निर्णय नं. ३७८२ - कर्तव्य ज्यान

निर्णय नं. ३७८२ ने.का.प. २०४६ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.पु.नं. ४९९
फैसला भएको मिति : २०४५।१२।१६।४ मा
पुनरावेदक/वादी : माड्डनोर्बु शेर्पाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : बारा जिल्ला अमेलखगंज गा.पं. वार्ड नं. ३ बस्ने रमेश शर्मा
मुद्दा : कर्तव्य ज्यान
(१) लामो अवधि सम्म आफ्नो हिरासतमा राखी गरेको ततिम्बा बयान अरु सबूदबाट समर्थन हुनु बेगर सोही कागजको भरमा दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न कानुनले नमिल्ने ।
(प्रकरण नं. २४)
(२) अभियुक्त र मर्ने मात्र एकान्त पारी करणी गर्न मागेको र मर्नेले सो कुरामा इन्कार गर्दै रहेकोबाट ट्रक चलाउँदैका अवस्था अभियुक्तले मर्नेलाई करणीको आशयबाट होस नपुर्याई कुनै काम कुरा गर्दा ट्रकको ढोका खुल्न गई साइडमा बस्ने निज ट्रकबाट खसी मरेको, त्यसरी खसी मरेकोमा अञ्चल अदालतको ठहरमा उल्लेख भए बमोजिम करणी गर्न दिन इन्कार गरेको रिस थाम्न नसकी अभियुक्तले नै ट्रकको ढोका खोली मर्ने जुलुमलाई खसाली मारेको भन्ने तथ्य सबूद अभावमा ज्यान सम्बन्धीको दफा ६(२) बमोजिम भवितव्य पर्न गएको भन्नु पर्ने ।
(प्रकरण नं. २४)
पुनरावेदक तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
न्या.हिरण्येश्वरमान प्रधान
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई आएको मुद्दाको संक्षिप्त तथ्य जिकिर यस प्रकार रहेछ ।
२. मिति २०४२।१।२ गते २२:३० बजे ना.अं.ख. १९९२ नं. को ट्रकबाट खसी नाम थर वतन थाहा नभएको केटी बलखू बागमती पुल निर मृत्यु भएकोले चालक रमेश शर्मालाई पक्राउ गरी दाखेल गरेको छु भन्ने प्र.ना.नि. रणबहादुर गौतमको प्रतिवेदन ।
३. नाक मुखबाट रगत बगी सुकी सकेको पछाडिपट्टि टाउकोमा १ इन्च घाउ लासको ठाउँ ठाउँमा निलो गिलो जस्तो देखिएको भन्ने मृतकको लाश प्रकृति मुचुल्का ।
४. जोरजुलुम साथ करणी गर्न खोज्दा नदिएकीले रिस थाम्न नसकी ट्रकको सिटबाट घचाडि सडकमा खसाली मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेश शर्माले प्रहरीमा गरेको बयान कागज ।
५. मिति २०४२।१।२ गते २२:३० बजे केटी मृत अवस्थामा फेला परेको चालक भाग्न खोजेकोले प्रहरीमा खबर गरी प्रहरीमा बुझाएको छु भन्ने भक्तबहादुर खड्काको कागज ।
६. ०४२।१।२ गते ट्रकबाट खसी मृत्यु भएको मेरी श्रीमती जुलुम सेर्पिनी हो कर्तव्य गरी मरे मराएको के हो चालक उपर कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत माड्डनोर्बु सेर्पाको कागज ।
७. म २०.०० बजे देखि चालक संग छैन । चालकले लगाएको दोष जुलुम सेर्पिनीको मृत्यु के कसरी भयो, चालक नै जानुन भन्ने समेत व्यहोराको श्यामबहादुर थापाको बयान कागज ।
८. २०४२।१।२ गते बेलुका राती २०.३० बजेको समयमा रमेश शर्माले ट्रकमा मृतकलाई राखी एकान्तकुना चक्रपथ हुँदै गएको थियो । के कसरी मारे मराए निजै जानुन् भन्ने समेत व्यहोराको रामकुमार थापाको कागज ।
९. रमेश शर्माले हाँकेको ना.अं.ख.१२९२ नं. को ट्रकबाट खसी जुलुम सेर्पिनीलाई ट्रकबाट खसाली मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
१०. पक्राउ परेका अभियुक्त रमेश शर्माको बयान कागज हुँदा मेरो ट्रकमा बसी आएको जुलुम सेर्पिनीलाई करणी गर्न खोज्दा नदिएकीले ट्रकको सिटबाट घचेडी सडकमा खसाली मारेको हुँ भन्ने साविती बयान कागज अनुसन्धानको सिलसिलामा बुझिएका सरजमीनका सारा मानिसहरुले अभियुक्त रमेश शर्माले जुलुम शेर्पिनीलाई ट्रकबाट खसाली कर्तव्य गरी मारेको हो भनी प्रष्ट गरी लेखाई लेखिदिएका हुँदा निज रमेश शर्मा उपर मुलुकी ऐन ज्यान सम्बन्धीको १३ नं. का देहायको ३ दफा बमोजिम कारवाही भई सजायँ हुन माग दावी गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी अधिकृत तथा स.अ. अभियोक्ताबाट प्रस्तुत भएको संयुक्त प्रहरी प्रतिवेदनपत्र ।
११. ना.अं.ख. १९९२ को ट्रक मैले चलाई आएको थिएँ । २०४४।१।२ गते काठमाडौं आउन फर्कंदा मैले पोखरी भन्ने ठाउँबाट निजलाई अगाडि सिटमा ल्याई राखेको थिएँ । काठमाडौं आइपुग्दा बेलुका अं. ७ बजेको हुँदो हो मृतक जुलुमले बौद्ध सम्म पुर्याई देउ भनेकीले हुन्छ भनी बौद्ध जान भनी रिङरोड हुँदै बल्खु खोलाको पुल निर पुगेपछि निजलाई जिस्क्याउँदा निजले नजिस्क्याउ भनेकोले मैले तिमीलाई करणी गर्छु भन्दा निजले नजिस्क्याउ भनेपछि म मोटर चलाइरहेको थिएँ । बलखु पुल पारी पुगेपछि ढोका लागेको थियो कसरी चुकुल खुस्की निज मृतक सडकमा पछारिन पुगिन् मलाई थाहा भएन र पछि वर्ली हेर्दा निजको टाउको नाकबाट रगत बगेको रहेछ सम्म भनी प्रहरीमा कागज गरी दिएको थिएँ । मैले सिटबाट घचेटी दिएको भनेको थिइन मैले जानी जानी ट्रकबाट घचेटी खसाली मारेको होइन भन्ने प्र.रमेश शर्माले ल.पु.जि.अदालतमा गरेको बयान ।
१२. जुलुम सेर्पिनीलाई कसले मार्यो मलाई थाहा छैन लाश देखेको सम्म थिएँ शंका रमेश शर्मा माथि नै लाग्छ भन्ने समेतको सरजमीनका मानिस नेत्रबहादुर खड्काले गरेको बकपत्र ।
१३. ०४२।१।५ गते प्रहरीमा गरेको कागज मेरो हो सो कागजमा लेखिएको व्यहोरा मैले भनेबमोजिम लेखिएको ठीक छ सबै कुरा मैले सोही कागजमा लेखाई दिएकोछु भन्नेसमेत व्यहोराको माड्डनोर्बु सेर्पाले अदालतमा गरेको बकपत्र ।
१४. फिल्म हेरेर १० देखि १०.३० को बीचमा आउँदै थिएँ पुलमा अचानक मानिस सुतिरहेको देखें सो मानिसलाई उठ उठ भनें मानिसले ट्रकबाट खसेर यो हातल भयो भनेका थिए बाटोमा हिंड्ने मानिसले प्रहरीलाई खबर दिएछन् । प्रहरीमा आएपछि वहाँहरुलाई जिम्मा लगाई म आफ्नो घर गएको भन्ने समेतको भक्तबहादुर खड्काले अदालतमा गरेको बकपत्र ।
१५. प्रतिवादी रमेश शर्माले प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यान सम्बन्धीको महलको १३(३) नं. बमोजिमको सजायँ हुने अपराध गरेका नभई सोही महलको ५ नं. बमोजिमको अपराध गरेको ज्यान सम्बन्धीको ६(२) बमोजिम ५००।– (पाँचसय) रुपैयाँ जरिवाना र दुई वर्ष कैद हुने र प्रहरी प्रतिवेदन दायर अनुसार मृतकको हकदारले प्रतिवादीबाट क्रिया खर्च रु. २,०००।– र क्षतिपूर्ति ३,०००।– भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतबाट भएको फैसला ।
१६. सो फैसलामा चित्त बुझेन निज प्रतिवादी रमेश शर्मालाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै सजायँ हुनु पर्ने भन्ने समेत श्री ५ को सरकारका तर्फबाट बागमती अञ्चल अदालतमा दर्ता दायर भएको पुनरावेदनपत्र ।
१७. प्रतिवादी रमेश शर्माले अदालतमा बयान गर्दा मृतक जुलुमलाई बायाँ साइडमा राती ल्याएको ढोका लगाएको थियो मृतक जुलुमलाई जिस्काएको करणी गर्न मागेको भन्ने समेत बयान गरेको देखिँदा शुरुले ज्यानसम्बन्धीको ६(२) बमोजिम मात्र सजायँ गर्ने गरेको इन्साफ विचारणीय हुँदा अ.बं. २०२ नं. अनुसार विपक्षी प्रतिवादी रमेश शर्मा थुनामा भए सूचना दिने र छुट्टी सकेको भए झिकाई आएपछि पेश गर्ने भन्ने समेत बागमती अञ्चल अदालत संयुक्त इजलासबाट मिति २०४४।३।२५।५ मा भएको आदेश ।
१८. मर्ने जुलुम सेर्पिनीले करणी दिन नमानेकीले सोही रिसले अनियन्त्रित काम भावनाबाट बसिभूत भई अन्ततोगत्वा प्रतिवादी रमेश शर्माले जुलुम सर्पेनीलाई ट्रकबाट खसाली मारेको प्रष्ट प्रमाणित हुन आएकोेले प्रतिवादी रमेश शर्मालाई ज्यान सम्बन्धीको १४ नं. अनुसार १०(दश) वर्ष कैदको सजायँ हुने ठहर्छ भन्ने समेतको बागमती अञ्चल अदालत संयुक्तइजालसबाट भएको फैसला ।
१९. सो बागमती अञ्चल अदालतबाट गरेको फैसलामा चित्त बुझेन सो फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउनु पर्ने भन्ने समेतको प्रतिवादी रमेश शर्माले कारागार शाखा मार्फत म.क्षे. अदालतमा गरेको पुनरावेदनपत्र ।
२०. बागमती अञ्चल अदालतले प्रतिवादी रमेश शर्मालाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सजायँ गरी पाउनु पर्ने भन्ने समेतको वादी श्री ५ को सरकारतर्फबाट म.क्षे. अदालतमा परेको पुनरावेदनपत्र ।
२१. शुरु जि.अदालतले भवितव्य परी मृतकको मृत्यु भएको ठहराई गरेको फैसला सदर गर्नु पर्नेमा उल्टी गरी ज्यान सम्बन्धीको १४ नं.लगाई गरेको फैसला गल्ती भई उल्टी हुन्छ शुरु ल.पु.जि.अ.ले गरेको फैसला मनासिब ठहर्छ सफाई पाउँ भन्ने प्रतिवादी र वादी दावी बमोजिम सजायँ हुनुपर्ने भन्ने वादी समेत दुवै पक्षका पुनरावेदन जिकिर पुग्न सक्दैन । निजलाई भएको कैद वर्ष २ र रु. ५००।– जरिवाना समेत निजले भुक्तान गरी सकेकोले निजलाई अन्य मुद्दाबाट थुन्नु नपर्ने भए निजलाई थुनाबाट छाडि दिनु भनी निज थुनामा रहेको कारागार शाखामा लेखी पठाई दिनु भन्ने म.क्षे.अ.को फैसला । प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष सावित भएको र मृतकलाई करणी गर्ने मनसायले आफूले बनाएको योजनामा मृतकको सहमति पाउन नसकी जबरजस्ती करणी गर्न लाग्दा पनि असफल भएकोले ट्रकबाट पिच सडकमा फालेको कारणबाट निजको मृत्यु भएकोले शुरु जिल्ला अदालतले गरेको ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम गर्ने गरेको सजायँ सदर गरेको इन्साफ न्यायोचित नहुँदा बदर गरी प्रहरी प्रतिवेदन अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदनपत्र ।
२२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट खटिई आउनु भएका विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले खलासी सहित सबै पेसेञ्जरहरुलाई ट्रकबाट ओह्राली मृतकलाई मात्र ट्रकमा राखी लगेको छ, निजले करणी गर्ने मनसाय भएको कुरा स्वीकार गरेका छन् मृतकले सहमति नजनाएकीले करणी गर्न असफल भएबाट रिसको आवेसमा आई रातको समयमा एक्ली सेर्पेनीलाई ट्रकबाट पीच सडकमा खसालेकोले निजको कर्तव्यबाट मृतक जुलुम सेर्पेनीको मृत्यु भएकोले प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्दछ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
२३. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो ।
२४. यसमा निर्णयतर्फ विचार गर्दा अभियुक्त र बीच बाटोबाट ट्रकमा बसी आएकी मर्ने जुलुम सेर्पेनी बीच मार्नु पर्ने सम्मको अरु कुनै रिसइवी परेको कुनै अवस्था देखिन नआएको अभियुक्तले धेरै दिनसम्म प्रहरी हिरासतमा रही गरेको ततिम्बा बयानमा आफूले इच्छा गरे बमोजिम करणी गर्न नदिएको रिसबाट चल्दैको ट्रकबाट खसाली दिएको भनी सावित भए पनि अदालतमा आई बयान गर्दा करणी गर्न मागेको र मर्नेले इन्कार गर्दै रहेकोबाट मोटर चलाउँदै गइरहेको अवस्था ढोका खुली खस्न गएको भनी देखाई आफूले ट्रकबाट खसाली दिएकोमा इन्कार गरेकोबाट लामो अवधिसम्म आफ्नो हिरासतमा राखी गरेको ततिम्बा बयान अरु सबूदबाट समर्थन हुनु बेगर सोही कागतको भरमा दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न कानुनले मिल्ने देखिन आएन । तर अभियुक्तले अदालतमा बयान गर्दा समेत निज बौद्ध जाने स्वास्नी मानिसलाई पाटन जाउलाखेल पुर्याई त्यहाँबाट चक्रपथतर्फ लगी अनिमात्र बौद्धतर्फ लगेको र सो अवस्था अभियुक्त र मर्ने मात्र एकान्त पारी करणी गर्न मागेको र मर्नेले सो कुरामा इन्कार गर्दै रहेकोबाट ट्रक चलाउँदैको अवस्था अभियुक्तले मर्नेलाई करणीको आसयबाट होस नपुर्याई कुनै काम कुरा गर्दा ट्रकको ढोका खुल्न गई साइडमा बस्ने निज जुलुम ट्रकबाट खसी मरेको, त्यसरी खसी मरेकोमा अञ्चल अदालतको ठहरमा उल्लेख भए बमोजिम करणी गर्न दिन इन्कार गरेको रिस थाम्न नसकी अभियुक्तले नै ट्रकको ढोका खोली मर्ने जुलुमलाई खसाली मारेको भन्ने तथ्य सबूद अभावमा ज्यान सम्बन्धीको दफा ६(२) बमोजिम भवितव्य पर्न गएको भन्नु पर्ने हुन आएकोबाट शुरु जिल्ला अदालतले सोही बमोजिम भवितव्य ठहराएको मनासिबै देखिन आएकोले अञ्चल अदालतको इन्साफ केही उल्टी गरी शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल चैत्र १६ गते रोज ४ शुभम् ।