शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७५५ - कुटपिट

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७५५    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ५२५, ६१५

फैसला भएको मिति : २०४५।१२।१४।२ मा

पुनरावेदक/प्रतिवादी : महोत्तरी जिल्ला, सहोडवा गा.पं. वडा नं. ८ बस्ने जुगेश्वर मण्डल धानुकसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ. वडा नं. ७ कमलाकान्त झासमेत

मुद्दा : कुटपिट

(१)    साक्षीको भनाई तथा अस्पतालको घा जाँच रिपोर्ट र एक्सरे रिपोर्टबाट समेत कुटपिट वारदात भएको भन्ने कुरा पुष्ट्याई भइरहेको देखिँदा कुटपिटको वारदात नै भएको हैन भन्ने प्रतिवादीहरुका साक्षीहरुको बकपत्र विश्वासलायक नदेखिने ।

(प्रकरण नं. १३)

(२)   प्रतिवादीले बचन दिएको भन्ने फिराद दावी रहेको र बचन दिएको कुरालाई वादीका साक्षीहरुबाट समेत पुष्ट्याई भइरहेकोबाट बचन दिएको होइन भन्न सकिने देखिएन ।

(प्रकरण नं. १३)

(३)   बचन दिई कुटपिट गरेको होइन भन्ने सबूद प्रमाण दिई पुष्टि गर्न सकेको छैन, मिसिलको अध्ययनबाट प्रतिवादीहरुको हुल भई कुटपिटको वारदात भएको भनी कायम गरिएको अदालतको फैसला उपर प्रतिवादीहरुले पुनरावेदन नगरेकाबाट हुल भई वारदात गरेको कुरामा विवाद नरहने ।

(प्रकरण नं. १३)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१०।२८।४ को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    मिति २०३६।१२।८।६ का दिन अपरान्ह अं. ४५ बजेको समयमा गाउँदेखि करिब १ बिगहा पूर्व जि.म.पिप्रा आदर्श गा.पं. वार्ड नं. ४ बस्ने खगेश्वर झाको नाममा दर्ता रहेको ऐ. वा.नं. ८ तथा ९ को कि.नं. १८९, ५८८ को जग्गा बिगहा ०१०१७ जग्गा निज जग्गाधनीले आफ्नै दशकर्म गरी लगाएको गहुँ बाली करीब १५२० जना ज्यामीहरु लगाएर कटाई रहेको अवस्थामा विपक्षीहरु करीब ५०६० जना नाम नजानेका हुलहसेरीका साथ हात हातमा लाठी बाँसको धारिलो फराठी गडासा समेतका साथ आई यो जग्गाको बाली काट्न दिन्नौं भनी विपक्षीहरुले भनेकोले फिरादी मध्ये म भोलानाथले सम्झाउँदा बुझाउँदा समेत नमानेको र यो होहल्लाबाट गाउँका अन्य फिरादीहरु समेत आएकोले देखी विपक्षी मध्येको जुगेश्वर मण्डल धानुकले लौ प्रशासनले पनि हामीलाई मद्दत गर्दछ यिनीहरुलाई कुटपिट गरौं भन्ने बचन दिएकोले सो कुरा मानी सबै विपक्षीहरुको हुल भई विपक्षी गुदरी मण्डलले म भोलानाथ झालाई फराठीले बायाँ पट्टि निधारमा प्रहार गरी काटी दिएको विपक्षी सिरिफलालले म विश्वनाथ झालाई गडासाले टाउकोको बायाँपट्टि अगाडि भागमा काटी दिएको विपक्षी जयकरणले म जगन्नाथ झालाई धारिलो बाँसको फराठीले कपाल पछाडि बायाँपट्टि टुप्पीभन्दा दायाँ भागमा काटी दिएको र अन्य विपक्षीहरुले समेत हामी फिरादीहरुको आङ जिउमा जत्रतत्र कुटपिट गरेको कारणले म कमलाकान्तलाई अत्यधिक चोटपटक लागेकोले जनकपुर अञ्चल अस्पतालमा उपचार समेत गराएको छु । हामी फिरादीहरु सबैलाई हुलहसेरीले कुटपिट गरेको हुँदा विपक्षी गुदेरी मण्डल र सिरिफलाललाई कुटपिटको ८, १०, १८ नं. बमोजिम र बचन दिई कुटपिट गर्ने जुगेश्वर मण्डललाई कुटपिटको ७, , , १०, ११, १६।१८ नं. बमोजिम तथा अन्य विपक्षीहरुलाई कुटपिटको ७, , १०, ११ र १८ नं. बमोजिम सजायँ गरी कुटपिटको २५ नं. बमोजिम घा खर्च समेत भराई पाउँ भन्ने समेत व्यहोराको कमलाकान्त झा समेत ६ जवानको मिति २०३७।३।६।५ को फिरादपत्र ।

३.    वादी दावी अनुसार हामी प्रतिवादीहरुले कुटपिट गरेका छैनौं । प्रमाणका मानिस रतन यादवको बाँसघारीमा बाँसको पत्ता लिन भनी बाँसमा विश्वनाथ झा चढी पात टिपी रहेको बखत रतन तथा निजको परिवारहरु आई विश्वनाथ झा समेतको झगडा भई कुटपिट गरी सो घा खत अस्पताल जाँच गराई हामीहरु उपर झुठ्ठा उजूर गरेको हुन् तसर्थ झुठ्ठा उजूर गरेमा वादीहरुलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जुगेश्वर मण्डल धानुक समेत १२ जनाको मिति २०३७।५।१७।३ को प्रतिउत्तरपत्र ।

४.    वादीहरुको आङ जिउमा घा खत परेको देखिन आएको प्रमाण परिबन्दबाट जुगेश्वरले बचन दिई आफू र अरु प्रतिवादीहरु समेत भई वादीहरुलाई कुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको महोत्तरी जिल्ला अदालतबाट मिति २०३९।३।८।३ मा भएको फैसला ।

५.    वादीहरुलाई कसरी चोट पटक पर्‍यो भन्ने कुरा प्रतिउत्तरमा उल्लेख गरेकै र सो चोट पटकको बारेमा ध्यानै नदिई हामीलाई सजायँ गर्ने गरेको शुरुको फैसला अन्यायपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुले जनकपुर अं.अ.मा गरेको पुनरावेदनपत्र ।

६.    विना आधार प्रमाण केवल तर्ककै आधारमा जरिवाना तथा कैद समेत हुने ठहर्‍याई शुरु जिल्ला अदालतले जरिवाना कैद गरेको मिलेन । प्रतिवादी गुदरीले छालासम्म खुइलाएको देखिँदा निजलाई कुटपिटको १० नं. बमोजिम रु. १००।सिरिफ मण्डललाई कुटपिटकै १० नं. बमोजिम रु. १००।जयकरणलाई रु. १५० वादीहरुलाई सबै प्रतिवादीहरु हुल भई जत्रतत्र कुटपिट गरेको भन्ने हुँदा हुलतर्फ सबै प्रतिवादीहरुलाई रु. ८०।का दरले जरिवाना हुन्छ जुगेश्वरले बचन दिएको ठहर्दैन भन्ने समेत व्यहोराको जनकपुर अं.अ.बाट मिति २०४०।८।२०।३ मा भएको फैसला ।

७.    प्रतिवादीहरुले हामीलाई कुटपिट गरेको कुरामा प्रतिवादीहरुलाई सजायँ भए तापनि दावीमा कुटपिटको ७, , ९ को माग गरिएको र बचन दिने जुगेश्वरलाई बचनतर्फ नठहर्‍याएको ज्यादै कानुनी त्रुटि हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीहरुले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।१०।२३।३ को आदेश ।

८.    यसमा वादीहरुले घा जाँच केश फाराम गराई पाउँ भनी शुरु जिल्ला अदालतमा दिएको दर्खास्त र फिराद समेतमा गहुँ बाली काट्ने सम्बन्धमा प्रतिवादीहरुसँग विवाद परी प्रतिवादी जुगेश्वरले बचन दिई निज जुगेश्वर स्वयं र अन्य प्रतिवादीहरुले समेत लाठी फरासा, गडासा समेतले वादीहरुलाई कुटपिट गरी घा चोट पारेको भन्ने फिराद दावी भई सो दावीलाई वादीका साक्षीहरु र घा जाँच केश फारामबाट पुष्ट्याई हुन आएको देखिएकै छ । जलेश्वर अस्पतालको पत्र बमोजिम वादी तृप्तीनारायण झाको बायाँ हातको चोर औंला भाँचिई पुरा तवरले काम नलाग्ने भएको देखिन्छ ।

९.    कुटपिटका ७ नं. मा अंगभंग हुने खत बाहेक अरु अंग फार्ने छिनाल्ने फुकाल्नेलाई सो अंग निको भई काम नलाग्ने भएमा पाँचसय रुपैयाँ जरिवाना र एक वर्ष कैद गर्नुपर्छ भन्ने उल्लेख भएको र तृप्तीनारायण झाको बायाँ हातको चोर औंला समेतमा यसले हिर्काएको चोट प्रहारबाट भाँची काम नलाग्ने गराएको भन्ने खुल्न नआए तापनि प्रतिवादीहरुले नै कुटपिट गरेको कारणबाट भाँचीन गएको स्पष्ट देखिन्छ । जनकपुर अं.अ.को फैसला उल्टी हुन्छ र शुरु महोत्तरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१०।२८।४ को फैसला ।

१०.    म.क्षे.अ.को उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी जुगेश्वर मण्डल धानुक तथा गुदरी मण्डल धानुक समेतले यस सर्वोच्च अदालतमा निवेदन चढाएकोमा क्षेत्रीय अदालतको फैसलामा मुख्य मुलुकी ऐन कुटपिटका महलको १९ नं. प्रयोग गरी निर्णय गरेको पाइन्छ । कुटपिटको १९ नं. मा हेर्दा मुख्य बेहोस भएको कारणबाट यसको चोटले घा चोट भएको भन्ने लेखी दिन नसकेको भन्ने शब्द उल्लेख भएको पाइन्छ । प्रस्तुत केशमा बेहोस भएको भन्ने सप्रमाण खुल्न सकेको पनि पाइँदैन । यस्तो स्थितिमा कुटपिटको १९ नं. लगाई प्रतिवादी निवेदकलाई सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा मुलुकी ऐन कुटपिटको महलको १९ नं. को त्रुटि गरेको देखिन आएकोले न्या.प्र.सु. ऐन (चौंथो संशोधन) २०३१ को दफा १३(५)(ख) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासको आदेश ।

११.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरु तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रतिवादी गुदरी मण्डल, सिरिफलाल र जयकरणलाई मात्र कुटपिट गर्‍यो भनी किटानी फिराद छ । अरुको हकमा कसले कसलाई कुटपिट गरेको भनी खुल्न सकेको छैन । यस अवस्थामा सबैलाई सजायँ गरेको म.क्षे.अ.को फैसला मिलेको छैन भन्ने समेतको बहस गर्नुभयो । विपक्षी वादीहरुको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले प्रतिवादीहरुकै चोटले तृप्तीनारायणको बायाँ हातको औंला काम नलाग्ने गरी भाँचिएको भन्ने अस्पतालको रिपोर्टबाट देखिएको छ । वादीका साक्षीहरुबाट समेत प्रतिवादीहरु उपरको आरोप पुष्ट्याई भइरहेको छ । यस अवस्थामा म.क्षे.अ.को इन्साफ सदर हुनुपर्दछ भन्ने समेतको बहस गर्नुभयो ।

१२.   प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई सजायँ गर्ने गरेको महोत्तरी जिल्ला अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको छ छैन । सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१३.   यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी जुगेश्वर मण्डल धानुकले बचन दिई निज र अन्य प्रतिवादीहरु समेत १३ जना भई कुटपिट गरेकोले सजायँ गरिपाउँ भन्ने फिराद दावी रहेको छ । वादीहरुका साक्षीको भनाई तथा जलेश्वर अस्पतालको घा जाँच रिपोर्ट र एक्सरे रिपोर्टबाट समेत कुटपिट वारदात भएको भन्ने कुरा पुष्ट्याई भइरहेको देखिँदा कुटपिटको वारदात नै भएको हैन भन्ने प्रतिवादीहरुका साक्षीहरुको बकपत्र विश्वास लायक देखिन आउँदैन । वादी तृप्तीनारायण झाको घा जाँच फारामबाट तथा एक्सरे रिपोर्टबाट समेत बायाँ हातको औंला भाँचिएको भन्ने देखिन्छ । साथै मिसिल संलग्न जलेश्वर अस्पतालको मिति २०३८।२।७ को पत्रबाट समेत बायाँ हातको चोर औंला भाँचिई पूरा तवरले काम नलाग्ने भएको भन्ने देखिन्छ । फिरादमा तृप्तीनारायण झाको बायाँ हातको चोर औंला यो यसले हिर्काएको चोट प्रहारबाट भाँचिई काम नलाग्ने गराएको भन्ने खुल्न नआए तापनि प्रतिवादीहरुले नै कुटपिट गरेको कारणबाट भाँचिएको भन्ने स्पष्ट देखिन्छ । मुलुकी ऐन कुटपिटको महलको १९ नं. अनुसार कुटाइका पिरले बेहोस भएबाट यस यसका चोटले घा चोट भएको भनी खोली लेखी दिन सकेको वा वादीमा सो कुरा खोली लेखी दिएमा पनि साक्षी प्रमाणबाट सो घा चोट यस यसले पारेको भन्ने कुरा खुल्न नसकेमा एकजना देखि बढीको हुल भई कुटपिट गरेको रहेछ भने परेका घा चोटको सजायँमा हुल भई कुटपिट गरेमा र धेरै खत पारेमा यसै महलका १५।१८ नं. बमोजिम बढाउँदा हुने सजायँ जम्माको दामासाही गरी कुटपिट गर्ने सबैलाई बराबर पारी सजायँ गर्नुपर्छ भन्ने व्यवस्था गरिएको हुँदा वादी तृप्तीनारायण झालाई कुटपिट गरी औंला भाँचेकोमा वारदातमा संलग्न सबै प्रतिवादीहरुको सहभागिता कायम हुन आयो । प्रतिवादीहरुमध्ये सिरिफ मण्डल धानुक र गुदरी मण्डल धानुकलाई कुटपिटको ७ नं. बमोजिमको फिराद दावी नभएको भन्ने प्रतिवादीका विद्वान अधिवक्ताको बहस जिकिरतर्फ हेर्दा यी दुई जनालाई कुटपिटको ७ नं. अनुसार छुट्टै सजायँ गरेको नभई कुटपिटको ७ नं. बमोजिमको अपराध घटेकोमा अन्य प्रतिवादीहरु उपर सजायँ भएकोमा हुल भई कुटपिट गरे बापत कुटपिटको १८।१९ नं. बमोजिम निजहरुलाई समेत दामासाहीबाट सजायँ गरिएको देखिँदा वादी दावी नभएको भन्ने बहस जिकिर संग सहमत हुन सकिएन । प्रतिवादी जुगेश्वर मण्डलले बचन दिएको भन्ने फिराद दावी रहेको र बचन दिएको कुरालाई वादीका साक्षीहरुबाट समेत पुष्ट्याई भइरहेकोबाट जुगेश्वर मण्डलले बचन दिएको होइन भन्न सकिने देखिएन बचन दिई कुटपिट गरेको होइन भन्ने सबूद प्रमाण दिई पुष्टि गर्न सकेको पनि छैन । मिसिलको अध्ययनबाट प्रतिवादीहरुको हुल भई कुटपिट वारदात भएको भनी कायम गरिएको जनकपुर अं.अ.को फैसला उपर प्रतिवादीहरुले पुनरावेदन गरेका छ्रैनन् । यसबाट पनि हुल भई वारदात गरेको कुरामा विवाद रहेन । तसर्थ प्रतिवादी जुगेश्वर मण्डलले बचन दिएको ठहर्दैन भन्दै अन्य प्रतिवादीहरुलाई समेत सजायँ घटाएको जनकपुर अं.अ.को फैसलालाई उल्टी गरी वारदात कायम गरी प्रतिवादीहरुले कुटपिट गरेको ठहराई निजहरुलाई सजायँ गरेको शुरु महोत्तरी जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

देहायका पुनरावेदक प्रतिवादीहरु के पुनरावेदन गरे बापत अ.बं. २०३ नं. ले शुरु जरिवाना कैदको सयकडा ५ ले देहाय बमोजिम थप जरिवाना कैद हुन्छ । वारिस भई बेरुजु हुँदा ऐन बमोजिम असुल गर्नु भनी का.जि.अ.मा लगत दिनु..............१ प्र.जुगेश्वर मण्डल धानुक के शुरु जरिवाना २२८४।०८ र कैद वर्ष १ को सयकडा पाँचका दरले थप कैद जरिवाना कैद १८ दिन जरिवाना ११४।१५

प्र.जयकरण लाल धानुक के शुरु जरिवाना रु. १६३।०८ र कैद एक महीनाको हुने थप कैद जरिवाना ११२ दिन ८।१५, प्र. सिरिफलाल मण्डल धानुक के शुरु जरिवाना रु. १६३।०८ र कैद एक महीनाको हुने थप कैद जरिवाना ११२ दिन ८।१५ प्र.दुखरन यादव के शुरु जरिवाना रु. १६३।०८ र कैद एक महीनाको हुने थप कैद जरिवाना ११२ दिन ८।१५

प्र. गुदरी मण्डल धानुक के शुरु जरिवाना रु. १६३।०७ र कैद एक महीनाको हुने थप कैद जरिवाना ११२ दिन ८।१५मिसिल नियम बमोजिम गरी बुझाई दिनु...२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल चैत्र १४ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु