निर्णय नं. ७३२४ - कर्तव्य ज्यान

निर्णय नं. ७३२४ ने.का..प.२०६१ अङ्क २
पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री हरिजंग सिजापति
सम्बत् २०६० सालको फौ.पु.इ.नं. ..६, ७
सम्बत् २०६० सालको फौ.पु.इ नं.
फैसला मितिः २०६१।१।१७।५
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. ६ वस्ने वर्ष ३६ को रमेश कुमार गुप्ता
विरुद्ध
प्रत्यर्थी
वादीः सरोजनी कहारीनको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
वादीः सरोजनी कहारीनको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थीः जिल्ला काठमाडौं का.न.पा.वडा नं.७ बस्ने राष्ट्रिय वाणिज्य बैंक, नेपालगंज शाखाका मेनेजर ध्रुवराज शाही समेत
§ जाहेरवाली सरोजनी कहारले जाहेरी दर्खास्तमा तथा आफ्नो बकपत्रमा समेत मृतक नक्छेदले आफूलाई प्रतिवादीहरु ध्रुवराज शाही, जगत बहादुर तथा महेश भन्ने रमेश कुमारले कुटपीट गरेको भनेको भन्ने व्यहोरा उल्लेख गरेकोमा गफ्फार खाँ तथा राधेश्याम शर्माले नक्छेदले आफूहरुलाई ध्रुवराजले बन्दुकको कुन्दाले हिर्काएको जगतवहादुरले गालामा हिर्काएको र महेश भन्ने रमेश कुमारले लात्ताले अण्डकोषमा हिर्काएको भनी बताएको भनी बकपत्र गरेको पाइन्छ । निजहरु घटनाका प्रत्यक्षदर्शी भएको भन्ने नदेखिएको र निजहरुले आफूलाई मृतकले बताएको भनी लेखाई दिएको ब्यहोरामा एकरुपता रहेको नदेखिंदा त्यस्तो विवादस्पद भनाईमा विश्वास गरी तीनै जना प्रतिवादीहरुलाई समान स्तरमा राख्न सकिने अवस्था नदेखिने ।
§ प्रतिवादी मध्येका रमेश कुमार गुप्ताकै कारणवाट प्रस्तुत वारदात घट्न गएको देखिएको र निजले अधिकार प्राप्त अधिकारीका समक्ष गरेको बयानमा नक्छेदलाई बैंकमा ल्याउँदा बाटोमा समेत कुटपीट गरेको भन्ने उल्लेख गरेको देखिएकोले समेत निजको र अन्य प्रतिवादीहरुको कसूरमा समान संलग्नता रहेको मान्न नमिल्ने ।
§ मृतक नक्छेद कहारलाई प्रतिवादी ध्रुवराज शाहीले कुटपीट गरेको देख्ने प्रत्यक्षदर्शी कोही रहेको देखिंदैन । निजले समेत मृतकलाई कुटपीट गरेको भन्ने वादी पक्षका गवाहहरुको बकपत्रको व्यहोरा परस्पर बाझिएको देखिन्छ । निजले आफ्नो कार्यकक्षमा कार्यालय समयमा नक्छेदलाई बोलाउन पठाई गैरकानूनी रुपले डर त्रास तथा धम्की समेत दिने क्रममा कुटपीट समेत हुन गई लागेको चोटको कारणवाट मृतक नक्छेद कहारको मृत्यु हुन गएकोले निज प्रतिवादीलाई ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूरमा सोही महलको ६ नं.को देहाय ५ बमोजिम जरिवाना रु.२००।– मात्र हुने ठहर गरेको हदसम्म माननीय न्यायाधीश श्री वलिराम कुमारको राय मनासिव देखिंदा सदर हुने ।
§ प्रतिवादी जगतबहादुर बोहराको अवस्था पनि प्रतिवादी ध्रुवराज शाहीको अवस्थासँग मेल खाने समान स्थितिको रहेको देखिएको, निजले पनि मृतकलाई कुटपीट गरेको भन्ने स्वतन्त्र प्रमाणवाट पुष्टि हुन सकेको अवस्था विद्यमान रहेको नदेखिंएकोले निजलाई ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ४ अनुसार दुई वर्ष कैद र रु.५००।– जरिवाना हुनुपर्ने सम्वन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मत भिन्नता नदेखिए पनि अ.बं. २०५ नं.बमोजिम निजको हकमा समेत ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ५ अनुसार रु. २००।–जरिवाना हुने।
(प्र.नं. ३९ र ४०)
प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री जानकीप्रसाद गिरी र श्री कमल नारायण दास
वादीका तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य
अवलम्वित नजिरः
फैसला
न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत नेपालगंजको मिति ०५२।५।७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत पर्न आएको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ : –
२. मिति २०४२।१२।३० गते राती अंदाजी ९ बजेको समयमा छोरी मुन्नी कहार्नी सन्तोष कुमार कनौडियाको घरमा पेशागत भांडा माझ्ने काम गरी आउन लाग्दा राष्ट्रिय बाणिज्य बैंक नेपालगंजको दक्षिण तर्फ कोलीयामा पुग्नासाथ सो बैंकका गार्ड महेश गुप्ता र अन्य नाम नजानेको १ जना गार्डले छोरीलाई छेडखानी गरेका थिए । सो कुरा ऐ.३१ गते छोरा भरोसे कहारलाई भनेकोमा निजले त्यस्तो दुव्र्यवहार सहन नसकी तुरुन्त बैंक पुगी निज महेशलाई एक थप्पड हानी निजलाई पक्री नगर प्रहरीमा लगी सो घट्नाका बारेमा कुरा गरेकोमा नगर प्रहरी द्वारा दुवै थरको सम्झौता गराई छोरा घर फर्केको थियो । सो वारदात बारे मेनेजरले थाहा पाई छोरालाई पक्राउ गर्न गार्ड पठाएकोमा छोरा काम विशेषले बजारतिर गएकोले भेट नभई सोही दिन सांझ ४ बजे गार्ड महेश गुप्ता र अरु नाम नजानेका २ जना गार्डहरु मेरो घरमा आई नक्छेद र निजको श्रीमतीलाई मेनेजरले बोलाउनु भएको छ भनी बोलाई लगी गएकोमा मलाई भित्र जान नदिई लोग्नेलाई भित्र लगी कुटपीट गरी अंदाजी आधा घण्टा पछि लोग्ने वाहिर आउनु हुँदा एकदम भित्री चोटको गमले मुर्छित भए जस्तो देखी सोद्धा यो कुरा कसैलाई नभन्नु नत्र यसपाली यति कुटाई पाएँ, कसैलाई खवर गर्यो भने गोलीले तिमीलाई र छोरा समेतलाई मारी दिन्छौ भनी दुई जना गार्ड र मेनेजरले भनेका छन् भनी निज लोग्नेले मलाई भनेकाले डर मानी आज सम्म कुनै उजुर वाजुर गरेको थिईन । लोग्ने सोही कुटाइको चोटले यही २०४३।१।२ गते बिहान १० बजे मर्नु भएकोले मेनेजर तथा गार्ड महेश गुप्ता र अरु नाम नजानेका १ जना गार्ड समेतलाई पक्राउ गरी कानून वमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. राधेश्याम सुनार समेतले गरी दिएको ०४३।१।३ को लाश प्रकृति मुचुल्का ।
४. Died as a result of cervical verterbal and spinal cord injury भन्ने समेत व्यहोराको मृतकको शव परीक्षण प्रतिवेदन ।
५. मिति २०४२।१२।३० गते राती ९.३० बजेको समय हुँदो हो म आफ्नो डिउटीमा बैंक आइरहेको बेला बत्ती समेत नभएको अध्यारो कोलिया बाटोमा बाटो क्रस गर्न लाग्दा जाहेरवालीकी छोरी र मेरो वीच भेट भएको थियो । भोलिपल्ट दिनको अं. १.३० बजे बैंकको पोष्ट तलतिर म उभिरहेको अवस्थामा जाहेरवालाको छोरा भरोसे कहारले मेरो कमिजको कलर समाती नगर प्रहरीमा लगी मेरो बैनीलाई किन बाटो छेकेको, दुरव्यवहार गरेको भन्दा मैले बाटो छेकेको होइन । बत्ती गई अँध्यारो भएकोले बाटोक्रस भए जस्तो भएको हो भनेपछि नगर प्रहरीका इन्चार्जले दुबै थरलाई सम्झाई वुझाई गरी निजलाई मसँग माफी माग्न लगाई पठाएका थिए । म बैंकमा आएपछि मलाई र गार्ड कमाण्डर दिलवहादुरलाई मेनेजर ध्रुवराज शाहीले आफ्नो अफिस कोठामा बोलाई तिमीहरुले के गरेको आज महेश भन्ने रमेशलाई समात्छन् भोली तँलाई समात्लान यस्तैे गरी बैंक फोड्लान यस्तो गर्न दिनु भएन जाउ त्यो केटालाई र त्यसको बाबुलाई खोजी ल्याउ अन्यथा तिमी माथि कारवाही गर्छु भने । नक्छेद कहार हाम्रो साथमा बैंकमा आउन लाग्दा मैले १।२ मुक्का लगाई दिएको थिएं । निज नक्छेदलाई मेनेजरको कोठामा लिई जांदा रा.वा. बैंक शाखा कार्यालय सदरलाईनका निमित्त एकाउन्टेण्ट जगतवहादुर वोहरा पनि हुनुहुन्थ्यो । निज जगतवहादुर उठी नक्छेदलाई साला जा आफ्नो छोरालाई पनि ले नत्र तलाई पनि थुनी दिन्छौं भनी एक झापट हानेको देखेको हो । त्यसपछि दिलवहादुर डिउटीको लागि तल ओल्र्यो । नक्छेद पनि आफ्नो घर तर्फ लागेको हुन् भन्ने समेत व्यहोराको प्रतिवादी महेश भन्ने रमेश कुमार गुप्ताले प्रहरीमा गरेको वयान ।
६. कोलीया बाटो अंध्यारो हुँदा जाहेरवालीको छोरीसँग रमेश कुमारको बाटो क्रस भए जस्तो भएको त्यसैमा जाहेरवालीको छोरी र रमेश कुमारको बीच के कस्तो कुरा भएको थियो मलाई थाहा भएन । भोलिपल्ट ०४२।१२।३१ गते जाहेरवालीको छोरा भरोसे कहार आई रमेश कुमारको कमिजको कलर समाती पक्री नगर प्रहरीमा लगेको थियो । त्यहां स.ई. साहेवले सम्झाई वुझाई गरी भरोसे कहारलाई अब झगडा हातपात गर्ने छैन भनी माफी माग्न लगाई पठाएको हो । त्यहाँवाट वैंकमा फर्की बसेको अवस्थामा दिनको ३ वजेतिर मेनेजर साहेवले कोठामा बोलाई निमित्त गार्ड कमाण्डर भएर किन वाहिरको मानिसलाई रमेश कुमारलाई समात्न दिएको भन्दा मैले सबै रिपोर्ट गरें । मेनेजर साहेबले मेरो कुरा सुन्नु भएन । त्यसपछि म तल फिर्ता भएँ । त्यहाँ के के गर्यो थाहा भएन । पछि रमेश कुमार गार्डमा आई भरोसे कहार र नक्छेदलाई बोलाउन भन्नु भएकोछ भनी भनेकोले निजले नचाहिने काम गर्ला र मैले गाली खानु पर्ला भनी म पनि पछि गएको थिएँ । जांदा रमेशले नक्छेदलाई बोलाई आएको देखी तुरुन्त फर्की गार्ड विस्तरामा नै बसेको हुँ । रमेश कुमारले नक्छेदलाई मेनेजरको कोठामा लगेका थिए । त्यहाँ कस्ले के गरे म तल हुँदा थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी दिलवहादुर बुढा मगरले प्रहरीमा गरेको वयान ।
७. मृतक कक्छेद कहारलाई मेनेजरको कोठामा लगि कुटपीट गरेको करणवाट मृतकको मृत्यु भएको हो भन्ने समेत व्यहोराको राधेश्याम शर्मा समेले गरेको सर्जमिन मुचुल्का ।
८. संकलित सबूद प्रमाणवाट मृतक नक्छदेको मृत्यु प्रतिवादी धुंवराज शाही, जगतवहादुर वोहरा र रमेश कुमार गुप्ता समेत तीन जनाले भित्री मर्म पर्ने गरी अपराधिक बल प्रयोग गरी कुटपीट गरी मरणासन्न अवस्थामा पुर्याएको कारणवाट हुन गएको सिद्ध हुँन आएकोले निजहरुले ज्यान सम्बन्धीको १ नं. बिपरीत कसूर अपराध गरेको हुँदा सोही महलको १३(३) नं. अनुसार कारवाही सजाय हुन र प्रतिवादी दिलवहादुर बुढा मगर उपर संकलित सबुद प्रमाणवाट मुद्दा चलाउन नमिल्ने हुँदा निजलाई हाजिर जमानीमा छाडिएको भन्ने समेत व्यहोराको प्रहरीको राय र प्रहरीवाट हाजिर जमानीमा छाडिएका दिलवहादुरको हकमा निज वारदात भइरहेको ठाउँमा मौजुद रहेको, मृतकलाई कुटेको म र दिलवहादुरले देखेको भनी प्रतिवादी महेशले वयान गरेको, मृतकलाई वोलाउन गएको भन्ने कुरामा निज दिलवहादुर सहमत भएको समेतवाट निजले ज्यान सम्बन्धीको १७ नं. को कसूर गरेको सिद्ध हुन आएकोले निजलाई उक्त १७ (३) नं. अनुसार सजाय हुन र अन्य प्रतिवादी ध्रुव राज शाही समेतका हकमा निजहरुको मृतकको ज्यानै मार्ने सम्मको रिसईवी नदेखिएको,मार्ने मनसाय समेत प्रष्ट नदेखिएको, छोरालाई समेत बोलाउन पठाएकोमा छोरा फेला नपरेकोले बाबुलाई बोलाई ल्याई ०४२।१२।३० को विवाद सम्बन्धमा विवाद भई सोही कारणवाट उसै मौकामा रिस उठी लात मुक्का प्रहारवाट वारदात भएको २ दिनपछि मात्र मृतकको मृत्यु भएको देखिंदा निजहरुले ज्यान सम्बन्धीको १४ नं. अनुसार कसूर गरेको देखिन आएकोले निजहरुलाई सो १४ नं. वमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको जिल्ला न्यायाधीवक्ताको छुट्टै राय भएको प्रहरी प्रतिवेदन ।
९. प्रहरीमा भएको वयानमा भएको सहीछाप सम्म मेरो हो । व्यहोरा मैले भनी लेखाएको होइन । पहिले नै लेखी राखेको कागजमा घा चोट नपर्ने भित्र मर्म पर्ने गरी कुटपीट गरेकाले चोट सहन नसकी सहीछाप गरिदिएको हो । म बैंकमा डिउटी गार्डमा बसेको अवस्था राती ओहोर दोहोर गर्दा मृतकको छोरीलाई हप्काएकोले मृतकको छोरा भरोसेले मलाई नगर प्रहरीमा लगेको र त्यहां भरोसेलाई माफी माग्न लगाई मिलापत्र गराई दिएको थियो । मिति ०४२।१२।३१ गते जाहेरवालाको छोरालाई बोलाई ल्याउन मेनेजरले मलाई भनेको र मृतकलाई म समेतले बोलाई ल्याएको समेत होइन । मृतक बराबर रक्सी खाई जथाभावी बोल्दै बैंकको कोलिया बाटोवाट आउने जाने गर्दा म गार्ड डिउटीमा भएको अवस्थामा गाली गर्ने गर्थें । निजको स्वास्नीले पनि रक्सी खाएको अवस्थामा मृतकलाई समाती अबेर राती घर लग्ने गरेकी थिइन । मैले गाली गरेको रिसईवीवाट झुठ्ठा जाहेरी दिएको हो । मृतक कसरी मरे थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी महेश भन्ने रमेश कुमार गुप्ताको वयान ।
१०. दिलवहादुरका हकमा निज घटनास्थलमा रहेको, मृतकलाई वोलाउन गएको समेत देखिंदा निज उपर मुद्दा चलाउने भन्ने जिल्ला न्यायाधीवक्ताको राय मनासिब देखिंदा निज समेतका नाउँमा वारेण्ट र म्यादी पूर्जी जारी गर्नु भन्ने समेत व्यहोराको बांके जिल्ला अदालतको मिति ०४३।३।८ को आदेश ।
११. मृतकलाई बोलाउन म पनि गएको भन्ने कुरा प्रहरीले वढी लेखि दिएका रहेछन् । म बोलाउन गएको छैन । बयान पढी वाची नसुनाई सही गर भनेकाले सहीछाप गरी दिएको हुँ । सो दिन मेनेजर साहेबले गार्ड कमाण्डर भएर प्रहरी चौकीमा किन गयौं ? भनी मलाई हप्काउनु भएको थियो । मृतकलाई महेश भन्ने रमेश कुमारले बोलाई मेनेजरको कोठामा लगेको मैले देखिन । कुटपीट गरेको समेत मलाई थाहा छैन । जाहेरवालीको छोरीको बिषयमा रमेशलाई हप्काएको थिएँ । सोही रिसईवीले निजले मलाई पोल गरेको हो । मैले कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी दिलवहादुर वुढामगरको बयान ।
१२. वारदात भए गरेको भनेको दिन टायममा म आफ्नो अफिस कोठामा छु । मैले गार्डलाई मृतकलाई र निजको छोरालाई बोलाई ल्याउन भनेको छैन । महेश भन्ने रमेशले ०४२।१२।३० गते राती मृतककी छोरीलाई छेडखानी गरेको र नगर प्रहरीमा लगेको पनि थाहा छैन। म मेनेजर र रमेश गार्ड भएकोले निजले राम्रो सँग डिउटी नगरेको कुरामा वरावर गाली गरी डांटी रहने हुँदा त्यसै रिसईवीले निजले मलाई झुठ्ठा पोल गरेको हो । बैंकवाट साहु महाजन पार्टीहरु धितो राखी कर्जा लिने गर्दछन् । कुनै कुनै धितो पुरा नभई कर्जा नदिंदा म सँग रिसाएको कारणले जाहेरवालीलाई झुठ्ठा जाहेरी दरखास्त दिन लगाएको होला । मृतक कसरी मरे मलाई थाहा छैन । मैले कसूर गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी ध्रुवराज शाहीको वयान ।
१३. वारदात भयो भनेको दिन समयमा म आफ्नो बैंकको अफिस कोठामा लेखाको कार्यमा व्यस्त थिएँ । मेनेजरको कोठामा मृतकलाई बोलाई ल्याएको कुरा मलाई थाहा छैन । महेश भन्ने रमेशलाई मैले हप्काई रहने गर्दा मलाई झुठ्ठा पोल गरेको हो । मैले कुनै कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी जगतवहादुर बोहराको वयान ।
१४. प्रतिवादीहरुका साक्षी जवान १५ ले प्रतिवादीहरुलाई सफाइ दिई गरेको वकपत्रहरु मिसिल सामेल रहेको ।
१५. नगर प्रहरीमा सम्झौता भएपछि ०४२।१२।३१ गते रमेश र दिलवहादुर नक्छेदको घरमा बोलाउन गई बैंकमा ल्याएं । घरवाट नक्छेद, नक्छेदको श्रीमती, गफ्फार खां र म समेत साथ गयौं । बैंकमा पसेपछि नक्छेदलाई माथि लगे । उसको श्रीमतीलाई भित्र जान पाउदैनौ भने । नक्छेदलाई कुटपीट गरी वाहिर निकाल्दा बेहाल थियो । मेनेजरले कुन्दाले धेरै कुटे एकाउन्टेण्टले मुक्काले दुबै गालामा हाने महेश भन्ने रमेशले लात्ताले अण्डकोषमा हाने भनी निजले भनेपछि म समेतले निजलाई घरमा लगेको हो । सोही कुटपीटको कारणले ०४३।१।२ मा निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिनका मानिस राधेश्याम शर्माको वकपत्र ।
१६. रमेश र दिलवहादुर आई मेनेजरले बोलाएको भनी नक्छेदलाई समाती लगे । म पनि साथै गएँ । नक्छदेलाई भित्र लगे । राधेश्याम र नक्छदेको श्रीमती भित्र छिर्न खोज्दा रमेशले जान दिएन । आधा घण्टापछि नक्छेदलाई कुटपीट गरी बाहिर ल्याए । निज बोल्न नसकी सडकमा पेट समाती बसेको थियो । म समेत भई घर ल्यायौं । घरमा डाक्टर वोलाउँ भन्दा डाक्टरको नाम नलेउ केही नाम लिए मार्ने धम्की दिएका छन् । मेनेजरले कुन्दाले हाने, अण्डकोषमा रमेशले हानेको, एकाउण्टेन्टले गालामा हानेको थियो भनी निजले हामीलाई भनेको थियो भन्ने समेत व्यहोराको सर्जमिनको मानिस गफ्फार खांको वकपत्र ।
१७. मेरो छोरीलाई महेश भन्ने रमेश गुप्ताले छेडखानी गरेकोले छोरा रामभरोसेले निजलाई नगर प्रहरीमा लगी त्यहाँ सम्झौता भएको थियो । दिलवहादुर वुढा र महेश गुप्ता समेत मेरो घरमा आई श्रीमान्लाई बोलाएपछि, म, महाराज, राधेश्याम र गफ्फार समेत साथमा वैंकमा आएकोमा मेरो श्रीमान्लाई भित्र माथि कोठामा लगेर कुटपीट गरे । ध्रुवराज शाही, जगतवहादुर एकाउण्टेट र महेश समेतले कुटपीट गरेको, मेनेजरले बन्दुकको कुन्दाले हानेको भनी श्रीमान्ले भनेपछि थाहा पाएकी हुँ । श्रीमान्लाई बाहिर ल्याएपछि राधेश्याम र गफ्फार समेतले घरमा ल्याएकोमा बैशाख २ गते मेरो श्रीमान् कुटपीटको कारणले मरेको हो भन्ने समेत व्यहोराको जाहेरवाली सरोजनी कहारनीको वकपत्र ।
१८. मिति ०४२।१२।३१ गते ४ बजेको समयमा म र रामआधार, मोहम्मद, उमर समेत बजार जान लागेको अवस्थामा वाणिज्य बैंकको गल्ली निर नक्छेदको श्रमिती रोइरहेको थियो । सोद्धा मेनेजर ध्रुवराज, जगतवहादुर मिली मेरो श्रीमान्लाई मारी राखेका छन् भनी भनेकी थिईन। प्रहरीले यहाँ भिड नगर्नुहोस भनेकाले हामी बजार तर्फ आयौं । २०४३।१।२ मा मरेका कुरा सुनेको हुँ भन्ने समेत व्यहोराको सर्जमिनको मानिस रफी राईको वकपत्र ।
१९. म ३०।३१ गते बैंकको कोलियावाट गइराखेको अवस्थामा मृतककी श्रीमती बैंकको पासमा बसी रोइराखेको थियो । किन रोएको भनि सोद्धा लोग्ने नक्छेदलाई महेशले बोलाई ल्याई मेनेजर एकाउण्टेन्ट र महेशकुमार समेत मिली कुटपीट गरिराखेका छन् भनिन् । त्यसको २ दिनपछि नक्छेद मरेको हो भन्ने समेत व्यहोराको सर्जमिनको मानिस मोहम्मद उमरको वकपत्र ।
२०. मृतक नक्छेद कहारको लाश ०४३।१।३ गते हामी ५ जना डाक्टर मिली पोष्टमार्टम गरेका हौं । विस्तृत व्यहोरा पोष्टमार्टम फाराममा लेखी दिएको छु भन्ने समेत व्यहोराको डा.गोपाल श्रेष्ठले गरेको वकपत्र ।
२१. मो.उमर, रसफाक र म समेत बजारवाट घर आउँदै थियौं । मृतकको श्रीमती बैंकको ढोका निर बसी रोइराखेको थियो । किन रोएको भनि सोद्धा लोग्नेलाई रमेश कुमारले पक्राउ गरी ल्याई बैंक भित्र लगी कुटपीट गरी राखेको भनेपछि थाहा पाएको हुँ भन्ने समेत व्यहोराको सर्जमिनको मानिस राम आधार कहारले गरेको वकपत्र ।
२२. मिति ०४२।१२।३१ गते म धारामा हुँदा आवाज आएको थियो के कसो आवाज आयो थाहा छैन भन्ने समेत व्यहोराको सर्जमिनको मानिस रामजनक त्रिपाठीको वकपत्र ।
२३. प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई सजाय गरी पाउँ भनी वादी श्री ५ को सरकार तर्फवाट पेश भएको प्रमाणहरु सबै शंकास्पद स्थितिमा पाइयो । शंकास्पद स्थितिका प्रमाणहरुलाई ग्रहण गरी प्रतिवादीहरुलाई सजायभागी नगराउने परीपाटी हाम्रो न्याय व्यवस्थामा वसिसकेको छ। प्रस्तुत मुद्दामा कुटपीटको वारदात देख्ने प्रत्यक्षदर्शी कोही भएको पाइएन । प्रतिवादीहरुलाई कसूरदारको रुपमा देखाउने ठोस प्रमाण वादी तर्फवाट पेश हुन आएको पाइएन । शंकास्पद स्थितिमा रहेको प्रमाणहरुको आधारमा प्रतिवादीहरुलाई सजाय गर्न मिलेन । प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने बादी दावी पुग्न सक्दैन । सबै प्रतिवादीहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको वांके जिल्ला अदालतको मिति २०४५।३।३ को फैसला ।
२४. वांके जिल्ला अदालतले अनुसन्धान तहकिकातमा संकलन भएका सवुद प्रमाणलाई एकातिर पन्छाई शव परीक्षण प्रतिवेदनमा र लाश प्रकृति मुचुल्कामा समेत शरिरमा निलडाम देखिएको अवस्थामा धुरमुरे र फितलो निर्णयाधार बनाएर तथ्य कुरा बाझिएको भनी प्रतिवादीहरुलाई सफाइ दिएको फैसला नमिलेकोले निज प्रतिवादीहरु मध्ये ध्रुवराज शाही र जगतवहादुर बोहोरा, रमेश कुमार गुप्तालाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १३(३) नं. अनुसार र प्रतिवादी मध्ये दिलवहादुर बुढालाई सोही महलको १७ (३) नं. अनुसार सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट तत्कालीन भेरी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
२५. प्रतिवादी रमेश कुमार गुप्ताको अदालतमा भएको बयान सहितको परिस्थितिजन्य प्रमाणको आधारमा प्रतिवादीहरुलाई सफाइ दिने गरी गरेको शुरुको इन्साफ बिचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि झगडिया झिकाई आए वा म्याद गुजारेपछि पेश गर्नु भन्ने समेत व्यहोराको तत्कालीन भेरी अंचल अदालतको मिति ०४६।१।१३ को आदेश ।
२६. जाहेरवाली सरोजनी कहार्नी समेतको शुरु जाहेरी दरखास्तमा उल्लेख गरिएको मृतककै छोरी मुन्नी कहारीन र छोरा भरोसे कहारलाई अ.वं. १३९ नं. वमोजिम बुझी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजको मिति ०४९।१०।२५ को आदेश ।
२७. मिति ०४२।१२।३० गते बहिनी मुन्नीलाई बैंक गार्ड रमेश गुप्ताले छेडखानी गरेको कुरा घरमा भनेपछि ऐ. ३१ गते बैंक निर भनाभन हातपात भई नगर प्रहरीमा हामी दुबै जना बिच मिलापत्र भएको थियो । ०४२।१२।३१ गते साँझ ६।७ बजेतिर रमेश गुप्ता र अरु २।३ जना बैंकबाट बोलाउन आई वुवालाई बैंकमा लगेका थिए । आमा पनि बैंकमा गई बाहिर बसेकी र बुबा बाहिर आई आमासँग घरमा आएपछि ध्रुवराज शाही, जगत बहादुर वोहरा, रमेश गुप्ता समेतले बन्दुकको कुन्दाले कुटपीट गरे भनेका थिए । बुबाको गुप्तांगमा र पेटमा समेत निलडाम थियो । डा.शुरेश कुमारले बुबाको उपचार गरेका थिए । कुटपीट भएको २४ घण्टा भित्र वुवाको मृत्यु भयो भन्ने समेत व्यहोराको अ.वं १३९ नं. वमोजिम बुझीएको मृतकको छोरा राम भरोसे कहारले पुनरावेदन अदालत नेपालगंजमा गरेको वकपत्र ।
२८. मिति २०४२।१२।३० गते बजार तर्फ गई घरमा आउँदा बैंकका गार्ड रमेश कुमार गुप्ताले छेडखानी गरेको हुँदा घरमा गई दाजु भरोसे कहारलाई भनेपछि दाजु भरोसे कहार बैंकमा आई निज गार्ड रमेशसँग झगडा भयो र नगर प्रहरीमा गई मिलापत्र भएको थियो । भोलिपल्ट मेनेजरले बुबालाई बोलाई बैंकको छतमा लगी मेनेजर रमेश कुमार गुप्ता, जगतवहादुर समेतले कुटपीट गरेछन् । हामीलाई बैंक भित्र जान दिएनन् । बाबु फर्कि आउँदा बाबुको हालत खराब थियो । बाबु गिर्दै पर्दै घरमा आएपछि कुटपीट भएको दुई दिनपछि बाबुको मृत्यु भएको हो भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. वमोजिम बुझिएका मृतककी छोरी मुन्नी कहारनीले पुनरावेदन अदालत नेपालगंजमा गरेको वकपत्र ।
२९. मिसिल सामेल रहेका कागज प्रमाणहरुवाट निज नक्छेद कहारको मृत्यु कालगतिले भएको नभै कर्तव्यवाट भएको भन्ने कुराको तथ्य स्थापित हुन आएको र जाहेरी दरखास्त समेतका मिसिल सामेल रहेका संकलित सवुत प्रमाणहरुवाट प्रतिवादी दिलवहादुर बुढाले आरोपित कसूर गरेको पुष्टि हुन सकेको नदेखिंदा निजले आरोपित कसूरवाट सफाइ पाउने र प्रतिवादी ध्रुंवराज शाही, जगत बहादुर वोहरा र महेश भन्ने रमेश कुमार गुप्ताले ज्यान सम्बन्धी महलको १ नं. विपरीत कसूर गरेको ठहर्छ । प्रतिवादीहरुले गरेको अपराध ज्यान सम्बन्धी महलको १४ नं. अन्तरगत पर्ने हुँदा जनही १० बर्ष कैद हुने ठहर्छ भन्ने मा.न्या. श्री रणवहादुर बमको राय र दिलवहादुरले सफाइ पाउने ठहर्छ अन्य प्रतिवादीहरुले प्रहरी प्रतिवेदन मांगदावी वमोजिम ज्यान सम्बन्धी महलको १३(३) नं. अन्तरगतको कसूर गरेको ठहर्छ । सो वमोजिम जन्म कैदको सजाय गर्दा चर्को हुने देखिंदा प्रतिवादी ध्रुवराज शाही,जगतवहादुर वोहरा र महेश भन्ने रमेश कुमार गुप्ता प्रत्येकलाई जनही १० बर्ष कैद हुने गरी अ.वं. १८८ नं.बमोजिम राय समेत व्यक्त गरेको मा.न्या.श्री अर्जुनप्रसाद सिंहको छुट्टै राय भएको पुनरावेदन अदालत नेपालगंजको संयुक्त इजलासको मिति २०५०।२।१४।५ को रायबाझी फैसला ।
३०. पुनरावेदन अदालत नियमावली २०४९ को नियम ११ मा दुईजना न्यायाधीशहरुको वीच मतैक्य नभएमा व्यक्त रायमा सीमित रही निर्णय गर्न तीन जना न्यायाधीशहरुको इजलास गठन गर्ने मनसाय रहेको पाइदैन । ने.का.प. २०४४ अंक २ पृष्ठ १३४, १४० ने.का.प. २०५१ अंक ८ पृष्ठ ६०२ मा भएको फैसलामा तेस्रो राय दिएको पाइन्छ । अतः यस इजलास प्रस्तुत मुद्दाको हकमा सर्वाङ्गिण रुपमा विचार गरी कानून अनुरुपको स्वतन्त्र न्याय दिन सक्षम नै रहेको देखिएकोले प्रतिवादी ध्रुवराज शाही र जगतवहादुर वोहराले कुटपीट गरेको कुराको चश्मदिद गवाह कुनै नभएको अन्य साक्षी सवूद सन्देहात्मक स्थितिको रहेको समेत देखिन आउँछ । निजहरुलाई आरोपित कसूरवाट सफाइ दिने गरी गरेको बांके जिल्ला अदालतको फैसला मनासीव देखिंदा मा.न्या. श्री रणवहादुर वम र मा.न्या.श्री अर्जुनप्रसाद सिंह दुवैको राय सँग सहमत हुन सकिएन। प्रतिवादी रमेश कुमार गुप्ताको हकमा निज वारदातको शुरुवातको कारण भएको, निजले नै मृतकलाई बैंक भित्र ल्याएको भन्ने सवैको भनाई रहेको, मृतकलाई मार्ने मनसाय र ईवी निजको नरहे पनि मृतकलाई अगाडिको कारणले तर्साउने उद्देश्यले केही कुटपीट गरेको देखिन आएकोले निजले ज्यान सम्बन्धीको ५ नं. वमोजिम कसूर गरेको ठहर्छ र निजलाई सोही महलको ६(४) नं. वमोजिम रु. ५००।– जरीवाना र २ बर्ष कैद हुने ठहर्छ । प्रतिवादी दिलवहादुर वुढा मगरको हकमा शुरु इन्साफ र संयुक्त इजलासवाट समेत सफाइ दिने गरेको फैसला मुनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत नेपालगंजको तीन सदस्यीय संयुक्त इजलासको मिति २०५२।५।७ को फैसला ।
३१. अदालतको मेरो वयान मेरा तर्फका साक्षीहरुवाट पूर्ण रुपमा समर्थित भएको छ । वादी तर्फको साक्षी राधेश्याम र गफ्फार खां को वकपत्र तथा जाहेरवाली सरोजनी कहारको वकपत्र परस्पर विरोधाभाषपूर्ण छ । जिल्ला अदालतको फैसलाको वुंदा तर्फ कुनै विचार नगरी विना आधार प्रमाण मैले कुटपीट गरेको देखिन आएको भनी भएको पुनरावेदन अदालतको फैसला वदर वातिल गरी मलाई लागेको कैद र जरीवाना नलाग्ने गरी मुक्ति प्रदान गरी बांके जिल्ला अदालतको फैसला सदर कायम राख्ने गरी इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेश कुमार गुप्ताको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३२. पुनरावेदन अदालत नेपालगंजको तीन न्यायाधीशको संयुक्त इजलासवाट प्रतिवादी ध्रुवराज शाही, जगतवहादुर वोहरा र दिलवहादुर वुढा मगरलाई पूर्ण सफाइ दिने र प्रतिवादी रमेश कुमार गुप्ताको हकमा ज्यान सम्बन्धीको ५ नं. वमोमिजको कसूर ठहर गरी सोही महलको ६(४) नं. वमोजिम सजाय गर्ने गरी भएको फैसलामा चित्त नबुझेकोले पुनरावेदन पत्र प्रस्तुत गरिएको छ । प्रतिवादीहरुलाई शुरु मांग दावी वमोजिम सजाय हुनुपर्ने स्पष्ट हुँदा प्रतिवादी रमेश कुमार गुप्ताको हकमा ६(४) वमोजिम सजाय हुने र अन्य प्रतिवादीहरुलाई सफाइ दिने गरी भएको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी शुरु माग दावी वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
३३. यसमा संयुक्त इजलासका न्यायाधीशहरु वीच मतभेद भएको विषयमा निर्णय नगरी अभियोग पत्र र रायवाझी फैसला समेत उल्लेख नभएको ज्यान सम्वन्धी महलको ५ नं. वमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको पूर्ण इजलासको विषयगत क्षेत्राधिकार नहुनुको साथै पाँच जना डाक्टरको वोर्डवाट सर्भिकल भर्टेब्रा र स्पाइनल कर्ड इन्जुरीवाट मृतकको मृत्यु भएको भन्ने भएको र मृतकका साथमा जाने जाहेरवाला समेतका व्यक्तिले मर्नु अगाडि भनेको कुरा समेतका प्रमाणवाट पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।२।१९ को आदेश ।
३४. वारदातको अवस्थालाई विचार गर्दा प्रतिवादीहरुले मृतक नक्छेद कहारलाई ज्यान लिने इविलाग वा मनसायले कुटपीट गरेको भन्ने नदेखिई बैंकको गार्डलाई हात हालेको बिषयलाई लिएर डराउने धम्क्याउने सिलसिलामा भएको कुटपीटको कारणवाट मृतक भवितव्य परी मरेको देखिन आएकोले पुनरावेदन अदालतको तीन जना न्यायाधीशको संयुक्त इजलासले भवितव्यको वार्दात ठहर गरेको फैसला मिलेकै देखिन्छ । प्रतिवादी ध्रुवराज शाही जस्तो कार्यालय प्रमुखको जिम्मेवार पदमा भएका व्यक्तिले प्रहरीमा निपटारा भइसकेको झगडाको कुरालाई पुनः जगाई भरोसेको ईख मेट्न निजको वावु एउटा वुढो व्यक्तिलाई ल्याई निजको उमेर र अवस्था समेतलाई रतिभर विचार नगरी आफ्नो कार्यालय कक्षमा कार्यालय समय मै अनधिकृत गैर कानूनी रुपले धम्क्याई दिलवहादुर वाहेकका प्रतिवादीहरुवाट निमर्मतापूर्वक कुटपीट गरेको गर्न लगाएको र अनुसन्धानको क्रममा खोज तलाश गर्दा समेत फरार रहेको देखिन आएकोले निज अपराधमा संलग्न नभएको भन्ने देखिएन । प्रतिवादी रमेश कुमार गुप्ताको प्रहरीमा भएको कागजात, जाहेरवालीको वकपत्र समेतवाट प्रतिवादी जगतवहादुर समेतले कुटपीट गरेको देखिन आएको र प्रतिवादी रमेश कुमार गुप्ताले मृतकलाई वोलाई ल्याउने र वाटोमा समेत दुई घुस्सा हिर्काएको र पछि म्यानेजरको कोठामा समेत हानेकोमा अनुसन्धानको क्रममा साविती भएको स्थिति देखिन आएकोले प्रतिवादी ध्रुवराज शाही र जगतवहादुर वोहरा समेतलाई ज्यान सम्बन्धीको ५ नं.को कसूरमा ६ नं. को देहाय ४ वमोजिम रु. ५००।– जरिवाना र २ बर्ष कैद गर्नुपर्नेमा पुनरावेदन अदालत नेपालगंजको ३ सदस्यीय संयुक्त इजलासले निजहरुलाई सफाइ दिने गरेको फैसला केही उल्टी हुन्छ । प्रतिवादी दिलवहादुर वारदातमा संलग्न रहेको नदेखिंदा निजलाई सफाइ दिएको हदसम्म सो फैसला मिलेकै देखिंदा श्री ५ को सरकारकोे पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीमध्येका धुंवराज शाहीको हकमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(५) अनुसार कम सजाय गर्ने गरेको माननीय न्यायाधीश श्री वलिराम कुमारको रायसँग सहमत हुन नसकेको हुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ (१) (क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको सम्माननीय प्रधान न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय ।
३५. भवितव्यको वारदात ठहराई प्रतिवादी महेश भन्ने रमेश गुप्तालाई मुलुकी ऐन ज्यान सम्बन्धीको ६(४) नं. बमोजिम जरिवाना रु. ५००।– र कैद वर्ष २ (दुई ) गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ सदर गरी प्रतिवादी दिलवहादुर बुढालाई सफाइ दिएको र प्रतिवादी जगतवहादुर वोहरालाई समेत सोही ऐन वमोजिम रु. ५००।– जरिवाना र कैद वर्ष २(दुई) हुने भनी पुनरावेदन अदालत नेपालगंजको तीन सदस्यीय संयुक्त इजलासको फैसला केहि उल्टी गर्ने गरेको हदसम्म सम्माननीय प्रधान न्यायाधीशज्यूको राय सँग सहमत छु । मृतकको श्रीमती सरोजनी कहारले दिएकी जाहेरी दर्खास्त र सहअभियुक्तको भनाइबाट प्रतिवादी ध्रुवराज शाहीले मृतकलाई वंन्दुकको कुन्दाले हिर्काएको वा मृतक उपर हात छाडेको देखिन नआएको र वादी पक्षका साक्षीहरु अब्दुल गफ्फार खाँ र राधेश्याम शर्माको वारदातको करिव १४ महिना पछिको वकपत्रको भनाई मौकाको जाहेरी दर्खास्तका साथै जाहेरवालीको वकपत्रवाट समर्थित हुन नआएको तथा अन्य व्यक्तिको गडाउ पनि स्वतन्त्र एवं शंकारहित प्रमाणवाट पुष्टि भएको नदेखिएकाले मृतक नक्छेदलाई ध्रुवराज शाहीले वन्दुकको कुन्दाले हिर्काएको वा मृतक उपर हात छाडेको देखिन आउँदैन । निज प्रतिवादी बैंकको प्रमुख व्यक्ति भएको, निजले नै मृतकलाई बोलाउन पठाएको, निजको अफिस कोठामा मृतकलाई प्रतिवादी रमेश कुमार गुप्ता र जगतवहादुर वोहराले हात छाडी कुटपीट गरेको मिसिल संलग्न प्रमाण कागजवाट पुष्टि भैरहेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको ५ नं. को कसूरमा ६ नं.को देहाय दफा ५ बमोजिम जरिवाना रु. २००।– ( दुई सय ) हुन्छ । निज प्र.ध्रुवराज शाहीलाई ज्यान सम्बन्धीको महलको ६ नं. को देहाय दफा ४ बमोजिम जरिवाना रु. ५००।– ( पाँचसय ) र कैद वर्ष २ (दुई) गर्ने ठहर्याएको सम्म सम्माननीय प्रधान न्यायाधीशज्यूको रायसँग सहमत हुन नसकेकोले छुट्टै राय पेश गरेको छु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री वलिराम कुमारको राय सहित यस अदालत संयुक्त इजलासको मिति २०६०।३।३० को फैसला ।
३६. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट विद्वान सहमहान्यायाधिवक्ता श्री डिल्लीरमण आचार्यले रमेश कुमार गुप्ता र दिलवहादुरले मृतक नक्छेदलाई निजको घरवाट वैंकमा लिई गएको भन्ने कुरा जाहेरी दरखास्त, जाहेरवालीको वकपत्र समेतवाट पुष्टि भइरहेको छ । मृतकको मृत्यु प्रतिवादीहरुले निर्ममतापूर्वक कुटपीट गरेको कारणवाट हुन गएको स्थापित भइरहेको छ । मनसाय तत्व प्रतिवादीहरुको कार्यवाट पनि पहिल्याउन सकिन्छ । अधिकार प्राप्त अधिकारी समक्षको रमेश कुमार गुप्ता र दिलवहादुरको वयान समेतवाट प्रीतवादीहरु सवैले मृतकलाई सामुहिक चोट छोडेको कारणवाट मृतकको मृत्यु भएको कुरा स्थापित भएको हुँदा प्रस्तुत वारदातलाई भवितव्य ठहर गर्न मिल्दैन । पूर्ण इजलासवाट निर्णय गरिंदा मुद्दाको पूर्ण सुनुवाई हुन सक्ने नै हुँदा प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन मागदावी वमोजिम सजाय हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । प्रतिवादी ध्रुवराज शाहीको तर्फवाट विद्वान अधिवक्ता श्री जानकीप्रसाद गिरीले प्रतिवादी ध्रुवराज शाहीले चोट छोडेको देख्ने साक्षी कोही छैन । ध्रुवराजको कोठामा मृतक नकछेदलाई लगेको देख्ने पनि कोही छैन । मृतककी श्रीमती, राधेश्याम शर्मा र गफ्फार खाँको बकपत्रको व्यहोरा परस्परमा वाझिएकोछ । मृतकको मृत्यु सर्भिकल भर्टेब्रा भाँचिन गएको कारणवाट भएको भन्ने शव परीक्षण प्रतिवेदन भएकोमा मृतकलाई घाँटीमा हानेको कसैले पनि नदेखेको हुँदा केवल अनुमान र आशंकाको भरमा निजलाई कसूरदार ठहर गर्न मिल्दैन । निजलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालतको तीन सदस्यीय संयुक्त इजलासको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको र प्रतिवादी रमेश कुमार गुप्ताको तर्फवाट विद्वान अधिवक्ता श्री कमल नारायण दासले मृतकले भनेको कुरा सुन्ने भनेका व्यक्तिहरुको कथन तीन किसिमको छ । प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको वयान स्वतन्त्र प्रमाणवाट पुष्टि हुन सकेको छैन । पूर्ण इजलासवाट मुद्दाको सुनुवाई हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच राय मिलेको विषयमा पनि उचित निर्णय हुनसक्ने नै हुँदा प्रतिवादी रमेश कुमार गुप्तालाई सजाय गर्ने गरेको फैसला उल्टी हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।
३७. विद्वान कानून व्यवसायीहरुको उपर्युक्त वमोजिमको वहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, नेपालगंजवाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।
३८. प्रस्तुत मुद्दामा मिति २०४२।१२।३० गते राती अंदाजी ९ बजेको समयमा मृतककी छोरी मुन्नी कहार्नी घरतर्फ फर्कंदै गर्दा राष्ट्रिय बाणिज्य बैंक नेपालगंजको दक्षिण तर्फ कोलीयामा सो बैंकका गार्ड महेश भन्ने रमेश कुमार गुप्ता र अन्य नाम नजानेको १ जना गार्डले छेडछाड गरेकोले सोको भोलिपल्ट मृतकका छोरा भरोसे कहारले रमेश कुमार गुप्तालाई कुटपीट गरी नगर प्रहरीमा लगेको र उक्त घटनाका सम्वन्धमा बैंकका मेनेजर ध्रुवराज शाहीले मृतकका छोरा भरोसेलाई पक्राउ गर्न रमेश गुप्ता समेतका गार्ड पठाएकोमा निजलाई भेट नभई मृतक नक्छेदलाई लगी मेनेजर ध्रुवकुमार शाही, लेखाअधिकृत जगत बहादुर बोहोरा तथा गार्ड रमेश कुमार गुप्ता र दिल बहादुर बुढा मगर समेतले कुटपीट गरेका र सोही कुटाईको चोटले मिति २०४३।१।२ गते नक्छेदको मृत्यु भएको भनी प्रतिवादीहरु उपर अभियोग लगाएको देखिन्छ । बाँके जिल्ला अदालतवाट प्रतिवादीहरुलाई अभियोग मागदावीवाट सफाइ दिने गरी भएको फैसला केही उल्टी गरी प्रतिवादी मध्येका ध्रुवराज शाही, जगतवहादुर वोहरा र दिलबहादुर बुढा मगरलाई सफाइ दिई प्रतिवादी रमेश कुमार गुप्तालाई ज्यान सम्वन्धीको महलको ५ नं. अनुसारको कसूरमा ६(४) नं. वमोजिम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत नेपालगंजवाट भएको फैसला उपर श्री ५ को सरकारको तर्फवाट र प्रतिवादी रमेश कुमार गुप्ताको तर्र्फवाट पुनरावेदन पर्न आएकोमा प्रतिवादी रमेश कुमार गुप्ता, ध्रुवराज शाही र जगतबहादुर बोहरालाई ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूरमा सोही महलको ६(४) नं. बमोजिम कैद बर्ष दुई र रु.५००।– जरिवाना सजाय हुनुपर्ने र प्रतिवादी दिल बहादुर बुढा मगरले सफाइ पाउने भन्ने तत्कालीन सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्यायको राय र प्रतिवादी मध्येका ध्रुवराज शाहीका हकमा निजले मृतकलाई आफ्नो कार्यकक्षमा वोलाएको तर निजले मृतक उपर चोट छोडेको भन्ने नदेखिएकोले निजलाई ज्यान सम्वन्धी महलको ६(४) नं.अनुसार रु. २००।– जरिवाना मात्र हुने भन्ने माननीय न्यायाधीश श्री बलिराम कुमारको राय भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (क) अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन आउँछ ।
३९. मिसिल संलग्न प्रमाण कागजातको आधारमा वारदातसँग सम्वन्धित तथ्यगत स्थितिको विश्लेषण गर्दा मृतक नक्छेद कहारकी छोरी मुन्नी कहारलाई प्रतिवादी महेश भन्ने रमेश कुमार गुप्ताले छेडछाड गरेको विषयमा मृतकका छोरा भरोसे र रमेश कुमार वीच झगडा भएको र त्यससम्वन्धमा बैंक मेनेजर ध्रुवराज शाहीले भने अनुसार रमेश कुमार गुप्ता समेतले भरोसे कहारलाई ल्याउन गएकोमा निजलाई नभेटी निजको बाबु नक्छेद कहारलाई बैंकमा ल्याएको र बैंक मेनेजर कै कोठामा लगी निजलाई कुटपीट गरिएको कारणवाट मृतक नक्छेद कहारको मृत्यु भएको देखिन्छ । प्रतिवादीहरु र मृतक नक्छेद कहार वीच ज्यानै लिने सम्मको पूर्व रिसइवी भएको वा निजहरुले ज्यानै लिने मनसायले मृतकलाई कुटपीट गरेको भन्ने कहीं कतैवाट देखिंदैन। भरोसे कहारले बैंकको गार्ड रमेश कुमारलाई हात हाली कुटपीट गरेकोले निजसँग सोधपूछ गर्न भनी निजलाई लिन गएकोमा निजलाई भेट नभएकोले निजको बाबुलाई ल्याई डराउने धम्क्याउने सिलसिलामा भएको कुटपीटको कारणवाट भवितव्य परी मृतक नक्छेदको मृत्यु भएको देखिन्छ । मृतकलाई बैंक मेनेजरको कोठामा लगी कुटपीट गर्दा प्रतिवादीहरु वाहेकका अन्य प्रत्यक्षदर्शीहरु कोही रहेको देखिंदैन । प्रतिवादीहरुले अदालतमा वयान गर्दा वारदातको वारेमा पूर्ण अनभिज्ञता रहेको व्यहोरा व्यक्त गर्दै आफूहरुले कसूर नगरेको भनी इन्कारी वयान गरेको देखिन्छ । जाहेरवाली तथा मृतककी श्रीमती सरोजनी कहार, अदालतमा आई बकपत्र गर्ने अब्दुल गफ्फार खाँ तथा राधेश्याम शर्मा समेत नक्छेद कहारलाई कुटपीट गर्दाको अवस्थामा बैंकमा नै रहेको र निजहरुले नै नक्छेदलाई घरमा पुर्याएको भनी आ–आफ्नो व्यहोरा उल्लेख गरेको पाइन्छ । निजहरुले कुटपीटको घट्ना पछि नक्छेदले सो कुटपीटको सम्वन्धमा आफूहरुलाई बताएको भनिएको व्यहोरामा एकरुपता रहेको देखिंदैन । जाहेरवाली सरोजनी कहारले जाहेरी दर्खास्तमा तथा आफ्नो बकपत्रमा समेत मृतक नक्छेदले आफूलाई प्रतिवादीहरु ध्रुवराज शाही, जगत बहादुर तथा महेश भन्ने रमेश कुमारले कुटपीट गरेको भनेको भन्ने व्यहोरा उल्लेख गरेकोमा गफ्फार खाँ तथा राधेश्याम शर्माले नक्छेदले आफूहरुलाई ध्रुवराजले बन्दुकको कुन्दाले हिर्काएको जगतवहादुरले गालामा हिर्काएको र महेश भन्ने रमेश कुमारले लात्ताले अण्डकोषमा हिर्काएको भनी बताएको भनी बकपत्र गरेको पाइन्छ । निजहरु घटनाका प्रत्यक्षदर्शी भएको भन्ने नदेखिएको र निजहरुले आफूलाई मृतकले बताएको भनी लेखाई दिएको ब्यहोरामा एकरुपता रहेको नदेखिंदा त्यस्तो विवादस्पद भनाईमा विश्वास गरी तीनै जना प्रतिवादीहरुलाई समान स्तरमा राख्न सकिने अवस्था देखिन आएन । प्रतिवादी मध्येका रमेश कुमार गुप्ताकै कारणवाट प्रस्तुत वारदात घट्न गएको देखिएको र निजले अधिकार प्राप्त अधिकारीका समक्ष गरेको बयानमा नक्छेदलाई बैंकमा ल्याउँदा बाटोमा समेत कुटपीट गरेको भन्ने उल्लेख गरेको देखिएकोले समेत निजको र अन्य प्रतिवादीहरुको कसूरमा समान संलग्नता रहेका मान्न मिल्ने देखिंदैन ।
४०. प्रतिवादी रमेश कुमार गुप्ताको प्रहरीमा भएको वयान तथा जाहेरवाली समेतका वादी पक्षका साक्षीहरुको वकपत्र समेतवाट प्रतिवादी रमेश कुमार गुप्ताले मृतकलाई वोलाई ल्याएको र वाटोमा समेत दुई घुस्सा हिर्काएको र पछि मेनेजरको कोठामा समेत कुटपीट गरेको स्थिति देखिन आएको र शव परीक्षण प्रतिवेदनवाट मृतक नक्छेदको मृत्यु Cervical injury को कारणले नै भएको भन्ने चिकित्सकको राय देखिन आएको समेतका आधारमा पुनरावेदन अदालत नेपालगंजवाट भएको फैसला केही उल्टी गरी प्रतिवादीहरु रमेश कुमार गुप्ता, ध्रुवराज शाही र जगत बहादुर बोहोराले ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूर गरेको ठहर्याई प्रतिवादी दिल बहादुर बुढामगरलाई अभियोगवाट सफाइ दिएको हदसम्म संयुक्त इजलासका दुवै माननीय न्यायाधीशहरु वीच मतैक्य रहेको देखिन आएकोले सो सम्वन्धमा यस इजलासवाट पूनर्विचार गरिरहनु पर्ने आवश्यकता देखिन आएन । संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच प्रतिवादी मध्ये रमेश कुमार गुप्तालाई ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूरमा सोही महलको ६ नं.को देहाय ४ अनुसार दुई वर्ष कैद र रु. ५००।– जरिवाना हुने सम्वन्धमा समेत मतैक्यता भएकोले सो सम्वन्धमा पनि विचार गरिरहनु परेन । प्रतिवादी ध्रुवराज शाहीलाई हुनु पर्ने सजायका सम्वन्धमा मात्र संयुक्त इजलासका माननीय न्यायाधीशहरु विच मतभिन्नता रहेको देखिएकोले सो सम्वन्धमा विचार गर्दा माथि गरिएको तथ्यगत विवेचनाको आधारमा प्रतिवादी रमेश कुमार गुप्ता र ध्रुवराज शाहीको कसूरमा समान संलग्नता रहेको देखिंदैन । मृतक नक्छेद कहारलाई प्रतिवादी ध्रुवराज शाहीले कुटपीट गरेको देख्ने प्रत्यक्षदर्शी कोही रहेको देखिंदैन । निजले समेत मृतकलाई कुटपीट गरेको भन्ने वादी पक्षका गवाहहरुको बकपत्रको व्यहोरा परस्पर बाझिएको देखिन्छ । निजले आफ्नो कार्यकक्षमा कार्यालय समयमा नक्छेदलाई बोलाउन पठाई गैरकानूनी रुपले डर त्रास तथा धम्की समेत दिने क्रममा कुटपीट समेत हुन गई लागेको चोटको कारणवाट मृतक नक्छेद कहारको मृत्यु हुन गएकोले निज प्रतिवादीलाई ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूरमा सोही महलको ६ नं.को देहाय ५ बमोजिम जरिवाना रु.२००।– मात्र हुने ठहर गरेको हदसम्म माननीय न्यायाधीश श्री वलिराम कुमारको राय मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादी जगत बहादुर बोहराको अवस्था पनि प्रतिवादी ध्रुवराज शाहीको अवस्थासँग मेल खाने समान स्थितिको रहेको देखिएको, निजले पनि मृतकलाई कुटपीट गरेको भन्ने स्वतन्त्र प्रमाणवाट पुष्टि हुन सकेको अवस्था विद्यमान रहेको नदेखिंएकोले निजलाई ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ४ अनुसार दुई वर्ष कैद र रु.५००।– जरिवाना हुनुपर्ने सम्वन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मत भिन्नता नदेखिए पनि अ.बं. २०५ नं.बमोजिम निजको हकमा समेत ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ५ अनुसार रु.२००।–जरिवाना हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्रतिवादी रमेश कुमार गुप्ताको हकमा पुनरावेदन अदालत नेपालगंजको इन्साफ सदर हुने ठहरेकोले निजको हकमा पुनरावेदन अदालत नेपालगंजको फैसलाले राखेको तपसिल बमोजिम गर्नु...... १
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्रतिवादी ध्रुवराज शाही र जगत बहादुर बोहरालाई जरिवाना रु. २००।– हुने ठहरेकोले सो अनुसारको जरिवाना लगत कसी असूल गर्नु भनी शुरु जिल्ला अदालतमा पठाई दिनु ...... २
मिसिल नियमानुसार गरी बुझाई दिनु ..... ३
उपर्युक्त रायमा सहमत छौ ।
इति सम्बत २०६१ साल वैशाख १७ गते रोज ५ शुभम. ..............।