शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७३३८ - जोत नामसारी

भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक:

निर्णय नं. ७३३८    ने.का..प.२०६१       अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

सम्वत २०५६ सालको दे.पु.नं. ५५२३

फैसला मितिः २०६१।१।२५।६

 

मुद्दा :जोत नामसारी ।

 

पुनरावेदक

वादीः भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ५८ को हिरामाया माडी श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः ऐ. ऐ. भिमसेन चपाचो गा.वि.स. वार्ड नं. १ बस्ने जगतमाया श्रेष्ठ

 

§  मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एकमात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्ने अर्थ गर्नु न्यायसंगत नहुने ।

§  पुनरावेदक वादीले विवादित जग्गा जोतभोग गरी आएको भन्ने कुरा बराबर वाली बुझाई आएको, कुनै वर्षहरुको वाली धरौट राखेको र जोत कमोद वादीले नैं गरेको भन्ने सर्जमिन मुचुल्का समेतबाट देखिन आएको अवस्थामा २०५८।५।१४ मा फैसला भएको दे.पु.ई.नं. ८५ को मुद्दामा गरिएको व्याख्याको निष्कर्ष समेतबाट मोहीको मृत्युपछि मोही हक निजको एकमात्र हकवाला भएमा स्वतः निजमा सर्ने नामसारी नगराएकै कारणले मोही हक समाप्त हुन नसक्ने हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रस्तुत मुद्दाको विवादित जग्गाको जोताहा मोही रुद्र कुमारको मृत्युपछि एकमात्र हकवाला छोरा वुरु कुमारका नाउँमा स्वतः मोही हक स्थापित भएको मान्नु पर्ने स्थितिबाट निज वुरु कुमारको नाउँमा नामसारी नगराएकै कारणले निज जीवित रहेकै अवस्थामा मोही हक समाप्त भएको मान्न नमिली वादीका पति वुरु कुमारको हकमा आएको मोही हक निजको मृत्यु पश्चात् पत्नी यी वादीको हकमा स्वतः सर्ने हुँदा निजले नामसारी गराउन नपाउने भन्न नमिल्ने ।

§  प्रक्रियागत कुरा फरक पर्दैमा कानूनले व्यवस्था गरेको हक प्राप्त हुने कुरालाई ईन्कार गर्न पनि नमिल्ने र हक समाप्त पनि हुन नसक्ने ।

(प्र.नं. १८ र १९)

   

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा तथा श्री इन्द्रप्रसाद खरेल

विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी

अवलम्वित नजिरः

 

फैसला

            न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत पाटनको ०५५।९।६ को फैसला उपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    जग्गाधनीमा चपाचो गा.वि.स. वडा नं. १ मा बस्ने जगतमाया श्रेष्ठ कायम भएको गा.वि.स. दधिकोट वडा नं. ९ कि.नं. १३०४ र १३०६ को मोही आफ्नो ससुरा रुद्र कुमार माडी श्रेष्ठ परलोक भै निजको हकदार छोरा मेरो श्रीमान वुरु कुमारले जोती कमाई आएकोमा निज पनि आफ्नो कालगतीले परलोक भै निजको हक खाने श्रीमती मैले जोती कमाई निज जग्गाधनीलाई बुझाउनु पर्ने तिरो तिराउ गरी आएकोले मेरो नाउँमा जोत नामसारी गरी पाउँ भन्ने समेत व्यहोराको हिरामाया माडी श्रेष्ठको भूमिसुधार कार्यालय भक्तपुरमा परेको निवेदन पत्र ।

            ३.    उल्लेखित जग्गाहरु हिरामाया श्रेष्ठले जोत कमोद गरी आएकोले निजका नाउँमा जोत नामसारी गरी दिने सम्बन्धी बालकोट गा.वि.स.को सिफारिश पत्र ।

            ४.    चन्द्रवहादुर श्रेष्ठले वुरु कुमार श्रेष्ठलाई दिएको भन्ने २०२६ सालको भरपाइ समेत किर्ते हो । चन्द्र बहादुर श्रेष्ठ मेरा लोग्ने र इन्द्र बहादुर श्रेष्ठ छोरा हुन् । जग्गाधनी म हुँ चन्द्र बहादुर होइन भन्ने समेत जगतमाया श्रेष्ठको ०४९।१।७ को बयान ।

५.    दर्तावाला जग्गाधनी म हुँ । जग्गाधनी महलमा मेरो नाउँ छ । तसर्थ जग्गाधनी नभएको मानिसले विभिन्न मितिमा दिएका भरपाइहरु सम्बन्धमा मैले बयान गर्नुपर्ने होइन भन्ने समेत व्यहोराको जगतमाया श्रेष्ठको ०४९।३।२४ को बयान कागज ।

६.    भरपाइ गरी दिने चन्द्र बहादुर तथा इन्द्र बहादुर जगतमायाका अंशियार भै भूमि सम्बन्धी ऐन, २०२१ अनुसार जग्गाधनी कै परिभाषा भित्र पर्ने भएकोले निजहरुले दिएका भरपाइलाई मान्यता दिन नमिल्ने  देखिंदैन । निवेदीकाको पतिलाई मोही मानी भरपाइ दिएको तथा कतिपय भरपाइहरुमा निवेदीकालाई नैं मोही मानिएको समेत देखिंदा र मोही रोज्न पाउने कानूनी प्रावधान बमोजिम एकजना मात्र भएको अवस्थामा स्वतः रोजिन सक्ने देखिएकोले माग बमोजिम नामसारी गरी दिने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय भक्तपुरको मिति ०४९।४।२८ को फैसला ।

७.    यसमा दे.पु.नं. २८० को मुद्दामा आजै फैसला त्रुटीपूर्ण हुँदा मुद्दा शुरुमा पठाइएको हो । प्रस्तुत मुद्दा त्यसै लगाउको भएकोले प्रस्तुत मुद्दामा पनि फैसला बदर गरी दिएको छ । जे जो बुझ्नु पर्छ बुझी इन्साफ गर्नु भनी मिसिल शुरु भक्तपुर भूमिसुधार कार्यालयमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति ०५०।१२।१८ को फैसला ।

८.    मि.नं. २८८ बाट निर्णय नं. ७६७ बमोजिम विवादित जग्गाकै विषयमा जग्गाधनी वादीको दावी नपुग्ने गरी फैसला भएको र प्रस्तुत मुद्दा सो लगाउकै देखिंदा तिनै आधार प्रमाणबाट दर्तावाला मोही रुद्र कुमार श्रेष्ठको मोही हक निज पछिका हक खाने हकदार छोरा बुहारी निवेदीका हिरामाया श्रेष्ठका नाउँमा नामसारी भै कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय भक्तपुरको मिति ०५२।८।२४ को निर्णय पर्चा ।

९.    बुहारीलाई मोहियानी हक प्राप्त हुन नसक्ने कानूनी प्रावधान हुँदाहुँदै सो विपरीत गरी बुहारीलाई मोही कायम गरी निजका नाउँमा नामसारी हुने ठहर गरेको भूमिसुधार कार्यालय भक्तपुरको कानूनी त्रुटीपूर्ण निर्णय बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जगतमाया श्रेष्ठको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र । 

१०.    लोग्ने कै नाउँमा मोही नामसारी नहुँदै निजको शेषपछि निजको श्रीमती वादीका नाउँमा मोही नामसारी हुने गरी भएको शुरु भूमिसुधार कार्यालयको फैसला भूमि सम्बन्धी ऐन, २०२१ को तत्काल प्रचलित दफा २६ को कानूनी व्यवस्था प्रतिकूल हुन गै सो फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने मिति ०५४।११।२९ को आदेश ।

११.    यस्मा लगाउको जोत कायम मुद्दामा विवादको कित्ता जग्गामा यी वादी हिरामायाको जोत लगत कट्टा हुने गरी फैसला भएपछि प्रस्तुत मुद्दामा वादीको नाउँमा जोत नामसारी कायम हुने अवस्था भएन । अतः भूमिसुधार कार्यालय भक्तपुरको मिति ०५२।८।२४ को बुहारी नाताकी हिरामाया  श्रेष्ठका नाउँमा मोही हक नामसारी गर्ने गरेको निर्णय मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको मिति ०५५।९।६ को फैसला ।

१२.   लगाउको जोत कायम मुद्दामा लिएको निर्णयको आधारमा मलाई हराई भएको पुनरावेदन अदालत पाटनको त्रुटीपूर्ण फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेतको वादीको पुनरावेदन जिकिर ।

१३.   यस्मा वादी हिरामाया वा निजका पति बाहेक अन्य मोहियानी हकको दावेदार हुन सक्ने कोही पनि नदेखिएको स्थितिमा संवत् २०५७ सालको दे.पु.ई.नं. ८५ को पुनरावेदक नारायण देवी कायस्थ विपक्षी बाटुली भुजु भएको बाली दिलाई मोही निस्काशन मुद्दामा ०५८।३।१४।५ मा फैसला भएको नजीरले वादी हिरामाया श्रेष्ठले मोही हक प्राप्त गर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने यस अदालतको ०५९।८।४ को आदेश ।

१४.   नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शंभु थापा तथा ईन्द्रप्रसाद खरेलले वादीले मोहीको हैसियतले जग्गा जोतभोग गरी बराबर बाली बुझाउने गर्नुको साथै केही सालको बाली धरौट समेत राखेको अवस्था   छ । अघि बाबु मरी पछि छोरा मरेको अवस्थामा एकमात्र हकवाला छोराको नाताले मोही नामसारी नगराएकै कारणले मोही हक प्राप्त हुने कुरालाई असर पार्दैन । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्यवस्थाको प्रक्रिया एकभन्दा बढी हकवाला भएको अवस्थामा मात्र  अनिवार्य रुपमा पूरा गर्नुपर्ने हुन्छ । एकमात्र हकवाला भएकोमा मोही हक स्वतः सर्छ, नामसारी नगराएकै कारणले मोही हक जाने होइन । ०५१ सालको दे.पु.ई.नं. ८५ को प्र. नारायण देवी कायस्थ वि. काले भुजु भएको मोही निष्काशन मुद्दामा प्रतिपादित सिद्धान्त यस मुद्दामा सान्दर्भिक छ । प्रस्तुत मुद्दामा वादीले लोग्नेको हक खोजेको हो, ससुराको होइन । वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भन्ने समेतको व्यहोराबाट आफ्नो बहस प्रस्तुत गर्नुभयो भने विपक्षी तर्फका विद्वान अधिवक्ता द्वय हरिहर दाहाल तथा युवराज भण्डारीले भूमि सम्बन्धी ऐन, २०२१ मा २०५३ सालमा भएको चौथो संशोधन पूर्व ससुराको मोहियानी हक बुहारीमा सर्ने व्यवस्था छैन, विवादित जग्गामा जोतभोग हाम्रो पक्षको छ । दे.पु.ई.नं. ८५ को नजीर प्रस्तुत मुद्दामा आकर्षित हुँदैन । ससुराको मोही हक बुहारीमा सर्न नसक्ने भन्ने ने.का.प. ०४२ नि.नं. २४२२ पृष्ठ ४९ मा प्रतिपादित सिद्धान्त कायम नैं छ । पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनि गर्नु भएको बहस जिकिर समेत सुनी मिसिल संलग्न कागज प्रमाणको अध्ययन गरी हेर्दा यी पुनरावेदक वादी हिरामायाको नाउँमा मोही नामसारी गर्ने गरेको भूमिसुधार कार्यालय भक्तपुरको निर्णय उल्टी हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? निर्णय दिनुपर्ने देखियो ।

१५.   निर्णय तर्फ विचार गर्दा यसमा उल्लिखित दुबै पक्षका तर्फबाट उपस्थित हुनु भएका विद्वान कानून व्यवसायीहरुको बहस सुनी मिसिल कागजातहरु अध्ययन गर्दा निम्न प्रश्नहरुको निरुपण हुनुपर्ने देखिन आएको छ :

     

(१)    दर्तावाला मोही परलोक भएपश्चात् निजको एकमात्र छोरा पनि मोही नामसारी गर्न नपाउँदै परलोक भएको स्थितिमा भूमि सम्बन्धी ऐन, २०२१ मा भएको चौथो संशोधन पूर्व बुहारीले मोही नामसारी गराउन पाउने, नपाउने के हो ?

(२)   वादी दावी पुग्न सक्ने हो, होइन ?

 

१६.    प्रथमतः विवादित कि.नं. १३०४ र १३०६ को जग्गाको जोताहा मोही स्व. रुद्र कुमार श्रेष्ठ भएको कुरामा कुनै विवाद छैन । मोहीको कुरामा विपक्षी जग्गाधनीले प्रश्न उठाएको पाईदैन, केवल नामसारीको प्रश्नमा नैं प्रस्तुत विवाद उठेको छ । स्व. रुद्र कुमार श्रेष्ठको मृत्यु पश्चात् निजको छोरा वुरु कुमार परलोक भएको तथ्यलाई पनि विपक्षीले स्वीकार गरेकै अवस्था छ । वस्तुतः प्रस्तुत मुद्दामा साविक मोही स्व. रुद्र कुमार श्रेष्ठ परलोक भएको, निजकी पत्नीको अघि नैं मृत्यु भैसकेको तथा छोरा वुरु कुमार श्रेष्ठको मृत्यु वावु रुद्र कुमार परलोक भएपश्चात् भएको भन्ने कुरा र एकमात्र हकदार व्यक्ति वुरु कुमारकी पत्नी यी वादी हिरामाया रहेको तथ्य  मिसिल कागजातबाट खुल्न आएको अवस्था देखिन्छ ।

१७.   जोताहा मोही रुद्र कुमारको मृत्यु पश्चात् निजको छोरा वुरु कुमारले आफू जीवित छँदै विवादित जग्गाको मोही नामसारी गराई नसक्दै निजको मृत्यु भएको भन्ने देखिन आएको छ । यस स्थितिमा यी वादी वुरु कुमारीकी श्रीमती पत्नी हिरामायाले ससुराको नाउँको श्रेस्ताबाट मोही नामसारी गराउन पाउने नपाउने के हो ? भन्ने प्रश्न प्रस्तुत विवादमा उपस्थित भएको छ । भूमि सम्बन्धी ऐन, २०२१ मा भएको २०५३ को चौथो संशोधन पूर्वको दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था गरेको पाइन्छ । २०५३ साल अघिको विवादको विषय देखिंदा उक्त संशोधनपूर्व कै साविकको व्यवस्था प्रस्तुत मुद्दामा सान्दर्भिक भै सोही बमोजिम निर्णय पनि हुनुपर्ने अवस्था रहेको छ । प्रस्तुत मुद्दामा जोताहा मोही रुद्र कुमारको मृत्यु पश्चात् निजको एकासगोलको हक प्राप्त व्यक्ति छोरा वुरु कुमार बाहेक अरु कोही रहे भएको भन्ने देखिन आएको छैन । एकभन्दा बढी कानून बमोजिम हकवाला व्यक्तिहरु भएमा मात्र जग्गाधनीले मोही रोज्ने र कस्लाई पत्याउने भनी छान्ने अवसर प्राप्त हुने हो । एकमात्र कानून बमोजिमको हकवाला व्यक्ति भएमा जग्गाधनीले रोजी राख्नुपर्ने र पत्याउने प्रक्रिया तर्फ जानुपर्ने अवस्थै पर्दैन । पत्याउन ईन्कार गर्ने हक जग्गाधनीलाई हुने देखिदैन, किनकि मोहियानी हक शुन्यको स्थितिमा रहने भूमि सम्बन्धी ऐन, २०२१ ले परिकल्पना गरेको पाईदैन । यस स्थितिबाट स्व. रुद्र कुमारको मोहियानी हक स्वतः छोरा वुरु कुमार श्रेष्ठको हकमा सर्ने स्थिति रहेको देखिन आउँछ ।

१८.   जहाँसम्म स्व. रुद्र कुमार श्रेष्ठको नाउँबाट छोरा वुरु कुमारको नाउँमा मोही नामसारी नभएको अवस्थामा निज रुद्र कुमारको नाउँबाट वुहरी हिरामायाको नाउँमा नामसारी हुन सक्दैन भन्ने प्रश्न छ, मोही नामसारी गर्ने हदम्यादको व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ लगायत कही कतै रहे भएको देखिंदैन । त्यसैले मोही नामसारी नहुँदैमा वा नगर्दैमा नामसारी गर्न पाउने हक स्वतः समाप्त हुन्छ भन्न मिल्दैन, जस्को लागि हदम्यादको व्यवस्था छैन सोको लागि हद निर्धारण गरी नामसारी नगराएकै कारणले निजको हकै सृष्टि भएको वा स्थापित भएको छैन भन्नु न्यायिक हुन सक्दैन । जोताहा मोही स्व. रुद्र कुमारको मृत्यु र निजको छोरा वुरु कुमारको मृत्युको लगत्तै पछि जग्गाधनीले लगत कट्टाको कारवाही उठाएको अवस्था पनि देखिंदैन । विपक्षी जग्गाधनीका तर्फबाट ने.का.प. २०४२, नि.नं. २४२२, पृ. ६४३) मा यस अदालत संयुक्त इजलासबाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुन सक्ने भन्ने व्यवस्था गरेको नपाईने भन्ने निर्णय भएको भन्ने तर्फ यस इजलासको ध्यानाकर्षण गराइएको छ । उक्त मुद्दामा वावुको मृत्यु पश्चात् छोराले मोही नामसारी गराई नसकेको अवस्थामा निजको पनि स्वर्गवास भएको स्थिति हुँदा ससुराको मोहियानी हक वुहारीमा नामसारी हुन नसक्ने भन्ने दृष्टिकोण लिइएको पाइन्छ । प्रस्तुत मुद्दाको वादी पुनरावेदक तर्फबाट प्रस्तुत गरिएको र यस अदालतबाट विपक्षी झिकाउने आदेश दिंदा आधार लिइएको यस अदालत पूर्ण इजलासबाट ०५८।३।१४ मा फैसला भएको दे.पु.ई.नं. ८५ पुनरावेदक वादी नारायण देवी कायस्थ विरुद्ध काले भुजुको मु.स. गर्ने वाटुली भुजु भएको वाली दिलाई मोही निष्काशन गरी पाउँ भन्ने मुद्दामा कायम गरिएको न्यायिक अवधारणा एवं व्याख्या प्रस्तुत विवादमा सान्दर्भिक तथा अनुकरणीय छ भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीहरुको जिकिर रहेको छ । सो फैसला हेर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गाको मोही सम्बन्धी निजको हक निजपछि निजका पति, पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुन सक्ने व्यवस्था रहेको पाइन्छ । उक्त व्यवस्था मोहीको शेषपछि निजको हक खाने हकवालाहरु एकभन्दा बढी भएको अवस्थामा आकर्षित हुने देखिन्छ । मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि उक्त दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एकमात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्ने अर्थ गर्नु न्यायसंगत हुने देखिंदैन । विवादित जग्गाको दर्तावाला मोहीको हक खाने विपक्षी काले भुजु एकमात्र छोरा भएको र निजले जग्गा समेत कमाइरहेको अवस्थामा मोही नामसारी भई नसकेको भन्ने सम्म कारणले मोही निष्काशन हुन नसक्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी हुने गरी निर्णय गरिएको भन्ने देखिन आउँछ । यसरी पूर्ण इजलासले कानून बमोजिमको एकमात्र हकवाला भएको अवस्थामा मोहीको शेषपछि निजको मोही हक स्वतः हकवालामा सर्ने, मोही रोज्नु पर्ने अवस्था नपर्ने, मोही नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्नु न्यायसंगत नहुने निष्कर्ष सहितको व्याख्या गरेको देखिन आउँछ । उल्लिखित मुद्दा मोही निष्काशनको भए पनि नामसारी सम्बन्धी प्रश्न र तथ्य प्रस्तुत मुद्दासँग समान हुनुको साथै भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्याख्याको विषय समेत समान भएकोले उक्त नजिर सिद्धान्त प्रस्तुत विवादमा सान्दर्भिकता र अनुशरणको दृष्टिले आकर्षित हुने नैं देखिन्छ । यस अवस्थामा विपक्षी तर्फबाट प्रस्तुत ने.का.प. २०४२ नि.नं. २४२२ पृ. ६४३ मा गरिएको व्याख्या भन्दा उक्त पूर्ण इजलासको फैसलाले फरक मत जाहेर गरी भिन्न रुपले व्याख्या गरेकाले उक्त नि.नं. २४२२ को सान्दर्भिकता अव रहेको देखिएन र आकर्षित हुने भएन ।

१९.    वस्तुतः पुनरावेदक वादीले विवादित जग्गा जोतभोग गरी आएको भन्ने कुरा बराबर वाली बुझाई आएको, कुनै वर्षहरुको वाली धरौट राखेको र जोत कमोद वादीले नैं गरेको भन्ने सर्जमिन मुचुल्का समेतबाट देखिन आएको अवस्थामा उक्त दे.पु.ई.नं. ८५ को मुद्दामा गरिएको व्याख्याको निष्कर्ष समेतबाट मोहीको मृत्युपछि मोही हक निजको एकमात्र हकवाला भएमा स्वतः निजमा सर्ने नामसारी नगराएकै कारणले मोही हक समाप्त हुन नसक्ने हुन्छ भन्ने निष्कर्षमा यो इजलास पुगेको छ । त्यसैले प्रस्तुत मुद्दाको विवादित जग्गाको जोताहा मोही रुद्र कुमारको मृत्युपछि एकमात्र हकवाला छोरा वुरु कुमारका नाउँमा स्वतः मोही हक स्थापित भएको मान्नु पर्ने स्थितिबाट निज वुरु कुमारको नाउँमा नामसारी नगराएकै कारणले निज जीवित रहेकै अवस्थामा मोही हक समाप्त भएको मान्न मिलेन । यी वादीका पति वुरु कुमारको हकमा आएको मोही हक निजको मृत्यु पश्चात् पत्नी यी वादीको हकमा स्वतः सर्ने हुँदा निजले नामसारी गराउन नपाउने भन्न मिलेन । यस्तोमा ससुराको मोहियानी हक बुहारीमा सरेको मान्न मिल्दैन । दर्ता श्रेस्ता सम्म ससुराको नाउँमा रहेको र पतिको नाउँमा नामसारी नभएको कारणले ससुराबाट बुहारीमा नामसारी हुन जाने जस्तो सम्म देखिने हो । २०५३ सालको संशोधन पूर्वको भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले हक नदिएको व्यक्तिलाई मोही हक प्रदान गर्ने अवस्था पर्ने होइन । प्रक्रियागत कुराबाट त्यस्तो देखिन सम्म जाने हो । प्रक्रियागत कुरा फरक पर्दैमा कानूनले व्यवस्था गरेको हक प्राप्त हुने कुरालाई ईन्कार गर्न पनि मिल्दैन र हक समाप्त पनि हुन सक्दैन । तसर्थ जोत नामसारी गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने गरी शुरु निर्णय उल्टी गरेको पुनरावेदन अदालत पाटनको ०५५।९।६ को फैसला मिलेको नदेखिदा उल्टी भै विवादित कि.नं. १३०४ र १३०६ जग्गाको मोही हक पुनरावेदक वादीका नाउँमा नाउँसारी हुने ठहराएको भूमिसुधार कार्यालय भक्तपुरको निर्णय मनासिब ठहर्छ । अरु तपसिल बमोजिम  गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए मुताविक पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै विवादित जग्गाको मोही हक पुनरावेदक वादीको नाउँमा नामसारी हुने ठहर्‍याएको भूमिसुधार कार्यालय भक्तपुरको निर्णय मनासिब ठहरेकाले कानून बमोजिमको प्रक्रिया पुर्‍याई विवादित जग्गा पुनरावेदक वादीको नाउँमा नाउँसारी गरिदिनु भनी भूमिसुधार कार्यालय भक्तपुरमा लेखी पठाउनु..........

 

मिसिल नियमानुसार गरी बुझाई दिनु......२

 

उक्त रायमा सहमत छु ।

 

न्या.शुसिला सिंह सिलु

 

इति सम्बत् २०६१ साल बैशाख २५ गते रोज ६ शु्भम्....................... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु