शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३१० - कर्तव्य ज्यान

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय नं. ७३१०     ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्बत् २०५७ सालको फौ.पु.नं. ..२६६९

सम्बत् २०५८ सालको फौ.पु.नं. .२८२२,२८९६

फैसला मितिः २०६०।५।२६।६

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः वर्दिया जि.मनाउ गा.वि.स. वार्ड नं. ६ घर भै जिल्ला कार्यालय कारागार शाखा वर्दियामा थुनामा रहेकी शुभद्रा रोका मगर

विरुद्ध

प्रत्यर्थी

वादी रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार

 

पुनरावेदक

प्रतिवादीः दाङ्ग जि.त्रिभूवननगर न.पा.वार्ड नं. १० घोराहीमा घर भई कारागार शाखा गुलरिया वर्दिया थुनामा रहेको शंकर कुमार गुप्ता

विरुद्ध

प्रत्यर्थी

वादीः रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार 

 

पुनरावेदक

प्रतिवादीः वर्दिया जि.मनाउ गा.वि.स. वार्ड नं. ६ घर भै हाल जिल्ला कारागार शाखा पाल्पामा थुनामा रहेको प्रकाश चन्द

विरुद्ध

प्रत्यर्थी

वादी रेकवहादुर रोका मगरको जाहेरीले श्री ५ को सरकार

 

§  प्रतिवादी शुभद्राले मृतक सीमा रोका मगरलाई मार्ने मनसायले लठ्याउने पदार्थ जाँडमा मिसाई खुवाएको भन्ने नदेखिई निजलाई निस्लोट निन्द्रामा पारी प्रतिवादी शंकर कुमार गुप्ता समेतको सम्पर्कको वातावरणको परियोजना गरेको सम्म संभावना देखिन आउँछ । झाँक्री आउन नमानेपछि निजले स्वभावत प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दलाई खवर गरेको र निज समेतको उपस्थितिमा निजहरुको कर्तुत जगजाहेर हुने डरले आत्तिएर निजहरु तिनै जनाले संयुक्त रुपमा सिमा रोका मगरलाई अर्धचेत अवस्थामा लगी डोरीले बाँधी उचाली झुण्ड्याई सोही झुण्ड्याएको कारणवाट मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दको हकमा समेत अदालतमा भएको प्रतिवादी शुभद्रा रोकाको साविती समेतवाट पोलिएका निज प्रतिवादीहरु केवल सह अभियुक्तको पोलवाट मात्र कसूरदार देखिन नआई निज प्रतिवादीहरुको मौकाको साविति र अन्य सवुद तथा परिस्थितिजन्य प्रमाण समेतद्वारा समर्थित भरहेको देखिएकाले निजहरु तिन जनालाई अभियोग दावी वमोजिमको कसूरदार ठहर गरी प्रतिवादी प्रकाश चन्द र शुभद्रा रोका मगरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. र प्रतिवादी शंकर कुमार गुप्तालाई ऐ.को १३ (४) नं. को सजाय हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने ।

§  अपराधमा संलग्न यि प्रतिवादीहरुको उमेर, अपराधको परिस्थिति र अवस्थालाई विचार गर्दा प्रतिवादीहरु १७ देखि २१ बर्ष सम्मका कच्चा उमेरका अपरिपक्व अवस्थाका व्यक्तिहरु देखिन आउँछन् । दाजु भाउजुको इच्छा विरुद्ध गैर वैवाहिक सम्बन्ध र सम्पर्कका लागि घरमा भएकी भाउजुलाई लठ्याउने औषधी खुवाउँदा पटक पटक वान्ता हुनु र अर्धचेतन वा अचेत अवस्थामा पुग्नुवाट स्वभावतः आत्तिई झाँक्री वोलाउँदा झाँक्री समेत नआएको कारणले वुद्धि विवेक नपुगी प्रतिवादीहरु समेत भै कुरा फैलने डरले भाउजुलाई संयुक्त रुपमा झुण्ड्याएको भन्ने देखिन आएको र मार्ने मनसायले पूर्ण तयारी गरेको नदेखिएकोेले नियोजित रुपमा कुनै निकृष्ट लोभ वा प्रयोजनको लागि जघन्य अपराध घटाउने प्रतिवादी सरह निजहरुलाई सजाय गर्दा चर्को पर्ने देखिई निज तीनै जना प्रतिवादीहरुलाई मुलुकी ऐन अ.वं. १८८ नं. ले जनही ८ (आठ) बर्ष कैदको सजाय हुने ।

§

(प्र.नं.३६ र ३७)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री रंजितभक्त प्रधानांग, श्री शेरवहादुर के.सी. र श्री आशिष अधिकारी

प्रत्यर्थी वादी तर्फवाटः उप न्यायाधिवक्ता श्री विश्वराज कोइराला

अवलम्वित नजिरः

 

फैसला

            न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत नेपालगंजको मिति २०५७।६।१० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ ले यसै अदालतको अधिकार क्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर निम्न छ :-

            २.    मेरो भाउजु सिमा रोका मगरलाई कोही कसैले मारे मराएको शंका लाग्दैन, के कारणवाट झुण्डी आत्मा हत्या गर्नु भयो कोही कसै सँग रिसइवी भएको लाग्दैन कानून वमोजिम गरी पाउँ भन्ने मृतकको देवर गुमान सिंह रोका मगरको २०५२।९।६ को जाहेरी दरखास्त ।

३.    मृतकको लाश पलङ्गमा सुताएको अवस्था रही दुवै आंखा वन्द, मुखवाट जिव्रो निस्की टोकेको अवस्थामा देखिएको, दुवै हात वगलमा सटाएको, दुवै खुट्टा सिधा तन्काएको, घाँटी केही फूले जस्तो देखिएको घाँटीमा पासो लगाएको डोरीको डाम देखिएको, योनीवाट रगत जस्तो १ थोपा वगेको मलद्वारवाट केही ननिस्केको शरीरमा घा चोट नदेखिएको मृतक सुतेको पलङ्गदेखि माथि घरको वांसका डांडा (ककडी) मा प्लाष्टिकको डोरी वाँधिएको देखिएको सो झुण्डिएको भनिएको वाँधेको डोरी काटेको झुण्डिएको अवस्थामा रहेको, सो डोरी ५ फिट ९ इन्च भएको जमिनमा फुटेका चुराहरु भएको, सिरकमा उल्टी गरेको देखिएको भन्ने समेतको वर्ष ३१ की सिमा रोका मगरको मिति २०५२।९।६ को लाश प्रकृति मुचुल्का ।

            ४.    मृतकको मृत्यु झुण्डिएर भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।

            ५.    मिति २०५२।९।४ मा काम विशेषले म काठमाडौं गएको थिए। ऐ ५ गते राती घरमा कोही नभएको समयमा चामेर भन्ने प्रकाश चन्द, डव्लु भन्ने शंकर कुमार गुप्ता समेतको मिलोमतोवाट रातको समयमा चोरी गर्ने उद्देश्यले परिवारको ज्यान लिने मनसायवाट अपराधिहरुले श्रीमतीलाई घाटी दवाई डोरीको पासो वनाई झुण्डाउन लागेको अवस्था वहिनी शुभद्रा रोकाले थाह पाई कराउँदा निज अपराधिहरु बहिनीलाई धाक धम्की दिई भनिस् भने मार्छु भन्ने डर देखाई मारेको कुरा वहिनीले मलाई पौष २९ गते भनेपछि थाह पाएकोले जाहेर गर्न आएको छु कानून वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०५२।९।३० को रेकवहादुरको जाहेरी दरखास्त।

            ६.    डब्लु भन्ने शंकर गुप्तासँग मेरो माया प्रेम चलिरहेको थियो । सो वारे मेरा दाजु भाउजुलाई थाहा भएपछि निजहरुले मलाई कुटपीट गर्ने गर्दथे । सो कुरा मैले प्रकाश चन्दलाई सुनाए निज चन्दले सो कुरा डव्लु भन्ने शंकर कुमार गुप्तालाई भनेपछि डव्लु म कहां आई म तिमीसँग विवाह गदर्छु र तिम्रो भाउजुलाई काँटा फाले जस्तो गरेर ठेगाना लगाई दिन्छौ भनेपछि मैले पनि स्वीकार गरे । मिति २०५२।९।५ को खाना खाई वसी रहेको वेला चामेर म कहां आई सानो सिसीमा पानी जस्तो तरल पदार्थ दिई भाउजुलाई खुवाउनु भनी गए । निज जांदा बेलुकी डव्लु र तिमी आउनु भनेकी थिए । बेलुकी ५ बजेको राती औषधी हाली लोटामा जाड ल्याई भाउजुलाई खान दिए । भाउजुले चक्कर लाग्यो भनेकोले विस्तारामा सुताएं । अं. १२।१ वजे राती डव्लु र चामेर समेत आएपछि अव हामी फस्यौं के गर्ने भनी सल्लाह हुँदा बेहोस रहेकै अवस्थामा झुण्डाई दिनु पर्दछ भनी सल्लाह भए अनुसार हामी ३ जनाले मिली झुण्डाई मारेका हौं भन्ने समेत व्यहोराको शुभद्रा रोकाले मिति २०५२।१०।८ मा प्रहरीमा गरेको वयान कागज ।

            ७.    चामेर भन्ने प्रकाश चन्द्र शुभद्रा रोका मगर र म समेत भै सिमा रोका मगरलाई झुण्डाई मारेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी शंकर कुमार गुप्ताले मिति २०५२।१०।८ मा प्रहरी समक्ष गरेको वयान ।

            ८.    डव्लु भन्ने शंकर गुप्ता शुभद्रा रोका मगर र म समेत मिली सिमा रोका मगरलाई मारेका हौं । मारी सकेपछि निजको दराजमा भएको सुनको मंगलसुत्र लिई भारतको  टिकुनिया लगी विक्री गरेको हुँ भन्ने चामेर भन्ने प्रकाश चन्दले मिति २०५२।१०।७ मा प्रहरी समक्ष गरेको वयान ।

            ९.    बिषालु औषधिको सिसी मिति २०५२।१०।१६ मा वरामद भएको वरामदी  मुचुल्का।

            १०.    मृतक सिमा रोका मगरलाई डव्लु भन्ने शंकर कुमार गुप्ता, सुभदा« रोका मगर र चामेर भन्ने प्रकाश चन्दले मिली मारी झुण्डाएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मिति २०५२।१०।१८ गतेको गाउँ सरजमिन मुचूल्का ।

            ११.    चामेर भन्ने प्रकाश चन्द डव्लु भन्ने शंकरकुमार गुप्ता, शुभद्रा रोकाले श्रीमती सिमालाई कर्तव्य गरी मारी निजले लगाउने गरेको आधातोला सुनको मंगलसुत्र समेत चोरी गरी लिएका हुन भन्ने जाहेरवाला रेकवहादुर रोकाको कागज ।

            १२.   प्रतिवादी मध्येकी शुभद्रा रोका मगरले डब्लु भन्ने शंकर गुप्ता सँग प्रेम सम्बन्ध राखेकी, सो कुरा थाहा पाई चरित्र सुधार होस् भन्ने उद्देश्यले जाहेरवाला तथा मृतकका पति शुभद्राका दाजु रेकवहादुरले हप्काउने गरेका सो कुरा अन्य प्रतिवादी शंकर गुप्ता समेतलाई भनि       प्रतिवादी सवै जनाको मिलेमतोवाट सिमा रोकालाई मार्ने षडयन्त्र रचि शिशिमा ल्याएको झोल जाडमा हाली खुवाउनको निमित्त शुभद्रालाई भनेको र शुभद्राले भाउजुलाई दिई जाड सेवन गरी बेहोस भएको अवस्थामा निजलाई घाटीमा डोरी लगाई झुण्डाई प्रतिवादी शुभद्रा, शंकर र प्रकाश चन्दले ज्यान सम्बन्धी महलको १ नं. बिपरीत कसूर गरेका र ज्यान मारेको कुरा चालपाई जाहेर नगर्ने प्रतिवादी सुरेशचन्दले ऐ.२५ नं. को कसूर गरेकोले प्रतिवादी मध्येका शुभद्रा रोका र प्रकाशचन्दको हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) वमोजिम र शंकर कुमार गुप्ताको हकमा ऐ को १३(४) वमोजिम र सुरेश कुमार चन्दको हकमा ऐ.को २५ नं. वमोजिम सजाय हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको मिति २०५२।११।२ को अभियोग पत्र मांगदावी ।

            १३.   २०५१ साल देखि शंकर कुमार गुप्तासँग मेरो प्रेम सम्बन्ध थियो सो वारे भाउजु सिमा रोकाले गाली कुटपीट गर्ने भएकाले सो कुरा प्रकाश चन्द र शंकरले थाह पाई निज प्रकाश चन्दले झोल विषालु पदार्थ मलाई दिई मैले सो बिष जांडमा मिसाई भाउजुलाई खान दिए । जाड खाएपछि भाउजु बेहोस हुनु भयो । मैले र भदाले भाउजुलाई निज सुत्ने कोठामा सुतायौं । राती प्रकाश चन्द र शंकर आए । भाउजुलाई औषधि खुवायौं भने । खुवाए बेहोस छिन भने पछि अव हामी फस्छौं भन्दा झुण्डाई मानुपर्छ भनी निज प्रकाश र शंकरले भनेपछि हामी ३ जना मिली भाउजुको घाटीमा डोरीले वांधी घरको माथिको वासको डांडामा रस्सी फसाई शंकरले तलवाट उचाली प्रकाशले रस्सी छानोको डाडोमा बांधी झुण्डाई वांधी भाउजुलाई मारेका हौं । दाजु रेकवहादुरले दिएको जाहेरी दरखास्तको व्यहोरा सत्य हो । मलाई अपराध अनुसारको सजाय हुनु पर्छ भन्ने समेत व्यहोराको प्रतिवादी शुभद्रा रोकाले अदालतमा गरेको वयान ।

            १४.   घटना वारदातको अवस्थामा वावु विरामी भएकोले म दाङ्ग घोराही गएको थिए । वारदात सम्बन्धमा मलाई पनि पोल गरेको छ भनी चौकीमा म आफै गएको थिए । मलाई त्यही राखेका हुन । मृतकको मृत्यु के कसरी भयो मलाई थाहा छैन । मैले कर्तव्य गरी मारे  मराएको होइन । प्रहरीले कुटपीट गरेको कारणवाट प्रहरीको वयानमा स्वीकार गरेको मात्र हुँ भन्ने समेत व्यहोराको प्रतिवादी शंकर कुमार गुप्ताले यस अदालतमा गरेको वयान ।

            १५.   मृतक सिमा रोकाले घाटीमा डोरी लगाई झुण्डी मरिन भन्ने धिरेन्द्र कुमार थापाले भनेकोले थाह पाएको हुँ प्रतिवादी शुभद्राले म समेत भै कर्तव्य गरी मारेको किन भनिन । हामीलाई फसाउने उद्देश्यले होला । प्रहरीमा गरेको वयान मेरो स्वेच्छाको होइन । कुटाईको भरमा घटनालाई स्वीकार सम्म गरेको हुँ । मैले मारे मराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्रकाश चन्दले अदालतमा गरेको वयान ।

            १६.    हालसम्मका सवूद प्रमाणवाट प्रतिवादी कसूरदार देखिंदा र निजहरु उपर लागेको अभियोगपत्र दावी समेतलाई मध्यनजर राखी पछि वुझ्दै जांदा ठहरे वमोजिम हुने नै हुँदा हाल प्रतिवादी शंकर कुमार, शुभद्रा रोका र प्रकाश चन्दलाई मुलुकी ऐन, अ.वं. ११८ को देहाय २ बमोजिम मुद्दा पूर्पक्षको लागी थुनामा राख्नु भन्ने मिति २०५२।११।३ को शुरु अदालतको थुनछेक आदेश ।

            १७.   वादीका साक्षीहरुले अभियोग दावी समर्थन हुने गरी प्रतिवादीहरुले मृतकलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनि वकी लेखाई दिएको वकपत्र।

            १८.   प्रतिवादीहरुका साक्षीहरुले प्रतिवादीहरुको अदालतमा गरेकोे वयानलाई समर्थन हुने गरी वकी लेखाई दिएको  वकपत्र । 

            १९.    प्रतिवादी प्रकाशको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती वयानलाई सह अभियुक्त शुभद्राको अदालतमा भएको पोल वयान र लाश जांच मुचुल्काको व्यहोरावाट समर्थित र पुष्टि हुन आएको देखिएवाट मृतकको मृत्यु निज समेतको कर्तव्यवाट भएको देखिएकोले निजलाई मुलुकी ऐन ज्यान सम्बन्ध महलको १३(३) वमोजिम जन्मकैद हुने प्रतिवादी शंकरले मृतकलाई हात लगाई मार्नमा प्रारम्भ देखि नै योजनापूर्ण रुपले संयोग पारी दिएको देखिएकोले निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(४) अनुसार जन्मकैद हुने, प्रतिवादी शुभद्रा अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरी अदालत समक्ष आफूले मृतकलाई मार्नमा हात नलगाएको र प्रतिवादी प्रकाश समेतले मृतकलाई खुवाउन दिएको झोल बिष भएको आफूलाई थाहा नभएको भनी वयान गरे तापनि शिशीको झोल जांडमा राखी प्रतिवादी शुभद्राले खुवाएवाट मृतक अचेत अवस्थामा पुर्‍याई झुण्ड्याउन सजिलो भएको हुँदा निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ नं. वमोजिम १० बर्ष कैद हुने र प्रतिवादी सुरेशका हकमा निज शुरु देखि हालसम्म फरार रहेको हुँदा मुलुकी ऐन अ.वं. १९० नं. वमोजिम मुलतवी हुने ठहर्छ भन्ने समेत शुरु बर्दिया जिल्ला अदालतको मिति २०५६।४।३०।१ को फैसला ।

            २०.   म उपरको अभियोग दावी पुष्टि गर्ने आधारहरु उल्लेख नगरी विना प्रमाण शुरु वर्दिया जिल्ला अदालतवाट ज्यान सम्बन्धीको १६ नं. वमोजिम ज्यान मार्ने मुख्य भै षडयन्त्र गर्ने वा ज्यान मार्न लगाउने कुराको कसूरदार ठहर्‍याई फैसला गर्दा न्यायकर्ता समेत द्धिवीधा वा शंकाको अवस्थामा रहेको देखिन्छ । यसरी शंकाको स्थिति रहेको अवस्थामा मलाई सफाइ दिनु पर्नेमा कसूरदार ठहर्‍याएको त्रुटिपूर्ण फैसला वदर गरी आरोपित कसूरवाट सफाइ पाउँ भन्ने समेतको  शुभद्रा रोकाको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदन पत्र ।

            २१.   मेरो मृतकसँग पूर्व रिसइवी पनि रहेको, मृतकलाई मार्नुपर्ने अवस्था रहेको वा मृतक र मेरो वीच तथा मेरो र शुभद्राको बिचमा पनि कुनै अनुचित सम्बन्ध समेत रहेको छैन । त्यसरी उपरोक्त स्थिति तथा मृतकको देवर गुमानसिंहले दिएको जाहेरी दरखास्त समेतलाई मध्यनजर राखी फैसला गर्नुपर्नेमा सो सम्बन्धमा वुझ्दै नबुझी मृतक आफै झुण्डी मरेको अवस्थामा म समेतले झुण्ड्याई मारेको भनी सह अभियुक्तले आफू वच्न अरुलाई पोल गरी गरेको वयान समेतलाई आधार लिई मलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद गर्ने गरी शुरु बर्दिया जिल्ला अदालतवाट भएको त्रुटिपूर्ण फैसला वदर गरी अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी प्रकाश चन्द«को पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदन पत्र ।

            २२.   प्रतिवादी शुभद्रा स्वयं ज्यान मार्ने कार्यमा सरिक भई कसूर अपराध गरेको अवस्थामा आकर्षित हुन नसक्ने दफा प्रयोग गरी प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ नं. वमोजिमको कसूर ठहर गरी प्रतिवादीलाई कम सजाय गर्ने गरी भएको शुरु वर्दिया जिल्ला अदालतको त्रुटिपूर्ण फैसला प्रतिवादी शुभद्रा रोकालाई कम सजाय गर्ने गरी भएको हदसम्म वदर गरी प्रतिवादी शुभद्रा रोका मगरलाई अभियोग मांगदावी वमोमिज नै सजाय गरी पाउँ भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदन पत्र ।

            २३.   प्रतिवादी शुभद्रा रोका मगरको पुनरावेदन परेको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालयलाई र प्रस्तुत वादी श्री ५ को सरकारको पुनरावेदनपत्र परेको जानकारी प्रतिवादी शुभद्रा रोका मगरलाई दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५७।१।२७ को आदेश ।

            २४.   मृतकलाई मैले कर्तव्य गरी मारेको होइन । त्यस सम्बन्धमा मलाई केही थाहा छैन । मैले बिष भनी शुभद्रालाई झोल पदार्थ दिएको पनि होइन । घटना घटेको दिनमा म मेरो वावु विरामी भएकोले घटनास्थलमा नभइ दाङ्गको मेरो आफ्नै घरमा रहेको भनी अदालतमा वयान गरेको र अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान मेरो इच्छा विरुद्धको वयान हो भनी भन्दा भन्दै वादी पक्षले प्रमाण स्वरुप वरामद गरेको सिस विषको भएको र सोही सिसीमा विष थियो र मृतकलाई विष सेवन गराएको भनी विशेषज्ञको राय समेत कही कतैवाट खुल्न नआएको भन्ने कुरा स्वीकार्दा स्वीकार्दै, मृतकको मृत्यु झुण्डीई सास थुनिई भएको प्रमाणित हुँदा हुँदै आत्मनिष्ठ आधार वुंदा प्रयोग गरी मृतकलाई कर्तव्य गरी मार्नमा प्रतिवादी मध्येको शंकरको योजना र सो अनुसार निजले विष भनि दिएको झोल पदार्थ र सो को सेवन नै मलभूत रुपमा कारक तत्वको रुपमा रहेको भनी प्रहरी समक्ष भएको वयान तथा प्रतिवादी मध्येका शुभद्राको अदालतमा भएको विवादास्पद वयानलाई आधार वनाई म समेतले हात लगाई मृतकको शरीर उठाई झुण्ड्याई मारेको भनी मलाई जन्मकैदको सजाय गर्ने गरी शुरु वर्दिया जिल्ला अदालतवाट भएको त्रुटिपूर्ण फैसला वदर गरी अभियोग दावीवाट सफाइ पाउँ भन्ने समेतको प्रतिवादी शंकर कुमार गुप्ताको पुनरावेदन अदालत नेपालगंजमा परेको पुनरावेदनपत्र ।

            २५.   मृतकको मुटु कलेजो र पेटमा भएका पदार्थ समेतको रासायनिक परीक्षण गर्दा बिषको कुनै अंश नपाइएको भन्ने जांच प्रतिवेदन आइरहेको अवस्थामा प्रतिवादी प्रकाशले ल्याएको विष प्रतिवादी शुभद्राले ख्वाई मृतक वेहोस भएको वेला मुख्य प्रतिवादी प्रकाश र शुभद्रा भई प्रतिवादी शंकरको सहयोगवाट जिउदै झुण्ड्याई मारेको भन्ने प्रहरी प्रतिवेदन दावीको सम्पूर्ण तथ्य् नै प्रतिकूल रहनुका साथै शब परीक्षण प्रतिवेदनमा मृत्युको कारण  झुण्डिएर भन्ने स्पष्ट भइरहेको अवस्थामा प्रतिवादी शुभद्राको अदालतमा भएको वयान समेतको आधार लिई प्रतिवादीहरुले कर्तव्य गरेको ठहर्‍याएको शुरु बर्दिया जिल्ला अदालतको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रतिवादी प्रकाश चन्द र शंकर कुमार गुप्ताको हकमा छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगंजलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत नेपालगञ्जको मिति २०५७।४।२५।४ को आदेश ।

            २६.   प्रतिवादीहरुको कर्तव्यवाट सिमाको मृत्यु भएको कुरा प्रतिवादी मध्येकै शुभद्रा रोका मगरको वयान, पोष्टमार्टम रिपोर्ट समेतका प्रमाणले पुष्टि गरेको देखिन्छ । प्रतिवादी शुभद्राले प्रतिवादी चामेर भन्ने प्रकाश चन्दले दिएको शिशिको झोल पदार्थ जांडमा मिसाई मृतक सिमालाई खान दिएको र सोही जरियावाट मृतक बेहोस भएको र कोठामा जत्रतत्र उल्टी गरेको देखिएकाले प्रतिवादी शुभद्रा रोका मगरले अभियोगपत्र माग दावी वमोजिम ज्यान सम्बन्धी महलको १ नं. र १३(३) नं. को कसूर गरेको ठहर्ने हुँदा निजको हकमा ज्यान सम्बन्ध महलको १६ नं. वमोजिम सजाय गर्ने गरेको हदसम्म शुरु फैसला नमिलेकोले केही उल्टी भै ज्यान सम्बन्धी महलको १ नं. को कसूरमा सोही ऐनको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्छ । प्रतिवादी प्रकाश चन्दलाई ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम र शंकर कुमार गुप्तालाई १३(४) नं. वमोजिम जन्मकैदको सजाय गर्ने गरी शुरु वर्दिया जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी शुभद्रा रोका मगरको हकमा अपराध हुँदाको अवस्था, प्रतिवादीको उमेर र धामी झाक्री वोलाउने प्रयास गरी मृतकलाई वचाउन खोजेको जस्ता मिसिल तथा परिस्थितिजन्य प्रमाणहरु हेर्दा निजलाई ज्यान सम्बन्ध महलको १३(३) वमोजिम जन्मकैदको सजाय चर्को हुने चित्तमा लागेकाले अ.वं. १८८ नं. वमोजिम १० बर्ष कैदको सजाय हुने राय जाहेर गरिएको छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजको मिति २०५७।६।१०।३ को फैसला ।

            २७.   म भाउजुलाई मार्ने षडयन्त्रमा सामेल नभएकी, भाउजुलाई औषधी भनी दिइएको वस्तु विष हो भन्ने कुराको भ्रममा र डर त्रासमा पारी झुण्डाउन खोजेको अवस्थामा पनि मैले भाउजुलाई वचाउन खोजेकी, वचाउनु पर्ने कुराको जिद्धी गरी रोएकी, तर पनि मैले भाउजुलाई वचाउन नसकेकी भन्ने कुरो मेरो अदालतको वयानवाट प्रष्ट छ । मैले भाउजुलाई मार्ने कुनै पनि काममा योजना, षडयन्त्र र सहयोग गरेकी नहुँदा पुनरावेदन अदालत नेपालगंजको फैसला वदर गरी सफाइ पाउँ भन्ने व्यहोराको प्रतिवादी शुभद्रा रोका मगरको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

            २८.   मृतकको मृत्यु झुण्डिई मरेको भन्ने पोष्टमार्टम रिपोर्टमा देखिएको छ । बिष सेवनवाट भएको प्रमाणित भएको छैन । आत्मनिष्ठ वुँदा प्रयोग गरी मलाई जन्मकैदको सजाय गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला नमिलेकोले वदर गरी सफाइ दिलाई पाउँ भन्ने समेतको प्रतिवादी शंकर कुमार गुप्ताको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

            २९.   मृतक सिमा रोक्का मगरले झुण्डिएर आत्महत्या गरेको सत्य तथ्यलाई उल्लेख गरी दिएको गुमान सिंह रोक्का मगरको जाहेरीलाई वेवास्ता गरी गरिएको फैसला आत्मनिष्ठ हुँदा पुनरावेदन अदालतको त्रुटीपूर्ण फैसला उल्टी गरी सफाइ दिलाई पाउ भन्ने समेतको प्रतिवादी प्रकाश चन्दको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

            ३०.   प्रतिवादी शुभद्रा रोका समेतको पुनरावेदन परिसकेको हुनाले प्रस्तुत मुद्दा पुनरावेदककै रोहवाट हेरिने हुँदा साधक नं. ४४० को लगत कट्टा गरी दिनु । प्रतिवादी मध्येका शंकर कुमार गुप्ता र प्रकाश चन्दको हकमा सह अभियुक्तको पोल वाहेक निजहरुले कसूर गरेको भन्ने तथ्ययुक्त आधार देखिन नआएवाट शुरु र पुनरावेदन अदालत नेपालगञ्जको फैसला फरक पर्ने देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम वमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६०।२।१६ को आदेश ।

            ३१.   नियम वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत  मुद्दामा मिसिल संलग्न कागजात समेतको अध्ययन गरी पुनरावेदक प्रतिवादी शंकर कुमार गुप्ताको तर्फवाट उपस्थित विद्वान अधिवक्ता डा.रंजित भक्त प्रधानाङ्गले  प्रतिवादी शुभद्राले आफूले कसूर गरेमा सावित भै मेरो पक्ष समेतलाई पोल लगाएको भएतापनि प्रस्तुत मुद्दामा त्यस्तो सहअभियुक्तको पोल मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणवाट स्थापित हुन सकेको छैन । सहअभियुक्तहरुको पोल र जाहेरवालीको उजुरीको आधारमा मात्र प्रतिवादीहरुलाई कसूर अपराधमा सजाय गर्न सक्ने अवस्था रहन्न भनी टेकवहादुर डाँगी समेत विरुद्ध लिलावती खत्रीको जाहेरीले श्री ५ को सरकार भएको संवत २०५५ सालको फौ.पु.नं. १८८६ समेतको कर्तव्य ज्यान मुद्दा ( सर्वोच्च अदालत वुलेटीन २०५९ पूर्णाङ्क २४९ ) मा सिद्धान्त समेत प्रतिपादन भै सकेको छ । मृतकलाई मार्नु पर्ने मनसाय मिसिलवाट पुष्टि हुन नसकेको र उल्लेखित समयमा मेरो पक्षको वुवा विरामी भएको कारणवाट दाङ्गको घरमा रहेको हुँदा कसूरमा सजाय गर्न मिल्दैन । सफाइ पाउनु पर्दछ भनी, शंकर कुमार गुप्ताकै तर्फबाट अर्का विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी.ले मिति २०५२।९।६ मा मृतकको सहोदर देवरले दिएको जाहेरीमा मृतकले आत्महत्या गरेको भन्ने उल्लेख छ । तर उक्त जाहेरीलाई प्रमाणमा नलिई धेरै पछि २०५२।९।३० मा मृतकका लोग्नेले दिएको जाहेरीलाई प्रमाणमा लिइएको छ । मेरो पक्षको कसूर प्रमाणित हुने एउटा मात्र कारण प्रतिवादी शुभद्राको वयान मात्र हो । मिति २०५२।९।६ गते काठमाडौंबाट फर्केका मृतकका लोग्ने जाहेरवाला रेकवहादुरलाई घटनाको वास्तविकता वहिनी प्रतिवादी शुभद्राले मिति २०५२।९।२९ मा मात्र भनेकीले निजले थाहा पाएको भन्ने कुरा स्वभाविक देखिंदैन । विष दिएको भन्ने कुरा समेत मिसिल संलग्न प्रमाणवाट पुष्टी  हुन नसकेकोले शुरु र पुनरावेदनको फैसला मिलेको छैन सफाइ पाउनु पर्दछ भनी अर्का प्रतिवादी शुभद्रा रोका मगरको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री आशिष अधिकारीले मेरो पक्षले मृतकलाई खुवाएको पदार्थ विष होइन भन्ने तथ्यलाई पुनरावेदन अदालतको फैसलाले समेत स्वीकार गरेको छ । झांक्री वोलाउन गएको तथ्य मृतकको  छोरा भेगवहादुरले गरेको वकपत्रवाट समेत पुष्टी भएकोले प्रतिवादी शुभद्राको मार्ने भन्दा पनि वचाउने कुरामा वढी संलग्नता छ । झुण्ड्याउने कार्यमा समेत मेरो पक्षको कुनै संलग्नता नहुँदा सफाइ पाउनु पर्दछ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो । त्यस्तै प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फवाट उपस्थित उपन्यायाधिवक्ता श्री बिश्वराज कोइरालाले प्रतिवादी शुभद्रा रोका मगर कसूर अभियोग लागेकी अभियुक्त हुन । कुनै उनाउ व्यक्ति वा कसैलाई कसूरमा फसाउनु प¥यो  भनेर आएकी होइनन् । उनले कसूरमा सावित भै गरेको वयानलाई प्रमाणमा लिन नमिल्ने भन्न मिल्दैन । अपराधको सिलसिलामा दोस्रो जाहेरी दिन नपाइने होइन । मृतक वेहोस अवस्थामा रहेकोले प्रतिरोध गर्न सकेको अवस्था छैन । एउटा प्रतिवादीले कर्तव्य नै हो भनी स्वीकार गरिसकेको अवस्था हुँदा पुनरावेदन अदालतवाट भएको फैसला सदर रहनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

            ३२.   प्रस्तुत मुद्दामा मिसिल हेर्दा प्रतिवादीहरु प्रकाश चन्द र शुभद्रा रोका मगरको हकमा मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. र प्रतिवादी शंकर कुमार गुप्ताको हकमा ऐ.को १३(४) नं. को अभियोग माग दावी रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालगंजले शुरु वर्दिया जिल्ला अदालतको फैसला सदर गरी ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिमको सजाय ठहर भएका प्रकाश चन्दको र सोही महलको १३(४) नं. वमोजिमको सजाय ठहर भएका शंकर कुमार गुप्ताको पुनरावेदनको साथै शुरु जिल्ला अदालतले ऐ.महलको १६ नं. वमोजिम सजाय हुने ठहर भएका शुभद्रा रोका मगरलाई ऐ.को १३(३) नं. वमोजिम सजाय हुने भनी शुरुको फैसला उल्टी गरेकाले शुभद्रा रोका मगर समेत तीन जनाको यस अदालतमा पुनरावेदन परेको देखिन आउँछ ।

            ३३.   अब प्रतिवादी मध्येका शुभद्रा रोकाको तफवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री आशिष अधिकारी, प्रतिवादी शंकर कुमार गुप्ताको तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता डा.रजित भक्त प्रधानाङ्ग र निजै तर्फवाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी. एवं प्रत्यर्थी श्री ५ को सरकारको तर्फवाट प्रतिनिधित्व गर्नु हुने विद्वान उपन्यायाधिवक्ता श्री बिश्वराज कोइरालाको बहस समेतलाई दृष्टिगत गर्दा मृतक सिमा रोका मगरको मृत्यु कर्तव्यवाट भएको हो, होइन ? र कर्तव्यवाट निजको मृत्यु भएको अवस्थामा प्रतिवादीहरुको संलग्नता रही अभियोग दावी वमोजिम निजहरुको कसूर कायम हुने हो होइन ? भन्ने सम्बन्धमा निर्णयार्थ विचार गर्नुपर्ने देखिन आएको छ ।

            ३४.   तत्सम्बन्धमा विचार गर्दा मिति २०५२।९।५ गते मृतक सीमा रोका मगरको मृत्यु भएको देखिन्छ । मृतक सिमा रोका मगरलाई झुण्ड्याई मारेको कुरामा प्रतिवादीहरु शुभद्रा रोका, प्रकाश चन्द र शंकर कुमार गुप्ता अनुसन्धान अधिकारी समक्ष भएको वयानमा सावित देखिन्छन। अदालत समक्ष आई वयान गर्दा समेत भाउजु सीमा रोकालाई झुण्ड्याई मारेको कुरामा प्रतिवादी शुभद्रा रोका मगर सावित नै रहेको पाइन्छ । निजले आफ्नो अदालत समक्षको वयानमा शंकर कुमार गुप्तासँग मेरो प्रेम सम्बन्ध थियो । सो वारे भाउजु सिमाले गाली, कुटपीट गर्ने भएकाले प्रकाश चन्दले बिषालु झोल पदार्थ मलाई दिई मैले सो बिष जाँडमा मिसाई भाउजुलाई खान दिए। जाड खाएपछि भाउजु बेहोस हुनुभयो । बेहोस भएपछि हामी ३ जना मिली झुण्ड्याई भाउजुलाई मारेका हौं भनी अन्य प्रतिवादी प्रकाश चन्द र शंकर कुमार गुप्तालाई समेत पोल गरेको देखिन्छ। प्रतिवादी प्रकाश चन्द र शंकर कुमार गुप्ता अदालत समक्ष भएको वयानमा कसूरमा इन्कार देखिएपनि निजहरुको अनुसन्धान अधिकृत समक्ष भएको साविती वयान, एवं सह अभियुक्त शुभद्रा रोकाको अनुसन्धान अधिकृत र अदालत समक्ष भएको वयानवाट समेत कसूर वारदातमा प्रतिवादीहरुको संलग्नता समर्थित भइरहनुको साथ साथै घटनास्थलवाट वरामद भएको फुटेको चुरा, महिला नदी (नाला) वाट वरामद भएको औषधिको शिशी, उल्टी गरेको देखिएको भन्ने घटनास्थल तथा लाश प्रकृति मुचुल्का समेतवाट प्रतिवादी शुभद्राको वयान समर्थित हुन आएकाले मृतक सीमा रोका मगर जाँडमा मिसिएको औषधी खाएवाट बेहोसी भएको पुष्टी हुन आएको छ । मृतक सीमा रोका मगरको मृत्यु झुण्डिएको कारणवाट भएकोमा विवाद छैन । औषधी मिसावट भएको जाँड सेवन पछि भएको बेहोसी र वाध्यतावाट मृतक आफै झुण्डि मरेको भन्ने अवस्था देखिंदैन र सो कुराको जिकिर प्रतिवादीहरुले लिन पनि सकेको देखिएन ।

            ३५.   वारदातको पृष्ठभूमिलाई विचार गर्दा अं. वर्ष १७ की प्रतिवादी शुभद्रा रोका मगर एउटा विवाहिता केटी रहेकी, निज लोग्ने सँग वस्न नसकी माइत आई बसेकी र सोही अवस्थामा २०५१ साल देखि अं. वर्ष २१ को प्रतिवादी शंकर कुमार गुप्तासँग निजको सम्बन्ध रहेको भन्ने देखिन्छ । सो सम्बन्धको कारणले प्रतिवादी शंकर कुमार गुप्ता अघि देखि नै प्रतिवादी शुभद्राको माइती घरमा आउने जाने गरेको र यस अघि निज प्रतिवादी शुभद्राको कान्छा दाजु गुमान सिंहको घरमा रहेकीमा सो सम्बन्धको कारणले त्याहां वस्न नसकेकी भन्ने समेत देखिन आउँछ। तद्उप्रान्त निज आफ्ना जेठा दाजु पछिल्ला जाहेरवाला रेकवहादुरको घरमा वसी आएकोमा निजले प्रतिवादी शंकर कुमार गुप्ता सँगको सम्बन्धलाई निरन्तरता दिएकै कारणले दाजु रेकवहादुर र भाउजु सीमा रोका मगर द्वारा हप्की खप्की खाने गरेको समेत देखिन आउँछ । वारदातको अवस्था भन्दा केही समय अघि देखि दाजु रेकवहादुर काठमाडौं गएको अवस्था भाउजु र सानु ११ बर्षको भदाहा घरमा रहेकोमा लठ्याउने औषधी जाँडमा मिलाई भाउजुलाई खुवाएको भन्ने अनुसन्धान क्रममा निजले गरेको वयानवाट देखिन्छ । यसैगरी घटनास्थलवाट बिषालु पदार्थहरु नभेटिएको र मृतकको भिसेरा जाँच हुन नसकेको स्थिति देखिन्छ भने मृतकले पटक पटक वान्ता गरी अशक्त र बेहोश हुन लागेवाट प्रतिवादी शुभद्रा आत्तिएर झाँक्री वोलाउन गएको भन्ने तथ्य समेत मिसिलवाट खुल्न आउँछ ।

            ३६.   उपरोक्त तथ्यहरुलाई विचार गर्दा निज प्रतिवादी शुभद्राले मृतक सीमा रोका मगरलाई मार्ने मनसायले लठ्याउने पदार्थ जाँडमा मिसाई खुवाएको भन्ने नदेखिई निजलाई निस्लोट निन्द«ामा पारी प्रतिवादी शंकर कुमार गुप्ता समेतको सम्पर्कको वातावरणको परियोजना गरेको सम्म संभावना देखिन आउँछ । झाँक्री आउन नमानेपछि निजले स्वभावत प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दलाई खवर गरेको र निज समेतको उपस्थितिमा निजहरुको कर्तुत जगजाहेर हुने डरले आत्तिएर निजहरु तिनै जनाले संयुक्त रुपमा सिमा रोका मगरलाई अर्धचेत अवस्थामा लगी डोरीले बाँधी उचाली झुण्ड्याई सोही झुण्ड्याएको कारणवाट मृतकको मृत्यु भएको देखिन्छ । प्रतिवादी शंकर कुमार गुप्ता र प्रकाश चन्दको हकमा समेत अदालतमा भएको प्रतिवादी शुभद्रा रोकाको साविती समेतवाट पोलिएका निज प्रतिवादीहरु केवल सह अभियुक्तको पोलवाट मात्र कसूरदार देखिन नआई निज प्रतिवादीहरुको मौकाको साविति र अन्य सवुद तथा परिस्थितिजन्य प्रमाण समेत द्वारा समर्थित भरहेको देखिएकाले निजहरु तिन जनालाई अभियोग दावी वमोजिमको कसूरदार ठहर गरी प्रतिवादी प्रकाश चन्द र शुभद्रा रोका मगरलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. र प्रतिवादी शंकर कुमार गुप्तालाई ऐ.को १३ (४) नं. को सजाय हुने ठहर गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । 

            ३७.   सजायको हकमा अपराधमा संलग्न यि प्रतिवादीहरुको उमेर, अपराधको परिस्थिति र अवस्थालाई विचार गर्दा प्रतिवादीहरु १७ देखि २१ बर्ष सम्मका कच्चा उमेरका अपरिपक्व अवस्थाका व्यक्तिहरु देखिन आउँछन् । दाजु भाउजुको इच्छा विरुद्ध गैर वैवाहिक सम्बन्ध र सम्पर्कका लागि घरमा भएकी भाउजुलाई लठ्याउने औषधी खुवाउँदा पटक पटक वान्ता हुनु र अर्धचेतन वा अचेत अवस्थामा पुग्नुवाट स्वभावतः आत्तिई झाँक्री वोलाउँदा झाँक्री समेत नआएको कारणले वुद्धि विवेक नपुगी प्रतिवादीहरु समेत भै कुरा फैलने डरले भाउजुलाई संयुक्त रुपमा झुण्ड्याएको भन्ने देखिन आएको र मार्ने मनसायले पूर्ण तयारी गरेको नदेखिएकोले नियोजित रुपमा कुनै निकृष्ट लोभ वा प्रयोजनको लागि जघन्य अपराध घटाउने प्रतिवादी सरह निजहरुलाई सजाय गर्दा चर्को पर्ने देखिई निज तीनै जना प्रतिवादीहरुलाई मुलुकी ऐन अ.वं. १८८ नं. ले जनही ८ (आठ) बर्ष कैदको सजाय गर्दा इन्साफको मकसद पुरा हुने देखिएकाले सोही वमोजिमको कैदको सजाय हुने ठहर्छ । अरुमा तपसील वमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादीहरु शुभद्रा रोका मगर, प्रकाश चन्द र शंकर कुमार गुप्ता के, माथि ठहरे वमोजिम पुनरावेदन अदालतको इन्साफ मुनासीव ठहरी सजायको हकमा जनही ८ (आठ) वर्ष मात्र कैद हुने ठहरेकोले शुरु जिल्ला अदालत र पुनरावेदन अदालतले राखेको लगत कट्टा गरी निजहरु मिति २०५२।१०।८ देखि थुनामा रहेको देखिएकाले सोही मितिवाट लागू हुने गरी  निजहरुका हकमा कैद जनही वर्ष ८ (आठ) को लगत कायम राखी सो वमोजिम कैद लगत असूल गर्न शुरु वर्दिया जिल्ला अदालतमा लगत पठाई दिनु .................१

मिसिल नियमानुसार वुझाई दिनु ..१

 

उक्त रायमा म सहमत छु ।

                         

प्र.न्या.केदारनाथ उपाध्याय

 

इति सम्बत् २०६० साल भाद्र २६ गते रोज ६ शुभम् ..............।

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु