निर्णय नं. ३७५० - उत्प्रेषण

निर्णय नं. ३७५० ने.का.प. २०४६ अङ्क ३
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको रि.पु.ई.नं. ७४
आदेश भएको मिति : २०४६।२।१९।५ मा
डि.बे.को आदेश मिति : २०४२।८।९।१
निवेदक/प्रत्यर्थी : जिल्ला झापा शनिश्चरे गा.पं. वार्ड नं. ६ बस्ने मानबहादुर खड्का
विरुद्ध
विपक्षी/रिट निवेदक : जि.झापा चन्द्रगढी गा.पं. वार्ड नं. १ बस्ने रामलोचन यादव
विषय : उत्प्रेषण
(१) जुन जग्गाको बाली जग्गाधनीका भाइ समेतले लुटपिट गरेको भन्ने ठहर भएको स्थितिमा सोही जग्गाको बाली नबुझाएको भनी मोही निष्काशन गर्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं. १०)
भू.सु.का. झापाको तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
विपक्षी/रिटनिवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको मिति २०४२।८।९।१ को निर्णय पुनः फुलबेञ्चबाट दोहोर्याई हेरी दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हु.प्र.बक्स पाउँ भनी निवेदक मानबहादुर खड्काले चढाएको बिन्तिपत्रमा मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ ।
२. जिल्ला झापा चन्द्रगढी वडा नं. १ को कि.नं. २४६ मध्ये ज.वि. ३–०–० को मोही म निवेदक रामलोचन यादव हुँ । ०३९ सालको कुत नदिएको कार्यवाही हुँदैछ । ०४० सालको कुत समेत नबुझाई धरौट पनि नराखेकोले धान मन ३४।२० को रु. ९२।– को दरले हुने रु. ३१७४।– दिलाई मोहीबाट निष्काशन गरिपाउँ भनी ज.ध. मानबहादुर खड्काको निवेदन भू.सु.का. झापामा पर्यो । ०३९ सालको कुत धरौट राख्न तैयार पारेको नगद धनमाल विपक्षीले आफ्नो भाइ लुट्न लगाएकोले झापा जिल्ला अदालतमा लुटपिट मुद्दा दायर गरेको छु । २०४० सालमा १ बिगहा जग्गामा वादीले म माथि जग्गा खिचोला मुद्दा दिई जग्गा आवाद गर्न दिनु भएको छैन जग्गा खिचोला मुद्दा पू.क्षे.अ.मा चल्दैछ । बाँकी ३ बिगहा जग्गाको बाली विपक्षी समेत मिली लुटपिट गर्नुभएकोमा मैले लुटपिट मुद्दा झापा जिल्ला अदालतमा दायर गरेको छु । मुद्दा चल्दैछ । सोको निर्णय नहुन्जेलसम्म अ.बं. १२ नं. ले यो मुद्दा मुलतवी हुनुपर्ने हो । २०२९ सालदेखि नै विपक्षीले म उपर लगातार अनेकौं मुद्दा दिनु भएको छ । बंजर चाहार जग्गा भएकोले ६ मन प्रति विघाको शर्तमा मैले जग्गा आवाद गरी साल सालैको कुत आफ्नो पञ्चायत कार्यालयमा बुझाएको छु । विपक्षीले पनि हरेक साल कुत बुझ्दै जानु भएको छ । वादी दावीको कुत प्रतिवादीबाट भू.सु. ऐनको दफा २९(३) बमोजिम भराई दिनु र मोहीबाट निष्काशन समेत गरी दिने ठहर्छ भनी ०४१।३।१८ गते भूमिसुधार अधिकारीबाट निर्णय गर्नुभएकोमा अ.बं. १८४(क) १८५, १८९ को पूर्ण विपरीत निर्णय भएको छ । ०४० सालको बाली विपक्षीको भाइ समेत मिली लुटपिट गरी लगेकोमा निज उपर लुटपिट मुद्दा झापा जिल्ला अदालतमा दायर गरेको छ । लुटपिट मुद्दाकै अन्तिम निर्णय नहुन्जेलसम्म अ.बं. १२ नं. बमोजिम मुलतवीमा हुनुपर्ने हो ।
३. मिति ०४०।३।१८ गते भूमिसुधार अधिकारीले गर्ने गरेको निर्णयबाट कानुनी हक हनन् भएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरिपाउँ भनी उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ ।
४. मिति ०४०।७।२० मा यस अदालत सिंगलबेञ्चबाट आदेश भए बमोजिम प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार छन् ।
५. ५ वर्षसम्म लगातार जग्गाधनीलाई कुत नबुझाउने मोहीलाई मोही हकबाट पर्याप्त कारण सहित निष्काशन भएको कानुनी त्रुटि नहुँदा रिटनिवेदन खारेज गरी दिन हुन अनुरोध गर्दछु भन्ने व्यहोराको भूमिसुधार कार्यालय झापाको लिखितजवाफ रहेछ ।
६. नगद धनमाल लुटपिटको मुद्दा म माथि दायर नभएको र कुतसंग सो मुद्दा असम्बन्धित हुँदा अ.बं. १२ नं. बमोजिम मुलतवीमा रहन पर्ने होइन विपक्षीले झुठ्ठा कुराहरुको आधार लिई रिटनिवेदन दिएको हुँदा रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने व्यहोराको मानबहादुर खड्काको लिखितजवाफ रहेछ ।
७. वादी रामलोचन यादव विपक्षी प्र.हरिबहादुर खड्का समेत भएको लुटपिट मुद्दामा यी रिट निवेदकका सगोलका भाइ छोराहरु समेतले लुटपिट गरेको ठहरी फैसला भएकोले मोही निष्काशन गरी दिने गरी मिति २०४१।३।१८ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४२।८।९ को आदेश ।
८. सर्वोच्च अदालत डिभिजनबेञ्चको २०४२।८।९ को निर्णय दोहोर्याई हेरी दिनु भन्ने स.अ.का नाउँमा हु.प्र.बक्स पाउँ भनी निवेदक मानबहादुर खड्काले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा सो विषयको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई पेश हुन आएको रहेछ ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा भू.सु.का. झापाको तर्फबाट बहसको लागि खटिई उपस्थित हुनुभएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले जग्गाधनीलाई पटक पटक बाली नबुझाएको र पटक पटक जग्गाधनीलाई बाली भराई दिने ठहरी निर्णय भई राखेको रेकर्डहरु समेतलाई हेरी २०४० सालको पनि बाली नबुझाएको हुनाले मोहीबाट निष्काशन समेत गर्ने गरी भू.सु.का. झापाले निर्णय गरेको देखिन्छ । साथै जग्गाको बाली लुटपिट भएको भन्ने विषयमा मुद्दा परे पनि त्यसैबाट निरोपण हुन्छ । लुटपिट भएकोमा कानुन बमोजिम भरी भराउ हुन्छ । लुटपिट भएको कारणबाट मोहीले कुत बालीतर्फ आफूले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैन भन्ने र विपक्षी रिट निवेदक रामलोचन यादवको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंहले जुन जग्गाको सम्बन्धमा कुत बालीमा भू.सु.का. मा मुद्दा परेको हो सोही जग्गाको मोहीले लगाएको बाली स्वयं जग्गाधनी वा निजका एकाघर सगोलका परिवारले लुटेको भनी अदालतबाट ठहर भइरहेको अवस्थामा कुत बाली नबुझाएको हुँदा मोहीबाटै निष्काशन गर्ने गरेको भू.सु.का. झापाको निर्णय त्रुटिपूर्ण हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्ने गरेको यस अदालत डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्ने भनी बहस गर्नुभयो ।
१०. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत रिटनिवेदनमा निर्णयतर्फ हेर्दा यसमा चन्द्रगढी गा.पं. वार्ड नं. १ कि.नं. २४६ मध्ये ३–०–० जग्गाको मोहीले २०४० सालको कुत बाली नदिएको हुँदा बाली भराई मोही समेत निष्काशन गरिपाउँ भनी जग्गाधनी मानबहादुर खड्काको उजूरी परी बाली बुझाएको नदेखिएकोले मोहीबाट बाली समेत भराई मोही निष्काशन गर्ने गरी भूमिसुधार कार्यालय झापाबाट २०४२।४।१८ मा भएको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी प्रस्तुत रिटनिवेदन परेको देखिन्छ । जुन जग्गाको बाली भराई मोही निष्काशन हुने भनी भूमिसुधार कार्यालय झापाबाट निर्णय भएको छ सोही जग्गाको २०४० सालकै बालीको सम्बन्धमा मोही रामलोचन यादवले जग्गाधनी मानबहादुरका भाइ मोतीबहादुर उपर लुटपिट मुद्दा दायर गरी झापा जिल्ला अदालतबाट लुटपिट गरेको ठहरी फैसला भएको र सोही इन्साफ मेची अञ्चल अदालतबाट सदर भई त्यस उपर पुनरावेदनको लागि अनुमति पाउँ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा मोतिबहादुरले दिएको निवेदनमा मेची अञ्चल अदालतबाट भएको इन्साफमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को त्रुटि विद्यमान रहेको नदेखिँदा पुनरावेदन गर्ने अनुमति दिन मिलेन भनी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट २०४४।८।५।६ मा आदेश भई मेची अञ्चल अदालतको इन्साफ अन्तिम रुपमा रहेको कुरा फाइल संलग्न फैसलाहरु तथा आदेशको नक्कलबाट देखिन्छ । जुन जग्गाको बाली जग्गाधनीका भाइ मोतिबहादुर खड्का समेतले लुटपिट गरेको भन्ने ठहर भएको स्थितिमा सोही जग्गाको बाली नबुझाएको भनी मोही निष्काशन गर्नु न्यायोचित देखिँदैन । मोहीबाट बाली भराउनु पर्ने नपर्ने भन्ने प्रश्नमा प्रस्तुत रिट क्षेत्रबाट विचार गरिरहनु परेन । तसर्थ मोही निष्काशन समेत गर्ने गरेको भूमिसुधार कार्यालय झापाको मिति २०४१।३।१८ को निर्णय मिलेको देखिएन । अतः उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब कुत बालीतर्फ पुनः कानुन बमोजिम निर्णय गर्नु भन्ने भूमिसुधार कार्यालय झापाको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । रिट जारी गर्ने गरेको यस अदालत डिभिजनबेञ्चको मिति २०४२।८।९।१ को इन्साफ मनासिब छ । विपक्षी कार्यालयको जानकारीको लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.प्रचण्डराज अनिल,
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल ज्येष्ठ १९ गते रोज ५ शुभम् ।