निर्णय नं. ३७५२ - अंश नाता कायम

निर्णय नं. ३७५२ ने.का.प. २०४६ अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नं. ७१
फैसला भएको मिति : २०४६।३।६।३
डि.बे.बाट फैसला भएको मिति : २०४१।१०।१४ (ने.का.प. भाग २६, २०४१, अड्ढ १०, नि.नं. २१४२, पृष्ठ ८८४ मा प्रकाशित)
निवेदक/वादी : जि.मोरङ विराटनगर नगरपञ्चायत वडा नं. ३२ बस्ने सबीर मियाँसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.वा.नं. २१ बस्ने मकबूल मियाँसमेत
मुद्दा : अंश नाता कायम
(१) मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
(२) राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको, पति वा पत्नीको नाम खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था नभएकोमा निजहरु बीच भएको लिखतमा पतिको नाम नखुलाएकै कारणबाट निजहरु लोग्ने स्वास्नी होइन भनी ठहर गर्न न्यायोचित नदेखिने ।
(प्रकरण नं. १४)
निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी
प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१०।१४ गतेको निर्णय दोहोराई पाउँ भनी निवेदक वादी तर्फबाट न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा चढाई पठाएको निवेदनपत्र जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. कारी मियाँको श्रीमती मध्ये स्वर्गीय जेठी पत्नीबाट जन्मेको विपक्षी मध्येका मकबूल स्व.साँहिली पत्नीबाट जन्मेको विपक्षी मध्येका याही मियाँ हुन् । कान्छी पत्नी म तर्फबाट २ छोरा ३ छोरी भएकोमा मेरो तर्फको छोरा छोरी सबै नाबालकै छन् । पति कारी मियाँ मिति २०३७।७।९ गते परलोक हुनुभयो । २०२२ साल फाल्गुण १५ गते देखि विपक्षीहरु र म तथा पति कारी मियाँ अलग बसेका पति कारी मियाँ परलोक भएपछि विपक्षी छोराहरुले सबै जग्गा जमीन कब्जा गरी नाबालक छोरा छोरीलाई हेला समेत गरेको र अंश माग्दा समेत नदिई आलटाल गरेकोले फिराद गर्न आएको छु अंशबण्डाको २०, २२, २३ नं. अनुसार विपक्षीहरुबाट तायदाती लिई ५ भागको ३ भागको अंश छुट्याई पाउँ भन्ने फिरादपत्र ।
३. वादीहरु हाम्रा अंशियार होइनन् । हामीहरु भारत विहार प्रान्त अन्तर्गत जिल्ला पूर्णीया वस्ती नरपतगंज बस्ने एनामूल मियाँको पत्नी वादी सकिना खातुन हुन् निजबाट नै वादी सकिना खातुनलाई ३ छोरा २ छोरी भएको छ वादी फिरोज मियाँ र सबीर मियाँ एनामूल मियाँको छोरा भएकोले हामीहरुको अंशियार नहुँदा हामीले अंश दिनु पर्ने होइन । पिता कारी मियाँको ३ पत्नी मध्ये जेठी जमिरा खातुनबाट जन्मेका मकबूल मियाँ माहिली असर्फ खातुनबाट जन्मेको म महमद याही मियाँ कान्छी स्व.सकिना खातुनबाट एकमात्र छोरी आसना खातुन भएकी स्व.सकिना खातुन पिता कारी मियाँ स्वर्गबास हुनुभन्दा ५ वर्ष अघि नै मृत्यु भएको कारणबाट निज सकिना खातुनको नाम मिलेकोले वादीले हामीहरु उपर झुठ्ठा उजूर मात्र गरेको हो पिता कारी वादीको पति भए २०३० साल ज्येष्ठ १ गते कारी मियाँबाटै जग्गा खरिद गर्दा पति भन्ने लेख्न सक्नु पर्दथ्यो सो समेत लेख्न नसकेबाट वादी अंशियार नहुँदा झुठ्ठा दावीबाट अलग गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. पति कारी मियाँको ३ वटी पत्नीहरु मध्ये कान्छी पत्नी म वादी सकिना र जेठी माहिली सौता तर्फका छोरा विपक्षीहरु हुन पति कारी मियाँ मेरो खास पति हुँदा मेरो छोरा सबीर हुसेनको स्कूलमा नाम लेखिएको प्रमाण मतदाता नामावली सूची पारिवारिक लगतको नक्कल समेत पेश गरेको छु सो समेतको सबूद प्रमाणबाट नाता कायम गरिपाउँ भन्ने समेत वादीको बयान ।
५. विपक्षी वादी हाम्रो अंशियार होइन भारतको विहार नरपतगंज बस्ने एनामुल मियाँको स्वास्नी छोरा हुन् वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादीको बयान ।
६. वादी मध्येकी सकिना खातुन कारी मियाँको पत्नी र सबीर फिराज कारी पट्टिको छोरा हुन् भन्ने शंकारहित स्वतन्त्र एवं विश्वासनीय रुपबाट प्रमाणित हुन नआएको हुँदा वादी दावी पुग्न सक्दैन पत्नी छोरा नाताका अंशियार नै नठहरे पछि अंश पाउँ भन्ने दावी समेत पुग्न सक्दैन भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको फैसला ।
७. शुरु मोरङ जिल्ला अदालतको फैसला कानुनसंगत नभएकोले वादी दावी अनुसार अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी सकिना खातुनको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।
८. वादी दावी अनुसार कारीकै पत्नी हुन् भन्ने प्रमाणित एवं निश्चयात्मक आधारको अभावमा वादी दावी नपुग्ने गरेको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भनी वादी सकिना खातुनको यस अदालतमा निवेदन पर्न आउँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाणको मूल्यांकन भएको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
१०. वादीले कारी मियाँकी कान्छी पत्नी हुँदा अंश पाउँ भनेकोमा कारी मियाँकी कान्छी पत्नी कारी मियाँ स्वर्गे हुनुभन्दा ५ वर्ष पहिले मृत्यु भएको र उनीतर्फ एकमात्र छोरी आमना खातुन भएकी भन्ने प्रतिवादी जिकिरलाई वादीले अन्यथा भन्न नसकेको र कारी मियाँबाटै २०३० साल ज्येष्ठ १ गते जग्गा खरिद गरी वादीले लिंदा सो लिखतमा पनि कारीको श्रीमती भन्ने कुनै नाता नदेखिएको र त्यस कुरालाई पनि वादीले कुनै प्रमाणिक रुपमा खण्डन गरेको पनि पाइँदैन यस्तो स्थितिमा वादी कारी मियाँकी पत्नी हुन् भन्ने ठहराउन सकिने ठोस एवं भरपर्दो पक्का प्रमाणको अभावमा वादी कारीकी पत्नी ठहर्न नसकेकोले अंशमा दावी पुग्न नसक्ने ठहराई शुरु मोरङ जिल्ला अदालतले गरेको इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भनी सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१०।१४ को फैसला ।
११. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१०।१४ गतेको निर्णय दोहोराई पाउँ भनी निवेदक वादी तर्फबाट न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा चढाई पठाएको निवेदन जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएको रहेछ ।
१२. पेश भएको सबूद प्रमाणबाट वादीहरु र प्रतिवादीहरु अंशियार देखिन आएको र यो मितिमा वादी प्रतिवादीहरु मानो छुट्टिएको भन्ने कानुन बमोजिमको लिखत प्रमाण पेश हुन आएको नदेखिँदा फिरादपत्र परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी आ–आफ्नो जिम्माको अंशबण्डा गर्नु पर्ने चल अचल सम्पत्तिको तायदाती वादी प्रतिवादी दुबै थरबाट लिई पेश गर्नु भन्ने समेत यस अदालत पूर्ण इजलासको मिति २०४४।११।१८ गतेको आदेश ।
१३. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटीले कारी मियाँले भरेको पारिवारिक लगतमा सुरिया बेगमलाई पत्नी देखाई फाराम भरेको छ । मतदाता नामावलीमा पनि सकिना खातुनलाई पत्नी देखाई कारी मियाँले नै सही गरी फाराम भरेको छ । सबीर हुसेनको स्थानान्तरण प्रमाणपत्रमा बाबुको नाममा कारी मुखिया भनी जनाइएको छ । वादीका साक्षीहरुले यी वादीहरु कारी मियाँको पत्नी तथा छोराहरु हुन् भनी किटान साथ बकपत्र गरेको छन् । यस्तोमा नाता कायम गरी वादी दावी बमोजिम अंश पाउनु पर्ने भन्ने र प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपानेले वादीका साक्षीहरुको बकाई भरपर्दो तथा तथ्ययुक्त देखिँदैन । मिति २०३०।२।१ मा यी वादी सकिना खातुनले प्रतिवादीहरुका पिता कारी मियाँबाट जग्गा राजीनामा गरी लिंदा उक्त कागजमा कारी मियांकी पत्नी भनी खुलाइएको छैन । यस्तोमा वादीहरुलाई कारी मियाँका पत्नी तथा छोराहरु हुन् भनी भन्न नमिल्ने हुँदा अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको यस सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ सदर हुनु पर्ने भनी बहस गर्नुभयो ।
१४. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा स्वर्गीय कारी मियाँका ३ पत्नी मध्ये कान्छी पत्नी म सुरीया बेगम भन्ने सकिना खातुन र मेरो तर्फको २ छोरा जेठो र माहिलीतर्फ विपक्षी २ छोरो हो । सबै सम्पत्ति विपक्षी प्रतिवादीहरुसंग भएको र अंश माग्दा नदिएकोले विपक्षीहरुबाट तायदाती लिई ५ भागको ३ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी दावी भएको पाइन्छ । वादी हाम्रा अंशियार होइनन् । वादी सकिना भारत पूर्णिया रेवाइठाना नरपतगंज बस्ने एनामुल मियाँको पत्नी र छोराहरु पनि एनामुलकै हुन् । पिता कारी मियाँकी कान्छी पत्नी सकिना खातुन तर्फबाट एकमात्र छोरी अमना खातुन हुन् । निज सकिनाको बाबुभन्दा ५ वर्ष पहिले नै परलोक भइसक्नु भयो । अतः निज वादीहरु अंशियार नहुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ । यसरी कारी मियाँका पत्नी तथा पुत्र भन्ने वादी र कारी मियाँका पत्नी पुत्र होइन भन्ने प्रतिवादी भई नातातर्फ नै विवाद उठेको हुँदा यी वादी प्रतिवादीहरु अंशियार हो होइन के रहेछ सर्वप्रथम त्यसतर्फ निर्णय दिनु पर्ने देखियो । कारी मियाँ स्वयंले दिएको पारिवारिक विवरण फाराममा सुरिया बेगमलाई पत्नी देखाई विवरण भरेको देखिन्छ । त्यसरी नै मतदाता नामावलीमा पनि सकिना खातुनको नाम उल्लेख गरी पतिको महलमा कारी मुखियाको नाम लेखाइएको देखिन्छ । बुझिएका वादीहरुको साक्षी माया क्षेत्रीनी, सोमी यादव, सेती तामाङनी, अनुपलाल यादव, इसलाप खाँ समेतका व्यक्तिहरुले वादी सकिना खातुनलाई कारी मियाँले विवाह गरी पत्नी बनाई राखेको र फिरोज मियाँ र सबिर मियाँ समेत कारी मियाँकै छोराहरु हुन् भनी किटानी साथ बकपत्र गरी दिएको देखिन्छ । यसरी मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट कारी मियाँ र सकिना खातुन लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न मिल्ने देखिएन । अब जहाँसम्म यी वादी सकिना खातुनले कारी मियाँबाट मिति २०३०।२।१ का दिन जग्गा खरिद गरी लिएको र सो लिखतमा सकिना खातुन कारी मियाँकी पत्नी हुन् भन्ने खुलाएको नदेखिएको भन्ने सम्बन्धमा यस्तो राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको पाइन्छ । पति वा पत्नीको नाम खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था भएको पाइन्न । यसरी निजहरु बीच भएको लिखतमा पतिको नाम नखुलाएकै कारणबाट निजहरु लोग्ने स्वास्नी होइन भनी ठहर गर्न न्यायोचित देखिएन । अर्कोतर्फ कान्छी आमा सकिना खातुन बाबु कारी मियाँको मृत्यु हुनुभन्दा ५ वर्ष अघि नै मरी सकेकी र त्यसतर्फ एकमात्र छोरी अमना खातुन छन् भन्ने प्रतिवादी भएपछि अमना खातूनलाई अदालतमा ल्याई बयान समेत गराई आफ्नो कथनलाई प्रतिवादीहरुले पुष्ट्याई गर्नु पर्नेमा सो बमोजिम निजको बयान गरे गराएको मिसिलबाट देखिँदैन । प्रतिवादीहरुले बाबु कारी मियाँको पत्नी सकिना खातुन रहे भएको भनी स्वीकार गरेका छन् तर यी वादी सकिना बाबुकी पत्नी होइनन् भनी तथ्ययुक्त सबूद प्रमाण प्रतिवादीले गुजार्न सकेको देखिँदैन । अतः माथि उल्लेखित सबूद प्रमाणहरुबाट वादीहरु कारी मियाँका पत्नी तथा छोराहरु देखिनुको साथै प्रतिवादीका अंशियार समेत देखिन आयो । यी वादी प्रतिवादी बीच अंशबण्डा भइसकेको भन्ने सबूद पेश हुन नसकेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादी दुवै तर्फबाट आएको तायदातीबाट ऋणको हकमा साहुको उजूर परेको बखत ठहरे बमोजिम हुने गरी वादी प्रतिवादीहरु ५ अंशियार देखिएकोले दुवै तर्फबाट पेश हुन आएको तायदातीको जम्मा बिगो रु. ११,३७,८२०।– को धनसम्पत्तिबाट वादीले दावी बमोजिम ५ खण्डको ३ खण्ड अंश पाउने ठहर्छ । वादी दावी नपुग्ने ठहर्याएको शुरु तथा पू.क्षे.अ.को इन्साफ सदर गरेको स.अ.डि.बे. को इन्साफ उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीहरुले प्रतिवादीहरुबाट ५ खण्डको ३ खण्ड अंश पाउने ठहरेकोले देहायको सम्पत्तिबाट ५ खण्डको ३ खण्ड अंश छुट्याई पाउँ भनी दण्ड सजायँको ४६ नं. बमोजिम वादीको दर्खास्त पर्न आएको कोर्ट फी ऐन बमोजिम वादीलाई छुट्याइएको अंशको सयकडा अढाई प्रतिशतका दरले दस्तूर लिई देहायको श्रीसम्पत्तिको ५ खण्डको ३ खण्ड वादीहरु फिरोज मियाँ, सबीर मियाँ, सविना खातूनलाई अंश छुट्याई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु............१ वादीले मिति २०४४।११।२६ मा दाखिल गरेको तायदाती बमोजिमको देहायको सम्पत्ति म फिरादी सकिना खातूनका नाममा दर्ता रहेको जिल्ला मोरङ गुलुवा कठकुपा गा.पं. वडा नं. ४(क) कि.नं. १७ को ज.वि. ०–६–५ रु. ३०००।– प्रतिकठ्ठा मोलिने रु. १८,७५०।–, म सकिना खातूनका नाममा दर्ता रहेको प्रतिकठ्ठा रु. ५०,०००।– मोलिने जि.मोरङ वि.न.पं. वडा नं. १७।२२ रै.नं. ११४१ को ज.वि. ०–१–८ नापी भएको थिएन हाल नगर नापी क्याम्प विराटनगरबाट नापी नक्शा भएको छ तर ज.ध.पूर्जा वितरण भएको छैन जग्गाको मोल रु. .७०,०००।– सो वडा नं. १७।२२ रै.नं. ११४१ को जग्गामा लम्बा हात १९, चौडा हात ९ को टालीको छाना बाँस कच्चीको टारी भएको दक्षिण मुख भएको घर थान १ को मोल रु. १,०००।–, ठाकुरप्रसाद कोइरालाबाट जग्गा मागी सो मा लम्बा हात १८, चौडा हात ८ को टालीको छाना माटोको जोडाई ईंटाको दिवाल रिपकारी तथा प्लास्टर नभएको उत्तर मोहडाको घर थान १ को मोल रु. ५०००।–, ऐ. जग्गामा लम्बा हात ९, चौडा हात ९ को टालीको छाना वांस कच्चीको टाटी भएको पूर्व मुखको घर थान १ को मोल रु. ७००।–
भाडा वर्तनको मोल रु. २२०।–
९५,६७०।–
भात पकाउने आल्मुनियमको भाँडा एक के रु. ७०।–
दाल पकाउने ऐ. को भाडा एक के रु. ५०।–
ऐ. को लोहोटा थान दुई के. रु. ४०।–
फलामको कन्ती थान एक के रु. ३०।–
आल्मुनियमको थाली थान दुई के रु. ३०।–
२२०।–
प्रतिवादीहरुले मिति २०४५।३।७ मा दाखिल गरेको तायदाती र मिति २०४५।१०।२५ गतेको दर्खास्त बमोजिमको देहायको सम्पत्ति
स्व.कारी मियाँको नाममा दर्ता भएको विराटनगर न.पं. वडा नं. २१।२२ र.नं. ६५८ को ०–१८–३ जग्गा र उक्त जग्गामा बनेको घर गोठ समेतको मोल रु. ५,४२,०००।–
स्व.कारी मियाँकै नाममा दर्ता भएको प्रथना गोग्राहा टानी सिकियाई रै.नं. २५ अन्तर्गतको जग्गा र जुतुवाकट कप्पा गा.पं. वडा नं. ९ घ. कि.नं. ११९ ऐ. ९(ङ) कि.नं. ८५ ऐ. ४(क) कि.नं. ४१, १३६, १४७, १७२, ३३८ को जग्गा पनि हाम्रा नाममा नामसारी बाँकी रहेको जम्मा जग्गा बिगहा उल्लेखित कि.नं. को क्षेत्रफल ४–१७–३ को प्रचलित मूल्य रु. ९८,०५०।– प्रतिवादी मध्ये म मकबुल मियाँको नाममा दर्ता रहेको तिरो रु. १६६।२६ पैसा लाग्ने प्रधान गोग्राहा राती सिकियाई ऐ. नं. ९६ को क्षेत्रफल ०–१५ को प्रचलित रु. १,००,००८।–, म मकबुल मियाँको नाममा दर्ता भई तिरो रु. १२।७५ लागेको जतुवा कटकुप्पा गा.पं. वडा नं. ६ कि.नं. ४६३ को क्षेत्रफल ०–५–० प्रतिकठ्ठा रु. १०,००० मोलिने जम्मा रु. ५०,०००।–
विराटनगर न.पं. वडा नं. २२ मा स्वर्गीय कारी मियाँको नामको जग्गामा म मकबुलि मियाँका नाममा बनेको अं. लम्बाई ३० फुट चौडाई अं. २० (बीस) फुट जमीन तला भागको ईंटाको गा¥हो भई ढलान गरिएको प्रचलित मूल्य रु. १,२५,०००।–, म प्रतिवादी मकबुल मियाँको घरमा चलन चल्तीका भाडा वर्तनको रु. १०५०।–
१– भात पकाउने आलमुनियमको कसौडी दुई के. रु. २००।–
२– दाल पकाउने ३ लिटरको आलमुनियमको कुकर एक के रु. २७३।–
३– लोहोटा २ को प्रति लोटा ५० ले रु. १००।–
४– कचौरा थान चारको रु. ५०।–
५– सिलोट थाल ५ वटाको प्रतिथाल एकको रु. १० ले हुने रु. ५०।–
६– तामाको गाग्री एकको रु. ३२५।०५
म प्रतिवादी महमद याही मियाँको घरमा चलन चल्तीको भाडा वर्तनको रु. को रु. १०५०।–
१– भात पकाउने आलमुनियमको कसौडी दुई के रु. २००।–
२– दाल पकाउने ३ लिटरको कुकर रु. २७५।–
३– लोहोटा २ प्रतिलोटा रु. ५० ले हुने रु. १००।–
४– आलमुनियम कचौरा ४ के. रु. १००।–
५– सिलोट थान ५ के प्रतिथान रु. १० ले हुने रु. ५०।–
६– तामाको गाग्री एकको रु. ३२५।–
वादी सकिना खातून सबीर मियाँ फिरोज मियाँले फिराद गर्दा राखेको कोर्टफी रु. २५।– र अन्य दस्तूर रु. ६।– शुरु उपर पुनरावेदन गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतमा राखेको कोर्टफी रु. २५।– र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. २५।– मुद्दा दोहोराई ल्याउँदा राखेको कोर्ट फी रु. २।५० तथा तायदाती खुलि आएपछि यस अदालतमा राखेको मिति २०४५।४।७ मा कोर्ट फी रु. ७२६९ र ९२ र मिति २०३६।३।२३ मा कोर्ट फी रु. ३,२५२।– समेत कोर्ट फी र अन्य दस्तूर समेत जम्मा रु. १०,६०५।४२ दश हजार छ शय पाँच रुपैयाँ बयालीस पैसा प्रतिवादीहरुबाट भराई पाउँ भनी वादीहरुको ऐनका म्यादभित्र प्रतिवादीहरुको जायदात देखाई दर्खास्त परेमा दस्तूर केही नलिई प्रतिवादीहरु मकबुल मियाँ र अध्या भन्ने अहिया मियाँबाट बराबरीका दरले वादीहरुको बराबरी कै दरमा भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु... २ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३
उक्त रायमा हामी सहमत छौं ।
न्या. हरगोविन्द सिंह प्रधान,
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४६ साल आषाढ ६ गते रोज ३ शुभम् ।