शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६९७ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: बैशाख अंक:

निर्णय नं. ३६९७     ने.का.प. २०४६      अङ्क १

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ४०६

सम्वत् २०४५ सालको फौ.पु.नं. ६१३

फैसला भएको मिति : २०४५।११।१८।४ मा

पुनरावेदक/वादी : सोनफी राय यादवको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.म. सुन्दरपुर गा.पं. वार्ड नं.२ बस्ने विन्देश्वर राय यादवसमेत

मुद्दा : कर्तव्य ज्यान

(१)    चिकित्सकको प्रमाणलाई अकाट्य मान्नु पर्ने हुँदैन, अन्य सबूद प्रमाणको दाँजोमा मूल्यांकन गर्नुपर्ने, पुनरावेदक विरामी भई उपचार गराएको भन्ने अवस्था देखिँदैन, यस स्थितिमा प्रतिवादीले पेश गरेको चिकित्सकको प्रमाणपत्र विश्वसनीय नदेखिने ।

(प्रकरण नं. २०)

(२)   यस यसले यस यस ठाउँमा चोट छाडेको भन्ने तथ्ययुक्त सबूद प्रमाण केही नदेखिएको स्थितिमा अपराधी कायम गर्न नमिल्ने ।

(प्रकरण नं. २१)

पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बगोटी र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

पुनरावेदक/प्रतिवादी तर्फबाट  : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दुबै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मिति २०४१।२।६।७ बिहान अं. ८.३० (साविक पेज नं. ४५) बजेको समयमा म आफ्नो खलीहानमा बसिरहेको अवस्था चन्देवश्वर रायले भाला र जुगल राय, सिगेश्वर, सोन्फी राय, सत्यनारायण राय, दिनेश राय, रामवरण राय, चलितर राय समेतले लाठी लिई हुल भई आई यो मन्दिर देखि दक्षिण पट्टिको घर जग्गा मेरो हो भनी रामवरण समेत सबैजनाले भनेकोमा प्रमाण देखाउ भनी भन्दा म उपर उल्लिखित मानिसहरूले भाला समेतले हमला गरेकोमा काका राम औतारले यस्तो अन्याय गरी कुटपीट गर्न हुँदैन भनी भनेकोमा चण्डेश्वरले हातमा लिएको भाला तथा अन्य व्यक्तिले लाठीले काका समेतलाई प्रहार गरी म र काकालाई सख्त घाइते पारेको अवस्था छोरा जवाहरलाल समेतले बचाउन खोज्दा निजलाई समेत उल्लिखित मानिसहरूले कुटपीट गरेको काका राम औतारलाई उपचार गराउन अस्पताल लाँदा निज मरी सकेछन् अतः माथि उल्लिखित व्यक्तिहरूलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको सोन्फी राय यादवको जाहेरी ।

३.    निधारको बायाँ साइड माथि टाउकोमा १चौडाई ११२ लम्बाई १२ गहिराई भएको खोपील्टो परी रगत बगी रहेको बायाँ आँखा सुनिएर निलो भएको भन्ने समेतको लाश प्रकृति मुचुल्का ।

४.    मिति २०४१।२।६ गते बिहान अं. ८.३० बजे हात गोडा धोइरहेकोमा बाबु सोन्फी रायको आवाज सुनी जाँदा चण्डेश्वर, सिगेश्वर, जुगल, विन्देश्वर, सोन्फी राय, सत्यनारायण, दिनेश राय, रामवरण, राम चलीतर राय समेतले भाला लाठीले बुबा सोन्फी र बाजे राम औतारलाई कुटपीट गरी रगत पक्ष पारेको देखी यस्तो अन्याय नगर्नुस भन्दा म समेतलाई कुटपीट गरेको बाजे राम औतारलाई उपचार गराउन अस्पताल लाँदा निज मरी सकेको रहेछन् भन्ने समेतको जवाहरलाल यादवको कागज ।

५.    म कृषि विभाग अन्तर्गत धनुषा कृषि शाखा मातहत कार्यक्षेत्र बेंगाडावरमा नायब प्राविधिक सहायक पदमा काम गर्दै आएको हुँदा वारदातको दिन म गाउँ घरमा छैन, जवाहर रायले मलाई किन पोले थाहा छैन, मेरो दाज्यु चण्डेश्वर समेतको र गाउँको रामऔतार राय पक्ष बीच झैझगडा भई कुटपीट भई बढी चोट लाग्न गई राम औतारलाई अस्पताल लाँदा बाटैमा मरेको भन्ने कुरो सुनेकोबाट थाहा पाएको हुँ भन्ने समेतको विन्देश्वर रायको कागज ।

६.    घर जग्गा सम्बन्धमा झगडा भई सोन्फी राय यादव र राम औतारलाई चण्डेश्वरले भालाले र सिगेश्वर, दिनेश राय, सोन्फी राय, सत्यनारायण, चलीतर राय, जुगल भन्ने जुगेश्वर, विन्देश्वर समेतले लाठीले कुटपीट गरी राम औतार बेहोस भई भुईंमा लडी रहेकोमा राम औतारलाई उपचार गराउन अस्पताल लाँदा निजको बाटैमा मृत्यु भएको हो । उल्लिखित प्रतिवादीको चोटबाटै निजको मृत्यु भएको हो भन्ने अधिकांश सरजमीनका व्यक्तिहरूले बकी लेखाई दिएको सजरमीन मुचुल्का ।

७.    राम औतारलाई भाला समेतको सांघातिक चोट लाग्न गई उपचार गराउन लग्दा चोटका पीरले मृत्यु भएको भन्ने देखिन आएकोबाट चोट पुर्‍याउने प्रतिवादी मध्ये रामवरण, चण्डेश्वर, जुगेश्वर, सिगेश्वर, सोन्फी, दिनेश, राम चलीतर, सत्यनारायण र विन्देश्वरले बयान दिए तापनि निज समेत बाँसको लाठी लिई अपराधमा सरीक रहेको पुष्ठी हुन आएको समेत सिद्ध भएबाट उक्त प्रतिवादीहरूले ज्यानसम्बन्धीको १ नं. विरुद्ध अपराध गरेकोले ऐ.ऐनको १३(३) बमोजिम सजायँ गरी फरार रहेको प्रतिवादीहरूलाई अड्डैबाट वारेण्ट पुर्जी जारी गरिपाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।

८.    मिति २०४१।२।६ गतेको दिन म आफ्नो गाउँ घरमा नभई जि.ध. लालगढमा आफ्नो कार्यालयमा हुँदा जाहेरीअनुसार कुटपीट भएको नभएको सम्बन्धमा मलाई थाहा छैन जवाहरसँग पूरानो पारिवारिक रिस इवी छ । म निर्दोष छु भन्ने समेतको प्रतिवादी विन्देश्वर राय यादवको बयान ।

९.    मिति २०४१।२।६ गते म आफ्नो गाउँ घरमा छैन । मिति २०४१।२।३ गते बिहान घरबाट विदेश जयनगर कपडा खरीद गर्न भनी म र छोरा सिधेश्वर गएका हांै, ऐ. १२ गते मात्र घर फर्केका हौं, जाहेरी बमोजिम मैले कुटपीट गरेको होइन । जाहेरवालासँग रिसइवी हुँदा म उपर झुठ्ठा जाहेरी दिएका हुन् म उपरको दावी झुठ्ठो भन्ने समेतको प्रतिवादी रामवरण राय यादवको बयान ।

१०.    म वारदातको दिन गाउँ घरमा नभई अन्यत्र रहे भएको हुँदा जाहेरी अनुसार कुटपीट गरेको छैन हैन रिसइवी हुँदा मलाई झुठ्ठा पोल उजूर गरेको हो म उपरको दावी झुठ्ठो हो भन्ने समेतको प्र.चण्डेश्वर राय यादवको बयान र करीब सोही मिलानको प्र.सिंधेश्वर राय यादव, प्र.दिनेश राययादव, प्र.रामचलितर राय यादव, प्रतिवादी सोन्फी राय यादव, प्र. सत्यनारायण राय यादव, प्र. जुगेश्वर राय यादवको बयान ।

११.    यस्मा प्रतिवादीहरू विन्देश्वर यादव, रामवरण, जुगेश्वर, सिंधेश्वर, राम चलितर, सोन्फी, सत्यनारायणको इन्कारी बयान निजहरूको सोही प्रमाणहरूबाट समर्थन हुन आएको समेत आधारबाट निज प्रतिवादीहरूले अभियोगबाट सफाई पाउने र प्रतिवादी चण्डेश्वर राय यादवले राम औतारलाई मार्नु पर्ने मनसाय कारण उद्देश्य इवी के थियो भन्ने कुरा मिसिलबाट नदेखिएका मृतकको चोट एकै देखिएको आपसमा झैंझगडा भइरहेको ठाउँमा छुट्याउन गई त्यसै अवस्थामा उठेको रिसले छाडेको चोटबाट राम औतारलाई लाग्न गई मृत्यु भएको देखिन आएबाट प्रतिवादी चण्डेश्वर राय यादवलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद हुने तथा प्रतिवादी दिनेश राय यादवको हकमा विचार गर्दा निजले पेश गरेका प्रमाण शंकास्पद देखिएको र निजले राम औतारलाई मार्नु पर्ने मनसाय प्रमाणित हुन नसकेको अरु किसिमको मतलवी भन्ने समर्थित भएको हुँदा निज प्रतिवादी दिनेश राय यादवलाई ज्यानसम्बन्धीको १७(३) नं. अनुसार सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतको मिति २०४३।२।२५ को फैसला ।

१२.   जाहेरी सरजमीनबाट प्रतिवादीहरूले अपराध गरेको प्रष्ट देखिएको छँदा छँदै निजहरूलाई दावी बमोजिम कसूरदार नठहर्‍याई गरेको शुरु महोत्तरी जिल्ला अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी दावी बमोजिम गरिपाउँ भन्नेसमेतको श्री ५ को सरकारतर्फबाट पर्नआएको पुनरावेदनपत्र ।

१३.   वारदातको दिन म गाउँ घरमा नभएको भन्ने कुरा प्रमाणबाट समर्थित भएको छँदा छँदै कसूरदार नठहराई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने श्री ५ को सरकारको, अन्यत्र रहेको महत्वपूर्ण प्रमाणलाई बेवास्था गरी मलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजायँ गर्ने गरेको महोत्तरी जि.अ.को फैसलामा अ.बं.१८४ (क), १८५, प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि पूर्ण हुँदा बदर गरी पूर्ण सफाई पाउँ भन्ने समेतको प्रतिवादी चण्डेश्वर राय यादवको पुनरावेदनपत्र ।

१४.   वारदातको दिन गाउँ घरमा छैन भनी दिएको प्रमाणलाई शंकास्पद के कति कारणबाट हुन गएको हो सो कुनै कुरा उल्लेख नगरी कुनै मतियार मतलवमा नपरेको व्यक्तिलाई सजायँ गर्ने गरेको महोत्तरी जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि हुँदा सो फैसला बदर गरी पूर्ण सफाई पाउँ भन्ने समेतको प्रतिवादी दिनेश राय यादवको म.क्षे अदालतमा परेको पुनरावेदनपत्र ।

१५.   प्र.दिनेश राय यादवले मृतक रामऔतारलाई लाठी प्रहार गरेको भन्ने र मतसल्लाहमा परेको भन्ने देखिन नआएको र केवल पोलको भरमा सजायँ गर्न नमिल्ने भएकोले प्र. दिनेश राय यादवलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ गर्ने गरेको शुरु महोत्तरी जि.अ.को फैसला मिलेको देखिएन । निज प्र.दिनेश राययादवले सफाई पाउने ठहर्छ । प्र. चण्डेश्वर राय यादवलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजायँ गरेको र अरु विन्देश्वर रायसमेतका सबै प्र.हरूलाई सफाई दिएको महोत्तरी जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।१२।३०।२ को फैसला ।

१६.    वादी पक्षको प्रमाणको मूल्यांकन नगरी गरेको इन्साफ मिलेको छैन । प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन।

१७.   अभियोगबाट सफाई पाउनु पर्नेमा ज्यानसम्बन्धीको १४ नं. अनुसार सजायँ गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. चण्डेश्वर राय यादवको पुनरावेदन ।

१८.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट बहसको लागि उपस्थित हुनुभएको विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले प्रतिवादीहरू उपर जाहेरवालाले जाहेरीमा किटानी पोल गरेको छ । भाला समेतका हतियार प्रयोग भई मर्ने राम औतारको मृत्यु भएको छ । देख्ने गवाह समेतले अदालतमा बकपत्र गरेको समेतबाट प्रतिवादीहरू कसूरदार भन्ने देखिएको छ । यस्तो अपराधमा ज्यानसम्बन्धीको १४ नं. लगाई प्र. चण्डेश्वर राय यादवलाई सजायँ गरेको र अरु प्रतिवादीहरूलाई सफाई दिएको इन्साफ मिलेको छैन भन्ने समेत र जाहेरवाला तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले प्रतिवादीहरूले आरोपित कसूर गरेको भन्ने देखी राखेको छ । एकजना प्रतिवादीलाई कसूरदारलाई सजायँ गरी अरुलाई सफाई दिएको मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । पुनरावेदक चण्डेश्वर राय यादवतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले प्र.चण्डेश्वर राययादव वारदातमा नभई गंगापुर हेल्थपोष्ट सर्लाहीमा उपचार गराई बसेको छ । तसर्थ प्रतिवादी चण्डेश्वरले चोट छाडेको भन्ने कुरा सत्य छैन । वारदातमा भाला प्रयोग भएको भन्ने छ । तसर्थ भालाको घाउ भन्ने प्रमाणित हुनसकेको छैन । वारदात शंकास्पद छ । तसर्थ चण्डेश्वर राय यादवले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

१९.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

२०.   यसमा निर्णयतर्फ हेर्दा मर्ने रामऔतार राय यादव कुटपीटबाट मरेको भन्ने जाहेरी दरखास्त परी मुद्दा कारवाही चलेको देखिन्छ । मौकाको लाश प्रकृति मुचुल्का, सरजमीनको व्यहोरा, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको मौकामा भएको बयान समेतबाट मर्ने रामऔतार राय यादव कर्तव्यबाट मरेको भन्ने देखिन्छ । पुनरावेदक चण्डेश्वर राय यादव उपर ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनमा दावी लिएको पाइन्छ । निज प्र.चण्डेश्वर राय यादवले अदालतमा बयान गर्दा गंगापुर स्वास्थ्य उपशाखामा जेष्ठ ४ गतेदेखि ऐ.९ गतेसम्म डाक्टरबाट उपचार गराएको भनी आरोपित कसूरमा इन्कार रही चिकित्सकको प्रमाणपत्र पेश गरेको पाइन्छ । सो चिकित्सकको प्रमाणलाई अकाट्य मान्नु पर्ने हुँदैन । अन्य सबूद प्रमाणको दाँजोमा मूल्यांकन गर्नु पर्ने हुन्छ । पुनरावेदक चण्डेश्वर राय यादव विरामी भई उपचार गराएको भन्ने अवस्था देखिँदैन । यस स्थितिमा प्रतिवादीले पेश गरेको चिकित्सकको प्रमाणपत्र विश्वसनीय देखिएन । मर्ने रामऔतार राय यादव भाला रोपिएको कारणबाट मृत्यु भएको हो वा लाठीको प्रहारबाट मरेको हो भन्नेतर्फ हेर्दा शव परीक्षण प्रतिवेदनमा टाउकोको चोटको कारणबाट मरेको भन्ने उल्लेख गरेको छ । मौका सरजमीन मुचुल्का तथा अदालतमा उपस्थित भई बकपत्र गर्ने साक्षीहरूको बकाइको अध्ययन गर्दा भाला लाठीको प्रयोग भएको भन्ने देखिन्छ । भाला भनेको वस्तु, एकातर्फ फलामको ब्लेड हुने अर्कोतर्फ लाठी हुन्छ । यस हतियारले दुबैतर्फबाट प्रयोग गर्न सकिने हुन्छ । मृतक उपर प्रयोग भएको सांघातिक चोटको विचार गर्दा भाला भएको लाठीको प्रहारको कारणबाट मृत्यु भएको देखिन्छ । जाहेरवालाले आफ्नो जाहेरीमा चण्डेश्वरले आफ्नो हातमा लिएको भालाले मेरो काका समेतलाई हानेको भनी किटान गरेको छ । सरजमीनका राम विश्वास राय यादव, देवनन्दन मिश्र, राम विनय राय यादव, रक्षा राय यादव, कपलेश्वर राय यादव, राम चलितर राय यादव, नन्दन मिश्र, फौडी राउत बेल्हार, उपेन्द्र राय यादव, नागेश्वर चौधरी मैथिल, राम सेवक साह तेली, महेश बेल्दार, विन्देश्वर चौधरी मैथिल, उपेन्द्र राय यादव र जाहेरवालाका छोरा जवाहरलाल यादव जाहेरवाला सोन्फी राय यादव समेतले मर्ने रामऔतार राय यादवलाई चण्डेश्वरले भालाले टाउकोमा हिर्काइएको हो भनी किटानी साथ अदालतमा बकपत्र गरिदिएको पाइन्छ । सो किटान गरी बकेको बकपत्रलाई आधार मान्न नमिल्ने तथ्युक्त आधार देखिँदैन । यस स्थितिमा मर्ने रामऔतार राय यादवलाई पुनरावेदक प्रतिवादी चण्डेश्वर राय यादवले हिर्काएको चोटबाट मरेको भन्ने देखिन आयो । तसर्थ निज चण्डेश्वर राय यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० (दश) गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिन आयो ।

२१.   श्री ५ को सरकारको पुनरावेदन परेतर्फ हेर्दा चण्डेश्वर बाहेकका अरु प्रतिवादीहरू आरोपित कसूर गरेमा इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । निज प्रतिवादीहरूले आरोपित कसूर गरेको हो भन्ने शंकारहित तवरबाट पुष्टी हुनसकेको छैन । यी प्रतिवादीहरूले मर्ने रामऔतार राय यादवलाई यस यसले यस यस ठाउँमा चोट छोडेको भन्ने तथ्युक्त सबूद प्रमाण केही देखिन्न । यस्तो स्थितिमा प्र. चण्डेश्वर राय बाहेकका प्रतिवादीहरूलाई अपराधी कायम गर्न मिल्ने अवस्था नहुँदा प्र.चण्डेश्वर बाहेकका अरु प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिन आयो ।

२२.   तसर्थ उपर्युक्त उल्लेख भएअनुसार मर्ने रामऔतार राययादवलाई प्र.चण्डेश्वर राय यादवले हिर्काएको चोटबाट मृत्यु भएको ठहर्‍याई निज चण्डेश्वर राय यादवलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गत कैद वर्ष १० (दश) गर्नेगरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकार तथा प्र. चण्डेश्वर राय यादवको पुनरावेदन जिकिर पुग्न सक्दैन, पुनरावेदन गरे बापत प्र. चण्डेश्वर राय यादवके शुरु कैद वर्ष १० को अ.बं. २०३ नं. ले त्यसको सयकडा ५ ले कैद महीना ।६ थप कैद हुन्छ । थुनामा हुँदा ऐन बमोजिम गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु र पुनरावेदन निर्णय भएको सूचना पुनरावेदकहरूलाई दिई नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल फाल्गुण १८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु