निर्णय नं. ३७६२ - अंश

निर्णय नं. ३७६२ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४५ सालको दे.पु.नं. ९४०
फैसला भएको मिति : २०४६।३।११।१ मा
पुनरावेदक/प्रतिवादी : पाँचथर सुमाड गा.पं. वार्ड नं. ७ बस्ने नरध्वज लिम्बु
विरुद्ध
विपक्षी/वादी : ऐ. ऐ. बस्ने लालबहादुर लिम्बू
मुद्दा : अंश
(१) छुट्टी भिन्न भई अलग अलग रहेको प्रत्यक्ष प्रमाणको सही मूल्याड्ढन नगरी केवल मानो छुट्टिएको सम्म भन्ने अर्थ लगाई वादी दावी बमोजिम वादीलाई अंश पाउने ठहर गरेको इन्साफ त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त
फैसला
न्या.बब्बरप्रसाद सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।१३।२ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि प्रतिवादीको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. बाजे जसबीरको दुई श्रीमतीमा जेठी पट्टी सुमानध्वज, कान्छी पट्टी बाबु बलबहादुर जन्मेपछि अंश गरी बसी आउँदैमा विपक्षीका बाबु पद्मलाल जन्मेका हुन् कान्छी पट्टीका बाबु बलबहादुर र विपक्षीका बाबु पद्मलाल सगोलमा बसी पछिबाट मानो चामलसम्म भिन्न भई बाजेका आर्जनका जग्गा जमीन सगोलबाट भोग गर्ने भनी व्यवहार गरी आएकोमा विपक्षी नरध्वज कानुन जान्ने हुँदा विपक्षीले बाबुका पालादेखि दामकाम गरी आएको बाबु बाजेका सम्पत्ति हाडाभाडा के कति छ मलाई थाहा छैन । बाबुको कृयापछि मलाई अंश दिनु भनी विपक्षीलाई पटक पटक माग्दा लाखेभनी अंश दिएन दिलाई पाउँ भन्ने फिराद ।
३. वादीका बाबु बलबहादुर जेठा मेरो बाबु पद्मलाल कान्छा हुन् । बाबुले नीतिपूर्वक अंश बण्डा मिलाई बेग्ला बेग्लै घर धुरी खडा गरी बसी आउँदैमा वादीका बाबुले डिल्लीराज उप्रेतीको घरसंग आफूले पाएको अंश जग्गामा रु. ६०।– थप लगाई सट्टापट्टा गरी सो जग्गा समेत बिक्री गरी वादीका बाबु बलबहादुर आसाम गई वादी समेत आसाममा जन्मेका हुन् सो हुँदा अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र ।
४. प्रतिवादीबाट पेश हुन आएको कं. रु. ६०।– को १९७३ का सक्कल लिखत देखाउँदा देखे सो लिखत मेरा बाबु बलबहादुरबाट सट्टापट्टा हुँदा सत्य व्यवहारबाट खडा भएका तमसुक हुँदा सो लिखत प्र.नरध्वजले मेरा बाबुलाई राख्न दिएको थियो भन्ने वादी वा.को बयान ।
५. १९७३ को लिखत बलबहादुरले डिल्लीराम बसै जाँदा मलाई जिम्मा दिएको हो । अंश भइसकेको हुँदा ऋणसम्म देखाएको मात्र हो भन्ने समेत व्यहोराको प्र.वा.प्रेमराजले गरेको बयान ।
६. प्र.नरध्वजले पेश गरेको फाँटवारीमा बाजे जसबिरको आर्जनको अंश लाग्ने भनी देखिएको ८१,०००।– मोल बिगोको जग्गा आधा भाग वादीको अंश लागी निजका नाउँमा दर्ता हुने ठहर्छ भन्ने शुरु पाँचथर जिल्ला अदालतको २०३९।१।२३ को फैसला ।
७. शुरु जि.अ.ले गरेको इन्साफ उपर चित्त बुझेन भन्ने नरध्वज लिम्बूको पुनरावेदन ।
८. पुनरावेदनको कुनै उजूरी दावी भई बदर भएको पनि नदेखिएको समेतका आधार प्रमाणबाट पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु पाँचथर जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतका २०३९।८।२१ को फैसला ।
९. शुरुको सदर गरेको मेची अञ्चल अदालतको इन्साफमा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी नरध्वज लिम्बूको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने समेत पू.क्षे.अ.को आदेश ।
१०. वादी प्रतिवादी अंशियारा भएको कुरामा कुनै विवाद नभएको र पैतृक सम्पत्तिमा वादीले अंश पाएको भन्ने प्रमाण प्रतिवादीबाट गुजार्न सकेको समेत मिसिलबाट नदेखिएकोले वादीले पैतृक सम्पत्तिमा आधी अंश पाउने गरी शुरु सदर गरेको मेची अञ्चल अदालतको पुनरावेदन फैसलामा कुनै त्रुटि नदेखिएकोले परिवर्तन गरिरहन परेन भन्ने समेत पू.क्षे.अ.को २०४२।११।१३ को फैसला ।
११. पू.क्षे.अ.ले १९७३।१।८ को सट्टा पट्टाको लिखत तथा २०३७।४।२९ को कबूलियत समेतको कुनै मूल्याड्ढन नगरी कानुनको त्रुटि गरी गरेको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको यस अदालत समक्ष पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।१।२४ को आदेश रहेछ ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी वादीका नाउँमा म्याद गई आफैं बुझी लिई रीतपूर्वक म्याद तामेल भई आएको देखिएको तर मुद्दाको पुर्पक्षमा उपस्थित हुन नआएको पुनरावेदक प्रतिवादीको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री नारायण बल्लभ पंतले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१४. यसमा पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गर्दा मिति १९७३।२।८ को सट्टापट्टाको लिखतबाट मानो सम्म छुट्टिएको देखिएको र वादी प्रतिवादी बीच अंशबण्डा भएको प्रमाण प्रतिवादीबाट पेश हुन नआएबाट वादी दावी बमोजिम अंश पाउने ठहर गरेको शुरु सदर गरेको अञ्चल अदालतको फैसलालाई सदर गरेको देखिन आयो ।
१५. मिति १९७३।२।८ मा वादीको बाबु बलबहादुरले डिल्लीराज उप्रेतीको घरसंग आफूले पाएको अंश जग्गामा कम्पनी रु. ६०।– थप लिई सट्टापट्टा गरी लिनुदिनु गरेको मिसिल साथ रहेको उक्त सक्कल सट्टापट्टाको लिखतबाट देखिन आएको र उक्त लिखतलाई अदालतबाट मु. ऐ. अ.बं. ७८ नं. बमोजिम वादीलाई देखाई सुनाउँदा उक्त लिखतलाई बाबुले गरी दिएकोमा स्वीकार गरेको देखिन आएको छ साथै मिसिल सामेल रहेको यिनै वादीले यिनै प्रतिवादीबाट जग्गा कमाउन लिई २०३७।४।२९।४ मा कूत कबूलियत गरी कमाउन लिएको उक्त कबूलियतबाट समेत सगोलमा रहेको देखिन नआई अंशबण्डा भई अलग अलग रहेको देखिन आएको छ । यसरी छुट्टी भिन्न भई अलग अलग रहेको प्रत्यक्ष प्रमाणको सही मूल्याड्ढन नगरी केवल मानो छुट्टिएको सम्म भन्ने अर्थ लगाई वादी दावी बमोजिम वादीलाई अंश पाउने ठहर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण देखिन आएकोले दावी बमोजिम अंश दिलाउने गरेको शुरु तथा अञ्चलको इन्साफलाई सदर गरेको पू.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु जि.अ.तथा अञ्चल अदालतले गरेको पू.क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएकोले शुरु जि.अ.को मिति २०३९।१।२३ को फैसलाले कायम गरेको सम्र्पूण लगत कट्टा हुने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.त. मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१, ऐ. ऐ. ठहरेकोले पुनरावेदक प्रतिवादी नरध्वज लिम्बू के निजले मेची अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २८।७५ वादीबाट भरी पाउने हुँदा ऐन बमोजिम वादीको जेथा देखाई प्रतिवादीको भरी पाउन दर्खास्त पर्न आए भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिई बाँकी कोर्टफीको हकमा जेथा जमानी दिई जेथा जमानीमा रहेको जग्गा समेत रोक्का रहेको देखिँदा उक्त रोक्का रहेको जग्गा फुकुवा गरी दिनु भनी मालपोत कार्यालय पाँचथरलाई लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२, ऐ. ऐ. ठहरी फैसला भएकोले पुनरावेदक प्रतिवादी के. पू.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु. ४।७५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २२२।७५ वादीबाट भरी पाउने हुँदा ऐन बमोजिम वादीको जेथा देखाई भरी पाउन प्रतिवादीको दर्खास्त पर्न आए ऐन बमोजिम भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...३, पू.क्षे.अ.को इन्साफ उल्टी भई फैसला भएकोले पू.क्षे.अ. का मा.न्या. श्री केदारनाथ उपाध्याय तथा मा.न्या. श्री नरेन्द्रबहादुर न्यौपानेको उल्टीमा रेकर्ड राख्नु...४, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...५
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल असार ११ गते रोज १ शुभम् ।