शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७७१ - मिलापत्र दर्ता बदर दर्ता कायम

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७७१    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.नं. ७२४

फैसला भएको मिति : २०४६।२।१।१ मा

पुनरावेदक/प्रतिवादी : जनकपुरधाम न.पं.वडा नं. ४ बस्ने नरसिंह दास कथवनियाँसमेत

विरुद्ध

प्रत्यर्थी/वादी : जनकपुरधाम न.पं. वडा नं. ११ बस्ने दशरथ साह सुडी

मुद्दा : मिलापत्र दर्ता बदर दर्ता कायम

(१)    अरुलाई हक हस्तान्तरण गरिसकेको लिखतलाई निष्कृय गराउने गरी गरिएको मिलापत्र कायम रहन नसक्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ :

२.    प्रतिवादी नरसिंह दासले रु. १५,३६४।लिई जनकपुर नगरपञ्चायत वडा नं. २ कि.नं. २६१ को ०१३८ मध्ये ०४ जग्गाबाट हक छाडी मिति ०३४।९।१० गते गरी दिएको घरसारको राजीनामा लिखत पारित गराई पाउँ भनी दायर गरेको मुद्दामा जनकपुर अं.अ. समेतबाट मिति ०३९।५।१३ गते लिखत पारित हुने ठहरी फैसला भएको उक्त कि.नं. २६१ को ०४ जग्गा जनकपुर गुठी तहसील तथा खर्च कार्यालयमा लिखत पारित गरिदिने सिफारिश माग्न जाँदा उक्त कित्ताको जग्गा विभिन्न व्यक्तिको नाममा दाखिल खारेज भई गइसकेको नरसिंह दासको नाउँमा जग्गा कायम नरहेको भन्ने पत्र मालपोत कार्यालयमा पठाएको यस अदालतबाट मिति ०३९।११।१० गते नक्कल लिई हेर्दा मेरो दाता नरसिंह दासलाई प्रतिवादी बनाई अन्य विपक्षीहरु वादी भई यस अदालतमा दे.नं. ७१८ को अंश मुद्दा दिई दिन लगाई विपक्ष नरसिंह दासले मलाई लिखत गरिदिई जनकपुर अं.अ. समेतको फैसलाले लिखत पारित हुने ठहरिएको उक्त कि.नं. २६१ को जग्गा मध्ये दे.नं. ७१८ को अंश मुद्दाका वादी बनेका नथुनी दास, विजयकुमार, अशोककुमार समेतमा जम्मा ०१४ जग्गा आपसमा भाग बण्डा लगाई मिलापत्र गरी लिनु दिनु गरेको र उक्त कि.नं. २६१ को ०४ मध्ये पूर्व दक्षिणतर्फबाट ०१० जग्गा नरसिंह दासले लक्ष्मण झालाई रु. २५,०००।मा बिक्री गरी मिति ०३३।११।२६ गते घरसारमा लिखत गरिदिएको र निज लक्ष्मण झाको लिखत पारित गराई माग्न नालिश परी म.क्षे.अ. समेतको फैसला बमोजिम मिति ०३८।४।६ मा लिखत पारित समेत भई गइसकेको भन्ने तथ्य जानकारी भएकोले अ.बं. ८६ नं. बमोजिम यो फिराद गर्न आएको छु । लक्ष्मण झाले खरीद गरी लिएको कि.नं. २६१ को ०४ मध्ये पूर्व दक्षिणतर्फबाट ०१० जग्गा कटाई बाँकी हुने ०१४ जग्गा प्रतिवादी नथुनी, विजयकुमार, अशोककुमारले अंश मुद्दा भएको मिति ०३९।५।१७ को मिलापत्रले गरेको दर्ता बदर गरी मेरा नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको दशरथ साह सुडीको मिति ०३९।११।३० को फिरादपत्र।

३.    दावीको ०४ जग्गा विवादास्पद छ भनी धनुषा जिल्ला अदालतको मिति ०३७।३।३० को फैसलाले वादीलाई सोही मितिमा थाहा जानकारी भइसकेकोले सो जग्गा पक्री दावी गर्नेहरु माथि नालिश उजूर गर्नु पर्ने म्याद सोही मितिदेखि शुरु हुन्छ । त्यसतर्फ म्यादभित्र कुनै उजूर नगरी मिति ०३९।५।१७ को मिलापत्र माथि नालेश गर्ने अधिकार वादीलाई छैन र मेरो पुर्खापालाको जग्गा हुँदा समस्त अंशियारले आफ्ना हक लिई दिई अंश मुद्दामा मिलापत्र गरी दाखिल दर्ता समेत भए गरेकोले वादी दावी अनुसार सदर हुने होइन । अ.बं. ८६ नं. मा दर्ता बदर गरी दर्ता गरी माग्ने सम्बन्धमा व्यवस्था नभएको र वादी दावा अ.बं. ८६ नं. अन्तर्गतको देखिँदा फिराद खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको नरसिंह दास कथवनीयाको प्रतिउत्तरपत्र ।

४.    कि.नं. २६१ को ०४ जग्गा हाम्रा बाजे बराजूको पालाको आर्जनको भई हाम्रा बाबु काकाहरु भिन्न हुनु हुँदा हक अंशमा परी सो जग्गाबाट ०१० जग्गा हाम्रा बाबु प्रतिवादी नरसिंह दासले अघि नै लक्ष्मण झालाई बेची सक्नु भई बाँकी ०१४ जग्गा हामी ३ दाजुभाइका अंशको हुनाले बाबु नरसिंह दासको व्यवहार देखि हामीले पाउने अंश लिई गरेको मिलापत्र बदर गराउन पाउने वादीको कुनै हक अधिकार छैन । अतः वादी दावी अनुसार हाम्रो मिलापत्र दर्ता बदर हुने होइन भन्ने समेत व्यहोराको नथुनी दास, विजयकुमार, अशोककुमार समेतका जना ३ को संयुक्त प्रतिउत्तरपत्र ।

५.    वादीको लिखत रजिष्ट्रेशन हुने फैसला भइसकेपछि प्रतिवादी बाबु छोराहरुले विवादित कि.नं. २६१ को ०१४ जग्गामा विजयकुमार, अशोककुमार नथुनी दासले भागबण्डा गरी अंश बापत लिई मिति ०३९।५।१७ मा मिलापत्र भएको अंश मुद्दाको प्रमाण मिसिलबाट देखिँदा अर्काको हकमा जाने ठहरी भएको फैसला समेत उल्लंघन गरी मिलापत्र भए गरेको देखिएबाट वादी दावी बमोजिम विवादित सा.कि.नं. २६१ को ०१४ जग्गाको सम्म मिति ०३९।५।१७ मा भएको मिलापत्र र सो मिलापत्रबाट गराएको दर्ता प्रतिवादीको बदर भई वादीको नाउँमा दर्ता कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतबाट मिति ०४०।८।६ मा भएको फैसला ।

६.    सोही वादी दावाको जग्गा पक्री वादीको लिखत मिति भन्दा अघिपछिको लिखतले दे.नं. १११२, १७६७, १६२९ समेतको मुद्दा परी विचाराधीन छ भनी प्रतिउत्तर जिकिर भएकोमा सो मिसिलहरु सामेल गरी प्रमाणमा लिइएको छैन म नरसिंह दासले गरी दिएको दावीको लिखतमा प्रतिवादी नथुनी दास साक्षी छ भनी फिरादमा उल्लेख भएको र म कुनै लिखतमा साक्षी बसेको छैन भनी म नथुनीले प्रतिउत्तरमा इन्कारी लिएपछि सक्कल लिखत अ.बं. ७८ नं. अनुसार देखाउन सुनाउन पर्नेमा सो कार्यविधि समेत पुरा नगरी गरेको धनुषा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नरसिंह दास नथुनी, विजयकुमार, अशोककुमार समेत जना ४ को जनकपुर अं.अ.मा परेको पुनरावेदनपत्र ।

७.    यसै विवादको जग्गाको मूल जग्गा कि.नं. २६१ को जग्गा मध्येको दक्षिणतर्फको आधि जग्गा विषय यही पुनरावेदक प्रतिवादीले वादी वीरेन्द्रप्रसादलाई बिक्री गरेको लिखतपास मुद्दामा अधिकार क्षेत्रको प्रश्नबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाउने आज आदेश भएकोले लगाउको हुँदा यो मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१(क) ले यस अदालतबाट किनारा गर्न नमिल्ने हुँदा उल्लेखित मुद्दा साथमा यो मुद्दा पनि तारेखमा रहेकालाई तारेख तोकी मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको जनकपुर अं.अ.बाट मिति ०४२।२।२३ मा भएको आदेश ।

८.    यसमा यी वादी दशरथ साहु सुडीले लिखत पारीतमा मुद्दा गरेपछि यी प्रतिवादीहरुले अंश मुद्दा गरी कि.नं. २६१ को जग्गा लिनु दिनु गरी भागबण्डा लगाई मिलापत्र गरेको देखिँदा लिखत मुद्दामा पारित हुने ठहरेको ०१४ जग्गाको सम्म मिलापत्र र सो मिलपत्रबाट गराएको दर्ता बदर भई वादीको नाममा दर्ता कायम हुने ठहर्‍याएको शुरु धनुषा जिल्ला अदालतको फैसलामा कानुनी त्रुटि नहुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।४।२८।३ को फैसला ।

९.    यी वादीले मन्जूरीमा नथुनीलाई साक्षी राखी लिखत गराइएको भनी दावी गर्नुभएकोमा सो लिखत मलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाई निर्णय गर्नु पर्नेमा सो नगरी निर्णय गरिएको पितापुर्खाका पालाको सम्पत्तिमा अंशियारको मन्जूरी लिई खुस गर्न पाउनेमा सो नगरी बिक्री गरिएको भए पनि वादीको लिखत पारित हुने ठहरी फैसला हुनुभन्दा पूर्व हामीले अंश बापत लिई पाइसकेको र अंश बदर लिखत पारितको मुद्दासंग सम्बद्ध देखाई जनकपुर अं.अ.बाट अदालतमा अधिकार क्षेत्र विहिन मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई सो अदालतबाट भएको फैसलामा अ.बं. ३५ नं. अंशबण्डाको १।१०।१९ नं. लेनदेन व्यवहारको १० नं. र अधिकारक्षेत्र सम्बन्धी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

१०.    प्रस्तुत मुद्दाको मोल बिगो रु. ५०,०००।भन्दा कमको देखिनुका साथै जरिवाना लाग्न सक्ने मुद्दा नहुँदा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐनले शुरु जिल्ला अदालतको फैसला उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था हुँदाहुँदै क्षेत्रीय अदालतले पुनरावेदन लिई इन्साफ गरेको अधिकार क्षेत्रात्मक त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४३।१२।२५।४ को आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दास र विपक्षीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेलले गर्नुभएको बहस समेत सुनी शुरु धनुषा जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको तर्फ निर्णय दिनु पर्ने हुन आयो ।

१२.   यसमा नरसिंह दासले म संग रु. १५,३६४ लिई कि.नं. २६१ को ०१३८ मध्ये ०४ जग्गाको हक छाडी घरसारमा राजीनामा गरिदिनु भएकोमा लिखत पारितमा नालिश परी अञ्चल अदालत समेतबाट लिखत पारित हुने ठहरी फैसला भए पश्चात गुठी तहसील तथा खर्च कार्यालयमा लिखत पारित गर्न सिफारिश लिई जाँदा कि.नं. २६१ को जग्गा विभिन्न व्यक्तिको नाममा दा.खा. भई गइसकेको भनी मालपोत कार्यालयमा जवाफ पठाएको हुँदा नक्कल सारी हेर्दा मलाई लिखत गरी दिएको जग्गालाई विपक्षीले नथुनी लाल दासलाई ०, विजयकुमार लाल दासलाई ०१८, अशोककुमार लालदासलाई ०१८ समेतका जग्गा दिई अंश मुद्दामा मिलापत्र गरेको र कि.नं. २६१ कै ०४ मध्ये पूर्व दक्षिणतर्फ बाट ०१० जग्गा नरसिंह दासले लक्ष्मण झालाई लिखत गरी दिई लिखत पारितमा नालेश परी लिखत पारित हुने ठहरी गइसकेकोले बाँकी ०१४ विपक्षीहरुको मिलापत्रले गराएको दर्ता बदर गरी मेरा नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी भएकोमा वादीलाई सो जग्गा विवादास्पद स्थितिमा छ भन्ने कुरा धनुषा जिल्ला अदालतको ०३७।३।३० को फैसलाले सोही बखत जानकारी दिइसकेकोमा हाल आएर ०३९।५।१७ को मिलापत्र माथि नालेश गर्ने अधिकार वादीलाई छैन भन्ने नरसिंह दास र वादी दावीको जग्गा हाम्रा बाजे बराजुका पालाको भएको र सो मध्ये ०१० जग्गा बाबु नरसिंह दासले अघि नै लक्ष्मण झालाई बिक्री गरी सक्नु भएको बाँकी ०१४ जग्गा हामीहरुको अंशको हुनाले बाबुबाट पाउने अंश लिई गरेको मिलापत्र दर्ता बदर हुने होइन भन्ने समेत व्यहोराको नथुनी, विजय र अशोकको प्रतिउत्तर जिकिर भएको देखिन्छ ।

१२.   यसमा यी विपक्षी वादी दशरथ साहु सुडीले पुनरावेदक प्रतिवादी नरसिंह दास कथवनीयालाई रु. १५,३६४।दिई निज नाम दर्ताको कि.नं. २६१ को ०१३८ मध्ये ०४ जग्गा मिति ०३४।९।१० मा घरसारको राजीनामा दिई म्याद भित्र पारित नहुँदा लिखत पारितमा नालेश परी लिखत पारित हुने ठहरी मिति ०३९।५।१३।१ मा जनकपुर अं.अ. समेतबाट फैसला भएकोमा विवाद देखिएन । यसरी अञ्चल अदालत समेतबाट पारित हुने ठहर्‍याएको विपक्षी वादीको लिखतलाई निष्कृय गराउने गरी आफूले घरसारमा राजीनामा गरी दिई हस्तान्तरण गरिसकेको जग्गा म्यादभित्र पारित नभए उपर अदालतमा नालेश पारी विचाराधीनमा रहेको अवस्थामा यी पुनरावेदकहरुले जानी जानी त्यस्तो विवादमा रहेको जग्गालाई अंश भाग लगाई मिलापत्र गरेको देखिन्छ । यसरी अरुलाई हक हस्तान्तरण गरी सकेको लिखतलाई निष्क्रिय गराउने गरी गरेको मिलापत्र कायम रहन नसक्ने नहुँदा कि.नं. २६१ को ०१४ जग्गा प्र. नथुनीलाल, विजयकुमार लाल, अशोककुमार लाललाई दिने गरी मिति ०३९।५।१७ मा भएको मिलापत्र र सोको आधारमा भएको दर्ता सो हदसम्म बदर हुन्छ । शुरु धनुषा जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चचल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन । कोर्ट फी रही दायर भएको प्रस्तुत पुनरावेदन हुँदा केही गर्न परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल ज्येष्ठ १ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु