निर्णय नं. ७३३६ - लिखत दर्ता बदर

निर्णय नं. ७३३६ ने.का..प.२०६१ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्वत् २०५६ सालको दे.पु.नं. ..... ६२८८
फैसला मितिः २०६१।१।२४।५
मुद्दा :– लिखत दर्ता वदर ।
पुनरावेदक
प्रतिवादीः जि. सर्लाही हरिऔन गा.वि.स.वा.नं. ७ वस्ने पदमवहादुर कार्की समेत
विरुद्ध
प्रत्यर्थी
वादीः जि. सर्लाही सिद्धेश्वर गा.वि.स.वा.नं. ५ वस्ने दिलवहादुर क्षेत्री मृत्यु भै दिलवहादुरको मु.स. गर्ने निजको श्रीमती मान कुमारी वस्नेत समेत
§ मुद्दामा मिति २०४२।६।२० मा प्रतिवादी भक्तवहादुरले र.नं. १०५८ वाट प्रतिवादी पदमवहादुर कार्कीलाई र सोही दिन निज पदमवहादुरले र.नं. १०६३ वाट जमुनीदास र रामछविला दासलाई बिक्री गरि दिएको अवस्था भएतापनि दुवै लिखतको विषयवस्तु विवादको कि.नं. १८० को जग्गा रहेको, दुवै लिखत श्रृंखलाबद्ध रुपमा एकै दिन एकै मितिमा निरन्तर प्रक्रियावाट पारित भएको देखिएको एवं दुवै लिखतमा विवादको विषयवस्तु एउटै जग्गाको लिखत पारित गरि दिएको भन्ने देखिन आएकोले वादी दावीको र.नं. १०५८ र १०६३ को लिखतको विषय अलग अलग हुन् भनी मान्न मिल्ने नदेखिने ।
§ प्रस्तुत विवादमा लिखत मिति र जग्गा समेत एकै दिनको एउटै भएकाले उल्लिखित नजिर आकर्षित हुने भएन । एकै दिन एउटै समय, एकै सांधको जग्गामा उही प्रतिवादीहरुले लुटपीट गरे भन्ने दावी झगडाको छुटृाछुटै विषय भन्न मिल्दैन भन्ने सिद्धान्त प्रतिपादन भएको देखिएको र प्रस्तुत मुद्दामा वादीका अंशियार भक्तवहादुरको एउटै व्यवहारले वादीहरुलाई पारेको प्रभावकै श्रृंखलाका रुपमा उसै दिन पदमवहादुरले पारित गरि दिएको राजिनामावाट समेत फिरादीको हकाधिकारमा प्रभाव पर्ने स्थिति विद्यमान भएकोले प्रस्तुत विवादमा उपरोक्त दुई लिखत वदर गराउन वादीले अ.वं. ७२ नं. अनुसार दुई अलगअलग फिराद दायर गर्नुपर्ने भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीहरुको जिकिरसँग सहमत हुन नसकिने ।
§ एकासगोलका स्वास्नी छोराहरुले २०४३।५।२९ मा नक्कल सारी लिएपछि सगोलका सवैले थाहा पाएको मान्नुपर्छ र सोही आधारमा म्याद भित्र फिराद गर्नुपर्छ भन्ने प्रश्नमा आ आफैंले उजुर गर्नुपर्ने हुन्छ । अरुले थाहा पाउँदैमा वा म्याद गुजार्दैमा कसैको हक समाप्त हुन्छ भन्न मिल्ने हुँदैन । स्वयंले थाहा पाएपछि मात्र हदम्याद शुरु हुने र हक सुरक्षित गर्न व्यक्ति जागरुक हुने हो । प्रस्तुत मुद्दामा यि वादीहरु लिखत गरी दिने प्र. भक्तवहादुरका वावु आमा र भाईहरु हुन् भन्ने देखिन्छ भने यसै लिखतको सम्वन्धमा वादी भै फिराद दिई दे.नं. १०९६ को मुद्दा गर्ने व्यक्ति प्र. भक्तवहादुरका स्वास्नी छोराहरु भन्ने देखिन आएवाट उक्त मुद्दाले यि वादीहरुको हकमा असर नपर्ने र उनीहरुले थाहा पाउँदैमा यि वादीहरुले थाहा पाएको हुनु औचित्यपूर्ण हुन नसक्ने ।
§ एकाको क्रियाकलापले आफ्नो हकमा छुटै दावी लिनु पर्ने व्यक्तिका हकमा असर पर्छ भन्नु कानूनी र न्यायोचित हुँदैन तथा त्यसवाट कसैको दावी लिने हक वा म्याद समाप्त हुने होइन । वादीहरुले आफूले थाहा पाएको मितिवाट कानूनका म्याद भित्र फिराद गरेकोलाई अन्यथा भन्न नमिल्ने ।
§ भक्तवहादुर यि फिरादीसँग २०३४ सालमा नै मानो छुटिृई अलग भै बसेको भन्ने प्रतिउत्तर जिकिर भएतापनि यिनै प्रतिवादी मध्येका भक्तवहादुर वस्नेत वादी र वादी मध्येका दिलवहादुर वस्नेत प्रतिवादी भै दायर भएको प्रमाणको अंश मुद्दामा मिति २०४४।८।१५ मा मानो छुटिृएको मिति कायम भै उक्त मुद्दा अन्तिम भै वसेको प्रमाणको अंश मुद्दाको मिसिलवाट देखिन आएको समेत आधार प्रमाणवाट २०४२ सालमा बिक्री व्यवहार भएको जग्गा जमिनमा यि वादीको हक नलाग्ने जग्गा भनी मान्न मिल्ने अवस्था नदेखिने ।
§ प्र. भक्तवहादुरका स्वास्नी छोराहरुले मुद्दा गरी दावी नपुगेकै कारणले अन्य अंशियारको हकमा असर पर्ने र वादीहरुको हक नलाग्ने र निजहरुको फिराद दावी लाग्न पुग्न नसक्ने भन्न नमिल्ने ।
§ आफूखुस गर्न नपाउने यि फिरादीको समेत हक लाग्ने जग्गा निजहरुको मन्जुरी वेगर प्रतिवादी भक्तवहादुरले पदमवहादुरलाई र पदमवहादुरले जमुनीदास र रामछविला दासलाई राजिनामा पारित गरि दिएको देखिन आएकाले वादी दावी वमोजिम ६ भागको ५ भाग लिखत वदर हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मनासिव देखिएकाले सदर हुने ।
(प्र.नं. १७ देखि २१)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री राजेन्द्र घिमिर
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री द्वारिका मान जोशी
अवलम्वित नजिरः
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५४।२।२० को फैसला उपर प्रतिवादीको तर्फवाट मुद्दा दोहोर्याई हेरी पाउँ भनी परेको निवेदनमा यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
२. मूल पुरुष फिरादी मध्येको म दिलवहादुरका दुई पत्नीमा जेठी म फिरादी लक्ष्मी कुमारी, लक्ष्मी कुमारी तर्फका दुई छोरामा जेठा प्र. भक्तवहादुर कान्छा फिरादी मध्येका शम्भू कुमार र कान्छी श्रीमती फिरादी मध्येका म मान कुमारी निजको तर्फको छोरा कुमारजंग समेतका हामी ६ अंशियार हौं । हाम्रो घर सिन्धुली जिल्ला सिद्धेश्वर गाउँमा भई त्यहांको केही जग्गा बिक्री गरी सर्लाही हरिवनमा जेठो छोरा प्र. भक्तवहादुरको नाउँमा धनहर खेत खरीद गरी दोहट गरी वसेका थियौं । यसरी भक्तवहादुरको नाउँमा रहेको केही जग्गा बिक्री गरेकोमा किन यसरी गरेको भन्दा हरिवनमा वांकी रहेको जग्गावाट म अंश लिने छैन भनि भनेवाट चुप लागि वस्यौं तर हरिवन गा.वि.स. वडा नंं. ५(ख) कि.नं. १८० को २–०–१० जग्गा हाम्रो मन्जुरी नलिई प्र. पदमवहादुर कार्कीलाई २०४२।६।२० मा र.नं. १०५८ वाट बिक्री गरी सोही दिन प्र. पदमवहादुरले प्र. जमुना दास र राम छविला दासलाई र.नं. १०६३ मा मालपोत कार्यालय सर्लाहीमा राजिनामा पारित गरी दिएको कुरा प्र. भक्तवहादुरकै श्रीमती र छोराहरुले २०४३।६।१२ मा भेटी जग्गा बिक्री गरेको आफुहरुले दर्ता वदर मुद्दा दिएको कुरा भन्दा थाहा पाई २०४३।६।१३ मा नक्कल लिई थाहा पाएको हुँदा हाम्रो समेत मन्जुरी लिई बिक्री गर्नुपर्नेमा हाम्रो मन्जुरी नलिई गरेको राजिनामाको हाम्रो हुने अंश ६ खण्डको ५ खण्ड दर्ता वदर गरी पश्चिम तर्फवाट हाम्रो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. वादी दावी झुठ्ठा हो । प्रतिवादी भक्तवहादुरका दुइ आमा भएको कारणले सगोलमा वस्न नसकी तराईमा आई हरिवनमा आफ्नो सिप आर्जनवाट जग्गा खरिद गरेका हुन् । प्र. भक्तवहादुरले छुटै ७ नं. फाराम भरेका छन् । प्र. भक्तवहादुरले पहिले पनि कि.नं. ४०५ को १–५–० र.नं. ८४०७ मिति २०३९।१।१७ र कि.नं. ४०६ को ०–१२–१० जग्गा र.नं. ७६१५ मिति २०४१।२।२२ मा बिक्री गरेका हुन् । यदी वादी सगोलमा भएको भए सो सम्पत्ति समेत वदर तर्फ आउनु पर्ने थियो, तर वेग्लै वसेको कारणले मुद्दा नगरेका हुन् । तसर्थ वादीहरु प्र. भक्तवहादुरको सगोलको अंशियार नभएको तथा हामीले खरिद गरेको जग्गा प्र. भक्तवहादुरको नीजि आर्जनको हुँदा दर्ता वदर हुनुपर्ने होइन भन्ने पद्मवहादुर कार्की, जमुनी दास, रामछविला दास समेतको संयुक्त प्रतिउत्तर ।
४. दावीको जग्गा मेरो आफ्नो स्वआर्जनको हुँदा अंशवण्डाको १९ नं. ले कसैको मन्जुरी लिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र. भक्तवहादुरको प्रतिउत्तर जिकिर ।
५. यसमा एकासगोलका स्वास्नी छोराहरुले २०४३।५।२९ मा नक्कल लिएपछि सगोलको सवैले थाहा पाएको मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको १० नं. को म्याद नघाई दर्ता भएको फिराद खारेज हुने ठहर्छ भन्ने सर्लाही जिल्ला अदालतको मिति २०४४।७।१६ को खारेजी फैसला ।
६. मुद्दाको तथ्यमा प्रवेश गरी दावी वमोजिम फैसला गर्नुपर्नेमा हदम्याद भित्र परेको फिरादलाई म्याद नाघेको भन्ने आधार लिई शुरुले गरेको खारेजी फैसला कानूनी त्रुटिपुर्ण हुँदा वदर गरी वादी दावी वमोजिम इन्साफ पाउँ भन्ने वादीहरुको तत्कालीन जनकपुर अंचल अदालतमा परेको पुनरावेदन ।
७. २०४३।६।१३ मा नक्कल लिई थाहा पाएको भन्ने आधारमा २०४३।७।९ मा फिराद दर्ता गरेको देखिन्छ । पहिले नै थाहा पाइसकेको भन्ने प्रत्यर्थी तर्फवाट कुनै प्रमाण प्रस्तुत हुन सकेको छैन । यस्तो अवस्थामा म्याद भित्रकै फिराद मान्नु पर्ने हुँदा सर्लाही जिल्ला अदालतको २०४४।७।१६ को खारेजी फैसला वदर गरि दिएको छ, जे जो बुझ्नु पर्ने प्रमाण बुझी इन्साफ गर्नु भन्ने तत्कालीन जनकपुर अंचल अदालतको मिति २०४५।१२।२१ को फैसला ।
८. प्रतिवादीहरुले वादीहरु र प्रतिवादी भिन्न भै वसेको र नीजि आर्जनको सम्पत्ति रहेको भन्ने जिकिर लिएपनि सो को पुष्टी प्रमाणवाट हुन सकेको नदेखिंदा एकासगोलको सम्पत्ति रहेको देखिन्छ । सगोलको सम्पत्ति बिक्री गर्नु अघि अंशियारको मन्जुरी लिनु पर्नेमा लिन सकेको नदेखिंदा वादी दावी वमोजिम ६ खण्डको ५ खण्ड लिखत दर्ता वदर भई वादीहरुको नाउँमा दर्ता हुने समेत ठहर्छ भन्ने सर्लाही जिल्ला अदालतको मिति २०५२।४।१६ को फैसला ।
९. प्रतिवादी भक्तवहादुर पहिले देखि नै तराईको हरिवनमा वस्ने भई ७ नं. फांटवारी समेत छुटै भरेको आधारमा २०२१ सालदेखि नै भिन्न रहेको व्यहोरा प्रमाणित भएकोमा सो तर्फ ध्यान नै नदिई शुरुले दर्ता वदर गर्ने गरी गरेको फैसला त्रुटिपुर्ण हुँदा फैसला वदर वातिल गरी इन्साफ पाउँ भन्ने प्र. भक्तवहादुर वाहेक अन्य प्रतिवादीहरुले पुनरावेदन अदालत जनकपुरमा गरेको पुनरावेदन ।
१०. यसमा वादीहरु लिखत गर्ने पदमवहादुरको हकदार नभएको र दे.नं. १०९६ मा विवादित जग्गा भक्तवहादुरको आफुखुस गर्न पाउने भनि गरेको फैसला अन्तिम रहेको परिप्रेक्ष्यमा शुरुले गरेको फैसला फरक पर्ने देखिंदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने मिति २०५२।११।८ मा भएको आदेश ।
११. दावीको सम्पत्तिमा वादीको समेत हक लाग्ने देखिएकाले वादी दावी वमोजिम लिखत वदर हुने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला मनासिव देखिंदा सदर हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको फैसला ।
१२. अ.वं. ७२ नं. ले दुई भिन्न काम कारवाहीका लागि एउटै फिरादवाट इन्साफ गर्न नमिल्नेमा सो व्यवस्था विपरीत भक्तवहादुरले पदमवहादुरलाई र पदमवहादुरले जमुनादास र रामछविला दासलाई गरि दिएको लिखत एउटै फिरादवाट वदर गरेको त्रुटिपुर्ण छ । विवादित जग्गा भक्तवहादुरले २०२५ सालमा पवित्रा देवी पौडेलवाट खरिद गरि लिएको स्थितिलाई वादीले अन्यथा भन्न सकेको अवस्था नहुँदा उक्त जग्गा भक्तवहादुरको नीजि आर्जनको जग्गा भन्ने पुष्टी भएको छ । यस्तो नीजि आर्जनको सम्पत्ति आफुखुस गर्न पाउँछ । साथै लिखत वदर तर्फ दावी लिनेले थाहा पाएको मितिले पैंतिस दिन भित्र फिराद दायर गर्नुपर्नेमा वादीले हदम्याद नघाई फिराद दायर गरेकोले फिराद खारेज गर्नुपर्नेमा लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपुर्ण हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन ।
१३. भक्तवहादुरको श्रीमती छोराहरुले दिएको लिखत वदरमुद्दामा यही सम्पत्ति वादीको पालामा आर्जन भएको भन्ने आधारमा बिक्री वदर नहुने भनी पुनरावेदन अदालत जनकपुरवाट समेत अन्तिम निर्णय भएको परिप्रेक्ष्यमा वावु समेतले दिएको उजुरीमा भने आफुखुसी गर्न नमिल्ने भनी लिखत वदरहुने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको निर्णय विरोधाभाषपूर्ण हुन गै अन्यौलको स्थिति हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१४. वादी मध्येका लक्ष्मी कुमारीको मु.स. गर्ने शम्भू कुमार वस्नेतको मुद्दा वांकी राखी फिरादी मध्येका दिलवहादुरको मु.स. गर्ने मान कुमारी वस्नेत र कुमार जंग वस्नेत तथा पुनरावेदक प्रतिवादीहरु वीच वादी दावी छाडी मिलापत्र भएको ।
१५. नियम वमोजिम मुद्दा पेशी सूचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरि पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री राजेन्द« घिमिरेले विवादित जग्गा भक्तवहादुरले २०२५ सालमा पवित्रा देवी पौडेलसँग खरिद गरि लिएको निजी आर्जनको जग्गा हो । नीजि आर्जनको जग्गा आफुखुस गर्न पाउँछ । भक्तवहादुरले पदमवहादुरलाई र पदमवहादुरले जमुनादास र रामछविला दासलाई गरि दिएको दुईवटा छुटृा छुटै लिखत वदर गर्न एउटै फिरादवाट दावी लिएको छ । अ.वं. ७२ नं. ले छुटृाछुटै काम कारवाइका लागि छुटृाछुटै फिराद गर्नुपर्ने व्यवस्था गरेकाले फिराद अ.वं. ७२ नं. विपरीत छ ।साथै भक्तवहादुरको एकाघरकी श्रीमतीले अघिल्लै मुद्दावाट लिखत पारी गरेको थाहा पाएकोमा सो को हदम्याद भित्र फिराद नगरी नक्कल लिएको मितिलाई थाहा पाएको मिति कायम गरी दायर गरेको फिराद हदम्याद नाघेकोले खारेज गर्नुपर्नेमा लिखत वदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने र प्रत्यर्थी वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री द्वारिका मान जोशीले एउटै कित्ताको जग्गा एकै मितिमा श्रृंखलावद्ध रुपमा पारित गरेको लिखतलाई एउटै फिरादवाट दावी गरेकोमा अ.वं. ७२ नं. प्रतिकूल हुँदैन । दावीको कित्ता जग्गा अघि वावुले सगोलको जग्गा वेची सोही रकमवाट सगोलमै रहने गरी भक्तवहादुरको नाउँमा खरिद गरेको जग्गा भएकोले सो जग्गा नीजि आर्जनको जग्गा होइन । प्रमाण ऐन, २०३१ को दफा ६(क) ले सगोलको जग्गा जो सुकैको नाउँमा रहे भएको भएतापनि अन्यथा प्रमाणित नभएसम्म सगोलको भनी अनुमान गर्नुपर्ने हुन्छ । प्रमाणको मुद्दामा २०४४ सालमा मानो छुटिृएको मिति कायम भै अन्तिम भै बसेको भन्ने समेत आधारमा सगोलको सम्पत्ति ठहराई दावी वमोजिम लिखत वदरहुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत जनकपुरको फैसला मिले, नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो ।
१६. निर्णयतर्फ विचार गर्दा हाम्रो समेत हक लाग्ने कि.नं. १८० को ज.वि. २–०–१० जग्गा हाम्रो मन्जुरी वेगर प्रतिवादी मध्येका भक्तवहादुरले मिति २०४२।६।२० मा प्रतिवादी पदमवहादुर कार्कीलाई र निज पदमवहादुर कार्कीले सोही दिन प्रतिवादीहरु जमुनीदास र रामछविला दासलाई राजिनामा पारित गरि दिएकोले हाम्रो हकको ६ खण्डको ५ खण्ड लिखत वदर गरी हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने वादी र प्रतिवादी मध्येका भक्तवहादुर कार्कीको निजी आर्जनको जग्गा हो । अंशवण्डाको १८ नं. ले वादीहरुको मन्जुरी लिनु पर्ने नहुँदा फिराद खारेज हुनु पर्छ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु सर्लाही जिल्ला अदालतले फिराद खारेज हुने ठहराएको फैसला तत्कालीन जनकपुर अंचल अदालतवाट बदर भई पुनः निर्णयका लागि शुरु सर्लाही जिल्ला अदालतमा गएकोमा वादी दावी वमोजिम लिखत वदर हुने ठहराएको शुरु फैसला पुनरावेदन अदालतवाट सदर भए उपर मुद्दा दोहोर्याई हेरी पाउँ भनि प्रतिवादीको यस अदालतमा परेको निवेदनमा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको देखिन्छ । यस अदालतवाट दोहोर्याई हेर्ने निस्साप्रदान भै प्रत्यर्थी वादी उपस्थित भै सकेपछि वादी मध्येको दिलवहादुरको मु.स. गर्ने मान कुमारी वस्नेत र कुमार जंग वस्नेत तथा पुनरावेदक प्रतिवादीहरु वीच वादी दावी छाड्ने गरी मिलापत्र भएको समेत देखिंदा वादी मध्येका लक्ष्मी कुमारी वस्नेतको मु.स. गर्ने शम्भू कुमार वस्नेतको हक सम्म पुनरावेदन जिकिर पुग्ने, नपुग्ने के हो ? भनी निर्णय गर्नुपर्ने प्रस्तुत मुद्दामा देहायका प्रश्नहरुको निरोण गर्नुपर्ने भएको छ :–
(१) प्रस्तुत मुद्दाको फिराद अ.वं. ७२ नं. ले त्रुटिपूर्ण भै दुई छुटृाछुटै फिराद गर्नुपर्ने अवस्थाको हो, होइन ?
(२) दाताको एकासगोलका स्वास्नी छोराले थाहा पाएकोमा अन्य अंशियारले पनि थाहा पाएको मानी सोही मितिमा हदम्याद कायम हुने हो, होइन ?
(३) विवादित लिखतको जग्गा प्र. भक्तवहादुरको नीजि आर्जनको आफूखुस गर्न पाउने सम्पत्ति हो, होइन ?
१७. प्रथमतः वादी दावीको कि.नं. १८० को विवादित जग्गा प्रतिवादी मध्येका भक्तवहादुरले मिति २०४२।६।२० मा प्रतिवादी मध्येकै पदमवहादुर कार्कीलाई र.नं. १०५८ वाट र निज पदमवहादुर कार्कीले उक्त जग्गा सोही मितिमा प्रतिवादीहरु जमुनीदास र रामछविला दासलाई र.नं. १०६३ वाट राजिनामा पारित गरि दिएको तथ्यमा विवाद भएन । सोही र.नं. १०५८ र १०६३ को लिखत वदर गरी पाउँ भन्ने वादी दावी भएकोमा भक्तवहादुरले पदमवहादुरलाई बिक्री गर्ने कार्य र पदमवहादुरले जमुनीदास र रामछविला दासलाई बिक्री गर्ने कार्य छुटृाछुटै विषय भएकोले अ.वं. ७२ नं. अनुसार त्यस्तो विषयमा एउटै फिरादवाट इन्साफ हुन सक्दैन । विभिन्न लिखतको असामी एउटै भएपनि लिखत, जग्गा मिति, साहू वेगल भए लिखत र दर्ता वदर गरी हक कायम गराई पाउँ भन्ने ३ किसिमको दावी झगडाको विषय एउटै नभई छुटृाछुटै हुन्छ भन्ने ने.का.प. २०३१, पृ. ११०, नि.नं. ८१७ मा सिद्धान्त प्रतिपादन भएको अवस्था समेतवाट दुई छुटृाछुटै लिखतको विषयमा एउटै फिरादवाट इन्साफ गर्न मिल्दैन । प्रस्तुत फिराद खारेज गर्नुपर्छ भन्ने पुनरावेदक प्रतिवादीको तर्फवाट उपस्थित विद्वान अधिवक्ताहरुको जिकिरका सम्वन्धमा विचार गर्दा अ.वं. ७२ नं. मा एउटै फिराद पत्रमा एउटै मानिसले एउटै मानिस उपर जतिसुकै झगडाको विषयको कुरा लेखि ल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटै झगडाको विषय लेखी ल्याएको भएपनि लिई सो वमोजिम सवै कुराको सोही फिरादपत्र वाट इन्साफ गर्नुपर्छ भन्ने व्यवस्था उल्लेख भैरहेको देखिंदा धेरै मानिसले धेरै मानिस उपर दिन ल्याएको एउटा फिरादपत्रवाट एउटा झगडाको विषयमा इन्साफ दिनु पर्ने भन्ने कानूनी व्यवस्था देखिन आयो । प्रस्तुत मुद्दामा मिति २०४२।६।२० मा प्रतिवादी भक्तवहादुरले र.नं. १०५८ वाट प्रतिवादी पदमवहादुर कार्कीलाई र सोही दिन निज पदमवहादुरले र.नं. १०६३ वाट जमुनीदास र रामछविला दासलाई बिक्री गरि दिएको अवस्था भएतापनि दुवै लिखतको विषयवस्तु विवादको कि.नं. १८० को जग्गा रहेको, दुवै लिखत श्रृंखलाबद्ध रुपमा एकै दिन एकै मितिमा निरन्तर प्रक्रियावाट पारित भएको देखिएको एवं दुवै लिखतमा विवादको विषयवस्तु एउटै जग्गाको लिखत पारित गरि दिएको भन्ने देखिन आएकोले वादी दावीको र.नं. १०५८ र १०६३ को लिखतको विषय अलग अलग हुन भनी मान्न मिल्ने देखिएन । प्रस्तुत विवादमा लिखत मिति र जग्गा समेत एकै दिनको एउटै भएकाले उल्लिखित नजिर आकर्षित हुने भएन । एकै दिन एउटै समय, एकै सांधको जग्गामा उही प्रतिवादीहरुले लुटपीट गरे भन्ने दावी झगडाको छुटृाछुटै विषय भन्न मिल्दैन भन्ने ने.का.प. २०३५ अंक ८ नि.नं. ११९२ पृ. १७६ मा सिद्धान्त प्रतिपादन भएको देखिएको र प्रस्तुत मुद्दामा वादीका अंशियार भक्तवहादुरको एउटै व्यवहारले वादीहरुलाई पारेको प्रभावकै श्रृंखलाका रुपमा उसै दिन पदमवहादुरले पारित गरि दिएको राजिनामावाट समेत फिरादीको हकाधिकारमा प्रभाव पर्ने स्थिति विद्यमान भएकोले प्रस्तुत विवादमा उपरोक्त दुई लिखत वदर गराउन वादीले अ.वं. ७२ नं. अनुसार दुई अलगअलग फिराद दायर गर्नुपर्ने भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीहरुको जिकिरसँग सहमत हुन सकिएन । एउटै फिरादवाट हेरी इन्साफ दिन मिल्ने नै देखियो ।
१८. अव वादी दावीको जहांसम्म एकासगोलका स्वास्नी छोराहरुले २०४३।५।२९ मा नक्कल सारी लिएपछि सगोलका सवैले थाहा पाएको मान्नुपर्छ र सोही आधारमा म्याद भित्र फिराद गर्नु पर्छ भन्ने प्रश्न छ हकको प्रश्नमा आ आफैंले उजुर गर्नुपर्ने हुन्छ । अरुले थाहा पाउँदैमा वा म्याद गुजार्दैमा कसैको हक समाप्त हुन्छ भन्न मिल्ने हुँदैन । स्वयंले थाहा पाएपछि मात्र हदम्याद शुरु हुने र हक सुरक्षित गर्न व्यक्ति जागरुक हुने हो । प्रस्तुत मुद्दामा यि वादीहरु लिखत गरी दिने प्र. भक्तवहादुरका वावु आमा र भाईहरु हुन् भन्ने देखिन्छ भने यसै लिखतको सम्वन्धमा वादी भै फिराद दिई दे.नं. १०९६ को मुद्दा गर्ने व्यक्ति प्र. भक्तवहादुरका स्वास्नी छोराहरु भन्ने देखिन आएवाट उक्त मुद्दाले यि वादीहरुको हकमा असर नपर्ने र उनीहरुले थाहा पाउँदैमा यि वादीहरुले थाहा पाएको हुनु औचित्यपुर्ण हुन सक्दैन । एकाको क्रियाकलापले आफ्नो हकमा छुटै दावी लिनु पर्ने व्यक्तिका हकमा असर पर्छ भन्नु कानूनी र न्यायोचित हुँदैन तथा त्यसवाट कसैको दावी लिने हक वा म्याद समाप्त हुने होइन । वादीहरुले आफूले थाहा पाएको मितिवाट कानूनका म्याद भित्र फिराद गरेकोलाई अन्यथा भन्न मिल्दैन । त्यसैले यस सम्वन्धी पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१९. तेश्रो प्रश्न दावीको जग्गा यि प्रतिवादी भक्तवहादुरले आफूखुसगर्न पाउने निजी आर्जनको जग्गा हो वा सगोलको अंशियाराको हक लाग्ने जग्गा हो भन्ने सम्वन्धमा विचार गर्दा उक्त जग्गा प्रतिवादी भक्तवहादुरले मिति २०२५।१।५।४ मा पवित्रा देवी पौडेलसँग राजिनामा पारित गरि लिएको देखिएतापनि फिरादी मध्येका दिलवहादुरले मिति २०२४।१२।२२ मा सगोलको पैत्रिक अचल सम्पत्ति बिक्री गरी प्राप्त रकमवाट २०२५।१।५।४ मा उमेर पुगेको जेठो छोरा निज भक्तवहादुरको नाउँमा जमिन राजिनामा पारित गरि लिएको हो भन्ने वादी दावीलाई प्रतिवादीहरुले निजी आर्जनको आधार श्रोत देखाई अन्यथा भन्न सकेको पाइदैन । अन्यथा प्रमाणित नभएसम्म एकाघर सँगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भैरहेको देखिन्छ । दावीको जग्गा आफूखुस गर्न पाउने नीजी आर्जनको हो भन्ने प्रतिवादी जिकिर भएतापनि सो जिकिरको पुष्ट्याई गर्ने प्रमाण प्रतिवादी पक्षवाट पेश दाखेल गर्न सकेको मिसिलवाट देखिन आउँदैन । भक्तवहादुर यि फिरादीसँग २०३४ सालमा नै मानो छुटिृई अलग भै बसेको भन्ने प्रतिउत्तर जिकिर भएतापनि यिनै प्रतिवादी मध्येका भक्तवहादुर वस्नेत वादी र वादी मध्येका दिलवहादुर वस्नेत प्रतिवादी भै दायर भएको प्रमाणको अंश मुद्दामा मिति २०४४।८।१५ मा मानो छुटिृएको मिति कायम भै उक्त मुद्दा अन्तिम भै वसेको प्रमाणको अंश मुद्दाको मिसिलवाट देखिन आएको समेत आधार प्रमाणवाट २०४२ सालमा बिक्री व्यवहार भएको जग्गा जमिनमा यि वादीको हक नलाग्ने जग्गा भनी मान्न मिल्ने अवस्था देखिएन ।
२०. प्रतिवादी भक्तवहादुरका श्रीमती छोराहरुले दायर गरेको दे.नं. १०९६ को लिखत वदर मुद्दावाट विवादित जग्गा भक्तवहादुरले आफूखुस गर्न पाउने भनी भएको फैसला अन्तिम रहेको छ भन्ने पुनरावेदक तर्फवाट उठाइएको जो सन्दर्भ छ विवादित जग्गा भक्तवहादुरले आफ्नो पालामा राजिनामा लिई आर्जन गरेको भन्ने देखिंदा नीजको स्वास्नी छोराहरुको हकमा सो सम्पत्ति अंशवण्डाको १९(२) नं. ले आफूखुस गर्न पाउने सम्पत्ति हुने देखिन्छ । तर प्रस्तुत मुद्दामा हक छाडी दिने प्र. भक्तवहादुरका वादीहरु वावु आमा दाजुभाईहरु भन्ने देखिन आएवाट स्वास्नी छोराहरु र वावु आमा दाजु भाइहरुको हकमा भिन्न स्थिति र कानूनी व्यवस्था देखिन आउँछ । अंशवण्डाको १९ नं. मा अंश नलिएका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसको चल अचल सम्पत्तिमा देहायमा लेखिए वमोजिम हुन्छ .... भन्ने व्यवस्था गरिएको पाइंदा उक्त व्यवस्था वावु, लोग्ने वा ससुराको हकमा लागु हुने देखिन्छ, छोराको हकमा होइन । ने.का.प. २०५६, नि.नं. ६६९५, अंक ३, पृ. २३९ मा अंशवण्डाको १९ को कानूनी व्यवस्थाले घरको मुख्य वावुलाई मात्र सो अधिकार प्रदान गरेको देखिन्छ । उक्त ऐन घरको मुख्य वावु वाहेक अन्य अंशियारा दाजुभाईको हकमा आकर्षित हुन नसक्ने भन्ने यस अदालतवाट सिद्धान्त प्रतिपादन भै रहेको पाइन्छ । यस स्थितिवाट विचार गर्दा प्र. भक्तवहादुरका स्वास्नी छोराहरुले मुद्दा गरी दावी नपुगेकै कारणले अन्य अंशियारको हकमा असर पर्ने र वादीहरुको हक नलाग्ने र निजहरुको फिराद दावी लाग्न पुग्न नसक्ने भन्न मिल्ने देखिन आएन ।
२१. तसर्थ उल्लिखित आधार कारणहरुवाट आफूखुस गर्न नपाउने यि फिरादीको समेत हक लाग्ने जग्गा निजहरुको मन्जुरी वेगर प्रतिवादी भक्तवहादुरले पदमवहादुरलाई र पदमवहादुरले जमुनीदास र रामछविला दासलाई राजिनामा पारित गरि दिएको देखिन आएकाले वादी दावी वमोजिम ६ भागको ५ भाग लिखत वदर हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मनासिव देखिएकाले सदर हुने ठहर्छ । सो ठहरेतापनि वादी मध्येका दिलवहादुरको मु.स. गर्ने मान कुमारी वस्नेत र कुमार जंग वस्नेत तथा प्रतिवादीहरु वीच मिति २०५७।१।२१।४ मा यस अदालतमा वादी दावी छाडी मिलापत्र भैसकेको देखिंदा वादी मध्येका लक्ष्मी कुमारीको मु.स. गर्ने शम्भु कुमार वस्नेतको हकसम्म ६ भागको २ भाग सम्मको हकमा लिखत वदर हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला कायम हुन्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम ६ भागको ५ भाग लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुने ठहरेतापनि वादी प्रतिवादी वीच आंशिक मिलापत्र भै लक्ष्मी कुमारीको मु.स. गर्ने शम्भू कुमार वस्नेतको हकसम्म ६ भागको दुई भाग सम्मको हकमा लिखत वदर कायम हुने ठहरेकोले शुरु फैसलाको तपसील खण्डले ६ भागको पांच भाग लिखत वदर हुने भनी राखेको लगत कटृी भै ६ भागको दुई भागले हुन आउने लिखत वदर गरी वादी मध्येका शम्भू कुमार वस्नेत ऐनका म्याद भित्र दर्ता गराई माग्न आए दर्ता गराई दिनु भनी सम्वन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ...... १
मिसिल नियमानुसार वुझाई दिनु .१
उक्त रायमा सहमत छु ।
न्या.मीनबहादुर रायमाझी
इति सम्वत् २०६१ साल वैशाख २४ गते रोज ५ शुभम् .......... ।