निर्णय नं. ३७७४ - जिउ मास्ने बेच्ने

निर्णय नं. ३७७४ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पु.नं. ४७१
फैसला भएको मिति : २०४५।१२।१७।५ मा
पुनरावेदक/वादी : नरमाया विसुन्केको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : भारत दार्जिलिङ जि.टि–स्टेट मगरजुङ बस्ती बस्ने कुमार विश्वकर्मा
मुद्दा : जिउ मास्ने बेच्ने
(१) जाहेरवालीले प्रहरीमा गरेको बयान कागजलाई पुष्टि गरी अदालतमा समेत किटान बयान गरेको देखियो, प्रतिवादी जाहेरवालीको भनाई बमोजिम निजलाई बिक्री गरेको कुरा स्वीकार्दै प्रहरीमा सावित भएको देखिन्छ, अदालतमा निज प्र.इन्कार रहे बाहेक अन्य सबूद प्रमाण पेश दाखिल हुन आएको छैन, सरजमीनका मानिसहरुले पनि अदालतमा बयान गर्दा समेत प्रतिवादी उपर आरोप बमोजिम कसूर गरेको भनी उल्लेख गरेको देखिँदा प्रतिवादीले जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको ठहराई जीउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको शुरु जि.अ.ले ठहराएको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्याधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.महेशरामभक्त माथेमा
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी दर्ता भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ :–
२. मेरी छोरी नरमाया विसुन्केलाई अपरिचित मानिसले तिम्रो लोग्ने दुर्घटनामा परी अस्पतालमा छ भनी विश्वास पारी लगी बेपत्ता पारेकोले खोजतलास गरिपाउँ भन्ने समेत रत्नबहादुर रोक्काको जाहेरी ।
३. भारतीय सैनिकको पोशाक लगाएको विजय मगर नाउँ बताउने कुमार विश्वकर्माले ०३९।१२।१८ गते मेरो भारतीय सेनामा काम गर्ने लोग्ने इन्द्रबहादुर दुर्घटनामा परी अस्पतालमा छ हेर्न जाँउ भनी विश्वासमा पारी भारत फारबिसगंजमा लगी के कति रुपैयाँमा हो बिक्री गरी भागी गए । कुनै सुरतले ज्यान बचाई आएँ निज उपर ज्यू मास्ने बेच्ने महल अनुसार सजायँ गरिपाउँ भन्ने समेत नरमाया विसुन्केको जाहेरी दर्खास्त ।
४. नरमाया विसुन्केलाई भारत फारविसगंजमा लगी निजको साथको नगद सुन र बर्को, साडी समेत लिई रु. एक हजारमा बिक्री गरेको हुँ भन्ने समेत प्र.कुमार विश्वकर्माले प्रहरीमा गरेको कागज ।
५. जाहेरवाली नरमायालाई यी कुमार विश्वकर्माले विदेश भारत लगी बिक्री गरेमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
६. संकलित सबूद प्रमाणबाट अभियुक्त कुमार विश्वकर्माले जाहेरवाली नरमायालाई भारत फारविसगंज लगी रु. १,०००।– मा बिक्री गरेको सिद्ध हुन आएकोले जिउ मास्ने बेच्नेको १ नं. र ऐ.५ नं. ऐन अनुसार थप सजायँ समेत र जाहेरवालीका साथको गहना पैसा समेतको बिगो रु. २,३५०।– जाहेरवालीलाई दिलाई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
७. जाहेरवालीलाई मैले विदेश भारतमा लगी बिक्री गरेको होइन निजको भाइ दिपकसंग एक दिन झगडा भएको थियो सोही इवीले मलाई फसाउन झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत प्र.कुमार विश्वकर्माले अदालतमा गरेको बयान ।
८. प्र.कुमार विश्वकर्मा मौकामा सावित भई अदालतमा इन्कार रहे पनि इन्कारी समर्थित हुने साक्षी प्रमाण गुजार्न नसकेको किटानी जाहेरी सरजमीन समेतबाट जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको देखिएकोले जिउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको ०४१।११।१।३ को फैसला ।
९. जाहेरवालाले साँठगाँठ मिलाई फसाउने उद्देश्यले झुठ्ठा जाहेरी दिएका मात्र हुन् । सरजमीनले किटान नगरी शंकासम्म गरेका छन् । जाहेरवालीलाई मैले विदेशमा लगी बिक्री गरेको भए कसरी यस सरहदमा हुन्थिन् । मैले कसलाई कसरी बेचें जाहेरीमा उल्लेख छैन केवल प्रहरीले डरत्रासमा पारी इच्छा विरुद्ध गराएको सावितीको आधारमा कसूरदार ठहर्याई गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत कुमार विश्वकर्माको पुनरावेदन।
१०. जाहेरवालीलाई कति रकममा कुन किसिमबाट बिक्री गरे स्पष्ट नभएकोले कसूरदार ठहर्याउन न्यायोचित नदेखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने ०४३।१२।६।६ को आदेश ।
११. प्र.कुमार विश्वकर्माले जाहेरवालीलाई रु. १,०००।– भा.रु. मा बिक्री गरी निजको साथमा भएको रु. ९७३।– र सुनको कान ढुंग्री, साडी समेत लिएकोमा प्रहरी समक्ष सावित छन् । अदालतमा इन्कारी भए पनि सो को पुष्टाई हुने साक्षी प्रमाण गुजार्न सकेको छैन । तसर्थ जिउ मास्ने बेच्ने महलको ५ नं. अनुसार थप सजायँ र बिगो भराई पाउँ भन्ने समेत वादी श्री ५ को सरकारतर्फको पुनरावेदन ।
१२. नरमायाले मलाई फारविसगंजमा लगी बिक्री गरेको भन्ने भनाईलाई समर्थन गर्दै अदालतमा बकपत्र गरे पनि को कसलाई कसरी, कतिमा बेचेको र निज बिक्री भई सकेकी भए किन्नेले कसरी आउन दियो, सो सबै प्रष्ट खुलाई जाहेरवालीले भन्न लेखाउन नसकेको नदेखिएको समेतबाट जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा विश्वासनीय र तथ्ययुक्त भनाइको अभावमा कसूरदार कायम गर्न मिल्ने देखिँदैन । प्रतिवादी पुनरावेदकले जाहेरवाली नरमायालाई विदेश भारतमा लगी बिक्री गरेको भनी जिउ मास्ने बेच्नेको १ नं. अनुसारको कसूरदार कायम गरी सजायँ गरेको शुरु झापा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी हुन्छ । प्रतिवादी पुनरावेदक कुमार विश्वकर्माले दावीको अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।
१३. सरजमीनका मानिसहरुले जाहेरीलाई समर्थन गरी अदालतमा आई बकपत्र गरेका र प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष सावित भएकोमा साविती र मौकाको सावितीलाई प्रमाण लिई फैसला गर्नु पर्नेमा प्रमाणमा नलिएको फैसला प्रमाण ऐन, २०३१ को दफा १८, ९(२)(क)(२) को कानुनी त्रुटि भएकोले सो फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दर्ता हुन आएको श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१४. यसमा जाहेरवाली नरमायाले अदालतमा समेत अपराध पुष्ट्याई गरी बकपत्र गरेको देखिँदा प्रतिवादीलाई सफाई दिएको पू.क्षे.अ. को इन्साफ मिलेको नदेखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा स.अ. नियमावली बमोजिम प्रतिवादीलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले जाहेरवालीले जाहेरी दर्खास्तमा उल्लेखित कुरालाई पुष्ट्याई हुने गरी अदालतमा बकपत्र गरी दिएकी छिन्, कति मूल्यमा कसरी बिक्री गर्यो भन्ने कुरा बेचिनेलाई थाहा हुँदैन नेपाली लाहुरेले होटलबाट छुटाई इटहरीसम्म ल्याई दिएपछि घरमा गएको भनी नरमायाले बकपत्रमा उल्लेख गरेकी छिन यस्तो अवस्थामा पू.क्षे.अ.को इन्साफ बदर भई शुरु जि.अ.को इन्साफ मनासिब हुनुपर्छ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१६. यसमा निर्णयतर्फ विचार गर्दा जाहेरवाली नरमायाका बाबु रत्नबहादुरले प्रतिवादी कुमार विश्वकर्माका सम्बन्धमा मिति ०३९।१२।२१ गते हुलिया दर्खास्त दिएको देखिन्छ । जाहेरवालीले जाहेरी दर्खास्त दिंदा जिल्ला प्रहरी कार्यालय झापामा प्रतिवादीलाई चिनेको कुरा उल्लेख गरेको पाइन्छ । निज जाहेरवाली नरमायाले प्रहरीमा गरेको बयान कागजलाई पुष्टि गरी अदालतमा समेत किटान बयान गरेको देखियो । प्रतिवादी जाहेरवालीको भनाई बमोजिम निजलाई बिक्री गरेको कुरा स्वीकार्दै प्रहरीमा सावित भएको देखिन्छ । अदालतमा निज प्र.कुमार विश्वकर्मा इन्कार रहे बाहेक अन्य सबूद प्रमाण पेश दाखिल हुन आएको छैन । सरजमीनका मानिसहरुले पनि अदालतमा बयान गर्दा समेत प्रतिवादी उपर आरोप बमोजिम कसूर गरेको भनी उल्लेख गरेको देखिन्छ । अतः प्रतिवादीकुमार विश्वकर्माले जाहेरवाली नरमायालाई विदेश भारतमा लगी बिक्री गरेको ठहराई जीउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको शुरु जि.अ.ले ठहराएको इन्साफ मनासिब ठहर्छ । आरोपित कसूरबाट सफाई दिने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला गल्ती भई उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी कुमार विश्वकर्मा के, माथि इन्साफ खण्डमा लेखिए बमोजिम जीउ मास्ने बेच्ने कसूर गरेको ठहराएको शुरुको इन्साफ सदर भई क्षेत्रीय अदालतको फैसला गल्ती देखिएकोले सो अनुसारको लगत कायम नरहने हुँदा शुरु जि.अ.ले गर्ने गरेको कैद बमोजिम हुने हुँदा शुरु झापा जिल्ला अदालतको मिति २०४१।११।१ को फैसला अनुसारको लगत कायम राखी कैद असूल गर्नु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.......१, मिसिल नियमानुसार गरी बुझाई दिनु......२
उक्त रायमा म समत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल चैत्र १७ गते रोज ५ शुभम् ।