निर्णय नं. ३७५७ - कर्तव्य ज्यान

निर्णय नं. ३७५७ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.सा.नम्बर ७२
सम्वत २०४५ सालको फौ.पु.नम्बर ४९५, ४९६
फैसला भएको मिति : २०४५।११।५।५ मा
पुनरावेदक/प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेकी गौरीमाया पुरीसमेत
विरुद्ध
विपक्षी/वादी : सुमित्रा कार्कीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्नेलाई कुटपिट गरी मारेको भन्ने देखिँदा यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ गर्दा चर्का पर्ने देखिँदा प्रतिवादीहरुलाई अ.बं. १८८ नं. बमोजिम जनही कैद वर्ष १० दश हुने ।
(प्रकरण नं. ३०)
पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाही
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीहरुको पुनरावेदन परेको र साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. दानबहादुरको श्रीमती र १ वर्षको छोरा र म घरमा थियौं । खड्गबहादुरकी श्रीमती गौरीमायाले मिति २०४३।४।२८ गते निज बुहारी र म मकै बोक्दै गरेकोमा गौरीमाया र निजको छोरी सीतामाया पुरी आई छोरी सीता अर्कासंग हाँसखेल गरी भनिछ भनी मेरी बुहारीलाई एकपटक गालामा कुटी मुख लुछी सकेपछि घरमा गई फेरि आई लात्ति मुड्की घुस्सी समेतले कुटपिट गर्दा मैले मनाही गर्दा छाडी गएपछि म घरतर्फ आउँदा बुहारी घरमा नभएकीले बारीमा हेर्न जाँदा कोइरालाको रुखमा पूर्वपट्टि हाँगामा हात्तिवारको डोरीमा पासो लागी झुण्डिएको भेटी गाउँ घर हल्ला गरी सबैलाई बोलाई हेर्दा आफैं झुण्डी मर्नु पर्ने कारण नहुँदा गौरीमायाले कुटी झुण्ड्याई मारेमा शड्ढा लागी प्रधानपञ्च गाउँका मानिस समेत लाश कुरुवा राखी जाहेर गर्न आएको छु । निजको मतियार को को छन निजैबाट खुलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र ।
३. मृतकको लाश घाँटीमा चिउडो मुनी ३ इन्च लम्बाई २ इन्च चौडाई किच्चिएको जस्तो नीलडाम परेको नङले कोरिएको छाला खुइलिएको दुवै कुममा कोरिएको, योनीबाट रगत निस्की तिघ्रा पिंडौला र कुरकुच्चासम्म बगी लतपत भएको देखिएको, योनीको पछाडी र मलद्वारको बीच भागमा सुनिएको केही चिजले घोचेजस्तो मलद्वारबाट दिशा निक्लेको भन्ने समेत मिति २०४३।४।२९ गतेको लाश प्रकृति मुचुल्का ।
४. घाँटी थिचेर मृत्यु भएको भन्ने भोजपुर अस्पतालको मिति २०४३।४।३१ गतेको पोष्टमार्टम रिपोर्ट ।
५. २०४३ साल साउन २८ गते विहान देखि म र छोरी बारीमा मकै भाँची घरमा बोक्दै थियौं । छोरी सीतामाया कुन्तेको छोरासंग बस उठी लसपस भएछ भनी मृतकले भनेपछि रिस उठी मृतकको घरमा जाँदा छोरालाई दूध खुवाउँदै रहिछन देख्नासाथ मेरो छोरीलाई बकवाद बोल्ने बजिनी भनी दुईहातले गालामा हिर्काउँदा धनबहादुरले हात नछाड भनेपछि कुटन छाडी मकैबारीतर्फ लागे मकै बोक्दा पनि छोरीलाई भनेको सम्झिदा चित्त नबुझी मर्ने राजकुमारी आफ्नै बारीमा मकै भाँच्दै गरेको बेला निजलाई समाती लात्ति मुड्की खुट्टाले कुट्दा लडिन् घाँटीमा खुट्टाले थिच्दा ५ मिनेट पछि मरी । मेरी छोरी सीतामायाले पनि कपाल जगल्टाई मरेपछि छोरीलाई डोरी लिन पठाई छोरीले मृतकको घाँटीमा बाँधी कोइरालोको रुखमा लगी झुण्ड्याएको हो । सीताले खुट्टापट्टि मैले टाउकोमा बोकी लगेको र छोरी सीतामायाको सहमति छ भन्ने समेत प्रहरीमा गौरीमायाले गरेको कागज ।
६. २०४३ साल साउन २८ गते विहान दिउँसो आफ्नै बारीमा मकै भाँची बोकी रहँदा मलाई कुन्तेको छोरासंग बसाउठी भए भन्ने कुरा राजकुमारीले गरिछ ‘यसलाई’ भनी आमा राजकुमारीको घरतर्फ लागिन । निज छोरालाई दूध ख्वाउन लागेकी रहिछ । आमाले मेरो छोरीलाई बकवाद बोल्ने बजिनी भनी दुई हातले गालामा हिर्काई आमा बारीतर्फ लागिन म पनि आमासंगै लाग्दै गएँ । २ घण्टापछि राजकुमारी पनि आफ्नो बारीमा मकै भाँच्दै गरेको अवस्था आमा गई लडाई कुटपिट गर्दै रहिछ । म पनि गई राजकुमारीलाई लडाई गालामा हातले र कपाल समाती जगल्टाउँदा लडिन । त्यसैपछि आमाले लठ्ठीले घाँटीमा थिचेको ५ मिनेट पछि मरी मैले घरबाट डोरी ल्याई आमा र मैले बोकी निजकै कोइरालोको रुखमा लगी घाँटीमा बाँधी रुखमा चढी झुण्डयायौं भन्ने प्रतिवादी सीतामाया पुरीले २०४३।५।८ मा प्रहरीमा गरेको कागज ।
७. उक्त २८ गते विहानको खाना खाई खेतमा पानी लगाउन गएको थिएँ । अं. ४ बजे घर आई पुगें । अं. ६ बजे हो–हल्ला हुँदा म घटनास्थलमा गएको थिएँ । म समेत भई मृतक झुण्ड्याएको होइन । मृतकको शरीरमा चोट परेको देखिएको हुँदा मेरी श्रीमतीको कर्तव्यबाट मरेको हो भन्ने प्रहरीमा प्रतिवादी खड्गबहादुर पुरीले गरेको कागज ।
८. उक्त साउन २८ गते दिउँसो १–२ बजे सुमित्राको घरमा गफ गर्न जाँदा निजकी बुहारी आँगनमा छोरालाई दूध खुवाउन लागेको अवस्था गौरीमाया आई एक्कासी मेरो छोरीलाई बकवाद गर्ने तलाई नमारी छाडदिन भन्दै हातले गालामा गोदिन । मैले हुन्न भन्दा वारीतर्फ लागिन । अं. ६ बजे मृतककी सासू सुमित्राले बुहारीको ज्यान मारियो भनी हल्ला गर्दा हेर्न गएँ राजकुमारी कोइरालाको रुखमा झुण्डिएको देखें । अरु कसैले होइन गौरीमाया र सीतामायाले नै कर्तव्य गरी मारी झुण्ड्याएको भन्ने धनबहादुर राइले प्रहरीमा गरेको कागज ।
९. खड्गबहादुर खेतबाट घर आई छोरी श्रीमती समेतको सल्लाहले मारी ढोड थन्क्याउने निउले मारिएको हो । निज खड्गबहादुर बुहारी मरेको बेलुका हामीलाई बोलाई मर्नेको पछाडि लाग्न हुँदैन भवितव्यबाट मरेको पार्नुपर्छ । तिम्रो छोरालाई रुपैयाँ ५०,०००।– दिन्छु भनेकाले यिनै गौरीमाया, सीतामाया र खड्गबहादुर समेतको मिलोमतोबाट मारी झुण्ड्याएको भनी प्रहरीमा रणध्वज कार्कीले गरेको कागज ।
१०. उक्त २८ गते दिनेको १–२ बजे गौरीमाया मेरो घरमा आई रण्डी कहाँ छ छोरीको बदनाम गरी हिंड्ने खुन नखाई छाड्दिन भनी राजकुमारीलाई २–३ थप्पड १–२ लात्ति हान्दा सीतामाया आई आमा घर जाउ यसको उपाय गर्नु पर्छ भनी गए । अं. छ बजे बुहारीलाई गौरीमाया सीतामायाले कुटी मारेछ र झुण्ड्याएछ भनी सासू सुमित्रा कराउँदै आउँदा गई हेर्दा विश्वास लाग्यो, निज मरेकै रात खड्गबहादुर मेरो घरमा आई सासू समेत बोलाई जे हुनु भइहाल्यो मर्नेको पछाडि लाग्न हुन्न । तिम्रो छोरालाई जे चाहिन्छ दिन्छु रु. ५०,०००।– समेत दिन्छु भनेकोले पूरा विश्वास लाग्छ गौरीमाया सीता र खड्गबहादुरको मिलेमतोबाट मारी झुण्ड्याएको भनी प्रहरीमा कुलकुमारी पोख्रेलले गरेको कागज ।
११. खड्गबहादुरले मर्ने मरी गयो मर्नेको पछि लाग्नु हुन्न । तिमीलाई जे जति सम्पत्ति चाहिन्छ म तयार छु, मेरो श्रीमती छोरीलाई बचाई देउ रु. ५०,०००।– खेतवारी र छोरी जो चाहिन्छ रोजे आफ्नै जातको केटी विवाह गरे पनि म खर्च व्यहोरी दिने भएँ भनी मलाई भन्दा म नमानेको हुँ साथै मलाई यस्तो कुरा गरेपछि खड्गबहादुर, गौरीमाया, सीतामाया पुरी समेत भई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी मिति २०४३।५।१८ गते प्रहरीमा दानबहादुर पोख्रेलले गरेको कागज ।
१२. सरजमीनका अधिकांश मानिसहरुले गौरीमायाले मृतकलाई दिनमा कुटपिट गरेको सोही बेलुका राजकुमारी पोख्रेल झुण्डी मरेको देख्दा यिनै गौरीमाया र सीतामाया पुरी समेत भई कर्तव्यबाट मारी झुण्ड्याएको विश्वास लाग्छ भन्ने समेत मिति २०४३।५।२० गतेको सरजमीन मुचुल्का ।
१३. प्रतिवादी गौरीमाया पुरीलाई ज्यान सम्बन्धीको १३ देहाय दफा ३ र प्रतिवादी सीतामाया र खड्गबहादुर पुरी समेत २ जनालाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजायँ हुन सक्कल मिसिल र प्रतिवादी गौरीमाया, सीतामाया र खड्गबहादुर पुरी समेतलाई यसै साथ प्रस्तुत गरेका छौं भनी जिल्ला सरकारी वकील कार्यालय र प्रहरी अधिकृतको संयुक्त प्रतिवेदन ।
१४. म २०४३।४।२८ गते आफ्नै घरमा सानो बच्चा खेलाई बसेको अवस्था छोरी डल्ली आई दिदी सीता र मामाको छोरा लसपस गरेको कुरा धनबहादुर राईले देखेको भनी धारामा सुने भन्दा के हो भनी मैले निज धने राईलाई लिई राजकुमारीको घरमा गई निजलाई सोधनी गर्दा धनबहादुरले देखेको अरे भन्दा मैले हल्ला गरेको हुँ भनी घरबाट छोरी लिन गएकोले म फर्कि आएँ । सो पछि निजसंग भेटघाट भएन, जाहेरी बमोजिम मैले लात्ति मुड्की हात समेतले मृतकलाई कुटपिट गरेको होइन निज आफैं झुण्डिएको हो उक्त दिन बेलुका कोइरालाको रुखमा राजकुमारी झुण्डिएको हेर्न गइन । भोलिपल्ट गएको हुँ । प्रहरीमा मलाई यातना दिई के कस्तो कागज लेखी नसुनाई सहिछाप गराएको हो मैले सो गरेको र भनेको नहुँदा प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी गौरीमाया पुरीले अदालतमा गरेको बयान ।
१५. मिति २०४३।४।२८ गते अं. ६ बजे बेलुका बारीको कोइरालाको रुखमा राजकुमारी झुण्डी मर्यो भन्ने हल्ला सुनेकी हुँ । सो दिन आमा गौरीमाया घरमै छन्, जाहेरी बमोजिम म समेतले कुटपिट गरे भनी किन भनेको हो, निजै जानुन मैले कुनै कसूर नगरेको हुँदा प्रहरी प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी सीतामाया पुरीको अदालतमा बयान ।
१६. मिति २०४३।४।२८ गते दिन अं. १० बजे खाजा खाई १ कोष टाढा कटहरे भन्ने खेतमा पानी लगाउन गई घाम अस्ताउने टायममा घर आई पुगेको हुँ । जाहेरवालीले ज्यान मारौं भनी भनेको सुन्दा धनबहादुर, कृष्णबहादुर राई समेतका मानिससंग हेर्न गएको निजैको बारीका कोइरालाको रुखमा हात्तिवारको डोरीले घाँटी बाँधी झुण्ड्याएको लाशले भूइँ छुइएको थिएन र कर्तव्य आत्महत्या के हो म भन्न सक्तिन भन्ने समेत प्रतिवादी खड्गबहादुर पुरीले अदालतमा गरेको बयान ।
१७. कारवाही गर्दै जाँदा पछि ठहरे बमोजिम हुने गरी हाल गौरीमाया र सीतामायालाई अ.बं. ११८ नं. को ३(१) र खड्गबहादुरलाई ऐ. ११८ ३(२) अनुसार पुर्पक्ष निमित्त (ख) श्रेणीको सिधा दिई थुनामा राख्नु भन्ने समेत मिति २०४३।५।२४ गतेको थुनछेकको आदेश रहेछ ।
१८. मृतक राजकुमारी कर्तव्य वा भवितव्यबाट के भई मरे म सुत्केरी हुँदा लाश देखिन भन्ने कालीमाया पुरी मृतक राजकुमारी कर्तव्यबाटै मरेको जस्तो लाग्यो प्रतिवादी गौरीमाया, सीतामायाले कुटपिट गरेको भन्ने सुनेको हुँदा प्रतिवादी खड्गबहादुर पुरीलाई मैले खेतमा देखे भेटेको हुँदा निज उपर शंका लाग्दैन भन्ने राधेश्याम भारती अरु मैले केही सुनिन, राजकुमारी झुण्डिएको हुँदा देखेको खड्गबहादुर घरमा नभई खेतमा पानी लगाउन गएको हो । मृतक के कसरी मरे ? भन्ने समेत प्रतिवादी खड्गबहादुरको साक्षी दलबहादुर समेतको बकपत्र ।
१९. प्रतिवादी गौरीमाया पुरी र सीतामाया पुरीले मर्ने राजकुमारीलाई कर्तव्य गरी मारेको ठहर्छ । प्रतिवादी खड्गबहादुर पुरीले सफाई पाउने ठहर्छ भन्ने भोजपुर जिल्ला अदालतको मिति २०४४।४।१८ गतेको फैसला ।
२०. हामीलाई सजायँ गर्ने गरी गरेको भोजपुर जिल्ला अदालतको फैसलामा चित्त बुझेन प्रमाण बुझी सफाई पाउँ भन्ने गौरीमाया पुरी, सीतामाया पुरीको पुनरावेदनपत्र ।
२१. प्रहरी प्रतिवेदन दावी अनुसार खड्गबहादुर पुरीलाई सजायँ हुनु पर्ने सफाई दिएको फैसलामा चित्त बुझेन दावी अनुसार गरिपाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदनपत्र ।
२२. मृतक राजकुमारीलाई प्रतिवादी गौरीमाया पुरी, सीतामाया पुरीले कर्तव्य गरी मारी आरोपित कसूरी गरेको ठहर्याएको प्रतिवादी खड्गबहादुरलाई आरोपित कसूरबाट सफाई दिने गरी गरेको शुरु भोजपुर जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । थुनामा रहेको प्रतिवादी खड्गबहादुरलाई अरु मुद्दाबाट थुन्न नपर्ने भए छाडिदिनु भनी छिटो साधनबाट भोजपुर कारागारमा लेखी पठाउनु भन्ने कोशी अञ्चल अदालत, धरानको मिति २०४४।९।१३ गतेको फैसला ।
२३. पुनरावेदीकाहरुलाई सर्वश्वसहित जन्मकैद र जन्मकैदको सजायँ गर्ने गरी गरेको भोजपुर जिल्ला अदालतको फैसला सदर गर्दै कोशी अञ्चल अदालतले गरेको फैसला न्यायपूर्ण नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गौरीमाया पुरी, सीतामाया पुरीले जिल्ला कार्यालय कारागार शाखा मार्फत यस पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
२४. प्रतिवादी खड्गबहादुरलाई सफाई दिने गरी कोशी अञ्चल अदालतबाट भएको पुनरावेदन फैसला कानुनी त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रतिवादी खड्गबहादुर पुरीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरिपाउँ भन्ने श्री ५ को सरकारको यस पूर्वाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२५. राजकुमारीलाई प्रतिवादी सीतामायाले कपाल जगल्ट्याएको र प्रतिवादी गौरीमायाले घाँटी थिची मारेको ठहर्याएको र प्रतिवादी खड्गबहादुरलाई सफाई दिएको शुरुको इन्साफ सदर गरेको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।४।१९ गतेको फैसला ।
२६. सो फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीहरुको यस सर्वोच्च अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरुतर्फबाट रहनु भएका विद्वान वैतनिक कानुन व्यवसायी अधिवक्ता श्री कुलदेव राजशाहीले मर्ने राजकुमारीलाई पुनरावेदकहरुले मारेको भन्ने प्रमाण छैन । प्रहरीमा भएको साविती अन्य प्रमाणबाट समर्थित भएको छैन । धनबहादुर, रणध्वज र कुलकुमारीको कथन विश्वसनीय छैन । कुटपिटको वारदात भिन्न अवस्था भएको छ । सो कुटाइबाट मरेको होइन । मकै बारीमा कुटपिट गरी मारेको भन्ने चस्मदिद गवाहको अभाव छ । तसर्थ प्रतिवादीहरुले सफाई पाउनु पर्छ भन्ने बहस गर्नुभयो ।
२८. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
२९. यसमा निर्णयतर्फ हेर्दा सर्वप्रथम मर्ने राजकुमारी पोख्रेल कर्तव्य परी मरेको हो अथवा आफैं झुण्डी मरेको के हो ? हेर्नु परेको छ । अभियुक्त गौरीमाया पुरीले मर्ने राजकुमारी पोखरेलको घर आँगनमा गई कुटपिट गरेको थियो भन्ने जाहेरवाली सुमित्रा कार्कीको कथनबाट समेत पुष्ट्याई भएको छ । त्यसपछि मर्ने राजकुमारी पोखरेल मकैवारीमा गएको भन्ने मिसिलबाट देखिन्छ । मौकामा भएको लाश प्रकृति मुचुल्काबाट मर्ने राजकुमारी पोखरेल आफैं झुण्डी मरेको भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था देखिदैंन । सो लास प्रकृति मुचुल्काबाट मृतकको शरीरमा दुवै गोडाको गोली गाँठा पछाडि पाइतालामा सम्म रगत लतपतिएको दुवै खुट्टामा एडीले भिन्तो (कान्लो) छोएको सबै औंला नीलो देखिएको दुवै गोडा मुनी जमीनमा मृतकको शरीरबाट निस्केको खून झरी भिजी रहेको घाँटीमा चिउँडो मुनि कसिएको डोरीको रातो र कालोेकालो डाम देखिएको, घाँटीमै सो डाम मुन्तिर अं. ३ इञ्च लम्बाई २ इञ्च चौडाई किचिएको नील डाम परेको दाहिने पट्टि गर्धनमा नङको जस्तो स–साना कोरिएको ६–७ वटा चोट परी छाला खुइलिएको रगत आएको पछाडि गर्दनमा नङको कोतरेको जस्तो सानो चोट परी छाला खुइलिएको रगत नआएको घा चोटहरु रहेको नै देखिन्छ । लाशको एडीले भिन्तो (कान्लो) छोएको भन्ने उल्लेख भएको छ । लाश जाँच प्रतिवेदनबाट झुण्डी मरेको भन्ने मेडिकल डाक्टरको राय रहेको छैन । घाँटी थिचिएको कारणबाट मृत्यु भएको भन्ने नै देखिन्छ । झुण्डी मरेको अवस्थामा घाँटीमा डोरीको डाम (लिगेचर मार्क) हुनु पर्ने थियो । तर नङले खोस्रेको जस्तो डाम रहनु पर्ने हँुदैन अभियुक्त गौरीमायाको लोग्ने खड्गबहादुरले स्वास्नी छोरीलाई नमार भनी भनेको थियो भन्ने सरजमीनका व्यक्तिहरुको कथन रहेको पाइन्छ । यस स्थितिमा मर्ने राजकुमारी पोखरेल झुण्डी मरेको मान्न मिलेन । कर्तव्यबाट नै मरेको ठहराएको मिलेको देखिन्छ ।
३०. अब यी पुनरावेदकहरुले मर्ने राजकुमारी पोखरेललाई कर्तव्य गरी मारेको हो होइन भनी हेर्दा प्रतिवादी सीतामाया अर्कासंग हाँसखेल गरे भनी बुहारीले भनेछ भनी बुहारीलाई कुटपिट गरी मारी झुण्ड्याई मारे कारवाही गरिपाउँ भन्ने समेत जाहेरी परेको देखिन्छ । अभियुक्त सीतामाया तथा गौरीमाया पुरीले मौकामा प्रहरी समक्ष बयान गर्दा मर्ने राजकुमारीलाई कुटपिट गरी कपाल लुछी मारी झुण्ड्याएमा सावित भएको पाइन्छ । तर अदालतमा बयान गर्दा अपराध गरेमा इन्कार रहेको देखिन्छ । चस्मदिद देख्ने रणध्वज कार्की, धनबहादुर राई, दानबहादुर पोखरेल, फुलकुमारी पोखरेल र जाहेरवाला सुमित्रा कार्की समेतले प्रतिवादी गौरीमाया र सीतामायाले कुटपिट गरेकोबाट राजकुमारी मरेको भनी अदालतमा समेत किटानी बकपत्र गरी दिएको पाइन्छ । यसबाट निज प्रतिवादी गौरीमाया र सीतामायाको प्रहरीमा भएको साविती पुष्टी भएको देखिन्छ । प्रतिवादी खड्गबहादुरको साक्षी राधेश्याम भारतीले प्रतिवादी गौरीमायाले कर्तव्यबाट मरेको जस्तो लाग्छ भनी अदालतमा बकपत्र गरेको छ । प्रतिवादी सीतामायाको साक्षी कालीमायाले राजकुमारीको मृत्यु कसरी भयो मलाई थाहा छैन भनेको देखिन्छ । प्रतिवादीले कर्तव्य गरी मारेको होइन भन्न सकेको छैन । प्रतिवादीहरुले आरोपित कसूर गरेको होइन भन्ने तथ्ययुक्त आधार देखिँदैन । यस स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ मर्ने राजकुमारीलाई निज पुनरावेदक प्रतिवादी सीतामायाले कपाल जगल्ट्याएको र प्रतिवादी गौरीमायाले घाँटीमा थिची कर्तव्य गरी मारेको ठहराएको शुरु भोजपुर जिल्ला अदालत र कोशी अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदनबाट निर्णय भएको हुँदा साधक तर्फ केही बोलीरहन परेन । साधकको लगत काटी दिनु अब सजायँतर्फ हेर्दा प्रतिवादीहरु गौरीमाया पुरी र सीतामाया पुरीले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रहेको देखिन्छ । तर प्रहरीमा कागज गर्दा प्रतिवादी सीतामाया कुन्तेको छोरासंग लसपस भएको भन्ने कुरा राजकुमारीले गरेकोमा बकवास गर्ने भनी मर्ने राजकुमारीलाई कुटपिट गरी कलाप लुछी मारेमा सावित भएको पाइन्छ । मिसिल प्रमाणबाट प्रतिवादी सीतामाया पुरी कुन्तेको छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्ने राजकुमारीलाई कुटपिट गरी मारेको भन्ने देखिन्छ यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादी गौरीमाया पुरीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद र प्रतिवादी सीतामाया पुरीलाई ज्यान सम्बन्धी १३(४) बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा निज प्रतिवादी दुवैजना गौरीमाया पुरी तथा सीतामाया पुरीलाई अ.बं. १८८ नं. बमोजिम जनही कैद वर्ष १० दश हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं. १८८ नं. ले जनही कैद वर्ष १० दश हुन्छ । मिति २०४३।५।८ गते देखि थुनामा परी हाल भोजपुर कारागार शाखामा थुनामा हुँदा कानुन बमोजिम गर्नु भनी भोजपुर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१, प्रतिवादी गौरीमाया पुरी १, प्रतिवादी सीतामाया पुरी १
माथि लेखिए बमोजिम सजायँ हुने भएकोले देहायका प्रतिवादीहरुलाई भोजपुर जिल्ला अदालतका मिति २०४४।४।१८ का फैसलाले क्रमशः सर्वश्व सहित जन्म कैद र जन्मकैद गर्ने गरेको सो सजायँ नलाग्ने हुँदा सो सजायँको लगत काटिदिनु भनी भोजपुर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२
प्रतिवादी गौरीमाया पुरी के सर्वश्व सहित जन्मकैद...१, प्रतिवादी सीतामाया पुरीके जन्मकैद १
प्रतिवादी गौरीमाया पुरीको अंश सर्वश्व मिति २०४४।६।९ का मुचुल्काबाट रोक्का रहेको सो अंश सर्वश्व रोक्का गर्नु परेन । फुकुवा गरीदिनु भनी भोजपुर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...३, कैद वर्ष १० हुने ठहरी निर्णय भएको सूचना पुनरावेदकहरुलाई दिनु...४ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...५
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल फाल्गुण ५ गते रोज ५ शुभम् ।