निर्णय नं. ७१३४ - वकसपत्र वदर ।
निर्णय नं. ७१३४ ने.का.प.२०५९ अङ्क ९/१०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु
संवत् २०५८ सालको दे.पु.ई.नं. ––––५७
फैसला मितिः २०५९।१०।९।५
मुद्दा :– वकसपत्र वदर ।
पुनरावेदक
वादीः जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ बस्ने सुमित्रा देवी समेत
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ. वडा नं. ४ बस्ने इन्द्रकला देवी
§ कुनै मुद्दामा राखेको वारेस भन्नु नै सो मुद्दाका लागि स्वयं पक्ष सरह नै हो । मुद्दाको पुर्पक्षको क्रममा वारेसले गरेको काम वारेस राख्ने मुद्दाको पक्षले नै गरे सरह हुन्छ र वारेसले मुद्दा हारे जितेमा पक्षको त्यसमा मन्जुरी नै भएको मानिने ।
§ वारेसनामाको शर्त बमोजिम तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसबाट उत्पन्न हुने परिणाम वारेसनामा दिई पठाउने पक्षले नै व्यहोर्नु पर्ने हुन्छ । तसर्थ ‘म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति’ मा केवल मुद्दाका पक्ष मात्र नभई पक्षले कानून बमोजिम मुकरर गरेको वारेस समेत पर्ने ।
§ अ.बं.६२ नं.को देहाय १ ले प्रदान गरेको सुविधा केवल मुद्दाको पक्षले मात्र उपभोग गर्न पाउने हो र निजले मुकरर गरेको वारेसले सो सुविधा उपभोग गर्न पाउँदैन भनी अर्थ गर्नु कानूनसंगत नहुने ।
§ कुनै मुद्दाको म्याद तारेखमा हाजिर हुने व्यक्ति सो मुद्दाको पक्ष नभई वारेस नै भएमा पनि निजले समेत उल्लेखित ६२ नं.को देहाय १ को सुविधा उपभोग गर्न सक्ने ।
§ अ.बं.१७९ नं.ले अ.बं.५९ र ६२ नं. बमोजिम गुज्रेको तारीख थमाई पाउने म्याद पछि मात्र मुद्दा डिसमिस हुन सक्ने प्रष्ट कानूनी व्यवस्था गरिरहेको अवस्थामा वादीको वारेसले मिति २०५१।२।१५ गतेको तारेख लिई सो तारेखमा अड्डामा हाजिर नभई तारेख गुजारेको कारणबाट कानून बमोजिम निजको तारेख थाम्न पाउने अवधि बाँकी छंदाछदै मिति २०५१।२।२० गते नै शुरु जिल्ला अदालतले मुद्दा डिसमिस गर्ने गरेको र सो शुरु फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला समेत अ.बं. १७९ नं. र अ.बं.६२ को देहाय १ समेतको त्रुटी गरी बेरीतसँग भएको देखिँदा उल्लेखित दुवै फैसलाहरु वदर हुने ।
(प्र.नं. १६ र १७)
पुनरावेदक वादी तर्फबाटः विव्दान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.मीनबहादुर रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४८ को नियम ३(१)(क) बमोजिम संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य नभई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. जिल्ला सर्लाही गोडैता वडा नं. ४ अन्तर्गतको गाउँ व्लक भित्रको सर्वे नभएको जयमंगल र लखन से दक्षिण विपक्ष इन्द्रकला तथा ललिता से उत्तर सडक से पूर्व मुल सडक से पश्चिम यति चार किल्ला भित्रको ०–०–१२ जग्गा मध्ये पूर्व तर्फबाट ०–०–५ जग्गामा घर बनाई र बाँकी जग्गा भोगी आएकोमा कुनै वाधा थिएन । ०५०।३।१२ गतेका दिन ललिताकुमारीले यो जग्गा इन्द्रकलाले मलाई वकसपत्र गरि दिएकोले खाली गरिदिनु भन्दा आश्चर्यमा परी नक्कल लिई हेर्दा र.नं.४८९७ मिति ०४८।१०।२९ मा इन्द्रकलाले ललिताकुमारीलाई पास गरिदिएकोमा सो जग्गा २००५ सालको वण्डापत्र अनुसार हाम्रो लोग्ने स्व.अजवलालको भोगको जग्गा भएकोले उक्त वकसपत्र बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. वादीले ०५१।२।१५ मा तोकिएको तारेख दोश्रा पटक पारी गुजारेकोमा सो गुज्रेको तारेख थमाउने अवस्था समेत बाँकी नदेखिएकोले अ.बं. १७९ नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने मिति ०५१।२।३० को सर्लाही जिल्ला अदालतको डिसमिस फैसला ।
४. वादी दावी बमोजिम बकस पत्रको लिखत बदर हुनुपर्ने होइन । दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादीको मिति ०५१।४।२४ को प्रतिउत्तर पत्र ।
५. अ.बं. ६२ नं. बमोजिम गुज्रिएको म्याद थमाउने अवस्था बाँकी नै रहेकोमा शुरु सर्लाही जिल्ला अदालतले गरेको त्रुटिपूर्ण डिसमिस फैसला वदर वातिल गरिपाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।
६. यसमा सर्लाही जिल्ला अदालतले मिति २०५१।२।१५ मा तोकिएको तारेख गुजारी थाम्ने म्याद समेत बाँकी नरहेको आधारमा डिसमिस गरेको फैसला उपर पुनरावेदकले शुरुले गरेको डिसमिसलाई यसरी वेरीतको भएको भनी कानून बमोजिमको कुनै आधार लिन सकेको नदेखिएको र मुद्दा डिसमिस भएका दिन मिति ०५१।२।१५ मा प्रतिवादी हाजिर रहेको देखिए तापनि प्रतिवादीले वादी दावीलाई स्वीकार गरेको निजको प्रतिउत्तर पत्रबाट नदेखिँदा शुरुले गरेको डिसमिस फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५२।३।१४ को फैसला ।
७. शुरु जिल्ला अदालतले गरेको डिसमिसलाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा अ.वं.१७९ र ६२ नं. समेतको कानूनी व्याख्यामा त्रुटी भएको हुँदा मुद्दा दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको वादीको निवेदन ।
८. अ.बं. ६२ नं. को म्याद भुक्तान नहुँदै डिसमिस गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) बमोजिमको त्रुटी देखिँदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।१०।२७ को आदेश ।
९. अ.बं. १७९ नं. बमोजिम अ.बं. ६२ नं. ले व्यवस्था गरे अनुसारको गुज्रेको तारिख थमाउने म्याद बाँकी हुँदै डिसमिस गरेता पनि त्यसरी थमाई पाउने तारिखको अवस्था र परिस्थिति विद्यमान भएको भन्ने पुनरावेदक वादीले पुष्ट्याई गर्न नसकेकोले अ.बं. ६२ नं. को गुज्रेको तारिख थमाउने म्याद बाँकी हुँदा डिसमिस गरेकै कारणले मात्र वदर गरिरहनु पर्ने औचित्य नदेखिँदा शुरुले डिसमिस गर्ने गरेको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय ।
१०. गुज्रेको तारिख थाम्न पाउने अवधि बाँकी छँदाछँदै सो भन्दा अगावै मिति २०५१।२।२० गते नै गरेको शुरु फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला अ.बं.१७९ तथा ६२(१) नं. समेतको त्रुटी गरी वेरीतसँग भए गरेको देखिँदा सो दुवै फैसला वदर गरी पुनः निर्णय गर्नु भनी शुरु सर्लाही जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान अधिवक्ता श्री कमलनारायण दासले गर्नु भएको वहस तथा प्रतिवादीका वारेसले गर्नु भएको खण्डन समेत सुनियो ।
१२. आज निर्णय सुनाउने भनी तारेख तोकिएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा निम्न प्रश्नहरुमा निर्णय दिनुपर्ने देखिन आयो ।
१. गुज्रेको म्याद तारेख थाम्ने सम्बन्धमा मुलुकी ऐन अ.बं. ६२ नं. को देहाय (१) ले प्रदान गरेको सुविधा मुद्दाको पक्षले मात्र प्राप्त गर्न सक्ने हो वा वारेसले पनि प्राप्त गर्न सक्ने हो ?
२. शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ?
१३. पहिलो प्रश्नका सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दाका पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीहरु समेत उपर सर्लाही जिल्ला अदालतमा मिति २०५०।४।१५ मा वकसपत्र वदर मुद्दा दायर गरी मुद्दाको पुर्पक्षका लागि समेत राजकरण रायलाई वारेस मुकरर गरी निज वारेस तारेखमा रहँदै आएकोमा पहिलो पटक २०५०।१२।२५ मा तोकेको तारेख गुजारी २८ दिन भित्र मिति २०५१।१।२१ मा थमाई सोही मितिमा मिति २०५१।२।१५ मा हाजिर हुन आउने भनी तारेख लिएकोमा सो तारेखमा हाजिर नभई तारेख गुजारी हाजिरै नभएको कारणबाट गुज्रेको तारेख थमाई पाउने अवस्था समेत बाँकी भएको नदेखिएको भनी अ.बं. १७९ नं. बमोजिम सर्लाही जिल्ला अदालतबाट मिति २०५१।२।२० मा डिसमिस हुने गरी फैसला गरेकोमा सो फैसला भए पश्चात मात्र प्रतिवादी इन्द्रकला देवी र ललिताकुमारीले संयुक्त रुपमा वादी दावीलाई पुरै अस्वीकार गरी प्रतिउत्तर पत्र दायर गरी मिसिल संलग्न रहेको देखिन्छ । शुरुको सो डिसमिस फैसला वेरीतको भएको भनी तारेखमा रहेका वादीका वारेस राजकरण रायको पिताको मृत्यु २०५१।२।५ मा भएको मृत्यु दर्ताको प्रमाणपत्र र निज २०५१।२।५ देखि २०५१।२।१९ सम्म कृयामा बसेको भनी धनगढा गा.वि.स.को सिफारिश समेतको प्रमाण राखी डिसमिस भएको मिति २०५१।३।१ मा मात्र थाहा पाएको भनी पुनरावेदन जिकिर लिई पुनरावेदन गरेकोमा पुनरावेदन अदालत जनकपुरबाट समेत शुरुले गरेको डिसमिसलाई यसरी वेरीतको भएको भनी कानून बमोजिमको कुनै आधार लिन सकेको नदेखिएको भन्ने समेत आधारमा शुरु सदर गरेकोमा सो फैसला उपर वादीको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी मुलुकी ऐन अ.बं. ६२ र १७९ नं. को व्याख्यात्मक त्रुटी भएको आधारमा यस अदालत संयुक्त इजलासबाट निस्सा प्रदान भएको र संयुक्त इजलास समक्ष पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य नभई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखियो ।
१४. शुरु सर्लाही जिल्ला अदालतले प्रतिवादीको प्रतिउत्तर नपर्दैको अवस्थामा अ.बं. ६२ नं. बमोजिम तारेख थाम्न पाउने म्याद बाँकी छंदै वादीको वारेसले तारेख गुजारेकोले अ.बं. ५९ र १७९ नं. को आधारमा मुद्दा डिसमिस गरेको देखिन्छ । उल्लेखित अ.बं. ५९ नं. र १७९ नं. मा के, कस्तो कानूनी व्यवस्था रहेछ भनी हेर्दा, अ.बं.५९ नं. मा ‘कुनै मुद्दामा आफ्नो कावु बाहिरको परिस्थितिले गर्दा म्याद तारेख गुज्रेमा एकै पटक वा तीन पटकसम्म गरी बढीमा ३० दिनसम्मको गुज्रेको म्याद तारेख थामिन सक्तछ । तर यसै महलको ६२ नं. र १७५ नं.मा लेखिए जतिमा सोही बमोजिम हुनेछ’ भन्ने र अ.बं.१७९ नं. मा ‘श्री ५ को सरकार वादी हुने मुद्दा बाहेक अरु मुद्दामा दुवै थरी झगडियाले तारेख गुजारेमा यसै महलको ५९ नं. र ६२ नं. बमोजिम गुज्रेको तारेख थमाई पाउने म्याद पछि सो मुद्दा डिसमिस हुन्छ... भन्ने व्यवस्था भएको पाइन्छ । यी दुवै नम्बरहरुमा गरिएको व्यवस्था अध्ययन गर्दा अ.बं.५९ नं. र ६२ नं. मा उल्लेख भएको अवधि व्यतित भएपछि मात्र मुद्दा डिसमिस हुन सक्ने देखियो । डिसमिस सम्बन्धमा स्पष्टरुपमा कानूनी व्यवस्था भइरहेको अवस्थामा कानूनले निर्धारण गरेको अवधि व्यतित नभई थमाउन पाउने अवस्था विद्यमान रहँदारहँदै कुनै मुद्दा डिसमिस गरेकोमा त्यस्तो डिसमिस फैसलालाई कानून बमोजिम भएको डिसमिस भनी मान्न सकिने देखिएन ।
१५. अ.बं. १७९ नं.ले अ.बं. ६२ नं. बमोजिम गुज्रेको म्याद तारेख थाम्न पाउने अवधिसम्म मुद्दा डिसमिस हुन नसक्ने व्यवस्था गरेको अवस्थामा अ.बं.६२ नं.मा भएको व्यवस्थातर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ । उक्त अ.बं.६२ नं.को देहाय १ देखि ५ सम्मको विभिन्न अवस्था परेमा म्याद तारेख थामी दिने व्यवस्था भएको देखिन्छ । प्रस्तुत मुद्दाको विवादको सम्बन्धमा पुनरावेदक वादीले उक्त ६२ नं. को देहाय १ को व्यवस्था आकर्षित हुने भनी दावी लिएको हुँदा सो देहाय १ मा के कस्तो व्यवस्था रहेछ भनी अध्ययन गर्दा ‘म्याद तारेखमा हाजिर हुने व्यक्तिको कोही मरी कृया बस्नु परेमा कृया समाप्त भएको मितिले बाटाको म्याद बाहेक पन्ध्र दिन भित्र अड्डामा हाजिर भै निवेदन दिएमा म्याद तारीख थामी दिनु पर्छ’ भनी उल्लेख भएको देखिन्छ ।
१६. अ.बं. ६२ को देहाय १ को सुविधाको उपभोग केवल मुद्दाको पक्षले मात्र गर्न पाउने हो वा पक्षले मुकरर गरेको वारेसले पनि गर्न पाउने हो भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा, अ.बं. ६२ को देहाय १ मा ‘म्याद तारेखमा हाजिर हुने व्यक्तिको कोही मरी कृया बस्नुपर्ने भएमा कृया समाप्त भएको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिन भित्र अड्डामा हाजिर भई निवेदन पत्र दिएमा म्याद तारेख थामी दिनु पर्छ’ भन्ने उल्लेख भइरहेको पाइन्छ । म्याद तारेखमा हाजिर हुने भनेको व्यक्ति मुद्दाको पुर्पक्ष निमित्त अदालत समक्ष उपस्थित हुने व्यक्ति हो । कुनै पनि मुद्दाको म्याद तारेखमा या त सम्बन्धित मुद्दाका पक्ष या कानूनले वारेस राख्न पाउने सुविधा दिएको अवस्थामा पक्षले कानून बमोजिम मुकरर गरेको वारेस उपस्थित हुने गर्दछन् । मुद्दामा सो वाहेक अरु व्यक्ति उपस्थित हुने कुरा हुदैन । कुनै मुद्दामा राखेको वारेस भन्नु नै सो मुद्दाका लागि स्वयं पक्ष सरह नै हो । मुद्दाको पुर्पक्षको क्रममा वारेसले गरेको काम वारेस राख्ने मुद्दाको पक्षले नै गरे सरह हुन्छ र वारेसले मुद्दा हारे जितेमा पक्षको त्यसमा मन्जुरी नै भएको मानिन्छ । वारेसनामाको शर्त बमोजिम तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसबाट उत्पन्न हुने परिणाम वारेसनामा दिई पठाउने पक्षले नै व्यहोर्नु पर्ने हुन्छ । तसर्थ ‘म्याद तारेखमा हाजिर हुनुपर्ने व्यक्ति’ भन्नाले केवल मुद्दाका पक्ष मात्र नभई पक्षले कानून बमोजिम मुकरर गरेको वारेस समेत पर्ने स्पष्ट हुन्छ । यस्तो अवस्थामा अ.बं.६२ नं.को देहाय १ ले प्रदान गरेको सुविधा केवल मुद्दाको पक्षले मात्र उपभोग गर्न पाउने हो र निजले मुकरर गरेको वारेसले सो सुविधा उपभोग गर्न पाउँदैन भनी अर्थ गर्नु कानूनसंगत हुने देखिएन । कुनै मुद्दाको म्याद तारेखमा हाजिर हुने व्यक्ति सो मुद्दाको पक्ष नभई वारेस नै भएमा पनि निजले समेत उल्लेखित ६२ नं.को देहाय १ को सुविधा उपभोग गर्न सक्ने नै देखिन्छ ।
१७. अव दोस्रो प्रश्नका सम्वन्धमा विचार गर्दा प्रस्तुत मुद्दाका पुनरावेदक वादीका तर्फबाट सर्लाही जिल्ला अदालतमा चलेको बकसपत्र वदर मुद्दाको पुर्पक्षका लागि राजकरण रायलाई वारेस राखेको देखिन्छ । निज वारेसले पहिलो पटक २०५०।१२।२५ मा तोकेको तारेख गुजारी २८ दिन भित्र मिति २०५१।१।२१ मा थमाई सोही मितिमा मिति २०५१।२।१५ मा हाजिर हुन आउने भनी तारेख लिएकोमा सो मिति भन्दा अगावै मिति २०५१।२।५ गते नै निज वारेसको बाबुको मृत्यु भई कृयामा बस्नु परेबाट तोकिएको तारेखमा निज हाजिर हुन नसकी तारेख गुज्रन गएको देखिन्छ । यसरी तोकिएको तारेखमा हाजिर हुनुपर्ने वादीको वारेसको बाबुको मृत्यु भएको अवस्थामा अ.बं.६२ नं. को देहाय १ ले गरेको व्यवस्था अनुसार कृया समाप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र अड्डामा हाजिर भई निजले निवेदन दिएमा तारेख थामिन सक्ने नै हुँदा सो भन्दा अगावै मिति २०५१।२।२० गते नै प्रस्तुत मुद्दा सर्लाही जिल्ला अदालतले डिसमिस गरेको मिसिलबाट देखिन्छ । मुद्दा डिसमिस भएको कुरा नक्कल सारी लिई थाहा हुन आएपछि वारेसको बाबुको मृत्यु भएको मृत्यु दर्ताको प्रमाणपत्र समेत राखी अ.बं. ६२ नं. को व्यवस्थाको विपरीत मुद्दा डिसमिस गरेको मिलेन भनी पुनरावेदन अदालत जनकपुरमा वादी तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालतले पनि शुरु फैसलालाई सदर गरेको देखिन्छ । यसरी अ.बं.१७९ नं.ले अ.बं.५९ र ६२ नं. बमोजिम गुज्रेको तारीख थमाई पाउने म्याद पछि मात्र मुद्दा डिसमिस हुन सक्ने प्रष्ट कानूनी व्यवस्था गरिरहेको अवस्थामा वादीको वारेसले मिति २०५१।२।१५ गतेको तारेख लिई सो तारेखमा अड्डामा हाजिर नभई तारेख गुजारेको कारणबाट कानून बमोजिम निजको तारेख थाम्न पाउने अवधि बाँकी छंदाछदै मिति २०५१।२।२० गते नै शुरु सर्लाही जिल्ला अदालतले मुद्दा डिसमिस गर्ने गरेको र सो शुरु फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।३।१४ मा भएको फैसला समेत अ.बं.१७९ नं. र अ.बं.६२ को देहाय १ समेतको त्रुटी गरी बेरीतसँग भएको देखिँदा उल्लेखित दुवै फैसलाहरु वदर गरी बुझ्नु पर्ने बाँकी प्रमाण भए सो समेत बुझी पुनः निर्णय गर्नु भनी तारेखमा रहेका दुवै पक्षलाई तारेख तोकी शुरु सर्लाही जिल्ला अदालतमा पठाई दिने ठहर्याएको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
न्या.सुशिला सिंह सिलु
इति सम्बत् २०५९ साल माघ ९ गते रोज ५ शुभम् ....................