शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३१२ - सार्वजनिक अपराध ।

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय नं. ७३१२     ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री वलिराम कुमार

सम्बत् २०५७ सालको फौ.पु.नं. ...२२५५

फैसला मितिः  २०६०।१२।२।२

 

मुद्दा :सार्वजनिक अपराध ।

 

पुनरावेदक     

वादी घनश्याम न्यौपानेको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी

प्रतिवादी वाग्लुङ्ग जिल्ला वाटाका चौर गा.बि.स.वडा नं. २ वस्ने धनप्रसाद न्यौपाने समेत

 

§  सार्वजनिक स्थान भन्नाले स्वभावैले सवैको सजिलैसंग पहुँच हुने स्थानलाई जनाउँछ । सार्वजनिक स्थानमा सबैको पहुँच सजिलैसंग हुने भएकोले त्यस्ता ठाउमा कुटपीट गरी वा अन्य कृयाद्वारा शान्तिभंग गर्ने कार्य गरेमा रोकथाम गर्नु र त्यस्तो घटना वा वारदातमा संलग्न व्यक्तिलाई सजाय दिनु यस ऐनको मुख्य उद्देश्य रहेको देखिने ।

§  निजी गोठघर जग्गामा कुटपीट भएकोमा न्याय मांग गर्न आउन जाहेरवालालाई अन्य प्रचलित नेपाल कानून मुलुकी ऐन कुटपीटको महलले छुट्टै व्यवस्था गरीरहेको देखिन आउँदा एउटा ऐनको वाटो अपनाई आउनु पर्नेमा लाग्दै नलाग्ने ऐनको वाटो समाई प्रवेश गरेको अवस्थामा लाग्दै नलाग्ने ऐनको व्याख्या गरी प्रतिवादीहरुलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउने ।

(प्र.नं. १८)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापा    

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

आदेश

            न्या.वलिराम कुमारः पुनरावेदन अदालत वाग्लुङ्गको मिति २०५७।१।२७ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :

            २.    मिति २०५६।२।१८ गते बेलुका १० बजेका समयमा म विरामी भएको हुँदा लामाद्वारा झारफूक गरी खोजी भैरहेको बिपक्षीहरुले मेरो गोठनेरको सार्वजनिक वाटोबाट वोलाउनु भएको र म विरामी मानिसलाई किन वोलाउनु भएको भनी जांदा मलाई देख्ने वित्तिकै रातको समय बिपक्षीहरुले हातमा समाई रहेका लाठी समेतले मेरो गोठनेरको सार्वजनिक वाटोमा कुटपीट गरी मरणासन्न अवस्थामा पुर्‍याएका हुँदा निजहरु उपर केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ अन्तर्गत कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको घनश्याम शर्माको जाहेरी  दरखास्त

            ३.    निज घनश्याम शर्माको छाला खुइलिएको र आंखामा समेत निलडाम भएको भन्ने घा जांच केश फाराम ।

४.    सार्वजनिक वाटोमा वारदात भएको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

            ५.    मिति २०५६।२।१८ गते राती जाहेरवालाको घरमा गुहार सुनी जांदा जाहेरवाला शख्त घाइते भएका, सोधपुछ गर्दा जाहेरीमा उल्लेखित प्रतिवादीहरु र अन्य नचिनेका ८।९ जना मानिसले कुटपीट गरी भागी गएका भन्ने हिमवहादुर वि.क. ले प्रहरीमा गरेको कागज

६.    प्रतिवादीहरुले जाहेरवालालाई कुटपीट गरी भागी बेपत्ता भएका र हाल निजहरु गाउँ घरमा देखा परेका छैनन् भन्ने समेत व्यहोराको रिम बहादुर वस्नेत, गोविन्द न्यौपाने, केशवराज न्यौपाने, राधिका न्यौपाने, भैरवहादुर कार्की, हेमकला शर्मा र देववहादुर थापाले प्रहरीमा गरेको कागज ।

            ७.    गाउँ घरमा खोजतलास गर्दा प्रतिवादीहरु फेला नपरेको भन्ने प्र.स.नि. गोपाल बहादुर वस्नेतको प्रतिवेदन ।

            ८.    प्रतिवादीहरुले जाहेरवालालाई रातको समयमा सार्वजनिक स्थानमा  वोलाई कुटपीट गरी केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को देहाय (ख) (ग) (ज) अनुसारको अपराध कसूर गरेका हुँदा सोही ऐनको दफा ६(१) अनुसार सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

            ९.    मिति २०५६।२।१८ गते सांसद निर्वाचनको बिजयी र्‍याली भएको हुँदा सो को खवर लगी सो दिन हुग्दीशिर गा.बि.स.का अध्यक्षको घरमा वसी भोलिपल्ट १९ गते मात्र घरमा आएको हुम् । जाहेरी अनुसारको  घटना मैले घटाएको होइन । जाहेरवालालाई को कसले कुटपीट गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशरवहादुर सार्कीले जिल्ला प्रशासन कार्यालयमा गरेको वयान कागज ।

            १०.    किसिमकोटको स्कूलमा मेरो पसल भएको हुँदा मिति ०५६।२।१८ गते म मेरै पसल किसिमकोटमा छु । मैले  जाहेरवालालाई कुटपीट  समेत  केही गरेको  होइन । जाहेरी  झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी धन प्रसाद  न्यौपानेले जिल्ला प्रशासन  कार्यालयमा गरेको वयान ।

            ११.    प्रतिवादीहरु केशरवहादुर सार्की र धनप्रसाद न्यौपाने तथा नचिनेका ८।९ जना भै रातको समयमा जाहेरवालाई वोलाई सार्वजनिक वाटोमा कुटपीट गरेका हुन भन्ने समेत व्यहोराको वादीका साक्षी घनश्याम शर्मा, गोविन्द न्यौपाने, केशवराज न्यौपाने, हेमकला न्यौपाने र राधिका न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा गरेको वकपत्र ।

            १२.   प्रतिवादीहरुले जाहेरवालालाई कुटपीट समेत केही गरेका होइनन् भन्ने समेत व्यहोराको प्रतिवादीहरुका साक्षी शालिकराम सुवेदी, पूर्ण वहादुर खनाल, जगवहादुर पुन र वेणी माधव न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा गरेको वकपत्र ।

            १३.   वादीका साक्षीहरुले पनि यिनै प्रतिवादीहरुले जाहेरवालालाई कुटपीट गरेका हुन भनी वकी लेखाई दिएको समेतका प्रमाणवाट मिति ०५६।२।१८ गते राती प्रतिवादीहरुले जाहेरवालालाई सार्वजनिक वाटोमा वोलाई कुटपीट गरी केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ अनुसार  कसूर अपराध गरेको देखिन आएको हुँदा कसूरको मात्रा विचार गरी सोही ऐनको दफा ६(१) अनुसार प्र.मध्येका केशरवहादुर सार्कीलाई रु. ३,०००।तिन हजार र अर्का प्रतिवादी धनप्रसाद न्यौपानेलाई रु. ५००।पांचसय जरीवाना समेत हुन्छ भन्ने समेत व्यहोराको जिल्ला प्रशासन  कार्यालय, वाग्लुङ्गको मिति २०५६।११।५।५ को फैसला ।

            १४.   हामीहरुले जाहेरवालालाई कुटपीट नै गरेका छैनौं । वारदात स्थलमा पनि हामीहरु छैनौं। जाहेरवालाको जाहेरी कार्यालयमा आई सनाखत गर्दा वाझिएको छ । वादीका साक्षीहरुको वकपत्र पनि एकआपसमा वाझिएको छ । हामीहरुलाई दोषी प्रमाणित गर्नु पर्दा सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को कुन चाँही देहाय दफा अनुसारको अपराध गरेका हौं भन्ने पुष्ट्याई हुने गरी ठहर निर्णय गर्नुपर्नेमा केवल ऐनको दफा मात्र उल्लेख गरी हचुवा भरमा भएको फैसला वदर गरी न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी धनप्रसाद न्यौपाने र प्रतिवादी केशरवहादुर सार्कीको पुनरावेदन अदालत वाग्लुङ्गमा परेको पुनरावेदन पत्र। 

            १५.   प्रतिवादीहरु इन्कारी रहेका र सो कुरालाई प्रतिवादीका साक्षीहरुले समर्थन गरी वकेका वादीका साक्षीहरुको वकाइमा एकरुपता नभएको र जाहेरी दरखास्त मै गोठनेरको सार्वजनिक वाटो गल्लीको माथि वारीको गरामावारदात भएको भनी त्यस्तो स्थानलाई सार्वजनिक स्थान मानी प्रतिवादीहरुलाई कसूरदार ठहर्‍याई साजाय गर्ने गरेको शुरु जिल्ला प्रशासन कार्यालय, वाग्लुङ्गको इन्साफ विचारणीय हुँदा छलफलका लागि बिपक्षी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वाग्लुङ्गको मिति ०५७।१।१३।३ को आदेश ।

            १६.    वारदातको आरोपित स्थिति, घाउ जांच केश फाराम शंकाजन्य स्थिति समेतको समग्र अवस्थावाट मात्र प्रतिवादीहरुलाई सजाय गर्नुपर्ने अवस्थामा अनुमान कै आधारमा सजाय गर्न नमिल्ने न्याय सिद्धान्त समेतवाट शुरु जिल्ला प्रशासन कार्यालय वाग्लुङ्गका प्रमुख जिल्ला अधिकारीवाट प्रतिवादीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को कसूरमा दफा ६ (१) अनुसार सजाय गर्ने गरेको मिति २०५६।११।५ को फैसला मिलेको नदेखिंदा शुरु फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वाग्लुङ्गको मिति २०५७।१।२७ को फैसला ।

            १७.   पुनरावेदन अदालतवाट शुरु इन्साफ उल्टी भई प्रतिवादीहरुले सफाइ पाउने गरी भएको फैसलावाट चित्त नबुझेकोले पुनरावेदन प्रस्तुत गरीएको छ । प्रतिवादीहरुले जाहेरवालालाई सार्वजनिक गल्ली वाटोमा कुटपीट गरेको कुरा पुष्टी गरीरहेको आधार तथा प्रमाणहरुवाट पुनरावेदन अदालत वाग्लुङ्गवाट भएको फैसला कानून सम्मत नभएको हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरुलाई सजाय हुन सादर अनुरोध छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १८.   नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फवाट विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापाले गर्नु भएको वहस जिकिर समेत सुनी निर्णय तर् विचार गर्दा घरमा वसिरहेको अवस्थामा मेरो गोठ वारीनेरवाट बिपक्षी प्रतिवादीहरुले वोलाई वाहिर जांदा गोठ वारीको सार्वजनिक वाटोमा बिपक्षीहरुले लाठीले हिर्काई मरणासन्न अवस्थामा पुर्‍याएकोले निजहरुलाई केही सार्वजनिक (अपराध र सजाय ) ऐन, २०२७ को दफा २ को (ख) (ग) (ज) को कसूर अपराधमा पक्राउ गरी सजाय गरीपाउँ भन्ने मांग गरी परेको जाहेरीवाट अनुसन्धान तहकिकात भै प्रस्तुत मुद्दा पर्न आएको देखिन्छ । सो केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा २ को खण्ड (ख) (ग) (ज) को व्यवस्था हेर्दा सार्वजनिक स्थानमा कुटपीट वा हुल हुज्जत गरी शान्तिभंग गरेमा सो ऐन अन्तर्गतको अपराध हुन जाने देखिन्छ । सार्वजनिक स्थान भन्नाले स्वभावैले सवैको सजिलैसंग पहुँच हुने स्थानलाई जनाउँछ । सार्वजनिक स्थानमा सबैको पहुँच सजिलैसंग हुने भएकोले त्यस्ता ठाउमा कुटपीट गरी वा अन्य कृयाद्वारा शान्तिभंग गर्ने कार्य गरेमा रोकथाम गर्नु र त्यस्तो घटना वा वारदातमा संलग्न व्यक्तिलाई सजाय दिनु यस ऐनको मुख्य उद्देश्य रहेको देखिन्छ । प्रस्तुत मुद्दामा जाहेरी दरखास्तवाटै जाहेरवाला आफ्नै घरमा वसिरहेको, बसिरहेको घरको नजिकै रहेको गोठ घर नजिकवाट बिपक्षीहरुले वोलाएको र सो गोठघरको खेत वाटोमा हिर्काएको भन्नेवाट सो जाहेरवालाको घरगोठ र आफ्नो निजी जग्गामा वारदात भएको भन्ने देखिन आउँछ । यस्तो निजी गोठघर जग्गामा कुटपीट भएकोमा न्याय मांग गर्न आउन जाहेरवालालाई अन्य प्रचलित नेपाल कानून मुलुकी ऐन कुटपीटको महलले छुट्टै व्यवस्था गरीरहेको देखिन आउँछ । यसरी एउटा ऐनको वाटो अपनाई आउनु पर्नेमा लाग्दै नलाग्ने ऐनको वाटो समाई प्रवेश गरेको अवस्थामा लाग्दै नलाग्ने ऐनको व्याख्या गरी प्रतिवादीहरुलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउँदा शुरु फैसला उल्टी गरी आरोपित कसूरबाट प्रतिवादीहरुलाई सफाइ दिने ठहर गरेको पुनरावेदन अदालत वाग्लुङ्गको फैसला मिलेकै देखिंदा सदर हुन्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छु ।

 

प्र.न्या.गोविन्दवहादुर श्रेष्ठ

 

इति सम्बत् २०६० साल चैत्र २ गते रोज २ शुभम् .......

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु