निर्णय नं. ३७६० - उत्प्रेषण

निर्णय नं. ३७६० ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको रिट नं. १६७४
आदेश भएको मिति : २०४५।११।८।१ मा
निवेदिका : श्री स्यांजा घर भई हाल का.न.पं. वडा नं. ३२ कालिकास्थान बस्ने डा.श्रीमती अरुणा उप्रेती
विरुद्ध
विपक्षी : परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूती गृह शिशु कल्याण केन्द्र काठमाडौंसमेत
विषय : उत्प्रेषण
(१) निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने नदेखिने ।
(प्रकरण नं. ७)
निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री अशोक उप्रेती
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ ।
२. म परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मी देवी प्रसूती गृह शिशु कल्याण केन्द्रमा त्यस कल्याण केन्द्रको मिति २०४३।५।२ को पत्र अनुसार मिति २०४३।५।१६ देखि लागू हुने गरी रा.प.तृ.(प्रा.) सरहको मेडिकल अधिकृत पदबाट ६ महीना सम्मको परीक्षण कालमा रहने गरी स्थायी नियुक्ति भएको थिएँ । त्यस केन्द्रको मिति २०४३।५।२ को पत्र अनुसार मिति २०४३।५।१६ गतेदेखि लागू हुने गरी ६ महीनाको परीक्षण कालको अवधि मिति २०४३।११।१६ मा सकिएको हुँदा २०४३।११।२० को पत्रद्वारा सोही मिति २०४३।११।१६ देखि २०४४।५।१५ सम्म लागू हुने गरी पुनः ६ महीनाको परीक्षणकाल थप गरियो । दोस्रो परीक्षणकालको अवधिमा मिति २०४४।५।५ गते देखि म प्रसूति हुन गई सोही कारणले सेवामा उपस्थित हुन सकिन । त्यस सम्बन्धी व्यहोरा दर्शाई प्रसूति बिदा र दशैं पेश्की समेत पाउँ भनी निवेदन दिएकोमा, प्रसूति बिदामा नै बसेको अवस्थामा निवेदिकाको नाममा मिति २०४४।६।२२ को पत्र अनुसार निवेदिकाको सेवा अवधि म्याद थप नभएको कारणले समाप्त भएको जानकारी पत्र दिइयो । स्थायी कर्मचारी भएकोले सो सम्बन्धमा सञ्चालक समिति समक्ष उजूरी दिएको थिएँ । जसबाट पनि शुरुको निर्णयलाई यथावत नै मानिएको छ । म स्थायी कर्मचारी भएको कुरा शुरु परीक्षण अवधि नै ६ महीना राखिएको र परीक्षणकाल समाप्त भएकाले स्वतः स्थायी नियुक्ति प्राप्त गरेको मान्नु पर्ने हुँदा मलाई म्याद थप नगरी सेवा पदबाट हटाउन पाउने अधिकार प्रत्यर्थीहरुलाई नभएकोले मलाई हटाउने सम्बन्धमा गरिएको निर्णय स्वतः सुन्य एवं प्रभाव विहिन छ । पटक पटक परीक्षणकाल थप गर्ने अधिकार प्रत्यर्थीहरुलाई कुनै कानुनले दिएको छैन । मलाई परीक्षणकालको अवधिमा पदबाट निष्काशन नगरी परीक्षणकाल समाप्त भएको अवधिबाट म्याद थप नगरिएको भनी पदबाट हटाउने कार्य भएको छ । परीक्षणकाल समाप्त भइसकेको अवस्थामा पदबाट हटाउने गरी भएको निर्णयले अधिकारको अतिक्रमण भएको छ । मलाई परीक्षणकालकै अवधिमा मेरो कार्यको दोष तथा अनुपयुक्तता देखाई मलाई सेवाबाट हटाइएको होइन प्रसूति गृहको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली बमोजिम मैले पाउने सुविधा पनि मलाई उपभोग गर्न दिएन । नियम कानुनको निर्वाह नगरी मलाई पदबाट हटाउने सम्बन्धमा गरिएको निर्णय दुराशयपूर्ण हुनुको साथै दोषयुक्त छ । निवेदिकाको पद नै खारेज गरिएको होइन छैन । पद खारेज नगरिएको अवस्थामा मलाई म्याद थप नभएको कारणबाट हटाउने अधिकार कुनै कानुन तथा नियमले समर्थन गर्दैन । पदबाट हटाउने काममा न्यायिक मन प्रयोग गरिनु पर्दछ । यसरी न्यायिक मनको अभाव रहेको मलाई पदबाट हटाउने सम्बन्धमा गरिएकोे काम कारवाही तथा निर्णय र सञ्चालक समितिको निर्णय समेत बदरभागी छ । मलाई संविधान र कानुनले प्रत्याभूति गरिएको हक अपहरण भएकोले मलाई पदबाट हटाउने सम्बन्धमा भएका निर्णय तथा कारवाहीहरु बदर गरी पुनः सेवामा यथावत बहाल गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।
३. यसमा के कसो भएको हो ? निवेदिकाको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत व्यहोराको आदेश ।
४. निवेदिकालाई यस प्रशुति गृहमा मेडिकल अधिकृतको लागि दिएको आवेदन अनुसार २०४३।५।२ मा ०४३।५।१६ देखि लागू हुने गरी ६ महीनाको परीक्षणकालमा नियुक्त गराइएको र उक्त अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने उल्लेख गरिएको छ । जसबाट स्थायी नियुक्ति मान्न मिल्दैन । परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मी देवी प्रसूती गृह तथा शिशु कल्याण केन्द्रको कर्मचारी प्रशासन नियम, २०३९ को नियम २, ४(१) बमोजिम परीक्षणकालमा रहेको अधिकृत तहको नियुक्ति भएपछि सोही नियमको तर भन्ने वाक्यांश अनुसार परीक्षणकालमा वृद्धि गर्न पनि सकिने अधिकार क्षेत्र अन्तर्गत निवेदिकालाई पहिलो परीक्षणकाल सकिएको २०४३।११।१६ बाट पुनः सोही मितिदेखि २०४४।५।१५ सम्मको लागि रेसिडेन्सियल हाउस अफिसर डाक्टरका रुपमा परीक्षणकाल थप नियुक्ति गरिएको, २०४३।११।२० मा अर्को परीक्षणकाल थप गरेको नियुक्तिपत्र प्रदान गरिएकोबाट पहिलो ६ महीनाको परीक्षणकाललाई पुनः समय तोकी परीक्षणकालमै राखिएको र निजले पाउने सुत्केरी बिदा पनि परीक्षणकालको बाँकी अवधिसम्म निजले पाउने बिदाको सम्बन्धमा कुनै प्रकारको अवरोध गरिएको छैन । दशैं खर्चको सम्बन्धमा निजको नियुक्ति ०४४।५।१५ सम्म भएकोले दशैं खर्च पाउन नसक्ने व्यहोरा सूचित गराई ०४४।६।२२ मा पत्र लेखी दिएको देखिन्छ । निवेदिका कहिल्यै स्थायी कर्मचारी बन्नु भएको छैन । स्थायी कर्मचारी नभएपछि सञ्चालक समितिमा पुनरावेदन पनि लाग्न नसक्ने र संचयको रु. पनि कट्टी नभएको देखिन्छ । यसरी पहिलो ६ महीनाको परीक्षणकाल पछि अर्को एक अवधि थप गर्न सकिने व्यवस्था अनुसार पहिलो परीक्षणकाल २०४३।११।१६ मा सकिएको, सोही मिति देखि पुनः ०४४।५।१५ सम्मको लागि परीक्षणकाल थप गरिएको भनी प्रष्ट उल्लेख गरी जानकारी नगराइएकोमा स्थायी नियुक्ति प्राप्त गरेको मान्न मिल्दैन । ०४४।५।१५ सम्मको परीक्षणकाल व्यतित भएपछि ०४४।६।२२ को पत्रले निवेदिकालाई स्थायी कर्मचारीको रुप प्रदान गरेको संक्षिप्त र त्यस्तो अर्थ निकाल्न पनि मिल्दैन । निजको परीक्षणकालको पदाधिकार ०४४।५।१५ मा नै समाप्त भएको प्रष्ट हुन्छ । यसरी परीक्षणकालमा रहेको कर्मचारीलाई कुनै कार्यविधि अपनाउन नपर्ने र त्यस्तोमा प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन जाने कुराको प्रश्न आउँदैन । पद खारेज गर्नु नपर्नेसंग कुनै सम्बन्ध छैन । परीक्षणकालमा नियुक्ति पाउनेले स्थायी पदमा पदासीन भएको आधार बिना नै न्यायिक मनको अभाव भयो भनी दोषारोपण गर्नु उचित होइन । यसबाट निवेदिकाको कुनै हक अधिकारमा हनन् हुन गएको नहुँदा माग बमोजिमको आदेश जारी हुन नपर्ने भई रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षीहरुको संयुक्त लिखितजवाफ ।
५. यसरी नियम बमोजिम पेश हुन आएकोमा निवेदिकातर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री शम्भु थापा र अशोक उप्रेतीले र विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो मुख्यत निवेदिकाका माग बमोजिम आदेश जारी हुने नहुने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
६. परीक्षणकालमा रहेको कर्मचारी सो अवधि समाप्त भएपछि स्वतः स्थायी कर्मचारी हुने अवस्थामा मलाई अस्थाई कर्मचारी सरहको प्रकृया अपनाई सेवाबाट अवकाश गरिदिएको विपक्षीहरुको निर्णय कानुनसंगत नहुँदा बदर गरी पुनः सेवामा यथावत कायम हुन परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेको पाइन्छ भने निवेदिकाको पद स्थायी नभई अस्थायी हुने अस्थायी पदका कर्मचारीलाई सेवाबाट हटाउन स्थायी प्रकृतिको प्रकृया अपनाउन नपर्ने हुँदा निवेदिकालाई सेवाबाट अवकाश गरेको कार्य न्यायसंगत नै छ भन्ने समेत लिखितजवाफ देखिन्छ ।
७. यसमा निवेदिका परोपकार श्री ५ इन्द्रराज्य लक्ष्मीदेवी प्रसूती गृहमा, मेडिकल अधिकृत पदमा मिति २०४३।५।१६ देखि लागू हुने गरी ६ महीनाको परीक्षणकालमा नियुक्ति भएको कुरामा विवाद देखिँदैन । उक्त अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांश यी निवेदिकालाई दिएको नियुक्ति पत्रमा नै उल्लेख भएको पाइन्छ । यस स्थिति र अवस्थामा निवेदिकालाई सोही पदमा स्थायीको लागि कुनै कारवाही गरिएको पनि पाइँदैन । निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको उक्त अवधिभित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने देखिँदैन । परिणामतः निवेदिका उक्त पदमा स्थायी भइसकेको देखिन आएन । यसर्थ नियुक्ति नै स्थायी रुपको देखिन नआएबाट निवेदिकाले जिकिर लिएको अरु कुरामा केही विचार गरिरहन परेन । रिटनिवेदन खारेज ठहर्छ फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल फाल्गुण ८ गते रोज १ शुभम् ।