शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७६३ - बाली

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७६३    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ६२८

फैसला भएको मिति : २०४६।३।११।१ मा

पुनरावेदक/वादी : ल.पु.जि. लुभू गा.पं. वार्ड नं. ५ भगती लाक्षी बस्ने सानुमान श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. गा.पं. वार्ड नं. २ गछेटोल बस्ने रत्नबहादुर कसाई

मुद्दा : बाली

(१)    विवादित जग्गा वादीको छोराको नाउँमा दर्ता भइसकेको देखिएको स्थितिमा वादीले प्रतिवादीबाट बाली भराई पाउने, हकदैया पुग्न नसक्ने ।

(प्रकरण नं. ११)

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।१३।१ को फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमतिको लागि यस अदालत समक्ष पर्न आएको निवेदनमा अनुमति पाई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    मेरो बाबु आत्मारामको मृत्यु भएपछि मेरो अंश हक हुन आएको जग्गामा २०२१ सालमा भू.सुधार सर्भे नापी हुँदा लुभु महालक्ष्मी गा.पं. वार्ड नं. ४ख कि.नं. ७० को अ. खेत रो. ०१२२ कि.नं. ८४ को अं. खेत रो. ३० समेत ठहर गरी जग्गाधनीमा मलाई र जोताहा मोहीमा विपक्षीलाई कायम गरी विपक्षीले नै कमाई आएको उक्त जग्गाको ०३४ सालको बाली नदिएकोले बाली भराई पाउँ भनी नालिश दिएको यसै अदालतमा दायर छ । २०३५ सालको बाली पनि नबुझाई खाने नियत गरी समयमा धरौट पनि नराखेको हुनाले जम्मा खेत ऐ. ४२ को लाग्ने धान मुरी ४।१८।४ दिए जिन्सी र नदिए बजारमा चलेको दर भाउले धान मुरी १ को रु. १२०। का दरले हुने जम्मा रु. ५९६। विपक्षीबाट भराई पाउँ भन्ने समेत व्यहोराको सानुमान श्रेष्ठको मिति २०३५।१२।१ को फिराद ।

३.    उक्त वादी दावीको जग्गा मिति ०३६।१२।२३ गतेको भू.सु.का. ल.पु.को निर्णयले सो जग्गा मध्ये कि.नं. ८४ को जग्गा रो. ३० वादीको भिन्न भएको छोरा मदनगोपाल श्रेष्ठले लिनु भएकोले सो जग्गाको बाली निजलाई बुझाएको छु, कि.नं. ७० को जग्गामा २०३३ सालको बाली धरौट राखेको थिएँ र वादी र मेरो बीचमा चलेको बाली भराई जग्गाबाट निष्काशन मुद्दामा भू.प्र.का. भू.प्र.बाट श्रेस्तामा वादीको नाम दर्ता नदेखिँदा वादी दावी खारेज गर्ने गरी मिति २०३४।९। गते भएको फैसला उपर स.अ. मा रिट पर्दा समेत उक्त जग्गा वादीको नाममा दर्ता नदेखिँदा रिट खारेज गर्ने गरी मिति २०३५।४।१३ मा आदेश भएको छ । तसर्थ दुवै कि.नं. मा वादीको स्वामित्व नभएको हुँदा झुठ्ठा वादी दावीबाट फुर्सत गराई पाउँ भन्ने समेत व्यहोराको रत्नबहादुरको मिति ०३६।१।४ को प्रतिउत्तर कि.नं. ८४ को ३० वादीको छोरा मदनगोपाल श्रेष्ठका नाउँमा दर्ता प्रमाणित भएको मिति २०३७।३।२० को मालपोत कार्यालय भ.पु.को पत्र साथ आएको मिसिल सामेल रहेको जग्गाधनी श्रेस्ताबाट देखिन आएको र यिनै वादी प्रतिवादीहरुको ऐ. कि.नं. का जग्गाको बाली भरी पाउँ भन्ने मुद्दामा कि.नं. ७० को जग्गा वादीको नाउँमा दर्ता भई नसकेको जग्गाको बाली भराई पाउँ भन्ने वादीको दावा पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०३८।३।३ को फैसला ।

४.    शुरु जिल्ला अदालतबाट मेरो प्रमाणहरुको मूल्यांकन नै नगरी भएको फैसला उल्टी गरी मेरो दावी बमोजिम बाली भराई पाउँ भन्ने समेत व्यहोराको सानुमान श्रेष्ठले बा.अं.अ.मा गरेको पुनरावेदन ।

५.    कि.नं. ७० को बाली बिगो नपाउने र ८४ को बाली भरी पाउने ठहर्‍याई फैसला हुनु पर्नेमा कि.नं. ८४ को समेत नपाउने गरी गरेको जिल्ला अदालतको इन्साफ खण्ड नमिलेको देखिँदा सोही खण्डसम्म बदर हुने ठहर्छ अरु सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति २०३८।१२।१६ को फैसला ।

६.    बागमती अञ्चल अदालतबाट कानुनी त्रुटि गरी गरेको फैसला बदर गर्नको लागि पुनरावेदन गर्ने अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति दिइएको भन्ने समेत म.क्षे.अ.को आदेश ।

७.    यसमा वादी दावीको जग्गामा वादीको हक स्थापित भएको समर्थनलाई सबूद आउन सकेको मिसिलबाट नदेखिँदा भ.पु.जि.अ.बाट वादी दावी नपुग्ने ठहर्‍याई भएको फैसलामा कि.नं. ८४ सम्मको बाली भरी पाउनेमा सो कित्ताको बाली पनि भरी नपाउने ठहर्‍याएको हदसम्मको जिल्ला अदालतको इन्साफ केही उल्टी गरेको बागमती अञ्चल अदालतको फैसला मिलेन बदर गरी दिएको छ वादी दावी नपुग्ने ठहर्‍याएको जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४४।१।१३ को फैसला ।

८.    पूर्व फैसलाको विपरीत हुने गरी गरेको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा तारेखमा रही इजलास समक्ष उपस्थित भएका वादीलाई समेत रोहवरमा राखी सम्बन्धित मिसिल कागजहरु समेत अध्ययन गरी म.क्षे.अ. ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१०.    यसमा विवादित लुभु गा.पं. वार्ड नं. ४को (ख) कि.नं. ७० को खेत रो. ०१२२ कि.नं. ८४ को खे.रो. ३० समेत जम्मा रो. ४२ को रु. २०३५ सालको बाली नबुझाई मोहीले खाने नियत गरी समयमा धरौट पनि नराखेको हुनाले लाग्ने धान मुरी ४।१८।४ दिए जिन्सी र नदिए बजारमा चलेको दर भाउले धान मुरी १ को रु. १२०। का दरले हुने जम्मा रु. ५९१। विपक्षीबाट भराई पाउँ भन्ने वादी सानुमानको फिराद दावी देखिएकोमा वादी दावी नपुग्ने ठहर गरेको शुरु जि.अ.को इन्साफलाई म.क्षे.अ.ले सदर गरे उपर वादीको यस अदालत समक्ष पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा विवादित जग्गामा निवेदकको हक कायम गरी बाली भराउने ठहर्‍याई मिति २०३६।१।२६।४ मा म.क्षे.अ.बाट फैसला भई अन्तिम भइरहेको अवस्था देखिन आएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भएको देखिन आयो ।

११.    निर्णयतर्फ विचार गर्दा मिसिल साथ रहेको प्रमाण मिसिलमा रहेको वादीको नाउँको जग्गाधनी प्रमाणपूर्जा हेर्दा विवादित उपरोक्त कि.नं. को जग्गा दर्ता बाँकी भन्ने कैफियत महलबाट देखिन आयो । विवादित कि.नं. का जग्गाहरु वादीको नाउँमा दर्ता रहेको कुनै पनि प्रमाणबाट देखिन आएन । तर कि.नं. ८४ को ३० वादीको छोरा मदनगोपाल श्रेष्ठका नाउँमा दर्ता प्रमाणित भएको २०३७।३।२०।५ को मालपोत कार्यालय भुक्तपुरको पत्रसाथ आएको मिसिल सामेल रहेको जग्गाधनी श्रेस्ताबाट देखिन आयो । प्रतिवादीले प्रतिउत्तर फिराउँदा समेत विवादको कि.नं. को बाली वादीलाई बुझाएको नभई वादीको छोरालाई बुझाएको भन्ने समेत देखियो । कुत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने वादीको भु.प्र.का. मा निवेदन परी मोही निष्काशन नहुने ठहर गरे उपर वादीको यस अदालतमा रिटनिवेदन पर्न आएकोमा विवादित कि.नं. का जग्गाहरु वादीको नाउँमा दर्ता भई नसकेको भन्ने समेत आधारमा डिभिजनबेञ्चबाट २०४०।७।२१ मा रिटनिवेदन खारेज भएको समेत देखिन आयो । विवादित जग्गा वादीको छोराको नाउँमा दर्ता भइसकेको देखिएको स्थितिमा वादीले प्रतिवादीबाट बाली भराई पाउने हकदैया पुग्न सक्ने देखिन आएन ।

१२.   तसर्थ आफ्नो नाउँमा दर्ता भई नसकेको जग्गाको बाली भराई पाउँ भन्ने वादीको दावा नपुग्ने ठहर गरेको शुरु जि.अ.को इन्साफलाई सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४६ साल असार ११ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु