शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३१५ - मोही कायम गरी पाउँ

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय नं. ७३१५    ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

माननीय न्यायधीश श्री रामप्रसाद श्रेष्ठ

सम्बत् २०५६सालको दे.पु.नं.५८६१

फैसला मितिः २०६०।१२।६।६

 

मुद्दा : मोही कायम गरी पाउँ ।

 

पुनरावेदक

वादीः का.जि.का.म.न.पा.वडा नं ९ वस्ने चोल कुमारी आचार्य

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः का.जि.गोठाटार गा.वि.स. वडा नं १ वस्ने कृष्णराज पुडासैनी समेत

 

§  आफ्नो नाउँको मोही हक छोडपत्र गरी दिन कानूनले अधिकार दिएको नपाइदा जग्गाधनीको जस्तो अधिकार प्रयोग गरी मोही छोडपत्र गर्दैमा चोल कुमारीको मोही हक स्थापित हुन नसक्ने ।

§  जग्गाधनी र मोही वीच कुतको कवुलियत सम्वन्धमा दोहोरो कवुलियत गरिलिई दिई सम्वन्धित तोकिएको निकायमा दाखेल गर्नुपर्नेमा सो भए गरेको नदेखिएको स्थितिमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिमको कुतवाली वुझाएको भरपाइ नभएको र पारीत हुन नसकेको २०२४।५।१८ को छोडपत्रको लिखत र कार्यविधि पुरा नगरिएको जग्गाधनीले २०२४।५।१९ मा गरिदिएको भनिएको कवुलियतको आधारमा विवादित जग्गाको मोही वादी कायम हुन सक्ने र मोहियानी हकको प्रमाण पत्र पाउँछ भन्न नमिल्ने ।

(प्र.नं. १६ र १७)

                                                           

पुनरावेदक वादी तर्फवाटः                         

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनको मिति २०५६।५।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा ठहर यसप्रकार छ :

            २.    साविक वत्तिस पुतली गा.वि.स.हाल का.न.पा. वडा नं ९ अन्तरगर्त पर्ने वतिस पुतली वडा नं. ६ कित्ता नं. ९५ को ०१०० जग्गाको  जग्गाधनी डम्वर मान श्रेष्ठ र निर कुमारी भएको र जोताहा मोही कृष्ण कुमारी वस्नेत जनिएकोमा निज मोहीले नकमाई मैले अधि देखि नै कमाई २०२४ सालमा पक्कि घर वनाई वसोवास गरी भोग चलन गरि आएको । निज कृष्ण कुमारी वस्नेतले साविक वमोजिम भोग चलन गरि खानु भनि मेरै नाममा मोही कायम हुने गरि सम्वन्धित पंचायतमा २०२४।५।१८मा छोडपत्र समेत गरि दिएको र ज.ध.ले समेत २०२४।५।१९ मा कुत कवुलियत समेत गरि दिई मैले भोग चलन गरि घरवास गरि आएकोले उक्त कित्ताको मोही मेरो नाममा कायम गरी मोही प्रमाण पत्र पाउँ भन्ने समेत चोल कुमारी आचार्यको २०४५।१।३ को निवेदन भएको र मोठ श्रेस्ता फिल्डवुक र २ नं. अनुसूची समेतमा उक्त कित्ता नं. ९५ को मोही कृष्ण कुमारी वस्नेत भएको देखिएको ।

            ३.    निवेदिका चोल कुमारी आचार्यको माग वमोजिमको कि.नं ९५ को जग्गाको मोही आमा कृष्ण कुमारी वस्नेत भएको भएतापनि आमाले खन जोत नगरि २०२४ साल देखि नै चोल कुमारी आचार्यले खन जोत गरि आएको र आमा कृष्ण कुमारीले छोडपत्र समेत गरी दिएको र आमा परलोक समेत भै सकेकोले उक्त कित्तामा निज चोल कुमारीको मोही कायम गरि दिएमा मन्जुर छ भन्ने भोलामान सिं वस्नेतको २०४५।२।३१ को निवेदन ।

            ४.    मिति २०४५।२।३१ को निर्णय वाट कृष्ण कुमारी वस्नेत कट्टा गरि चोल कुमारी आचार्यका नाममा मोही प्रमाण पत्र दिएको सो प्रमाण पत्र उपर कृष्ण राज पुडासैनीले ज.ध.लाई वुझ्दै नवुझि चोल कुमारी आचार्यलाई मोही प्रमाण पत्र दिएको वदर गरि पाउँ भनि श्री सर्वोच्च अदालतमा दिएको रिट निवेदनवाट मोहियानी हक एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्याङ्कन गरि तोकिएको आधिकारी स्वयमले प्रक्रिया पुरा गरि निर्णय गर्नुपर्नेमा जग्गाधनीलाई वुझ्दै नवुझि फाँटवालाले मुद्दाको संक्षिप्त तथ्य उध्रित गरि उचित निर्णयको लागी पेश गरेको टिप्पणीमा कुनै राय नै व्यक्त नगरि प्रशासनिक टिप्पणीमा टिप्पणी उठाउनेको राय सरह को संझि सदर मात्र गरि निर्णय गरेको अ.वं.१८५ ने.का.प. २०३८ पृष्ठ २९ मा यस अदालतवाट प्रतिपादित सिद्धान्त समेत विपरीत निर्णय भएको देखिएकोले उक्त मिति २०४५।२।२१ को निर्णय उत्प्रेषणको आदेश द्वारा वदर गरिएको छ । अव कानून वमोजिम पुनः निर्णय गर्नु भनि २०४८।६।२ मा श्री सर्वोच्च अदालतवाट परमादेशको आदेश समेत जारि भएको मिसिल प्राप्त भएको ।

            ५.    का.जि.साविक वत्तिस पुतली वडा नं ९ कि.नं ९५ को ०१०० को जग्गाधनी डम्वर मान श्रेष्ठ र निर कुमारी समेत र जोताहा मोही कृष्ण कुमारी वस्नेत भएकोमा निजले जग्गा खनजोत नगरि ज.ध.तथा मोही समेतको मन्जुरीवाट २०२४।५।१९ मा कवुलियत समेत गरि लिई मैले मेरा हकभोगको कि.नं ९४ सांधसंग जोडिएको जग्गा समेत समावेश हुने गरि घर वनाई वसोवास गरि मेरो हक भोग रहेकोले मोहियानी हक कायम गरि पाउँ भन्ने निवेदन गरि २०४५।२।३१ को निर्णयवाट मोही प्र.प.समेत प्राप्त गरिसकेकोले उक्त जग्गाको ज.ध. कृष्ण राज पुडासैनी भएको थाहा थिएन । हालमा ज.धले २०४५।२।३१ मा भएको निर्णय उपर श्री सर्वोच्च अदालतमा रिट निवेदन गरि मेरो नाममा म्याद प्राप्त भए पछि मात्र थाहा भयो । उक्त रिट निवेदनमा मिति २०४८।६।२ को निर्णयले मुलतः ज.ध.कृष्ण राज पुडासैनीलाई वुझ्दै नवुझि निर्णय गरेको हुँदा निजलाई समेत वुझि पुनः निर्णय गर्ने भन्ने परमादेश समेत जारी भएको हुँदा निजलाई समेत वुझि पुनः निर्णय गरि मेरा नाममा मोही कायम गरि पाउँ भन्ने समेत व्यहोराको चोल कुमारी आचार्यको २०४९।१।१६ को निवेदन भएको ।

            ६.    मिति २०४९।१।१८ को आदेश वमोजिम जग्गाधनी कृष्ण राज पुडासैनीलाई म्याद जारि गरि वुझ्दा म्यादमा हाजिर भै उक्त कि.नं ९५ को मोही कृष्ण कुमारी भनी लेखिएको, मैले जग्गा पारीत गरि लिंदा समेत निजकै नाम उलल्ेख भएको र निजले खनजोत नै नगरेको कुरा विपक्षीले नै यसै कार्यालयमा दिएको निवेदनवाट स्पष्ट हुन्छ । यसरी निजले जोत भोग नगरि वसेको उक्त कित्तामा चोल कुमारी आचार्यलाई मोही कायम गरि दिएको यस कार्यालयको निर्णयमा जग्गाधनीलाई वुझ्दै नवुझि विना निर्णयमा टिप्पणी सदर गरि चोल कुमारीलाई मोही नामसारी गरेको श्री सर्वोच्च अदालतको २०४८।६।२ को निर्णयले वदर गरेको छ । भु.स.ऐन,२०२१को दफा २५(१) वमोजिम आफुले खनजोत नगरि अरुलाई कमाउन दिएको अवस्थामा त्यस्तो मोहीको अधिकार समाप्त हुने व्यवस्था उक्त ऐनको दफा २५(३) (क) ले गरेको हुदा निज कृष्ण कुमारीले जग्गा नकमाई अरुलाई छोडेको भन्ने कुरा उक्त मितिवाट देखिएको र मोहियानी हक मोहीले कसैलाई छोडे भन्दैमा कानूनतः सरेको मान्यता नहुने भएकोले श्री सर्वोच्च अदालतको निर्णय पछि कृष्ण कुमारी मोही रहेकोले निजको नाम लगत कट्टा समेत गरि पाउँ भन्ने श्री कृष्ण राज पुडासैनीको २०४९।१।१८ को निवेदन ।

            ७.    विवादित कि.नं ९५ मा घर वनेको छ छैन घर वनेको छ भने कसले वनाई वसोवास गरि आएको छ स्थलगत सर्जमिन गर्न भनि कर्मचारी खटाई पठाउँदा उक्त कि.नं ९५ मा २०२६ साल भन्दा अघिनै चोल कुमारी आचार्यले घर वनाई वसोवास गरि आएकी छन भन्ने व्यहोराको सर्जमिन मुचुल्का ।

            ८.    वादी दावि वमोजिमको कित्ता २०२४।५।१८ को छोडपत्र र २०२४।५।१९ को कुत कवुलियत समेतका कागज प्रतिवादीलाई देखाई सुनाई अ.व. ७८ नं. वमोजिम कागज गराउँदा उक्त लिखतहरु तहतह हस्तान्तरण भै गै सकेपपिछ मात्र विपक्षीहरु एक आपसमा मिली मेरो हक मेटाउन जालसाजी तवरले खडा गरि पेश गरेको हुँदा जालसाजी घोषित गरि पाउँ भन्ने समेत प्रतिवादी वारेशको वयान  कागज ।

            ९.    साविक कि.नं ९५ को हाल नगर वडा नं. ९ कि.नं १९८ को जग्गामा चोल कुमारी मोही कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय काठमाडौंको २०५३।२।७ को फैसला  ।

            १०.    भूमिसुधार कार्यालय काठमाडौंको फैसलामा चित्त वुझेन । सो फैसला अ.व.१८४(क) १८५ प्रमाण ऐन, २०३१ भूमि सम्वन्धी ऐन, २०२१ तथा प्रतिपादीत सिद्धान्त समेतको प्रतिकूल हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णराज पुडासैनीको पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्र ।

            ११.    यसमा साविक मोही भनिएकी कृष्ण कुमारी नै कानून वमोजिमको मोही रहे भएको प्रमाण मिसिलमा नरहेको हुँदा निजवाट चोल कुमारीले २०२४।५।१८ मा छोडपत्र गराई लिएको भनेको कागजको मान्यता नै विवादास्पद रहेको र २०२४।५।१९ मा तत्कालको जग्गाधनीले चोल कुमारीलाई मोही राख्ने गरी भएको मन्जुरीनामाको कागजलाई भूमिसुधार ऐन, २०२१ को दफा ३४ वमोजिमको दोहोरो कवुलियत मान्न नमिल्ने भएको समेत हुँदा र घरलाई लिएर मोही कायम गर्ने कानूनी व्यवस्था नभएको हुँदा २०३० सालमै पुनरावेदकका नाममा राजिनामा भै गएपछि मात्र हाल आएर त्यस्तो कानून असम्मत प्रमाणको भर गरेर पुनरावेदकले जालसाजी तर्पm उजुर गर्न नसकेको भन्दै चोल कुमारीलाई मोही कायम गर्ने गरेको शुरु को फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको २०५५।२।२७ को आदेश ।

            १२.   यसमा कृष्ण कुमारीले चोला कुमारीलाई मोही कायम हुने गरी छोडपत्र गरिदिने हक अधिकार नभएको, छोडपत्रमा घरवारी छाडेको भन्ने नदेखाई शुद्ध मोहियानी हक मात्र छोडेको भन्ने जग्गाधनीको हक उपभोग गरेको देखिन आएको स्थितिमा त्यस्तो रजिट्रेशन पारीत नभएको लिखतको आधारमा वादीको मोही कायम हुने ठहराएको भूमिसुधार कार्यालय काठमाडौंको फैसला कानूनसंगत नभएकोले उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५६।५।२८ को फैसला ।

            १३.   उक्त फैसलामा चित्त वुझेन । विवादको कि.नं ९५ को जग्गा मोही कृष्ण कुमारी वस्नेतवाट मिति २०२४।५।१८ मा छोडपत्र गराई लिएको, २०२५ साल मै घर निर्माण गरी भोग चलन गर्दै आएको नापीमा म मोही भनि फिल्डवुकमा नाम जनाए तर्पm विपक्षीले मौकैमा उजुर नगरी स्वीकार गरी वस्नु भएको, जग्गाधनी डम्वरमान र निर कुमारीले मलाई २०२४।५।१९ मा गरिदिएको कवुलियत र वाली वुझाएको भरपाइ समेतवाट म मोही भएको प्रष्ट छ । अतः प्रमाणको मूल्याङ्कन नगरी प्रतिपादित सिद्धान्तको विपरीत भएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी शुरु भु.सु.का.को फैसला सदर कायम राखी पाउँ भन्ने समेत वादी चोल कुमारीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १४.   नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वारेशले यस अदालतमा हाजिर हुनु भनि तोकिएको मिति २०५९।१।८को तारेख गुजारी वसेको देखिंदा पुनरावेदन जिकिर सहितको मिशिल अध्ययन गरी पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर वमोजिम हुनु पर्ने हो होइन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

            १५.   निर्णय तर् विचार गर्दा साविक वत्तीसपुतली गा.वि.स.वडा नं.६ कि.नं. ९५ को०१०० जग्गाको जग्गाधनी डम्वरमान श्रेष्ठ र नीर कुमारी भएको र जोताहा मोहीमा कृष्ण कुमारी वस्नेत जनिएकोमा मोही कृष्ण कुमारीले जग्गा नकमाई साविक वमोजिम भोग चलन गरी खानु भनि म चोल कुमारीलाई मोही कायम हुने गरी २०२४।५।१८ मा छोडपत्र गरी दिएको र जग्गाधनीले २०२४।५।१९ मा कुत कवुलियत समेत गरि दिएकाले घरवास भोग गरी आएको जग्गाको मोही कायम गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने वादी दावी देखिन्छ । उक्त साविक कि.नं ९५ को हालको कि.नं १९८ को जग्गाको हालको जग्गाधनी कृष्णराज पुडासैनीले आफुले जग्गा पारीत गरि लिंदा मोहीमा कृष्ण कुमारी नै उल्लेख भएको र निजले जग्गा खनजोत नगरेको भनी स्वीकारै गरेको देखिंदा मोही कायम नरहने भन्ने प्रतिवाद गरेको देखिन्छ ।

            १६.    विवादित जग्गाको मोही कृष्ण कुमारीले चोल कुमारीलाई मिति २०२४।५।१८ मा मोही कायम हुने गरी गरिदिएको छोडपत्रको कागजको सम्वन्धमा हेर्दा त्यसरी कसैको नाउँको मोही हक कसैलाई छोडपत्र गरी लिन दिन मिल्ने भूमि सम्वन्धी ऐनमा कुनै व्यवस्था देखिएन । कृष्ण कुमारीलाई आफ्नो नाउँको मोही हक छोडपत्र गरी दिन कानूनले अधिकार दिएको पाइदैन । जग्गाधनीको जस्तो अधिकार प्रयोग गरी मोही छोडपत्र गर्दैमा चोल कुमारीको मोही हक स्थापित हुन पनि सक्ने स्थिति भएन ।

            १७.   अर्को तर्पm साविक जग्गाधनीले मिति २०२४।५।१९ मा कुत कवुलियत गरि दिएको भन्ने पुनरावेदन जिकिरको हकमा विचार गर्दा जग्गाधनी र मोही वीच कुतको कवुलियत सम्वन्धमा दोहोरो कवुलियत गरिलिई दिई सम्वन्धित तोकिएको निकायमा दाखेल गर्नुपर्नेमा सो भए गरेको पनि देखिएन । यस स्थितिमा भूमि सम्वन्धी ऐनको दफा २९(१) वमोजिमको कुतवाली वुझाएको भरपाइ नभएको र पारीत हुन नसकेको २०२४। ५।१८ को छोडपत्रको लिखत र कार्यविधि पुरा नगरिएको जग्गाधनीले २०२४।५।१९ मा गरिदिएको भनिएको कवुलियतको आधारमा विवाद जग्गाको मोही वादी कायम हुन सक्ने र मोहियानी हकको प्रमाण पत्र पाउँछ भन्न मिलेन ।

            १८.   अतः दावीको जग्गाको मोही वादीलाई कायम हुने ठहराई मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको भूमिसुधार कार्यालय काठमाडौंको निर्णयलाई कानून संगत नभएको भनी उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५६।५।२८ को फैसला मनासिव हुँदा  सदर  हुने  ठहर्छ ।  वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम वमोजिम वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्वत २०६० साल चैत्र ६ गते रोज ६ शुभम..............................

 

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु