निर्णय नं. ३७६६ - उत्प्रेषण

निर्णय नं. ३७६६ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको रि.नं. १९०३
आदेश भएको मिति : २०४६।२।२।२ मा
निवेदक : सिरहा जि.सन्हैढा गाउँ पञ्चायत वडा नं. १ बस्ने रामनाथ यादव
विरुद्ध
विपक्षी : निर्वाचन विशेष अदालत मुकाम सिराहा जि.अदालत सिराहासमेत
विषय : उत्प्रेषण
(१) निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको हो भन्ने कुरा फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ भनी निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा बाध्यात्मक व्यवस्था रहेको पाइन्छ सो अनुसार प्रष्ट कारण सहित उल्लेख गरी फैसला गर्नु पर्नेमा सो बमोजिम नगरी गरेको निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी तथा विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी
आदेश
न्या.पृथ्वीबहादुर सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म निवेदक सन्होढा गा.पं. को प्रधानपञ्चको निर्वाचनमा २०४३ चैत्र ११ गते बहुमतद्वारा निर्वाचित भएँ । म निवेदकको चिन्ह हलो र विपक्षी भिखरु यादवको चिन्ह गाई थियो । मतदान भई मत गणना हुँदा म निवेदकले ८५६ र विपक्षी भिखरु यादवले ८०८ मत प्राप्त गरी म प्रधानपञ्चमा निर्वाचित भएकोमा विपक्षी भिखारु यादवको फिराद विपक्षी निर्वाचन विशेष अदालतमा परी उक्त अदालतबाट फैसला हुँदा विपक्षी भिखारु यादवले ८२८ र म निवेदकले ७७० मत पाएको भनी विपक्षी भिखारु यादवलाई सम्बन्धित सन्हेढा गा.पं. को प्रधानपञ्च पदमा विजयी घोषणा गरी दिने ठहर्छ भनी फैसला गरियो । तर उक्त फैसलामा स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २२ को देहाय (क) देखि (ट) सम्म तथा स्थानीय पञ्चायत निर्वाचन निर्देशिका, २०४३ को दफा ५९ मा मत वा मतपत्र बदर हुने अवस्थाको जुन व्यवस्था गरेको छ त्यस अनुरुप मैले प्राप्त गरेको मत कसरी कुन ऐनको कुन देहाय बमोजिम बदर भएको हो सो फैसलामा खुलाउन सकेको छैन । यसरी कानुनको त्रुटि गरी स्वेच्छाचारी हचुवा निर्णयबाट मेरो हकको हनन् भएको छ भने विधिवत् भएको मत गिन्ती पुनः दोहोर्याई पाउँ भन्ने दर्खास्त नि.वि. अदालतमा लाग्ने हैन । त्यस्तै फैसला कति मतपत्र खस्यो कति सदर कति बदर भए कुनै कुरा उल्लेख नै छैन । फैसलामा केवल गाई चिन्ह र हलो चिन्हमा छाप लागेका मत गन्ती गर्दा हलोले ७७० र गाईको ८२८ सदर मत प्राप्त गरेको देखियो मात्र भनिएको छ । विपक्षीको फिरादमा निर्वाचन (अपराध र सजायँ) ऐन, २०२४ को दफा १४ को दावी गरेको पाइन्छ । तर सो अनुरुप मैले वा भिखरु यादवले कति मत कुन वडामा पर्यो, कति मत सदर भए र कति मत के कारणले बदर भयो सो खोल्नु पर्छ तर कुनै कानुनी प्रावधान पुरा नगरी एकाएक मलाई हराइएको छ । अतः उक्त निर्वाचन विशेष अदालतको मिति २०४५।१।१७ गतेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ साथै यो निवेदनको टुड्डो नलागेसम्म उक्त फैसला कार्यान्वयन नगर्नु नगराउनु भन्ने विपक्षीका नाममा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रामनाथ यादवको रिटनिवेदन ।
३. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु साथै यो रिटको टुड्डो नलागेसम्म निर्वाचन विशेष अदालतको मिति २०४५।१।१७ को फैसला कार्यान्वयन नगर्नु नगराउनु भन्ने उक्त नि.वि.अ.का. नाममा अन्तरिम आदेश जारी गरिएको छ भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. गैरकानुनी ढड्डबाट भएको निर्वाचन बदर गरी म निवेदकलाई विजयी घोषणा गरिपाउँ भन्ने समेत भिखारु यादवले यस अदालतमा उजूरी दिएको नियमानुसार विजयी उम्मेदवारलाई विजयी घोषित गरेको हुँ भन्ने समेत व्यहोराको मतदान अधिकृतको प्रतिउत्तर मेरो नै बढी मत भएको हुँदा मलाई विजयी घोषित गरिएको हो भन्ने समेत रामनाथको प्रतिउत्तर भएको यस विवादग्रस्त स्थितिमा प्रयोग भएका मतपत्रहरु सम्बन्धित निकायबाट झिकाई दुवै पक्षलाई रोहवरमा राखी प्राप्त हुन आएको उम्मेदवारले प्राप्त गरेका मतपत्रको पोका खोली अन्य उम्मेदवारले पाएको मतपत्र बाहेक गरी गा.पं.नि.नि., २०४४ को नि. दफा ५९, ६० बमोजिम गाई र हलोमा परेको मतपत्र छुट्याई मतगणना गर्दा भिखरु यादवको गाई चिन्हमा ८२८ सदर मतपत्र र प्रतिवादी रामनाथ यादवको हलो छापमा ७७० सदर मतपत्र देखिन आएकोले निर्वाचित भएका रामनाथको भन्दा भिखारु यादवको बढी सदर मत प्राप्त गरेको देखिन आएको हुँदा मिति २०४५।१।१७।६ मा निर्वाचन विशेष अदालतबाट निवेदक भिखारु यादवलाई गा.पं. सन्हैढाको प्रधानपञ्च पदमा विजयी घोषणा गर्ने गरी कानुन बमोजिम फैसला गरिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत नि.वि.अ. मुकाम सिराहाको लिखितजवाफ ।
५. संविधानको धारा ७१ आकृष्ट हुने अवस्था छैन । अधिकारक्षेत्रको त्रुटि देखाउन सकेको पाइँदैन । निर्वाचन विशेष अदालतलाई मतपत्रहरुको गणना गरी वैध तरिकाबाट बहुमत प्राप्त गर्नेलाई निर्वाचित घोषित गर्न पाउने नै हुन्छ । उजूरी बमोजिम सदर बदर मतपत्र गणना गरी रिट निवेदकको हलो चिन्हमा ७७० सदर मत र मेरो गाई चिन्हमा ८२८ सदर मत हुन आई बढी मत प्राप्त गर्ने मलाई विजयी घोषणा गरेको नि.वि.अ.को फैसलामा कुनै त्रुटि नभएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत भिखरु यादवको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल अध्ययन गरी रिट निवेदकका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्षी नि.वि.अ.को तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. तथा विपक्षी भिखरु यादवको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
७. अब यसमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु पर्ने हुन आएको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा के कति मतपत्र परे, के कति र के कुन कारणबाट सदर बदर भए कुनै कुरा नै उल्लेख नै नगरी ८०८ मत प्राप्त गरी विधिवत प्रधानपञ्चमा विजयी घोषित मलाई हराई विपक्षी भिखरु यादवलाई विजयी घोषित गर्ने गरेको विपक्षी निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । निर्वाचन विशेष अदालतको फैसला हेर्दा पक्षहरुको रोहवरमा मत गणना गर्दा वादी भिखरु यादवको गाई चिन्हमा ८२८ सदर मत र प्रतिवादी रामनाथ यादवको हलो चिन्हमा ७७० सदर मत प्राप्त गरेको देखियो भन्नेसम्म उल्लेख गरेको देखिन्छ । तर यसरी निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको भन्ने कुरा फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नु पर्छ भनी निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा बाध्यात्मक व्यवस्था रहेको पाइन्छ । अतः सो अनुसार प्रष्ट कारण सहित उल्लेख गरी फैसला गर्नु पर्नेमा सो बमोजिम नगरी गरेको निर्वाचन विशेष अदालत मुकाम सिराहाको मिति २०४५।१।१७ को फैसला त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम पुनः गर्नु भनी परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षीको जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का. मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४६ साल ज्येष्ठ २ गते रोज २ शुभम् ।