शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१२७ - अंश बन्डा लगाई अंश छुट्यातई शेषपछिको बकसपत्रबमोजिम गरी पाऊँ ।

भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की

फैसला मिति : २०७०।५।२५

 

०६३-CI-१०६१

 

         मुद्दा : अंश बन्डा लगाई अंश छुट्‍याई शेषपछिको बकसपत्रबमोजिम गरी पाऊँ ।        

 

पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१८ गावहाल, चल्खुमठ बस्ने रमेश पुरी

विरूद्ध

विपक्षी/वादी : भक्तपुर जिल्ला, बालकोट घर भै ऐ.ऐ. बस्ने श्रीमती गीता पुरी सिलवालसमेत

 

  • गुठी चलाउने हक र शेष जगेडा खान पाउने हकलाई समान अर्थमा हेर्न मिल्दैन । त्यसमा पनि एकाले गरेको कसूरको सजाय अर्काले पाउने स्थिति हुँदैन । वादीहरूका पिताले महन्त्याइँ पाउँ भन्ने दावी गरेकोमा सो वादी दावी नपुग्नुबाट वादीहरूका पिताको गुठीमा रहेको हकलाई प्रतिकूल असर पर्न नसक्ने ।

(प्रकरण नं.११)

  • बकसपत्रबाट आफ्नो हक शेषपछि खानु भनी दाताले सम्पत्ति किटानी नगरी सम्पूर्ण सम्पत्ति लेखिदिएको अवस्थामा निजको जे जस्तो साम्पत्तिक हक छ ती सबै बकस पाउने व्यक्तिमा सर्ने
  • साम्पतिक हक भनेको देखिने मूर्त सम्पत्तिमाथिको हकमात्र होइन, सोलाई प्राप्त गर्न अवलम्बन गर्नुपर्ने कार्यविधि एवम् प्रक्रियागत हक पनि हो । दाताको नाममा आइनसकेको सम्पत्ति प्राप्तकर्ताले पाउँदैन भन्ने अर्थ गर्ने हो भने लिखतको कुनै औचित्य नहुने ।
  • साम्पतिक हक दृश्यमात्र होइन, अदृश्य पनि हुन्छ । सम्पत्ति जसको नाममा छ उसको मात्र हुने होइन, यसमा अन्तरभूत स्वामीको पनि उत्तिकै हक हुन्छ । आफ्नो हक हस्तान्तरण गर्न कुनै कानूनले रोक लगाएको छैन । यस्तो सम्भावित हक पनि हस्तान्तरण हुन सक्दछ । तसर्थ, आफूसँग कायम रहेको वा कायम हुन सक्ने सम्पत्ति स्वेच्छानुकूल दिन पाइने हुँदा दिनेको हक जे जति र जे जस्तोरूपमा कायम हुन सक्ने हो सो बकसपत्र प्राप्तकर्तामा पनि सर्ने ।

(प्रकरण नं.१५)

  • शेषपछिको बकसपत्र दाताले आफ्नो जीवनकालमा बदर नगराएमा निजको मृत्युपश्चात् क्रियाशील हुने भै त्यस्तो बकसपत्रको लिखत गरी दिनेको मृत्युपश्चात् निजले गरी दिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकसपत्र पाउनेमा सर्ने र बकसपत्र पाउनेको हक स्थापित हुने ।

(प्रकरण नं.१६)

  • र्खाले राखेको गुठी जे जस्तो अवस्थामा राखेको छ सोही अवस्थामा रहने गरी गुठीको सञ्चालन हुनुपर्ने हुन्छ । गुठी सञ्चालनको दायित्वसँगै शेष कसर खाने हक पनि साम्पत्तिक हक नै हो । यो हक अहस्तान्तरणीय हुँदैन । प्राप्तकर्ता धार्मिकसमेतका बन्देजले गर्दा गुठी सञ्चालनमा स्वयम् सरिक हुन नसकेमा उपयुक्त प्रतिनिधिमार्फत् सो हक प्रयोग गर्न नसक्ने व्यवस्था प्रचलित कानूनले कतै गरेको छैन ।
  • गोत्र परिवर्तनसमेतका कारणबाट निजहरूबाट हुन नसक्ने काम उपयुक्त प्रतिनिधिमार्फत् गर्न गराउन कुनै कानूनी बन्देज छैन । महिला गुठी सञ्चालन गर्न असक्षम हुन्छन् भन्ने मान्यता राख्‍न मिल्दैन । निश्चय पनि हाम्रो गुठी प्रणालीमा आफ्नोपन छ । गुठी स्थापनाका प्रयोजन र प्रबन्ध फरक हुन्छन् । ती प्रयोजन र प्रवन्धभित्र महिलालाई कुनै स्थान छैन भन्ने अर्थ गर्न नमिल्ने ।

(प्रकरण नं.१९)

  • ेषपछिको बकसपत्र पाउनेमा शेष कसर खानेसमेतका सबै हक सर्ने हुँदा सबै अंशियारले सामूहिकरूपमा गुठी सञ्चालन गरी गुठी राख्‍ने आफ्ना पूर्वजको भावनाअनुसार काम गर्न पाउँदैन भन्नु कानूनको प्रतिकूल हुन जाने ।
  • छोरीलाई गुठीको ३(१) नं. ले बाहेक गरेको छैन र त्यस्तो अर्थ गर्नसमेत नमिल्ने ।
  • गुठीपत्र, लालमोहर, ताम्रपत्र आदि गुठी राख्दाका बन्देज अपरिवर्तनशील होइनन् । राज्यले कानून बनाएर तिनका मूल मर्मलाई नमारी परिवर्तन गर्न सक्छ । गोत्र परिवर्तन भएको मेतका धार्मिक कारणले छोरीले स्वयम् गर्न नसक्ने कुनै कार्य रहेछ भने उपयुक्त व्यक्ति नियुक्त गरी सो काम सम्पन्न गर्न नसक्ने ।

(प्रकरण नं.२१)

 

 

 

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ताहरू लक्ष्मीप्रसाद अधिकारी एवं श्रीप्रसाद पण्डित

विपक्षी/वादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल, प्रेम खड्का एवं विद्वान अधिवक्ताहरू बालकृष्ण देवकोटा, रामकुमार राई र हरिप्रसाद आचार्य

अवलम्बित नजीर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :                            मा.जि.न्या.नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत पाटन :            मा.न्या.श्री अलिअकवर मिकरानी

मा.न्या.श्री आत्माराम भट्टराई

 

 

फैसला

                न्या.प्रकाश वस्ती : पुनरावेदन अदालत, पाटनको मिति २०६३।६।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं विवरण निम्न प्रकार छ :–

                हामी फिरादीका बाबु वासुदेव पुरीका दुई छोरामा जेठा नारायण पुरी र कान्छो मुक्तिनाथ पुरी हुन । नारायण पुरीका दुई श्रीमतीमा जेठी जगतकुमारी र कान्छी सुमीत्रादेवी हुन । जगतकुमारीतर्फको छोरा हामी फिरादीको दाता तथा पिता झुमनाथ पुरी र सुमीत्रादेवीको तर्फबाट छ जना छोरामा विपक्षी रमेश पुरीसमेत हुन् । विपक्षी डिल्लीनाथ पुरी र रमेश पुरीसँग सम्पूर्ण बन्डा गर्नुपर्ने सम्पत्ति जिम्मामा भएकोले निजहरूलाई विपक्षी बनाई अरूलाई विपक्षी नबनाइएको हो । मुक्तिनाथ पुरीको एकमात्र छोरा डिल्लीनाथ पुरी हुन् । वासुदेव, नारायण, मुक्तिनाथ, जगतकुमारी, सुमीत्रादेवीलगायत हामी फिरादीका पिता झुमनाथ र आमा बालकुमारीको समेत मृत्यु भै सकेको छ । हामी फिरादीहरू हाम्रो पिता झुमनाथ पुरीको हक खाने छोरीहरू भएको र बाबुको मृत्युपश्चात् बाबुको गर्नुपर्ने सम्पूर्ण कार्य गरी आएका छौँ । पिताको हक हिस्सामा हाम्रो अटूटरूपमा भोग रही आएकोमा हाम्रो भोगसमेतमा बाधा विरोध नगर्नुहोस् भनी पटकपटक भन्दै आएकोमा विपक्षीहरूले हामीउपर बाधा विरोध गर्दै आएको हुँदा विपक्षीहरूबाट सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी विवरण लिई सो सम्पत्तिलाई दुई खण्ड गरी दुई खण्डमध्ये एक खण्ड हामी फिरादीको पिताले गरी दिएको शेषपछिको बकसपत्रबमोजिम पिताको मृत्यु भै सकेको हुँदा हामी फिरादी र विपक्षी रमेश पुरीसमेतको एक खण्ड छुट्‍याई सो एक खण्डलाई दुई खण्ड गरी सोही दुई खण्डमध्येबाट एक खण्ड हामी फिरादीलाई अंश दिलाई चलनसमेत चलाई पाऊँ भन्नेसमेत व्यहोराको मुख्य फिराद दावी ।

                नारायण र मुक्तिनाथ एकासगोलमा रहेको हुँदा निजहरूबीच अंशबन्डा गरी नारायणको भागबाट विपक्षी वादीहरूले कति के पाउने हो सो पाएमा म प्रतिउत्तरवालालाई कुनै आपत्ति छैन । मुक्तिनाथको छोरा म डिल्लीनाथले समेत अंश नपाएको हुँदा मैलेसमेत अंश पाउनुपर्ने अवस्था छ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका डिल्लीनाथ पुरीको मुख्य प्रतिउत्तर जिकीर ।

                मसँग कुनै पैतृक श्रीसम्पत्ति छैन । यी वादीहरूको पिताले मसँग मुद्दा लडी निजको दावी पुग्न नसक्ने ठहरी अदालतबाट फैसला भई अन्तिम रूप लिसकेको छ । त्यस्तोमा आफ्नो हक स्वामित्व कायम नभएका व्यक्तिबाट के कस्तो किसिमको शेषपछिको बकसपत्र पाएको हो सो लिखतको के कस्तो अस्तित्व हुने हो फिरादमा कुनै उल्लेख छैन । २०/२५ वर्षअगाडि विवाह गरी अन्यत्र गई सकेका व्यक्तिले माइतीतर्फ त्यो पनि कुनै हकदावी गर्न नपाउने व्यक्ति मउपर फिराद गर्न पाउने हकदैया यी वादीहरूलाई नभएको हुँदा अनावश्यक रूपमा मलाई दुःख दिने नियतले दायर गरेको प्रस्तुत फिराद खारेज गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीमध्येका रमेश पुरीको मुख्य प्रतिउत्तर जिकीर ।

                वादी र प्रतिवादीको साक्षीका बकपत्र भै मिसिल सामेल रहेको ।

                हामी सुमीत्रादेवीतर्फका जीवित चार छोराहरूबीच अंशबन्डा भएको छैन, सगोलमा नै छौं । प्रस्तुत मुद्दाका वादीहरूका पिता झुमनाथ जीवितै हुँदा निजहरूको विवाह भै सकेकोले यी वादीहरूले हामी सुमीत्रातर्फका छोराहरूबाट अंश पाउने होइन भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका परशुराम पुरीले गरेको बयान ।

                वादीहरू पिता नारायण पुरी तथा आमा सुमीत्रा पुरीका छोरीहरू हुन । निजहरूको २०/२५ वर्षअगाडि नै विवाह भै सकेको र झुमनाथले हामीउपर अंश मुद्दा दायर गरी सो मुद्दाबाट अंश नपाउने फैसला भै आएको अवस्थामा त्यस्तो व्यक्तिबाट पाएको शेषपछिको बकसपत्रको आधारमा वादीले अंश पाउने होइन भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका लोकनाथ पुरीको बयान ।

                वादीका पिता झुमनाथसमेत पाँच अंशियार रहेको देखिएको हुँदा मिसिल संलग्न वादी र प्रतिवादी डिल्लीनाथ पुरीले मिति २०६०।७।१७ मा पेश गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये कि.नं. ४ समेतका ३६ कित्ता र डिल्लीनाथ पुरीले राखेको निजी गुठीको अक्षयकोषको सम्पत्तिबाहेकको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई दुई भाग लगाई सो दुई भागको एक भागलाई पुनः पाँच भाग लगाई सो पाँच भागको एक भाग वादीको पिता झुमनाथको अंश भाग छुट्‍याई वादीहरूले पाउने र सो सम्पत्ति वादीहरूले चलन चलाई पाउने ठहर्छ । दुई खण्डको एक खण्ड वादीहरूको पिताको अंश भाग छुट्‍याई दिलाई पाउँ भन्नेसम्म वादीको दावी नपुग्ने ठहर्छ भन्नेसमतेको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६१।३।२५ को फैसला ।

                निजी गुठीको आयस्ताबाट गुठी कार्य सञ्चालन गरी बाँकी रहन आउने आयस्ताबाट बाँकी खान पाउने हो । डिल्लीनाथ पुरीले गुठीका जग्गा बिक्री गरी अक्षयकोषमा राखेको रकम कसको जिम्मामा सञ्चालनको अधिकार रहने भन्नेतर्फ जिल्ला अदालत मौन रहेकोसमेतबाट उक्त बैंक खाताहरूमा डिल्लीनाथ पुरीको नाम कट्टा गरी मेरो नाममा नामसारी गर्ने गरी इन्साफ पाउँ भन्ने रमेश पुरीको पुनरावेदनपत्र ।

                तायदातीमा पेश भएका हाम्रो हक भएका सबै जग्गाहरूबाट हामीले अंश पाउनुपर्छ र डिल्लीनाथ पुरीले निजी गुठीका जग्गाहरू बिक्री गरी राखेको अक्षयकोष पनि बन्डा गरी पाउँ भन्नेसमेत व्यहोराको गीता पुरी र सीता गिरीको संयुक्त पुनरावेदनपत्र ।

                रैकर जग्गासमेत बन्डा नगर्ने गरी गरेको फैसला मिलेको छैन । रैकर भएको जग्गालाई निजी गुठी भनी बन्डा नगर्ने गरेको फैसला बदर गरी उक्त जग्गाहरूसमेत बन्डा गरी पाउँ भन्ने डिल्लीनाथ पुरीको पुनरावेदनपत्र ।

                डिल्लीनाथ पुरीलाई सगोलका अंशियार कायम गरेपछि निजले राखेको अक्षयकोष रकम र जग्गा जमीनसमेत बन्डा नगर्ने सुरूको फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. बमोजिम पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई झिकाई पेश गर्नु भन्ने आदेश ।

                यसमा वादीहरूले आफ्नो भाग हिस्सामा पर्न आउने सम्पत्ति जे जस्तो अवस्थामा रहे भएको छ सोही अवस्थामा नै रहने गरी अर्थात निजी गुठीका जग्गा निजी गुठी र रैकर जग्गा रैकर नै जनाई र अक्षयकोषमा नाम समावेश गर्ने गरी फैसला गर्नुपर्नेमा सो नगरेको हदसम्म सुरू जिल्ला अदालतको फैसला मिलेको देखिएन । तसर्थ, प्रतिवादीमध्येका डिल्लीनाथ पुरीले निजी गुठीका जग्गाहरू बिक्री गरी गुठी सञ्चालन गर्न राखेको अक्षयकोषमा सबै अंशियारहरूको नाम समावेश गरी कोषबाट प्राप्त हुने व्याजबाट गुठी सञ्चालन गरी भाग हिस्साअनुसार उपभोग गर्न पाउने र तायदाती फाँटवारीमा उल्लिखित कि.नं. ४, , , , , , ११, १२, १३, १४, १६, १७, १८, १९, २०, २१, २२, २३समेतका जग्गाहरूमध्ये निजी गुठीका जग्गामा सबै अंशियारको हक हुने र रैकर जग्गाहरू बन्डा हुने ठहर गर्नुपर्नेमा सो नठहर्‍याएको हदसम्मको जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ । अरूमा पुनरावेदन जिकीर पुग्न सक्दैन भन्नेसमेत पुनरावेदन अदालत, पाटनबाट मिति २०६३।६।२४ मा भएको फैसला ।

                गुठी धर्मलोप मुद्दाका फैसला र वादीका बाबु झुमनाथले म रमेश पुरीउपर दिएको फैसला बदर मुद्दामा भएका अन्तिम फैसलाहरू विपरीत प्रस्तुत अंश मुद्दा फैसला भएको छ । मसँग गुठी धर्मलोप मुद्दाबाट प्राप्त जग्गाबाहेक अन्य पैतृक सम्पत्ति नभएको र वादीहरूको २५/३० वर्षअघि विवाह भइसकेको र शेषपछिको बकसपत्रकै आधारमा अंश पाउने भए तापनि गुठीदेखि बाहेकको चोखो पैतृक सम्पत्ति भएमा मात्र बकसपत्रबमोजिम अंश पाउने हो अन्यथा गुठीका जग्गाहरू बन्डा गरी वादीले लिन पाउने हक अधिकार नभएको यस्तो अवस्थामा गुठीकै जग्गा बन्डा गर्दा मुलुकी ऐन, गुठीको महलको ३(१) नं. बमोजिम धर्मलोप हुने स्थिति सिर्जना हुने गरी सुरू र पुनरावेदन अदालतबाट भएका फैसलाहरूमा गम्भीर कानून त्रुटि भएकोले सो फैसलाहरू उल्टाई मेरो प्रतिउत्तर जिकीरबमोजिम वादी दावी खारेज गरी प्रतिवादी डिल्लीनाथ पुरीका नाउमा रहेको अक्षयकोषको बैंक खातामा यसअघिको गुठी धर्मलोप मुद्दाको फैसलाबमोजिम प्रतिवादी डिल्लीनाथ पुरीको नाम कट्टा गरी म रमेश पुरीको नाम जनाउने गरी न्याय इन्साफ पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी रमेश पुरीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

                यसमा २०४१ सालको दे.डि.पु.नं. १०३७, १०३८ र १०५३ को पुनरावेदक प्रतिवादी डिल्लीनाथ पुरीसमेत र विपक्षी वादी रमेश पुरी भएको धर्मलोप मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४१।८।२६ गते भएको फैसलको रेर्कड मिसिल पुनरावेदन अदालत, पाटनबाट यथाशीघ्र झिकाई आएपछि साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६५।१२।२६ को आदेश ।

                यसमा गुठीको सम्पत्तिको सम्बन्धमा यसअगाडि अदालतबाट भैरहेका फैसलालाई  आधार नलिई भएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६६।३।२४ को आदेश ।

                यसमा प्रतिवादीहरूमध्येका डिल्लीराम पुरी, लोकनाथ पुरी र परशुराम पुरीले पुनरावेदन अदालतको फैसलामाथि पुनरावेदन नगरेको भए पनि प्रस्तुत मुद्दाको रोहमा न्यायिक निष्कर्षमा पुग्न निजहरूसमेतलाई राखी छलफल गर्नु उपयुक्त हुने देखिँदा निजहरूसमेतलाई पेशीको दिन उपस्थित हुन जानकारी गराई पेशी तोकी नियमबमोजिम गर्नु भन्ने मिति २०६९।१०।२३ को आदेश ।

                 यसमा पक्ष विपक्षबीच पुनः मिलापत्र गर्नका लागि मेलमिलाप केन्द्रमा पठाई पाऊँ भनी दुबै पक्षको संयुक्त निवेदन परेको र प्रस्तुत मुद्दा मेलमिलापबाट टुङ्गो लगाएमा उपयुक्त हुने देखिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६५(घ) बमोजिम तारिख तोकी लगाउका मिसिलहरूसमेत साथै राखी एक महिनाभित्र मेलमिलाप कार्य सम्पन्न गर्ने गरी सर्वोच्च अदालत, मेलमिलाप केन्द्रमा पठाई मेलमिलापको प्रक्रिया सम्पन्न भई आएपछि नियमानुसार पेश गर्नु भन्ने आदेश ।

                पक्ष विपक्षहरूबीच छलफल हुँदा मिलापत्र हुन नसकेको भनी प्रतिवेदनसहित मुद्दा फिर्ता हुन आएको ।

                नियमबमोजिम दैनिक मुद्दा पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ताहरू लक्ष्मीप्रसाद अधिकारी एवं श्रीप्रसाद पण्डितले विपक्षी वादीहरू विवाहित महिलाहरू भएकोले विवाह भै गएपछि पैतृक सम्पत्ति एवं गुठीको जग्गामा समेत हक लाग्ने भन्ने स्थिति भएन । डिल्लीनाथसँग चलेको गुठी धर्मलोप एवं वादीका पिता झुमनाथसँग चलेको फैसला बदर मुद्दाबाट चल्खुमठ गुठीका घर जग्गाहरू रमेश पुरीकै नाममा रही अन्त सरी नजाने प्रष् छ । सो गुठीको जग्गाबाहेक अन्य सम्पत्ति हाम्रो पक्षसँग रहेको स्थिति छैन । यस अदालतबाट र तहतह भएका फैसलाहरूबाट वादीको दावी पुग्न नसक्नेमा पुनरावेदन अदालतले दावीबमोजिम फैसला गरेको मिलेको छैन, पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

                विपक्षी वादीहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेम खड्का एवं विद्वान अधिवक्ताहरू बालकृष्ण देवकोटा, रामकुमार राई र हरिप्रसाद आचार्यसमेतले विवाह भएको कारणबाट बाबु आमाको नाउँको पैतृक सम्पत्ति छोरीहरूले नपाउने भन्ने अवस्था छैन । शेषपछि छोरीहरूले खानु भनी बकसपत्रमा प्रष्ट व्यहोरा उल्लेख गरी लेखिदिएको अवस्था छ । प्रतिवादीले अन्यथा भन्ने ठाउँ छैन । साथै गुठीको जग्गासमेत कुनै एक व्यक्तिको नाउँमा मात्र दर्ता रहँदैमा सगोलमा गर्ने धर्म व्यवहार एवं रीत परम्परामा सबैको  समान सहभागिता रहने हुँदा र पैतृक सम्पत्तिमा छोरीले समेत छोरा समान अंश हक पाउने संशोधित ऐनको मनसाय भएकोले प्रतिपादित नजीरसमेतका आधारमा पुनरावेदन अदालतबाट विवेचना गरी भएको फैसलामा परिवर्तन गर्नपर्ने स्थिति छैन, सोही इन्साफ सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।

                साथै यस अदालतको आदेशबमोजिम तारिखमा रहनुभएका डिल्लीनाथ पुरीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी संभवले वादी प्रतिवादीहरूबीच अंशबन्डा नभएको अवस्थामा वादीहरूलाई समेत संलग्न गराई बन्डा हुनुपर्ने हुँदा पुनरावेदन अदालतले गरेको फैसला मिलेकै छ भनी बहस प्रस्तुत गर्नुभयो ।

                विद्वान कानून व्यवसायीहरूले गर्नुभएको उपरोक्त बहस जिकीरसमेत सुनी पुनरावेदन अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

                2. सम्बन्धित मिसिलसमेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा वादीहरूले बाबु झुमनाथ पुरी तथा आमा बालकुमारी पुरीको हक खाने आफू दुई छोरीमात्र भएको र पिता माताको सेवा टहल एवं मृत्युपछि पितामाताको गर्नुपर्ने काम आफूहरूले गर्दै आएको र पितामाताको हक हिस्सा जतिमा समेत अटूटरूपमा भोग गर्दै आएको हुँदा पिता माताको सम्पूर्ण अंश भागको सम्पत्ति पिताले गरिदिएको शेषपछिको बकसपत्रबमोजिमसमेत पिताको मृत्यु भएको हुँदा मुलुकी ऐन, अंशबन्डाको १, , १०, २०, २१, २३ नं. बमोजिम तायदाती माग गरी शेषपछिको बकसपत्र गरिदिएकोमा पिताका नाममा आउने सम्पत्ति हामी छोरीलाई अंश दिलाई पाऊँ भन्ने व्यहोराको फिराद दावी रहेको पाइन्छ ।

                3. प्रतिवादी रमेश पुरीले २०/२५ वर्षपहिले विवाह गरी अन्यत्र गइसकेका वादीहरूले माइतीतर्फ कुनै दावी गर्न पाउने होइनन् भन्ने जिकीर लिएको देखिन्छ । तर, प्रतिवादीमध्येका डिल्लीनाथ पुरीले नारायण पुरी र मुक्तिनाथ पुरीबीच अंशबन्डा नभएको स्थिति हुँदा आफूसमेत समान अंशियार हुँदा बन्डा गरी आफूले पाउनुपर्ने र वादीहरूलाईसमेत अंश बन्डा भएमा आफ्नो मन्जूरी रहेको निजको प्रतिउत्तर जिकीर रहेको देखिन्छ ।

                4. सुरू जिल्ला अदालतले वादीका पिता झुमनाथको समान पाँच अंशियार रहेको हुँदा वादी प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीमध्ये डिल्लीनाथ पुरीले पेश गरेको तायदातीमा उल्लिखित कि.नं. ४ समेतको ३६ कित्ता जग्गा र निजले अक्षयकोषमा रहेको सम्पत्ति बाहेकको सम्पत्तिलाई दुई भाग लगाई सो दुई भागको एक भागलाई पुनः पाँच भाग लगाई सो पाँच भागको एक भाग झुमनाथको भाग वादीहरूले पाउने तर दुई खण्डको एक खण्ड पिताको अंश भाग छुट्‍याई पाउने दावी नपुग्ने भनी फैसला गरेको देखिन आउँछ ।

                5. उक्त फैसलाउपर वादी प्रतिवादीहरूको चित्त नबुझी पुनरावेदन अदालतमा दुबै पक्षतर्फबाट पुनरावेदन पर्दा वादीहरूले आफ्नो भाग हिस्सामा पर्न आउने सम्पत्ति जे जस्तो अवस्थामा रहे भएको छ सोही अवस्थामा रहने गरी डिल्लीनाथ पुरीले निजी गुठीका जग्गाहरू बिक्री गरी गुठी सञ्चालन गर्न राखेको अक्षय कोषमा सबै अंशियारहरूको नाम समावेश गरी कोषबाट प्राप्त हुने व्याजबाट गुठी सञ्चालन गरी भाग हिस्साअनुसार उपभोग गर्न पाउने र तायदाती फाँटवारीमा उल्लिखित कि.नं. ४ समेतका ३६ कित्ता जग्गाहरूमध्ये निजी गुठीका जग्गामा सबै अंशियारको हक हुने ठहर गर्दै रैकर जग्गाहरू बन्डा नहुने ठहर गरेको सुरू फैसलालाई केही उल्टि गरेको देखिन्छ । पुनरावेदन अदालतको उक्त फैसलाउपर प्रतिवादी डिल्लीनाथ पुरीतर्फबाट पुनरावेदन नपरी चित्त बुझाई बसेको पाइन्छ । पुनरावेदन अदालतको सो फैसलाउपर प्रतिवादी रमेश पुरीले यस अदालतमा पुनरावेदन गर्दा मुख्यतः निम्न जिकीर लिएको देखिन्छ :–

(१) गुठी धर्मलोप निर्णय बदर र फैसला बदर मुद्दासमेतबाट वादीहरूको हक समाप्त भै सकेको छ ।

(२) गुठीदेखि बाहेक शुद्ध चोखो पैतृक सम्पत्ति भएमा मात्र बकसपत्रबमोजिम पाउने हो त्यो पनि विवाह भै गएको महिलाहरूले दावी गर्न पाउने होइन ।

(३) डिल्लीनाथ पुरीको नाममा रहेको अक्षयकोषको बैंक खाता रकमसमेत गुठी धर्मलोप मुद्दाको आधारमा रमेश पुरीको नाउँमा दर्ता हुनुपर्ने हो ।

 

                6. यस अदालतबाट विपक्षी झिकाउने आदेश गर्दा गुठीको सम्पत्तिको सम्बन्धमा यसअगाडि अदालतबाट भै रहेका फैसलालाई आधार नलिई भएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने भन्ने आधारमा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने आदेश भएको पाइन्छ ।

                7. उपर्युक्तबमोजिम विद्वान कानून व्यवसायीहरूले आफ्नो बहसमा उठाउनुभएका प्रश्न, पुनरावेदकले आफ्नो पुनरावेदनमा लिनुभएका जिकीर र यस अदालतबाट झ.झि. हुँदाको आदेशमा उल्लिखित विषय प्राप्त प्रमाण मिसिलसमेतका कागजातहरूको अध्ययन गरी निम्न प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो :–

(क) गुठी धर्मलोप निर्णय बदर एवं फैसला बदर मुद्दाबाट पुनरावेदक प्रतिवादी एवं वादीहरूको हकको स्थिति के कस्तो देखिन्छ ?

(ख) शेषपछिको बकसपत्रबाट दाताको अंश हकमा निजको देहान्तपछि दावी गर्न पाउने हो वा होइन ?

(ग) गुठीको जग्गा एवं अक्षय कोषको रकममा वादीहरूसमेतको हक पुग्ने हो होइन ?

(घ) पुनरावेदन अदालतले गरेको न्साफ मिलेको छ, छैन ?

 

                8. यस अदालतको आदेशानुसार प्राप्त सम्बन्धित प्रमाण मिसिल हेर्दा रमेश पुरी वादी विपक्षी डिल्लीनाथ पुरीसमेत प्रतिवादी भएको गुठी धर्मलोप मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।८।२६ को फैसलाउपर डिल्लीनाथ पुरीले यस अदालतमा सो धर्मलोप मुद्दामा पुनरावेदनको अनुमति पाउन दिएको निवेदनमा धर्मपत्रको लिखितबाटसमेत सुक्री बिक्री गरी हक छाडी दिन नहुने गुठीका जग्गाहरू हक छाडी दिएको देखिएको र सो क्रियामा  डिल्लीनाथ पनि सम्मिलित भै गुठी धर्मलोप हुने क्रियामा सहभागी देखिएको छ । सुक्री बिक्री गर्न हुन्छ भन्न सकेको देखिँदैन भन्दै लिखत बदर गर्ने र गुठी धर्मलोप गरेको ठहर गरी वादी रमेश पुरीलाई महन्थ कायम गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफलाई सदर गर्दै पुनरावेदनको अनुमति नदिने गरी मिति २०४१।९।२६ मा आदेश भएको देखिन्छ ।

                9. साथै जेठो भएकोले महन्त्याइँ आफूले पाउनुपर्नेमा रमेश पुरीलाई मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले महन्त कायम गरेको फैसला बदर गरी पाऊँ भनी वादी झुमनाथले प्रतिवादी रमेश पुरीसमेतउपर दिएको फैसला बदरमा ललितपुर जिल्ला अदालतबाट मिति २०४५।१२।१० मा वादी दावी नपुग्ने ठहर भई अन्तिम रहेको देखिन्छ ।

                10. त्यसै गरी तेस्रो मुद्दाका रूपमा रहेको डिल्लीनाथ पुरी वादी भई रमेश पुरीसमेतका नाउँमा ललितपुर वडा नं. १७ गावहाल चल्खुमा सनदको बर्खिलाप गरी नापी गोश्वाराले विपक्षीहरूको नाउँमा दर्ता गरी दिने गरेको नापीको मिति २०३८।२।२३ को निर्णय बदर गरी कि.नं. ३६३७ को मन्दिर चोक देवलका नाउँमा दर्ता गरी संरक्षक महन् डिल्लीनाथ पुरी जनाउन लगाई नापी गोश्वाराको मिति २०३८।२।२३ को निर्णय बदर गरी महन्त्याइँ दिलाई पाऊँ भन्ने मुद्दामा दावी नपुग्ने गरी बामती अञ्चल अदालतको मिति २०४०।८।१ को फैसला सदर गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०५१।२।१५ मा फैसला भई अन्तिम रहेको मिसिल संलग्न फैसलाको प्रतिलिपिबाट देखिन आउँछ ।

                11. मुलुकी ऐन, गुठीको महलको ३ को देहाय १ नं. मा गुठियारसमेत राखी आफ्नो हक छोडी राखेको गुठी सो गुठी राख्‍ने वा उनका सन्तान हकदारले गुठीको दानपत्र शिलापत्रसमेतका लिखतबमोजिमको काम चलाई शेष जगेडा रहने बाहेकको खान पाउने शेष बाँकीसम्म धितोबन्धक राख्‍न हुन्छ । लेखिएबाहेक बेचबिखन दान दातव्य गरी वा जम्मै भोग धितो राखी वा लिखतबमोजिमको कामसमेत नगरी धर्मलोप गर्न हुँदैन । सन्तान हकदारले लिखतबमोजिमको काम चलाएन वा खान पाउने शेष भोग धितोदेखि बाहेक बेचबिखन दान दातव्य र अरू जम्मै गुठी बेचबिखन दान दातव्य वा भोग धितोसमेत गरी धर्मलोप गर्‍यो भने त्यसले सो गुठीको पालो पाउँदैन । शेष बाँकी बन्डा गरी खान पनि पाउँदैन ऊदेखि पछिको सो गुठीको हकदारले चलाउन पाउँछभन्ने व्यवस्था रहेको छ । वादीका पिता झुमनाथ पुरीले नभई काका डिल्लीनाथ पुरीले उपरोक्त कानूनी व्यवस्थाविपरीत गई धर्मलोप गरेको र धर्मलोप गरेकै कारण उक्त गुठीको आयस्ताका हकमा वादीहरूका पिताको नभई काकाको हक समित हुनपुगेको मान्नुपर्ने हुन्छ । गुठी चलाउने हक र शेष जगेडा खान पाउने हकलाई समान अर्थमा हेर्न मिल्दैन । त्यसमा पनि एकाले गरेको कसूरको सजाय अर्काले पाउने स्थिति हुँदैन । वादीहरूका पिताले महन्त्याइँ पाउँ भन्ने दावी गरेकोमा सो वादी दावी नपुग्नुबाट वादीहरूका पिताको गुठीमा रहेको हकलाई प्रतिकूल असर पर्न सक्दैन । तसर्थ, वादीहरूको गुठीमा धर्मलोपका कारणबाट हक रहन नसक्ने  भन्ने अवस्था मिसिल प्रमाणबाट देखिन आएन ।

                12. प्रस्तुत विवादमा झुमनाथका छोरीहरू वादी गीता सिलवाल एवं सीता गिरीले आफ्नो आमा पहिल्यै स्वर्गे भएको र पिताको शेषपछि पिताबाट प्राप्त शेषपछिको बकसपत्रको आधारमा पिताको हक लाग्ने सबै सम्पत्तिमा आफ्नो हक रहेको भन्ने नै मुख्य दावी जिकीर रहेको छ । मुक्तिनाथ पुरीको छोरा डिल्लीनाथ पुरीले (वादीका काका) रमेश पुरी उपर दिएको धर्मलोप मुद्दाबाट वादीहरूको हकमा कुनै असर पर्ने भएन । जहाँसम्म वादीहरूका पिता झुमनाथ पुरीले रमेश पुरीउपर दिएको फैसला बदर मुद्दामा दावी पुग्न नसक्ने ठहर भएको अवस्था छ । सो महन्त्याइँ विषयको विवादले झुमनाथको अंशहकमा कुनै अवरोध भएको स्थिति छैन ।

                13. स्वर्गीय वासुदेव पुरीका दुई छोरा नारायण पुरी र मुक्तिनाथ पुरी भएका, नारायण पुरीका दुई श्रीमती जगतकुमारी र सुमीत्रादेवी भएकोमा जगतकुमारीतर्फका वादीहरूका पिता झुमनाथ पुरी र सुमीत्रादेवीतर्फ रमेश पुरीसमेत ६ जना दाजुभाइ रहेको भन्ने र मुक्तिनाथ पुरीतर्फका डिल्लीनाथ पुरीसमेत भई प्रस्तुत मुद्दामा झुमनाथ पुरीतर्फका छोरी गीता र सीताले आफ्नो पिताको पैतृक सम्पत्तिमा शेषपछिको बकसपत्रको आधारमा दावी गरेको देखिन आएको छ ।

                14. उपर्युक्त नाता पुस्तावारीमा कुनै विवाद नरहेको अवस्थामा यी वादीहरूले आफ्नो पिताको अंश हकको जग्गामा निजबाट प्राप्त शेषपछिको बकसपत्रका नाताले दावी लिएको देखिन आएबाट पिताले नै आफ्नो अंश हक छुट्‍याई लिइसकेको छ छैन भन्ने कुरा हेर्नुपर्ने भएको छ । उपर्युक्त उल्लिखित फैसला बदरसमेतका फैसलाहरूबाट वादीका दाताको अंश हकमा कुनै असर पर्न जाने अवस्था देखिँदैन । उपर्युक्त कुनै फैसलाले झुमनाथ पुरीले अंशबाट अलग रहेको वा अंश पाइसकेको भन्ने स्थिति देखिँदैन । वादीहरूको दावी अंश बन्डाको १, ५ नं. र दानबकसको ३ नं. बमोजिमको रहेको हुँदा झुमनाथ पुरीबाट प्राप्त सम्पत्तिमा नै यी वादीहरूको हक लाग्न सक्ने वा नसक्ने भन्ने कुरातर्फ विचार गर्दा झुमनाथ पुरी र अन्य अंशियारबीचमा अंशबन्डा भई सकेको छैन । मैलेसमेत अंश पाउनुपर्छ भनी प्रतिवादी डिल्लीनाथ पुरीले आफ्नो प्रतिउत्तरमा उल्लेख गर्नुभएको छ । प्रतिवादी रमेश पुरीले समेत यो यस मितिमा अंशबन्डा भएको छ भनी स्पष्टरूपमा भन्न सकेको देखिँदैन । अंशबन्डा भइसकेको भन्ने अन्य प्रमाणबाट पुष्टि नभएसम्म वादीका दाता र प्रतिवादीहरूबीच अंशबन्डा भएको भनी मान्न मिल्ने देखिँदैन ।

                15. वादीका पिता झुमनाथ पुरीले अंश पाउनेमा विवाद नभएको स्थितिमा निजका छोरीहरूले निजको अंशहक प्राप्त गर्न सक्ने हो होइन भन्ने सम्बन्धमा विचार गर्दा वादीहरूले पिता झुमनाथ पुरीबाट लिएको शेषपछिको बकसपत्रको व्यहोरा हेर्दा, दाताकी श्रीमती बालकुमारीको पहिले नै परलोक भएकी र निजका कुनै पुत्र सन्तानको जायजन्म नभई दुई विवाहित छोरी गीता सिलवाल र सीता गिरीको मात्र जायजन्म भएको व्यहोरा जनाउँदै निजहरूबाट आफ्नो हेरविचार स्याहारसम्भार पालनपोषण भई आएकोले सो रिझाएबापत आफू मरेपछि आफ्नो सम्पूर्ण चल अचल श्रीसम्पत्ति दुईछोरीले भोगचलन गर्न पाउने गरी दान बकसको १ नं. र अंशबन्डाको १९ नं. बमोजिम शेषपछिको बकसपत्र गरी दिएको व्यहोरा उल्लेख छ । सोही लिखतमा आफ्नो काज किरिया, पानी, श्राद्ध, तर्पण जो जे रीतिथितिबमोजिम गर्नुपर्छ गरी गराई बाँचुञ्जेल हेरविचार औषधिउपचार स्याहारसम्भार गर्नुपर्ने हो गर्न तिमी दुई छोरी राजी भएकोले भन्दै मेरो हकभोग भएको र हुने सम्पूर्ण चल अचल अष्टलोह श्रीसम्पत्ति आफ्नो जानी कानूनबमोजिम भोग चलन गर्नूभनी मिति २०५६।९।९।६ मा शेषपछिको बकसपत्र लेखी मालपोत कार्यालय, काठमाडौंबाट पारीत गरिदिएको मिसिल संलग्न उक्त शेषपछिको बकसपत्रको प्रतिलिपिबाट देखिन्छ । बकसपत्रको लिखत आफ्नो सम्पत्ति खानु भनी दिइने लिखत भएकोले लिखतका शर्तबमोजिम पाउनेको हक हुने हुँदा त्यस्तो हक प्राप्त व्यक्तिले उक्त सम्पत्तिमा स्वामित्व प्राप्त गर्ने हुन्छ । सम्पत्तिको स्वामित्वको नामाङ्‍कन सर्ने विविध व्यवस्था छन् । बकसपत्रबाट आफ्नो हक शेषपछि खानु भनी दाताले सम्पत्ति किटानी नगरी सम्पूर्ण सम्पत्ति लेखिदिएको अवस्थामा निजको जे जस्तो साम्पत्तिक हक छ ती सबै बकस पाउने व्यक्तिमा सर्ने हुन्छ । बकस दिनेको सबै साम्पतिक हक प्राप्त गर्नेमा सर्ने हुँदा यसअन्तर्गत सम्पत्तिमा कुनै पनि प्रक्रिया पूरा गर्नुपर्ने भएमा पनि सो प्रक्रिया पूरा गरिलिने हक पनि स्वतः बकसपत्र प्राप्तकर्तामा सर्ने हुन्छ । अर्को शब्दमा हक प्राप्त गर्न व्यक्तिले तेस्रो व्यक्तिउपर कुनै मुद्दा मामिला गर्नु परे पनि सो गरी दाताको सम्पत्ति भोग गर्न पाउने हुन्छ । साम्पतिक हक भनेको केवल भोगाधिकार मात्र होइन, भोगप्राप्तिका लागि चालिनु पर्ने कानूनी प्रक्रिया पनि हो । साम्पतिक हक भनेको देखिने मूर्त सम्पत्तिमाथिको हकमात्र होइन, सोलाई प्राप्त गर्न अवलम्बन गर्नुपर्ने कार्यविधि एवम् प्रक्रियागत हक पनि हो । दाताको नाममा आइनसकेको सम्पत्ति प्राप्तकर्ताले पाउँदैन भन्ने अर्थ गर्ने हो भने लिखतको कुनै औचित्य हुँदैन । साम्पतिक हक दृश्यमात्र होइन, अदृश्य पनि हुन्छ । सम्पत्ति जसको नाममा छ उसको मात्र हुने होइन, यसमा अन्तरभूत स्वामीको पनि उत्तिकै हक हुन्छ । आफ्नो हक हस्तान्तरण गर्न कुनै कानूनले रोक लगाएको छैन । यस्तो सम्भावित हक पनि हस्तान्तरण हुन सक्दछ । तसर्थ, आफूसँग कायम रहेको वा कायम हुन सक्ने सम्पत्ति स्वेच्छानुकूल दिन पाइने हुँदा दिनेको हक जे जति र जे जस्तोरूपमा कायम हुन सक्ने हो सो बकसपत्र प्राप्तकर्तामा पनि सर्दछ ।

                16. यसरी बकसपत्र गरी दिने पिताको आफ्नो अंश हकको नैसर्गिक सम्पत्ति हक हस्तान्तरणबाट निजलाई प्रत्यक्ष वा परोक्षरूपमा रोक्न मिल्ने हुँदैन । दानबकसको १ नं. अनुसार आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरिदिन हुन्छ । यस कानूनले नै हक पुगिसकेको सम्पत्तिमात्र दान बकस गर्न पाइने भनेको छैन । हस्तान्तरण गरिने सम्पत्तिमा दाताको हक पुग्न सक्ने कानूनी अवस्था हुनु नै पर्याप्त हुने यस कानूनले मानेको छ । झुमनाथको श्रीमती बालकुमारीको २०५४ सालमा मृत्यु भइसकेको भन्ने देखिएको छ । श्रीमतीको मृत्युउप्रान्त छोरा नभएको कारण छोरीहरूबाटै आफ्नो हेरविचार स्याहार सम्भार पालन पोषण हुँदै आएको रीझबापत हक भोग भएको र हुने सम्पूर्ण चलअचल अष्टलोह श्रीसम्पत्ति दुई छोरीहरूलाई शेषपछिको बकसपत्र गरिदिएको हुनाले कानूनबमोजिम भोगचलन गरी खानु भनी उक्त बकसपत्रमा उल्लेख गरेको पाइन्छ । बाबु झुमनाथ पुरीको २०५६ पुसमा मृत्यु भएपश्चात् शेषपछिको बकसपत्रको लिखत क्रियाशील हुने भई त्यस्तो बकसपत्र दिनेको जे जस्तो हक थियो सो सबै बकसपत्र पाउनेमा सर्ने हुन्छ । त्यस्तो शेषपछिको बकसपत्रको लिखतबमोजिमको सम्पत्तिमा झुमनाथको शेषपछि छोरी वादी सीता एवं गीताको हक सिर्जना हुन जाने हुन्छ । शेषपछिको बकसपत्र दाताले आफ्नो जीवनकालमा बदर नगराएमा निजको मृत्युपश्चात् क्रियाशील हुने भै त्यस्तो बकसपत्रको लिखत गरी दिनेको मृत्युपश्चात् निजले गरी दिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकसपत्र पाउनेमा सर्ने र बकसपत्र पाउनेको हक स्थापित हुन्छ ।

                17. पुनरावेदक प्रतिवादीले वादीहरू विवाह भै अर्काको घरमा गैसकेको हुँदा अंशबन्डाको १क नं. बमोजिम अंशबन्डा गर्नुपर्ने होइन भन्ने मुख्य जिकीर लिनुभएको र पुनरावेदकतर्फका विद्वान कानून व्यवसायीहरूले समेत सोही जिकीर बहसको क्रममा प्रस्तुत गर्नुभएको पाइन्छ । तर, प्रस्तुत मुद्दामा बकसपत्र पाएको नाताले दाता स्वर्गीय बाबुको अंश हकको प्रतिनिधि पात्रका रूपमा वादीहरू अदालत प्रवेश गरेको अवस्था हो ।

                18. माथि विवेचना गरिएजस्तो प्रस्तुत मुद्दामा वादी गीता सिलवाल एवं सीता गिरीले आफ्नो बाबुको नाममा कायम र कायम हुन आउने सम्पत्तिमा बकसपत्र नाताले हक लाग्ने भै आफ्नो हक उपभोग गर्न पाउने नै देखिन आयो । सम्पत्ति प्राप्त गर्न स्वर्गीय पिताको प्रतिनिधित्व यी वादीहरूले गर्न पाउँदैनन् भन्ने अ.बं. ८२समेतले मिल्ने अवस्था देखिएन ।

                19. अब, जहाँसम्म गुठी र अक्षय कोषको रकमका सम्बन्धमा लिएको दावी जिकीरका सम्बन्धमा विचार गर्दा पिता पर्खाले कुनै कार्य गर्ने उद्देश्यले निजी जग्गा गुठीको रूपमा राख्‍ने र सो उद्देश्य पूरा गर्न निजका सन्तान दरसन्तान सबैको समान दायित्व र कर्तव्य हुने कुरामा कुनै विवाद देखिँदैन । पर्खाले राखेको गुठी जे जस्तो अवस्थामा राखेको छ सोही अवस्थामा रहने गरी गुठीको सञ्चालन हुनुपर्ने हुन्छ । गुठी सञ्चालनको दायित्वसँगै शेष कसर खाने हक पनि साम्पत्तिक हक नै हो । यो हक अहस्तान्तरणीय हुँदैन । प्राप्तकर्ता धार्मिकसमेतका बन्देजले गर्दा गुठी सञ्चालनमा स्वयम् सरिक हुन नसकेमा उपयुक्त प्रतिनिधिमार्फत् सो हक प्रयोग गर्न नसक्ने व्यवस्था प्रचलित कानूनले कतै गरेको छैन । प्रस्तुत विवादमा बाबु गुठियार हुनुहुन्थ्यो भने निजको सो गुठीमा रहेका दायित्व र हक यी वादीमा सर्दछ । गोत्र परिवर्तनसमेतका कारणबाट निजहरूबाट हुन नसक्ने काम उपयुक्त प्रतिनिधिमार्फत् गर्न गराउन कुनै कानूनी बन्देज छैन । महिला गुठी सञ्चालन गर्न असक्षम हुन्छन् भन्ने मान्यता राख्‍न मिल्दैन । निश्चय पनि हाम्रो गुठी प्रणालीमा आफ्नोपन छ । गुठी स्थापनाका प्रयोजन र प्रबन्ध फरक हुन्छन् । ती प्रयोजन र प्रवन्धभित्र महिलालाई कुनै स्थान छैन भन्ने अर्थ गर्न मिल्दैन ।

                20. महिलाविरूद्ध हुने भेदभाव विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धिमा नेपालले मिति २२ अप्रिल १९९१ मा अनुमोदन गरी सकेको छ । नेपाल कानूनसरह उक्त महासन्धि लागू भई नेपाल कानून र महासन्धिको व्यवस्था बाझिएको खण्डमा महासन्धिको व्यवस्था लागू हुने व्यवस्था उक्त सन्धिमा उल्लेख छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २०(४) मा पैतृक सम्पत्तिमा छोरा र छोरीमा समान हक हुने व्यवस्था गरी मौलिक हकको रूपमा महिलाको हक सुरक्षित गरिएको छ । महिलाउपर हुने सबै प्रकारका भेदभाव निर्मूलनसम्बन्धी सन्धि पत्र सन् १९७९ डिसेम्बर १८ मा संयुक्त राष्ट्र महासभाद्वारा पारीत भई मिति ३ सेप्टेम्बर १९८१ देखि लागू भएको पाइन्छ । उक्त सन्धिपत्रको भाग १ धारा १ मा महिला हकको सम्बन्धमा प्रष्ट गर्दै उक्त महासन्धि को धारा १५(२) मा महिलाको हकको सुनिश्चिता प्रदान गरेको छ । नेपाल पक्ष भएको उक्त महासन्धिअनुरूप पैतृक सम्पत्तिमा महिलालाई पुरूष सरह संरक्षण नगरिएका कानूनी व्यवस्थाहरू खारेज गर्ने सम्बन्धमा यस अदालतबाट मीरा ढुङ्गाना विरूद्ध मन्त्रिपरिषद् सचिवालयसमेत भएको ने.का.प. २०६१ साउन, नि.नं. ७३५७, पृष्ठ ३७७ मा प्रतिपादित सिद्धान्तको आधारमा मुलुकी ऐन मा समयनुकल संशोधन भै एघारौं संशोधनपश्चात् हाल लागू रहेको मुलुकी ऐनको अंशबन्डाको महलको ५ नं. मा छोरीलाई पनि छोरा सरह अंश प्राप्त गर्ने समान हकको प्रत्याभूत गरेको छ । अंशबन्डाको साविक ५ नं. मा रहेको सन्तान शब्दको सट्टामा छोरा छोरी भनी शब्द प्रयुक्त गरी छोरा छोरीलाई पैतृक सम्पत्तिमा समान हकदार मानेको छ ।

                21. शेषपछिको बकसपत्र पाउनेमा शेष कसर खानेसमेतका सबै हक सर्ने हुँदा सबै अंशियारले सामूहिकरूपमा गुठी सञ्चालन गरी गुठी राख्‍ने आफ्ना पूर्वजको भावनाअनुसार काम गर्न पाउँदैन भन्नु कानूनको प्रतिकूल हुन जान्छ । छोरीलाई गुठीको ३(१) नं. ले बाहेक गरेको छैन र त्यस्तो अर्थ गर्नसमेत मिल्दैन । त्यस्तो कल्पना गरेको अवस्थामा समानताको हकमा कुठाराधात हुन सक्दछ । पुरूष वा महिला दुबै समानरूपमा गुठीमा समावेश भई गुठीको सञ्चालन एवम् रेखदेख दुबैबाट समानरूपमा हुन सक्ने हुन्छ । कानूनले गुठीको हकमा स्त्री र पुरूष भनी विभेद गरेको अवस्था छैन । गुठीको सञ्चालक महिला हुनै सक्तैन भन्ने मान्यता काननसम्मत हुन सक्दैन । गुठीमा महिलालाई हकाधिकारको दृष्टिले भेदभाव गर्न मिल्ने हुँदैन । गुठीपत्र, लालमोहर, ताम्रपत्र आदि गुठी राख्दाका बन्देज अपरिवर्तनशील होइनन् । राज्यले कानून बनाएर तिनका मूल मर्मलाई नमारी परिवर्तन गर्न सक्छ । गोत्र परिवर्तन भएको समेतका धार्मिक कारणले छोरीले स्वयम् गर्न नसक्ने कुनै कार्य रहेछ भने उपयुक्त व्यक्ति नियुक्त गरी सो काम सम्पन्न गर्न सकिन्छ ।

                22. अंश लिने मात्र होइन दिनु पनि पर्छ । जे जसको भागबाट जे जति अंश बन्डा गर्नुपर्ने हो सो गर्नुपर्ने हुन्छ । पुनरावेदन अदालतको फैसलाउपर  यस अदालतमा प्रतिवादी डिल्लीनाथ पुरी पक्षको पुनरावेदन नपरेको र स्व.डिल्लीनाथ तर्फबाट प्रस्तुत तायदातीका सम्पत्ति विषयमा यी वादीहरूको पुनरावेदन नपरेबाट सो विषयमा केही बोलिरहन परेन । पुनरावेदक रमेश पुरीबाट विधिवत कारवाही चलाएमा ठहरेबमोजिम हुने नै छ ।

                23. निजी गुठीको जग्गाहरू रैकरमा परिणत गरी बिक्री गरेको र सो बिक्री गरेबापत प्राप्त रकम गुठी सञ्चालनको लागि बैंकमा खाता खोली अक्षयकोषमा राखेको कुरामा वादी प्रतिवादीहरूबीच विवाद रहेको देखिँदैन । सबै अंशियारको समान हकाधिकार भएको सम्पत्तिलाई बिक्री गरी बैंकको खातामा राखेको अवस्थामा सो अक्षयकोषको रकममा सबै अंशियारको आआफ्नो भाग हिस्सा देखिने गरी नाम समावेश गर्न र उक्त कोषमा रहेको रकमको व्याजबाट गुठी सञ्चालन गरी गुठी सञ्चालन गर्दा बढी भएको व्याजसमेत शेषको रूपमा आआफ्नो भागबमोजिम उपभोग गर्न पाउने नै हुन्छ । केवल आफ्नो नाममा मात्र सो कोष रहनुपर्ने भन्ने पुनरावेदन जिकीर मनासिव देखिएन ।

                24. अतः वादीहरूको आफ्ना बाबु झुमनाथ पुरीको भाग हिस्सामा पर्न आउने गुठी जग्गा एवं कोष रकम सम्पत्ति जे जस्तो अवस्थामा रहे भएको छ सोही अवस्थामा रहने गरी प्रतिवादी डिल्लीनाथ पुरीले निजी गुठीका जग्गाहरू  बिक्री गरी गुठी सञ्चालन गर्न राखेको अक्षयकोष रकममा समेत सबै अंशियारहरूको नाम समावेश गरी कोषबाट प्राप्त हुने व्याजबाट गुठी सञ्चालन गरी भाग हिस्साअनुसार उपभोग गर्न पाउने गरी तायदाती फाँटवारीमा उल्लिखित जग्गाहरूमध्ये निजी गुठीका जग्गा एवम् कोषमा समेत सबै अंशियारहरूको हक हुने ठहर्‍याई वादीहरूले समेत झुमनाथ पुरीबाट शेषपछिको बकसपत्रमा उल्लिखित व्यहोरा बमोजिम सम्पत्ति पाउने गरी सुरू जिल्ला अदालतले गरेको फैसला केही उल्टी हुने ठहर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।६।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी रमेश पुरीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरू तपसीलबमोजिम गर्नू ।

तपसील

माथि इन्साफ खण्डमा पुनरावेदन अदालत, पाटनको फैसला सदर भै प्रतिवादीको पुनरावेदन जिकीर नपुगेकोले पुनरावेदन अदालत फैसलाले कायम राखेको लगतबमोजिम गर्न सुरू जिल्ला अदालतमा लेख पठाउनू –––––––––––––––––––––––––––––––––––––––––––––

यस अदालतको च.नं. २७, मु. ८७७०, मिति २०६४।१०।३ को पत्रद्वारा रोक्का रहेका जग्गाहरू फैसलाबमोजिम कार्यान्वयन गर्नका लागि प्रस्तुत मुद्दाबाट फुकुवा गरी दिनु भनी मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा लेखिपठाई दिनू –––––––––––––––––––––––

यस अदालतको च.नं. ८७७८ मिति २०६४।१०।३ को पत्रद्वारा रोक्का रहेको जग्गाहरू फैसलाबमोजिम कार्यान्वयन गर्नका लागि प्रस्तुत मुद्दाबाट फुकुवा गरिदिनु भनी मालपोत कार्यालय मकवानपुरमा लेखिपठाई दिनू ––––––––––––––––––––––––––––––––––––––––

यस अदालतको च.नं.५२२४ २७ मु.दे.पु.नं. ४२४/०६३ मिति ०२।०८।२०६४ को पत्रले रोक्का रहेको प्र. डिल्लीराम पुरी नाममा रहेका मुद्दति खाता नं. ०१६६१६५ समेतमा ७ वटा खाता एवम् चत खाता नं. ८२११९५० खाताको भुक्तानी कार्य फैसलाबमोजिम कार्यान्वयनका लागि फुकुवा गरिदिनु भनी नेपाल बैंक लि. काठमाडौं बैंकिङ अफिस मुद्दति विभागमा लेखिपठाई दिनू ––––––––––––––––––––––––––––––––––––––––––––––––––

पुनरावेदक/प्रतिवादीको पुनरावेदन जिकीर नपुगेकोले निज रमेश पुरीले यस अदालतको धरौटी र.नं. ६२८ मिति २०६४।२।१० मा राखेको कोर्टफी धरौटी रू.२४००।– (दुई हजार चार सय) सदरस्याहा  गर्नु भनी लेखा शाखालाई लेख पठाउनू –––––––––––––––––––––––––

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू –––––––––––––––––––––

 

 

उक्त रायमा सहमत छु ।

न्या.भरतबहादुर कार्की

 

इति संवत् २०७० साल भदौ २५ गते रोज ३ शुभम् ...............................।

 

इजलास अधिकृत : हरिहर पौड्‍याल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु