निर्णय नं. ३७०० - अंश

निर्णय नं. ३७०० ने.का.प. २०४६ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४३ सालको दे.पु.नं. ६४४
फैसला भएको मिति : २०४५।११।९।२ मा
पुनरावेदक/वादी : न.पं.जनकपुर वा.नं.६ बस्ने सुनामादेवी सोनारनी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामेश्वरीदेवी सोनारनीसमेत
मुद्दा : अंश
(१) एकासगोलै रहे बसेको अवस्थामा पटक पटक गरी खरीद गरेको जग्गामा खरीद गरी लिएको लिखतमा दाइजो पेवा भन्ने उल्लेख भएकै आधार प्रमाणबाट मात्र सो सम्पत्ति वादीको एकलौटी भन्न सकिने अवस्था नआउने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
प्र.न्या.सुरेन्द्रप्रसाद सिंह
१. म.क्षे.अ.को मिति ०४३।४।२० को फैसलामा चित्तबुझेन पुनरावेदनको अनुमतिपाउँ भनी वादी पक्षबाट यस अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ ।
२. सरोवर ठाकुर मेरा पति र रामेश्वरीदेवी सौतापट्टीका छोरा छवीलालको पत्नी हुँदा बुहारी हुन् । सौता देवपरी र छोरा छवीलाल अघि नै परलोक भइसकेका छन् । अरु हामी सगोलमा बसी आएकाछौ । रामेश्वरीका छोराहरू विजय र पवन सावालक भइसकेका छन् । सगोलका सम्पत्तिबाट आर्जित सम्पत्तिलाई आमा र पत्नीको नाउँमा राख्ने, मेरो छोरा समेतलाई पठन पाठनबाट बञ्चित गराउने चेष्टा गरेकाले मैले विरोध गरेकोमा २०३७।९।२ मा खान नदिई घरबाट निकाला गरेकोले चल अचल सम्पत्तिको तायदाती विपक्षीहरूबाट लिई सम्पूर्ण सम्पत्तिको ६ भाग लगाई २ भाग परसारी म र मेरा नाबालक छोराहरू ३ समेतको गरी ४ भाग अंशछुट्याई दिलाइपाउँ भन्नेसमेत व्यहोराको फिराद दावी ।
३. विपक्षी पत्नीलाई अंश कानुन बमोजिम छुट्याई दिन मन्जूर हुँदा वादी दावीबाट छुट्कारा पाउँ भन्ने समेत प्र.सरोवर ठाकुर सोनारको प्रतिउत्तरपत्र ।
४. जग्गा जमीन सुन चाँदी विपक्षी दावी सासूले आफ्नो दाइजो पेवा बनाउन थाल्नु भएबाट विवाद उत्पन्न भएको हो । विपक्षीको माइती पक्षबाट दाइजो पाउने अवस्था नै छैन । विपक्षीले हरेक सम्पत्ति दाइजो भनेबाट हामी नै अदालतमा जान पर्नेमा विपक्षी अघि मात्र प्रवेश गरेका हुन् । मेरो नाउँमा भएको सम्पत्ति कुनै पनि पैत्रिक स्रोतको नभई मेरो पिताबाट पाएको जग्गा जमीनको आयस्ताबाट अरु सम्पत्ति समेत खरीद गरेको छ । वादी दावी झुठ्ठो हो भन्ने समेत व्यहोराको प्र. रामेश्वरी सोनारनीको प्रतिउत्तरपत्र ।
५. सुदामादेवीको जिम्मामा रहेको दाइजोको हो । पेवाबाट भएको भन्ने ठोस सबूद नदेखिँदा अंश बण्डा छुट्याउँदा सो को मूल्यांकन गरी सोही बखत सो सम्पत्तिको कोर्टफी लिने गरी वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनुषा जिल्ला अदालतको फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भनी प्र. रामेश्वरीदेवीको जनकपुर अं.अदालतमा परेको पुनरावेदनपत्र ।
७. सुदामादेवीको नाउँबाट खरीद गरेको सम्पत्ति सगोलकै देखिँदा सगोलको सम्पत्तिमा कानुन बमोजिम अंशियारहरूमा बराबर हुनुपर्ने हुनाले माइतीबाट प्राप्त गरेको दाइजोको रुपैयाँ र पेवाको रकमबाट खरीद गरेको एकलौटी हकभोगको भनी तायदातीमा उल्लेख भएको जग्गाहरूमा समेत बण्डा हुने ठहर्छ । सुदामादेवीले पेशगरेको फाँटवारीमा देखाएको दाइजोपेवा भनी पारितभएको सम्पत्ति बाहेक गरी गर्ने गरी गरेकोसम्म शुरुफैसला गलतठहर्छ भन्नेसमेत व्यहोराको जनकपुर अं.अ.को मिति०४१।३।२० को फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी सुदामादेवीको म.क्षे.अ. मा परेको अनुमति निवेदनपत्र ।
९. लगाउको नि.नं. २५७ को जालसाजी मुद्दामा आजै पुनरावेदनको अनुमति प्रदान भएकोले यसमा पनि अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को अनुमति आदेश ।
१०. वादी प्रतिवादी अंशी भन्ने कुरामा विवाद रहेन । निजहरूको बीच रीतपूर्वक अंश बण्डा भएको छ भन्ने कुरा पनि मिसिलबाट देखिन आएन । यस अवस्थामा वादीले अंश पाउने नै देखिन आयो सगोलमा रहेबसेको अवस्थामा खरीद गरेको लिखतको जग्गाहरू लिखतमा लेखिएको मात्र आधारले दाइजो भन्न सकिने अवस्था आउँदैन सो भनाई समर्थन भई थप सबूद आउन सकेको देखिँदैन । तसर्थ जनकपुर अं.अ.ले तायदातीमा आएका सबै श्रीसम्पत्तीको २ भाग छुट्याई ४ भाग जीय जियै पिच्छेको अंश वादीलाई दिलाइएको फैसला मिलेकै देखिँदा कुनै परिवर्तन गरिरहन परेन भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४३।४।२०।२ को फैसला ।
११. उक्त फैसलामा चित्तबुझेन पुनरावेदनको अनुमतिपाउँ भनी वादीपक्षबाट यसअदालतमा पर्नआएको निवेदन पेश हुँदा “प्रस्तुत मुद्दामा लिखतहरूमा दाइजो भन्ने स्पष्ट लेखिएपछि दाइजोको सम्पत्ति अंश लगाउने गरी म.क्षे.अ.को फैसलामा अंशबण्डाको १८ नं.को त्रुटि भएको र सो त्रुटि सार्वजनिक महत्वको गम्भीर त्रुटि देखिन आएकोले न्या.प्र.सु. ऐन,०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत व्यहोराको यस अदालतको संयुक्त इजलासबाट मिति २०४३।६।८।४ मा भएको अनुमति आदेश ।
१२. पुनरावेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान व.अ.श्री मोहनकृष्ण खरेलले र विपक्षी प्रत्यवादी तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नु भएको बहससमेत सुनियो । मुख्यत क्षे.अ.ले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. यसमा वादी प्र.वादी अंशियार भएकोमा र निजहरूका बीचमा रीतपूर्वक अंशबण्डा नभएको कुरामा समेत कुनै विवाद देखिँदैन । अब अंश दिँदा भएको चलअचल श्रीसम्पत्तिको परेको तायदातीमा वादीका नाउँमा खरीद भएका अचल जग्गा वादी पुनरावेदीकाको दाइजो भन्ने उल्लेख भएको आधारमा मेरोे दाइजो हुनुपर्ने भन्ने वादी पुनरावेदीकाको जिकिर भएको पाइन्छ । सोतर्फ हेर्दा एकासगोलै रहेबसेको अवस्थामा पटकपटक गरी खरीद गरेको जग्गामा खरीद गरी लिएको लिखतमा दाइजो पेवा भन्ने उल्लेख भएकै आधार प्रमाणबाट मात्र सो सम्पत्ति वादीको एकलौटी भन्न सकिने अवस्था आउँदैन । कारण सो दाइजोपेवा भन्न सकिने कुनै निजका माइतीतर्फबाट पाए भएको सबूदको अभावमा समुच्चा तायदातीमा लेखिएको श्री सम्पत्तिमा अंश भाग लाग्ने ठहराई जनकपुर अं.अ.ले गरेको इन्साफ सदर गर्ने गरी म.क्षे.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागी पुनरावेदन परेकोले केही गर्नुपरेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल फाल्गुण ९ गते रोज २ शुभम् ।