शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७७८ - विक्री बदर

भाग: ३१ साल: २०४६ महिना: असार अंक:

निर्णय नं. ३७७८    ने.का.प. २०४६      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ५४७, ७२९

फैसला भएको मिति : २०४५।१२।२९।३ मा

पुनरावेदक/प्रतिवादी : रोल्पा सखी गा.पं. वार्ड नं. १ बस्ने मित्रबहादुर डांगीक्षेत्री

विरुद्ध

विपक्षी/वादी : ऐ. झेनाम गा.पं. वडा नं. ५ को हाल सखी गा.पं. वडा नं. २ बस्ने प्रेमबहादुर   खड्कासमेत

पुनरावेदक/वादी : ऐ. ऐ. बस्ने भानमती खड्कासमेत

विरुद्ध

विपक्षी : रोल्पा सखी गा.पं. वार्ड नं. २ बस्ने दीर्घबहादुर खड्कासमेत

मुद्दा : विक्री बदर

(१)    कानुनको अनिवार्य रुपले पूरा गर्नु पर्ने प्रकृया पूरा नगरी भएको फैसला कानुनको रीत पुगी भएको फैसला भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बलराम भट्टराई

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर उल्लेखित वादी प्रतिवादी तर्फबाट पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    प्रेमबहादुर, भूपबहादुरको आमा मनमतीको लोग्ने अन्यायवाला यमबहादुर र निजकी कान्छी स्वास्नी समेत ५ अंशियार भई २०३५।४।१७ गते अन्यायवाला र रामचनी एकतर्फ हामी एकतर्फ भई मानो सम्म छुट्टिई बसेपछि हामीहरुलाई थाहा नदिई ९६ सालको दर्तावाला इन्द्रवीरबाट सगोलकै धनले अन्यायवालाको नाममा हदमुनीको राजीनामा भएको तिरो रु. ।६९ मध्ये तिरो रु. ।४६ लागेको कोदाले भन्ने घरबारी पाखा रु. ९०००। मा दीर्घबहादुर खड्का क्षेत्रीलाई ऐ. को मोठमा अन्यायवालाको बाबु नन्दुको नाममा दर्ता भएको तिरो रु. ।१२ मध्ये तिरो रु. ।५ लागेको फटके सुकुन्दे भन्ने कुटेचउर पाखो मित्रबहादुर डांगी क्षेत्रीलाई रु. २,०००।मा २०३५।५।१५ मा राजीनामा गरी दिई १६ गते रजिष्ट्रेशन पारित गरेछन्, १९ गते साक्षी खिमबहादुरले भन्दा मालबाट नक्कल सारी लिएको हुँदा थाहा भएकोले हाम्रो मन्जूरी नलिई राजीनामा रजिष्ट्रेशन गरेको उक्त जग्गा ५ खण्डको ३ खण्ड बदर गरी हाम्रो हक कायम गरिपाउँ भन्ने समेत भूपबहादुर खड्का क्षेत्री समेतको संयुक्त प्रतिउत्तरपत्र ।

३.    कोदाले भन्ने घरबारी पाखा मैले नै आर्जेको हुँदा लेनदेनको १० नं. ले आफूखुसी बिक्री गर्न पाउने र कुटेचवर भन्ने पाखो फिरादी मध्येका छोरा प्रेमबहादुर भूपबहादुरलाई पढाउँदा लागेको ऋण कर्जा बुझाउँदा बापत बिक्री गर्न पर्ने हुनाले फिरादीहरु र मेरो कान्छी श्रीमती रामचनीबाट २ बहिनी छोरी समेतको अंश र विवाह खर्च लाग्ने हुँदा उक्त जग्गा बिक्री गरेको हुँ, फिराद दावी झुठ्ठा हुँदा फुर्सद पाउँ भन्ने समेत यामबहादुर खड्का क्षेत्रीको प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी यामबहादुर उपर मात्र नालेश गरेको देखिन आएकोले अ.बं. १८० नं. ले खारेजी हुने ठहर्छ भन्ने समेत रोल्पा जि.अ.को २०३६।८।४ को फैसला ।

५.    शुरुको फैसलामा चित्त नबुझी वादी तर्फबाट पुनरावेदन परेकोमा शुरुले खारेज गर्ने गरेको निर्णय मनासिब हुँदा सदर हुन्छ भन्ने समेत राप्ती अञ्चल अदालतको २०३७।१।३० को फैसला ।

६.    रा.अं.अ.को उक्त फैसलामा चित्त नबुझी वादी तर्फबाट म.प.क्षे.अ.मा परेको पुनरावेदनमा खरिद गरी लिनेलाई नबुझी अ.बं. १३९ नं. को विपरीत हुँदा अञ्चल अदालतको फैसला बदर हुन्छ पुनः निर्णयको लागि मिसिल शुरु जि.अ.मा पठाई दिने भन्ने समेत म.प.क्षे.अ.को ०३९।१०।६ को फैसला ।

७.    तिरो रु. ।१२ मध्ये रु. ।५ को कुटेचवर पाखो मैले रु. २,०००।मा यामबहादुरको बण्डाको जग्गा लिएकोमा बिक्री बदर हुने होइन भन्ने समेत पेटबोलीबाट बुझिएका प्र.भीमबहादुर डाँगीको बयान ।

८.    वादीहरु २०२६ सालमा प्र.यामबहादुरसंग छुट्टि भिन्न गरी बसेका, छोराहरु पढाउँदा र छोरीहरुको विवाह खर्चका लागि जग्गा बेच्नु पर्‍यो भनेकाले कोदाले घरबारी रु. ९०००।मा किनेको जग्गा बिक्री बदर हुने होइन भन्ने समेत पेटबोलीका प्र.दीर्घबहादुर खड्काको बयान ।

९.    राजीनामाको जग्गाको वादीहरुको हक जति ३ खण्डको राजीनामा बदर हुने ठहर्छ भन्ने समेत रो.जि.अ.को २०४०।७।१६ को फैसला ।

१०.    रो.जि.अ.को उक्त फैसलामा चित्त नबुझी प्र.दीर्घबहादुर, प्र.मित्रबहादुर र मु.स.गर्ने प्र.रामचनीको रा.अं.अ.मा परेको पृथक पृथक पुनरावेदनमा अ.बं. ७२ ले बेग्ला बेग्लै नालेश गर्नु पर्नेमा नगरी एकै फिरादबाट नालेश गरेकोले फिरादमा प्र. दीर्घबहादुरको राजीनामालाई सबभन्दा पहिले उल्लेख गरेकोले प्र.मित्रबहादुरको राजीनामाको हकमा प्रस्तुत फिरादबाट इन्साफ गर्न नमिल्नेमा प्र.दीर्घबहादुरको राजीनामाको ५ खण्डको ३ खण्ड बदर गरेको शुरु इन्साफ मनासिब ठहर्छ । प्र.मित्रबहादुरको राजीनामाको हकमा समेत ३ खण्ड बदर गर्ने गरेको शुरु जि.अ.को इन्साफ बदर भई शुरु फैसला केही उल्टी हुन्छ भन्ने समेत रा.अं.अ.को २०४२।३।९ को फैसला ।

११.    रा.अं.अ.को उक्त फैसला उपर दीर्घबहादुरको पुनरावेदन परेको तथा वादी तर्फबाट इन्साफ जाँची पाउन बिन्तिपत्र परेकोमा बिन्तिपत्रवालाका हकमा पनि एकैसाथ राखी इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आएकोमा यामबहादुरले म दीर्घबहादुरलाई बिक्री गरेको जग्गा पैतृक नभई इन्द्रवीरबाट राजीनामा गरिलिएको स्वआर्जनको देखिनाले अंशबण्डाको १९(२) नं. ले आफू खुस गर्न पाउने हुनाले सो बिक्री गरेको सदर हुन्छ तथा मित्रबहादुरलाई बिक्री गरेको जग्गा पैतृक सम्पत्ति भन्ने तथ्यलाई दुवै पक्षले स्वीकार गरेको र घर व्यवहार चलाउन बिक्री भएको भन्ने कुरा प्र.बाट प्रमाणित हुन नसकेकोले वादीहरुको अंश हक पुग्ने देखिँदा दावी बमोजिम ५ खण्डको ३ खण्ड जग्गाको लिखत बदर हुन्छ भन्ने समेत म.प.क्षे.अ. को २०४३।८।२६ को फैसला ।

१२.   म.प.क्षे.अ.को उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्र.मित्रबहादुर डाँगी क्षेत्रीको निवेदनमा क्षे.अ.बाट अ.बं. २०२ नं. बमोजिम मित्रबहादुरलाई प्रतिवाद गर्ने मौका दिएको नदेखिएकोले अ.बं. ७८ नं. तथा अ.बं. २०२ नं. को कानुन व्याख्या सम्बन्धी त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।३।१७।४ को आदेश ।

१३.   प्र.दीर्घबहादुरलाई बिक्री गरिदिएको जग्गाको बिक्री बदर नहुने ठहर्‍याएको म.प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी प्रेमबहादुर खड्का समेतको निवेदन परेकोमा ने.का.प. १०४१, पृ. ९२० मा प्रकाशित २०४१।१०।१२ मा प्रतिपादित सिद्धान्त विपरीत पक्का सबूत बिना नै निजी आर्जनको मानी म.प.क्षे.अ.ले गरेको फैसला मिलेको नदेखिँदा न्या.प्र.सु. ऐन, २०३१ को संशोधित दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।१।९।४ को आदेश ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पक्ष विपक्षीका वारेशहरुलाई रोहवरमा राखी वादी तर्फका विद्वान अधिवक्ता श्री बलराम भट्टराईको र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी म.प.क्षे.अ.को इन्साफ मनासिब बेमनासिब के रहेछ भनी विचार गर्दा दुई व्यक्तिहरुलाई भिन्दा भिन्दै लिखतहरु गरिदिएको बदर गरिपाउँ भन्ने वादीको एउटै फिराद परेकोबाट शुरु जि.अ.ले कारवाही गरी इन्साफ ठहर बोलेकोमा अञ्चल अदालतमा पुनरावेदन परी अञ्चल अदालतबाट एउटा लिखतको धनी विपक्षी मित्रबहादुर उपरको फिराद लाग्न नसक्ने भनी खारेज गरी एउटा लिखतको धनी दीर्घबहादुरको हकमा इन्साफ बोलेकोमा विपक्षी दीर्घबहादुरको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने म.प.क्षे.अ. मा निवेदन परी अनुमति प्रदान भएको र मित्रबहादुरको हकमा फिराद खारेज गरेकोमा वादी प्रेमबहादुर समेतको इन्साफ जाँची पाउँ भन्ने बिन्तिपत्रबाट इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स भई विविधको लगतमा सो निवेदन दर्ता भई सोबाट र प्र.दीर्घबहादुरको पुनरावेदनबाट इन्साफ ठहर गर्नु परेपछि क्षेत्रीय अदालतको सो ठहर फैसला उपर पुनरावेदन लाग्ने कानुनी व्यवस्था नहुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी मित्रबहादुरलाई झिकाई मात्र ठहर निर्णय गर्नु पर्नेमा सो बमोजिम गरेको मिसिलबाट नदेखिएकोले कानुनको अनिवार्य रुपले पूरा गर्नु पर्ने प्रकृया पूरा नगरी भएको फैसला कानुनको रीत पुगी भएको फैसला भन्न नमिलेको र प्र. दीर्घबहादुरको सम्बन्धमा पनि भएको ठहर कानुनको रीत पुगे पनि क्षेत्रीय अदालतले दुवैको हकमा एउटै ठहर फैसला गरेको हुँदा म.प.क्षे.अ.को सो सम्पूर्ण फैसला बदर हुन्छ । कानुनको रीत पुर्‍याई कानुन बमोजिम गर्नु भनी हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकी मिसिल म.प.क्षे.अ.मा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४५ साल चैत्र २९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु