निर्णय नं. ३७६८ - भ्रष्टाचार

निर्णय नं. ३७६८ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको फौ.पु. नम्बर ६५६
फैसला भएको मिति : २०४६।३।७।४ मा
पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक जि.मालेश्वरी गा.पं.वडा नं.५ पनौति बस्ने मनबहादुर नेपाली
विरुद्ध
प्रत्यर्थी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग
मुद्दा : भ्रष्टाचार
(१) शंकारहित तवरबाट प्रतिवादीले कसूर गरेको हो भन्ने अन्य तथ्ययुक्त सबूद प्रमाण पेश भएको मिसिल फाइल अध्ययनबाट नदेखिँदा, शंकाको सुविधा अभिुक्तले पाउने ।
(प्रकरण नं. १५)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या.पृथ्वीबहादुर सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. जनकपुर चुरोट कारखानामा वैजनाथ झा लगायतका २४ जना कर्मचारीले कीर्ते सर्टिफिकेट पेश गरी नोकरी गरेको र प्रमोशन खाएको हुँदा कारवाहीको लागि अनुरोध छ भन्नेसमेत गगनजंगको २०४०।६।१४ को निवेदन ।
३. मैले पेश गरेको प्रवेशिका परीक्षाको मार्कसीट छैठौं पदमा बढुवा पाउनको लागि २०३८ सालमा पेश गरेको ठीक हो भन्ने समेत विशेष प्रहरी विभागमा प्रतिवादी मनबहादुर नेपालीको बयान कागज ।
४. मनबहादुर नेपालीले जनकपुर चुरोट कारखानाको पाँचौं तहबाट छैंठौं तहमा बढुवा हुने उद्देश्यले नेपाल राष्ट्रिय विद्यापीठद्वारा संचालित परीक्षा २०२९ सालमा क्रमसंख्या २५१ बाट परीक्षा दिई उत्तीर्ण भएको मार्कसीट प्राप्त गरी सो मार्कसीटको आधारमा जनकपुर चुरोट कारखानामा बढुवाको दर्खास्त पेश गरी शैक्षिक योग्यता ढाँटी भ्रष्टाचारपूर्ण कसूर गरी आएकोले उपरोक्त सबूद प्रमाणको आधारमा मनबहादुर नेपाली भ्र.नि. ऐन, २०१७ को दफा १२ अन्तर्गत कारवाही भई सजायँ हुन अनुरोध छ भन्ने समेत विशेष प्रहरी विभागको आरोपपत्र ।
५. बालाजु यन्त्रशाला (प्रा.) लि. मेकानिकल ट्रेनिड्ड सेन्टरमा डिप्लोमा ट्रेनिंग प्राप्त गरी मैले नोकरी गरेको, तर म बढुवा हुनको लागि प्रवेशिका परीक्षाको प्रमाणपत्रबाटै पुग्ने हुँदा मैले नियमपूर्वक प्रवेशिका परीक्षा दिई उत्तीर्ण भई पाएको प्रमाणपत्र सम्म बढुवाको फाराम भर्दा दाखिल गरेको छु । परीक्षा नियन्त्रण कार्यालयको २०४०।१२।१ को पत्रमा अंग्रेजी द्वितीय पत्रमा २३ अंक प्राप्त गरी अनुत्तीर्ण भएको भन्ने जनिएको सम्बन्धमा केही भन्न सक्तिन भन्ने समेत बागमती विशेष अदालतमा मनबहादुर नेपालीले गरेको बयान ।
६. मनबहादुर नेपालीले प्रवेशिका परीक्षा दिनु भएको हो र २०३० सालमा पास भएको रिजल्ट निस्क्यो भन्ने थाहा पाएँ । स्कूलमा गई मार्कसिट लिएको हो । सो मार्कसिट हेर्दा पास भएको देखेको भन्ने समेत मनबहादुर नेपालीको साक्षी मदनकुमार आचार्यको बकपत्र ।
७. मनबहादुर नेपालीले प्रवेशिका परीक्षा पास गर्नुभएको भन्ने समेत मनबहादुर नेपालीको साक्षी किर्तनकृष्ण भट्टराईको बकपत्र ।
८. प्रतिवादी मनबहादुर नेपालीले प्रहरी प्रतिवेदन दावा अनुसार कृत्रिम प्रमाणपत्र प्राप्त गरी बढुवा पाउने उद्देश्यले यो प्रमाणपत्र पेश गरी शैक्षिक योग्यता ढाँटी भ्र.नि. ऐन, २०१७ को दफा १२ को कसूर गरेको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको फैसला ।
९. दावी नै नलिएको कुरातर्फ ध्यान केन्द्रित गरी दावी भन्दा बाहिर गई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एउटै कार्य गर्नु पर्दछ भन्ने मूलभूत कुरालाई अंगिकार नगरी अनुमानका भरमा गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मलाई लागेको आरोपबाट फुर्सद गरी इन्साफ पाउँ भन्ने समेत मनबहादुर नेपालीको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१०. मिसिल संलग्न विवादास्पद मार्कसिट कतै पनि सच्चिएको देखिन नआएको मार्कसिटमा उल्लेखित मिति मार्कसिट प्राप्त गरिएकोलाई नजनाई परीक्षाफल प्रकाशित मितिलाई जनाउने पुनरावेदकले अघि अघि भरेको फाराममा विवादास्पद शैक्षिक योग्यता उल्लेख नगरेको कारणलाई नै अपराधको प्रमाण मान्न नमिल्ने त्यसमा पनि बढुवा पदपूर्तिका लागि विवादास्पद योग्यता नै प्रतिवादीको आधार भन्ने पनि देखिन नआएको समेत कारणबाट शुरुको फैसलामा फरक पर्ने देखिँदा अ.बं.२०२ नं.बमोजिम विपक्षी वादीलाई सरकारी वकील मार्फत पेशीको सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेत म.क्षे.अ.को डिभिजनबेञ्चको आदेश ।
११. वादी दावा बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ बमोजिम प्रतिवादीले कसूर गरेको ठहर्याएको बागमती विशेष अदालतको फैसलामा कुनै परिवर्तन गरिरहन परेन । तसर्थ शुरु अदालतले लगाएको बुँदा प्रमाण समेतबाट बा.वि.अ. को इन्साफ मनासिब ठहर्छ । यसमा हदम्याद गएको र वादी दावा भन्दा बाहिर गएर निर्णय समेत भए गरेको नहुनाले पुनरावेदक प्रतिवादी मनबहादुर नेपालीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४४।८।२०।१ को फैसला ।
१२. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने मिति २०४४।९।२४ मा यस अदालतमा पर्न आएको पुनरावेदक मनबहादुर नेपालीको निवेदनपत्र ।
१३. बागमती विशेष अदालतको निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा भ्र.नि. ऐन, २०१७ को दफा १२ को व्याख्या सम्बन्धी त्रुटि हुनुको साथै ने.का.प. भाग २७, अंक १०, नि.नं. २५०५, पृष्ठ ८९२ रेणुका कनौडिया विरुद्ध रतनलाल कनौडिया भएको करकाप मुद्दामा दावी नै नभई अनुमानित गडाउ गरिएको फैसला अप्रासांगिक भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत देखिन आएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ग) अनुसार पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।२।१४।६ को आदेश ।
१४. नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालले मेरो पक्षले कुनै किसिमको कीर्ते गरेको छैन । जस्तो प्रमाणपत्र पायो त्यस्तै पेश गरेको छ । सच्याएर पेश गरेको होइन । कसले कसरी कीर्ते गर्यो सच्यायो आरोपपत्रमा स्पष्टसंग खुलेको छैन । स्पष्ट किटानी दावी नभएको अवस्थामा अनुमानका भरमा कसूरदार ठहर्याउन मिल्दैन । मेरो पक्षले भ्र.नि.ऐन, २०१७ को दफा १२ को कसूर नगरेको हुँदा सफाई पाउनुपर्छ भनी तथा प्रत्यर्थी तर्फका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले पुनरावेदकले पेश गरेको लब्धाड्ढ पत्रमा उत्तीर्ण भनी लेखिएको छैन । प.नि.का.बाट आएको पत्रमा निजले अंग्रेजी द्वितीय पत्रमा २३ अंक पाएको भनी लेखी आएको हुँदा निज उत्तीर्ण भएकै छैन । अनुतीर्ण भएकोलाई उत्तिर्ण बनाएको हुँदा क्षे.अ.को फैसलाले कसूरदार ठहर गरेको मनासिबै हुँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादीले प्रवेशिकाको परीक्षामा अंग्रेजी द्वितीयपत्रमा २३ पाएर ३३ बनाई सच्याई अनुत्तीर्णलाई उत्तीर्ण भएको बनाई भ्र.नि. ऐन, २०१७ को दफा १२ को कसूर गरेको हो, होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यसमा प्रतिवादीले अनुत्तीर्ण भएको मार्कसिट प्राप्त गरी सो मार्कसिटमा उत्तीर्ण भएको भन्ने कृत्रिम मार्कसिट बनाई आफ्नो शैक्षिक योग्यता ढाँटी भ्रष्टाचार पूर्ण कसूर गर्यो भन्ने मुख्य आरोप लगाएकोमा मैले राष्ट्रिय विद्यापिठबाट सञ्चालित प्रवेशिका परीक्षा दिई जस्तो मार्कसिट पाएँ त्यस्तै मार्कसिट पेश गरेको हुँ । कुनै किसिमले अनुत्तीर्ण मार्कसिट पाएर सच्याई उत्तीर्ण बनाएको होइन म प्रवेशिका परीक्षामा सम्मिलित भई तृतीय श्रेणीमा उत्तीर्ण भएको हुँ भन्ने कुरा श्री कण्टिर झा नमूना माध्यमिक विद्यालयको २०३९।८।२० को पत्रबाट पनि पुष्टि हुन्छ भनी आरोपित कसूरमा इन्कार रही बयान गरिदिएको देखिन्छ । आरोपपत्रमा यो यस किसिमले अनुत्तीर्णलाई उत्तीर्ण बनायो भनी किटानी दावी लिएको देखिँदैन केवल सद्दे भए यसो गर्नु पर्ने उसो गर्नु पर्ने भन्ने शंकामात्र व्यक्त गरी हचुवा दावी लिएको देखिन्छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रमा अंग्रेजी द्वितीयपत्रमा प्र.ले २३ अंक पाएको भनी उल्लेख भएको पाइन्छ तापनि सक्कल मार्कसिट हेर्दा उक्त द्वितीय पत्रमा ३३ अंक पाएको प्रष्ट देखिन्छ । त्यसमा सच्याएको जस्तो कतै देखिँदैन । यसरी यो अंकलाई सच्याइयो भन्ने स्पष्ट किटानी दावी पनि छैन । स्वयं विशेष अदालतको फैसलामा पनि सच्याएको नदेखिने भनी उल्लेख भएको पाइन्छ । शंकारहित तवरबाट प्रतिवादीले कसूर गरेको हो भन्ने अन्य तथ्ययुक्त सबूद प्रमाण पेश भएको मिसिल फाइल अध्ययनबाट देखिँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य सिद्धान्त विपरीत केवल शंकाको भरमा प्रतिवादीलाई कसूरदार भन्न मिल्ने देखिँदैन । आरोपित कसूरमा प्रतिवादी इन्कार रही प्रतिवादीले पेश गरेको मार्कसिट सच्याएको भन्ने शंकारहित तवरबाट पुष्टी हुन नसकेको यस स्थितिमा प्रतिवादीलाई आरोपित कसूरदार ठहर्याएको म.क्षे.अ.को फैसला मिलेको देखिएन । तसर्थ उक्त म.क्षे.अ.को फैसला उल्टी हुन्छ । प्रतिवादी मनबहादुर नेपालीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
१. माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी मनबहादुर नेपालीले सफाई पाउने ठहरेकाले बागमती विशेष अदालतको फैसलाले प्रतिवादीलाई जरिवाना गरेको रु. ५००।– पाँचसय ०४२।१२।४।२ मा काठमाडौं जिल्ला अदालतमा बुझाएको देखिँदा प्रतिवादीको ऐनको म्याद भित्र उक्त रकम फिर्ता पाउँ भनी दर्खास्त परे नियमानुसार फिर्ता दिनु भनी का.जि.अ.मा लगत दिनु ।
२. मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलाले राख्ने भनी तपसील खण्डमा उल्लेखित लगत राख्न पर्दैन कट्टा गरी दिनु भनी ऐ. ऐ. ।
३. जानकारीको लागि फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल असार ७ गते रोज ४ शुभम् ।