शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३१६ - जवर्जस्ती करणी

भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक:

निर्णय न. ७३१६           ने.का.प.२०६१       अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री रामनगिना सिंह

संम्वत् २०५८ सालको फौ.पु.नं. ३०६६

फैसला मितिः २०६०।१२।६

 

मुद्दाः जर्वजस्ती करणी ।

 

पुनरावेदक

प्रतिवादी भारत कटिलर मनिहारपुर घर भै हाल कारागार शाखा मोरङ्गमा थुनामा रहेका नागेन्द्र साह भन्ने विन्देश्वर साह

विरुद्ध

प्रत्यर्थी

वादीः वुद्धमाया तामाङ्गको जाहेरीले श्री ५ को सरकार

 

§  वारदात पश्चातनै यी प्रतिवादीको विर्य जस्तो भिजेको एवं रगतको दागहरु भएको कट्टु समेत वरामद भै उक्त वरामदी मुचुल्कामा यी प्रतिवादी स्वयं रोहवरमा वसेको अवस्था समेत देखिंदा यी प्रतिवादी विन्देश्वरी साहले पीडित १० महिनाकी वच्चीलाई जवर्जस्ती करणी गरेको होइन भन्ने अवस्था नदेखिने ।

§  जवर्जस्ती करणीको महलको १० नं. बमोजिमको वादी दावीका सन्दर्भमा शुरुले प्रतिवादी नेपाली नागरिक नदेखिएको आधारमा उक्त दावी नपुग्ने गरी फैसला गरेकोमा पुनरावेदन अदालतवाट सो हदसम्म उल्टी गरी वादी दावी अनुसार प्रतिवादीको आधा अंश पीडितलाई भराई दिनु पर्ने ठहर्‍याएकोमा सो तर्फ प्रतिवादीले पुनरावेदन पत्रमा कुनै जिकिर पनि नलिएको र यि प्रतिवादीको नेपाल अधिराज्य भित्र रहेको चल अचल सम्पत्तिवाट भराउन मिल्ने नै हुँदा त्यसतर्फ केही विचार गर्न नपर्ने ।

(प्र.नं. २३ र २४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री लिलामणी पौडेल

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति ०५८।२।८ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :-

            २.    २०५४।१२।२० गतेका दिन वुद्धिमाया तामाङनीकी छोरी १० महिनाकी शान्ति तामाङ्गलाई नागेन्द्र शाहले जवर्जस्ती करणी गरेको हुँदा पक्राउ गरी दाखेला गरेको छु भन्ने समेत व्यहोराको प्र.ह अम्वरवहादुर श्रेष्ठको मिति ०५४।१२।२० को प्रतिवेदन ।

            ३.    नागेन्द्र साहले लगाएको कपडा खोली हेर्दा भित्र लगाउने कटुको भित्रिभाग अगाडि पट्टी विर्यजस्तो भिजेको दाग र रगत लागेको प्रष्ट देखिएको भन्ने समेत व्यहोराको मौकाको वरामदी मुचुल्का ।

            ४.    पूर्व मुख भएको फुसको छानो २ कोठा भएको घरको दलानमा झोलुङ्गो झुण्ड्याएको र सो झोलुङ्गोमा वुद्धीमायाकी १० महीनाकी छोरी शान्ती तामाङ्ग सुताएको र सो अवस्थामा नागेन्द्र शाहले जवरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

            ५.    २०५४।१२।२० मा म आफ्नै घरमा थिए । नागेन्द्र शाह आएर मलाई दोकानवाट चुरोट ल्याई दिनु होस भन्दा ७,८ मिनेट टाढाको पसलमा गई फर्किएर आउँदा वच्चा रोएको सुनी दगुर्दै आउँदा निज नागेन्द्रले मेरी छोरीलाई वोकी भित्रवाट वाहिर आउदै गरेको देखी के भयो भनी सोध्न खोज्दा निज मेरी छोरीलाई भुईमा राखी भाग्न खोज्दा समाती हारगुहार गर्दा गाउँलेहरुले निजलाई समाती मेरी छोरीको योनीवाट भलभल रगत आई रहेको देखि जवरजस्ती करणी गरेको थाहा पाई प्रहरीमा खवर गरेको छु । सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वुद्धिमाया तामाङको जाहेरी दरखास्त ।

 

            ६.    घटनाको दिन खोला नुहाउन भनी जाहेरवालीको घरको वाटो हुदै जाँदा जाँड खाएर एकछिन वसे र चुरोट लिन जाहेरवालीलाई पठाएं । जाडले मातेकोले करणी गर्ने इच्छा भयो । निज पीडीत झोलुङ्गोमा रहेकोमा झिकी भित्र लगी योनीमा औलाले खेलाएर आफू उत्तेजित भएपछि योनीमा लिङ्ग दलेको र योनीमा उत्तेजनाले लिङ्ग पसाउन खोज्दा निज नावालिकाको योनी च्यातिएर रगत आई निज झन जोडले रोएको देखेपछि भाग्न खोज्दा जाहेरवालीले समाती पक्राउमा परेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी नागेन्द्र शाहको अनुसन्धान अधिकारी समक्ष वयान ।

            ७.    घटना घटेको दिन म जाहेरवालीको घर अगाडिको खेतमा काम गरी रहेको थिए । पडीत रोएको सुनी हेर्दा नागेन्द्रले निजको मुख छोपी यताउता गरि रहेको थियो । जाहेरवाली दोकानवाट आउँदा निज नागेन्द्र भाग्न खोज्दा हामी गई हेर्दा वालिका शान्ती तामाङ वेहोस भएको योनीवाट रगत आई रहेको के भयो भनि सोद्धा निज नागेन्द्र साहले मेरो गल्ती भयो भनि भाग्न लाग्दा समाती राखेको हो र निजलेनै शान्ती तामाङलाई जवरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको वुझिएका नारद लुइटेलको कागज र त्यस्तै व्यहोराको भनाईलाई सहमत गर्दै गरि दिएको खगेन्द्र परियारको कागज ।

            ८.    नारद लुइटेल र खगेन्द्र परियारको भनाईकै मिलानको मनप्रसाद लुइटेल गंगा लुइटेल समेतको कागज ।

            ९.    २०५४।१२।२० गतेका दिन विहान १० वजे तिर जाहेरवालीले कराएको सुनी निजको घर तर्फ जाँदा नागेन्द्र साह पनि वसि रहेको थिए १० महिनाको शान्ती तामाङको योनीवाट रगत आइरहेको थियो वच्ची वेहोस् थिइन नागेन्द्ले जवरजस्ती करणी गरेछन् । निजलाई सोद्धा मेरो गल्ती भयो वचाई दिनुहोस भनी भन्दथ्यो भन्ने समेत व्यहोरा उल्लेख भएको सूर्यवहादुर थापा समेतले वकी लेखाई दिएको सर्जमिन मुचुल्का ।

            १०.    प्रतिवादी नागेन्द्र शाहले जाहेरवाली वुद्धिमाया तामाङको १० महिनाकी छोरी शान्ती तामाङको योनी समेत च्यातिने गरी जवरजस्ती करणी गरेको प्रमाणित हुन आएकोले निज प्रतिवादी नागेन्द्र शाहलाई मुलुकी ऐन जवरजस्ती करणीको १ नं. को कसूरमा सोही ऐनको दफा ३ बमोजिम सजायँ गरी ऐ. महलको १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई दिलाई भराई पाउँ भन्ने समेत माग दावी सहितको अभियोग पत्र ।

            ११.    मैले पिडीत शान्ती तामाङलाई करणी गरेको होइन छैन । वुद्धिमाया संग मेरो व्यापारिक लेनदेन थियो । मलाई मेरो पैसा दिनुहोस भनि भन्दा उल्टा पुल्टा गफ गरी वरिपरि काम गरी रहेको मानिसहरु समेत भेला भई मलाई समाती कुटी प्रहरी वोलाई जिम्मा लगाएको हुँदा मेरो कटुमा लागेको दाग मेरो श्रीमती संगको मिन्सको अवस्थामा गरेको सहवासको समयको हो । मेरो नाम नागेन्द्र समेत नभई विन्देश्वरी शाह हो । प्रहरीले डर त्रास देखाई कुटपीट गरी वयान गराएका हुन भन्ने समेत व्यहोराको प्रतिवादी नागेन्द्र साहको शुरु अदालतमा भएको वयान।

            १२.   जाहेरवाली वुद्धिमाया तामाङ, प्रतिवादीका साक्षी लोकेन्द्र श्रेष्ठ, वस्तुस्थिति मुचुल्काका मानिस खीमप्रसाद लुईटेल, सूर्यवहादुर थापा, प्रहरीमा कागज गर्ने खगेन्द्र परियारले गरेको वकपत्र मिसिल सामेल रहेको ।

            १३.   संकलित सवुत प्रमाणवाट प्रतिवादीले शान्ती तामाङलाई जर्वजस्ती करणी गरकेो ठहर्छ निजलाई जर्वजस्ती करणीको महलको १ नं. विपरीतको कसूरमा ३ नं. बमोजिम ७ (सात) वर्ष कैद हुने र भारतीय नागरिक देखिएकोले जवर्जस्ती करणीको १० नं. को दावी पुग्न सक्दैन भन्ने मोरङ्ग जिल्ला अदालतको मिति ०५७।२।१२ को फैसला ।

            १४.   पीडितको रक्त समूह र कट्टुमा लागेको रगत एकआपसमा मेल नखाएको, करणी भएको हो होइन भन्ने प्रश्नमा भन्न नसकिने भनी अस्पतालवाट जवाफ आएको हुनाले म निर्दोष भएको कुरालाई पुष्टि गरिरहेको अवस्थामा केवल जाहेरीलाई प्रमाणमा लिई मलाई सात वर्ष कैद गर्ने गरी भएको शुरु फैसला सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल हुँदा वदर वातील गरी अभियोगवाट सफाइ पाउँ भन्ने प्रतिवादीको तर्फवाट जिल्ला कारागार शाखा मोरङ मार्फत पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्र ।

            १५.   प्र.नागेन्द्र शाहलाई कम सजायँ गर निजको आधा अंश नपाउने गरी भएको शुरु फैसला सो हद सम्म त्रुटिपूर्ण हुँदा वदर गरी अभियोगपत्र बमोजिम प्रतिवादीलाई हदै सम्म सजाय गरी निजको आधा अंश सर्वस्व गरी पीडित शान्ति तामाङलाई दिलाई पाउँ भन्ने वादी श्री ५ को सरकार तर्फवाट दायर भएको पुनरावेदन पत्र ।

            १६.    प्रतिवादी र पीडितको ग्रुप संग जाँच भै आएको वीर्य र रगतको ग्रुप मिले भिडेको यकीन प्रमाणको अभावमा कसूर गरेको ठहराएको शुरु फैसला फौजदारी न्याय सिद्धान्त विपरीत भै फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति ०५७।१२।१६ को आदेश ।

            १७.   प्रतिवादी नागेन्द्र साह भन्ने विन्देश्वर साहले शान्ति तामाङलाई जवर्जस्ती करणी गरेको ठहराएको हदसम्म शुरु फैसला मिलेकै देखियो । प्रतिवादी भारतीय नागरिक देखिएको भनी जवर्जस्ती करणीको १० नं को दावी पुग्न नसक्ने ठहराएको हद सम्म शुरु मोरङ्ग जिल्ला अदालतको मिति ०५७।२।१२ को फैसला केही उल्टी भै वादी दावी बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडित शान्ति तामाङ्गलाई दिलाई दिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति ०५८।२।८ को फैसला ।

            १८.   मैले कसूर गरेको कुरा प्रमाणित नहुने स्पष्ट भएको हुँदा शुरु फैसलालाई केही उल्टी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तर्फवाट यस अदालतमा परेको पुनरावेदन ।

            १९.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री लिलामणि पौडेलले करणी गरेको देख्ने चश्मदित कोही छैन । पीडितको कट्टुमा लागेको रगत र मेरो पक्षको कट्टुमा लागेको रगतको ग्रुप नमिलेको भन्ने जाँच प्रतिवेदन रहेको अवस्थामा मेरो पक्षले करणी गरेको भन्ने देखिदैन । पीडितको कटु तथा अंगमा विर्य देखिदैन । वुझिएका व्यक्तिको भनाईमा प्रतिवादीको औलामा रगत लागेको भन्ने देखिंदा मेरो पक्षले वच्चीको योनीमा औंला सम्म प्रवेश गराएको हुन सक्छ यस्तो अवस्थामा जर्वजस्ती करणी नभै करणीको उद्योग सम्म गरेको देखिन्छ । जवर्जस्ती करणी नै भएको भनी शुरु तथा पुनरावेदन अदालतले गरेको फैसला उल्टी गरी प्रतिवादीले सफाइ पाउनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।

            २०.   पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी विद्वान कानून व्यावसायीले गर्नु भएको वहस समेत मध्यनजर गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरवाट मिति ०५८।२।८ मा भएको फैसला मिलेको छ, छैन भनी निर्णय दिनु पर्ने हुन आयो ।

            २१.   निर्णयतर्फ विचार गर्दा वुद्धिमाया तामाङ्गको १० महिनाकी छोरीलाई जर्वजस्ती करणी गरेको अभियोगमा मुलुकी ऐन जर्वजस्ती करणीको महलको १ नं. को कसूरमा ३ नं. बमोजिम सजाय गरी ऐन महलको १० नं. बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडितलाई दिलाई पाउँ भन्ने अभियोग दावी रहेको यस मुद्दामा अभियोग दावी बमोजिम प्रतिवादी नागेन्द्र भन्ने विन्देश्वरी साहले जवर्जस्ती करणी गरेको हुँदा जवर्जस्ती करणीका महलको १ नं. को कसूरमा ३ नं. बमोजिम ७ (सात) वर्ष कैदको सजाय हुने ठहर्छ । प्रतिवादी भारतीय नागरिक देखिएकोले जवर्जस्ती करणीका महलको १० नं. को दावी पुग्न सक्दैन भनी शुरु मोरङ्ग जिल्ला अदालतवाट भएको फैसला उक्त १० नं. को दावी पुग्न नसक्ने गरेको हदसम्म केही उल्टी गरी पुनरावेदन अदालत विराटनगरले वादी दावी बमोजिम प्रतिवादीको आधा अंश सर्वस्व गरी पीडित शान्ति तामाङ्गलाई दिलाई दिनु पर्ने समेत ठहराई भएको फैसला उपर प्रतिवादी तर्फवाट उक्त फैसला उल्टी गरी पूर्ण सफाइ पाउनु पर्छ भनी यस अदालतमा पुनरावेदन पेश गरेको देखियो।

            २२.   वारदातका समयमा १० महिनाकी छोरीलाई प्र. नागेन्द्रले वोकी रहेको वच्ची वेहोस भै लल्याक लुलुक भएको, छोरीको योनीवाट भलभल रगत आइरहेको भन्ने समेतको जाहेरी व्यहोरा भै सोही बमोजिम मौकामै देख्ने खिमप्रसाद लुइटेल, सूर्यवहादुर थापा समेतका व्यक्तिले कागज गरी अदालतमा समेत वकपत्र गरि दिएका पीडितको कन्याजाली (hymen) च्यातिएको भन्ने मेडिकल जाँच रिपोर्ट समेतका आधार प्रमाणवाट पीडित नावालिका माथि करणीको वारदात भएकै देखिन आयो ।

            २३.   पीडित वालिकालाई यी पुनरावेदक प्रतिवादीले जवर्जस्ती करणी गरेको हो होइन भन्ने सम्वन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा वारदात भएको ऐन मौकामा प्रत्यक्ष देख्ने चश्मदित् भएको मिसिलवाट देखिदैन । ०५४।१२।२० का दिन विहान प्रतिवादी आई आफुलाई चुरोट किन्न पठाएको र चुरोट किनी फर्केर आउँदा प्रतिवादीले वच्चीलाई वोकी वाहिर निस्कन लाग्दा वच्चा वेहोस जस्तो भै लल्याक लुलुक भएको अवस्थामा देख्दा के भएको रहेछ भनी हेर्दा निजको योनीवाट रगत आइरहेको निजको रगत लागेको जामाले योनी छोपिएको योनी च्यातिएको आँगनमा पनि रगत देखिएको, प्रतिवादी विन्देश्वरको हात र कट्टुमा पनि रगत लागेको देखेको र तत्काल गाउँ हो हल्ला गरी प्रहरीलाई खवर गरी निजलाई प्रहरीले पक्राउ गरी लगेको भन्ने व्यहोरा खुलाई जाहेरी दिने पीडितकी आमा स्वयंले अदालत समक्ष समेत आफ्नो जाहेरीलाई क्रमवद्ध रुपमा समर्थन गरी वकपत्र गरि दिएको देखिन्छ । प्रतिवादी नागेन्द्र भन्ने विशेश्वर साहले आफुले वच्चीलाई करणी गरेकोमा इन्कारी वयान गरे पनि अनुसन्धान अधिकारी समक्षको वयानमा जाहेरवालीलाई चुरोट किन्न पठाएको समयमा करणी गर्न मन लागि नावालीका वच्चीलाई वोकी भित्र लगि औलाले निजको योनी खेलाएको आफ्नो उत्तेजित लिङ्ग योनीमा दलेको, अति उत्तेजित भै लिङ्ग प्रवेश गराउन खोज्दा योनी च्यातिन गै रगत आएको, वच्चीको जामा खोली पुछि दिएको समेत व्यहोरा खुलाई साविती वयान दिएको देखिन्छ । अदालत समक्ष वयान गर्दा डर त्रास देखाएर कुटपीट गरी वयान कागजमा सहीछाप गराएको भनी लेखाएकोमा निजको वयान ०५४।१२।२६ मा भए पश्चात म्याद थपका लागि भोलिपल्ट अर्थात मिति ०५४।१२।२७ मा अदालतमा उपस्थित गराउँदा आफु उपर कुटपीट भएको जानकारी अदालतमा दिन वा घा जाँच गराई माग्न सकेको अवस्था देखिदैन । अदालतका पत्रानुसार मेडिकल जाँच गराउँदा कुनै चोटपटक नदेखिएको प्रतिवेदन प्राप्त भएको देखिन्छ । प्रतिवादीले अभियोग बमोजिमको कसूर गरेमा अदालत समक्ष इन्कारी वयान गरे पनि वारदात समयमा आफु वारदात स्थलमा भै सोही स्थानवाट आफुलाई प्रहरीले पक्राउ गरी लगेको तथ्य खुलाई वयान गरेको देखिन्छ । पीडित वच्चीको योनीवाट रगत आएको तथा निज उपर करणी भएको तथ्यलाई अदालत समक्षको वयानमा समेत निजले अन्यथा भन्न सकेको अवस्था देखिदैन । १० महिनाकी नावालिकाको कन्याजाली च्यातिने गरी रगत समेत आएको अवस्था मिसिलवाट देखिएको स्थितिमा यी प्रतिवादीलाई जवर्जस्ती करणी गरेको आरोप लगाउनु पर्ने सम्मको रिसइवी रहेको तथ्य समेत प्रतिवादीले आफ्नो वयानमा खुलाउन सकेको देखिदैन । यस्का अतिरिक्त वारदातको लगतै पुगेका खिमप्रसाद लुइटेल, सूर्यवहादुर थापा, खगेन्द्र परीयार समेतका व्यक्तिले तत्काल वच्ची वेहोस जस्तो अवस्थामा रहेकी, निजको योनी च्यातिएको, योनीवाट रगत आइ रहेको, प्रतिवादीको हात, पैन्ट, कट्टुमा समेत रगत लागेको एवं के भयो भनी सोद्धा आफुले गल्ति गरेको हुँदा एक पल्टलाई छाडिदिन आग्रह गरेको व्यहोरा समेत खुलाई अनुसन्धान क्रममा गरेको कागजलाई हुवहु रुपमा अदालत समक्ष समेत वकपत्र गरि दिएको देखिन्छ । यसै गरी वारदात पश्चातनै यी प्रतिवादीको विर्य जस्तो भिजेको एवं रगतको दागहरु भएको कट्टु समेत वरामद भै उक्त वरामदी मुचुल्कामा यी प्रतिवादी स्वयं रोहवरमा वसेको अवस्था समेत देखिंदा यी प्रतिवादी विन्देश्वरी साहले पीडित १० महिनाकी वच्चीलाई जवर्जस्ती करणी गरेको होइन भन्ने अवस्था देखिन आएन।

            २४.   जवर्जस्ती करणीको महलको १० नं. बमोजिमको वादी दावीका सन्दर्भमा शुरुले प्रतिवादी नेपाली नागरिक नदेखिएको आधारमा उक्त दावी नपुग्ने गरी फैसला गरेकोमा पुनरावेदन अदालतवाट सो हदसम्म उल्टी गरी वादी दावी अनुसार प्रतिवादीको आधा अंश पीडितलाई भराई दिनु पर्ने ठहर्‍याएको देखिन्छ । तर सो तर्फ प्रतिवादीले पुनरावेदन पत्रमा कुनै जिकिर पनि नलिएको र यि प्रतिवादीको नेपाल अधिराज्य भित्र रहेको चल अचल सम्पत्तिवाट भराउन मिल्ने नै हुँदा त्यसतर्फ केही विचार गर्न परेन  ।

            २५.   तसर्थ, उल्लिखित आधार प्रमाणवाट प्रतिवादी नागेन्द्र भन्ने विन्देश्वरी साहले जाहेरवाली वुद्धिमाया तामाङ्गनीको १० महिनाकी छोरीलाई जवर्जस्ती करणी गरेको कसूरमा मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ नं. विपरीत कसूरमा ऐ. को ३ नं. बमोजिम सजाय हुने ठहर्‍याएको शुरु मोरङ्ग जिल्ला अदालतको  फैसला  सो हदसम्म सदर गरी जवर्जस्ती करणीको महलको १० नं. को दावी पुग्न नसक्ने ठहर्‍याएको हदसम्म केही उल्टी भै वादी दावी बमोजिम प्रतिवादीको आधा अंश सर्वश्व गरी पीडितलाई दिलाई दिनुपर्ने समेत गरेको पुनरावेदन अदालत विराटनगरको मिति ०५८।२।८ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीवाट यस मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रामनगिना सिंह

 

इति संवत् २०६० साल चैत्र ६ गते रोज ६ शुभम्........................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु