनी रुपन्देही जिल्ला अदालतबाट मिति २०३९।९।१६ मा भएको आदेश पश्चात पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेको छ दर्ता बदरमा भीमबहादुर, कूलप्रसादलाई विपक्षी बनाई छुट्टा छुट्टै फिराद दिएकोमा बिगो भराई पाउँ भन्ने मुद्दा सर्वोच्च अदालतमा कारवाही चलेको पुनरावेदन टुंगो नलागेसम्म अ.बं. १२ नं. बमोजिम रुपन्देही जिल्ला अदालतबाट मिति २०४०।११।२५ मा मुलतबी राखेको देखिन्छ । दर्ता बदर मुद्दाहरूमा निर्णय भएपछि यो बिगो भराउने कारवाही गराउने भनी मुलतवी राख्नु पर्नेमा कानुन बमोजिम गर्नु भनी डायरीको लगत कट्टा गर्ने रुपन्देही जिल्ला अदालतको आदेशलाई सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिव ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला अ.बं. १२ नं. तथा दण्ड सजायँको ४२ नं. समेतको त्रुटि हुन गएको देखिएको छ भन्ने उल्लेख भएको रहेछ ।
१०. जग्गा रोक्का राख्ने मिति २०३७।११।२५ मा पत्र लेखी सकेपछि मालपोत कार्यालयले कित्ताकाट गरी कूलप्रसाद, भीमलालका नाममा दर्ता गरेको कानुन अनुरुप देखिँदैन । सो जग्गाबाट बिगो भराउन नमिल्ने भनी शुरु र क्षेत्रीय अदालतले गरेको इन्साफ सदर ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको नदेखिएकोले विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४५।९।२९ गतेको आदेश ।
११. सो आदेश बमोजिम प्रतिवादी भुवनेश्वर श्रेष्ठका नाममा म्याद जारी भई २०४५।१०।२५ मा तामेल भएकोमा हाजिर नभई गुजारी बसेको रहेछ ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पीताम्बर सिलवालले वादीले बिगो भराई पाउँ भनी दावी लिई देखाएका जग्गाहरू प्रतिवादी उपर लेनदेन मुद्दामा फिराद गर्दाका अवस्था अ.बं. १७१(क) नं. बमोजिम २०३७।११।२६ मा रोक्का रहेकोछ । सो रोक्का फुकुवा नहुँदै अरुका नाममा दर्ता गरेको सो दर्ताले मान्यता प्राप्त गर्न सक्दैन । सोही जग्गाबाट वादीले बिगो भराई दिनु पर्नेमा बिगो नभराएको शुरुदेखिको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नु भयो ।
१३. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१४. यस्मा निर्णयतर्फ हेर्दा लेनदेन मुद्दामा मैले प्रतिवादीबाट रु. ५०,०००।– ब्याज रु. १८,९३०।४१ पैसा र अन्य दस्तूर कोर्टफी समेत रु. २२४२।– समेत जम्मा रु. ७१,१७२।४१ भराई लिन पाउने गरी रुपन्देही जिल्ला अदालतबाट मिति २०३८।७।२७ मा फैसला भएकोले प्रतिवादीका हकको सेमलार आ.गा.पं. वडा नं. २(ख) कि.नं. ६० को ज.वि. ०–१९–१० जग्गा र सोही जग्गामा बनेको घर समेतबाट बिगो भराई पाउँ भनी दावी गरी निवेदकको दरखास्त दावी परेको देखिन्छ । सो बिगो भराई पाउन निवेदक वादीले देखाएको प्रतिवादी भुवनेश्वर श्रेष्ठको सेमलार आ.गा.पं. वडा नं. २ (ख) कि.नं. ६० को ज.वि. ०–१९–१० जग्गा यिनै प्रतिवादी भुवनेश्वर उपर लेनदेन मुद्दाको फिराद परेको अवस्था सो जग्गा अ.बं. १७१ (क) नं. बमोजिम रोक्का राखी पाउँ भनी यिनै निवेदक वादीको निवेदनबाट रुपन्देही जिल्ला अदालतका मिति २०३७।११।२५ का आदेश बमोजिम बेचबिखन गर्न समेत नपाउने गरी रोक्का राखी दिन मालपोत कार्यालय रुपन्देहीमा मिति २०३७।११।२६ मा लेखी गएको लेनदेन मुद्दाको प्रमाण मिसिलबाट देखिन्छ । त्यसरी अ.बं. १७१(क) नं. बमोजिम बेचबिखन समेत गर्न रोक्का रहेको सम्पत्ति रोक्का फुकुवा नभएसम्म अरुका नाममा बेचबिखन दर्ता नामसारी हुने अवस्था रहँदैन । अरुका नाममा बेचबिखन दर्ता नामसारी भएमा पनि त्यसले कानुनी मान्यता प्राप्त गर्न सक्ने अवस्था हुँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी भुवनेश्वर श्रेष्ठका नामको उपर्युक्त सेमलार आ.गा.पं. वडा नं. २ (ख) कि.नं. ६० को जग्गा मध्ये कित्ताफोड गरी कि.नं. १६६ को ज.वि. ०–२–७ भीमलाल थापा र कि.नं. १६५ को ज.वि. ०–१७–३ कुलप्रसाद श्रेष्ठका नाममा दर्ता हुने ठहर्छ भनी मालपोत कार्यालय रुपन्देहीले मिति २०३८।९।९ मा निर्णय गरेको प्रमाण मिसिलबाट देखिन्छ । तर सो कि.नं. ६० को जग्गा अ.बं. १७१ (क) नं. बमोजिम बेचबिखन समेत गर्न नपाउने गरी रुपन्देही जिल्ला अदालतको आदेश बमोजिम रोक्का रही रहेको अवस्थामा रोक्का फुकुवाको आदेश बेगर रोक्का रहेको निस्कृय हुने गरी सो जग्गा उपरोक्त अनुसार कित्ताफोड गरी भीमलाल थापा कूलप्रसाद श्रेष्ठका नाममा दर्ता हुने गरी मालपोत कार्यालय, रुपन्देहीले निर्णय गरी दर्ता गरेको सो दर्ताले कानुनी मान्यता प्राप्त गर्न सक्ने अवस्था देखिँदैन । त्यस्तो कानुनी मान्यता प्राप्त गर्न नसक्ने दर्तालाई आधार बनाई निवेदक वादीको बिगो भराई पाउँ भन्ने दरखास्तमा अर्को व्यक्तिको जग्गा लिलाम गरी बिगो भराउन नमिल्ने भनी रुपन्देही जिल्ला अदालतले गरेको मिति २०३९।९।१६ गतेको आदेशलाई सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालत र सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला मिलेको नदेखिँदा सो आदेश र फैसलाहरू बदर हुने ठहर्छ । बिगो भराई पाउँ भन्ने दरखास्तमा कानुन बमोजिम गर्नु भनी उपस्थित पक्षलाई तारिख तोकी मिसिल रुपन्देही जिल्ला अदालतमा पठाई नियम बमोजिम गर्नु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.गजेन्द्रकेशरी बास्तोला,
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५साल चैत्र २९ गते रोज ३ शुभम् ।