शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७५८ - जिऊ मास्ने बेच्ने

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७५८    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको फौ.पु. नम्बर ४१६

फैसला भएको मिति : २०४६।२।९।२ मा

पुनरावेदक/वादी : लिलामाया चापागाईको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जिल्ला मोरङ सुन्दरपुर गा.पं. वडा नं. ५ बस्ने रामजन भन्ने रन्जन हुसेन मियाँ

मुद्दा : जिऊ मास्ने बेच्ने

(१)    प्रतिवादीको साक्षीले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन, प्रतिवादीलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिने स्थितिमा निज प्रतिवादी निर्दोष रहेछ भन्न नसकिने ।

(प्रकरण नं. १६)

पुनरावेदक तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

२.    मिति २०४१।१०।२६ गते बेलुकी मेरी छोरी सीतादेवी चापागाई गाउँको गणेशबहादुर श्रेष्ठको छोरीको विवाहमा रमिता हेर्न गएको फर्की नआएकीले खोज तलाश गर्दा रामजन हुसेन भन्ने रन्जन हुसेन मियाँले ललाई फकाई भारततर्फ लाँदै गर्दा प्रहरीले पक्राउ गरेको र छोरीले समेत ललाई फकाई प्रलोभनमा पारी लगेको भनेको हुँदा निजलाई जिउमास्ने बेच्नेका महल बमोजिम कारवाही र सजायँ गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र ।

३.    मिति २०४१।१०।२६ गते बेलुका अं. ८ बजेको समयमा गाउँकै गणेशबहादुरको छोरीको विवाहमा रमिता हेरी घर फर्कंदा बाटामा रामजन भन्ने रन्जन हुसेन मियाँसंग भेट भयो । निजले कहाँबाट आएकी भन्दा साथीको विवाहमा गई आएकी भने, त्यसो भए म पनि जान्छु फेरि जाऊँ भन्दा म मानिन साथीको विवाहको उपलक्षमा मिठाई खाउँ भनी ज्यादै जिद्धी गरेकोले मिठाई खानासाथ शरीर भरंग भयो म एकोहोरीएछु त्यसपछि रातारात इटहरी दक्षिण गाइसार चतरा नहरको बाटो हुँदै कर्सिमा भन्ने ठाउँमा आइपुग्दा भोलिपल्ट दिनको १२ बजेको थियो । आज भारतको सुन्दरीमेला हेर्न जानु पर्छ भनी बोडरमा पुर्‍याई सकेपछि म जान्न भन्दा हिड्छौ भने हिंड नत्र यसै छुरीले मारी दिन्छु भनी छुरी निकाल्दा म डरले रोएँ चिच्याएँ त्यसै बेला प्रहरी समेत आई हामी दुवैलाई पक्राउ गरेको हो । मलाई ललाई फकाई विदेश भारत लगी बिक्री गर्ने उद्देश्य गरेकोमा कानुन बमोजिम कारवाही गरी सजायँसमेत गरिपाउँ भन्ने समेत सीतादेवी चापागाईको प्रहरीमा भएको कागज ।

४.    २०४१।१०।२६ गते भारत सुन्दरी मेलाबाट इस्लाम मियाँ आएको थियो । निजले नेपालबाट कुनै केटी फकाई लगे मेलामा भा.रु. ५,०००।मा बिक्री हुन्छ आधी आधी बाँडौला भनेकोले पैसाको प्रलोभनमा परी सीतादेवीलाई ललाई फकाई बिक्री गर्ने नै उद्देश्यले लगेको हुँ भन्ने समेत रामजन भन्ने रन्जन हुसेन मियाँले प्रहरीमा गरेको साविती बयान कागज ।

५.    रामजन भन्ने रन्जन मियाँको चालचलन खराब भएको व्यक्ति हो । निज आफूले गरेको अपराधमा सावित भएको र सीतादेवीले समेत मिठाई ख्वाई एकहोरो पारी बिक्री गर्न लगेको भनेको हुँदा बिक्री नै गर्ने उद्देश्यले लगेको हो भन्ने समेत सरजमीन मुचुल्का ।

६.    उपरोक्त सबूद प्रमाणबाट रन्जन हुसेन मियाँ र ताहिर इस्लाम मियाँ समेतले सुश्री सीतादेवी चापागाईलाई विदेश भारतमा लगी बिक्री गर्ने उद्देश्यले नै नेपाल भारत दशगजा बोर्डरमा टपाउन लाग्दा प्रहरीले फेला पारेको सिद्ध हुन आएकोले प्रतिवादी मध्ये ताहिर इस्लाम मियाँ भारत निवासी हुँदा नेपाल सरहदमा फेला परेका अवस्था पक्राउ गरी पेश गरिने हुँदा प्रतिवादी रामजन भन्ने रन्जन हुसेन मियाँलाई जिउ मास्ने बेच्ने महलको १ नं. बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेत संयुक्त प्रहरी प्रतिवेदन ।

७.    सीतादेवी र मेरो आजभन्दा ३ वर्ष अघिदेखि प्रेम थियो । २०४१ साल माघ २६ गते राती हामी दुवै गाउँ घर छाडी लोग्ने स्वास्नी भई बस्न मन्जूर गरी सो रात इटहरी देखि दक्षिण खनारमा बस्यौं सीतादेवी र म एउटै औछ्यानमा सुत्यौं करणी लिनु दिनु पनि भयो सो अगावै पनि धेरै पटक राजीखुशीले करणी लिनु दिनु भएको थियो । केही दिन अघि सीतादेवीले ३ महीनाको गर्भ छ भन्छिन् भोलिपल्ट खनारबाट हिंडी कर्सिया दक्षिण गाउँमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो । बिक्री गर्ने उद्देश्यले लगेको होइन भन्ने समेत प्रतिवादी रामजन भन्ने रन्जन हुसेन मियाँले अदालतमा गरेको बयान ।

८.    मेरो रन्जन मियाँसंग अघिदेखि प्रेम थिएन । ३ महीनाको गर्भ पनि छैन, निज रन्जन हुसेन र अर्को एकजनाले सुन्दरी मेला हेर्न जाऊ भनी लगेका हुन् । खनारमा म र रन्जन एउटै ओछ्यानमा बसे पनि करणी लिनु दिनु भएन । प्रतिवादी रन्जनले मलाई बिक्री गर्ने उद्देश्यले विदेश लान खोजेको हो भन्ने समेत सीतादेवी चापागाईले अदालतमा गरेको बकपत्र ।

९.    यसमा पीडित व्यक्ति सीतादेवीको उमेर जाहेरी दर्खास्त निजको प्रहरीमा भएको कागज र अदालतको बकपत्र सरजमीनबाट वर्ष १५ मात्र देखिएकोले र निजलाई साथमा लगेकोमा प्रतिवादी सावितै हुँदा जिउ मास्ने बेच्नेको महलको दफा २ को अपराध गरेको मान्न पर्ने हुँदा निज प्रतिवादी रामजन भन्ने रन्जन हुसेन मियाँलाई रु. ५००।जरिवाना र २ वर्ष कैद हुने ठहर्छ भन्ने समेत मिति २०४२।१०।६ गतेको शुरु मोरङ जिल्ला अदालतले गरेको फैसला ।

१०.    सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

११.    अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम सम्बन्धित प्रतिवादीहरुलाई सूचना दिने भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।११।५ को आदेश ।

१२.   प्रतिवादीले सीतादेवीलाई राजीखुसीले लगेको देखिन्छ । बिक्री गर्न लगेको भन्ने सबूद प्रमाणको अभाव देखिँदा जिउ मास्ने बेच्नेको १ नं. अन्तर्गतको कसूर प्रतिवादीले गरेको भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहराई ज्यू मास्ने बेच्नेको २ नं. अन्तर्गतको कसूर गरेको ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।५।१७ गतेको फैसला ।

१३.   सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी तर्फको निवेदन परेकोमा भारततर्फ जान लागेको अवस्था प्रहरीद्वारा पक्राउ भएको समेत देखिएको स्थितिमा जिउ मास्ने बेच्नेको १ नं. लागू हुनु पर्नेमा उक्त १ नं. को त्रुटिपूर्ण व्याख्या गरी सोही ऐनको २ नं. लगाई सजायँ गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधित दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।९।७।३ को आदेश ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट बहस गर्न उपस्थित हुनुभएको विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले सीतादेवीलाई भारतमा बिक्री गर्ने उद्देश्यले लान लागेको अवस्था प्रतिवादी पक्राउमा परेको छ । प्रतिवादी प्रहरीमा सावित पनि छ । सो साविती अन्य प्रमाणबाट समर्थित छ । तसर्थ जिउ मास्ने बेच्नेको १ नं. अन्तर्गत सजायँ गर्नु पर्नेमा जिउ मास्ने बेच्नेको २ नं. अनुसार सजायँ गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो ।

१५.   प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय हुन पर्ने हुन आएको छ ।

१६.    यसमा निर्णयतर्फ हेर्दा रन्जन हुसेन मियाँ र ताहिल इस्लाम मियाँ समेतले सुश्री सीतादेवी चापागाईलाई विदेश भारतमा लगी बिक्री गर्ने उद्देश्यले लिई गई नेपाल भारत दशगजा बोर्डर टपाउन लाग्दा प्रहरीले फेला परेको सिद्ध हुन आएकोले प्रतिवादी रामजान हुसेन मियाँ भनेको रन्जन हुसेन मियाँ र ताहिल इस्लाम मियाँ समेतलाई जिउ मास्ने बेच्नेको १ नं. बमोजिम सजायँ गरिपाउँ तर प्र.ताहिल इस्लाम भारतीय हुँदा नेपालमा फेला परेका अवस्था पक्राउ गरी पेश गरिने भन्ने प्रहरी प्रतिवेदन दावी देखिन्छ । प्रतिवादी रामजान भन्ने रन्जन हुसेन मियाँले प्रहरी समक्ष कागज गर्दा सीतादेवीलाई भारततर्फ लान लाग्दा जान इन्कार गरी हल्ला भई प्रहरीले पक्राउ गरेको हो निज सीतालाई खास बिक्री गर्ने उद्देश्यले लिएर गएको थिए भनेको छ । तर अदालतमा बयान गर्दा सीतादेवी मेरो प्रेमिका हो । आपसमा लोग्ने स्वास्नी भई बस्न दुबैको मन्जूर भई भागेको हुँ । तर सीतालाई मैले बिक्री गर्ने उद्देश्यले लगेको होइन भनी इन्कार रहेको पाइन्छ । अभियुक्त रामजान भन्ने रन्जन हुसेन र केटी सीतादेवीलाई मझोर गा.पं. वडा नं. ९ मा पर्ने भारत र नेपालको दश गजा सतार टोल नजिक फेला परेको भनी पक्राउ परेको भन्ने मिसिलबाट देखिन्छ । सीतादेवी चापागाईले प्रहरीमा कागज गर्दा भारतको सुन्दरी मेला हेर्न जान इन्कार गरी रोई कराएपछि प्रहरीले पक्राउ गरे भन्ने र अदालतमा बयान गर्दा सुन्दरी मेला हेर्न जाउँ भनी गाउँघरबाट बिक्री गर्ने उद्देश्यले विदेश लान खोजेको हो । निजसंग करणी लिनु दिनु भएको छैन । गर्भ रहेको छैन भनेको पाइन्छ । सरजमीन व्यहोरामा विदेश भारत लगी बिक्री गर्ने नियतले लगेको भनी शंका देखाई लेखाई दिएको सरजमीनका व्यक्तिहरु गणेशबहादुर श्रेष्ठ, रामबहादुर खड्का, केवलराम चापागाई, अमृतबहादुर विश्वकर्मा र कृष्णप्रसाद चापागाईले विदेश बिक्री गर्न लाने उद्देश्यले लगेको भनी शंका व्यक्त गरी अदालतमा समेत बकपत्र गरेको छ । यसबाट अभियुक्त रामजान भन्ने रन्जन हुसेनले सीतादेवीलाई विदेश भारत लगी बिक्री गर्ने उद्देश्यले लगेकोमा पक्राउ भएको भन्ने देखिन्छ । सीतादेवी संग ३ वर्ष देखि प्रेम भएको र सीतादेवी गर्भवती भएको भन्ने अभियुक्त रामजन भन्ने रन्जन हुसेनको कथन प्रमाणबाट पुष्टयाई हुन सकेको छैन । प्रतिवादी रामजन भन्ने रन्जन हुसेनको साक्षी कमलदर्जी र रौदीय ऋषिदासनले सीतादेवीलाई रन्जन मियाँले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन । निज प्रतिवादी रामजन भन्ने रन्जन हुसेनलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिन्छ । यस स्थितिमा निज प्रतिवादी निर्दोष रहेछ भन्न सकिने अवस्था रहेन । तसर्थ प्रतिवादी रामजन भन्ने रन्जन हुसेन मियाँले सीतादेवी चापागाईलाई बिक्री गर्ने उद्देश्यले लगी मुलुकी ऐन जिउ मास्ने बेच्ने महलको १ नं. को अपराध गरेको ठहर्छ । तर बिक्री भई नसकेको हुँदा प्रतिवादी रामजन भन्ने रन्जन हुसेनलाई १० दश वर्ष कैद हुन्छ ।

१७.   जिउ मास्ने बेच्नेको २ नं. अन्तर्गत सजायँ गरेको मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी रामजन भन्ने रन्जन हुसेन मियाँके माथि इन्साफ खण्डमा लेखिए अनुसार जिउ मास्ने बेच्नेको १ नं. ले कैद वर्ष १०।दश हुन्छ । हाजिर नभई बेरुजु हुँदा अघि थुनिएको दिन कट्टी गरी नपुग कैद ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु...१, प्रतिवादी रामजन भन्ने रन्जन हुसेनके शुरु मोरंग जिल्ला अदालतका २०४२।१०।६ का फैसलाले गर्ने गरेको कैद वर्ष २ र जरिवाना रु. ५००।नलाग्ने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु...२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल ज्येष्ठ ९ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु